पुस्तक आफैँमा जटिल प्रक्रिया हो, सोचलाई साँचोमा ढाल्ने साधन पो त । एउटा यस्तो पुस्तक जसभित्र एउटा पाठक र एउटा लेखकसँगै युद्धरत  हुन्छन् । पढिरहँदा लेखक सक्रिय हुन्छ । पढ्न छोडेर पाठकले लेखक मार्छ । आफू सक्रिय  हुन्छ । घरी लेखक मर्छ घरी पाठक मर्छ । पाठकले लेखक र लेखकले पाठक मार्ने खेल अन्त्यसम्म चलिरहन्छ । जहाँ लेखन होइन यथार्थमा  सबै कुरा भैरहेको हुन्छ । विगत वर्तमान  र भविष्यको त्रिकोणात्मक समयको मिश्रणमा आफू विजयी हुँदा दुई कोण गायब हुन्छन् । समयको अर्को एउटा कोण हुन्छ जहाँ बसेर तीनै कोण नियालेर एउटा वर्गमा खेल हुन्छ । अन्तमा वर्ग पनि एउटा वृत्त बनेको हुन्छ । लेखक, एक कुनामा बसेर समयका तीन आयामलाई गुडिया बनाएर खेलाइरहन्छ । समय, युग र चेतनासँग खेल्नु  चानचुने कुरा नै होइन । त्यसैले पटक-पटक लेखक मर्छ , पटक-पटक पाठक मर्छ । यो खेल हो । वेदले सबै पाठक मारेर आफूलाई स्थापित गऱ्यो धर्मको नाममा । आजसम्म जति कुरा लेखिए पढिए चेतनाको त्यही एउटा घरभित्रको खेल हुन् ।

जिब्रोवाला याद मस्तिष्कमा  हुनाले बेला-बेला जिब्रो मार्नुपर्छ । मस्तिष्कको जिब्रो बचाउन आफू बाँचिरहनुपर्छ । कहिले पाठक जिब्रो भइदिन्छ । कहिले लेखक मस्तिष्क । कहिले फेरि लेखक जिब्रो भइदिन्छ कहिले पाठक मस्तिष्क भइदिन्छ ।

संसार अस्तित्वको लडाइँ अनि जितको उपज हो । एउटा चिज देखिनु अर्को लोप हुनु हो  । उपस्थितिलाई विज्ञानले प्रमाणित गऱ्यो । वस्तुको उपस्थिति पछिको प्रतिक्रिया नै मानवीय सोचाइको आधारशिला हो । अँध्यारो किन हुन्छ उज्यालो किन ? अँध्यारोले उज्यालोलाई र उज्यालोले अँध्यारोलाई विस्थापित गर्छ । उज्यालोको भिन्न गुण र अँध्यारोको भिन्न गुण छन् । यहाँनेर हामी गुणको पछि आँखा चिम्लेर लागिदिन्छौँ । हामी निःसर्त उज्यालोको पक्षमा भोट हाल्छौँ । यो राजनीतिक चुनावको भोटको जिजुबुबा हो । आँखाले देखेको कुरा अर्थात् “फ्राई” भइसकेका हाम्रा पञ्चेन्द्रिय ज्ञानेन्द्रियहरूले निर्देशन गरेका कुरा सही अरू सब खराब भन्ने कुराको “भोटिङ्ग” यति छिटो र सजिलोसँग हुन्छ हामीलाई कुनै निर्वाचन आयोगको खाँचो पर्दैन ।

विष्णु पादुका

एकले अर्कोको अस्तित्व प्राकृतिक रूपमा स्वीकार हुँदैन । भएको छैन । पानीले आगो र आगाले पानी सकाउन नै उत्पत्ति भएका हुन् जस्तो  । विपरीत अस्तित्व आगो र पानीका । सस्तो वस्तुका उपभोक्ता हामी तिर्खामा पानी ठिक भन्छौँ । भोक लाग्दा र चिसो  हुँदा आगो ठिक भन्छौँ । बुद्धिले आगामा पानी उमालेर भोक नाश भएको प्राकृतिक राजनीति  बुझ्न कठिन हुन्छ  ।

