सरकारी कामको मौका मिलाएर उपचारको क्रममा तीन वर्षपछि फेरि काठमाडौं टेकेँ मैले । एक दशकभन्दा बढी समय बिताए पनि काठमाडौंले कहिल्यै आफ्नो सम्झेन मलाई । शायद डेरामा बस्ने फिरन्ते सम्झेर म उसको नजरमा नपरेको हुँला । मैले भने ती दिनहरू छातीमा सुरक्षित राखेको छु, भयमा भरोसा लागेझैँ । कुनै दिन अवश्य खोतल्ने छु सम्झनाका खातबाट र देखाउने छु काठमाडौंलाई कति माया गर्छु भनेर ।

काठमाडौं बिरानो भए पनि मेरा केही साथीभाइ र आफन्त भने काठमाडौंमा छन्, जसले आपत पर्दा ज्यान दिन तयार हुन्छन् । पूर्ण, ओम, युवराज, टोलराज, ऋषिराम आदि साथीहरूलाई सम्झन्छु । अनि सम्झन्छु सूर्यनाथ, भेषबहादुर, किशोर आदि अग्रजहरूलाई । नवराज, पूर्णिमाहरूलाई नभेटी भएकै थिएन । सम्झनुपर्ने र भेट्नुपर्ने धेरै थिए । छोरी प्रज्ञा पनि साथमै थिइन् । जान नपाउँदै फर्किहाल्नु पर्ने जागिरे गलपासो भिरेर हिँडिरहेछु । अनि कोही कसैलाई सम्झेर मात्र के गर्नु खै ?

जावलाखेलबाट रत्नपार्कतिर फर्कँदै गर्दा पूर्ण ओली सरलाई फोन लगाएँ । भर्खरै भैरहवाबाट काठमाडौं ओर्लनुभएको रहेछ । ससुरा बितेर रुकुम पुग्नुभएकोमा कुनै जरुरी काम परेर छिटै फर्कनुभएको रहेछ । आफू कार्यरत पुरातत्त्व विभाग, रामशाहपथमा बोलाउनुभयो । भेटिएपछि आज सँगै बसौँ भन्नुभो । इन्कार गर्न सकिनँ र लागियो उहाँको निवास भक्तपुरतिर ।

उहाँको घर पुग्ने चोकनेर पुगेपछि भने मुटुमा चसक्क केही बिझेझैँ भयो । २०७२ साल फागुनको अन्तिम सातातिरको सम्झनाले घोचेको रहेछ । त्यसताका निर्वाचन आयोगमा सँगै कार्यरत थियौं पूर्ण सर र म ।

भर्खरै अफिस पसेका पूर्ण ओली सर छोराको दुर्घटना भयो रे भन्दै बाहिरिँदै हुनुहुन्थ्यो । हामी केही साथीभाइ उहाँलाई पछ्याउँदै उहाँको निवासतिर लागेका थियौँ । उहाँको एकतले घरको एउटा कोठामा रुवावासी थियो । परिवारका सबै सदस्य बेहोश जस्तै थिए । इन्जिनियर परिशीलन ओली दुर्घटनामा बितेपछि विक्षिप्त भएको ओली परिवारसँग यस विषयमा फेरि कहिल्यै केही कोट्याउने हिम्मत जुटेन मेरो । आज त्यही बाटो हिँडेर त्यही घरमा कसरी पस्ने ? ठूलो सकस भइरहेको थियो मलाई । घरको तल्लो तलामा टाँगिएको बोर्डले अलिकति ढाडस दियो- इन्जिनियर परिशीलन ओली प्रतिष्ठान । छातीमा आगो बोकेर कसरी शान्त रहनुपर्छ, पूर्ण ओलीज्यूबाट सिक्दै थिएँ मैले । बूढी आमा र कान्छा छोरा परीक्षितसँग भेट भएपछि भने झन् सहज महसुस गरेँ मैले, जसरी क्षणभरमा कालो बादल हटेर उज्यालो हुन्छ आकाश ।

