सन्तराम परदेश गएको झन्डै दुई बर्ष पुग्यो । एक बर्ष सम्म त फोन आएकै हो । जाँदा लागेको एकलाख पचास हजार रुपैयाको साँवा ब्याज सहित पठाएकै हो उसले । घरमा एउटा मोबाइल सम्म छैन भन्दा मंगलीलाई लाज लाग्थ्यो । सन्तरामको फोन आउँदा बुधनी आमाको घरमा जानु पर्थ्यो बोल्न । जसरी भए पनि मंगलीलाई सन्तरामको स्वर सुन्नु त हो । हालखबर बुझ्नु त हो । आइतबार बेलुका बुधनीलाई बोलाउन गए जस्तो पनि भएको थियो ।
 बाउन्न सालको सुकुम्बासी आयोगमा पाएको एक कठ्ठा जग्गामा घर छ सन्तरामको । एउटि आँखा नदेख्ने आमा छन् । मंगलीका काखमा सात बर्षकी छोरी र पाँच बर्षको छोरो छ । रिक्सा चलाएर परिवार धानेको थियो । बजार नजिक छ । दैनिक कमाइ दैनिक खर्च  चलेकै थियो । सपना देख्दैनथ्यो बचतको । बरु बेलुकी सामान किन्दा बीस तीस रुपैयाँ खल्तीमा बँच्यो भने कर्णाली पाउच थप्थ्यो र खुशि भएर पुग्थ्यो घरमा ।

  शहर बजारमा रिक्सा बिस्थापित हुँदै थिए । ब्याट्री र इन्जिन बाट चल्ने अटोले बजार लियो । रिक्सा लगभग लोप भैगए । यात्रुहरू पनि खुट्टाले चलाउने रिक्सा चढ्न छोडे । ओ रिक्सा ! भनेर बोलाउने आवाज हराइ सक्यो । दिनदिनै सन्तरामको आम्दानी घट्न लाग्यो ।

विष्णु पादुका

 ” के गर्ने , कि ब्याट्री अटो किन्नु पर्‍यो कि बिदेश जानू पर्‍यो ,अब यो तरिकाले ज्यान पाल्न सकिँदैन मंगली ।” सुत्नु अघि कुरा उठायो सन्तरामले ।
” जे गर्न पनि पैसा हुनु परेन , राखेका छौ र ?” केहिदिन देखि रित्तो हात आएको लोग्ने माथी मंगलीले पारो पोखी ।
  ” तिमेरको तो समूह छ नि , त्याँट ले र भए अर्न परो ,यो रिउसाँ एउटा मुन्छे चढ्दैन क्यार्नी त ।” सन्तेले आफ्नो विवशता पोख्यो ।
 ” हुन त हो तर धेरै पाइन्न त्याँ नि ।”
“त्यो बिसराकि आमा होइनन् भोलीको पन्द्र गतेओ समुहाँ ?”
“हुन् ।”
” भोलि नै भनेस् एकलाख भन्दा बढिको लाई ,अब केही न अरि केही हुन्न ।”
“उम् “
रिक्सा किन्नु अघि बनेको पासपोर्ट काम लाउनी भयो अब भन्ने सोच्दै निदाए दुबै ।
समूहको ऋण लिएर पासपोर्ट र पैसा गाउँकै मन्जितेलाई बुझाए पछि सन्ते अलिकति शान्त भयो ।
महिनादिन पनि भएको थिएन । ” लौ सन्ते अब अर्को हप्ता उड्ने गरि भिसा लाग्या छ है । तयारी गर्नु ।”मन्जितेले खवर गर्‍यो ।
” हुन्छ दाइ ” सन्ते खुशी भयो ।
अब आवश्यक सामान र अन्य थप खर्चका लागि पहिलो तलब बाट लिने गरि सन्तरामले पचास हजार पनि दिने भयो । एक दुई जोर लुगा र एउटा झोला किन्यो । आइतबारको नाइटमा काठमाडौ गयो । सोमबार कताकता अफिसतिर काम गर्‍यो । मंगलबार उडेर सउदि पुगेपछि बल्ल बुधनी आमाको फोनमा सन्ते बोल्यो । मंगलीले लामो सास फेर्दै घरमा आएर सुनाइ , “पुगेचन सरेका बाउ ,अब ढुक्क भयो ।”आमाको अनुहार उज्यालो देखेर छोराछोरी पनि खुशी भए । बुढी आमा पनि , “टुराका दिन आम्चन् भन्ते अब केइ अर्च कि ” भन्दै खुसी भइन् ।
  पहिलो पल्ट पठाएको साठी हजार मध्ये आफ्नो पचासहजार लिएर दशहजार घरमै ल्याएर दिए मन्जितले । मंगलीले समूहको ब्याज र किस्ता बुझाइ । यसैगरी दुई दुई महिनामा गरेर सावाँ ब्याज कटाउँदै गएर ऋण मुक्त भइ । सन्तरामको फोन र पैसा आउँदाको दिन घरमा ऊ आफैं आए झैँ खुशी हुन्थे सबैजना । छ महिना नाघेपछि मंगलीले पनि फोटो भिडियो बाला फोन किनि आठहजार हालेर । घरमा फोन आए पछि सन्तेलाई हेरेर बोल्न पाउँदा देख्न नसक्ने आमा पनि खुशी भइन् । एक हप्ता भैसक्यो सन्तेको फोन म्यासेज केही आएन । उनिहरु आत्तिए । मन्जितलाई सोध्न गै मंगली । कंपनीको फिल्ड सरेको हुनाले फोन गर्न नसकेको हो । आत्तिनु पर्दैन भनेपछी अलिकति ढुक्क भयो मंगलीको मन ।
तर कुर्दा कुर्दा महिना बित्यो । एक दुई गर्दै छ महिना नाघिसक्यो । न फोन न पैसा । मंगली आत्तिनु स्वभाविक थियो । मन्जित पनि काठमाडौ गएर बसेको छ । फोन गरेर सोधे एउटै जवाफ छ फिल्ड सर्‍यो रे ।
पैसा सकियो । घरखर्च नुन चामल लुगालत्ता केहिको पनि ब्यवस्था हुन छोड्यो । साहुले पनि पैसा फोन आउन छोड्यो रे भनेपछि उधारो पत्याउन छोडे ।
बुधनी बसपार्कको एउटा होटलमा काम गर्थिन् । बेलुका फर्किँदा आफ्नो घर भन्दा वरै पर्ने मंगलीको घरमा यसो बोलाएर आफ्नो घरतिर जान्थिन् । आज पनि ” के छ ए मंगली ठिकै छौ नि ?”भन्दै आइन् ।
“ए दिदी ,आउनु न भित्र तिर । के ठिक भनुँ र । मेरो त ब्याहालै पो हुन लाओ । क्यारी पाल्नु यी केटाटी । लौन केही मेसो लाइदिनु । ” अरु विवरण त बुधनीलाई थाहै थियो । ” मैले काम अर्नि होटेलसँ जोडिएको घराँ नैया होटेल खुलेओ छ । मान्छे खोजिर्चन् जान्चेउ त ?” बुधनीले राखेको  प्रस्तावले मंगलीको अनुहार हँसिलो देखियो । “लौ न दिदी अर्नै पर्नी भओ ।”
