मानिसहरू स्वभावैले भ्रमणप्रिय छन् । नयाँ कुरा जान्ने, सिक्ने र सिर्जना गर्ने उसको प्रवृत्ति हुन्छ । एक स्थानबाट अर्को स्थानमा घुम्ने, नयाँ दृश्य हेर्ने, भूगोल, जीवनशैलीसँग साक्षात्कार हुने प्रवृत्तिले यात्रा विवरण (पछि यात्रा साहित्य) को जन्म हुन पुग्यो । प्रारम्भमा यात्रा धर्म र व्यापारका लागि हुने गर्दथ्यो, पछि यिनका अलावा खोज, अनुसन्धान, मनोरञ्जन, साहसिक भ्रमण, खेल, फोटोग्राफी, छायाङ्कन, योग-अध्ययन र लेखनका लागि समेत हुन थाल्यो । यात्रुले आफूले भोगे-देखेका कुरालाई विभिन्न परस्पर-संरचनामा उतार्न थाले र यसले साहित्यिक रूप समेत पाउन थाल्यो । यात्रुले कुनै भूगोलमा देखे-भोगेका कुरालाई शिल्पपूर्ण अभिव्यक्ति दिएपछि साहित्य जन्मिने भयो, तथ्यपूर्ण प्रस्तुति गरेपछि इतिहास र वैचारिक चिन्तनसाथ प्रस्तुत गरेपछि दर्शन समेत जन्मिन थाल्यो ।

यात्रा वर्णन गर्ने चलन निकै पुरानो हो । पूर्वीय दर्शनमा श्रुति/स्मृतिका रूपमा पनि यात्रा वर्णन भएका पाइन्छ । पश्चिमी साहित्यमा पनि यसको इतिहास लामो छ । ‘दी इपिक अफ गिल्गामेश’ चारहजार वर्षअघि लेखिएको थियो भनिन्छ । त्यति वेला छापाखाना थिएन, अक्षर टङ्कनको समस्या रहने नै भयो । जे होस् उरुकका सम्राट् गिल्गामेशको यात्रा र यात्राको क्रममा उनको जंगली मानिस ‘इन्कीदु’ सँगको साथीत्वको रोचक बयान काव्यमा गरिएको छ । होमरको ओडेसी, दातेको डिभाइन कमेडी यात्राका प्रख्यात काव्यिक प्रस्तुति थिए । सम्राट् अशोक धर्म प्रचारमा यात्रा गरेका थिए । यी यात्रा वर्णन ठूला मानिसका साहसिक/धार्मिक कथा थिए । त्यति वेला साहित्य, कला आदि यस्तै ठूला व्यक्तिका महानतम काममा लेखिएका हुन्थे, सर्वसाधारणको जीवनमा ओर्लिएको थिएन । सर्वसाधारणहरू सिर्जनाका पात्रभन्दा पनि उपभोक्ता थिए ।

प्राचीन नेपालमा जतिवेला सिद्धार्थ गौतम बुद्धत्वको साधनमा थिए, त्यसै समयतिर चिनिया अन्वेषण, धार्मिक चिन्तक कन्फुसियसले सुधारको अभियान थालेका थिए । कन्फुसियसले ईशापूर्व छैठौं शताब्दीमा गरेको यात्रा वर्णन इतिहासमा विख्यात छ । त्यस्तै चिनिया यात्री ह्वेन साङको यात्राले इतिहास बनाएको थियो । भलैकी दुवै चिनिया यात्रीहरू संस्कृति र खोजको यात्रामा थिए । यस्ता घटनाले यात्रा वर्णनको अर्को पाटो उघार्‍यो ।

