“वसन्त पर्खन्छ
पात झरेको रुख पनि
पलाउँछ अलिकति
फुल्छ अलिकति

फल्छ अलिकति

शिशिरको घाउ
जति कोट्याएर हेरे पनि

घाउ नै देखिन्छ घाउको छातीभित्र
मर्नुभन्दा बोझिलो जिन्दगी
हराउन देऊ बालुवामा यी आँसु
मन भत्केको बेला
तिम्रो शङ्काको तटबन्ध
एक छेउ बन्दै जान्छ र
भत्किँदै जान्छ अर्को छेउ
क्यानभास हुँ कुची उपहारमा छ
चित्रको पनि त छाया हुन्छ
एक छेउदेखि पोत या छोप्दै जाऊ
म रङ सुकिसकेको अमूर्त छु ।

बाटो बिराएर आएका
बाटो बिर्सिएर गए मृत्युहरू
सायद खबर पुगेन कि
निम्तामा हाजिर भएनन्

कसरी फर्कलान् ?
कसैलाई भेट्न दगुरेका खुट्टा
प्यास मेटाउन
प्यासी नदीहरू प्यासकै खोजीमा
विलीन हुन्छन् सागरमा

तिमीले बुझ्ने गरी
सकिनँ म बदलिन
अथवा म बदलिएको
बुझेनौ तिमीले
एउटा हिम्मत मसान या चिता पुगेको
सन्देश आएछ भने सम्झनु
बेभरको मान्छेको
बेभर जिन्दगी
पटक-पटक रेटिनबाट
मुक्त भएछ ।”

(कवि विष्णु पादुकाको कविता “मुक्ति ” )

एकाबिहानै मेरो मोबाइलमा एउटा फोन आयो । “सर म तपाईँको विद्यार्थी । तपाईँलाइ भेट्न चाहन्छु । कविडाँडामा आउन चाहन्छु ।” म हर्षित हुनुबाहेक अर्को उपाय थिएन । २०५०-५२ सालमा मैले विष्णु पादुकालाई प्रवीणता प्रमाणपत्र तहमा अङ्ग्रेजी साहित्य पढाएको रहेछु वीरेन्द्र बहुमुखी क्याम्पसमा । आइ.ए. र बी.ए.का विद्यार्थीलाई अङ्ग्रेजी साहित्य पढाउँथेँ नै । २६ वर्षको अन्तरालमा त्यस बखतका अनुहारहरूमा चिन्न गारो हुनेगरि आएको परिवर्तन स्वाभाविक हो तर पूर्वशिष्यहरू गुरुलाई खोज्दै कविडाँडामा आइपुग्दा निकै हर्षित हुन्छु । मानवीय स्वभाव !

पूर्वी कर्णालीको डोल्पामा शिक्षकको जागिर खाँदा रहेछन् विष्णु । थार्का तानसाङमा “तेन्जिङ नोर्गे बेसिक स्कुल” मा पढाउँदा रहेछन् । हेडमास्टर रहेछन् । केही समयअघि अश्विनी कोइरालाजीको बहुचर्चित साहित्यिक पत्रिका “साहित्यपोस्ट” मा प्रकाशित उनको “न्हेलु” शीर्षकको कथा पढेको थिएँ । त्यो डोल्पाको कुनै गाउँमा बस्ने पेमाछिरीङको कथा थियो । त्यही भूमिलाई आफ्नो कर्मक्षेत्र बनाएर २० वर्षदेखि बस्दै आएको जानकारी पाउँदा कर्णालीको त्यो भेगबारे विष्णु पादुकाबाट नै जान्ने मलाई जिज्ञासा पलायो । पूर्वी कर्णालीको सदरमुकाम डोल्पा रहेछ भने पश्चिमी कर्णालीको हुम्ला । बिचमा मुगु रहेछ । “आकारमा हुम्ला र मुगुभन्दा डोल्पा ठुलो छ तर भोगाइ र चरित्र एउटै छ ।” विष्णुले भने । कोहलपुरबाट दुनैसम्म बसको यात्रा अनि त्यसपछि दुई दिन हिँडेर डोल्पा सदरमुकाम पुग्दा रहेछन् । मुस्ताङसँग जोडिएको गाउँपालिका थार्का तानसाङसँग राम्रो परिचय गराए ।

२१औँ शताब्दीको विश्व कहाँबाट कहाँ पुगिसक्दा आफ्नै भूगोलमा पुग्न हामीलाई अझै २ दिन ३ दिन ४ दिन वा ५ दिन हिँड्नुपर्ने बाध्यता छ । उसरी यो हेलिकप्टर, जेट र सेटेलाइटको युगमा दुई-चार दिन हिँडेर आफ्नो भूगोल नियाल्दै गन्तव्यमा पुग्नुको मजा पनि भिन्नै हुन्छ । तथापि, देशको आफ्नै भूगोल, संस्कृति र सौन्दर्य भएर पनि दशकौँदेखि दृढसङ्कल्प र दूरदर्शिता नभएको राज्यसत्ताका नागरिक हुन हामी बाध्य हुँदा विडम्बनाजस्तो लाग्छ ।

मैले जिज्ञासा राखेँ “त्यहाँको विशेषता के होला ?” उनले भने “प्राकृतिक सौन्दर्य – लाग्छ पुथा हिउँचुलीलाई हातले छुन सकिन्छ ।” मेरो मुखबाट आनायास निस्केको थियो “अहा ! छुन पाए ? एकपटक त्यो ठाउँमा पुग्न पाए ?” तत्काल दुई दिन हिँड्नुपर्ने बाध्यताले चिच्याएर भन्यो – “असम्भव !” आफ्नै देशको भूभागमा पुग्न पनि असम्भव ? म चकित थिएँ ।