 भोलिपल्ट बुधनीसँग मंगली पनि बसपार्क तिर जान थाली । सिसाको ढोका खोलेर भित्र पुगेपछि मंगलीलाई चिनाइ दिई साहुसँग , ” यिनी र म छिमेकी हुम इमान्दार छिन् हिसाब किताब त हजुर आफै सोध्नु । ल मंगली साहु जी राम्रो हुनुहुन्छ काम सिक्दै गर । म पनि तेइ पल्लो होटेलाँ त हो अहिले गैहाल्चु ।”
 ” अँ के नाम रे ? ”  “मंगली “
” मान्छे त चाहिएर नै खवर गर्नु भनेको हो मंगलीलाई यसभन्दा अघि कतै काम गरेकी थियौ ?” ” नाइ “
मंगलीले मुख र टाउको संगै हल्लाई । पल्लो छेउमा बसेकी साउनीले थपिन् । ” होटल नयाँ छ ग्राहकसँग भिज्नु पर्छ । झर्कने फर्कने गर्‍यो भने फेरि फेरि फर्केर आउँदैनन् । सुग्घर सफाइमा ध्यान दिने । हासी खुशी देखिने । समयमा सेवा दिने । यस्तै त हो नि के ठूलो जागिर हो र पहिला गरेको हो भनेर सोध्नु हुन्छ ।” लोग्नेलाई भने झैँ साहुनीले निर्देशन दिए पछि मंगलीले हजुर भन्दै टाउको हल्लाई । होटेलको अनुभव नभए पनि गर्दै जाँदा सिकिएला नि भन्ने लाग्यो । आम्दानीको श्रोत केही छैन अरु मंगली सहमत भएर काममा लागि ।
  बिहानको खाना होटलमै खाने साँझ घरमा जाने कुरा भयो । होटलमा भाँडा माझ्ने र खाना पकाउने अरु नै रहेछन् । केही बेर मंगली अल्मलिइ । के काम हो त मैले गर्ने ? झाडु पोछा पो हो कि भन्ने ठानी । केही सोच्दा नसोच्दै साहुनीले ल यता आउ भनेर आफूसँग लगिन् । उनीहरू तेस्रो तलामा गए । साहुनीले कोठाहरुको बाथरुम बेड टेवल इत्यादि देखाउँदै भनिन् , ” ग्राहक आए पछि ल्याएर राख्ने , ग्राहक गए पछि बाथरुम बेड सबै सफा गर्ने , बेड सिट फेर्ने , बत्ती पानी हेर्ने , यस्ता कोठा तीन तलामा गरेर अठार ओटा छन् । खाली भएको कोठा सफा भए नभएको हेर्ने । ग्राहकले फोन गरेर बोलाउँदा अर्डर गरेको सामान ल्याइदिने । बुझ्यौ नि ?”
उसलाई काम सजिलै लाग्यो । उसले भर्खर खाली भएको कोठा सफा गरि । बाथरुम हेरि साबुन टाबेल चप्पल मिलाएर राखी । तन्ना फेरि ।डस्ट्बिन खाली गरि । बत्ती बाल्ने निभाउने गरि । यो सबै काम गर्दा साहुनीले नियालेर हेरेकी थिइन् ।
 ” हेर यो होटल हो , यहाँ जस्ता ग्राहक पनि आउँछन् हामिले सबैको चित्त बुझाउनु पर्छ ।अलि लुगाफाटो राम्रो लाएर आउनु मेकअप गरेर अलि राम्रो हुनु । रुपले हो आइमाईको इज्जत देखिने । महिना पुगेपछि तलब पाउँछेउ । यो पहिलो महिनाको तलव एक हप्ता नाघेपछि तिम्रो काम हेरेर पाउँछेउ । हुन्छ नि ?”
 “हुन्छ हजुर ।”
ग्राहकले चाबी बुझाए पछि रुमको सफाइ गर्न चाबी दिन्थे साहुले । चाबिको झुत्तोमै कोठाको नं हुन्थ्यो । सफाइ गर्ने काम सहजनै लाग्यो मंगलीलाई । ग्राहक आउँदा काउन्टर बाट झोला सुटकेस बोकेर कोठासम्म ल्याउनु पर्थ्यो । ग्राहकले अर्डर गरे चिसोपानी, तातोपानी, खाजा, रक्सी मासु इत्यादी पनि रुममै पनि पुर्‍याइने ब्यवस्था गरिएको रहेछ । यो काम पनि मंगलीलाई नै अर्हाइयो । शुरु शुरुमा त भर्‍याङ चढेर तलमाथि गरिरहँदा बेस्सरी थाकी मंगली । घरमा पुग्दा नातिनातिनाको सहयोगमा सासुले पकाएको खाना खाएर भाँडा धोएर सुत्न पनि हतार हुन्थ्यो । बिस्तारै बानी लाग्दै गयो । जे काम पनि नियमित हुँदा शरीर पनि सहन सक्ने हुँदै जाने रहेछ । एक हप्ता नाघेपछि साहुले घरजाने बेला पाँच हजार  दिदै भने ,” लौ यो पेस्की हो ,अरु यत्तिनै यो महिना बितेपछी पाउछ्यौ । काम देखि हाल्यौ । तलब एक बर्ष सम्म यहि दरमा पाउँछ्यौ । चित्त बुझ्छ नि ? “
” हजुर ।”
पैसा लिए पछि उ घरमा गै । अब आउन जान समय अघिपछि भएर हो कि बुधनीसँग भेट हुनै छोड्यो । बिहान उठ्यो होटेल । रात परेपछि बल्ल छुट्टी हुने । एउटा मेसिन जस्तै भए झैँ पनि लाग्यो मंगलीलाई । घरमा आएर सासूआमा र छोराछोरी देखेपछि उसको मन हलुँगो हुन्थ्यो ।
एकमहिना भयो काममा लागेको साहुले आज पनि  पाँच हजार तलब दिए । होटलमा दैनिक ग्राहक थपिँदै थिए । हिड्ने बेला हुन लागेपछि रुम नं यतिमा पुगेर आउ अनि जानू भनेर हरेक रात अबेर हुन थालेको थियो । कहिलेकाहीँ त घरमा छोराछोरी निदाइसकेका हुन्थेँ । सासू मात्र ” आयौ बुहारी ” भन्थिन् । बिहान उठेर जाँदा उनिहरु सबै निदाएकै हुन्थे । होटल साहु साहुनी मंगलीको काम देखेर खुशी थिए । भन्थे ,  “बेलुकिको खाना यतै खाएर जाउ रात छिप्पिन्छ । घरमा पनि चिसो हुन्छ खाना । “
 उसलाई थाहा थियो । बेलुकिको खाना यता खानु भनेको अझै ढिलो समयसम्म होटलमा नै रहनु हो । काम थपिनु हो । त्यसैले उसले बेलुका त म घरमा नै खान्छु भनेर  निस्किन्थी । उसलाई छोराछोरी निदाउनु अघि पुग्न पाए हुन्थ्यो भन्ने लागि रहन्थ्यो । साहु साहुनीसँग बोलचाल हुन थाल्यो । छ महिना नाघेपछि उनलाई एकदुई दिन घरमा बस्न मन लाग्यो । कुरा उठाइ , ” कहिलेकाहीँ त बिदा दिनु न हजुर !”