फ्रेन्च विचारक/अन्वेषक आलेक्सी डी टुकभेली १८३१ इस्वी सन् मा अमेरिकाको प्रजातन्त्र अध्ययन गर्न त्यहाँको यात्रा गरे । उनले लामो अध्ययनको क्रममा विधिद्वारा व्यवस्थित अमेरिकी स्वतन्त्रताको खुलेर प्रशंसा गरेका थिए । उनको किताव ‘डेमाक्रेसी इन अमेरिकी’ राजनैतिक दर्शनका रूपमा विख्यात छ । यस पछि यात्रा वर्णनले एउटा मोड पार गर्‍यो । विषयवस्तु, घटना र चरित्रहरू बेगल रूपमा प्रस्तुत भए । सर्वसाधारणहरू पनि यात्राका पात्र बन्न पुगे र जनजीवनसम्म यात्रा वर्णन तन्किन थाल्यो ।

संस्मरण र आत्मानुभूतिले नियात्रा साहित्यमा विशेष स्थान राखेको पाइन्छ । जोहन व्यूनानको ‘पिल्ग्रिम्स प्रोग्रेस’ मा आत्मिक यात्राको कलात्मक प्रस्तुति छ । त्यस्तै जोनाथन स्विफ्टको ‘गुलिभर्स ट्राभल’ यात्राको उत्कृष्ट प्रस्तुति हो । दुवै कृति संस्मरण, आत्मानुभूति र कल्पनाको कलात्मक प्रस्तुति हुन् । तर यी विशेषमा मात्र नियात्रा साहित्य सीमित रहेन । यो गतिशील अस्तित्वको अभ्यासमा अगि बढिनै रह्यो ।

सामान्यतः संस्मरण, आत्मवृत्तान्त र भ्रमणलाई संयोजन गरेर नियात्रा लेख्ने चलन छ । मार्क ट्वीनको ‘हकलवरी फिन’, जोहन ब्यूनानको ‘पिल्ग्रीम्स प्रोग्रेस’, मार्क ट्वीन कै ‘दी इनोसेन्ट एव्रोड’ यात्रामा आधारित काव्य कृति हुन् । यी विशुद्ध नियात्रा होइनन् । यी कृतिमा तथ्यभन्दा पनि कल्पना, अनुभव र यात्राको समायोजन छ । तथ्यलाई अनुभूति र शिल्पले सिँगारेपछि साहित्य बन्न पुग्यो । प्रस्तुति पनि नियात्राको खास रहेछ भन्ने प्रवृत्तिमा यो गतिशील रह्यो ।

एरिक न्यूबीको ‘दी सर्ट वाक अफ दी हिन्दकुश’ हिन्दकुश पहाडको आरोहणको साहसिक आत्मकथा हो । एलिजावेथ गिल्वर्टले ‘इट, प्रे, लभ ः वन ओमन्स सर्च फर एभ्रिथिङ’ मा आफ्नो सम्बन्ध विच्छेदपछि इटाली, भारत र इण्डोनेसियाको भ्रमणमा पाएका अनुभवलाई संस्मरणमा उतारिन । यी दुवै कृतिमा निजी अनुभूतिको वर्चस्व छ । त्यसैले ती साहित्य भए । तर पहिलोको यात्रा भौतिक र दोस्रोको भावना आयाममा अहम् रहे । दुवैले भावना र भूगोललाई विषय सापेक्ष प्रस्तुति खोजेका छन् । यसले नियात्राको विशिष्टतासाथ गतिशील हुनुपर्छ भन्ने सन्देह दिएको छ ।

सन् १८९८ नेपाल आएका फ्रेन्च अन्वेषक सिल्भाँ लेभीले ‘नेपाल ः हिन्दू अधिराज्यको इतिहास’ नामको गहन कृति लेखे । नेपालको नाम, नेपाल उपत्यका, नेपाल सम्बन्धी युरोपीय, चिनियाँ, तिब्बती र स्थानीय दस्ताबेज, नेपालका बासिन्दा, आर्थिक राजनैतिक कानूनी सङ्गठन, देवी देवता, नदी, धर्म, पूजा र नेपालको इतिहासलाई प्रामाणिक ढङ्गले खोजपूर्ण प्रस्तुति यस कृतिमा भएको छ । यो कृति तयार गर्न लेभीले नेपालको सबै आयामभित्र राम्ररी यात्रा गरेका थिए ।

