साहित्यका अन्य विधा जस्तो सजिलो छैन आत्मकथन लेख्न, जति लेखिन्छ त्यो आँटको विषय हो । कुनै संरचनात्मक विधान जान्नु नजान्नुको सरोकार यसमा रहँदैन । जति सरोकार रहन्छ वास्तविकताको सान्निध्यमा पुग्नु । आफूलाई ढाकछोप नपारी सार्वजनिक गर्नु नै यसको शक्ति हो ।

महिलाहरूको लागि हाम्रो समाजमा आत्मकथा ज्यादै कठिन विषय हुन्छ । नारीका कति यथार्थहरू घर परिवार तथा समाजलाई स्वीकार्य हुँदैनन् । जब अस्वीकार्य कुरा हटाइन्छ त्यो आत्मवृत्तान्त हुन सक्दैन । त्यसो त एक स्रष्टाको आन्तरिकता ऊ बाहेक अरू कसलाई नै थाहा हुन्छ ? उसको जीवनको साक्षी ऊ बाहेक अर्को हुन सक्दैन । उसले आफूलाई जसरी देखाउँछ त्यसैलाई विश्वास गर्नु पर्ने हुन्छ ।

तर पनि आत्मवृत्तान्त यथार्थको निकट छ छैन केही हदसम्म खुट्याउन सकिन्छ । उसले भोगेका राम्रा नराम्रा, सुख दु:ख, हर्ष बिस्मात, संयोग वियोग, सफलता विफलता सहज स्वाभाविक ढङ्गले प्रस्तुत गरिएको छ भने त्यसलाई पत्याउन सकिन्छ । किनकि जीवन भनेकै त्यही हो । अनियोजित तरिकाले आउने उज्याला र अँध्याराहरू । चाहेर नचाहेर घटित घटनाहरू ।

जब जीवनका अनुकूलता र सकारात्मकता मात्रै प्रस्तुत गरिएको छ भने त्यो आत्मवृत्तान्त हुन सक्दैन । केवल आत्मश्लाघा हुने छ । अँध्याराहरू, प्रतिकूलता र नकरात्मकता विहीन जीवन सम्भवै छैन । किनकि यो प्राकृतिक नियम हो ।

रातले किमार्थ रातको प्रतीक्षा गरेको हुँदैन । त्यस्तै दिवाले दिवाको प्रतीक्षा चाहेर पनि हुन सक्दैन । दिन ढलेरै जान्छ । रात आएरै छोड्छ । जीवन पनि के त्यस्तै होइन ?
साहित्यकार रुकु कार्कीको ‘बन्धनबाट मुक्ति’ आत्मवृत्तान्तको शक्ति र सीमा खुट्याउन मैले यति कुरा गरेकी हुँ । आत्मकथनमाथि कति विश्वास गर्ने कति नगर्ने यकिन नभए पनि पुस्तक पढ्दा पाठक मनोविज्ञानले यथार्थ हो होइन त्यो केही हदसम्म थाहा पाउँछ । जब प्रस्तुतिमा कृत्रिमता आउँछ स्रष्टाले आफूलाई छल्दैछ भन्ने पनि थाहा हुन्छ । जीवन्त भोगाइमा धाराप्रवाह शैली स्वतस्र्फूत: निर्मित हुन्छ । बनाउनु पर्दैन । त्यो आफैँ बन्छ । उच्चभावावेगमा त्यो प्रकटित हुन चाहन्छ । रोकेर छेकेर अड्कलेर त्यो अड्कलिँदैन । त्यतिखेर स्रष्टा खहरेको भेल जस्तो हुन्छ । उचित अनुचितको उसले वास्ता गर्न समेत भ्याएको हुँदैन । जे पाउँछ त्यही बगाइदिन्छ । वास्तवमा असली आत्मवृत्तान्त त्यही हो ।

‘बन्धनबाट मुक्ति’ मलाई त्यस्तै एउटा खहरेको भेल लाग्छ । नारीले आफूलाई एउटा स्वतन्त्र द्रष्टा भएर नलुकाई, नछिपाई उद्गारित हुनु उनको ठूलो हिक्मत हो, महानता हो । आत्मकथन भनेपछि बनावटी त हुनु भएन नै । तर पनि उच्चता, नीचता, हीनता सम्पूर्ण रूपले प्रस्तुत नहुन पनि सक्थ्यो । साहित्यकार रुकुले आत्मकथनप्रति त्यो अन्याय गरेकी छैनन् । मनका विरह वेदना, राग अनुराग, जैविक जीवनका असन्तुष्टिहरू, त्यसले पारेको मानसिक आघात, रुमानी भाव र चाहनालाई समेत उनले शिष्ट र शालीन अभिव्यक्ति दिएकी छन् । गरिबी र अभावले उत्पन्न मनोदशाभन्दा पनि आसक्तिले उद्वेलित मन अशान्त छ ।

आधा शताब्दी लामो जीवनले भोगेको यथार्थिकतालाई उनले तटस्थ भएर हेरेकी छन् । स्रष्टा, द्रष्टा र स्रोत उनी आफैँ बनेकी छन् ।

आधा उमेर बाँचिसकेकी अझ अलिकति बढी हिउँद खाएकी, बसन्त भोगेकी, शिशिर र तुषारोले कठ्याङ्ग्रिएकी सर्जक रुकुको जीवन तत्कालीन समय र समाजको एउटा प्रतिविम्ब हो, प्रतिध्वनि हो । सम्पूर्ण नारीहरूको प्रतिनिधि चरित्र हो । पितृसत्ताबाट प्रताडित उनीहरूको करुण क्रन्दन हो । विद्रोही स्वर पनि । भोगाइ लेखकको भए पनि वास्तविकता सम्पूर्ण नारी जगत्को हो । हजार हन्डर खाए पनि उनी हारेकी छैनन् ।

