एउटी महिला हातमा पूजाको थाली लिएर अगाडि बढिरहेकी थिइन् । म उनको छेउ पुग्दै थिएँ । त्यसै बेला एउटा विचार आउँछ । त्यस दृश्यले गहिरो सोचमा पुर्याउँछ । हुन त दृश्य अत्यन्तै सामान्य थियो । परन्तु त्यसमा मानव सभ्यताको एउटा इतिहास थियो ।
म हिँडिरहेकै थिएँ । उनी र मबीचको दूरी छोटिँदै थियो । भेट हुन त्यस्तै बीस पच्चीस कदम बाँकी हुँदो हो । त्यस्तैमा बिरालोले बाटो काटिदियो । फड्को चाल्न उठेका उनका ती पाइला टक्क रोकिए ।
सडक सुनसान थियो । भर्खर त मिर्मिरे उज्यालो फुट्दै थियो । सडक बत्ती नहुँदो हो मैले उनको स्पष्ट आकृति देख्ने थिइनँ । त्यस्तै उनले पनि देख्ने थिइनन् । अँध्यारोमा दुवैको स्वरूप झल्याकझुलुक हुने थियो । छायाजतिको चहकिलो पनि हुने थिएन । जसले एउटा भ्रान्ति उत्पन्न गर्न सक्थ्यो । कस्तो भ्रान्ति भने त्यो अँध्यारोकै स्वरूप भएर घरी दृश्य त घरी अदृश्य हुने थियो ।
ठीक त्यही बेला झ्याप्प बिजुली गएको भए कस्तो दृश्य घट्थ्यो होला ? अर्थात् घटनाले कुन रूप लिन्थ्यो होला ? म भन्न सक्दिनँ । धन्य हो बिजुली गएन !
मेरो विचारमा बिजुली गएको हुँदो हो उनका पाइला रोकिने थिएनन् । त्यस्तो केही कुरा घट्ने थिएन । त्यसो त घटेको हुन्थ्यो भने पनि अँध्यारोमा थाहै हुने थिएन । उनको पाइला रोकिए नरोकिएको, मैले देख्न सक्ने थिइनँ ? यदि त्यस घडी केही कुरा घटिहाल्थ्यो भने पनि अज्ञात नै रहने थियो ।
बाटोघाटो हिँड्दा म यस्तै केही कुराको खोजीमा हुन्छु । जसले मलाई केही सोच्न बाध्य बनाओस् । एउटा वैचारिक मूडमा पुर्याओस् । हिँड्दै गर्दा अरू केही भेटिनँ भने पनि सडकपेटीमा सुतिरहेका या भुकिरहेका या त यौन क्रीडामा रमाइरहेका या त आपसमा भिडिरहेका कुकुरहरूको मनोभाव बुझ्न खोज्छु ।
‘अहिले तिनीहरू के सोचिरहेका होलान् ? तिनीहरूको दृष्टिमा शहर कस्तो देखिएको होला ? अनि यो व्यस्त शहरबारे कस्तो बुझाइ होला ?’ निश्चय केही न केही त तिनीहरूको पनि धारणा होला । भलै तिनीहरूको धारणा हामीसँग नमिल्ला फरक त्यति न हो ।
यस्तै केके थोक सोच्दासोच्दै अकस्मात् म एउटा ठम्याइमा पुग्छु । लाग्छ हरेक दृश्यहरू आफैँमा एउटा विचार हुन् । दर्शन हुन् । जसमा अर्थका अनन्तः सम्भावनाहरू रहेका हुन्छन्, जसलाई जसरी पनि बुझ्न सकिन्छ, नबुझ्न पनि सकिन्छ । तथापि बुझ्नु नबुझ्नुको कुनै प्रभाव रहँदैन । किनकि त्यो हाम्रो बुझाइ अनुसार घट्ने होइन । त्यो आफैँ घटित हुन्छ । त्यो आफ्नै लागि घट्छ । त्यो हामीले नदेखे पनि घट्छ । त्यसैले त जगत् गतिशील छ, जटिल छ, अगम्य पनि ।
तत्कालै मनमा फेरि अर्को विचार आयो । निमेष निमेषमा यहाँ असङ्ख्य घटनाहरू घटिरहेका छन् र घट्दै पनि छन् । ती दृश्य अदृश्य जे भए पनि प्रभाव त आखिर उतिकै रहने छ । हावा बहनु एउटा घटना हो । जुन कि हामीले चाल पाएकै हुँदैनौँ । तर पनि त्यसले आफ्नो काम गरिरहेको हुन्छ । रात पर्नु त्यस्तै अर्को घटना हो । थाहै नपाई सुस्तरी उज्यालोको आभा छरिनु फेरि अर्को । यस्तैमा मलाई एउटा रहस्य बोध भयो; घटना विहीन भएर समय एक क्षण पनि बित्न नसक्दो रहेछ । समय आफैँमा एउटा घटना रहेछ, जुन घटिरहन्छ ।
