नेपाली लघुकथाको विकास क्रमलाई हेर्ने हो भने यसले ७० वर्ष काटिसकेको छ । तसर्थ पनि नेपाली लघुकथामा अनेक याम आइसकेको छ । मूलतः नेपाली लघुकथा ७० को दशकमा आइसकेपछि यसले सामाजिक सञ्जालमा प्रवेश पाएको प्रस्ट देखिन्छ । यही कालमा धेरै लघुकथाकारहरूको जन्म, विकास र फैलावट भएको पनि मानिन्छ । पचासको दशकमा देखिएका लघुकथाकार किशन पौडेल ७० को दशकमा आएपछि पुनः सक्रिय भई लघुकथामा लागेका र यही कालखण्डमा नै किशन पौडेलले पनि आफ्नो लघुकथाको कृति प्रकाशनमा ल्याएका हुन् । वास्तवमा किशनको साहित्यिक फैलावट अझ भनौँ लघुकथाकारको उडान यही दशकमा भएको हो ।

किशन पौडेल

किशन पौडेल

किशन पौडेल कुनै समय पत्रकारको भूमिकामा थिए । पछि पत्रकारिताबाट उनी साहित्यमा होमिए । साहित्यको गयात्मक विधाहरूमा रमाइरहेका किशनले जब लघुकथामा पाइला हाले उनले लघुकथालाई बिर्सेर अन्य विधामा विचरण हुने विचार नै गरेनन् । लघुकथा उनको परिचय नै बनेको छ । लघुकथामा प्रवेश गरेपछि किशनले लघुकथा मात्र लेखेनन् नेपाली लघुकथाको विकासको लागि आफ्नो क्षमताले भ्याएसम्म संस्थागत कामहरू गरेका छन् । लघुकथा चौतारी, मकवानपुरबाट नेपाली लघुकथामा विषयगत प्रतियोगिताहरू गरी नेपाली लघुकथाकारहरूलाई पुरस्कृत गर्ने काम पनि गरिरहेका छन् । त्यसो त किशन पौडेलले प्रतिनिधि मण्डल बनाई बेलाबेलामा नेपाली लघुकथा र लघुकथाकारहरूलाई नेपालको सीमाबाहिर लैजाने काम पनि गरिरहेका छन् ।

समीक्षक खेमराज पोखरेलको सक्रियतामा वि.सं. २०७९ सालमा पुनः लघुकथासङ्ग्रहको सामूहिक विमोचन भयो । यसै सिलसिलामा किशन पौडेलको लघुकथासङ्ग्रह “खुसी”को पनि विमोचन गरियो । असी पेजको यस संग्रहको आवरण कडा रङ्गहरूको प्रयोगसहित कलाकार अमित घिमिरेले सझाएका छन् । यस सङ्ग्रहमा ४८ वटा लघुकथाहरूलाई समेटिएको छ । मङ्गलवारे आख्यानको यस माहौलमा म खुसीसाथ किशन पौडेलको खुसी लघुकथा-सङ्ग्रहमाथि दीपक दृष्टि राख्ने अनुमति चाहन्छु ।

“खुसी” लघुकथाकार किशन पौडेलको हालसम्मको एकल लघुकथासङ्ग्रह हो । यसमा उनले आफूलाई सिकारु कथाकारको रूपमा परिचय नदिई स्थापित लघुकथाकारको रूपमा उभ्याउन सफल भएका छन् । आफ्ना प्राय कथाहरूमा स्वैरकल्पनाको लेप लगाएर कथाकार किशनले पाठकहरू सामु अब्बल बनेका छन् ।

