१. पहिलो लघुकथा
(याक्खा भाषाको पहिलो लघुकथाकार)

लिस्नु

बीबी याक्खा

बीबी याक्खा

‘हाउ जगमान काका! कति साह्रो काम काम भनेर मरिहत्ते गरेको हौ सधैं हैट !’ मनेले फुर्तीले भन्यो ।

जगमानले जवाफ दियो, ‘के लखर लखर हिडौँ त !’
मने अलिक नम्रहुँदै भन्यो, ‘काका न रिसाउनु न हौ।’
‘तेसो भए के गरौं ? तैले खानु दिन्छस् ? हात बाधौँ म ?’ मनेले भन्यो, ‘कहिलेकाही घुम्नुपर्छ भनेको नि हौ।’

जगमानले चुपचाप नसुनेझैँ भकारो सोर्नु थाल्यो।

जगमान प्रायः आफ्नै घर-गृहस्थीमा रमाउने गर्छन्। आफ्ना छोराछोरीलाई पनि उच्च शिक्षा राम्रो दिए। अर्गानिक खानेकुरा खान्छन् । आफैँले फलाएका पनि छन् । यसैले पनि उनी उदाहरणीय नै छन् गाउँका लागि। जगमानले सोध्यो, ‘ए केटा मोही पिउँछस् ? अनि भन् लौ त यहाँ के भन्नु आइस् ? कुरा नघुमाई।’

मोही पिउँदै मनेले भन्यो, ‘धारा घरको दाइले क्या बोलाएर ल्याउनु भनेर तपाईंकोमा पठाएको हौ।’

जगमानले सोध्यो, ‘हैन के पर्यो तेस्तो र जानु हौ ?’

मनेले भन्यो, ‘चुनाव हुन्छ अरे ठूलो नेताहरु आ छ।’

लामो श्वास तान्दै जगमानले भन्यो, ‘के मतलब त ?’

मनेले शान्त भावमा भन्यो, ‘जाऊँ न भोज पनि छ !’

फिस्स हाँस्दै जगमानले भन्यो, ‘कहिलेसम्म यसरी लिस्नो बन्ने सधैँ ? मलाई मन्जुर छैन, म अन्धो हैन।’

कुनै उपाय नलागेपछि मने लाग्यो फर्केर उतैतिर।

###
(नेपालको प्रदेश नं. १ मा थुप्रै मातृभाषा छन् । तीमध्ये याक्खा भाषा पनि एक हो । बीबी याक्खा याक्खा भाषाको पहिलो लघुकथाकार हुन् ।

बीबी याक्खा, आफूलाई याक्खा भाषाप्रेमी मान्छन् र याक्खा भाषाको लागि सानो स्तरमा भए पनि काम गरिरहेका छन् । उनी लघुकथा समाज, प्रदेश नं. १ को सदस्य पनि हुन् । उनका केही कृति प्रकाशनमा आएका पाइन्छ ।

प्रस्तुत लघुकआ “लिस्नो”मा पूर्वेली राई भाषाको लवजको मीठो प्रयोग गरी सम्वात्मक बनाउने प्रयास गरिएको छ । स्थानीय मिठास आएको यस कथाले राजनीतिलाई श्यामव्यङ्ग गरेको छ ।)

२. सक्रियकालीन लघुकथा

वसन्तपुरको खाते

रन्जुश्री पराजुली

रञ्जु पराजुली

सधैँझै यो शुक्रबार पनि हामी बाहिर खान गयौँ । प्रत्येक पटकझैँ यस पटक पनि हामी नयाँ रेस्टुराँमा जाँदै थियौँ । श्रीमतीले “सरप्राइज” भन्दै “हिमाल रेस्टुरेन्ट”मा ओरिजनल नेपाली स्वाद भन्ने पनि थाहा पाएपछि त्यतैतिर गुड्यौँ । केटाकेटी “वाउ” भन्दै रमाउन थाले ।

