बा
अभावका पहाडहरू बोकेर
मुगलानतिर भासिनु भो
दस नङ्ग्रा खियाएर
सन्ततिका सुन्दर भविष्य गोडमेल गर्दै
सुस्केरामा मिठो भाका भर्दै
सारङ्गीका तारहरू झैँ रेटिनु भो ।
बा
पौरखी हातहरू फैलाएर
दरिलो छाती बोकेर
फौजीमा भर्ती हुनु भो
सन्ततिहरूको भविष्य सुनिश्चित गर्न
अरूकै शत्रुहरूसँग लड्दै
बहादुर बन्नु भो
बा
एक हल गोरुहरू नारेर
पाटेबारीमा दिनभरि
गोरुसँगै नाचिरहनु भो
सन्ततिका सपनाहरू बुन्दै
खेतका गराहरूमा
कोदालीसँग परेड खेलिरहनु भो
दिनभरि बाउसे गरेर थाक्नु भएको
बाको निधारमा मैले
कहिल्यै थकान देखिनँ
काँधमा जिम्मेवारी
र कर्तव्यको भारी बोकेर
सन्ततिका रहरहरूलाई गोडमेल गर्दै
अभावहरूसँग हाँस्दै जुधिरहनु भो
खै पीडाहरू पनि
कहाँ लुकाउनु हुन्छ बा
कहिल्यै बाँड्ने कोसिस गर्नुभएन
गुजमुज्ज परेका पन्नाजस्तै
चाउरी परेका बाका अनुहारमा
पीडाका वक्र रेखाहरू सलबलाउँछन्
खोपिल्टा परेका गालाहरू
दुःखका गहिरो सागर जस्तै लाग्छ
ती स्वाभिमानी पौरखी हातहरू
ती बहादुर छातीहरू
आदर्श र सङ्घर्षको प्रतीक बनेर
पहाड झैँ अटल भएर उभिएको छ
मेरो मानसपटलमा
मेरो स्मृतिमा !
°°
हेटौंडा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।