म फेरि त्यही घटनामा फर्किएँ । मलाई देखेर शायद उनी ढुक्क भइन् । बिरालाले बाटो काट्दाको दोष मेटाउन उनले मलाई पर्खिइन् । अरूले थाहा नपाउने गरी हिँड्न रोकिएर; उनले त्यसै अलमल गरिन् । बिरालाले गर्दा आफू रोकिएको होइन भन्ने पार्न उनले त्यसो गरिन् ।
त्यस बखत उनको झुटो प्रभावको केही अर्थ थिएन । नचिनेको मान्छेसँग त्यसको प्रभाव नै किन ? मलाई उनको त्यस अभिनयले के फरक पार्थ्यो र ? मैले उनको अवस्था थाहा पाएर केही हुने थिएन । थाहा नपाएर पनि केही हुने थिएन । लाग्यो बित्थामा मानिसहरू अभिनयमा बाँच्दा रहेछन् । उनले त्यसरी आफ्नो अवस्था लुकाए पनि मैले थाहा पाइसकेको थिएँ ।
यदि बिरालाको दोष मेटाउनका लागि म थिइनँ भने, उनले के गर्थिन् होला ? के उनी त्यहीँ रोकिएर बस्ने थिइन् ? त्यसरी बस्दाबस्दा कोही नआएदिए, के घर फर्किएर जाने थिइन् या दोषको बेवास्ता गरेर अघि बढ्ने थिइन् ? साँच्चै उनी के गर्ने थिइन् होला ?
बिरालाले बाटो काटेको ठाउँ हुँदै सरासर म अघि बढेँ । त्यसपछि उनले के गरिन् ? मैले फर्किएर हेरिनँ । हेर्न जरुरी थिएन । उनको बाटो खुला भइसकेको थियो । अब उनी बाटो लाग्ने छिन् भन्ने मलाई थाहा थियो, तब हेर्नु नै किन ? थाहा भएको कुरामा व्यर्थ किन भुल्नु । जहाँ थाहा पाउन बाँकी नै के थियो र ?
मानिस अरूको दृष्टिमा राम्रो देखिन, स्वाभाविकता छल्न कसरी कृत्रिम हुने रहेछ ! उसले प्रायः त्यसरी कृत्रिमता रच्दो रहेछ । जस्तो कि ती महिलाले रचिन् । उनीभित्र अज्ञात भय थियो बिरालाले बाटो काटेपछि राम्रो हुँदैन भन्ने । उनको त्यस भयप्रति मेरो तर्क वितर्क केही थिएन । त्यो त उनको निजी कुरा हो । मैले त्यसमा केही भन्नु थिएन । तर एउटा कुरा के भने; उनले अरूको दृष्टि छले पनि आफूलाई छल्न भने सकेकी थिइनन्, शायद । मेरो भन्नु त्यति नै थियो ।
सत्यको खोजी गर्न मानिससँग एउटा हिम्मत चाहिने रहेछ । अघिको मान्यतामा सन्देह गर्न त्यस्तै अर्को आँट पनि । नत्र ऊ सधैँ त्यही मान्यताबाट शासित भइरहने छ । तब ऊ कदापि युगानुकूल हुन सक्दैन । जस्तो कि ती महिलाले सकिनन् । उनले बिरालो हिँडेको बाटो बेवास्ता गरी अघि बढेको भए, त्यसै क्षणदेखि उनी स्वतन्त्र हुने थिइन् । उनी त्यसरी भयभीत हुनु पर्थेन ।
बिचरा बिरालो ! उसलाई थाहै छैन, आफ्नो कारण मानिसहरू कसरी तर्सिने गर्छन् ? आफूसँग मानिसलाई भय उत्पन्न गर्ने अज्ञात शक्ति छ भन्ने कुरा, उसले चाल पाएकै छैन । यदि चाल पाए के भन्दो हो ? निश्चय अट्टहास गर्थ्यो होला ! अनि कति दिनसम्म अट्टहासको नसामा ह्याङ्ओभर हुन्थ्यो, अवश्य !