बिहान छुट्टिने बेलामा पूर्ण सरले थमाउनुभो यालमाया र जितौरी कथा सङ्ग्रह । छोरा परिशीलनलाई गुमाउँदाको पीडा भुल्न छोराको जन्मजयन्ती पारेर २०७७ सालमा प्रकाशित गरिएका हुन् यी कथा सङ्ग्रह । ‘यालमाया’का पानाहरू पल्टाउँदै जाँदा फेरि मुटुमा खिल बिझेझैँ भयो । तिनै खिल उधिन्ने प्रयासमा यालमाया कृतिका बारेमा केही कोर्न खोज्दै छु अहिले ।

यालमाया कथासङ्ग्रहको तेस्रो कथा भए पनि मेरो प्रथम दृष्टिमा पर्छ कथा – परिशीलन । शिक्षण पेशाबाट जागिरे जीवन शुरु गरेका कथाकारले सानो शिष्य परिशीलनलाई स्कुल पुर्‍याउने र ल्याउने गर्नुहुन्छ । बेलुका स्कुलमा पुग्दा गहभरि आँसु पारेर एक्लै पर्खिएको अबोध बालकसँगको संवादले पाठकको मुटु काटिन्छ, मन चोइटिन्छ । सबैभन्दा राम्रो शिक्षक हजुल भन्दै अङ्गालोमा बेरिने त्यो शिष्यको स्मृति बिम्बमा धमिलिन्छन् पाठकका आँखा । रुकुम जिल्लाका विभिन्न विद्यालयमा अध्यापन गर्नुका साथै प्रधानाध्यापक पद छोडेर निजामती सेवामा छिरेका कथाकारको लोकसेवा तयारी, बालबच्चा रेखदेख, निर्वाहमुखी जीवनचर्या अझ खास त द्वन्द्वको चपेटाबाट जोगिन गरेका अनेक उपक्रमका छाप छन् यस कथामा । घर स्थिर पुँजी भए पनि घरभाडा चालु पुँजी हो भन्ने सोच हुर्काएको नेपाल खाल्डोमा बोर्डिङ स्कुलमा गरेको लगानी र श्रम खेर गएको प्रसङ्गले चुकचुकाउँछ पाठक मन । जसका लागि बाँच्ने चाह हुन्छ उसले छोडेर जाँदा पनि उसैका लागि बाँच्नुपर्ने बाध्यतामा जकडिएको जिन्दगीको यो कथालाई कथा सङ्ग्रहको शीर्षक नबनाएकोमा कथाकारसँग अलिकति दुखेसो गर्छ मेरो मन । साँच्चै, आँखाबाट ओझेल भएको आकृति छातीमा लुकाएर उसैको मायामा जीवन जिउनु जस्तो महानता के होला अरू ? शायद यस्तै उग्र सन्नाटाले बिथोल्छ हरेक पाठकको मन मुटु पनि ।

कथा सङ्ग्रहको पहिलो कथा हो – प्रेम प्रस्ताव । प्रणय र पद्माको भत्किन लागेको दाम्पत्य जीवनलाई नयाँ मोड दिन प्रियङ्काको प्रवेश गराउनुहुन्छ कथाकार । फेसबुक मार्फत भेट हुन पुगेकी प्रियङ्काले शुरुमा नवप्रेमिकाको रूपमा अनौठो प्रस्तावका लागि प्रणयलाई उक्साए पनि बडो सुझबुझपूर्ण तवरले प्रणयलाई आफ्नो फुपू पद्माको जिम्मा लगाइदिन्छिन् । प्रियङ्काको लागि भनेर ल्याएका गहना र उपहार चुपचाप पद्मालाई दिन बाध्य हुन्छ प्रणय । उत्ताउला कथा लेखेर समाजका संवेदनशील मूल्यमान्यता विकृत बनाउन चाहनेहरूलाई झड्का दिँदै माया प्रेममा नयाँ प्रयोग गर्नुभएको छ कथाकारले । उच्च कोटीको नारीप्रधान कथाको रूपमा लिन सकिन्छ यस कथालाई ।

