कविता लेख्नुका अनेकौं प्रयोजनमध्ये एउटा हो वैचारिक रूपान्तरणको लागि स्थापित सत्यमाथि धावा बोल्नु । अथवा सत्तासीन वैचारिकीको विनिर्माण गर्नु । समाजका जीर्ण मानकहरू भत्काउनु अनि सुन्दर र नवीन सत्यको स्थापना गर्नु । तर्कले । कलाले । विचारले । अनुभूतिले ।

यस धारणाको कसीमा म आफ्नै कविताहरू जाँचेर हेर्छु र अधिकांश आफ्नै कवितामा त्यो विशिष्ट प्रयोजन देख्दिनँ । अनि आफैँलाई गाली गर्छु ।

नियति नि ।

सधैँ निरासा, कुण्ठा, उत्तेजना, संवेग र आक्रोश मात्र लेखेर म कवि बन्न खोजेछु । यही ग्लानिबोधले थिचेपछि आजभोलि म मौन बसेको छु ।

एकपटक कोहलपुरमा आउँदा कवि महेश पौड्यालले भन्नुहुन्थ्यो- “कविता त्यो चिजको नाउँ हो, जसले आत्महत्या गर्न हिँडेको मान्छेलाई समेत घर फर्काउन सक्छ ।” झट्ट एउटा प्रश्न आएथ्यो मनमा, संसारमा कविले आत्महत्या गरेको उदाहरण छ होला कि नाइँ ? अहिले बुझेँ, यो प्रश्न पनि अरूलाई बचाउने डाक्टर आफैँ चाहिँ मर्छ कि नाइँ भनेजस्तै रहेछ । मर्न त ऊ पनि मर्छ तर कसो कसो निर्जीव भइसकेको संसारलाई पुनर्जीवन दिएर मर्छ ।

यति भनेपछि गुरुको नाम लिएको पापबाट मोक्ष अवश्यै मिल्ला ।

•••

विष्णु पादुकाले ‘बिन्दुको वृत्त’ प्रकाशित गरे रे भन्ने सुनेदेखि मनमनै सोचेथेँ- ‘बिन्दुको वृत्त ? सङ्ग्रहको नामै किन यति सङ्कुचित ?’ स्रष्टासँगै सोध्न मन त लागेको थियो, सोधिनँ । जब किताबबारे बुझ्न लेखकसँग नसोधी बुझ्दैन भने, त्यो पाठक पनि के पाठक ? अझ यसरी पनि चित्त बुझाएँ- अपार गुरुत्वाकर्षण शक्ति भएको आश्चर्यजनक प्वाल ‘ब्ल्याक होल’ पनि त विशाल ताराको सङ्कुचनद्वारा निर्मित एक सङ्कुचित स्वरूप नै हो ।

तैपनि असन्तोष पूरै मेटिएको भने थिएन । पल्टाउँदै गएँ ‘बिन्दुको वृत्त’ ।

भूमिका नबाँधिकन एउटा कुरा भन्दिइहाल्छु- कवितामा विचार पक्ष बढी नै हाबी छ । कला छँदै छैन भनेको होइन । तर कला र विचारको सन्तुलन मिलेन कि ! हुन त ‘दार्शनिकता’ कुनै कविको वैशिष्ट्य नै हुन सक्ला । तर पाठकले अनुभूत गरेको कुरा त भन्न मिल्छ नि !

प्रकृति, प्रेम, ईश्वर, मानवता, नियतिजस्ता पक्ष बारम्बार दोहोरिँदा पनि लाग्छ, कवि दार्शनिकतामा हराउन रुचाउँछन् । यसलाई अवगुण भन्दिनँ । यो गुण नै हो कविहरूमा हुने ।

•••

चिन्तन नेपाल

शब्द शिल्प र काव्यिक भाषा

सबैजसो कविताहरूमा शाब्दिक सरलता छ । प्रयुक्त शब्दहरू सामान्य शब्दज्ञान भएको व्यक्तिले पनि सहजै बुझ्न सकिने खालका छन् । ‘स्मार्ट प्रेम’ र ‘म तपाईंको फ्यान हुन चाहन्छु ‘ शीर्षकको कविता चाहिँ यसका अपवाद हुन् । जसमा अंग्रेजी, त्यसैमा पनि प्राविधिक शब्दहरू बढी छन् ।

भाषामा काव्यिक सौन्दर्य नपुगेको जस्तो भने लागिरह्यो । यो चाहिँ सङ्ग्रहका लगभग सबैजसो कवितामा भेटिएको समानता हो कि काव्यिक सौन्दर्य गौण छ । अनि कुनै कुनै कविता आवश्यकताभन्दा बढी लम्बाइमा तन्किएका छन्, पढ्दापढ्दै उच्चाट लाग्छ । भनाइको तात्पर्य थोरै शब्दले भन्न सकिने कुरामा धेरै शब्द खर्चिएको जस्तो ।

