बाआमाको कर्तव्य छोराछोरीको अधिकार हो । छोराछोरीको कर्तव्य बाआमाको अधिकार । आजको युगको आयु अधिकार र कर्तव्यको द्वन्द्वले खियाएको छ । कुनै सिर्जनात्मक जलप नहालीकन आफ्नै बासँग वार्तालाप गर्न मोहोर पढिनुपर्छ ।

हामीले जहिल्यै चक्रवर्ती नायक खोजेर आयु सकायौं  । हाम्रा धर्म, संस्कार, परम्परा, संस्कृतिले जहिल्यै यथास्थिति र पुरातनलाई स्वीकार्न सिकायो । द्विविधाका सबै कुरा भगवान्मा टुङ्ग्याउने अनि त्यसको विरोधी भएमा पापको कुण्डमा जाकिने त्रासको अग्नि देखाइयो ।

उसो त हरेक सिक्का खिएर हराएर जान्छ, प्रत्येक आँगनमा दाउरा मक्किएर गए जस्तो तर त्यसले जीवनमा दिएका उपयोगको भिन्न अर्थ हुन्छ प्रत्येकको जीवनमा । भोगाइ र दृष्टिकोण भिन्न भिन्न हुन्छ । जसले अक्षरको लयमा मिलायो त्यसले आयुको तह अवश्य थप्यो । यसो भन्दैमा आयुको लडिया तान्न मात्र किमार्थ खोजिएको छैन ‘मोहोर’भित्र । बरु यसले त एउटा इतिहास बोकेको छ । आञ्जलिकता अँगालेको छ । मोहोर जस्तै व्यक्ति व्यक्तिका हातमा, खल्तीमा अनि मोहोर साथमा हुनुको अनुभूतिको अभिव्यक्ति हो । मोहर अर्थात् आधा रुपैयाँ (पचास पैसा) । डबल सिक्का देख्न नपाइने दिन आउँदा छन् । त्यसैले मोहोरको महत्त्व थपिँदै छ । एक युगको यथार्थ इतिहास जो एक परिवारको मात्र नायक थियो । जसलाई प्रत्येक पाठकसँग जोडेर साझा नायकमा रूपान्तरण गर्न होइन कि हरेक घरमा एक नायक सदैव हुने गर्छ भनी बुझाउनु पनि मोहोरको अन्तर्य हो ।

जीवनको रङ्गमञ्चमा प्रत्येक व्यक्ति नायक हो । अभिनय गर्न जुनसुकै जीव विवश छ । तर मान्छेले मात्र हो यी सबै कुराको अनुभव र अभिव्यक्ति दिने । मोहोरमा  युगको प्रतिनिधित्व छ ।  वर्तमान लुम्बिनी प्रदेशको सेरोफेरोका ऐतिहासिक जानकारीहरू समेटिएका छन् । लकडाउन, बलैगाउँदेखि बाकुसम्म पछि तेस्रो कृतिको रूपमा आएको लेखकै बाको जीवनकथा हो, मोहोर । कोहलपुरमा बसेर निरन्तर लेखनमा रमाएका सागर गैरेले पिताजीप्रतिको लगाव र समर्पणमा कुनै कसर बाँकी राखेका छैनन् मोहोरभित्र । कल्पनाको रङ्ग कतै पाइन्न । शब्दको शक्ति प्रयोग नगरेरै मिठास दिइएको छ ।

मोहोर उपन्यास केवल एक पात्रको कथा होइन, यो एक पुस्ताको सङ्घर्ष र प्रेरणाको दस्ताबेज हो ।  लेखकले आफ्नो बुबाको जीवनमा आधारित यो उपन्यास लेखेर न केवल आफ्नो परिवार, तर सम्पूर्ण समाजका लागि एक प्रेरणादायी कथा प्रस्तुत गर्नुभएको छ।

उपन्यासले बाको बाल्यकालको कटु यथार्थ र कठिनाइबाट कथा शुरु गर्छ। सानै उमेरमा आमाबाबु  र हजुरबा गुमाएर टुहुरो हुनु र खुट्टामा अपाङ्गता भएर पनि बाँच्नका लागि जुध्नुपरेको सङ्घर्ष अत्यन्त मार्मिक रूपमा प्रस्तुत गरिएको छ। उहाँको जीवनमा आउने चुनौतीहरूसँग उहाँले देखाएको साहस र अडानले पाठकलाई गहिरो प्रभाव पार्छ ।