महामाया कथामा तल्लो पदमा सँगै काम गरेका युवायुवतीको समयान्तरले जुराएको भेटलाई रोचक ढंगमा प्रस्तुत गरिएको छ । हाकिम कारिन्दामा फेरिएको पद सोपानिक सोच, व्यवहार, लवज र सामाजिक मान्यतालाई मनोवैज्ञानिक कसीमा परीक्षण गरिएको छ । “यौनिकता के हो ? के यौन प्रेम हो ? के तिहारमा माला थाप्दैमा भाइबहिनीको सम्बन्ध स्थापित हुने हो ? यौन जस्तो तुच्छ र पाशविक क्रियालाई किन प्रेमको कसी बनाउन खोज्छन् मान्छेहरू ? यही बुझाइको पराकाष्ठा त होइन बलात्कार जस्तो सामाजिक जघन्य अपराध ?” (पृष्ठ २९ र ३०) यस्ता धेरै जिज्ञासा अघि सारेर पाठक र समाजलाई सोच्न बाध्य बनाउनुभएको छ कथाकार ।

जालीमाया कथामा फुपूचेला, मामाचेली अर्थात् दाजुबहिनी नाता पर्ने प्रेम र प्रीतिको विवाह नभए पनि अनपेक्षित आशंकाको मारमा परेको वियोगान्त कथा छ । कुनै विवाह हुँदै गरेको घरमा एउटै कोठामा सुत्नुपर्ने बाध्यतामा परेको प्रेमले निदाएको अवस्थामा अन्जानवश प्रीतिको शरीर छुन पुग्छ । किशोरी प्रीतिको सुकोमल शरीर अनायास देखेर चकित र विस्मित भए पनि पाप सोचेको थिएन प्रेमले । राती पानी खोज्दा प्रीतिको वक्षस्थल र शरीरका संवेदनशील अङ्ग छोइन पुगी अबोध किशोरी तत्‌क्षण रुँदै बाहिरिएको अवस्थाबारे थाहा पाएको प्रीतिको लोग्नेले जिन्दगीभर प्रतिशोधको पल पर्खिएर बस्छ । पाहुना भएर आई खाना खाँदै गरेको प्रेम र आफ्नै पत्नी प्रीतिलाई एउटै चिर्पट प्रहार गरेर पालैपालो सिद्ध्याउँछ । अन्धविश्वास र अविश्वासको जगमा उभिएका समाजका अँध्यारा पाटामा उज्यालो प्रकाश छर्दै विश्वास र सम्बन्धलाई मजबुत बनाउनुपर्ने तर्फ सङ्केत गरिएको छ यस कथामा ।

पाँचौँ कथा हो माईसारा । गाउँका सङ्लो मनका युवायुवती बीचको शब्दका अक्षरलाई यताउता पार्दै अघि “मा” र पछि “रा” थपेर गरिने संवादसँग अघि बढ्छ माईसारा । साथीलाई साई सम्बोधन गरिने भेरी-कर्णाली क्षेत्रमा साई शब्दमा अघि “मा” र पछि “रा” जोड्दै साई अक्षर उल्ट्याएर बनेको हो माईसारा पनि । माछ केरा माछमा त्यरा ? अर्थात् त्यसमा के छ ? माताहोकेरा ? मामी पनि हारा मातैतिरत्यरा मानेहोकेरा ? अर्थात् कता हो ? हामी पनि त्यतै जाने हो के ? प्रेमिल युवा युवती बीच हुने यस्तै अनेक छेडखान र सङ्केतप्रति आकर्षित हुँदै विस्तारै उकालो उक्लिरहेका कथाकारले देख्नुहुन्छ फरक कोड प्रयोग गरेकैले मनमुटु नभएका असुरक्षाकर्मीबाट धरपकड हुँदा प्रेमिल जोडीबीच बिछोड हुन पुग्दछ । तब कथाकार बोल्नुहुन्छ- “भाषामा के छ र ? भावले पो एकअर्काको भावनालाई जोड्न सक्छ । भाव नभए भावना तोडिन बेर लाग्दैन ।” (पृष्ठ ७८) साहित्यको लालित्य पोतिएको गाउँघर, रसिक युवायुवती, तिनका सरल जीवन र चोखो मनको चित्ताकर्षक वर्णन छ यस कथामा । त्यो सबै लथालिङ्ग पार्न खोज्ने राक्षसी मन पनि त्यहीँ छ । असललाई अपनाउन खोज्नु र खराबलाई तिरस्कार गर्दै दुत्कार्नु कथाको सफलता हो ।