हामी भर्खरै सानफ्रान्स्सिस्को जस्तो ठूलो सहरबाट मिजोरी राज्यको सेन्ट लुइस सहरमा बसाइँ सरेका थियौँ ।श्रीमतीले इच्छा गरेकी थिइनन् तर संसारकै एउटा नामी बियर कम्पनी “बर्डवाइजर” मा सुविधासहित काम पएकोले चिसो ठाउँ र हिउँ पर्ने भएता पनि हामी गयौँ । ठूलो सहरभन्दा जीवन निर्वाहका लागि यो सहर कम खर्चिलो रहेछ ।

हामी हिमाल रेस्टुरेन्ट पुग्यौँ । भित्र पस्नेबित्तिकै नेपालीपनको झझल्को लाग्ने हिमाल, गुँरास, डाँफे, बुद्ध आदिका तस्बिरहरु भित्तामा राखिएका थिए । काउन्टरमा बस्ने जापानीजस्ती युवतीले निहुरेर “नमस्ते” भनिन् । हामी सिटमा बसेपछि एउटी त्यस्तै तर प्रौढ महिलाले मेनु ल्याएर राखिदिइन् ।

मैले “म्याम हामी नेपाली स्वादको खाना खान आएका हौं” भनेँ । उनी “एक मिनेट” भन्दै भित्र पसिन् । त्यसपछि एकजना भद्र भलाद्मी भोटे अनुहारका प्रौढ हाँस्दै “मेरो नाम नीमा शेर्पा हो” भन्दै आए । त्यसपछि हाम्रो सम्वाद एउटै परिवारको जस्तो चल्यो । उनले काउन्टरमा बस्ने उनकी छोरी रहेको मात्र बताएनन्, मास्टर्स गरी सकेको समेत जनाए । उनका दुई छोराहरु भने कलेजमा पढ्दै रहेछन् । उनकी पत्नी भने कोरियन रहिछन् ।

मैले जिज्ञासा राख्दै हिमाली भेगको शेर्पा तपाईं यहाँ यो अवस्थामा कसरी आइपुग्नु भयो त भनी सोधेँ ।

“यो सबै भाग्यको खेल हो । नाम्चेको एउटा गरिब केटो म अहिले प्रा. डा. नीमा शेर्पा नामले विश्वविद्यालयमा कार्यरत छु । मेरो जीवनको इतिहास मार्मिक छ । मेरो भगवान् जस्ता धर्मपिता जोन स्मिथको कृपा दृष्टिले म यहाँ आइपुगेको हुँ” भन्दै उन्ले भित्तामा झुन्ड्याएको एउटा तस्वीरमा वसन्तपुरमा बोरा ओढेर सुतिरहेका खातेहरुको लाइनमा एउटा एघार वर्ष जतिको खातेलाई औँल्याउँदै “यस्तो मेरो बाल्यकाल थियो” भने ।

###
(नेपाली लघुकथामा ५० को दशकलाई सक्रियकाल मानिन्छ । यही समयमा रन्जुश्रीले लघुकथाको फुटकर रचना गरी लघुकथामा मोह जगाएकी हुन् ।

पराजुली प्राध्यापन पेशामा जोडिएकी एक बौद्धिक स्रष्टा हुन् । बाल साहित्य र समालोचना उनको प्रिय विधा हुँदाहुँदै पनि लघुकथामा पनि उनको कलम खेलेको पाइन्छ । मानक लघुकथा बनाउन लघुकथाको मानक सिद्धान्त लेखिनु पर्छ भन्ने बारेमा रन्जुश्री पराजुलीको सोच क्रियाशील छ । हाल अवकाशप्राप्त जीवन बिताइरहेकी उनी अमेरिकाको व्यस्त समाजमा रहेर लघुकथाको विकासमा कलम चलाइरहेकी छन् ।