बहु विधाकी स्रष्टा रुकुको कलम कथा, कविता, निबन्ध, नियात्रा, संस्मरणमा सक्रिय देखिन्छ । बाल साहित्यमा पनि उनी जागरुक छिन् । उनी गीतकार पनि हुन् । उनका दर्जनभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । प्रकाशोन्मुख पनि छन् ।

अमेरिका, अस्ट्रिया, दक्षिण कोरिया, सिङ्गापुर, याइल्यान्डलगायतका देश दर्शन गरिसकेकी सर्जक रुकुको साहित्यिक संलग्नता पनि उतिकै जाग्रत देखिन्छ । त्यो साहित्यिक छवि अनेक मानसम्मान, पुरस्कार र कदरपत्रले शोभित छ ।

साझाबाट २०७३ सालमा प्रकाशित ‘बन्धनबाट मुक्ति’ नारी सङ्घर्षको कथा हो । पितृसत्ताबाट शोषित महिला उन्मुक्तिको कथा हो । विद्रोह र विवशताको संगम हो । स्रष्टा रुकुको संवेद्य जीवन पढेपछि भन्न मन लाग्छ—अहिलेका नारीहरू त्यसै विद्रोही भएका होइनन् । उन्मुक्तिको आकाङ्क्षामा त्यसै चरम स्वतन्त्रताको भोग चाहेका होइनन् । नारीवादी आन्दोलन त्यसै जन्मिएको होइन । उग्र नारीस्वर उसै चर्किएको होइन ।

पराकाष्ठामा हरेक युगको अन्त्य निश्चित छ । त्यस्तै पितृसत्तात्मक निरङ्कुशताको बिसौनीमा बल्ल नारीहरू निर्बन्ध हुने छन् ।

अनिता पन्थी

उनन्चालिस वटा आलेखको सङ्कलित रूप—‘बन्धनबाट मुक्ति’मा केही रचनाहरू स्वजनका स्मृतिमा रचिएका छन् । कति शोक सन्तप्त परिस्थितिका छन् । चाडपर्व र उत्सवका छन् । रमाइला बालस्मृतिहरू छन् । प्रसव वेदनाका क्षणहरू छन् । आमा, सानिमा, ठूलीआमाका विरह, वेदना र त्यस्तै दिदी बहिनीका करुण क्रन्दन छन् । पुरुष साम्राज्यको कठोर संस्कार छ । समाजका कुरीति, असङ्गतीहरू छन् । प्राय: लेखककै सङ्घर्षका कथा छन् । विरही मन छट्पटिएको छ । सन्तान सुख र उनीहरूको स्तरोन्नतिका कुरा छन् । व्यापारबाट प्राप्त सफलता र उपलब्धिहरू छन् । ती घटनाहरू सिलसिलाबद्ध छन् । विशेषत: लेखककै जीवनसँग जोडिएका अनेक जीवनहरू छन् । प्राकृति सुन्दरताले भरिएको ग्रामीण परिवेश रमाइलो छ ।

धादिङको गजुरीमा जन्मिएकी स्रष्टा रुकु मध्यम परिवारकी छोरी हुन् । उनको बाल्यकाल त्यहीँ बित्छ । किशोरवयमा उनको थर साटिन्छ कार्की परिवारमा, बसाइँ सारिन्छ मकवानपुरको मनोहरी गाउँमा । त्यही सेरोफेरोमा उनको यौवन सोसिएको छ । महŒवपूर्ण समय सङ्घर्षमा व्यतीत भएको छ ।

समयको एक कालखण्ड, परिवेश, घटनाको शुरु मध्य र अन्त्य, संयोग वियोग, अनेक चरित्र अनि सुख दु:खको निरन्तर गतिमा ‘बन्धनबाट मुक्ति’लाई मैले जीवनीपरक आख्यानका दृष्टिले पढेँ । घटनालाई अगाडि बढाइरहने कुतुहलताले अन्त्य नपुग्दासम्म छोड्दैन । तर एउटा कुरा आख्यानमा जुन कल्पना तŒव हुन्छ त्यो यसमा छैन । बरु लेखकको जीवन भोगाइ नै बढो काल्पनिक लाग्छ ।

गजुरीको परिवेशमा हुर्किएको बाल्यकाल रमाइलो छ । अभावमा, कठिनाइमा पनि रमाउने उमेरका अनुभूतिहरू सायद सबैका उस्तै हुन्छन् होला, परिवेश र समय फरक भए पनि ।

एउटा सिङ्गो जीवनले देखेको रङ्ग–रङ्गहीन, रस–रसहीन भोगाइमा अनेक बाधा छन्, व्यवधान छन् । चुनौती छन् । त्यसबाट प्राप्त उपलब्धि छन् । ज्यादा दुरूह भोगाइ छ । किशोरावस्थादेखि या भनौँ वैवाहिक जीवनदेखि सुरु हुँदै जान्छन् अनेक कष्टहरू । विशेषत: नारी विद्वेषी संस्कारले, समाजले, परिवारले, गरिबी र अभावले, अशिक्षाले उत्पन्न गरेका अप्ठ्याराहरू छन् । त्यसको मारमा परेका महिलाहरू निमेष निमेषमा मृत्युदण्ड भोगेर फेरि ब्यूँतिन्छन् फेरि दण्ड भोग्छन् छिनछिनमै । बरु मृत्युसँग साक्षात्कार सहज हुन्थ्यो होला ।

