भारतीय उपमहाद्वीपका महान् कवि कालिदासद्वारा रचित विश्वविख्यात नाटक “अभिज्ञान शाकुन्तलम”मा जुन दिव्य प्रेमको विराट आकाशलाई देखाइएको छ, किञ्चित त्यसभित्र निहित निर्मल प्रेम ज्ञान तरङ्गहरूलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाले शाकुन्तल महाकाव्यमा देखाउन सफल भएका छन् । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक सहचर्या, मानव र प्रेमाभावको मधुर अन्तर प्रेरणाले भावुक हुँदै महाकविले प्रस्तुत शृङ्गार रस प्रधान महाकाव्य लेखेको हुनुपर्दछ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित सर्वप्रथम मौलिक महाकाव्य हो ।

शाकुन्तल महाकाव्यमा जम्मा २४ सर्ग छन् । पहिलो सर्ग सामान्य देवस्तुति, मङ्गलाचरणबाट आरम्भ गरिएको छ । प्रथम सर्गका ४० श्लोकसम्म शार्दूलविक्रीडित छन्द र बाँकी ४१ देखि ५० सर्गका श्लोकहरू वियोगिनी छन्दमा रहेका छन् । शाकुन्तलको दोस्रो सर्ग मालिनी छन्दबाट आरम्भ भएको पाइन्छ । दोस्रो सर्गका १६ श्लोकसम्म मालिनी र १७ औँ देखि ४९ सम्मका श्लोकमा प्रकृतिको वर्णन ज्यादै रोचक तरिकाले गरिएको छ ।

पहिलो चरणमा मेनका र विश्वामित्रको प्रेम शुरु भै सकेको हुँदैन । स्वर्गका राजा इन्द्रको योजना अनुसार अप्सरा मेनका ऋषिको ध्यान भङ्ग गराउन धर्तीमा आएकी हुन् । उनले जसरी पनि ऋषिलाई आफ्नो माया जालमा फसाउनु थियो । त्यही उद्देश्य अनुरूप मेनकाले ध्यान मग्न ऋषिलाई पाउजुको आवाज सहित यसो भन्छिन् –

‘हे साधु सुन, मूर्ख छौ सब तिमी फुस्रा कुरामा पर्‍यौ

ढुङ्गा आसन भो हठै व्यसन भो झन् स्वर्गबाटै झर्‍यौ ।

शैया एक बनाउनु मखमली बुट्टा भरी सुन्दर

यौटा राख त अप्सरा मृदुमुखी देखिन्छ है ईश्वर ।’

यस्ता कामुक भावका श्लोक र प्रेम कम्पित आवाजले ऋषिको मनमा बिस्तारै प्रभाव जमाउन थाल्छ र केही दिनमा नै उनको तप भङ्ग हुन पुग्छ । भुजङ्गप्रयात छन्दमा रचना गरिएको यो कामुक प्रेम अपिल सर्गमा जम्मा ९८ श्लोकहरूले ऋषिको मनोभावमा ल्याएको हलचल र तात्कालिक प्रेमपूर्ण परिवेशलाई रसिक बनाएका छन् ।

महाकाव्यको पाँचौँ सर्ग भने केवल ४६ श्लोकमा नियन्त्रित छ । जसमा मेनकासँग ऋषि विश्वामित्रको प्रेम झ्याङ्गिन्छ । जङ्गलकै कुटीमा चन्द्रमुखी शिशु बालिका (शकुन्तला)को जन्म हुन्छ । पतिपत्नीको विवादबिच विश्वामित्र र अप्सरा मेनकाको प्रेम प्रतिमूर्ति शिशु शकुन्तला मालिनी नदी सन्निकट घना जङ्गलमा त्यागिन बाध्य हुन्छिन् । हो, त्यही बिन्दुबाट शाकुन्तल महाकाव्यको कारुणिक कथाले अव्यक्त शिराबाट करुणामय गङ्गा जलमा स्नान गराउन थाल्दछ ।