प्रस्तुत लघुकथा “वसन्तपुरको खाते” अमेरिकी समाजमा पुगेको एक युवाको कथा हो । कथा सम्वादात्मक रुपमा बढ्दै नसोचिएको अन्त्यमा गएर टुङ्गिएको छ । कथाले अन्त्यमा च्वास्स बनाउँछ । यही दुखाई नै लघुकथाको सुन्दर पक्ष हो ।)

३. मलाई मन परेको लघुकथा

संरक्षण

नारायण कोइराला

खेततिर जान बाबाले हलोजुवा काँधमा राख्नु भयो।

“म पनि खेतमा जान्छु” – भन्दै पछि लागेँ म ।

“यो वर्षातको समयमा किन जानुपर्यो खेतमा ?” बाबाले मलाई हेर्दैभन्नु भयो। मेरो मन मानेन। खेतमा जाने जिद्दी कसेँ। खेतमा धान रोप्ने चटारो थियो।

म माथिबाट रोपाइँ हेर्दै थिएँ । ठाउँ अग्लो भएकोले सबै कुरा देखिएको थियो । माथिबाट खोला उर्लिदै आयो। खोलासँगै ठूला, साना रूखहरू पनि बग्दै आएका थिए। म भने खोलोको त्यो बहादुरीसँग रमाइरहेको थिएँ ।

“खोलो झन् उर्लदै थियो”, म झन खुसीले उफ्रिएँ।

खोलोले साना-तिना डिस्का, कान्ला पनि बगाउँदै ल्यायो । खोलोसँग म झनै खुसी भएँ, उसको बहादुरी देखेर । हेर्दाहेर्दै खोलो खेततिर उर्लियो। सबै जना आत्तिए। बाबाले हातले माथि जाने इशारा गर्नुभयो । आवाज केही सुनिएको थिएन् । खोलाले सबैलाई आफैँसँग बगायो। म हेरिरहेँ ।

यतिखेर म खोलासँगै छु र खोलाकै संरक्षणमा लागेको छु । खोलालाई संरक्षण गर्न सकिए यसले हाम्रो समाज, सभ्यता र सन्तानलाई बचाइराख्दो रहेछ ।

###
(रहर र इच्छाशक्ति भयो भने लघुकथाको बारेमा केही थाहा नपाएको एउटा युवाले लघुकथामा कसरी प्रगति गर्न सक्छ भन्ने कुरोको प्रमाण हो, नारायण कोइराला । उनी रोजीरोटीको लागि परिवार र देशको माटो छोडेर दोस्रो मुलुकको भुङ्ग्रोमा खटिएका छन् तर लघुकथा उनको नशा बनेको छ । दर्जनौँ लघुकथाहरू “भएन भएन” भन्ने प्रतिक्रिया सुन्दा पनि विचलित नभई उनले लघुकथा लेखनको गोरेटो समातेका छन् । पक्कै पनि यो उनको यो लघुकथालाई कसैले “भएन” अझै भन्न सक्ला तर अब भने नारायण कोइरालाको लघुकथाले रुप लिएको छ । प्रत्येक नवलघुकथाकारहरू नारायणको झैँ लघुकथामा बिग्रिदै बिग्रिदै लघुकथाको बाटो समाउनु पर्छ भनी यहाँ नारायण कोइरालाको यो लघुकथालाई प्रस्तुत गरिएको हो । मलाई उनको लघुकथाभन्दा अझै बढी उनीको स्वभाव र प्रगति मन परेको छ । आशा छ, नारायण कोइरालाको लघुकथाले छिट्टै एउटा उचाइ लिने छ ।

प्रस्तुत लघुकथा “संरक्षण” प्रकृति र प्रकृतिको विनाशको बारेमा लेखिएको समसामयिक लघुकथा हो तर प्रकृतिलाई जोगाइराख्न सके यसले पार्ने प्रभावको सुन्दर अन्य यस लघुकथाको सफल पक्ष हो ।)