ज्ञानु अधिकारीद्वारा लेखिएको आत्मपरक निबन्धसङ्ग्रह ‘संवेदनाको समायोग’भित्र पसेर नियाल्दानियाल्दै आफैँ हराएको महसुस भयो । कृतिभित्र पसिसकेपछि बाहिर निस्कन मन लागेन नछिचोलेसम्म । शिखा बुक्सबाट प्रकाशित २२० पृष्ठको यस कृतिमा छापिएका सैँतिस वटा निबन्धले पाठकलाई सम्मोहित गर्ने सामर्थ्य बोकेका छन् । यी निबन्धहरू पढिरहँदा र त्यसको भावमा डुबिरहँदा महभित्र डुलेको जिब्रोजस्तै भएँ म । कति स्वादिलो भाव अभिव्यक्ति ।

प्रायः सबै निबन्धहरूमा मलाई मेरै भावनाहरू पोखिएजस्तै लागिरह्यो । ‘खोलाकिनारमा कविता लेख्दै गरेकी केटी’मा मैले मेरो जिउँदो बाल्यकाल हुबहु भेट्टाएँ । छोरीले नपढे पनि हुन्छ भन्ने सामाजिक सोच र घरायसी कामको बोझले थिचेको बाल्यकालको समय चोरेर वा घाँस काट्न जाँदा डोकाको पिँधमा कापीकिताब लुकाएर लगेर बारीको भित्तामा लुकेर गृहकार्य गरेको आफ्नै विगत ब्युँझियो यहाँनेर । मेरो वास्तविकतामा छेउमा खोला नसुसाएको मात्र हो ।

संवेदनाको समायोग

संवेदनाको समायोग

‘के म सफल आमा बन्न सकेँ’ निबन्धमा आमा र मानिस दुवै व्यक्तित्वको पहिचान एकै चोटि बनाउन खोज्दाको कठिनाइ अनि यी दुवै परिचय उत्तिकै महत्वपूर्ण रहेको प्रसङ्गले लेखकका समकालीन प्रायः सबै नारी पात्र हरूको एकमुस्ट भावना सम्बोधन भएको हुनुपर्छ भन्ने मेरो मान्यता हो । मलाई त यहाँ पनि आफ्नै मनोभावना पोखिएको आहालभित्र डुबुल्किए झैँ लाग्यो म भित्र रहेको आमा हृदय चर्कियो र मान्छे हृदय भतभती पोल्यो ।

‘शृङ्गार, सौन्दर्य र नारी’ शीर्षकको निबन्धमा आवरणमा दलिएको मेकअपले होइन आन्तरिक विज्ञता र क्षमताले सुन्दरता ल्याउने हो भन्ने खँदिलो सन्देश प्रवाह गरेको छ । सुन्दरीका नाममा नक्कली हुने होइन बौद्धिक सुन्दरी हुनुचाहिँ असलमा नारीको सौन्दर्य हो भन्ने भाव अभिव्यक्त भएको यस निबन्धले दासमनोवृत्तिबाट बाहिर निस्केर महिलाहरू विद्वत सुन्दरी हुन आग्रह गरेको छ । सौभाग्यका नाममा लगाइएका गरगहना र ड्रेसअप अनि मेकअप भित्रको जिन्दगी मान्छेको वास्तविक जिन्दगी कदापि हुन सक्दैन । बरु जेलभित्रका कैदी जस्तै लाग्छन् लेखकलाई ती कृत्रिम आवरणले छोपिएका पात्रहरू ।

‘तिम्रो अनुपस्थिति’ निबन्धभित्र नारी र पुरुष बिचको सम्बन्धको सन्दर्भ उठाइएको छ । नारी र पुरुषबीच हुने हरेक किसिमका सम्बन्ध जोगाइराख्न नारीले मात्र सम्झौता गर्नुपर्ने किन होला भनी गरिएको सवालले मानवीय हृदय भएका हरेक पाठकलाई संवेदित बनाउँछ अनि मथिङ्गल हल्लाइदिन्छ । पुरुषको अस्तित्व जोगाउन महिलाले आफ्नो अस्तित्वलाई तिलाञ्जलि दिनुपर्ने परम्परागत सामाजिक मूल्य र मान्यतामाथि प्रश्न उठाएकी छन् । हरेक नारीले आफ्नो पहिचान, स्वत्व र आत्मसम्मानको आफैँले ख्याल गर्नुपर्छ र प्रेम वा सम्झौताका नाममा स्वअस्तित्व स्वाहा पार्नुहुँदैन भन्ने बेजोडको चेत यहाँ पोखिएको छ ।