दुरूह सङ्घर्षले किनारा लगाएको स्रष्टाको पछिल्लो जीवन सुखी छ, खुशी छ, शान्त छ । बल्ल वरपीपलको एउटा चौतारीमा सुस्ताउन पाएको छ ।

उनका कति अनुभूतिहरू निमेष निमेषमा हृदय नै फाटिने छन् । अनायास आँखा ओसिन्छन् । चरम पीडा, हैरानीमा अन्य विषय ओझेल परेका छन् । पुरुष सत्ताबाट शोषित, पीडित महिलाहरूको दिनचर्या करुण क्रन्दनले भरिएको छ । बाँच्नको लागि गर्नु पर्ने सङ्घर्ष भन्दा पनि पुरुषबाट प्रताडित जीवन कष्टकर छ । डामिएर झिल्सिएको छ ।
‘बन्धनबाट मुक्ति’—यो एउटा लेखकको मात्र सत्य होइन । समग्र नारीस्वर हो । पितृसत्तात्मक समाजका परपीडक पुरुषहरूको अभद्रता हो । लेखकका पृष्ठभूमिमा रहेका सबै पुरुषहरू अभद्र भने छैनन् । तर महिला मैत्री हुन सकेका होइनन् । त्यस्तै यो परित्यक्ता महिलाहरूको रोदन पनि हो ।

गाई बाख्रा चराउँदै गाउँको प्राथमिक स्कूलबाट साहित्यकार रुकुको अध्ययन शुरु हुन्छ । निम्न माध्यमिक तहको पढाइ त्यहाँ थिएन । एक दुई वर्ष त्यसै फाल्टु बसेपछि अध्ययनको लागि उनी काठमाडौँ जन्छिन् । उतै बसेर पठनमा लागेका दाजुहरूले बोलाउँछन् । उच्चशिक्षा हासिल गर्न पाए केही गर्न सक्छु भन्ने उनको एउटा दृढता थियो ।
गजुरीमा हाईस्कूल स्थापना भएपछि उनी पुन: गाउँ फर्किन्छिन् । त्यहाँबाट एस.एल.सी. उत्र्तीण गर्ने प्रथम छात्रा थिइन् उनी । कलेज पढ्ने वाञ्छा भने अपूर्ण रहन्छ । घरमै बसेर आई.कम.को तयारी गर्छिन् ।

घरमा बिहेको कुरा चल्न थालेको धेरै भयो । त्यस्तैमा एक दिन उनको बिहे हुन्छ । परीको कथा जस्तै लाग्छ त्यो विवाह लग्न । गोठालामा अचानक कोही मानिस आएका छन् केटी हेर्न ।

मकवानपुर घर भएका एक भद्र पुरुष । कन्याको ढुक्कढाक्की गरेपछि केही कुरा नमिल्दा अर्की कन्याको खोजीमा, रुकुको घर पुग्छन् ।

एउटी चेलीको इच्छालाई सुन्ने धैर्य त्यहाँ कसैले राख्दैन । उनको अनिच्छालाई कसैले सुन्न चाहँदैन । पढेर माथि पुग्ने लेखकको इच्छा त्यसै क्षण विलीन हुन्छ ।

आफन्त, नाता कुटुम्ब बेगरका केटा त्यही गाउँबाट अन्मिन्छन् बाजा गाजा सहित । उनी एउटा किंवदन्तीका राजकुमार झैँ लाग्छ । उत्सवका साथ दुई दिने विवाह सम्पन्न गरी ट्रकमा दुलही घर लिएर जान्छन् ।

रुकुलाई लागेको थियो, अधूरा सपनाहरू अब पूर्ण हुने छन, “विवाहपछि त धेरै कुरा हुनेछन् । शिक्षादीक्षा, मायाममता पाएर अर्कै संसार हुनेछ भन्ठान्दै म आफ्नै धुनमा हराइरहेकी थिएँ । … जीवनमा पहिलो पटक ट्रकयात्रामा रहेकी म जीवनकै पहिलो अनुभूति, जन्मघरबाट अन्मिएर दुलाहाका साथमा थिएँ (पृ–७५)।”

घरमा छोरोले अकस्मात बुहारी ल्याएकोमा आश्चर्यचकित थिए । पूर्व सन्ध्या, सन्ध्या हुँदै मधुरात्रि ओर्लिँदै थियो । त्यसैको प्रतीक्षामा दुलही सम्मोहित थिइन् । परिस्थिति त्यसको विपरीत थियो । नवबधूलाई घरमा एक्लै छोडेर दुलहा लोथर जान्छन् जहाँ उनको एउटा पसल छ, “श्रीमानले छोडेर गएपछि नरमाइलो लाग्यो । विवाहको पहिलो दिन, नयाँ ठाउँ, मलाई पनि पतिसँगै जान मन थियो तर त्यो मनको कल्पना मात्र भयो (पृ–७७)।”