यो अन्वेषणलाई नेपाली जनानसले इतिहास भनेको छ, किनकि त्यहाँ ‘इतिवृत्तान्त’ छ । ‘हिज स्टोरी’ ‘हिस्टोरी’ भन्ने भाष्यलाई यसले भत्काइदियो । किनकि उनले आफ्नो कथा लेखेका छैनन्, नेपाली भूगोल, जनजीवन र धर्मसंस्कृतिको तथ्यलाई टिपेका छन् । राजा महाराजाहरूले लेखेका, प्रायोजित वर्णनरले ‘हिज स्टोरी’ (ठुलाका कुरा) लाई नै महत्त्व दिएको छ । तर लेभी त्यसभन्दा पर रहे । सच्चा इतिहास साहित्यमा पाइन्छ भन्ने सन्देश पनि यसले दियो, भलै यो पूर्ण साहित्य थिएन ।

त्यस्तै सन् १९५० देखि १९९२ सम्म नेपालको कामका सम्बन्धमा गरेको भ्रमणमा आफ्ना सम्झना र खोजलाई सँगालेर स्वीस नागरिक टोनी हागनले ‘नेपालमा मेरो खोज यात्रा, सम्झनामा नेपाल’ लेखेका छन् । यो कृति पनि सिल्भाँ लेभीको प्रवृत्तिमा छ तर केही निजी कुराहरुले स्थान पाएका छन् । यी दुवै कृति नेपालका विषयमा विविध तथ्य समेटिएका वर्णन हुन् । अनुभव, सम्झना जे जस्ता शब्द भएपनि यी कृतिहरू तथ्यपूर्ण छन्, मनोभावना र कल्पनाको क्लेश निकै कम छ ।

ब्यारी लोपेजको ‘आर्कटिक ड्रिम्स’ आर्कटिक यात्रामा जानुअघिका सपना, अनुमान र त्यहाँको साहसिक भ्रमणको चित्रात्मक गैरआख्यान प्रस्तुति गर्दछ । यो लेभी र हागेनको जस्तै भ्रमणको कथा हो । तर यसमा कल्पना, अनुभव र तथ्यको मिसावट धेरै छ । यसरी नै रमेश विकलले ‘निलगिरीको छायामा’ लेखे । यो यात्राको क्रममा जनजीवन, रहनसहन, भूगोल, भाषा, संस्कृति, प्रकृति र प्रेमको वर्णन हो ।

कतिपय त मनभित्रको कल्पनालाई, मनको यात्रालाई पनि यात्रा साहित्य भन्न सक्लान् । बालउपन्यास ‘विक्रम र नौलो ग्रह’ मनको यात्रा हो, जो विक्रम लगायतको पात्रहरूबाट गरिएको छ । कनक दीक्षितको बालयात्राकथा ‘धूमधामको घुमघाम’ भक्ते भ्यागुतोलाई प्रतीक बनाइएर लेखिएको साहसिक यात्रा हो । यी कृतिहरू नियात्रा होइन भन्ने आधार के र ? तर कल्पनाशक्तिले धेरै अधीनस्थ गरेपछि त्यो नियात्रा साहित्यबाट पर पुग्छ, जसरी धेरै तथ्य र जानकारी समावेश गरेपछि पनि यो अरू नै बन्ने गर्छ । किनकि यात्रा साहित्यका आफ्नै संरचना र प्रस्तुति विधान छ ।