प्रेम मानसिक चाह र हृदय स्पर्शका बीच अनपेक्षित बाध्यताले टुक्राटुक्रा भएर अतृप्त छटपटाहट सँगसँगै शुष्क भूमिमा पोखिन्छ । विश्वामित्र जसले घमण्ड र महत्त्वाकाङ्क्षा रुपी त्रिशङ्कुलाई अहमताको नयाँ स्वर्ग स्थापना गरिदिने आश्वासनलाई पूरा गर्न प्रेम विहीन तपस्यामा पुन आसन कस्छन् ।

मेनका र विश्वामित्र बिच चलेको प्रेमको अन्त्य पछि उनीहरूकी सुपुत्री शकुन्तलाले युवराज दुष्यन्तसँगको प्रेमलाई सफल बनाएर बाबु आमाको अधुरो प्रेमलाई पूरा गर्छिन् । शकुन्तला र दुष्यन्तको आत्मिक प्रेमदशा भित्र विचरण गर्दागर्दै अमरत्व प्राप्त गर्न सफल भएको महाकाव्य हो ‘शाकुन्तल’ । शाकुन्तल महाकाव्यभित्र अभद्र लैङ्गिक कामुकताहरू कतै कतै देखा पर्न खोजे पनि निष्कर्षमा निष्क्रिय हुन्छन् । निर्मल नदीको जसरी समुद्रमा समाहित हुनको लागि आतुरता हुन्छ, त्यस्तै आतुरता शकुन्तला र दुष्यन्तको प्रेमप्रवाहमा पनि छ । उनीहरूको प्रेम तरङ्गमा अभद्र कुटिल चालहरू खासै देखिंदैनन् ।

कुनै योजना र मध्यस्थता बिना स्वतःस्फूर्त रूपमा प्रेम महाकाव्यको अन्तसम्म बगिरहन्छ । विशेषगरी शकुन्तलाको प्रेममा प्राकृतिक आवाज छ, नदी तथा समुद्र समागमको आवाज, ब्रह्माण्डीय परिचक्रको आवाज र धर्ती अपचलनको सौम्य, सभ्य वा परम आनन्दित शृङ्गारिक आवाज । शकुन्तला र दुष्यन्तको प्रेमप्रवाहमा मनको मनसँग र मस्तिष्कको मस्तिष्कसँग जोडिएको मायाको तार छ । जुन कहिल्यै टुट्दैन । आवाज-आवाज भित्रभित्रै एक फल प्रेमको रूपमा पाकेर प्राकृतिक रूपमा प्रकट हुन्छ शाकुन्तल महाकाव्यमा यसरी:

‘सुन बादल भो सुन सूर्य भए ।

सुरद्वार खुल्यो सुनको नभमा ।।

सुनको भव भो सुनको जलले ।

सुन तार बजाउँछ कल्कलले ।।‘

जल स्नानबाट फर्किंदै गरेका महामुनी कण्व प्राकृतिक नियमक र ब्रह्माण्डको ज्ञान भएका ब्रह्मर्षि हुन् । ’शकुन्त’ चराहरूको चौघेरा र शिशुको चिच्याहटलाई कण्व ऋषिले विधि निर्माताको निर्देशन सम्झिन्छन् । ऋषि कण्वले नियतिबाट मिल्क्याइएको अङ्कुरित बतिलोलाई कर्तव्यको निर्देशन सम्झी आफ्नो कुटिमा लिएर आउँछन् । उनले ऋषिकी बहिनी गौतमी र ज्वाइँ सत्तानन्दको आश्रममा राख्न नहुने सुझावका बीच पनि शकुन्तलालाई आमा बाबु दुवैको वात्सल्य दिएर आफैसँग राख्छन् । ‘कुन जातको बच्चा हो’ भनेर परिचर्चा चल्दा आफ्ना चेलाहरूलाई कुनै पनि ब्रह्मज्ञानीले ‘जातको कुरा गर्नु सङ्कीर्णताको पराकाष्ठा हो’ भन्दै ॠग्वेदमा लेखिएको ‘मनुर्भव’लाई मनन गर्न सल्लाह दिन्छन् । दिव्य चेतना भएका ब्रह्मर्षिहरूले जात र वर्ण बाल्यावस्थालाई इन्कार गर्दथे भन्ने कुरा कण्व ऋषिको ‘मनुर्भव:’ले छर्लंग पारेको छ ।