बल्ल उनको वास्तविक जीवन आरम्भ हुँदै थियो ।

लेखकको बिहेपछिको जीवन सोचेजस्तो थोरै पनि थिएन । पाँच दशक अघिको समय फर्केर हेर्दा आज विश्वास गर्न पनि मुश्किल पर्छ । जातीय, वर्गीय उत्पीडन र पितृसत्ताले निरीह बन्दै गएको समाज, उता सामन्ती व्यवस्थाले साधारण जीवन थलिएको थियो । त्यस समयले महिलालाई सम्मानित दृष्टिले किञ्चित हेर्न जानेन । दोस्रो दर्जाको नागरिक अझ होइन दासीलाई जस्तो व्यवहार गर्थे । विवाहलाई एउटा भरथेग गर्ने, सन्तान जन्माउने नारी बेसाउनु जतिको ठान्थे, ‘पतिपत्नीको मर्यादा, आदरभाव र प्रणयबन्धनभन्दा पनि पितृसत्तात्मक परम्पराको कसिलो बन्धन फेला पथ्र्यो ।’

छिट्टै आइहाल्छु भनेर बाहिरिएका पति नर्फिएपछि षोडशी नवविवाहिताको अवस्था कस्तो भयो होला ? कति उदासियो ? कति उद्वेलित भयो ? व्याकुल भयो ? एक रात पनि सँगै नबसी हिँडेका पतिसँग अब भेट नहुने पो हो कि ? एउटा आख्यान पढ्नु जतिकै पाठक उत्सुक भइरहन्छ । घटनाले कुन रूप लिने हो ?

पति आज फर्केलान् पनि छैन भोलि फर्केलान पनि छैन । महिना बित्यो अर्को पनि बित्यो । अकेला मन त्यसै मुर्झाउन थाल्छ । रुमानी लय र अनुरागी हृदय भड्किरहन्छ । सुखमय दाम्पत्य जीवन बिताउने कल्पनामा डुबेको विरहिणी मन बोल्छ, “रातको स्तब्धता पनि वहाँकै सपना देखेर बित्यो । विपनामा पाउन नसकेको कुरामा सपनाले साथ दिँदो रहेछ सायद” त्यो मनोदशा कति करुण छ, “हे भगवान् सपनामा मात्र वहाँको दर्शन मिल्ने हो भने जीवनमा सधैँ सपना होस् विपना कहिल्यै नहोस् (पृ—८८)।”

एउटी नवविवाहित बुहारीको मनोकाङ्क्षा नबुझ्ने घर परिवारमा बुहार्तन शुरु भई सकेको छ । मानौँ महिला रोबोट हुन्, संवेदनाहीन, संवेगहीन । उसलाई जसरी उपभोग गरे पनि हुन्छ । आमाले, हजुरआमाले भोगेको नियति अब रुकुले भोग्दै थिइन् । माइली काकीको उस्तै नियति छ । दिदी बहिनीको पनि त्यस्तै । दु:खको राँको, विरहको ज्वाला सबैको उस्तै छ । अनायास आँखा डबडबाउँछ । कस्तो जीवन भोगेर गए अझ पहिलेकाले—मन उदास हुन्छ । त्यो आत्माले अझै शान्ति पाएको छैन होला ? कतै तिनै आत्मा आजका हामी त होइनौँ ? मैले प्रश्न गरेँ आफूलाई ।

नारीलाई कति निरीह असहाय बनाइएको थियो । पुरुषको आड नलागी उभिनै नसक्ने । आखिर उनीहरूका आफ्नै गोडा थिए नि, प्रकृतिले दिएकै थिइन्, समाजले भाँचिदियो । पौराणिक कालदेखिकै निरङ्कुशता हो, यो । वेद पुराणमा हाम्रा ती नारीहरूले जति अवसाद भोग्नु परेको छ त्यो पुरुषकै लालची आँखा र आशक्तिको दुश्चक्र थियो ।

मलाई लेखकका श्रीमानप्रति नै क्रोध उत्पन्न हुन्छ । घरमा ‘साथीसँग घुम्न जान्छु’ भनी निस्किएका मान्छे । बाहिर बाहिरै कत्रो प्रयासले बिहे गर्छन् । फेरि एकै रात पनि फुर्सद नहुने रे ! नौलो ठाउँ, ठूलो गृहस्थीमा उनलाई एक्लै छोडेर कसरी हिँड्न सकेका ? कति निष्ठुरी हुन सकेका ? बिहे गर्नु भनेको एक माल खरिद गर्नु र आफ्नो स्वामित्व राख्नु जस्तै हो ? जीवनमा अनेक विवशता हुन्छन् नै । तर के विवश छु भन्दैमा परिस्थितिलाई अलिकति पनि संयोज गर्न सकिँदैन ?

बुहार्तन पनि अचम्मकै थियो । त्यस्तो त दासदासीले पनि भोगेका हुन्थेनन् निश्चय । दुसाध्य परिस्थितिसँग भिडी घर रिझाएर खानु भालुको कन्चट थियो । अनिदा रात कति बितेर जान्छन् । सासू ससुराको कठोर नीति पालन गर्नै असमर्थ खालका हुन्छन् । थोरै केही मन परेन भने घरबाट निस्केर जा भन्न बेर लगाउँदैनन् । जब कठिन क्षण आउँछ अनि लेखक अरूणा थापा भएर गुन्गुनाउँछिन्,

चोट केहो व्यथा केहो
मजस्तो घाइतेलाई नसोध
मिलन केहो खुसी केहो
मसँग कहिल्यै सोध्यै नसोध (पृ–८९) ।