खुसी लग्यो विष्णु त्यहाँका कविता लेख्छन् । त्यहाँका कथा लेख्छन् । त्यहाँको समाजशास्त्रको अध्ययन गर्दै उपन्यास लेख्दै रहेछन् ।

नीलम कार्कीले आफ्नो उपन्यास “द्रौपदी अवशेष” मा उठाएको बहुपति विवाहको सन्दर्भमा बाध्यताबारे सोध्न मन लाग्यो । उनले विस्तारमा शिक्षा, सडक, समाज, संस्कृतिबारे भन्दै गरे । म प्रश्नहीन मौन सुनिरहेँ उनीहरूका परम्परा र सङ्घर्षपूर्ण जीवनका कथा । वास्तवमा त्यो भूगोल प्रकृतिले ठगिएको भेग रहेछ । जग्गा जमिनको अभाव । जङ्गलको नितान्त अभाव । चार-पाँच महिना हिउँ पर्दा हरियाली छैन । रुखहरू छैनन् । घर कसरी बनाउने ? “बहुपति विवाहको एउटा कारण यो पनि हो” विष्णुले भने । साथै थपे – “यो प्रथा घट्दै घट्दै न्यून भइसकेको छ । युवाहरू यसलाई स्वीकार गर्दैनन् ।” विष्णुले यसो भन्दा मलाई खुसी लाग्यो । बाध्यता जस्तोसुकै होस् म यसलाई कुप्रथा नै मान्छु । यो वा अन्य कुप्रथाहरू देशबाट हट्नुपर्छ । विष्णुले दिएको जानकारीअनुसार त्यो भेगमा पुरुषभन्दा महिलाको सङ्ख्या बढी रहेछ । त्यसमाथि बहुपति प्रथा । “यो अनुपात र प्रथाले गर्दा महिलाहरूमा यौन असन्तुष्टिको समस्या उत्पन्न हुन्न र ?” मैले सोद्धा उनले भने “मैले मेरो कथा “न्हेलु” मा यसबारे इसारा गरेको छु । मलाई कथाको पटकथा याद आयो । कथाकी मुख्य पात्र पेमाछिरिङ मुस्ताङको एउटा व्यापारीसँग मायाप्रेममा परेर गर्भधारण गर्छे र उसको बच्चाको जन्म दर्ताबारे समस्या पर्छ । विष्णुले थपे “यसरी नै अनौपचारिक रूपमा यौन सम्बन्ध बनाउन बाध्य हुन्छन् त्यहाँका केही महिलाहरू ।”

“कर्णालीमा विशुद्ध पीडा अभाव छ भनेर म सुन्दछु । मूल रूपमा तिनीहरूको विकासमा बाधक केकति कारणले होला त ? तिनीहरू त्यहाँ पुगे कसरी ?” मैले सोद्धा ज्ञान भयो त्यहाँका बासिन्दाहरू वि.स. १९५७ तिर चीन-तिब्बत युद्धमा तिब्बतबाट भागेर आएका भोटेहरू रहेछन् । कर्णाली विकट भोट त हुँदै हो तर सरकारले बाटोमात्र बनाइदिए चेतना र जीवनस्तरमा स्वतः वृद्धि हुने सम्भावना रहेछ । यो कुरा त हामीले विभिन्न आलेखहरूमा पनि पढेका छौँ नै । स्कुलहरू राम्रोसँग सञ्चालित हुँदैनन । यो अवस्था डोल्पामा मात्र नभएर हुम्ला, मुगु, कालीकोट सबै ठाउँमा रहेछ । विष्णु पादुकाले थप जानकारी दिए– “हाम्रो एरियामा ८ ओटा स्कुल छन् तर राम्रोसँग सञ्चालित मात्र दुईओटा छन् । एसएलसी पास गरेको एक जना पनि छैन ।”
अन्त्यमा मैले सोधेँ – “तपाईँ उनीहरूको जीवन, संस्कृति र जीवनसङ्घर्षबारे पुस्तक किन लेख्नुहुन्न ?” उनले भने – “सर मैले लेखेको छु । तिनीहरूलाई नै परिलक्षित गरेर लेखेका मेरा दर्जनौँ कथा छन् । दुईओटा उपन्यास छन् तर प्रकाशनको समस्या छ । प्रकाशकसँग पहुँच छैन आफूसँग आर्थिक अभाव छ । यसरी मौन बसेको छु । कहिलेकाहीँ अनलाइन पत्रिकामा मेरा कथा वा कविता आइरहेका छन् ।”

शिक्षक, कवि, लेखक विष्णु पादुकाको समस्या बुझ्दछु । एकपटक म मेरो कथासङ्ग्रह “व्रत भङ्ग” प्रकाशनका लागि एक जना नामी गिरामी प्रकाशकसँग कुरा गर्दा उनले मसँग पचास हजार मागेका थिए । प्रकाशकहरूको आफ्नै समस्या छन् । छापेर मात्र के गर्ने ? बिक्री पनि हुनुपऱ्यो । बिक्रीका लागि पुस्तक टडकमा हालेर “पुस्तक ले लो” भन्दै ठाउँ-ठाउँमा पुग्नुपऱ्यो । खर्चिलो छ ।

फेरि पनि विष्णु पादुकाजस्ता सर्जकले प्रकाशक पाउनुपर्छ भन्ने मेरो मान्यता हो ।