
बाह्रखरी कथा प्रतियोगिताको छैटौँ संस्करणमा नेपालगञ्ज निवासी कवि तथा कथाकार विष्णु पादुकाको कथा ‘‘माग्युद् खोना’’ प्रथम भयो, र एक लाख रूपैंया जित्याे । यो नेपालमा एकल कथालाई प्रदान गरिने सबै भन्दा ठूलाे पुरस्कार राशि हो ।
पादुका लामो समयबाट साहित्यका विविध विधामा साधनारत् सर्जक हुनुहुन्छ । उहाँका कथा, कविता, निबन्ध तथा समीक्षात्मक लेखहरू साहित्यपोस्टमा पढ्न सकिन्छ । प्रस्तुत छ, एक लाखको पुरस्कार प्राप्त गरेपछि पादुकासँग साहित्यपोस्टका लागि गरिएको संवादको सम्पादित अंशः
…
बाह्रखरी कथा प्रतियोगिताको छैटौं संस्करण प्रथम हुनुभयो, बधाई छ । पुरस्कार थाप्न नेपालगन्जबाट काठमाडौं आउनुभयो, नतिजा घोषणा हुनुपूर्व नै कतैबाट आफू प्रथम हुँदै गरेको जानकारी पाउनुभएको थियो ?
त्यस्तो थिएन । आयोजकका तर्फबाट उत्कृष्ट २५ भित्र परेपछि कार्यक्रममा उपस्थित हुनुपर्छ है भनेर भन्नुभएको थियो । आफैं आउन सम्भव भए कोही प्रतिनिधि आए पनि हुन्छ भन्नुभएको थियो । मेरो छोरा काठमाडौंमै बस्छ, उसलाई जान भनेको थिएँ शुरुमा । तर छोरालाई फुर्सद मिलेन । श्रीमतीले पनि आफैं जान सुझाव दिइन् । २५ भित्र त परिएको छ, बाँकी केही नभए पनि साहित्यकारहरुसँग चिनजान हुन्छ भनेर आइयो । जब म कथा घोषणाको दिन कार्यक्रम स्थलमा पुगें तब भने मलाई मेरो कथाले विशेष केही गर्यो झैं भान भयो । किनकि, कार्यक्रम स्थलमा राखिएका ब्यानरहरु मेरै कथाको थिम आइरहेको पाएँ ।

विष्णु पादुका
नेपालगञ्जबाट हिंड्दासम्म चाहिँ तपाईंलाई प्रथम, द्वितीय वा तृतीय मध्ये एउटा हुन्छु भन्ने कहींकतै लागेको थियो कि थिएन ?
मैले आठौं पटक पुर्नलेखन गरेपछि यो कथा सिध्याएको हुँ । शुरुमा शब्द नगनी मोबाइलमा लेख्दै ल्यापटपमा सार्दै गरेको थिएँ । त्यसलाई प्रिन्टमा झिक्ने र सम्पादन गर्ने गर्न थालें । आफ्नो तर्फबाट कथा पूरा गरेपछि केही साथीहरूलाई पढ्न दिएँ । साथीहरूले केही बुझेको प्रतिक्रिया दिनुभयो । जब साथीले बुझेनन् कथा बलियो भयो भन्ने लाग्यो । त्यसपछि लाग्यो – कथा बन्यो, अब यसलाई छुन्नँ भने । त्यतिबेलै यो कथा राम्रो बनेकोमा विश्वास थियो । प्रतियोगिताका बारेमा चाहिं धेरै सोचेको थिइनँ ।
प्रथमका कथाकारका रूपमा तपाईको नाम उद्घोष हुँदाको पहिलो अनुभूति के थियो ?
कथा लेखेर सिध्याउँदा जुन आनन्दको अनुभूति गरेको थिएँ, त्यतिबेला पनि ठीक त्यही आनन्दको अनुभूति गरें । प्रतियोगिताका लागि कथा पठाउँदै गर्दा ५२ भित्रै परेन भने पनि एउटा कथा बनेको छ जिन्दगीमा भन्ने भएको थियो । त्यहाँ नाम आएपछि कथा भएछ भन्ने लाग्यो । लगभग ५०, ६० ओटा कथा लेखियो होला जीवनमा लामाछोटा गरी । यो कथा लेखिसक्दा बलियो कथा भयो भन्ने लागेको थियो ।
त्यसो भए त्यतिखेर नै तपाईंलाई कथा प्रथम, द्वितीय वा तृतीय हुन्छ भन्ने लागेको थियो ?
आशा थियो, प्रथम, द्वितीय वा तृतीय नभए पनि २५ भित्र चैं पर्छ । प्रतिस्पर्धा कडा हुन्छ भन्ने सुनेको थिएँ । कथाकार तथा कवि नविन अभिलाषीसँग कुरा हुन्थ्यो । उहाँले नै छानिन साह्रै गाह्रो हुन्छ भन्नुभएको थियो । फोन गरेर पहिलो बधाई पनि उहाँले नै दिनुभयो । उहाँको फोन पुरस्कार थाप्दाथाप्दै आएको थियो ।
तपाईंले पहिलोपटक साहित्यिक प्रतियोगितामा कहिले भाग लिनुभएको थियो ?