” के बिदा चाहियो होलो हुँदा ग्राहक कम हुँदा त कहिलेकाहीँ उज्यालोमै गएकी छौ त ।” निस्चित बिदा नहुने देखेपछि उसलाई बोल्न मन लाग्यो । हप्ताको एक दिन त बस्नै पर्ने भयो । आनाकानी गरि गरि आइतबार बिदा हुने भयो । उसले शनिबार चाहेकी थिइ । स्कुल बिदा हुँदा छोराछोरीसँंग बस्ने कत्रो रहर लाग्यो । आइतबारको बिदामै भए पनि बिहान र साँझको मौका मिल्ने भयो छोराछोरीसँग । उसलाई राहत महसुस भयो ।  कहिले कामको अभाव । कहिले दामको अभाव । आज काम दाम दुबै छ मायाको अभाव खड्कियो मंगलीलाई । सन्तरामको अझै खवर आएको छैन । अभाव र दुख र अप्ठ्यासँग अभ्यस्त हुन सिक्दै थिइन् । केही दिन देखि उनलाई होटलमा भिन्न लाग्दै छ ।
  कोठा नं पन्ध्र बाट फोन आएछ । साहुजीले अर्डर टिपेर बोलाए  मंगलीलाई । मासु बियर सलाद लिएर कोठामा पुगेकी थिइ । बेल दिई उसले । खुल्लै छ आउनुस – भित्र देखि आवाज आयो । ढोका भित्र गइन् । कोठाको मान्छे अटेच बाथरुमबाट भर्खर निस्किदै थियो । ऊ नुहाएर निस्कियो । उसलाई टावेलमा देखेर मंगली टेबुलमा सामान राखेर सरि भन्दै निस्कन खोजी । “गिलाँसमा राख्दिनु बियर प्लिज आइ एम वेयरिङ्ग….” ढोकातिर फर्किनु अघि सुनेको बाक्यले उ रोकिइ । बोली फेरि सुनुँसुनुँ लाग्यो उसलाई । आफुलाई प्लिज भनेर बोलाएको आजै हो मंगलीलाई । उसले भनी , ” तपाईं लुगा लगाउँदै हुनुहुन्छ नि त …।” म बाथरुममै चेन्ज गर्छु ल वैट प्लिज भन्दै एकै छिनमा टिसर्ट र हाफपेन्टमा निस्कियो ऊ । उसले मंगलीलाई तलदेखी माथी सम्म हेर्‍यो । मंगलीले पनि एक पटक हेरी । उसले बियर गिलासमा खन्याउँदा आफुलाई नियालेर हेरेको त्यति धेरै ननिको लागेन । सिङ्गल रुम कहिलेकाहीँ मात्र प्याक हुन्थ्यो । सिङ्गल बेड भएका कोठामा पनि दुइजना आएर बस्ने खाने गरेर जान्थे ग्राहकहरु । राती बस्ने ग्राहक पनि हुन्थे तर एकदम थोरै । जोडी भएर आउने ग्राहकहरुको रुम सर्भिसमा पुरुषका आँखापनि आफुमाथी लागेको भेउ पाउन थालेकी थिइ । जब यस्ता कुरा मनमा आउँथे उ जमिनमा सिधा उभिन्थी र प्रश्न गर्थी । सन्तराम किन आएन ? फोन किन आएन ? उसका मनमा आएका अरु कुरा सबै पखालिन्थे । काम सजिलो हुँदै थियो । तलब बुझ्नु अघि साहुजीसँग आवश्यक पर्दा मागेर लिन्थी पैसा । छोराछोरी दुबैलाई नजिकैको बोर्डिङमा भर्ना गरेकी छ । सन्ते गए पछि घर आँगन फेरिएको देख्नेहरु पनि गाउँमा बिहानै देखि गएर रातीसम्म होटलमा काम गर्ने भनेर कुरा काट्नेहरु पनि हुने रहेछन् । बिदाको दिन सबै कुरा थाहा पाउँथी उ । सासू छोराछोरी अनि मन मिल्ने एकदुइ छिमेकीसँग बोल्दथी । नुहाइ धुवाइ घरको सफाइ गर्दागर्दै बिदाको दिन झन् छिटो बित्थ्यो ।
  भोलिपल्ट बिहानै फ्रेस भएर होटलमा पुगी । कि बोर्डमा झुन्डिएका ताला लिएर कोठाको सफाइमा लागी । आज फेरि अस्तिको जस्तै अर्डर आयो कोठामा खाजा लाने । उसैले बोकेर गै । ग्राहक फरक थियो । तर ब्यवहार उस्तै गर्‍यो । आज उ खुलेर बोल्न खोजी । घर नाम थर पेशा इत्यादि दोहोरो परिचय भयो । उसले एक दुई मासुको पिस  खान भन्यो । उसले सलादको काँक्राको टुक्रा खाएर चित्त बुझाइदिई । बियरको एक दुई चुस्की लिँदा सम्म बसेर साथ दिई । काउन्टर बाट फोन आयो  । उ अर्को कोठाको लागि निस्की । अर्को कोठामा तीनजना बीस पच्चीस बर्षका केटाहरु रहेछन् । उनीहरुको ब्यवहार अझ अर्कै थियो । आँखाले घोच्ने गरि छाती र अन्य भागमा प्रहार गरे जस्तो लाग्यो मंगलीलाई । यहाँ पनि केही बेर ढिलो गरि उसले । फेरि फोनको घण्टी बज्यो । अर्को कोठामा पुगी त्यहाँ एउटा चिनेको मान्छे देखियो । ऊसँग एउटा अपरिचित महिला थिइ । चिनेको मान्छे मंगलीलाई देखेर भावभंगी बिगार्‍यो । मंगलीले नचिने जस्तो गरी । सामान छोडेर निस्किहाली । भर्‍याङ ओर्लँदा बिस्तारै झर्दै थिइ । पछि उहि कोठाको ग्राहक आएको रहेछ , ” मंगली , म यहाँ आएको खवर कतै नभन ल ।” ” हुन्छ सर होटल हो को को आउँछन् । किन भन्दै हिँडुला र । “
 ” अँ ,एक बोत्तल पानी र बिल पनि लिएर आउ है एकछिनमा ।”