महर्षि कण्व र शकुन्तलाको बीच रक्त सम्बन्ध भन्दा माथिको समभावी स्नेह छचल्किएको छ । कण्वमा त्यस्तो कुनै क्षण रहेन जसमा शकुन्तलाप्रतिको वात्सल्यमा कमी भएको होस् । त्यहाँ केवल ऋषिको मानवता मात्र रहेन, अपार प्राकृतिक वात्सल्य छचल्किएको छ । कुटी वरपर प्रकृति प्रतिको सुरक्षा भाव र ममता हावासँगै बहेको छ । जीव, जन्तु, लता, वृक्ष र चराचर जगत् प्रति समान सम्मान र कर्तव्य सहितको प्रेम लहराएको छ ।

ब्रह्मज्ञानी महामानव केवल मानव हितको मात्र पर्याय बनेर रहन सक्दैन । मानिसको सिर्जना ब्रह्माण्डका सबै चराचरलाई समान ममतामा हुर्काउनका लागि भएको हो । मानवको कर्तव्य र सर्जकको चाह पनि प्रेमबाट प्रेरित छ भनेर दिव्य प्रेममा भिजाएर काव्यका हरेक स्तम्भहरू एकैसाथ उभ्याइएको देखिन्छ । यसरी वात्सल्य र प्रेमरूपी विशाल जेलोभित्र मुख्य गरी शृङ्गार रसको साथै अन्य रसले समेत सिँगारिएको छ ‘शाकुन्तल’ महाकाव्य ।

“फूल केवल सुन्दरता र किट भोजनको लागि सृष्टि गरिएको अबोध प्राण हो ।” शकुन्तलाको माध्यमबाट कवि आफैँ बोलेका छन् – ‘फूललाई पनि दुख्छ, नछोऊ र बिना उद्देश्य टिपेर प्राण नलेऊ, अरूको प्राण सङ्कटमा पार्ने वा जीव जगतको ईश्वरीय सार्वभौम स्वतन्त्रतालाई चुनौती दिने कसैको अधिकार छैन । रचनाको सुरक्षा गर्ने र सुन्दरताको आनन्दबाट स्नान गर्ने विधाताबाट मानवलाई दिइएको आदेश हो ।’ जुन प्रेम तपोवनको एक हिरणसँगको वार्तालापमा शकुन्तलाले खुबै निष्पाप तरिकाले बगाएकी छन् । प्रेम मित्र करणको जस्तो निस्वार्थ प्रेम, ऋषि कण्वको जस्तो वात्सल्यता र शकुन्तलाका आश्रममा रहेका अन्य सखीहरूको जस्तो हार्दिकता नै महाकाव्यका मुख्य भावहरू हुन् ।

प्रेम तपस्या हो जसले सधैं पारिजात फूलले जस्तै सुगन्ध दिइरहन्छ । तर त्यसमा कुनै स्वार्थ, विकार र मैलो भावनाको लेश पनि हुनुहुँदैन । प्रेम भविष्यको आशामा नदीको पानी जस्तै बगिरहन्छ । प्रेमले किनारा विहीन समुद्रका तरङ्ग र छालहरू जस्तै सबै जगतलाई आफूमा समाहित गर्न सक्दछ । दुष्यन्तले जस्तै सर्वस्व त्यागेर पनि प्रेमको उपासना र अधीनताले मनमा आनन्दको वर्षा गरिरहन्छ । त्यसैले शकुन्तला र दुष्यन्तको प्रेम कहानीलाई पथ प्रदर्शक मानेर महाकविको कलमले पुन मुनामदन र सुनको बिहानी खण्डकाव्य जन्मायो ।