देखीमाया कथामा अन्तैबाट उखेलेर ल्याई चौतारोमा सारिएका वर र पिपलका आलाप विलापको कारुणिक क्रन्दन छ । मान्छेबाट चोट पीडा जे जे पाए पनि सास फेर्ने प्राण वायु दिने वर पिपलका पात लुछ्ने, हाँगाबिँगा काट्ने र जरैपाइ रुखै समेत ढालेर खरानी पार्ने मान्छेका कुकर्महरू उदाङ्गो पारिएको छ यस कथामा । दुर्जनहरूका प्रहारले मर्माहत भएका वरपीपलले मान्छेका भावी सन्तानले त हाम्रो मर्का र त्याग बुझ्लान् नि भन्ने हदसम्म सोच्दै खरानी भएर उत्सर्ग गरेको परिघटनाले कथाकारको अगाध प्रकृतिप्रेम दर्शाउँदै वातावरण संरक्षणप्रति विश्वलाई नै सचेत गराउन खोजिएको देखिन्छ ।

सातौँ कथा हो निर्माया । यस कथामा शहरमा पढ्न बसेको मङ्गल र गाउँकी मालतीबीच सम्बन्ध सेतु भएकी छे फुच्ची मिलन । व्यावहारिक, सुन्दरी र कुल घरानकी कन्या नछानेर प्रेममा मात्र फस्दा जिन्दगीभर पछुताउनुपर्ला भन्ने हितैषीहरूको सुझाव छ मङ्गललाई । सुझाव अनुरूपकी मालतीलाई उसले दिलमा राखेको भए पनि जागिर खान आउने प्रभात जस्ताले उडाउने हुन् कि भन्ने संशय पनि छ । यस्तो अवस्थामा फुच्ची मिलनले बालहठ अघि सारेरै भए पनि मङ्गल र मालतीको मिलन गराई दिन्छे । प्रेम, आशक्ति, चाहना नबुझे पनि मिलनलाई थाहा छ जवानीको पछि लाग्ने मान्छे पशु हो । त्यसैले त मङ्गल जस्ता मान्छेसँग माया र सम्बन्ध गाँस्नुपर्ने मिलनको आग्रह छ । र त बालमनोविज्ञान बुझ्ने कथाकारले यति ज्ञानी पात्र मिलनलाई अघि सारेर निर्मायाहरूलाई दिलमायामा फेरिदिनुभएको छ ।

विसङ्गतिवादी कथा मालप्रेमी कथाकारको बौद्धिकता, कल्पना र सिर्जनाको त्रिवेणी प्रतीत भएको छ । शिशिर सरको गाडीमा चढेर घर फर्कँदै गर्दा तिनकुनेको जाममा तन्द्रामा लोलाउनुहुन्छ कथाकार । तन्द्रामै शिशिर सरको घर पुगी अत्तरको क्याप्सुल, गाँजाको धुवाँ टाइम स्याप वा कालजलसम्मको माल चखाइ र स्वाद फेराइ हुन जान्छ । शेक्सपियरको प्रेम प्रणय, नाटकको जन्मदेखि उनको रचना कारखानासम्म पुग्नुहुन्छ कथाकार । शब्द फल्ने रुख, अलङ्कार, बिम्ब, प्रतीकका भाँडामा छानिने शब्दका भाँतीको चर्चाले तरङ्गिन्छ पाठकको मन मस्तिष्क ।