लघुकथामा स्वैरकल्पनाको प्रयोगलाई महत्वका साथ हेरिन्छ । तर स्वैरकल्पनाको प्रयोग भने नेपाली लघुकथाहरूमा प्राय कमै भएको पाइन्छ । यदि कहीँ कतै भइहाले पनि त्यसको आदि, मध्ये र अन्त्यको संयोजन गर्न नसकेर कयौँ कथाकारहरू हैरानी र बेचैनीमा परेका देखिन्छन् । तर किशन पौडेलले  खुसीमा स्वैरकल्पनायुक्त केही उत्कृष्ट लघुकथाहरू लेखेका छन् जुन नेपाली लघुकथाको क्षेत्रमा मानक बन्न योग्य छन् । उदाहरणको लागि खुसी, आयु र स्वतन्त्रता लघुकथाहरूलाई लिन सकिन्छ ।

खुसी

खुसी

किशन पौडेलले लघुकथाको लेखनमा विविधताको प्रयोग र मेसो मिलाएका छन् । यथार्थ, स्वैरकल्पना, वातावरण र अध्यात्म चेतको मिश्रण आफ्ना कथाहरूमा थाहा नपाउँदो गरी हुलेका छन् । इन्द्रिय सुख अध्यात्म चेतको एक उदाहरणीय लघुकथा हो । गहन शिक्षालाई कबासको डल्लो जस्तै हलुका उठान गरी पाठकको मनमा हलुकै राखिदिन पौडेल सक्षम भएका छन् ।

नेपाली समाजमा पछिल्लो समय राजनीतिप्रति वितृष्णा फैलिरहेको छ । नेताहरू प्राय आफ्नै मनमौजी कार्यमा व्यस्त छन् । नेता र नागरिकबिच फराकिलो खाडल खनिँदै गइरहेको छ । यही अवस्था र विसङ्गतिलाई साहित्यको हरेक विधाले नेपाली राजनीतिलाई घुमाएर प्रस्तुत गरिरहेको छ । यस्तो बेलामा पौडेलले  लघुकथामा नेताप्रतिको वितृष्णाहरूलाई मज्जाले सजाएका छन् । नेताका अनेक रूप, स्वभाव, चरित्र र विसङ्गतिहरूलाई सियोको घोचाइले झैँ च्वास्स घोच्न सक्ने शैलीका साथ पौडेलले आफ्ना लघुकथाहरूमा समेटेका छन् ।

‘खुशी’मा कतिपय लघुकथाहरूले समाजसुधारको काम पनि गरिरहेका छन् । किशन पौडेलको लघुकथाको उर्वर प्रस्थान विन्दु भनेकै कोरोनाकालको हे । त्यस बेला समाजमा घटेका अनेक सामाजिक भयावह, अन्योल, उकुसमुकुस र बेथितिहरू पनि किशनले आफ्ना लेखनमा सहज मिलाएका छन् ।

साहित्य समाजको ऐना हो । अझ लघुकथाले  ऐनाले देखाउन नसकेका कयौँ कथ्य र तथ्यहरू पनि देखाउन सक्नुपर्छ । यसै सन्दर्भमा  पौडेलका थुप्रै लघुकथाहरूले समाजको विषय र परिवेशलाई उनेको पाइन्छ । उनीका अधिकांश लघुकथाहरूले ७० को मध्य भागपछिको समयको सही वकालत गरेको पाइन्छ ।

वास्तवमा लघुकथा भनेको भावनाको एउटा लहरो मात्र हैन । यो साहित्यको एक नितान्त प्राविधिक काम पनि हो । लघुकथाको प्राविधिक पक्षमा शब्दको सिमानादेखि लिएर यसको बुनोट, लघुता, सूक्ष्मता, घनत्व, कौतुहलता, सुत्रात्मकता, विपरीत भाव अनि झड्केदार समापन प्रमुख हिस्सा भएर रहेको छ । यी हिस्साहरूलाई मधुर प्रयोग र समायोजन नगरी वास्तवमा लघुकथा बन्नै सक्दैन । लघुकथाको हिस्साहरूको बारेमा कथाकार किशन पौडेललाई राम्रो ज्ञान छ । तसर्थ उनीले छोएका हर विषयहरूमा किशनले राम्रा लघुकथाहरू लेखेका छन् ।