आफू अनपढ हुनु र  शिक्षाको अभाव महसुस गर्दै छोराछोरीलाई शिक्षित बनाउने उहाँको सपना, दृढ इच्छाशक्ति र मिहिनेतले पूरा भएको देख्दा पाठकले उहाँको सङ्घर्षलाई गहिरो सम्मान गर्न बाध्य हुन्छन् । छ जना छोराछोरीलाई राम्रो शिक्षा दिँदै सफल बनाउनुभएका बाको जीवनयात्रा कुनै कथाभन्दा कम छैन । शब्द सौन्दर्यको जलप नलगाई जीवनका भोगाइ, दुःख अनि धीरताको पाठ हरेक उपशीर्षकमा पाइन्छ ।

उपन्यासका केही ठाउँमा घटनाहरूको पुनरावृत्ति भएको महसुस गर्न सकिन्छ । लेखकले भावनालाई बढी प्रधानता दिएर घटनाक्रमलाई धेरै विस्तार गरेको जस्तो लाग्न सक्छ । तथापि, बाको जीवनमा आधारित यो कृति सरल, प्रभावकारी र प्रेरणादायी छ । यो उपन्यास न केवल एक व्यक्तिको सङ्घर्षको कथा हो, यो परिवार र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश हो । ‘बा’ जस्ता साधारण मानिसको असाधारण कथाले पाठकलाई जीवनमा कठीन परिस्थितिसँग कसरी जुध्न सकिन्छ भनेर मात्र देखाउँदैन, बाको आयु बाँचेका बाहरूको दिनचर्या पनि छर्लङ्ग हुन्छ । मोहोर केवल एउटा सिक्काको प्रतीक होइन, यो परिवारप्रतिको बाको योगदान, त्याग र अडानको प्रतीक पनि हो ।

मोहोरको प्रतीकात्मकताका दुई पाटा :

१) परिश्रम र त्यागको मूल्य:

बाले आफ्नो जीवनभर गरेको सङ्घर्ष र कठीन मिहिनेतलाई मोहोरले प्रतिनिधित्व गर्छ । उहाँ अनपढ हुनुहुन्थ्यो तर उहाँले आफ्नो सन्तानलाई शिक्षित बनाउन सबै प्रकारका बलिदान गर्नुभयो । सरलता र सादगी अनि उहाँको परिश्रम उहाँका छोराछोरीका सफलताका रूपमा उजागर हुन्छ ।

२) पारिवारिक प्रेम र उत्तरदायित्व:

बाको लागि मोहोर केवल आर्थिक साधन होइन, यो परिवारको अस्तित्व र भविष्य निर्माणको आधार थियो । उहाँले आफ्नो सीमित स्रोतसाधनको सही उपयोग गर्दै छोराछोरीलाई शिक्षित बनाउन सँगाल्नु भएको ढुकुटी पनि । जसलाई असल छोराहरूले मात्र सार्वजनिक गर्ने हिम्मत र साहस गर्छन् ।

अलिकति लेखन शैलीका कुरा :

लेखकले उपन्यासमा पात्रहरूको छनोट गर्नुभएको छैन । पारिवारिक जमघटका सामान्य छलफल जोडेर उपन्यासको रूप दिइएको छ । बाको मनोभावनालाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गर्नुभएको छ । बाको सङ्घर्ष र दुःखका दृश्यहरूले पाठकलाई भावुक बनाउँछ । मोहोरको महत्त्वलाई पात्रहरूको जीवनसँग जोडेर देखाउन लेखकले त्यही कालखण्डका बोली र घटना जोडेको हुनाले ‘कतै यस्तो पनि होला र ?’ भनेर प्रश्न उठ्दैन । उपन्यासको शीर्षकले कथा र यसको सन्देशलाई थप प्रबल बनाएको छ ।