माइती र घर दुवै खानदानी परिवारकी छेरोचेली रुकु, पढे लेखेकी शिक्षित महिलाको स्थिति त दारुण छ भने अरूको झन् कस्तो होला ? एक समयका सुवेदार ससुरा बा निकै कडा मिजासका छन् । घरमा भण्डारी थरको एक कामदार पनि राखिएको छ । एक पेट खान लगाउनमै जीवन सार्थक देख्ने भण्डारी सामन्तबाट शोषित एक प्रतिनिधि चरित्र हो । जातीय, वर्गीय र लिङ्गीय विभेदले आक्रान्त समाजको चित्रण गरिएको ‘बन्धबाट मुक्ति’मा तत्कालीन समय फेरि ब्यूँतिन्छ ।

लेखक स्वयंले जातीय विभेद भोग्नु परेको थियो । क्षेत्रीय कुलकी आमा र उनका सन्ताबाट जन्मिएका छोरा छोरीले आफ्नै घरमा चुलो चौका भातभान्छा गर्न पाउँदैन्थे । लेखककी आमा त्यसकारण अपहेलित थिइन् । उपेक्षित थिइन् । कान्छी आमा ब्राह्मण कुलकी हुँदा सासू, ससुरा, लोग्नेकी प्रिय थिइन् । घरभित्रैको त्यो जातीय विभाजन रेखा डर लाग्दो थियो, “मपट्टिका दाजुहरूको ब्रतबन्ध गरेको भए पनि जाति भेदकै कारण हामी चुलोभन्दा तल मझेरीमा बसेर खानु पथ्र्यो । जानी नजानी कसैले चुलो छोइदिएमा भान्छा उठाइन्थ्यो, कोही खाँदैनथे (पृ–११)।”

लेखकका बाबु, काका, माइलाबा सबै सबैले दुई तीन घरबार गरेका थिए, अझ यसो भनौँ न बहु विवाह नगरेका पुरुष जाति दुर्लभ थिए । जति धेरै बिहे गर्न सक्यो त्यति मर्द कहलिन्थे । सानी बालिकालाई पनि प्रौढ पुरुषले श्रीमती बनाउँथ्यो किंवदन्तीमा जस्तै । स्रष्टाकी आफ्नै बहिनी मदनले त्यही भोग्नु पर्‍यो । दुई सौतामाथि उनको बिहे हुन्छ । त्यसपछि उनले भोग्नु परेको प्रताडना, क्रुरताको के वर्णन गर्नु, “पितृसत्तात्मक अन्धपरम्परामा बाँचेको समाजमा कलङ्क बेहोर्न कुनै अपराध गर्नु पर्दैन । गल्ती नभए पनि हो जस्तै पारिदिन्छन् (पृ–३४)।”

महिलामाथिको त्यो अन्याय, अत्याचार, शोषण देख्दा सृष्टिमा क्रूर, पाषाण कोही छन् भने ती पुरुष नै थिए भन्न पर्ने बाध्यात्मक परिस्थिति छ कृतिभित्र ।
मध्यरातको नीरवतामा ब्यूँझँदा आफ्नी आमा रोइरहेकी देखेर लेखकको बालमन खिन्न हुन्छ, उदासिन्छ । त्यो पनि अपहेलनाकै आँसु थियो । नारी उत्पीडनका यति क्रूर कथा अघिका दिनमा मैले पढेकी थिइनँ, सुनेकी पनि थिइनँ, त्यो अवर्णनीय हिंसा र दमन ।

गरिबी, अशिक्षा, सामन्ती संस्कारले थिलथिलिएको समाज अरू जर्जर बन्दै थियो । समय नीरव अन्धकारले व्याप्त थियो । अझै पनि लेखकको श्रीमान घर फर्किएका थिएनन् । बिहे गरेर आएदेखि उनी माइत जान पाएकी पनि होइनन् ।

त्यो समय नै मलाई एउटा अपराधी जस्तो लाग्छ । छोरीलाई विवाह गरेर पराई घरमा पठाउनु नै प्रमुख दायित्व देख्ने पितृसत्ता । अरूको हातमा सुम्पेपछि चेलीलाई के भयो कसो भयो भन्नु त छँदैछैन । मृत्युदण्ड सदृश उत्पीडन भोगे पनि ‘घर गरेर खानुपर्छ’ भन्ने कति निर्दयी परम्परा ।

परिस्थिति विवश थियो । माइतीलाई केही दोष थिएन । तर छोरी (रुकु)ले पाएको कष्ट र विरही मनोद्गार जति पढ्दै जान्छु त्यति माइतीप्रति म क्षुब्ध हुन्छु ।

जसलाई आफ्नो ठानेर आएको छ, उही नभएपछि माया मोह नबसेको त्यो घर गृहस्थीमा लेखकले गरेको असाध्य परिश्रम मलाई एउटा खेतालाको जस्तो लाग्छ । तैपनि प्रिय समयको पर्खाइमा उनी थिइन् । तीन महीनापछि बल्ल लोथरबाट श्रीमान गुँड सम्झिएर फिर्ती हुन्छन् ।

रुकुलाई अभाव र अशान्ति त छँदै थियो । पीडा र वेदना पर्याप्त थिए । दु:ख र कष्टको थाप्लै कुच्चिने बोझ थियो । त्यो भन्दा पनि ठूलो मर्का पढाइ छुटेकोमा थियो । दूर्बोध्य परिस्थितिले अनुरागमा रमाउन त दिएकै होइन । विवाह जीवनको साह्रै महŒवपूर्ण क्षण हो उनी भन्छिन्, तर म वैवाहिक जीवनपछि त्यति खुसी हुन सकिनँ ।