•••

नारी-पुरुष सम्बन्ध र भूमिका

कविको लैंगिक पक्षधरता तटस्थ छैन । हुन त तटस्थता पनि एक खाले पूर्वाग्रह नै हो । समय, सन्दर्भ, भूमिका र अनुकूलता अनुसार मानिसले कसैको पक्ष लिने हो । कुनै सन्दर्भमा मानिस एउटाको पक्षमा हुनु भनेको सधैँ अर्काको विपक्षमा भइरहनु होइन । त्यसैले त ‘आमा’ शीर्षकको कवितामा :

बाहरू
बन्दुकसँगै परेड खेले पनि
बालकसँग खेल्न सकेनन् ।

•••
त्यस्तै ‘बा’ शीर्षकको कवितामा :

बा हुन गाह्रो
अझ पुगिसरि नहुने
बा हुन झन् गाह्रो ।

•••

‘छोरीसँग’ शीर्षकको कवितामा :

तिम्रो फूलका पत्रपत्रका बारे
तिमीलाई गौरवान्वित पार्दै
सिकाउन सकिनँ
मन्दिरमा शिवलिङ्गको पूजा हुन्छ
पार्वतीको योनीको किन पूजा हुँदैन ?
प्रश्न पुरानो थियो तिम्रो
सायद भुल्यौ कि
म उत्तरको खोजीमा आजसम्म घोत्लिरहेको छु ।

•••
बिन्दुको वृत्त शीर्षकको कवितामा :

किनकि प्रकृति हो
ऊ हेर्दैछे पुरुषको असली चित्र र चरित्र
उर्वर जमिनलाई बगर बनाउने
सामाजिक आँखामा ऊ
पतिता हुन सक्छे ।

•••••••

पुनरावृत्त प्रसङ्ग :

क्रमश: ‘शक्तिहीन कविता’, ‘कवि र कविता’, ‘कतै म पो गलत छु कि !’, ‘यादहरूको गन्तव्य’, ‘कृतिम कविता’ (सायद यहाँनेर ‘कृत्रिम’ हुनुपर्ने थियो, ‘कृतिम’ भएछ ।) र ‘अरूको कविता लेख्न सकिनँ’ शीर्षकका कविताहरू कविताकै विषयमा लेखिएका कविता हुन् । फरक फरक कवितामा उही कुरा पढिरहन पाठकलाई दिक्क लाग्छ कि ! मलाई चाहिँ लाग्छ ।

•••

‘कारण’ शीर्षकको कविताको कवितांश-

“दु:ख चपाएर पचाउनेहरूलाई हेर !
सगरमाथाभन्दा साना हिमाल
केही पनि होइनन् ।”

यसमा म सहमत हुन सकिनँ । सगरमाथाभन्दा साना हिमाल साँच्चै केही पनि होइनन् त ! सगरमाथा चढिसकेका आरोहीहरूले समेत अरू हिमाल चढ्ने क्रममा ज्यान गुमाएका उदाहरण छन् कि ! सायद छन् ।

••••

“त्यसैले त
मृत्युपत्र लेखेर पनि
मैले आत्महत्या गर्न सकिनँ ।”

यो अंशले फेरि गुरुको उही वाक्य सम्झाइदियो- “कविता त्यो चिजको नाउँ हो, जसले आत्महत्या गर्न हिँडेको मान्छेलाई समेत घर फर्काउन सक्छ ।”

मनमै बसेका कवितांश :

कहाँ पुग्नुभो आमा
नहिँडिकनै ?
हामी हिँडेर पनि कहीँ पुग्दैनौँ ।

••••

निकै सस्तो छ खाएर हेर्नुहोस्

नुनको मूल्य
चुकाउँदा चुकाउँदा
तपाईंको जीवन सकिन्छ ।

••••

भन्नेले त आदर्शमा
आमालाई धर्ती

धर्तीलाई देश भने
देशलाई आमा भने
आमालाई देश ।

तर खोइ
आमा कता देश कता
यो दिशाहिनताले झन् पिरोल्छ ।

सबैजसो कविताले कविताका आधारभूत पक्षलाई समेटेका छन् । चिच्याहट र आक्रोश कवितामा शून्यप्राय: छ । हरेक कविताले पाठकमा शान्त र प्रेमिल स्पर्श छोड्छन् । सत्ता ढाल्दिने वा व्यवस्थै उल्ट्याइदिने गफ नदिएर पनि कविता लेख्न सकिन्छ भन्ने कुराको सुन्दर उदाहरण हो बिन्दुको वृत्त । कृति जुगजुग बाँचिरहोस् ।