लेखक त्यो भान्से हो । उसले विष  हालेर खाना पकाएको भए पनि खुवाउनु छ । पाकेको सामान सकाउनु जो छ । आफ्नो कर्तव्यबोधले लेखक छताछुल्ल छ । बाढीको बहावले के कति हानि, नोक्सानी गऱ्यो त भनेर थाहा पाउन सग्लिनु जरुरी छ । त्यो बेलासम्म पाठक जागिसकेको हुन्छ । पाठक उठिसकेको हुन्छ । पाठक उठ्दा लेखक नतमस्तक हुन्छ । पाठकले लेखकलाई के कति बचाउने या के कसरी कतिपटक मार्ने भन्ने स्वतन्त्रताको विनम्र कर्तव्यबोधले थिचिएको छ । थिचिएकै हुन्छ ।

पुस्तक पनि चरमयुद्ध मैदान हो । त्यहाँ  हत्याहिंसाको यो निर्मम खेल चलिरहेको हुन्छ । पाइला-पाइलामा हत्या र हिंसा छ । पलपलमा रगतको रङ्ग फेरिन्छ । वातावरण फेरिने क्रम यति तीव्र छ कि दर्शकलाई कुनै बिग्रेको सिनेमा फास्ट फर्वाडमा हेरेको झैँ लाग्छ । यसको तत्त्वगत रूपमा बुझ्न कि मेरो पाठक छ कि मेरो लेखक कि म मात्रै । यहाँनेर तपाईँ  त्रिकोण देख्नुहुन्छ । यहीँनेर म चौथो कोण कल्पना गरिहाल्छु । म त्यहीँबाट यो सब नियाल्छु । मेरो नियाल्ने क्रम अर्थात् चक्र नै दुनियाँ भनेर बुझ्नुहुन्छ तपाईँ । संसार भनेर परिचित हुनुहुन्छ तपाईँ । याद गर्नुस् तपाईँ एउटा पुस्तक पढ्दै हुनुहुन्छ । त्यो दृश्य तपाईँ आफैँ देख्दै हुनुहुन्छ । यो फगत कल्पना होइन । यो अदृश्य यथार्थ हो । कति अदृश्य यथार्थलाई हामी स्वीकार गर्न सक्दैनौँ तर हामी भोग्न विवश हुन्छौँ ।

तपाईँ एक ठाउँमा उभिनुभएको छ । त्यहाँदेखि तपाईँ केही देख्दै हुनुहुन्छ । त्यो देखेको चिज वस्तु या स्थानले तपाईँलाई देखेको छ बिचमा एउटा दूरी छ यो सब देख्ने अर्को छ । तपाईँ हुनुहुन्छ तपाईँको तल एउटा माथि एउटा स्थान छ । तपाईँ यसरी नै अडिनुभएको छ देख्ने अर्को छ । तपाईँ आफूलाई देख्नुहुन्छ अघिल्लो या पछिल्लो पुस्ता छ  यो यथार्थ हो ।  यी सबै यथार्थ देख्ने अर्को एउटा छ । जसलाई  यहाँ आजसम्म आजभन्दा धेरै अघिदेखि ईश्वरको उपाधिमा उठाइयो । कहिले राम उम्मेद्वार थिए कहिले कृष्ण कहिले बुद्ध कहिले मोहम्मद पैगम्बर । तिनीहरू पनि हामीजस्तै, तपाईँजस्तै अथवा मजस्तै थिए । अस्तित्वबोधको चेतनाले उनीहरूको व्यापार आजपर्यन्त चलिरहेको छ दैनिक फस्टाउँदै  । उसलाई राम्रोसँग थाहा छ फलाम भनेजस्तो बनाउन कुन मोड कुन तापक्रम कसरी उपयोगमा ल्याउने । तपाईँ हामी खिइने वर्ग हुनाले फलाम भन्दिएँ मैले । उसो त सुनको पनि हविगत उही हो । चाँदी पनि मक्ख नपरे हुन्छ । हीरा त बाँकी राख्दैन । समय आफूसँग खेल्नेहरूलाई सफल देख्छ दुनियाँ । गोल हुन पोस्टको बिम समेत नछोएर छिर्छ नि बल । स्लो मोसनमा हेर्न सकिन्छ नि । हो त्यसरी समयलाई रोकेर राख्छ त्यो लेखक एउटा पाठकलाई ।  मानौँ लेखक जेलर हो पाठक बन्दी ।