यो मैले जीवनमै दोस्रो पटक भाग लिएको प्रतियोगिता हो । यसअघि ०५२ सालतिरै कविता प्रतियोगितामा भाग लिएको थिएँ । कविता वाचनका लागि छानियो । वाचन गर्नुपर्ने भयो । म बोल्दा भकभकाउँछु, तपाईंले पनि थाहा पाइसक्नुभयो । यही कारणले मैले कविता वाचन गर्नसकिन, र आफैंप्रति एक किसिमको लघुताभास पैदा भयो । त्यसपछि भरसक प्रतियोगितामा भाग लिन नपरे हुने जस्तो लाग्थ्यो ।
भनेपछि, पहिलोपटक कविता प्रीतयोगितामा भाग लिनुभो तर वाचन गर्न सक्नुभएन, दोस्रोपटक कथा प्रतियोगितामा भाग लिनुभो र प्रथम हुनुभयो ?
हो, त्यतिबेला पनि मैले लेखनबाट मात्र पाउने अङ्क पूरा पाएर १ हजार रुपैयाँ पाएको थिएँ । वाचन गर्न सकेको भए त्यसले पनि राम्रो ठाउँ पाउँथ्यो होला ! तर वाचनकलामा म हारें । वाकदेवीले मलाई हराइरहनुभयो ।
तपाईंको प्रथम भएको कथा ‘माग्युद् खोना’ भित्र के छ, जसले निर्णायकहरूको मन जित्यो ?
कथाको सार नै भन्नु उपयुक्त नहोला । यो कथा बिम्वमा टेकिएर लेखेको छ । समयको अन्तराललाई शिलशिला मिलाएर लेखिएको छैन, विभिन्न बिम्वले जोड्दै जोड्दै ल्याइएको छ । यर्थाथ घटनालाई जोडिएको छ । यो नारी प्रधान कथा हो । साहित्यपोस्टमै मेरो ‘नेलु’ भन्ने कथा छापिएको छ । त्यसमा छोराले बाउको नागरिकता नभएर जन्मदर्ता पाएको हुँदैन । त्यो कथा यहाँ पनि मिसिएको छ । तर यहाँ चैं छोरी छिन् । आमाको वंश लम्बिंदै गएको छ । आमाको वंश लम्बियो भने के हुन्छ ? कथाको क्लाइमेक्समा भेट्नुहुन्छ ।
यो कथा लेख्नलाई तपाईंलाई केले प्रेरित गर्यो ?
एउटा फोटो हेरेको थिएँ मैले, आमाछोरीको । त्यो फोटो नै यो कथाको सूत्र हो । फोटो हेरेपछि मेरो दिमागमा हान्यो – त्यो पात्रले भोगिरहेको दुःख त थाहा थियो, भूगोल पनि परिचित थियो । मलाई त्यही एउटा फोटोले प्रेरित ग¥यो । त्यहाँ एउटा प्रथा छ – त्यो प्रथाले महिलाहरूलाई साह्रै दुःख दिएको थियो । पहिले धेरै थियो, अहिले कम हुँदैछ । कथामा त्यही कुरालाई उतार्ने जमर्को गरेको हुँ ।
तपाईंले धेरै कथाहरू लेख्नुभएको होला, तर स्थापित कथाकारका रूपमा तपाईंको नाम सुनिंदैन । ‘माग्युद् खोना’मार्फत् अब कथाकारका रूपमा स्थापित हुनुभएको हो ?
सायद । तर अहिलेको माहोलमा २–४ ओटा किताब नछाप्दा सम्मलेखक नै होइन भन्ने चलन पनि छ । तर नितान्त एक्लो कथालाई दिने देशकै ठूलो पुरस्कार जित्नु मेरा लागि धेरै ठुलो कूरा हो । संसारभरिका पाठक माझ एकैपटक चिनिनु हो ।
अब कथाकृति कहिले प्रकाशनमा ल्याउनुहुन्छ ? अहिलेसम्म त्यतातिर नसोचे पनि अब त ल्याउनै पर्ने भयो नि त !
यो कुरा उठिसकेको छ । मेरो छोरी अस्ट्रेलियामा छिन् । उसले ‘अब १ वर्षभित्रमा किताब ल्याउनुपर्छ बाबा’ भनेर हिजो नै प्रस्ताव गरिन् । ‘अब मेरो दम छैन, तिमीहरूले सहयोग गर्छौ भने ल्याउँला’ भनें । त्यो त छोरीलाई भन्ने कुरा थियो । अहिलेको इमेजलाई कायम राख्न पनि अर्को वर्ष यतिबेलासम्ममा किताब निकाल्नु पर्छ भन्ने मलाई पनि लागेको छ ।
तपाईंले नेपथ्यमा बसेर सिर्जना गरिरहनुभएको सर्जक, ‘म कथाकार हुँ’ भन्ने भारी कम थियो होला तर अब यो पुरस्कारले एक खाल्को भारी बोकायो । नेपालमा चैं पुरस्कार पाएका लेखक–कविहरू हराउँछन् पनि भनिन्छ । यी कुरालाई चाहिं कसरी लिनुभएको छ ?
हो, गाह्रो चैं हुँदो रहेछ जस्तो लाग्छ । पुरस्कार नपाउँदा हल्का थियो मलाई । हिजोसम्म फ्रेस थिएँ, आज एकखाले ह्या. जस्तो भएको छ । जिम्मेवारी थपिएको बोध भएको छ तर यो भन्दैमा मैले भय.कर गर्नुपर्छ भन्ने सोच चाहिं मेरो छैन । पुरस्कार नपाउँदा पनि म निरन्तर लेख्थें । लेख्नुपर्ने कथा, निबन्ध, कविताहरू थाँती छन् । एउटा उपन्यास लेखिसकेको छु तर निकालेको छैन । यो सब भन्नुको तात्पर्य अब फटाफट किताब निकाल्ने भन्ने पनि होइन । मेरो मनले खाएका १० देखि १५ ओटा कथाहरूचाहिं चाँडै निकाल्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