एकचोटि ती महिलाले जसरी भए पनि साहस देखाउनु पर्ने थियो । कुनै दिन उनले त्यो साहस देखाइन् भने, त्यस घरी उनी आफैँसँग सर्माउने छिन् । बिरालो स्वयं आफूसँग डराएको थाहा पाउने छिन् । अनि उनले कहिल्यै बिरालोदेखि भाग्नु पर्थेन ।
त्यसपछि उनको सोच्ने दृष्टिकोणै फरक हुने थियो । उनी अर्को सत्यसँग साक्षात्कार हुने थिइन्, बिरालोदेखि सधैँका लागि आजाद हुने थिइन् । उसको कारण आफ्नो साइत नबिग्रिने थाहा भएपछि; उसप्रति उनको दृष्टि कति सद्भावपूर्ण हुने थियो । उनी सधैँका लागि दयालु हुने थिइन् । भयमुक्त अवस्थामा उनी त्यसरी रुखो हुनु पर्ने थिएन ।
यस सृष्टिमा जति पनि प्राणीहरू छन्, ती भयकै कारण आक्रामक हुने गर्छन् । आफ्नो प्रतिरक्षा गर्न त्यसो गर्छन् । तर हामीलाई लाग्छ ती अनायासै आक्रामक हुन्छन् । त्यसो होइन । तिनीहरू हामीले बुझेजस्तो आक्रामक छैनन् । त्यो त उनीहरूको, बाँच्नका लागि आवश्यक जन्मगत स्वभाव हो । तर मानिस बित्थामा यसै पनि आक्रामक भइरहन्छ । व्यर्थमा ईर्ष्या र द्वेषको भयले क्षुब्ध भइरहन्छ । त्यस हिसाबले मानिसभन्दा बरु पशु प्राणी नै महान् हुन् कि ? उनीहरू केवल जीवन रक्षाको लागि क्रुद्ध हुने गर्छन् । परन्तु मानिस अकारण भइरहन्छ ।
यस्तै भाँतीभाँतीका अज्ञात भयले, त्रासले मान्छे थाहै नपाई; क्रूरतामा बाँच्दो रहेछ । विद्वेषक हुँदो रहेछ । ऊ जब पनि विद्वेषक भइरहन्छ अनि कहिले शान्त हुन सक्छ ? त्यस्तै सकारात्मक ? जबसम्म ऊ विद्वेष र भयबाट मुक्त हुँदैन, त्यस दिनसम्म ऊ कदापि मानिस हुन सक्दैन । भयले, विद्वेषले उसलाई मानिस हुन दिँदैन । हामी वास्तविक मानिस हुन भय, द्वेष र ईर्ष्याबाट शासित हुन, अस्वीकार गर्नुपर्ने रहेछ ।
हिँड्दा हिँड्दै म छक्क परेँ । कस्तो विरोधाभासी दृश्य ! कस्तो विरोधाभासी मन ! साँच्चै मानिस कति निरीह रहेछ !