सन् १४९२-१५०४ सम्म इटालियन खोजकर्ता क्रिस्ठोफर कालम्वसले गरेको यात्राले अमेरिका मात्र पत्ता लगाएन, जसले विश्वलाई ज्ञान र सम्बन्धको क्षितिज उघारिदियो । त्यस्तै सन् १८३० मा फ्रेन्च समाजशास्त्री अलेक्सी डी टुकेभेलीले अमेरिकाको यात्रा गरेपछि त्यहाँको नागरिक सङ्गठन र नागरिक सक्रियताको बारेमा लेखेको पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ ले प्रजातन्त्रका बारेमा विश्वलाई नै गहन शिक्षा दिन पुग्यो । तेन्जिङ शेर्पा र एड्मण्ड हिलारीले सगरमाथा आरोहण गरेको अनुभवलाई शब्दमा उतारिएको भए त्यसले समाजमा कति ठूलो शिक्षा दिने थियो । यसर्थ यात्राले ज्ञान र शिक्षाको प्रवाह गर्छ, दृश्य मात्र टिप्दैन, दृश्यमाथि दृष्टि दिन्छ र संसारलाई केही भए पनि सन्देश दिन्छ । यात्रा साहित्यले यात्राले यी कुरालाई कलात्मक कलेवरका साथ नयाँ प्रभाव समेत उत्पादन गर्ने करी काव्यिक व्यापार गर्दछ ।

यी नियात्राहरूको विषयवस्तु, शैली र विधान हेर्दा नियात्रा संस्मरण, आत्मकथा, यात्रावृत्ति, खोज र अनुसन्धानको गैरआख्यानमूलक प्रस्तुति हो । त्यसो भन्दैमा आख्यानको अंश नै हुन्न भन्ने होइन ।

नियात्राको धरातलमा आख्यान पनि प्रशस्तै पाइन्छ । मार्क ट्वीनको ‘हकलवरी फिन’ नियात्रा हो तर उपन्यासका रूपमा चिनिन्छ । यसमा उपन्यासमा पाइने सबै गुणहरू छन् । जस्तो कि स्थानीय भाषा र लवजले यसलाई स्थानीय रङ्ग दिएको छ, मौलिकता समेटिएको छ, टम सावेर, विधावा डग्लस, डग्लस कि बहिनी वाट्सन, जीम, पाप (कठोर रक्सयाहा बुुबा) लगायतका पात्रहरूले औपन्यासिकता दिएको छ । ‘हकलबरी फिन’ ले पहिचान र अस्तित्व खोजेको छ । तर प्रथम पुरुषमा प्रस्तुति गरिएको संस्मरणात्मक विवरणले गर्दा यो नियात्रा हो । धेरैले यसलाई बाल उपन्यास भनेका छन् ।

मिकोलिन आहारोनियनको ‘द न्यू अमेरिका’, तावेइ सालिनको ‘माइग्रेसन टु द अर्थ’, इटालियो काल्भिनोको ‘इन्भिजिवल सिटी’ जस्ता उपन्यासको आधार पनि यात्रा हो, अर्थात् यी यात्रा उपन्यास हुन् । नेपालका आख्यान सम्राट् रमेश विकलको चर्चित उपन्यास ‘सागर उर्लन्छ सगरमाथा छुन’ हवाईको यात्राको पृष्ठभूमिले जन्माएको कृति हो र नेपालका विभिन्न भाग भूगोलमा पुग्दै घटना शृङ्खलालाई जोड्न पुग्छ । तर यसलाई नियात्रा भनिएको छैन । नियात्रामा यात्रा विवरण र अनुभूतिको सन्तुलन खोज्नुपर्छ, विचार र प्रस्तुतिलाई निबन्धका शैलीमा लेखिनुपर्छ भन्ने सोचिन्छ । त्यसैले नियात्रालाई निबन्ध सान्निध्यमा राखेर हेरिन्छ । यो विशुद्ध निबन्ध मात्रै पनि होइन ।

होमरका काव्यहरू आख्यानमूलक छन् तर नियात्रा पनि हुन् । प्रह्लाद पोखरलेका यात्राकाव्यहरूमा यात्राको कवितामय अभिव्यक्ति छ । यस खाले प्रस्तुतिले नियात्रामा प्रकृति र प्रथम पुरुष पात्रीय भूमिकामा हुन्छन् । मार्क ट्वीनले प्रकृति (मिसिसिपी) र मानिस (आफू र आफूसम्बद्ध पात्र) लाई नियात्राको पृष्ठभूमि दिएका छन् ।