साहित्यकार रुकुको मन बडो विवेकशील छ । अथाह वेदनामा समेत उनले कसैलाई दुत्कारेकी छैनन् । व्यक्ति होइन संस्कार नै दोषी हो उनी भन्छिन् । दर्द र ताडनाले अधैर्य हुँदा उनी आक्रोशित छैनन् । बरु सुन्दर समयको प्रतीक्षामा व्यवधानसँग जुझिरहन्छिन् । पुरुष विद्वेषी भावना पनि उनको मनमा आउँदैन । आरोप प्रत्यारोप उनी जान्दिनन् । आफूले भोग्नु परेको कष्ट पुरुषको अहित व्यवहाले मात्र थिएन । महिलाकै कारणले पनि त्यसो हुने गथ्र्यो, यसरी परिस्थितिको सही मूल्याङ्कन गर्ने उनी समद्रष्टा हुन् ।

उच्चभावावेगमा असल दुर्जन केही नभनी जस्तो भोगिएको छ उनी त्यस्तै रूपमा प्रस्तुत भएकी छन् । उनीसँग सम्बद्ध घर परिवार, आफन्त तथा निकट व्यक्तिलाई हितैषी वा विद्वेषी दृष्टिले नहेरी जुन दिन उनलाई जस्तो लागेको थियो त्यस्तै प्रकटित भएकी छन् । ती व्यक्तिसँग राग र द्वेषका दृष्टिले होइन । बरु उसले घटाएको घटना र संवादले उद्वेलित मनका भावना अबोध बालकको जस्तो लाग्छ । व्यक्तिसँग उनलाई केही शत्रुता छैन । बस् उसको अभिव्यक्ति र व्यवहारसँग आपत्ति गर्छिन् । फेरि उसको असल व्यवहार र सद्भावको खुलेर प्रशंसा पनि गर्छिन् । उनको त्यो स्वभाव मलाई बडो विचित्रको लाग्छ । उनमा एउटा सम्यक् दृष्टि छ । मानिस एउटै कुरा लिएर जीवनभर शत्रुताको दृष्टिले हेर्छ । उसको असल कुरालाई पनि विरोध गर्छ ।

एउटी महिला जन्मिँदै आफ्नो अस्तित्वमा आएकी हुन्छे । तर हाम्रो व्यवस्थाले उसको अस्तित्व पुरुषसँग जोडेर किन कमजोर बनाउँछ ? किन निराश्रयी या आश्रित दृष्टिले कज्याउँछ ? पुरुष भने अव्यावहारिक, अभद्र, नामर्द नै किन नहोस् ऊ घर परिवार तथा समाजमा सर्व शक्तिको हुन्छ । समाजिक बन्धन र दाइजो प्रथामा लेखकले यस विषयलाई उठाएकी छन्, दाइजो प्रथा महिलालाई अदना बनाउने एउटा समाजिक परम्परा हो ।

नारीलाई जगत्जननीको उच्च स्थानमा राखिँदै आएको छ, फेरि तिनै नारीहरू अपहेलित छन् तिरस्कृत छन् । मैत्रीपूर्ण घरपरिवार बुहारीको लागि अझै हुन सकेको छैन । सुत्केरी अवस्थामा समेत गैरजिम्मेवार परिवार कति अविवेकी ? श्रीमान साथमा छैनन् । गुन्द्रुक र ढिँडो खाएर सुत्केरी उम्केको बताएकी लेखक भन्छिन्, चिसो छिँडीमा गुन्द्रीमाथि बोरा ओच्छ्याएर सुत्नु पथ्र्यो । नाबालक शिशुको अवस्था कस्तो भयो होला ? त्यस अवस्थामा कमजोर स्थिति बुझ्नु त कहाँ ? गधाले जसरी जोतिन धेरै सकियो भने मात्रै शील स्वभावकी बुहारी भइन्थ्यो, “शारीरिक रूपमा जब म एकदमै कमजोर हुन्थेँ मलाई सहयोगको खाँचो हुन्थ्यो तर त्यही बेला घरका सदस्यहरू मप्रति दुव्र्यवहार गर्थे ।”

जीवनका अप्ठ्यारासँग उनलाई केही गुनासो थिएन जति थियो,“मैले सुविधा यश आराम केही खोजेकी थिइनँ, प्रणयबन्धनमा सन्तोषले बाँच्ने आधार खोजेकी थिएँ (पृ–११९)।”
कहालिलाग्दो भोगाइहरू अब त सकियो होला भन्ठान्छु । झन् थपिँदै जान्छ । म त निसासिन थालेँ । उनलाई आफ्ना पतिसित सँगै बसेको, हाँसेको पनि घरकालाई मन पर्थेन । पतिपत्नीलाई टाढै राख्न चाहन्थे । जति तिरस्कार र आक्षेप सहे पनि इमान्दारीपूर्वक घरका मान्यजनको सेवा गर्नु फेरि बुहारीको कर्तव्य थियो ।

पुरुष त निरङ्कुश भए भए, सासूआमा पनि किन निरङ्कुश भएकी होलिन् ? उनले किन नबुझेको एक समय म पनि बुहारी थिएँ भनेर । बुहारीले के कति दाइजो ल्याए उनी अझै कुरा गर्दैछिन् । बरु ससुरा बा अलिक जाति हुन् कि ? शायद आफूले भोगेको बुहार्तनको क्षतिपूर्ति बुहारीबाट लिँदै हुन्छन् सासूआमाहरू ।