‘मानव सभ्यताको यात्रामा नारी’ निबन्धमा हिन्दू धर्मको आधारग्रन्थ वेदमा नारीलाई सम्पूर्ण देवगणबाट शक्ति लिएर सबैलाई आफ्नो वशमा राख्न सक्ने बल भएकी भनेर अर्थ्याइएको छ । समयका विभिन्न कालखण्डहरू पार गर्दै जाँदा जब रामायण, महाभारत मनुस्मृतिपछिका स्मृतिग्रन्थहरू लगायतका अन्य पौराणिक ग्रन्थहरू नारीप्रति अनुदार हुँदै जानु भनेको पुरुषको सङ्कीर्ण सोच र दरिद्र  मानसिकता नै हो भन्नेजस्ता तथ्यमा आधारित अभिव्यक्ति व्यक्त भएको छ ।

‘साँच्चि नारीवादीहरू पुरुषको ईर्ष्या गर्छन् ?’ भन्ने शीर्षकमा घरपरिवारदेखि विश्वविद्यायसम्म नै नारीवादी चेतलाई हाउगुजी मानेको प्रसङ्ग बेजोडले उठाइएको छ । नारी चेतनाको कुरा गर्नु, स्वअस्तित्वको बोध गर्नु, लैङ्गिक असमानताको विरुद्ध आवाज निकाल्नु, समानताको पक्षमा वकालत गर्नु भनेको पुरुषको विरोध गर्नु होइन, पितृसत्ताको विरोध हो भन्ने कुरालाई यस निबन्धमा मार्मिक रूपमा प्रस्तुत गरिएको छ । परम्परित समाजको नारीप्रतिको सोचमा परिवर्तन आएन भने विद्रोहको आगोले पितृसत्ता भस्म बनाउन बेर लाग्दैन भनेर कडा चुनौती पनि अभिव्यक्त भएको छ यहाँ ।

कीर्तिपुरलाई देशभित्रकै एउटा डायस्पोराको रूपमा चिनाइएको कीर्तिपुर डायरी खण्डको एउटा निबन्धमा निबन्धकारले कीर्तिपुरको भूगोल, स्थानीयता, रहनसहन, संस्कार, संस्कृति, इतिहास, विश्वविद्यालय अनि यहाँ अध्ययनरत विद्यार्थीहरूको यथार्थलाई सूक्ष्म ढङ्गले अवलोकन गरी प्रस्तुत गरिएको छ । कीर्तिपुरले काँचो मान्छेलाई पकाएर परिपक्व र बलियो बनाउँछ तर पछि त्यही परिपक्व बनेको मान्छेले कीर्तिपुरलाई सजिलै भुलिदिन्छ भन्ने प्रसङ्गले मान्छेको स्वार्थी स्वभावको सिटामोल ओकलेको छ ।

‘मेरो पहिचानको धरोहर’मा राजनीतिलाई प्यासन बनाउने आफ्नै बुबाले आफू जिन्दगीभर थोत्रो साइकल पेलेर पाटीको काममा खट्ने, आफू पछाडि परेर अरूलाई अवसर दिने तर त्यो त्याग र समर्पणले न पार्टीको अवस्था र एकता बलियो भयो न त आफ्नो घर नै मजबुद भयो भन्ने प्रसङ्गले सच्चा र इमानदार राजनीतिज्ञको कारुणिक अवस्था बारे चित्रण गरेको छ । यो देश फटाहाहरूको जालोभित्र रुमलिएको छ भन्ने कुरा बोध गराउँछ यस निबन्धले । साथै यसभित्र कोरिएका बुबाका स्मृतिका हरेक पाटाले पाठकको हृदय पगाल्ने सामर्थ्य राख्छन् ।

तीन सय चौसट्ठी दिनसम्म मेरो प्यारो दिदी भन्दै सम्बोधन गरेर दिदी मानेका भाइहरू जब भाइटिकाको दिन एकाएक त्यो साइनोबाट गायब हुन्छन् अनि आआफ्नै रगतको नाताका दिदीबहिनीसँग  सप्तरङ्गी टीकामा रमाउँछन् तब यस लोकमा नै नभएको भाइको प्रतिबिम्ब आँखामा आउँछ भन्ने प्रसङ्गले पाठकको मथिङ्गल हल्लाउँछ । कतै दाजुभाइका नजरमा आफू फुट्ने सामानजस्तो, भर्खरै च्यातिएर जाने पातलो कागजजस्तो भएर बाँच्नुपर्दाको जिन्दगीको समय सम्झेर ती सोचप्रति नै दया लाग्ने भाव पनि यस निबन्धमा व्यक्त गरिएको छ ।