नियात्रामा साहसपूर्ण यात्रा (हिरोइक जर्नी), सङ्घर्ष, सफलताका संस्मरण, संवेदनशीलता र दुख, साथीत्व र माया, मनोरञ्जन र आनन्द, ज्ञान र तथ्यहरू उजागर गरिएको हुन्छ । धर्म र आचरणको सन्देश त यात्रा वृत्तान्तका आदि आशय नै भए । त्यसैले नियात्रा जता पनि छरिन सक्छ, जसरी जीवन जता पनि पुग्न सक्छ ।

नेपालमा धेरैले भन्ने गरेको यात्रा साहित्य विदेशको भ्रमणको वर्णनबाट शुरु भएको छ । विदेशका जङ्गबहादुरको बेलायत यात्रा (१९१०) विदेशको यात्रा विवरण थियो । प्रकाश ए राज र जय छाङ्छा राईका अनुसार नेपालको पहिलो दैनिक्यात्मक नियात्रा गुरुप्रसाद मैनालीको ‘श्री ५ मुमा बडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ हो, जुन वि स १९८१ पौष २८ देखि फागुण ८ सम्मको भारत तीर्थ यात्राको दैनिकी थियो ।

शेरसिंह रानाको मेरो लण्डन राजतिलक यात्रा (१९७०), चिरञ्जीवी शर्मा शर्मा पौड्यालको काश्मिर यात्रा प्रसङ्ग (१९७४), रणशूर लिम्बूको बर्माको सम्झना (१९९६), भवानी भिक्षुको सिमलासम्म (१९९९), लैनसिंह बाङ्देलका युरोपको चिठ्ठी (२०१४), स्पेनको सम्झना (२०२०) र रोमको एउटा फूल पेरिसको एउटा काँडा (२०५७), केदारमाणि आदीको बेलायत जाँदा (२०२२) सबै विदेश यात्राका संस्मरण हुन् । नेपाली साहित्यमा विशेष चर्चित तारानाथ शर्माको बेलायततिर बरालिदा (२०२६) र पाताल प्रवास (२०४२) विदेश यात्राका अनुभव हुन् । घनश्याम राजकर्णिकारको विदेशको यात्रा स्वदेशको सम्झना (२०३७), कृष्ण धारावासीको ग्रेटफल्स, यादव खरेलको समुद्रपारि, विजय चालिसेको ओह नेपारु, गोपी मैनालीको आँखभरि रमिता मनभरि वेदना र अस्ट्रेलिया-न्यूजिल्याण्डाको यात्रा र प्रिन्सेस क्रुजको सानो विश्व, रामप्रसाद पन्तको जापान भ्रमणका केही सम्झना, पेट्रोनास टावरको सेरोफेरो विदेश यात्रा र त्यहाँबाट प्रभावित भै लेखिएका कुराहरू हुन् । यस अर्थमा विदेशको यात्रा नियात्रा साहित्य जन्माउने एउटा कारक रहेछ ।

तर स्वदेशको भ्रमण संस्मरणलाई सुन्दर प्रस्तुतिका साथ यात्रा साहित्यको रूप दिने काम पनि पछिल्लो समयमा भएको छ । नेपाली वाङ्गमयमा नियात्रा साहित्यको दर्जा पाएको पहिलो सिर्जना तारानाथ शर्माको ‘मेनाइ साँघुको मेला’ हो जुन २०२३ मा रत्नश्रीमा प्रकाशित भयो । यस आलेखलाई बालकृष्ण पोखरेलले ‘नियात्रा’ नामकरण गरेपछि यात्रा साहित्यको शुरु भएको मानिन्छ । यात्रा वर्णन भन्दा नियात्रा साहित्य भनेर यस खाले लेखलाई विशेष स्थान दिएको पाइन्छ । उनको (नि)यात्रानिबन्ध ‘बेलायततिर बरालिदा’ र ‘पाताल प्रवास’ विदेशकै यात्रा अनुभव हुन् ।