पुर्खाको यात्रादेखि बुढ्यौलीसम्म पुग्दा एक व्यक्तिले भोगेको पूर्ण जीवन छर्लङ्ग हुन्छ । कति ठाउँका नाम, कतै चाडपर्व, कतै यात्रा, कतै भवितव्यता, कतै साधनश्रोत र दैनिक जीवनका कुराहरूले उपशीर्षकको आयतन ओगटेका छन् । एक पाठकको हैसियतले हेर्दा उपन्यासको केही भागमा भावनालाई अत्यधिक जोड दिँदा घटनाक्रममा विचलन भेटिन्छ । पाठकका लागि केही दृश्यहरू अलिकति खिचिएको जस्तो लाग्न सक्छ । बिस्तार हुनुपर्ने खुम्चिएको र खुम्च्याए हुने कुरा बिस्तार भएको कुरा लेखकले अदृश्य स्वीकारेको देखिन्छ । यो सबै बाको बोली हो । जोड्ने तारतम्य मात्र सागरको हो । उहाँको यात्रा संस्मरणको झल्को मज्जाले भेटिन्छ उपन्यासमा । उपन्यासमा उहाँको यो पहिलो पाइला हो तर टेक्ने शैली दह्रो देखिन्छ । दलदल जोगाएर पाइला चाल्नुभएको छ ।

उपन्यास विधा भन्नेबित्तिकै एक बृहत् कथा बुझिन्छ । त्यसमा संवादको पनि अपेक्षा हुन्छ तर यसभित्र त्यति अर्थपूर्ण संवाद भेटिँदैन । संवादमा ढाल्न सक्ने कुरा पनि विवरणमा भेटिन्छ ।

पढ्नु राम्रो, बुझ्नु उत्तम, लागू गर्नु अति उत्तम भनिन्छ । मोहोर लागू गर्नुपर्ने स्तरको पुस्तक हो । परिवारमा बा जिउँदो हुनेलाई आज सस्तो भएका छन् बाहरू । नहुनेहरूले ‘आज बा भएको भए !’ भनी कल्पेर बसेका छन् । आखिर मान्छेको जीवन समयको एक अनपेक्षित  सूचना मात्र  हो । ऋतु झैँ तपसिलका वसन्त र शिशिर सबैको जीवनमा आउँछन् ।

बालाई ठूलो पारेर सगरमाथा चढाउनु पर्दैन । छोराछोरीको हार्दिकता मात्र खोज्छ एक प्रौढ मनले । हात थापेर खाऊँ भन्दैन ।  विकास र प्रविधिले मारेको फड्कोले मान्छेको मन फेरिने होइन । हाम्रा संस्कार, परम्परा र चालचलन फेरिए पनि प्रत्येक नेपालीका बाआमाका अपेक्षा साझा छन् । चर्ने भूगोल र उड्ने आकाश फेरिए पनि बास बस्न घर चाहिन्छ । प्रत्येक घरको गुनासो कसरी सुन्ने ? कसरी समाधान गर्ने ? कुनै उपदेश नदिएरै भन्छन् सागर गैरे, सिक्न पाइन्छ मोहोर पढेर ।

बाआमाको कर्तव्य छोराछोरीको अधिकार हो । छोराछोरीको कर्तव्य बाआमाको अधिकार । आजको युगको आयु अधिकार र कर्तव्यको द्वन्द्वले खियाएको छ । कुनै सिर्जनात्मक जलप नहालीकन आफ्नै बासँग वार्तालाप गर्न मोहोर पढिनुपर्छ ।

आज तपाईं जे हुनुहुन्छ, त्यसमा तपाईंका बाको जति योगदान अरू कसैको छैन । त्यो मर्मलाई एकाकार गर्न मोहोर पढ्नुपर्छ । बाका लागि छोराछोरीले के गर्न सक्छन् ? बाआमाको मन कसरी बुझाउन सकिन्छ ? नेपाली समाजका पुराना स्थापित मूल्य मान्यताहरू कसरी विस्थापित भए ? समाज कसरी रूपान्तर हुन्छ ? अहिलेको नयाँ पुस्ताले केही त थाहा पाउनै पर्छ । आज सस्तो भएको चिज भोलि अप्राप्य हुन्छ । यी सबै कुरा गहिरो गरी बुझ्न मोहोर पढिनुपर्छ ।