सङ्घर्षका कठिन पहाड चढेपछि जीवनले वास्तविक ज्ञान आर्जन गर्ने कुरा कृषकको परिश्रमबाट अवगत गर्न सकिन्छ र किसान स्वाभिमानी बाँचेको हुन्छ र आत्मसम्मानपूर्वक जीवन निर्वाह गर्छ भन्ने निबन्धकारको विचार आँसु र पसिनाले लेखिएको कथामा पोखिएको छ । प्रगति गर्नलाई मनमा इख हुनुपर्छ भन्ने प्रसङ्ग पनि ‘मास्टर्नी हुँदा’ शीर्षकको निबन्धमा उप्काइएको छ । प्रमाणपत्र दिनेबेलामा सानीमान्छे भनेर भन्नेलाई ठूलो काम गरेर देखाउने चाहना राख्नु यसको सङ्केत हो ।

मठमन्दिर धाएर लाखौँ खर्च गरेर भगवानसँग भिख माग्नेहरूको भिडमा निबन्धकार ज्ञानु अधिकारी फरक दृष्टिकोण राख्छिन् । मूर्तिपुजनभन्दा पनि त्यहाँको वास्तुकला, चित्रकला, मूर्तिकलाजस्ता कलापक्षको सौन्दर्यले उनलाई तान्छ, अनि यसको अवलोकनमा नै उनी हराउँछिन् र त्यसैमा रमाउन मन पराउँछिन् । मूर्तिको ऐतिहासिक र पुरातात्त्विक महत्वका प्रसङ्गले उनलाई गम्भीर बनाउँछ भन्ने कुरा उनका यस कृतिका कतिपय निबन्धले स्पष्ट पारेका छन् ।

‘टिस्टा नदी मात्र होइन रहेछ’ शीर्षकमा टिस्टासँगै सल्बलाएका नेपाली जातिका कथा, व्यथा, आँसु, पसिना र रगतको कोलाजलाई हृदयले छामेर संवेदनाका भावले भिजेका शब्दशब्दले भावुक बनाउँछ, भक्कानो छुटाउँछ, हिक्कहिक्क  पारिरहन्छ अन्त्यसम्म नै । साँच्चै नै यहाँ अधिकारीका बाहिरी आँखाले होइन अन्तर्हृदयका आँखाले नियाल्दै स्पर्श गरिरहेको अनुभूति हुँदो हो टिस्टा नदीलाई पनि । वर्तमान नेपाली साहित्यमा आख्यानले स्थान ओगटेको कुरालाई पनि निबन्धकारले आफ्नो निबन्धको विषय बनाएकी छिन् ।

कति दुःख गरेर एम.ए.को उपाधि लिएर पनि त्यसलाई गोल्चे साँचो लगाइएको ट्याङ्काभित्र थन्क्याएर भात, भान्सा, जुठो भाँडो मात्रै कुरेर बस्न बाध्य भएका कतिपय महिलाहरूको कहालीलाग्दो कथाले मानवहृदय नदुख्ने कुरै भएन । पतिका अगाडि आज्ञाकारी बालकझैँ उभिनुपर्ने अलिखित विधान कतिपय पत्नीहरूका लागि जेलभन्दा कम नभएको कुराले पाठकलाई गम्भीर बनाउँछ । हरेक मानिसले आफू हिँड्ने बाटो आफैँले खन्नुपर्ने र आफू पुग्ने गन्तव्य आफैँले तय गर्नुपर्ने विचार व्यक्त गर्दै अर्काको योजनामा, अर्काले खनिदिएको बाटो हिँड्दा पाइलैपिच्छे चिप्लिएर लड्ने मात्र होइन अर्कै गन्तव्यमा पुगिने प्रसङ्ग मार्मिक छ ।