हस् सर भन्दै मंगली काउन्टर तिर लागि । त्यो परिचित ग्राहक कोठा तिर गयो । एक घण्टापछि काउन्टर बाट फ्रीजको एक बोत्तल पानी र बिल मागेर उ फेरि कोठामा आइ । भित्र बाट बन्द थियो ढोका ।  सर म रुम सर्बिस भने पछि वेट ल भनेको तीन चार मिनेटमा ढोका खुल्यो । उसले भित्रको वातावरण आँकलन गरि । एउटा भेल बगेर सुकेको बगर जस्तो लाग्यो कोठा बेड अनि चिर अपरिचित जोडि । परिचित ग्राहकले बिलको पैसा बाहेक पाँचसय हातमा दियो यो टिप्स राख भनेर । टिप्स लिएर मुस्काइदिए पछि ऊ ढुक्क देखियो । मंगली निस्की । उनीहरू कतिबेला निस्किए उस्ले चाल पाइन । साहुजीले चावी थमाए पछि बल्ल त्यो कोठामा पुगी । तन्ना फेरीदिई । बाथरुम हेरी । तन्नाको गन्ध फरक लाग्नुलाई अस्वभाविक मानिन लन्ड्रीलाई दिने बोरामा लगेर राखी ।
  कहिलेकाही पाउने टिप्सले उसलाई खुशी लाग्दै थियो । घरमा आवश्यक सामान थप्दै थिइ । होटलमा लागेपछि घरमा ग्याँस चुलो जोडिएको थियो । यसअघि सम्म दाउरामै गुजारा चलेको थियो । अभाव र गरीबीले उ सम्पन्न थिइ ।
  एउटा ग्राहक तीन पटक सम्म आयो । उसैले कोठामा सामान पुर्‍याइ । यसपटक ग्राहकले मंगलीसँग नजिक हुन खोज्यो । खाजा ल्याएपछि बस न मंगली भनेर आग्रह गर्‍यो । उसले नकार्न सकिन बसिदिई । तिम्रो घर कहाँ हो ? को को छन् घरमा इत्यादि सोध्यो । बोल्दै जाँदा ऊ अझ नजिक सर्‍यो । मंगली बोल्दाबोल्दै काउन्टरको घन्टी बज्यो उ निस्की । फेरि आउँदा एउटा बियर र एक प्लेट मिक्स फ्रुट लिएर आउ ल भन्यो हिड्ने बेला मा । हस् सर भन्दै उ बाहिरिई ।
  आधाघण्टा पछि साहुजीले अर्हाए । मिक्सफ्रुटको किस्ती र बियर लिएर उ कोठामा पुगी । कोठामा ऊ बेडमा उत्तानो पल्टेको रहेछ । बस न भन्यो ।खुट्टा अलि पर सार्‍यो । मंगली बसिदिइ । फ्रुट खाउ बियर गिलासमा हाल भन्यो । नाइ तपाईं खानु म तल जानुपर्छ भनेर मंगली हिड्न खोजी । बस यो फलफूल तिम्रो लागि त हो मलाई त बियरसँग मासु छ अघिकै ,ढक्कन खोलेर कचौरा देखायो । आधा मासु बाँकी नै रहेछ ।
मंगली बसी । “हजुरको शुभनाम ?”
” म राज बिक्रम ,,किन र ? ” उत्तर दिँदै राज बिक्रमले खाउ न भन्दै मंगलीको कुममा प्याट्ट हान्यो । हस् भन्दै एक टुक्रा स्याउ मुखमा हाली । खोइ आधा मलाई ल्याउ भन्दै हातैबाट खोसेर खायो उसले । मंगलीलाई उसले छुन खोज्यो । हात मुसार्न थाल्यो । उसले फुत्कने प्रयास गरी । उसले झन् बल गर्न थाल्यो । किन केटाकेटी जस्तो गरेको पाको मान्छे भएर भन्दै उसले आफुतिर तान्यो मंगलीलाई । नाइ सर छोड्दिनु भन्दै उठेर गइ । उसलाई गर्मी महसुस भयो । तल धारामा गै मुख धोइ । काउन्टर तिर गइ । “कोठा नं सोर्हमा केही अर्डर छ कि मंगली ?” साहुजीले सोधेको कुरा उसले स्पष्ट बुझी । छैनको संकेतमा टाउको हल्लाइ । साहुजीले अर्को कोठाको चाबी थमाए । उसले साहुको अनुहार नहेरेर नै चाबी लिइ ।
 साँझ पर्नु अघि नै ल साहुजी म जान्छु अब भन्दै बिदा मागेर उ बाहिरिइ । राजमार्गमा निस्केर माइक्रो चढी । घरनेरको चोकमा झरी घरमा पुगी । आज उसलाई दिन नै कस्तो कस्तो लाग्यो । किंकर्तब्यविमुढले उसलाई थिच्यो । अभाव चुलिएको बेला पनि उसलाई आफुलाई कतै पोखिन दिइन । आज उसलाई आफ्नो सिमा मेटिदै गएको आभास भयो । साहु साहुनीको ब्यवहार उसले बुझेकी छ । उनिहरुको सल्लाह बिना राज विक्रमले कसरी छुन सक्थ्यो । आफ्नो शरीर एउटा इन्जिन भएको र मिस्री फेरिएर चलाउन खोजेको जस्तो लाग्यो उसलाई ।प्रतिरोध गर्ने बित्तिकै भोलि देखि काम बन्द हुन्छ भन्ने उसलाई थाहा छ । नियम कानुन पुलिस प्रशासन हुनेखानेका लागि हुन् यो कुरा पनि उसलाई थाहा छ । घरमा पुगेर खाना खाएको पनि उसलाई ध्यान भएन । ” मंगली आज त छिटो आइछौ त । ” बुधनीको स्वरले उसको ध्यान भंग भयो । उसलाई बुधनीसँग आफ्नो कथा सुनाउँ कि झैँ पनि लाग्यो । फेरि आफैलाई सम्झाइ आखिर समाधान मैले नै गर्ने हो । आफ्नो मन आफैं बुझाई  । सन्तराम बाहेक शारीरिक सम्बन्धमा कसैसँग नजोडिए पनि होटलहरुमा यस्ता क्रियाकलाप हुन्छन् भनेर सुनेकै थिई । आज आफुमाथी आइपर्दा उसलाई के गरौँ कसो गरौँ भनेर मन पिरलिई रह्यो । काम छोडोस् भने घरखर्च चलाउन छोराछोरीको फिस तिर्न गार्‍हो थियो । यौन धन्दामा होमिन मनले मानेकै छैन । कामबाट हात धुँदा घर चलाउन धौधौ छ । सन्तरामको केही खवर न आएको पनि धेरै भैसकेको छ । सन्तरामले किन यसरी माया मारेको होला । अनेक तर्कनाले उसलाई निदाउन पनि निकै गार्‍हो भयो । बिहान उठ्नु छ काममा पनि जानै छ भन्ने सोच आएपछि बल्ल उसका आँखा लागे ।