अहिले ती महिला के सोचिरहेकी होलिन् ? उनी बिरालाको अस्तित्व स्वीकार्न चाहँदिनन् । त्यही नचाहेर त बिरालोलाई अकिञ्चन देख्छिन्, अशुभ ठान्छिन् । फेरि उसैसँग तेत्रो त्रास ? तालमेल नमिलेको उनको त्यो मनोविज्ञान; मलाई निकै जटिल लाग्यो ।
त्यो अकिञ्चन बिरालो ! जसले थाहै नपाई मान्छेमाथि अर्थात् उनीमाथि कसरी शासन गर्दै आएको रहेछ ! त्यसैले त ऊदेखि डर छ ! मान्छे आफूलाई सृष्टिकै श्रेष्ठ मान्छ । फेरि किन त्यति धेरै कायर ? जाबो बिरालोसँग पनि ऊ हच्किने गर्छ । बिरालो हिँडेको बाटो हिँड्न पनि सन्देह गर्छ । कस्तो उदेक लाग्दो कुरा ! परन्तु त्यस उदेकमा पनि आखिर स्वाभाविकता यथावतै छ ।
आज पनि हामी आदिमतामै छौँ । परन्तु यो कुनै अनर्थ लाग्ने कुरा होइन । हामी जति नै विकसित मानव हुँदै गए पनि; हामीभित्रको आदिमता कुनै न कुनै रूपमा बाँचिरहने छ । यदि कहीँ त्यो मर्यो भने हजारौँ वर्ष लागेर निर्माण हुँदै आएको मावन (वंशाणु) त्यसै क्षण अन्त हुनेछ ।
हुन त तपाईंलाई लाग्ने छ, म वर्तमानको उत्तरआधुनिक मानव हुँ । तपाईंले ठीकै भन्नु भयो । परन्तु यो आंशिक सत्य हो । पूरै होइन । भलै तपाईं (मानव) अहिले उत्तरआधुनिक जीवन बाँच्दै हुनुहुन्छ । तर तपाईंको चेतना आदिमताले निर्मित छ । यदि तपाईं आदिमताबाट विखण्डित हुनु भयो भने, तपाईं मानव हुनै सक्नु हुन्न । अनौठो एलिएन हुनुहुनेछ ।
मानव कुनै एक व्यक्ति होइन । ऊ त सृष्टिको आरम्भिक कालदेखि निर्माण प्रक्रियामा रहेको एक चरित्र हो । तपाईं हामी आज पनि निर्माणकै प्रक्रियामा छौँ । सृष्टि रहुन्जेल निर्माणकै चरणमा हुनेछौँ । एकतिर हामी निर्माण भइरहेका छौँ अर्कोतिर आदिमता बाकेर बाँचिरहेका छौँ । यसरी आदिमता र समसामयिकताले हामी निर्देशित हुँदै आएका छौँ । अझ ज्यादा त आदिमताले नै परिचालित छौँ । आदिमताबाट शासित छौँ । अहिले मात्र होइन, जुन युगमा पनि मानिस आदिमताबाटै शासित हुनेछ । ऊ कदापि त्यसबाट विच्छेद भई अलग हुन सक्दैन । विगत विहीन भएर ऊ अस्तित्वमा रहन सक्दैन । यदि भूलवश रहने चेष्टा गर्यो भने; ऊ अल्जाइमर लागेको बिरामी जस्तै हुनेछ । उसको अस्तित्व त्यसै पल समाप्त हुनेछ । त्यसैले समाप्त नहुन ऊ जहिल्यै विगतको जगमा टेकिएको हुन्छ । उसको अस्तित्व त्यसैमा अडिएको हुन्छ ।
यहीँनेर तपाईंलाई लाग्ने छ । उसो भए के अब आउने पुस्ताले पनि; बिरालाले बाटो काटेकोमा सन्देह गर्नेछ ? यदि सन्देह गरेन भने ऊ विगतबाट टुक्रिने छ । होइन त ? अहँ त्यसो होइन । उसको आदिमता अर्कै हुनेछ । उसलाई निर्देशन गर्ने आदिमता अहिले निर्माण हुँदैछ । जुन यतिखेर आदिमता नभएर समसामयिक स्थितिमा छ । भोलि यही समसामयिकता आदिमता हुनेछ ।