२०४३ सालमा शिक्षक तालिमको लागि सुर्खेतमा पाँच महिना डेरा गरी बस्दाका घरबेटीका अनेक उपद्रोलाई चित्रण गरिएको छ प्रतिशोध कथामा । घरबेटीकी बुहारीको होटेलमा महिनामारी खाँदा पाइने परिकारको बखान झन् गर्नै नपर्ने- बासी भात, गेडा र छोक्रा बिनाको बासी दाल, दूधमा पानी मात्र, …. । उसमाथि छेडखान झन् चर्को “रुकुमतिर फापरको रोटी बाहेक अरू पाइन्नँ होला, दाल भात त दशैँ तिहारमा मात्र पाइन्छ होला ।” सुर्खेत छोड्ने बेलामा कथाकारका जेठान नाता पर्ने लोक बहादुरले प्रतिशोध नलिई नछाड्ने प्रतिज्ञा गरेका छन् । नभन्दै एक दशकपछि घरबेटीका छोरा सरुवा भएर रुकुम पुग्छन् । प्रतिशोध लिन कस्सिएका जेठान र पुराना कुरा बिर्सिदिन अनुनय विनय गर्ने ज्वाइँबीचको संवाद बडो रोचक लाग्दछ । जेठानले सिरुपाते खुकुरी खोज्नु, तिवारीका छोरालाई घरमै बोलाउनु जस्ता परिघटनाले सम्भावित दुर्घटनाको आशंकामा अतासिन्छ पाठकको मन । मकै र मोहीको खाजा खुवाउनु, खीर पकाउनु, खुकुरी उजाउनु, तातोपानी ठीक पार्नु, ज्वाइँलाई भुत्ल्याउन सक्ने नसक्ने सोध्नुले कथामा चरम द्वन्द्व सिर्जना गरेको छ । तिल्कीको भात, कालो सिमीको दाल, भाङोको चटनी, कर्दीले काटेको दही, कुखुराको मासु र खीरको सत्कारले नपुगी हिँड्ने बेलामा एक बिसौली घिउ र एक बटुका मह हातमा थमाइदिएर रुकमेली प्रतिशोध पूरा हुन पुगेको छ । कथा पढ्दा हर्ष, रोमाञ्चकता, हास्य र व्यङ्ग्यले मुर्छित हुन पुग्छन् पाठक ।

सामाजिक यथार्थवादी कथा योगमायामा छोरै जन्माउनुपर्ने परम्परागत मान्यताले धेरै छोरी पछि ख्याउटे छोरो जन्माउन पुगेका योगमाया र यज्ञ बहादुरको जोडीको कथानक उनिएको छ । धेरै सन्तान जन्माएर कमजोर भइसकेकी योगमायाको लिखुरे छोरो पूर्णले पढाइ लेखाइ, साहित्य सिर्जना समेतमा गरेको प्रगतिले हर्षविभोर बनाउँछ पाठकलाई । कथान्तका यी हरफले अग्घोरै खुसी सञ्चार गराउँछन्- “आमाले पुरस्कारसहितको छोरालाई काँधमा उचालिन् । आमाको उचाइसमेत छोराको उचाइमा थपियो । जो सबैभन्दा होचो थियो उही सबैभन्दा अग्लो देखियो । छोराले पनि थाहा पायो सबैभन्दा अग्ली त आफ्नै आमा पो रहिछिन् ।” (पृष्ठ १६७)