तर ‘मेनाइ साँघुको मेला’, ‘घनघस्याको उकालो काट्दा’, ‘छिनासिम छुने रहर’ नेपाली यात्राका अनुभव हुन् । तारानाथ शर्माका वर्णनशैली, शब्दप्रयोग र प्रस्तुति झर्रोपनका कारण यात्रा वर्णनले नियात्रा निबन्धको स्थान पाए । त्यसपछि प्रतीक ढकालले हिमाल र यसको सेरेफेरोमा रहेर लेखेका नियात्राहरूले नेपाली नियात्रा साहित्यको उचाइ थपिदियो । धेरै नियात्राकार विदेशको अनुभव नेपालीलाई बाँड्छन्, ढकालले भने नेपालको पहिचान विदेशमा पनि बाँडे, हिमालको पहिचान विस्तार गरे । यो छुटृै प्रवृत्ति पनि हो । उनको नियात्रा लेखनले नेपालको प्रकृति, विशेषतः हिमाललाई लेख्ने विषयले प्रोत्साहन पाएको छ ।

रामप्रसाद पन्तको, युवराज नयाँघरे, श्रीकृष्ण धारावासीले नेपाली नियात्रालाई उचाइ दिने काम गरिरहेका छन् । नयाँ पुस्ताका पूर्ण ओली, केशरी अम्गाई, पवन आलोक, भवानी खतिवडा, खोमा तरामुमगरले नियात्राको उचाइ यात्रा खोजिरहेका छन् । जय छाङ्छा नियात्राको अन्वेषण र लेखन दुवै आयाममा सक्रिय छन् । उनी लगायत केही समालोचक नियात्रालाई साहित्यको अलग्गै विधा बनाउने अभियानमा पनि छन् ।

नेपाल बाहिरबाट नेपाली वाङ्मयमा नियात्रा लेखिंदै आएका छन् । भारतबाट शेरसिंह राना, दीलबहादुर नेवार, लैनसिंह बाङ्देल, पारसमणि प्रधान, शान्ति क्षेत्री, सलोन कार्थक, पवन चामलिङ, चुडामणि उपाध्याय, कुमार घिसिङहरूले नेपाली भाषामा नियात्रा लेखेका छन् । डायस्पोरा संस्कृतिको विकाससँगै युरोप,अमेरिका,अस्ट्रेलिया, जापान, मलेसियामा रहेका नेपाली स्रष्टाहरूबाट समेत नियात्रा लेखन विस्तार भएको छ ।

नेपाली नियात्राको लामो इतिहासमा जति चर्चा बेलायततिर बरालिँदाले पायो, अरूले पाएका छैनन् । त्यस्तै लैनसिंह बाङ्देलको ‘रोमको एउटा फूल, प्यारिसको एउटा काँडा’, मञ्जुलको ‘सम्झनाका पाइलाहरू’, नारायण ढकालको ‘शोकमग्न यात्री’, तारानाथ शर्माको ‘पाताल प्रवास’, मोहन मैनालीको ‘मण्ठा हराएको जुग’, ध च गोतामेको ‘तीन वास’, युवराज नयाँघरेको ‘घामको चुम्बन’, विजय चालिसेको ‘म लाहुरेको लाहोर यात्रा’, कृष्ण धारावासीको ‘ग्रेटफल्स’, प्रतीक ढकालको ‘उज्यालो कर्णाली’ र ‘हिमाल पारिबाट’ र यादव खरेलको ‘समुद्रपारि’ जीवा लामिछानेको ‘सरसर्ती सन्सार’ र ‘देशदेशावर’ गीता खत्रीको ‘उडेको आकाश डुलेको धर्ती’ नियात्रा साहित्यका चर्चित कृति हुन् । यी कृतिहरूले अक्षरका माध्यमबाट भूगोलको यात्रा गराएर ज्ञान बाँडेको छन्, अपरिचित कुरासँग पाठक मन लाए नाता जोडेका छन् ।