  होटलमा पुग्ने बित्तिकै साहुजीले नयाँ मान्छे आए जस्तो गरि हेरे । तैपनि उसले आफुलाई सामान्य बनाई । भित्ताको बोर्डबाट चाबिको झुप्पो उठाइ स्टोर बाट तन्नाहरु निकाली र माथिल्लो तलामा गएर कोठाहरुको सफाइमा लागी ।
 शरीर नियमित काममा जुटे पनि मन एउटा द्विबिधामा रहिरह्यो दिनभरी । आज सबै ग्राहक नौला थिए । त्यस्तो असामान्य कुरा केही भएन । कोठामा खाना खाजा पुर्‍याउँदा हेरिने नजर र छुन खोज्ने ग्राहकका हातहरु त उसलाई सामान्य भै सकेका थिए ।
  डाइनिङ्ग हल तल्लो तलामा थियो । खाना खाजा ख्वाउने ,थप्ने ,भाँडा उठाउने टेबुल सफा गर्ने अरु एकदुई जना थिए । होटलमा कामगर्ने स्टाफहरु थपिदै थिए । सबैको आफ्नो जिम्मेवारी हुन्थ्यो । अलिकति तल माथी हुँदा ढिलो चाँडो हुँदा साउनीको चर्को स्वर सुनिहाल्नु पर्थ्यो । साहुनीको बोली सुन्न नपरोस् भनेर जानेको र देखेको काम गरि हाल्थी मंगली । दुइटा ग्राहक हप्ता बिराएर आउँथेँ । अरु पनि आक्कल झुक्कल दोहोरिन्थे । नत्र बसपार्कको ठाउँ प्राय: नयाँ नयाँ मान्छेहरु नै हुन्छे । माथिल्लो तलोमा बिशेश ग्राहकको लागि मात्र बुकिङ्ग हुन्थ्यो । सायद महङ्गो पनि थियो अन्य कोठा र तलोहरु भन्दा । कोठाको सजावट पनि बिशेश थियो । राज बिक्रम जस्ता ग्राहकहरु आउँदा माथिल्लो तलो तेर्ह्र नंम्बर देखि अठार सम्मका कोठामा बस्ने खाने आराम गर्ने गर्थे । दिउसोमै बढी ब्यस्त हुन्थ्यो । अन्य ग्राहक वा कामगर्ने स्टाफहरुलाई माथिल्लो तलोमा जान अनुमती थिएन । मानौं सबै हेर्ने जिम्मेवारी मंगलीको थियो । कठिन परिश्रमको काम थिएन । मंगली आफै ब्यापारको साधन हुँदैछु भन्ने कुराले चिमोटी रह्यो ।
पैसा तिर्न सक्ने ग्राहकहरु साहुले पत्ता लाउँथ्यो । घन्टाको हिसाबले रुमको चार्ज लिन्थ्यो ।
 आज फेरि राज बिक्रम देखियो काउन्टरमा । नौलो दुलाहाले जिक्याए झैँ मुसुक्क हाँस्यो मंगलीलाई देखेर । काउन्टरमा धेरै बेर उभिन हुँदैनथ्यो स्टाफहरु , साउनी कराइ हाल्थी । काम परे मात्र बोलाए मात्र आउने ठाउँ हो काउन्टर । पन्ध्र नम्बर को चाबी दिदै ल सरलाई रुममा लैजाउ भन्दै साहुले अह्राए । मंगली सानो सुटकेस समातेर अघि बढी । दोश्रो तलाको भर्‍याङ सकिएपछि राज बिक्रमले प्याट्ट पछाडी हान्यो । “किन नबोलेको मंगली ?” ” के बोल्नु र सर ।”
मंगली असमञ्जस थिई । कोठा खोलीदिइ ।
बस न भनेर उसले हातै समातेर बेडमा राख्यो । अँगालोमा बेर्‍यो । मंगलीको प्रत्युत्तर र प्रतिक्रियाको कुनै ख्याल गरेन राज बिक्रमले । ढोकाको चुकुल लगायो । मनपरि गरिसके पछि ल म फ्रेस हुन्छु तिमी खाजा लिएर आउ है । केही नभए झैँ मंगलीलाई अर्डर गर्‍यो । छिनछिनमा काउन्टर बाट आउने फोन आज आधा घण्टा सम्म पनि बजेन । उ आफैं निस्किइ खाजाको अर्डर लिएर ।
किचनमा गएर मासु र सलादको रिकापि भरी । काउन्टर बाट बियरको बोत्तल निकाली । र्‍याकबाट सिसाको गिलास झिकेर रिकापीमा राखी । यो सबै कुरा साहुले नियाली रहे । साहुनी देखिइन । आफ्नै पसल या आफ्नै घर झैँ काम गरेको सामान झिकेको दृश्यले साहुलाई मंगली फेरिएको स्पष्ट भयो । राजसँग भनेजती पैसा झर्ने कुराले उ खुशी थियो ।
 केही दिन देखि मंगलीलाई सासुको स्वास्थ्यले पिरोलेको थियो ।आज उसले अलि छिटो बिदा मागेर घरमा आइ मंगली । सासुलाई लिएर नजिकैको मेडिकलमा गई । डाक्टरले जाँचे । खास रोग देखिएन । चिन्ता नलिनु भनेर सामान्य औसधि दिएर पठाए । सासू निदाउन नसकेको धेरै भएको थियो । ” किन बिर्सेको होला त्यो सन्तरामले । म बुढीलाई बिर्से पनि यी साना केटाटी त भुल्न नहुने नि । मुखै नदेखी मर्छु कि क्या हो मंगली ।”