मायाको पर्दा कथामा खोट लगाउन नसकिने प्रेमी सुन्दरसँगको विवाहेत्तर सम्बन्धका कारण शक्तिसँग विवाह भए पनि सुखद दाम्पत्य जीवन चल्दै थियो । परिवारका कोही नभएको मौका पारेर एक साँझ सुन्दर आफ्ना बलात् चाहना पूरा गर्न नायिकाउपर जाइलाग्छ । नायिकाको केही दोष नभए पनि शक्तिले उनलाई तिरस्कार गर्छ र शक्तिसँगको सम्बन्ध सकिन्छ । यही सानो कथानकलाई बडो नाटकीय, मार्मिक एवं हृदयस्पर्शी साँचोमा ढाल्नुभएको छ कथाकारले । सानीभेरीलाई साथ लिएर बग्ने ठूलीभेरी र उनीहरूको संयुक्त यात्रा भेरी जत्तिकै पवित्र र सुन्दर हुनुपर्ने नायिकाको जिन्दगी अब नामेट हुन पुगेको छ । मायाको पङ्गाजाले पर्दा उठेको छ । कथामा बारम्बार आइरहने सानीभेरी र ठूलीभेरीका स्मृति बिम्बले कथालाई नदी जसरी कलकलाउँदरी बगाएका छन् ।

लोककथामा आन (आहान)  भनेर सन्तानलाई असल बाटो देखाउने आमाको कथा छ । सुत्केरीमै बितेकी ठूली छोरीको बिछोडको पीडाले आन भन्न नसक्ने अवस्थामा पुगेकी तिनै आमाको व्यथा पनि छ । लोक बहादुर र सारा असल गाउँलेहरूको मार्मिक कथा व्यथा पनि छ ।

भेडाबाख्रा धपाउने सिलसिलामा जम्काभेट भएका नायक नायिकाका आमाहरूले एकअर्काका छोराछोरी जन्मनासाथ मेरो ज्वाइँ/बुहारी भन्दै धागो बाँधेर नाता कायम गरिदिएको अनौठो कथानक छ गलफन कथामा । गलफन सुन्दा गलफ्रेण्डको सहज जनबोली जस्तो वा गलबन्दी भन्ने आशययुक्त शब्दझैँ समेत लाग्छ । तर यस कथामा प्रयुक्त गलफनको सम्बन्ध पहिलो अर्थसँग बढी तादात्म्य राख्दछ । गाईबस्तु खेद्दै घरतिर लागिरहेकी गलफनलाई पहिलो पटक देखेको प्रसङ्गबाट शुरु भएको यो कथामा बालसुलभ सोच, किशोरकालीन व्यवहार र वैवाहिक सम्बन्धपछिका सुझबुझ सबै छन् । अहिलेको पुस्ताका सोच र संस्कार सुधारका लागि अनुकरण गर्नुपर्ने अनेक शिक्षा समेत छन् ।

यस कथा सङ्ग्रहको नवौँ एवं शीर्षक कथा हो यालमाया । अधबैँसे गोरेको एकोहोरो प्रेम र किशोरी यालमायाको निर्दोष मायाको तुलनात्मक चित्रण छ यस कथामा । दलित कुलमा जन्मे पनि साहुको काम गरेर दिनगुजारा गरेको मेहनती गोरेको आरन पिटाइ, मिठा गीत र कथामा आशक्त छे बाबुसाहेबकी छोरी यालमाया । उसले गोरेलाई माया गर्छे, आदर गर्छे र सम्मान पनि गर्छे तथापि, उसको बाबुले रोजिदिएको जँड्याहा प्रेमलाई अपनाउन नचाहेर सिर्जनशील मेहनती नारायणलाई रोज्छे र उसैलाई मनैदेखि प्रेम गर्छे । यालमायालाई आफ्नो बनाउने सपना देखेको गोरेले जति बेला यो सब थाहा पाउँछ, त्यति बेलासम्म श्रीमती र छोरीहरूसहितको आफ्नो स्वर्गतुल्य घरमा आगो लगाइसकेको हुन्छ । अन्ततः गोरे कसैलाई थाहै नदिई बर्खेभेल उर्लिरहेको मुग्लुखोलामा समाहित हुन्छ । उसको एकोहोरो प्रेमकथा मुग्लुखोलाको पानीमै बगेर जान्छ जसरी त्यो कथा उसकी श्रीमती र छोरीहरूले आँसुसँगै पिउँछन् र पीडासरि लुकाउँछन् । नारीवादी यस कथामा लहड, सपना र कल्पनाभन्दा माथि उठेर माया, प्रेम, सम्बन्ध र जीवनलाई हेर्नुपर्ने दृष्टान्त प्रस्तुत गरिएको छ ।