जहाँनेर यो पद र हैसियत सृजना हुन सक्दैन । मान्नुस् यो फ्लप पुस्तक हो । फ्लप फ्लिमजस्तो । उसो त फ्लप फ्लिम पनि चलाइन्छ र बक्स अफिसमा हिट भएको प्रमाणित गरिन्छ । जहाँ केही ठुलो टीका र प्रसादको पुरस्कारको माला पनि पहिराइन्छ । कलाकार र निर्देशकको भूमिका एकातिर हुन्छ । युद्ध र सङ्घर्षको कथा छायामा हुन्छ । पाठक अर्थात् एउटा दर्शक फगत व्यापारको सिँढी मात्र भइदिन्छ ।

तपाईँ देख्दै हुनुहुन्छ । सुन्दै हुनुहुन्छ । मनन गर्दै हुनुहुन्छ ।

“बोझ थोपर्ने वाइहात लेखक, चार कुरा गुगल  गरेर एक कुरा मनदेखि थप्ने कामचोरको के किताब पढ्नु । एउटा पुस्तकले मन अड्याउन्न । पानामा आँखा अडिन्न  । एक अनुच्छेद पढ्दा नै अत्यास लाग्छ । आँखा फड्किन्छन् शब्द र वाक्यका दिक्क लाग्दा गौडा र गल्छीहरू । आगो बाल्दिन्छ पाना-पाना च्यातेर जो कोहीले ।  गीता, कुरान, बाइबल अनि त्रिपिटक समेत जलाउन हैसियत राख्ने तँ मुला  लेखक मलाई के सम्झिन्छस् । तँलाई पढ्दापढ्दै म सकिएँ । मेरा बा अनि मेरो छोरो सकियो । साला मेरो तन-मन-धन सकाउन  साम-दाम-दण्ड-भेद  प्रयोग गरेको छस्, म बुझ्दिनँ र !” पाठक जहिल्यै हाबी हुन्छ जित्छ तपाईँको नजरमा ।  तपाईँलाई पाठकप्रति एकरत्ती सहानुभूति पैदा हुँदैन र ?

जब लेखकको पल्लामा चढ्नुहुन्छ । विचारको चेतक चढेर जब  लेखकको आँगनमा पुग्नुहुन्छ नि तपाईँ लेखकको शक्तिको भक्त भइदिइहाल्नुहुन्छ ।  उसको नयाँ प्रयोग । अघिल्लो अनुभव । हिजोको भन्दा स्तरीय ।  जसरी पनि पढिनुपर्ने । प्रकाशनको नेतृत्वमा युद्ध छेड्नु नै छ । एउटा पाठक जाबो त जसरी पनि ढाल्न सकिन्छ ।  चाहिए जति लैजानुहोस् भनिएको ढाल न सकिन्छ न रोग र अनावश्यक गर्भपतन र गर्भनिरोध । ढाल्न सक्ने भनेको फगत युद्धमा हो । पाठकसँगको युद्धमा । लेखकले जित्यो भने  बत्तीको पुतली हुन थप पुतली आफैँ बोलाउँछ त्यो सुधो पाठक । जसले एकपटक पढ्न पनि  खुन पसिना बगाएर गास कटाएर जोगाउनुपर्छ । उसलाई मारेर लेखक पार्टी खान्छ । रमाइलो गर्छ । विज्ञापन गर्छ पाठक हत्या अभियानको । तेरिमा साहित्यको खेलो ।

वाइहात! न आय न आम्दानी, पैसा न सैसा टिको ठ्याँस ठ्याँस भनेझैँ  कोमल मन कोप्न दुख पिर व्यथाको गहिराइमा हुत्याउँछ बलियो लेखक । बिचरो निरीह पाठकलाई । संवेदनशीलताको हतियारले मुटु कलेजो निकालेर राखिदिन्छ त्यो पाठकको एउटा अपराधी तानाशाह पाठकले ।

यत्रो बेर तपाईँ लेखकको कोडमा हुनुहुन्छ । ल बधाई छ । तपाईँको लेखकले जित्यो । तपाईँको आँखामा । युद्ध जारी छ । योद्धाहरू कोहीभन्दा कोही कम देख्दिनँ म । यहाँ भाषा, भूगोल, प्रविधि र शैली अनि अभिव्यक्ति भनेका सब तपसिलका कुरा हुन् । चेतनाको युद्ध सायद उच्चस्तरको युद्ध हुनुपर्छ तर युद्धमा नियमहरू समान हुने गर्छन् ।