स्रष्टा रुकुको भाषामा राम्रो पकड छ । शब्द खेलाउन कुशल छिन् । परिष्कृत, परिमार्जित शिल्प प्रस्तुति हितकर छ । पढ्दा आनन्द आउने खालको—शरदको स्निग्ध जलराशी जस्तै । उनको कवि हृदय फेरि बेला बेलै छचल्किन्छ । कतिखेर आफ्ना भावलाई गद्यले टिप्न असमर्थ हुँदा कवितामा, गीतमा व्यक्तिन्छिन्,

पूर्वी बादल फाटिसक्यो लौ लाग्दैन जून
एकान्तमा विरहीको दु:ख लौन सुन
जीवनमा आँसुभित्र लहराउँछ तन
न्याउलीभन्दा बढ्ता रुन्छ बुहारीको मन (पृ–१३१) ।

अवसादले भरिएको विषाक्त अवस्थितिमा लेखक यदाकदा मृत्युको कामना गर्छिन् । दुई वर्षमा माइत गएकी छोरी । आफूले चाहेको जीवन नहुँदा, दिन रात अविश्राम खटिँदा समेत चैनले बाँच्न नपाउँदा, आफैँलाई धिक्कारेकी उनी केही समय माइतै बस्छु भन्छिन् । तर माइतीको इज्जत र प्रतिष्ठा जोगाउन उनी जन्मघर बस्नु हुँदैन रे ! छोरीले जीवनमा धेरै व्यवधानसँग जुध्नु पर्छ रे !

अब त उनी आजित भएकी छन् । आफूभित्रको उत्कण्ठा र मानसिक आघात आँसुले धुने गरेकी छन् । बालसखाहरू उनको पारिवारिक सम्पन्नता र प्रतिष्ठाको प्रशंसा गर्छन् । उनी भाग्यमानी रे ! साथीहरूले उनलाई जसरी हेरेका थिए वास्तवमा त्यसो थिएन । आफैँप्रति अवाक् भएकी उनलाई सुखी र समृद्ध भएको देख्ने साथीहरूको अवस्था झन् कस्तो थियो होला ?

त्यस समय नारीहरूको करुणा बिसाउने ठाउँ नै थिएन । साथीसङ्गीहरूलाई सुनाऊँ त उनीहरू आफैँ दु:साध्य मारमा हुन्थे । माइतीलाई सुनायो भने उल्टै ‘घर गरेर खानुपर्छ’ भन्थे । कर्मघर बुहारीमैत्री हुन्थेन । ‘बाँच्नको लागि आस्था अड्याउने ठाउँ चाहिँदो रहेछ’ विरक्तिको भावमा उनी भन्छिन् ‘तर ठाउँ थिएन ।’

चरम हिंसा र परतन्त्रतामा आफू बाँचेकी छु छैन भनेर विश्वास गर्न पनि उनले सकेकी थिइनन् । बिरामीले थलिँदा समेत उनलाई टिठ्याउने कोही थिएन । त्यस घडी बुहार्तन कम्ती भएको पनि होइन । कसरी भनूँ म बाँचेँ ? मा उस्तै निर्मोही छ स्थिति, “एकाकीपनले अनायासै छट्पटाउँदै छाती समाएर भुइँमा लडेँ र बिस्तारै घिस्रेर बामेसर्दै टुकी बालेँ । जुनकीरीजस्तो सानो पिल्पिले टुकीको प्रकाशले कोठा त उज्यालियो तर मनको अन्धकार हटाउन सकेन (पृ–१६४)। ”

घरपरिवासँग सर्जक रुकुको ठूलो आकाङ्क्षा थिएन । पतिसँग खुलेर रम्न पाऊँ, यौवनका इच्छाहरू साट्न पाऊँ । त्यही नपाएर उनी भड्किएकी थिइन् विचलित थिइन् । पतिको हार्दिक साथ पाए जस्तै जँघार पनि उनलाई तर्न सक्छु भन्ने थियो ।

जीवनमा दु:खको कहिल्यै अन्त्य छैन । एकपछि अर्को आइरहन्छ । तर साहित्यकार रुकुका दिन भने अलिक र्फिन थाले । छोराहरू स्कूल जाने भए । परिवारका सदस्य पनि अब त केही उदार भएका छन् । उनको लगनशीलता, दृढता, धैर्य र साहसको अगाडि नतमस्तक भएका छन् । त्यो शालीनता र सहनशीलताको प्रशंसा समेत गर्न थालेका छन् ।

त्यसपछिको समय आत्मनिर्भरताको लागि उनी पशुपालन, व्यापार व्यवसायमा लाग्छिन् । डोको, थुन्से, कुचो, नाम्लो आफैँ खरिदेर बिक्री गर्दा केही मुनाफा हुन थाल्छ । आँटी, परिश्रमी उनी इमान्दार छिन् ।

विक्षिप्त स्थितिबाट अब लेखक तङ्ग्रिन थालेकी छन् । सबै पक्षबाट त्यो जीवन बौरिएर अर्कै भयो । बाटो सजिलो त थिएन नै, मार्गका अवरोधहरू पन्छाउँदै अघि बढिन् । मानिसका ढोकाहरू जति धेरै बन्द हुन्छन् ऊ त्यति नै उन्मुक्तिको खोजीमा असम्भव चेष्टा गर्न थाल्ने छ । हो त्यतिबेला उसलाई एउटा अचम्मको शक्ति प्राप्त हुने छ । अनि त्यसैले उसलाई कहीँ पुर्‍याएरै छोड्छ । रुकुको जीवनमा पनि त्यही लागू भएको छ ।