शाकुन्तलको एक हरफ ‘मनुर्भव’ले मुनामदनमा ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन’, भनेर प्रेमको सीमा रहित विशालतालाई पुनर्जीवन दियो । ‘नछुनु त्यो कोपिला छोएमा पाप लाग्दछ’ भनेर सुनको बिहानीमा महाकविले पस्केको ‘तपोवाक्य’ ‘शाकुन्तल’ महाकाव्य कै देन हो ।

कर्तव्य र प्रेम भन्दा बाहिर ज्ञान र मुक्ति सम्भव छैन भन्ने विश्वासमा पुगेर पनि एक वर्ष पछि कुरुचिको निष्क्रिष्टतालाई न त विश्वामित्रले चिर्न सके न त मेनकाले नै । ब्रह्मज्ञानको खोजीमा निर्जन जङ्गलबिच भौंतारिरहेका अतृप्त प्रेमाभिलासी विश्वामित्र पासा स्वरूप फ्याँकिएको इन्द्रजाल रुपी मेनकाबाट प्रेम ज्ञान लिन बाध्य भए । भविष्यको प्रेम बीज बिना नाम र बिना परिचय नि:सहाय बनाइएर भूमिमा फालियो । यसले विश्वामित्रको ज्ञानको दायरा र कण्व ऋषिको चेतनाको क्षेत्रलाई तुलना गर्न नसकिने बनाइदिएको छ ।सृष्टिका बाटिकामा गगन भेद्ने शकुन्तला चराहरूले टुक्रा टुक्रा भएको मेनका र विश्वामित्रको प्रेमको चिनागारीलाई जोड्ने धागोको काम गरेका छन् ।

यो महाकाव्यको मीठो सन्देश यो पनि हो – सृष्टिदेखि बगिरहेको प्रेम हुरी, जातीय अहङ्कार, एकल समाज र एकाङ्गी सहयोगले कदापि हुर्कन सक्दैन । सृष्टि हुर्कन प्रेम आवश्यक छ ।

धर्तीका हरेक चिज वा प्राणी एक आपसमा अन्तर घुलित र उस्तै ब्रह्म तत्त्वबाट बन्धित छन् । यी सबैको आ-आफ्नो स्वतन्त्र अस्तित्व भएर पनि भावनात्मक एकात्मकता छ । त्यो एकात्मकता प्रेमले सम्भव भएको हो । त्यसैले प्रेम आस्था हो, प्रेम दासता हैन, यो स्वतन्त्र रूपले हुर्कन पाउनु पर्छ । यसले प्रकृतिको पूर्ण रचनामा साक्षात्कार हुन पाउनु पर्छ । मानव मानवबाट मात्र विजित र जीवित हुन सक्दैन ।

पुरु पुत्र दुष्यन्त शकुन्तलाको प्रेम बिना अर्धपागल हुँदा र आफ्नो स्मरण शक्तिलाई गुमाउँदा पनि प्रेमरूपी विश्वासले सबै कुरालाई पुनर्जीवित गरायो । शकुन्तलासँगको प्रेमलयद्वारा उत्पन्न अमृत कोषले राजा दुष्यन्तलाई पटक पटक पुनर्जीवन दिइरह्यो।

