बेला कुबेला
कोमल फूल चुडाउने
राक्षसहरु कहिले हुने अपराधी सावित ?
अथवा
आफ्नो काख नरित्तिँदा सम्म
मौन रहने ?

छोरीहरुको सुरक्षा गर्न नसक्ने राज्यले
त्यो कोख र काखको खालीठाउँ कसरी पूरा गर्ला ?

जतिसुकै नुनिलो आँसुले धोएपनी
यादहरु नपखालिने रहेछन् ।
चोट र पिडाको हिसाब
गणितमा कहिल्यै नभेटिने सुत्र हो ।
थाहा पाएर पनि थाहै नहुने भूमिका हुनेरहेछ ,
कानुनका आँखाहरुको ।

पाएर खुशी र गुमाएर उदास हुनु
एउटा नियती मात्र हो जनताको ?
अथवा
गुमाउँदा पनि बचाउँदा पनि
अपराध बोध गर्नुपर्ने समय र समाज हो
छोरीहरुको हकमा ?

सडकहरु
आफैँले आर्जेका अधिक स्वतन्त्रताहरुले
आफ्नै हदमा कैद हुन नसकेको
यो बर्तमानमा
भागीरथी छोरीहरुको नाम
केवल बलात्कारमा ज्यान गुमाउने किशोरी मात्र हुने हो ?
अथवा
हामी त्यो नामावलीको फेहरिस्त
अझै लामो बनोस् भन्ने चाहन्छौं ?
अथवा
बा दाइ भाइ हुनुको संवेदनशिलता
सुक्दै जाओस्
भन्ने चाहन्छ यो राज्य ?

अथवा ….
सामान्य कुरालाई असामान्य र असामान्य अपराधहरुलाई
सामान्य घटनाका रूपमा लिइने
अभ्यास हो यो ?