   ” न आत्तिनु न आमा आउनु होला नि , पर्देशाँ ठाम फेरिएको छ रे फोन लाग्दैन रे । चिन्ता नलिनु सुत्नु आमा ।”मंगलीले सम्झाइ रहन्थी । आमाको निद्रा र आहारा घट्दै गएको कुराले मंगली चिन्तित थिई ।
****
  वेल्डिङ्गको काम अचानक रोकियो । बत्ती झ्याप्प गयो । सन्तरामले फुर्सद पायो । एङ्गल र ग्रीलको नाप लिइसकेको थियो । उसलाई सुर्तिको तलतल लाग्यो । निकालेर एक फाँको ओठमा च्याप्यो ।
***
      साउदी अरव पुग्दा बेतन राई भेटिएको हो । पुस्तौनी तेह्रथुम भए पनि अहिले बिराटनगर बस्दै रहेछन् परिवार । आइरन कम्पनीमा काम गर्न आएको दुइबर्ष भै सकेको थियोे । अन्य नेपाली कामदार बिदामा घर फर्केका थिए । सन्तराम आए पछि दुइजना रुम मेट भएर बस्न थालेका थिए । सन्तराम आउँदा बेतन हेड मिस्त्री थियो कंपनीमा । आल्मुनियम र आइरनका झ्याल ढोका बनाउने कंपनी रहेछ । सन्तरामलाई कामको ज्ञान् थिएन । ऊ एउटा लेवर मात्र थियो । अन्य कामदारले अर्‍हाएको काम गर्थ्यो । तलब सुबिधा पनि नेपालमा भनिए जति रहेनछ । घरमा ऋण लागेको कुराले ऊ पिर लिइ रहन्थ्यो । सँगै कोठामा बस्ने साथी हुनाले मनको कुरा उसले बेतनलाई भन्यो ।
” डेढ लाख रुपैया ऋण गरेर आइयो यस्तो कमाइले त दुइतीन बर्षमा पनि तिर्न सकिन्न कि , के गर्ने दाजु हामी गरिव त जता गए नि घाटा मात्रै .. ।” आएकै दिन देखि बेतनलाई उसले दाइ भन्थ्यो ।
  ” यस्तै हो भाइ नेपाल छँदा अरबमा पैसाको रुखनै होला झैँ लाग्छ यहाँ आएपछि थाहा हुन्छ । तर आत्तिनु हुन्न । म पनि घरमा भएको ओल्डिङ्ग मेसिन बेचेर यता हानिएको हुँ । त्यहाँ सिकेको सीप हुनाले मलाई अलि सजिलो भएको मात्र हो ।” बेतनको कुराले सन्तरामलाई आफ्नो समस्या खोल्न अझ सहज भयो ।
 ” म त भर्खर आएको दाजु अलिकति सापट पाए घरको ऋण तिर्न हुन्थ्यो ।”
  उसको आसय बुझेर बेतनले भन्यो, “भर्खर त एक महिना भएको छ किन आत्तिएको गरौंला नि केही ब्यवस्था । म पनि अब यहि बर्ष मात्र हो यहाँ बस्ने ।”
 ” आउँदो महिना अरु साथीसँग सापट लिएर भए पनि ऋण चुक्ता हुने गरि पठाइदिनु नि म पनि सहयोग गरौंला ।” सन्तरामलाई बेतनको कुराले निक्कै राहत भयो ।
 आएको छ महिनामा सन्तरामले सापट लिएर भए पनि घरको ऋण तिर्‍यो । अब अरुको सानो तिनो रकम सँगै बेतनसँग लिएको एकलाख बाँकी नै थियो । घरको ऋण तिरेर सकिए पछि उसलाई अब यहाँको ऋणले च्यापेको थियो । उसलाई घरमा फोन गरेर पनि के भन्नू जस्तो लाग्न थाल्यो । उसले फोन आउँदा फिल्ड सरेको छ ,नयाँ फिल्डमा फोन लाग्दैन भन्दिनु भनेर बेतनलाई नै भन्दियो ।  मंगलीको याद छोराछोरीको माया अनि आमाको सम्झनाले उसलाई पोलिरहन्थ्यो । कमाइ सोचेजस्तो र नेपालमा भनिए जस्तो नभएकोले अब त उसँग नेपाल फर्कन पनि भाडा थिएन । बेतनसँग लिएको पैसा कसरी तिर्ने ? यहि कुराले उसलाई चिन्तित बनाइ रह्यो । आएको तलब बस्न खानमै ठिक्क थियो ।
 अरब आएको पनि बर्षनाघी सक्यो । अब बेतन घर फर्कने तयारीमा थियो । एकलाख रुपैयाँ सन्तरामले तिर्न सकिरहेको थिएन ।
 ” के गरौं सन्तराम ? म त अब घर जाने तयारीमा छु । तिमिलाई दिएको पैसा त लिएरै जानुपर्छ ।अब गएर म नफर्कने सोचमा छु । कति बस्नु बिदेश । उतै सानोतिनो पेशा गर्नु पर्ला ।”
 पल्लो बेडमा एकोहोरिएको सन्तराम झल्याँस्स भयो  । ” हो त है ,ब्याज त परै छ सावा नै पो त्यत्रो बाँकी छ के गर्ने दाजु ?” आफ्नो याचना देखायो सन्तरामले ।
” दाजु नेपाल गएर के गर्ने अब ?” सन्तरामको मुखबाट सामान्य रूपमा निस्कियो यो प्रश्न ।
” के गर्नु र भाइ सिकेको जानेको सीप यहि छ आइरन या आल्मुनियम मध्ये एउटा रोज्ने त होला ।
बेतनको मन नेपाल पुग्यो । उसले पसल खोल्यो आल्मुनियमको झ्याल ढोका बनाउने । आफ्नै घरको सटरमा काम भै रहेको दृश्य आयो ।
 ” दाजु म पनि नेपाल जाउँ कि खोइ यहाँ केही होला जस्तो छैन ।” ऋणको साटो ऋणि नै लैजाओस् भन्ने आसयमा बोल्यो सन्तराम । केही बेर केही बोलेन बेतन ।
   ” तीन महिनाको तलब बाँकी छ हैन बुझ्न ? “
 ” हो दाजु ” सन्तरामले टाउको हल्लायो ।