उत्साह थपिँदै जान्छ । व्यापारमा सफलता मिल्दै गएपछि साधारणबाट ठूला व्यापारी कहलिन्छन् रुकुका दम्पती । होलसेल पसल, कपडा पसल चलाउँदै जाँदा मालबाहक ट्रकका मालिक बन्छन् । छोराहरू अध्ययनको लागि देश विदेश जान्छन् । बाबु आमा काठमाडौंमा बसाइँ सर्छन् ।

यसरी एउटा अनौठो जीवन भोगेकी स्रष्टालाई आज सम्मानित साहित्यकारको रूपमा पढ्न पाउँदा हर्ष लाग्छ । त्यो जीवन सबैका लागि प्रेरणप्रद छ । पुस्तकको अन्तिममा पुग्दा मैले शान्तिको एउटा लामो उच्छवास् छोडेँ ।

अन्त्यमा प्रौढ रुखको वेदना र जीवन के रहेछ ? जस्ता दुई वैचारिक निबन्ध रहेका छन् । जीवन जगत्बाट प्राप्त अनुभूतिमा अप्रत्यक्ष मृत्यु चिन्तन लुकेको छ । वास्तवमा मानिस सन्तुष्ट हुन जान्दैन । केही न केही असन्तुष्टि भइरहन्छ । आआफ्ना अनुभवले अथ्र्याएका जीवनका परिभाषा पनि अलग अलग हुँदा रहेछन् ।

अवसादका दिनमा ऊ सम्पन्नतामै खुसी देख्ने गर्छ । त्यसैमा शान्ति मिल्छ भन्ठान्छ । तब समृद्धि मिल्छ झन् अतृप्ति थपिन्छ । बल बैँसमा आफूलाई होस राख्न समय पुग्दैन । बुढ्यौली लागेपछि गुमेको यौवनलाई सम्झिएर चुकचुकाउँछ । उसका इच्छा आकाङ्क्षामा उमेर नै बाधक बनिदिन्छ । आगामी दिनहरू के होला कसो होला भनी ऊ रन्थनिन्छ । मानव जातिकै यो एउटा मनोविज्ञान हो ।

भाग्यमा लेखकलाई विश्वास गर्न मन अलिकति पनि लाग्दैन । बरु कर्मले नै भाग्य निर्माण गर्नुपर्छ भन्ने उनी एक कर्मवादी स्रष्टा हुन् ।

शुरुका दिनमा उनलाई जीवन बन्धनै बन्धनले जेलिएको छ भन्ने लाग्थ्यो । जब चुनौतीका कठोर पहरा फार्दै अघि बढेपछि उनको परिभाषा बदलिन्छ—जीवन बन्धन मात्र होइन उन्मुक्ति पनि हो ।

विशेष: पितृसत्तात्मक समाजबाट आफू मुक्त भएको अर्थ उनले दिन खोजेकी हुन् । जुन दिन उनी निरङ्कुशताबाट उम्किन सकिन्, त्यसै प्रहरदेखि उनका पाइला अग्रसर भएका थिए । आज उनी सम्पूर्ण किसिमले बन्धन मुक्त भएकी छन् ।

नारी सङ्घर्ष र नारी विद्रोही स्वर नै ‘बन्धनबाट मुक्ति’को एकीकृत रूप हो । हिँडिरहेपछि निश्चय एक दिन गन्तव्यमा पुगिन्छ, पुस्तकले आशावादी हुन प्रेरित गरेको छ । बेला बेला त्यो आशा तुहिन खोज्थ्यो, लेखकको नहार्ने स्वभावले त्यसो हुँदैन ।

साहित्यकार रुकुको जीवनी पढ्दा उनीप्रति एउटा सद्भाव उत्पन्न हुन्छ । त्यही दुरूह परिस्थितिले आज उनलाई यहाँ ल्याइपुर्‍याएको छ । उनका ती कठिन भोगाइ हुन्थेनन् भने ‘बन्धनबाट मुक्ति’ जन्मिने पनि थिएन । साहित्यकार उनी नहुन पनि सक्थिन् । किनकि उनलाई त्यही दु:खमा लेख्ने बानी परेको थियो अर्थात् उनलाई त्यही दु:खले केही लेख्न लगायो । त्यही सिलसिलाले लेख्ने आदत बसायो ।

उनी एउटा महान् नारी लाग्छ । धन्य हो, त्यस अवस्थाबाट उठेर नेपाली वाङ्मयमा उनले दिएको योगदान सदा स्मरणीय रहोस्, यही कामना गर्न चाहन्छु ।

पुस्तक आफैँमा प्रभावक छ । उत्प्रेरित गर्ने खालको छ । यति हुँदा हुँदै पनि केही भन्न बाँकी छ— हरेक दिन फरक छन्, तर दैनिकी कहिलेकाहीँ दोहोरिन्छन् । हरेक घटना भिन्न छन् तर त्यसबाट उत्पन्न मनोदशा बेलाबेला एउटै भइदिन्छ, त्यतिखेर कतै उही कुरा आवृत्ति भएको त होइन जस्तो एउटा आभास हुन्छ । तर हार्दिक पक्ष प्रबल हुँदा पाठकलाई निरस अनुभूति हुँदैन । तीव्र भावावेगमा त्यो आभास छोपिएको छ । त्यस्तै कहीँकतै स्रष्टा अलिक बढी भावुक भएको अनुभूति हुन्छ ।