पन्ध्र वटा कथाको सङ्ग्रह हो यालमाया । यथार्थवादी सामाजिक कथानकले सज्जित छन् अधिकांश कथा । माया प्रेमको काल्पनिक हावादारी पर्दा उधारेर वास्तविक दुनियाँ देखाउँछन् यी कथाहरूले । नवीन मानवीय मूल्यमान्यता, संस्कार र सोच विकास गर्न प्रेरित गर्ने यी कथाहरूले पुरातन सामाजिक विकृति विसङ्गतिहरूलाई धराशायी बनाएका छन् । प्रथम पुरुष दृष्टिबिन्दु प्रयुक्त भएकैले अधिकांश कथा पढ्दा सत्य घटनामा आधारित झैँ वा आफ्नै यथार्थ विषयवस्तु टिपेर कथानकको डोरीमा उनिएझैँ लाग्छन् । समाज बदल्ने सामर्थ्य राख्ने यी कथाहरूमा छ औचित्यपूर्ण तर्क, बेजोड कल्पना र सटिक सन्देशयुक्त कथानक । भेरी कर्णाली क्षेत्रका ठेट शब्द र लवज टिपिएको यस कथा सङ्ग्रहमा बोधगम्य र मिठासपूर्ण संवाद शैली प्रयोग भएको छ । २२७ पृष्ठमा समेटिएको यो कथासङ्ग्रह शब्द मिडिया, अनामनगर, काठमाडौंले प्रकाशन गरेको हो भने भाषा सम्पादन साहित्यपोस्ट समूहबाट भएको हो । साहित्यपोस्टका यी हरफहरूबाट पनि यस सङ्ग्रहप्रतिको आकर्षण र चिनजान हुन जान्छ पाठकसँग- “यो कथासङ्ग्रह दूरदराजको दोबाटोमा ठड्याइएको दर्शनढुङ्गा जस्तै हो यसलाई पुछेर हेर्ने हो भने मुख्य गरी कर्णाली प्रदेशको जनजीवनको जीवन्त अनुहार प्रस्ट देख्न सकिन्छ

दिन फिर्छन् (खण्डकाव्य), यालमाया (कथासङ्ग्रह), जितौरी (कथासङ्ग्रह) र त्रिवेणी (संस्मरण सङ्ग्रह) प्रकाशित गरिसक्नुभएका पूर्ण ओलीले नाटक, कविता, कथा, संस्मरण, नियात्रा लगायतका विधामा कलम चलाउनुभएको छ । देवीचन्द्र साहित्य पुरस्कार, २०७७ लगायतका विविध साहित्यिक पुरस्कार र सम्मान प्राप्त गर्नुभएका पूर्ण ओलीले मान्छेको मन जित्ने रचना सिर्जना गर्नुहुन्छ । आफ्ना रचना मार्फत पाठकलाई सामाजिक अन्धविश्वास र अन्तरविरोध चिर्ने सबल दृष्टिकोण पहिल्याउन मद्दत गर्ने साहित्यकार ओलीज्यूलाई साहित्यिक निरन्तरताको हार्दिक शुभकामना छ ।