” अनि नेपाल गएर मैसँग काम गर्नु त ? अब त केही सीप सिकेकै छौ उहाँ गए पनि यति तलब त दिनै पर्छ अरु मिस्त्रीलाई पनि ।मैले मात्र भ्याउने त होइन काम ।”बेतनले मनको कुरा गरेकोले सन्तराम बेडबाट जुरुक्क उठ्यो । ” म पनि तपाईंसँग नेपाल जान्छु तपाईंकै कम्पनीमा काम गर्छु । म यहाँको सापट लिएको रकम काम गरेरै कटाउँछु । कसो हुन्छ ? “
 केहिबेर बेतन सोचमग्न भयो । नहुने त होइन ।मान्छे इमानदार हो । ब्यवहार भने जस्तो नभएकोले विवश छ । मलाई आखिर मान्छे चाहिन्छ नै पसल गर्न । सीप पनि सिकिसकेको छ । हाँस्दै जवाफ दियो , ” के को कंपनी हुनु र भाइ बेल्डिङ्ग पसल भन न , ल ठिकै छ । साहुसँग कुरा राख पासपोर्ट र बाँकी रहेको तलब माग अरु कुरा म मिलाउँछु ।”
  सल्लाह भएको एक महिना पछि बेतनले दुइटा टिकट बुक गर्‍यो । एउटै उडानमा सन्तराम र बेतन काठमाडौ उत्रे । नेपाल आएर पनि आए जस्तो लागेन सन्तरामलाई । पासपोर्ट पैसा सबै बेतनकै हातमा थियो । लागेको खर्च उसैले गर्थ्यो । लेनदेन गर्दा खाँदा पिउँदा सँगै खान्थे । उसलाई नेपाल टेकेपछी घरमा फोन गरौं गरौं लाग्यो । केही पैसा मागेर घरमा पुगौँ पुगौँ पनि लाग्यो । तर आँट आएन । काठमाडौ आएको दिन उनिहरुले एकएक जोर लुगा किने । बजार घुमे । बेलुकी एउटा होटलमा बसे । सन्तरामलाई निद्रा लागेन । राती नै उठेर भागौँ कि भन्ने पनि लाग्यो । निदाइरहेको बेतनको बेड तिर हेर्‍यो । मधुरो प्रकाशमा ऊ मस्त निदाइ रहेको थियो । एक वर्ष अघि देखिको उसँगको संगत सम्झ्यो । उसको सहयोग सम्झ्यो । ती सबै सम्झनाले घर स्वास्नी आमा छोराछोरीको सम्झनालाई जित्यो । सम्झनाको तराजुमा इमानदारिताको बोझ गह्रौ भयो ।  ऋणको पल्ला भारी भयो ।
 ***
” हिजोको अर्डर सकियो नि सन्तराम ? ” बेतनको प्रश्नले सम्झनाको तलाउबाट सन्तराम सतहमा आयो । “अलिकति बाँकी छ दाइ बत्ती गएर रोकिएको हो । बत्ती आए पछि एक डेढ घण्टामा सकिन्छ ।”
 राई ग्रील एन्ड सटर्समा काम गर्न लागेको पनि एक बर्ष पुग्यो । बेतनसँग लिएको पैसा उसले काम गरेर पाँचै महिनामा तिर्‍यो । काममा लगनशील थियो । बेतन पनि खुशी थियो । घरकै परिवार झैँ भएर बसेको थियो । खाना सँगै खान्थे । बस्नका लागि उसको कोठा भिन्न थियो । काम आएको बेला रात दिन नभनी छिटो र राम्रो काम गर्न सिपालु भैसकेको थियो सन्तराम । अब त लगभग एक लाख जति तलब पनि जम्मा भएको थियो । मासिक बीस हजार रुपैयाँ बचाउँथ्यो । तलब उत्तिकै भए पनि अरबमा बस्न खान आफैले खर्च गर्नुपर्ने भएकोले बचत हुन सकेको थिएन । यहाँ बस्न खान खर्च लागेको थिएन । बेतनले उसको तलब आफैले नजिकैको बैकमा खातामा जम्मा गरिदिन्थ्यो । कहिलेकाही बेतन र सन्तराम बेलुकी सँगै बसेर रक्सी पिउँथे । तर मात लाग्ने र काम बिगार्ने गरि कहिल्यै पिएनन् । बेतनका छोराछोरी कलेज पढ्ने भएका थिए । उनीहरु देख्दा सन्तरामको मन कुडिन्थ्यो । तर विदेश गएर रित्तोहात कसरी घरमा फर्किनु भन्ने कुराले उसलाई रोकिरहेको थियो ।
गाउँ शहरमा दशै लाग्दै थियो । यो बर्ष त जसरी पनि दशैंको मुख पारेर घरमा जाउँ भन्ने भयो सन्तरामलाई । एकरातको नाइट चढेर पुगिने ठाउँ भएर पनि सन्तरामलाई समुन्द्र पार नै भएको थियो घर ।
  ” दाजु यसपालि त घरमा जाउँ कि दशै मान्न , मन थामेको पनि धेरै पो भयो त ।” एक चुस्की लिदै सन्तरामले कुरा निकाल्यो । घरकै टेबलमा बसेर बेलुकी दुईभाइ चुस्की लिदै थिए । ” हो त दुई बर्ष पो हुन लाग्यो नि भाइ घरमा नगएको नेपाल आएर पनि जाने मन गरेनौ । पहिल्यै एकदुइ खेप गएर आएको भए नि हुने ।”
 ” रित्तो हात के जानू र दाइ अब त अलिकति पैसा पनि भयो र पो आँट आएको । घरको स्थिती पनि के कसो भएको छ फोन गर्न नि आँट आएको छैन अझै ।” चुस्किकै तालमा पनि  ऊ गंभिर भयो ।
” अब एक्कासि जाँदा झन् रमाइलो हुन्छ भाइ खुशी हुन्छन् सबैजना ।”
 ” हुन्छ एकदुइ दिनमा जान्छु अब दशैको मुखमा कामको माचो पनि छैन । आएका अर्डर दशै पछि आएर सम्हालौला । “
” हुन्छ सन्तराम म पैसा र बसको  टिकट पनि ल्याइदिउँला ।”
  सन्तरामले झोला तयार पार्‍यो । बेतनले मोटरसाइकलमा लिएर गयो र धनगढीको बसमा चढाएर शुभ यात्रा भन्दै बिदाइको हात हल्लायो ।