राजाको प्रेममा पागल भएकी शकुन्तलालाई दुर्वासा ऋषिले श्राप दिएर अझै पीडा थपिदिएको प्रसङ्गले यो महाकाव्यलाई अझै मार्मिक बनाएको छ । ‘शाकुन्तल’को २४ औं अर्थात् अन्तिम सर्गमा युद्ध जितेर खुशी हुँदै आफ्नो राज्यमा फर्कने क्रममा राजा दुष्यन्तलाई कश्यप ऋषिको दर्शन गर्न मन लाग्छ र उनी कश्यपको आश्रममा जाँदा एउटा तेजिलो बालक सिंहको बच्चाको दाँत गन्दै र उसैसँग खेल्दै गरेको दृश्यले उनलाई चकित बनाउँछ । बुझ्दै जाँदा त उक्त बालक उनकै छोरा भरत हुन्छन् । यसरी अन्तमा शकुन्तलासँग राजा दुष्यन्तको सुखद मिलन हुन पुग्छ । उनी छोरा भरत र शकुन्तलालाई लिएर दरबारमा जान्छन् । यसरी शाकुन्तल महाकाव्य समाप्त हुन्छ ।

त्यसैले महाकविलाई भन्नै पर्छ ‘धन्य हौ लक्ष्मी तिमी, प्रेम ब्रह्म स्वरूप महाकाव्य भित्र केवल यौवनको प्रेमालाप मात्र देखेनौ । तिम्रो अथाह प्रेम सागरमा फूल बोटबाट अलग्गिँदा पनि तिमीलाई दुख्यो, मनको आनन्द भङ्ग भयो, प्रेम रोयो । साथी अनुशुया, करणहरूसँग शकुन्तला अलग हुँदा पनि तिम्रो प्रेम विक्षिप्त बन्यो, बन सुन्दरी हिरणलाई बाण दागिँदा उसलाई तिम्रो प्रेमले बचायो । आस्थामा कहिल्यै विचलन आएन, पालक कण्व प्रतिको सम्मान तिम्रै प्रेमको जलपले चम्काइरह्यो । वंशको उज्यालोले नामकरण सहित जन्म लियो शाकुन्तल र दुष्यन्त पुत्र भरतको रूपमा । मानवता रुपी सन्ततिको रूपमा भूमिले प्रेमको अर्को नाम पायो भारतवर्ष (आदिपर्व, पद्म पुराण) र न्यायको मार्गमा प्रेम ब्रह्मज्ञानको साक्षात्कार भयो महाभारत गीता मार्फत ।’

यसै सन्दर्भमा महाकवि कालिदासको यो भनाइबाट पनि “अभिज्ञान शाकुन्तलम” नाट्य काव्यको काव्यरस र कथावस्तुबारे कल्पना गर्न सकिन्छ,

‘काव्येषु नाटकं रम्यं तत्र रम्या शकुन्तला ।

तत्रापि च चतुर्थोऽङ्कस्तत्र श्लोकचतुष्टयम् ।।’

अन्त्यमा, तपस्या प्रेम बिनाको अहङ्कारमा बाँच्न सक्दैन । विश्वामित्रको अहङ्कार र दम्भलाई मेनकाको प्रेमले रुझाएपछि मात्र ब्रह्म ज्ञानको अभ्यास शुरु हुन्छ । ब्रह्म चेतनाले सीमा रहित प्रेम जन्माइदिन्छ, त्यो झाँगिँदै जान्छ र विक्षिप्त भएर विश्वामित्रको महातप प्रेमसागरमा समाहित हुन्छ । शाकुन्तल-दुष्यन्त भित्रको ‘सत्यम् शिवम् सुन्दरम्’ अर्थात् ज्ञान, कर्तव्य र प्रेम अनन्तसम्म सुगन्धित भै रहने छ । विनयी भावमा महाकविले लेखेको निम्न महाकाव्यको याचना सहित बिदा !

‘भाषा तोते छ मेरो अधखिल अधरा अन्कारै भित्र

त्यस्ती मिठी, उज्याली, विहगशिशुसँगै दाँजिदा आज भित्र

जो जो लेखेँ सकेको कनिकुथिसँगको यो विषे क्यै विचित्र

झल्का पाए उज्यालो नजर दुई त्यसै चिम्लिनोस् भुलभित्र ।’