 ० ० ० ०

नियात्राका केही नियति तर्फ विश्लेषण गरौं । नियात्राकार पहिलो स्तरको प्रभाव भुल्न सक्छ । जतिसुकै उत्कृष्ट नियात्राले पनि यो नियति भोग्दै आएको छ । अथवा भनौँ पहिलो पात्रको अनुभूति, विचार, दृष्टिहरू नियात्रामा सजिलै समेटिन सक्दैनन् । तेन्जिङ नोर्गे र एडमण्ड हिलारीका साहसको यात्रा, सफलताको खुसी र सफलतासम्म पुग्नका लागि भोगिएका दुखहरू निकै उपल्ला कोटिका अनुभूतिहरू समेट्न सकिएको छैन । यस्ता अनुभूति समेट्न सकिएको भए पाठकमा छुटृै सनसनी, सौर्य र साहस एकसाथ दिने थियो । पूर्वी एशियाका टापूबाट महिनौँ लगाएर डुङ्गामार्फत न्यूजिल्याण्ड पुगेका यात्री, ज्यान माया मारेर अन्तरिक्षमा यात्रा गर्नेहरू, आइएसएसमा अन्वेषण गरेका अनुभवहरू टिपिएका छैनन्, प्रथम मनले टिप्न नसके, प्रथम परिवेशमा उठाउन नसके त्यो वास्तविकताबाट टाढिन सक्छ । धर्म, मनोरञ्जन र सामान्य घुमफिरका केही सामान्य र केही सामान्यमाथि शिल्प सन्धानका बुटामा नियात्रा लेखिँदै आएको छ । एकै विषयमा धेरै अनुभूति उतारिएको पाइन्छ । नेपालका धेरै नियात्राहरू युरोप भ्रमणमा भ्रमणकर्ताका अनुभव हुन् ।

नियात्राकारको आग्रहानुभूतिले पनि नियात्रालाई वास्तविकताबाट अलग्याउने गर्दछ । नियात्रा सापेक्षमा दृश्यचित्र देखाउन सक्नुपर्छ । चलचित्र नभए पनि दृश्यचित्र, भावचित्र र ध्वनिचित्रको संगम हो नियात्रा । पाठकले अक्षरसाथ लेखिएको स्थान वा विषयको यात्रा गरिरहेको समानुभूतिबोध गर्न, त्यही स्थानमा पुग्न र स्थितिमा ओर्लेर विचरण गर्न सक्नु पर्छ । पाठक पाठ्य स्वादसाथ आफै यात्री बन्नुपर्दछ । त्यसैले यो दृश्य, घटना, वास्तविकता र भावनाको सम्मिलन हो । धेरै नियात्रा यस वास्तविकताबाट टाढा छन् ।

नियात्रा लेख्ने क्रममा कतिपय नियात्राकार घटनाको सिक्री उन्छन्, कतिपय भावको तरेली बुन्छन् । यसो गर्दा नियात्रा तथ्य र दृष्टिविन्दुबाट पर पुग्ने गरेको छ । नियात्रा यी चारै विषयको संगम बन्नुपर्दछ । यी तत्त्वको मात्रा भने विषयले निर्धारण गर्दछ । एलिजावेथ गिल्वर्टले ‘इट, प्रे, लभ ः वन ओमन्स सर्च फर एभ्रिथिङ’ मा निजी अनुभवको मात्र बढी छ, सिल्भाँ लेभीको ‘नेपाल’ मा तथ्यको मात्र बढी छ, मोहन मैनालीको ‘मण्ठा हराएको जुग’ र ‘उपल्लो थलो’ मा तथ्यमा पनि भूगोल र जनसंस्कृतिको पक्ष बढी छ । ‘सरसर्ती संसार’ मा नेपाली मनमुटुको विस्तृति छ, ‘आँखाभरि रमिता मनभरि वेदना’ मा जापान र नेपालका तथ्यदृश्य तुलनासाथ अपेक्षाको आग्रह छ । जे होस् घटना, भाव, तथ्य र दृष्टिबिन्दुको संयोजनले नियात्राको स्तर उकास्नुका साथै लेखकीय आत्मीकरण, पाठकीय दृष्टिकोण र तेस्रो कुराको प्रभावोत्पादन (आनन्द, अन्वेषण, सन्देश) गर्न पुग्छ । त्यसैले संसारमा प्रतिदिन करोडौँ मानिस यात्रा गरिरहेका छन्, ती सबै नियात्राकार होइनन्, न उनीहरूको यात्रा वर्णन नियात्रा साहित्य बन्छ ।