निबन्धकार आफैँ सङ्घर्ष र मिहिनेतले खारिएर, माझिएर व्यक्तित्व निर्माण गर्दै गरेकी नारी भएकी हुनाले उनका निबन्धहरूमा कतै आँसुलाई कतै पसिनालाई मसी बनाएर त्यसलाई दयाको भिख होइन वा निरीह होइन बरु शक्तिमा बदलेर शब्दहरू कोरिएका छन् । कतै यात्रानुभूति कतै समालोचकीय अनुभूति पोखिएको छ भने कतै समाज, संस्कृति, स्थान, इतिहासजस्ता विषय पस्किएको आभास हुन्छ । कतै प्रेमको शक्ति दर्शाइएको छ भने कतै प्रेमको शक्ति दर्शाइएको छ भने कतै प्रेमका नाममा गरिएको हस्तक्षेप वा शासनको पनि जरा खलबल्याइएको छ । बेस्सरी हल्लाइएको छ । पुस्तक विमोचनका नाममा हुने गरेका भड्किला दृश्यहरूलाई राम्रो झटारो हानेकी निबन्धकारले पुस्तकको गुदीलाई भन्दा कभरलाई विज्ञापनले फुलेको बेलुनजस्तो बनाउने चलन बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।

समग्रमा भन्दा संवेदनाको समायोग भित्र पसेर डुल्दै गर्दा कतै चलचित्रहलमा पुगेको जस्तो लाग्ने, कतै आख्यानको चास्नीमा डुबुल्की मारेजस्तै लाग्ने, हरेक घुम्तीमा आफैँलाई भेटेजस्तो महसुस हुन्छ । शालीन प्रस्तुतिमा पनि बन्दुकको गोलीभन्दा कडा क्रान्ति ओकल्ने सामर्थ्य हुन्छ भन्ने गतिलो प्रमाण हो यो कृति । लैङ्गिकताको पाटो उधिनिएको, सचेतनाको पाठ सिकाइएको, मातृत्वशक्तिको बोध पहिचान गराइएको र सङ्घर्ष नै जीवन हो भन्ने भाव व्यक्त गरिएको यस कृतिका निबन्धहरू चलनचल्तीका निबन्धहरूभन्दा नितान्त फरक शिल्प, शैली र संरचनामा संरचित छन् ।

निबन्धहरू पढ्दै जाँदा कतै काव्यात्मक रसास्वादन हुन्छ, भने कतै दर्शनको गहिरो अनुभूतिमा चुर्लुम्म डुबिन्छ । निबन्धकारले यी निबन्धहरूमा आफूले भोगेको समयलाई सर्लक्कै उतारेकी छन् । निबन्धलेखनको बाटोमा ज्ञानु अधिकारी अरूले खनेको मार्ग पछ्याई सजिलोमा रमाउने स्रष्टा नभई आफैँले नयाँ बाटो खनेर अरूलाई समेत त्यही बाटोमा हिँड्न प्रेरित गर्ने पथप्रदर्शक बनेकी छन् । उनका निबन्ध निर्बन्ध पोखिएका छन् । स्वतन्त्र कोरिएका छन् । यसैले पनि उनी यो क्षेत्रमा फलोअर होइन लिडर बन्न सक्ने सामर्थ्य राख्छिन् ।

ज्ञानु अधिकारीका निबन्ध कस्ता छन् भनेर कसैले सोध्छ भने नितान्त ज्ञानु अधिकारीकै जस्ता छन् भन्न ढुक्कले सकिन्छ । यो नै उनको नवीन र मौलिक पक्ष हो । गर्मीको बेला नुहाउन खोलेको पानीको धारो बन्द गर्न मन नलागेझैँ हुन्छ उनका निबन्धहरूभित्र पसेपछि निस्कन मन नै लाग्दैन । पाठकलाई यसरी आफूसँग एकाकार गराएर कतै रुवाउँदै कतै हँसाउँदै, कतै स्तब्ध पार्दै आफ्नो अभिव्यक्ति र विचारले मोहनी लाउनु भनेको चानचुने कुरा हुँदै होइन । म पाठकलाई जस्तै हरेक पाठकलाई यसरी नै सम्मोहित पार्छ भन्ने मलाई विश्वास छ ।

यति रसिलो एवम् कसिलो कृति पाठकलाई सुम्पिएकोमा मेरो पाठकीय हृदयले आभार व्यक्त गर्दछ र केही भाषागत कमीकमजोरीलाई चामलको बोराभित्र देखिने एकदुई बियाँ सम्झेको छु । दोस्रो संस्करणमा अझ फराकिलो नाङ्लोमा फिँजाएर सबै बियाँहरू टिप्दै भुस फाल्दै चामल मात्र छानिनेछ भन्नेमा म ढुक्क छु र यस महत्त्वपूर्ण कृतिका लागि निबन्धकारलाई हार्दिक बधाई एवम् शुभकामना ।