आँधीबेहरीको भयानक वेगले
उडाई दियो सम्पूर्ण संरचना,
भत्काई दियो ठूलठूला
भवन र इमारतहरू।
कहालीलाग्दो, अत्यासलाग्दो,
धुवाँको बाक्लो, कालो मुस्लोभित्र
मैले तिम्रो उज्यालो, गोरो अनुहार खोजीरहेँ!
मैले, तिमीलाई बिहान हालिदिएको
टिफिन पनि त्यसै रहेछ।
टिफिनको बट्टा पनि खोल्न भ्याएका रहेनछौ!
मैले, तिम्रो लागि हिजो मात्र किनिदिएको
सेतो जुत्ता लगाएर स्कूल गएका थियौ!
तिमी,
सधैँझैँ घर नफर्केपछि
मैले तिमीलाई
सबैतिर बुझिरहेँ—
पुलिसचौकीमा, अस्पतालमा, खाजाघरमा,
जतासुकै फोन गरिरहेँ,
तिम्रो मिल्ने साथीकोमा, मामाघरमा,
जतासुकै खोजीरहेँ।
कतै देखिनँ, कतै भेटिनँ।
भेटेँ, त मात्र एउटा जुत्ता—
रगतमा लतपतिएको,
भिजेको।
जुन, आज बिहान तिमी स्कूल जाँदा,
मैले तिम्रो जुत्ताको तुना बाँधेर स्कूल पठाएकी थिएँ!
तिमी जन्मिँदा
म, त्यो प्रसव पीडामा पनि हाँसेकी थिएँ,
मुस्कुराएकी थिएँ।
दुःख पनि, पीडा पनि
यति आनन्ददायक हुन्छ
मैले, पहिलो पटक अनुभव गरेकी थिएँ!
मानौँ, तिमी नै मेरो खुसी हौ,
अर्थात् तिमीले नै मेरो खुसीको
भारी बोकेर ल्याएका थियौ!
तर अहिले,
म देखिरहेकी छु—
मेरा खुसीहरू अँगार भैसके!
खरानी भैसके!
मेरो रहरहरूको त के कुरा,
तिनीहरू हुर्किनै पाएनन्!
कसैले घाँटी अठ्याइदियो, बन्दी बनाइदियो!
म,
अझै पनि विश्वास गर्न सकिरहेको छैन!
तिमी रहेनौ भन्ने, छैनौ भन्ने!
मलाई लाग्दैन, सूर्य बेगर पनि उज्यालो हुन्छ र?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२६ कार्तिक २०८२, बुधबार 