बिरालोप्रति सन्देह गर्ने पुरानो पुस्ताकै निरन्तरतामा अहिले हामी अगाडि बढिरहेका छौँ । अघिल्लो पुस्ताको समसामयिकतामा टेकेर हामी अर्को आदिमता निर्माणमा छौँ । आदिमता भन्ने कुरा यसरी केही छुट्दै केही बनिँदै जाने एउटा प्रक्रिया रहेछ ।
यसो भन्दै गर्दा तपाईंलाई लाग्ला हामी यतिखेर ‘एआई’को जमानामा अत्याधुनिक समय बाँच्न लागेका छौँ । के यो बचाइ आदिमता निर्माणको प्रकिया हो ? अवश्य । आज हामी जस्तो जीवन बाँच्दैछौँ अगामी केही पुस्तापछि अहिलेको जीवन उसै गरी प्राचीन लाग्नेछ । उनीहरूको दृष्टिमा आजका हामी आदिम मानव हुनेछौँ जस्तो कि पहिलेका पुर्खा हाम्रो दृष्टिमा आदिम भएका छन् । हामीले जसलाई प्राचीन जीवन बाँचेको देख्यौँ, त्यतिखेर उनीहरूले पनि आफूलाई एकदम जल्दोबल्दो समय बाँचेको मान्थे । यसरी हरेक क्षण आफैँमा नवीन हुने रहेछ । भलै आजको नवीनता भोलि नवीन नहोला । यही क्रममा आजलाई भोलिले प्राचीन बनाउँदै लैजाने रहेछ ।
फेरि पनि प्रसङ्ग त बिरालाकै छ । किन छ भने म पुनः त्यही मनोविज्ञानको कुरा गर्न चाहन्छु । अझै पनि जिज्ञासाको उत्तर भेटेको छैन । अचम्म त कहाँनेर लागेको छ भने; पूजा गर्न जानेलाई साइत पर्नु र नपर्नुले के अर्थ राख्छ होला ? त्यही साइतको लागि होइन उनले बिरालोप्रति सन्देह गरेको ? आखिर साइत बिग्रिए पनि उनको पूजा रोकिने होइन । पूजा त जसरी पनि हुने नै छ । आस्था र विश्वासले समर्पित हुन् के साइत चाहिन्छ ?
अझ आश्चर्य त के कुरामा छ भने; उनी जसको पूजा गर्न जाँदैछिन् । उसलाई किन त्यसरी दोषी बनाइन्छ ? के उनको भगवान् बिरालाप्रति असहिष्णु छन् ? निजी स्वार्थले प्रेरित भएर, धर्मको नाउँमा मान्छेले भगवान्लाई किन दोषी बनाउने गर्छ ? किन अमैत्रीपूर्ण बनाउँदै लैजान्छ ? अदृश्य सत्ता (शक्ति) जसलाई जुन नामले जसरी बुझे पनि हुन्छ । त्यो अगम्य शक्तिको स्वतन्त्र अस्तित्वलाई किन धमिल्याउने गरिन्छ ?
उनको बुझाइमा उनले मान्दै आएको भगवान्, जसले उनलाई सृष्टि गरेका छन्, तिनैले होइन र बिरालालाई सृष्टि गरेको पनि ? उनले पो आफू र बिरालाबीच विभेद देखिन् । तर सृष्टिकर्तामा त्यो विभेद कहाँ ? यदि विभेद हुन्थ्यो भने उनले किन तुच्छा सिर्जनाको आविष्कार गर्थे ? उनको सृष्टिमा मावन जति अर्थपूर्ण छ त्यति नै बिरालो पनि ।
बिरालो र आफूबीचको उच निच, ती महिला आफैँले बनाएको एउटा धारणा न हो । यसरी आफूले आफैँलाई श्रेष्ठ ठहर्याउँदैमा उनी (मान्छे) कहाँ श्रेष्ठ भएकी छिन् र ? उनलाई अरू कसैले श्रेष्ठ भनिदिएको त छैन ! भनिदिएको भए ठीक हुने थियो । अरूको दृष्टिमा ठहरिएको श्रेष्ठता पो श्रेष्ठता … ! खै उनको अर्थात् मानवको श्रेष्ठाताले आफू बाहेक अरूको हित गर्न सकेको ? अनि ऊ कसरी श्रेष्ठ हुन सक्यो ?