नियात्राको पहिले गुण नै म पात्रको विषय गवेषण र उसैको माध्यमबाट प्रस्तुति हो । म पात्रले अन्तर्बोध नगरेका कुराहरूमा नियात्रा स्वामित्व रहँदैन । तर कतिपय नियात्राकार आफू पात्रलाई यति फराकिलो बनाउँछन् कि अन्य पक्ष र पात्रहरू झन्डै हराउन पुग्छन् । यसले भूगोल, परिवेश र घटनालाई अन्यत्र मोडिदिन्छ ।

कतिपय नियात्राकार लेख्नका लागि यात्रा गर्छन् । यो लेख्छु, यो हेर्छु भन्ने आग्रहपूर्ण तत्परताले नियात्रालाई फेरि स्वाभाविकताबाट बाहिर्‍याउँछ । त्यस्तै वैयक्तिक चाखले पनि लेखनीलाई अर्कै बनाइदिन्छ । कोही प्रकृति, कोही संस्कृति, कोही भूगोल, कोही जीवनशैली त कोही वृत्ति व्यवसाय प्रभावित हुन्छन्, त्यसको स्पष्ट प्रभाव लेखनीमा देखिँदै आएको छ । एकै स्थान वा विषयमा धेरै नियात्राकारहरू लेखिरहेकाले पाठक अल्मलिन्छन् पनि ।

नियात्रा साहित्य संख्यात्मक रूपमा धेरै नै विस्तार हुँदै छ, जुन आफैमा राम्रो पनि हो । संख्यात्मक वृद्धिले गुणात्मकता तर्फको यात्रा सहज बनाउँछ । अहिले सबैभन्दा बढी लेखिएको कुनै साहित्य छ भने नियात्रा नै हो । यो अलग पहिचानको यात्रामा पनि छ । यसका अभियानकर्मीले यसलाई विशिष्ट विधा बनाउने आन्दोलन पनि चलाइरहेका छन् ।

तर के भुल्नु हुन्न भने ‘यात्राको वृत्तान्त मात्र यात्रा साहित्य होइन, त्यसले घटनाका इतिवृत्ति मात्र बताउँछ । यात्रा वर्णनलाई साहित्यमा उकाल्न प्रस्तुतिमा कलात्मकता, दृष्टिचेत, पाठकलाई यात्रादृश्य समानुभूतिमा पुर्‍याउने सामर्थ्य र अनुभूतिको कुशल संयोजन चाहिन्छ ।’ (मैनाली, रमेश विकल समालोचनात्मक अन्वेषण), जुन धेरै नियात्रामा पाइँदैन । धेरै नियात्राहरू सामान्य घटनाका सामान्य विवरण हुन्, त्यसैले धेरै लेखकहरू नियात्रालाई सिर्जना क्षेत्र बनाइरहेका छन् । नियात्राको मान्य मानक र आधारमूल्य स्थापना गर्नुपर्छ । अरू सिर्जना भन्दा यो प्रविधा यी आधारमा विशिष्ट हो र हुनुपर्छ भन्ने दृष्टिकोण चाहिन्छ । अन्यथा  वर्णश‌ंकर बन्न सक्छ । नियात्रालाई यस खाले चुनौतीबाट जोगाउने कर्तव्य स्वयम् नियात्राकारको हो ।