           *****
  घटस्थापनाको अघिल्लो दिन मंगलीले साहुसँग कुरा राखी । घरमा आमा बिरामी हुनुहुन्छ म बेलैमा जानुपर्छ । केहिदिन देखि आफै आएर छोराछोरीलाई खाना बनाउनु पर्ने भएको थियो । बुढी आमा दिनदिनै कमजोर हुँदै गएर आगो बाल्न नसक्ने भएकी थिइन् । छोराछोरी स्कुल बाट आएर चिउरा भुजा चाउचाउ बिस्कुटको खाजा खान्थे । बिहान छिट्टै खाना बनाएर जान्थी मंगली । आमा चाहिँ कहिले उठेर अलिकती खान्थिन् । कहिले भोकै पल्टिरहन्थिन् । उमेर र चिन्ताले दिनानुदिन खियाउँदै लगेको थियो ।
 मंगलीले छोराछोरी र आफ्नालागी खाना बनाई । आमाको लागि अलिकति छुट्टै जाउलो पकाई । उठाएर ख्वाउन खोजी । आमाले निल्न पनि सकिनन् । आज उनलाई बिहानै देखि च्यापेको थियो । ऐए भन्ने शक्ति पनि बाँकी थिएन शरिरमा ।
मंगलीले सुतेकै अवस्थामा चम्चाले जाउलो ख्वाइदिई पानी ख्वाइदिई । प्राण मात्र बाँकी रहेको शरीर देखेर मंगलीलाई औडाहा भयो । छोराछोरी खाएर सुते । उसलाई निद्रा नै लागेन । एक्लै के गरुँ गरुँ भयो । पल्लो घरमा गएर बुधनीलाई बोलाई । बुधनी र मंगली आमाको वल्लो पल्लो छेउमा बसे । मच्छर धुपको धुवाँले दुबैका आँखा पोले । “त्यो धुप अलि पर राख मंगली , आमालाई सासफेर्न गार्हो भयो कि ।” मंगलीले गोलो धुप अलि पर सारी । रात निकै बित्यो ।
” बुधनी दिदी सुत्न जानू , आमा त यस्तै हुन् । ” बुधनी गए पछि मंगलीले फेरि आमालाई छामिन् । हातखुट्टा चिसा थिए । अलिकति तेल लगाएर मिचिदिईन् । धेरैबेर मालिस गर्दा पनि शरीर तातेन । मंगलीलाई आमाको हालतले निद्रा पुरै निलिदियो । रातको एघार बार्ह्र एक दुई बज्यो । निद्राको लेस पनि थिएन । अब त के निदाउनु । धारामा गएर मुख धोई । जगमा पानी ल्याई । चिसो हातले आमाको मुख पुछिदिई । चम्चाले पानी ख्वाई । आमा भनेर बोलाई । आमाले सकि नसकी आँखा खोलिन् । राजमार्ग छेउमा गाडी रोकेको आवाज आयो । केहीबेरमा गाडी हिडेको आवाज सुनियो । उज्यालो भै सकेको थिएन । टाढा टाढा भाले बासेको सुनिन्थ्यो । मंगलीलाई चिया पिउन मनलाग्यो । दिउरोमा एक कप पानी बसाली । चिया चिनी मिसाई । एकै छिनमा चिया पाक्यो । स्टिलको गिलासमा चिया खन्याउँदै थिई बाहिर बाट कसैले बोलायो , ” मंगली !”
  बाहिरको बत्ती बलेकै थियो । आँखालाई विश्वास नलागे पनि साँच्चिकै सन्तराम आएको थियो ।
मंगली बोल्न सकिन । उसलाई ऊ हिडेदेखी आजसम्मका दृश्य “फास्ट फर्वार्ड” शैलीमा आँखा अघि नाचिरहे  । सन्तरामले झोला आमाको सिरान छेउमा राखेर आमालाई ढोग्यो । खुट्टा निकै चिसो थियो । ” आमा बिरामी हुन् ? आमा , ओ आमा … ” सन्तरामले बिस्तारै आमालाई बोलाउँदै हल्लायो । आमाको बोल्ने शक्ति थिएन । नजिकै रहेको कटौराको पानी चम्चाले ख्वाइदियो । आमाले अलिकति आँखा खोलेर हेरिन् । एकघुट्की पानी खाइन् । उसले आमाको हात समात्यो । ” बाहिर मठको छेउ लिप त मंगली ।”
“मंगली के भन्छौ किन लिप्ने मठको छेउ ? के भयो र … “
मंगली आएर अर्को हात समाती । नाडी चले जस्तो लागेन । ऊ पनि आत्तिई । पल्लो घरको गाइगोठमा गएर गोबर ल्याइ र मठको छेउमा लिपि । भित्रबाट एउटा नयाँ गुन्द्री ल्याएर ओछ्याई । दुबैले उठाएर बाहिर ल्याए । बाहिर ल्याउँदा सम्म आमाको शरीर पुरै चिसिएको थियो । उज्यालो भयो एकैछिनमा सबै गाउँले एक दुई गर्दै जम्मा भए । अलि उमेर पाकेकाहरुले छामी हेरे र अब प्राण नभएको घोषणा गरे । सन्तरामलाई देखेर सबैले आश्चर्य ब्यक्त गरे । छोराको अनुहार हेर्न आमाको सास रोकिएकोमा र आमाको मुख देख्न आइपुगेकोमा भाग्यमानी भने सबैले । आफुलाई भाग्यमानी भनिएकोमा निकै घोत्लियो । आफुले कमाएको आमाकै क्रिया खर्च गर्न रहेछ र त अन्तिममा भेट भयो । सायद यहि होला भाग्य   ।
        उसका आँसु झर्नै सकेनन् । वोल्डिङ्ग गर्दा पग्लिएको फलाम जमेजस्तो भएर मनभित्र जमिरहे ।
अब के थियो मंगलीको घरमा दशै दशा बनेर भित्रिनु थियो भित्रियो । मंगली निक्केबेर रोइ । बुधनीको लावा भुटी अन्य सरजाम तयार गरि र अन्त्यमा शबको बिदाइ गरे आँगन भरी भएका रसिला आँखाहरुले ।

 

कोहलपुर – ४, बाँके ।