आख्यानमा भाषा, शैली र संवादहरूको त्रिपक्षीय मिलनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यी माथिका तीन कुराहरूलाई सही संयोजन गर्न सकियो भने कथानकलाई जता वा जसरी खेलाए पनि पाठकले स्विकार्न सक्छन् । तर कथानक मात्रको प्रयोगमा कतिपय कथाहरू बेतुकका पनि भएका छन् । यो कुरा  किशन पौडेलले राम्राेसँग बुझेका छन् । यसमा रहेका हर कथाहरूमा किशनले भाषा, शैली र संवादको उचित प्रयोग गरी  चुस्त र दुरुस्त बनाएका छन् ।

पछिल्ला समयसम्म आइपुग्दा पनि नेपाली लघुकथामा शब्दसङ्ख्याको विवाद जहाँको त्यही छ । वास्तवमा राम्रा लघुकथाहरूमा शब्दसङ्ख्याको विवाद गरिरहनु नै पर्दैन । थोरै शब्दहरूको सटीक प्रयोग गरी लेखिएका हजारौँ लघुकथाहरू नेपाली लघुकथामा लेखिइसकिएको छ । उदाहरणका लागि “खुसी”लाई पनि लिन सकिन्छ । यस सङ्ग्रहभित्र रहेका कयौँ लघुकथाहरू शब्दका हिसाबले छोटा र भावको हिसाबले गहन र लामा छन् । एउटा उपन्यासमा तुर्न हम्मे हम्मे हुने कतिपय विषयहरू किशन पौडेलको सय शब्दमा सजिएको लघुकथामा अटेको छ । वास्तवमा किशन पौडेलका अधिकांश लघुकथाहरू बोन्साई कलाले निपुण छन् ।

वर्तमान समयमा साहित्य लेखन खस्किएको भन्ने आवाज कहीँ कतै सुनिन थालेको पनि छ । तर यसको विपरीत यही समयमा साहित्यमा उम्दा सिर्जनाहरू बीच कडा प्रतिस्पर्धा देखिएको पनि छ । सुन्दर, सटिक र कलात्मक लेखन क्षमता भएका स्रष्टाहरूको सङ्ख्या पनि अधिक छ । तसर्थ पनि अब लेखेर मात्र स्रष्टा चिरकालसम्म बाँच्न नसक्ने परिदृश्य देखिएको छ । स्रष्टामा लेखनको अलावा प्रकाशन, संवेदनशीलता, मिलनसार, सहयोगी भाव, कोमलता, निरन्तरता, सामाजिक गतिविधि र सङ्गठनको पनि ठूलो महत्त्व हुन्छ । यी सबै कुराहरूमा पनि स्रष्टा किशन पौडेललाई म अग्रपङ्क्तिमा नै देखिरहेको छु ।

साँचोमा खुसी लघुकथासङ्ग्रहको आधारबाट मूल्याङ्कन गर्ने हो भने लघुकथाकार किशन पौडेल क्लिष्ट क्लियर लघुकथाकार हुन् । उनलाई जताबाट जसरी हेरे पनि लघुकथाकार नै देखिन्छ । पचासकै दशकमा लघुकथाको लेखनमा रुचि देखाउन थालेको किशन पछिल्लो समयको एक प्रतिनिधि लघुकथाकार हुन् । म नेपाली लघुकथाको फाँटमा किशनलाई एक क्रियाशील किसान सम्झन्छु । उनले इमानदारी र मेहनतले “खुसी” लघुकथासङ्ग्रहबाट नेपाली साहित्यको भकारीमा केही सुन्दर र कालजयी लघुकथाहरू भरेका छन् । म दावाको साथ भन्न सक्छु– लघुकथाकार किशन पौडेलको फसल स्वादिलो मात्र हैन पिसिलो पनि छ । हर कोही पाठकको लागि किशनको लघुकथाहरू सुपाच्य छन् ।

नेपाली लघुकथाको फाँटमा किशनलाई सधैँ सिर्जनशील किसान बनिरहेको देखिरहूँ र उनका हर लघुकथाहरू बोन्साईझैँ कनिरहुन् ।