बिरालाले हिँडेको बाटो समेत हामीलाई बिटुलो लाग्छ । के हाम्रो श्रेष्ठता यही हो ?
आज आएर पनि नबुझिएको कुरा के छ भने; स्वरूपमा ऊ बिरालो भए पनि उसको र हाम्रोबीचको प्राणशक्ति भनौँ या जिजीविषामा के फरक छ र ? हामी उसलाई देख्दा अपशकुन हुने सन्देह गर्छौं । बरु उसले हामीलाई देख्दा अपशकुन हुने सन्देह गर्नुपर्ने हो । कतिखेर हामीले उसको अस्तित्व पानीको फोका जसरी फुटाइदिन्छौँ, थाहै हुँदैन । ऊ कत्रो भयसाथ जीवन बचाउने प्रयासमा छ !
उफ् ! विडम्बना पनि कति उदेक लाग्दो ! उल्टै हामी उसलाई आक्षेप लगाउँछौँ साइत बिगारी दिएकोमा । त्यसैले त मन्दिर जाँदै गरेकी महिला टक्क रोकिएकी छिन्; बिग्रिएको साइत सपार्न । एकचोटि त मलाई हाँस्यो पनि उठ्यो । श्रेष्ठ कहलिएको, मान्छेको साइत पनि कहीँ जबो बिरालाले बिगार्न सक्छ त ? मेरो विचारमा साँच्चै भनौँ भने ती महिलालाई साइत के हो भन्ने नै थाहा थिएन । थाहा नभएरै त उनी साइतको प्रतीक्षामा थिइन् ।
मेरो बुझाइमा साइत पात्रोमा होइन आफ्नै मनभित्र हुन्छ । आफ्नै विश्वास र निर्भीकतामा हुन्छ, सङ्कल्पमा त्यस्तै दृढतामा हुन्छ । आफूलाई आफ्नै कामप्रति विश्वास छैन भने साइतले कुनै अर्थ राख्दैन । आत्मविश्वासको प्रचुरतामा साइत आफैँ जुर्ने छ, तब किन चाहियो घडीपलाको हिसाब ? आफूमाथि विजयी हुन सक्नु, त्यही हो सबैभन्दा ठूलो साइत । जतिखेर जस्तै प्रतिकूलता (कुसाइत) किन नआओस् उसले लक्ष्य भेट्टाउन सक्नेछ ।
ती महिलाप्रति म अहिले एकदम कृतज्ञ छु । जसको कारण म केही लेखिरहेको छु । उनीसँग त्यो भेट हुँदैनथ्यो भने मैले यति कुरा लेखिरहेको हुने थिइनँ ।
यतिखेर म एउटा अनुभूतिको क्षणमा छु । साधारण दृश्यमा पनि कति ठूलो पाठ हुने रहेछ । घटना सानै किन नहोस्, त्यसको अर्थमा कहीँ न कहीँ मानव सभ्यताको इतिहास भेटिने रहेछ । बस् त्यसलाई बुझ्न सक्नुपर्छ । नबुझ्दा फेरि त्यसमा केही भेटिने छैन । अनि त जगत् जति नै व्यापक र विस्तृत भए पनि त्यसले कुनै अर्थ राख्दैन । अर्थ त त्यतिखेर राख्ने छ जस बखत त्यसको व्यापकतालाई बोध गर्न सकिएको होस् । हामी जति बोधको चरणमा पुग्छौँ त्यति नै त्यसको विशालताले प्रभाव पार्ने छ । त्यो विशालता थाहा नहुँदा हामी आफैँ सीमित हुन पुग्ने छौँ । वास्तवमा भन्ने हो भने हाम्रो बुझाइमै; यस संसारको परिधि निर्भर रहेको छ; त्यस्तै यस संसारको आश्चर्य पनि । त्यस्तै रहस्य पनि … !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
६ मंसिर २०८२, शनिबार 









