हामी भारतवर्षमा आउँदा विज्ञानको त्यस्तो महान् गङ्गाको दर्शन पाउँछौँ, जुन चाहिँ त्यहाँ नित्य बगिरहन्छिन् किनकि भारतवर्षले सम्पूर्ण विश्वभरि नै आफ्नो बौद्धिक ज्ञान र प्रगतिका अभिलेखलाई बौद्धकालभन्दा पनि पहिलेदेखि नै संसारभरि वितरण गरिरहेको छ । त्यही कालमा नै यसले साङ्ख्य दर्शन र आणविक सिद्धान्तको निर्माण गरेको थियो । – प्रोफेसर काकुजो ओकाकुरा
यी माथिका हरफ जापानी दार्शनिक, कलाविद्, क्युरेटर तथा लेखकका अभिव्यक्ति हुन् । उनले हाम्रै पुर्खाका सन्दर्भमा यी कुरा बोल्दैछन् ।
एकान्तमा बसेर फेरि पल्टाउँदैछु पूर्वजको यश, कीर्ति र गौरवलाई । विरलै मात्र यस्ता ग्रन्थहरू हुन्छन्, जुन फेरि फेरि पढिन्छन्, जीवनभर उपयोगी हुन्छन् । अविस्मरणीय हुन्छन् । केही वर्ष अघि जेहोस् म सम्पूर्ण रूपले अपरिपक्व थिएँ, अहिलेको तुलनामा । त्यसो त हरेक क्षण मानिस अरिपक्व नै हुन्छ, अपूर्ण हुन्छ । आज गरिएको कर्म भोलि एकदमै अपरिष्कृत लाग्छ । जे होस् त्यतिबेला पढेकी थिएँ– “पूर्वीय सभ्यता” । विषयवस्तु उही भएर पनि त्यसले पार्ने प्रभाव उही नहुँदो रहेछ । त्यस निमेष र अहिलेमा मैले धेरै अन्तर पाएँ । यतिखेर म जति अभिभूत छु त्यस घडी भएकी थिइनँ । धन्य हो ! फेरि पल्टिए यी पृष्ठहरू । समयप्रति म ज्यादा आभारी छु । किनकि समयले नै पुनः अह्राएको थियो, यस कृतिको अध्ययनमा डुब्न । त्यसभन्दा पनि ज्यादा सलील ज्ञवाली र डा. गोविन्दराज भट्टराईप्रति म आभारी छु, कृतज्ञ छु । वहाँहरूको स्तुत्य कर्मले नै आज “पूर्वीय सभ्यता” को त्यो उद्दीप्त ज्योति देख्न पाएँ । म शब्दातीत छु । त्यसो त म मात्र होइन स्वयं समय र जगत् नै विस्मयाकुल छ ।
उत्तरपूर्वी भारतको शिलाङमा जन्मिनु भएका सलील ज्ञवाली हामी यताको लागि एउटा नौलो नाम लाग्न सक्छ । यद्यपि हामी एउटै वंशका अंशियारा हौँ । पूर्वीय ज्ञानले प्रदीप्त ज्ञवाली त्यसको गहिराइ खोज्दै, भारतवर्षको गौरवमय इतिहासको वहाँले उत्खनन् गर्नु भएको छ । प्राचीन गौरवको जगेर्ना गर्नु भएको छ । हामी सबै उनै जननीका सन्तान हौँ तर सच्चा सुपुत्र चाहिँ ज्ञवाली नै हुन् भनौँजस्तो भइरहेको छ, यतिखेर । मातृदेवो भवः, अतिथिदेवो भवः, पितृदेवो भवःको पाठ त हामीले पढी आएकै हो । यद्यपि व्यवहारमा त्यसलाई रत्तीभर लागू गरेका रहेनछौँ । आज हामी आफ्नी जन्मदातृलाई भुलेर अरूकी, पराईकी आमालाई सभ्य र प्रतिष्ठित ठानी उनैको वाह वाहीमा लागेका छौँ । यस दुःखद स्थितिमा ज्ञवालीले आफ्नी आमाको दिव्य परिचयलाई उद्भासित गराउन— एसियाली, युरोपेली, पश्चिमेली तथा विश्वप्रसिद्ध विचारक, दार्शनिक, वैज्ञानिक, सर्जक, कलाप्रेमी विद्वान विदुषीले भारतवर्ष तथा पूर्वजका यश कीर्ति र कर्मका सम्बन्धमा, विभिन्न समयमा उल्लेख गरेका अभिव्यक्तिलाई दशकौँ वर्षको खोज अनुसन्धान गरेर बडो यत्नका साथ सङ्गृहीत गर्नु भएको छ– “ग्रेट माइन्ड्स अन् इण्डिया” । यसको नेपाली अनुवाद चाहिँ डा.गोविन्दराज भट्टराईले गर्नु भएको छ । “पूर्वीय सभ्यता” यसैको अर्को नाम हो । यसलाई वहाँले “मेरो जीवनकै सर्वाधिक मूल्यवान् कर्म” भन्नु भएको छ । यही अभिव्यक्ति पर्याप्त छ प्रस्तुत ग्रन्थको महत्त्व कति रहेछ भन्ने बोध गर्न ।

अनिता पन्थी
मैले फेरि पनि विद्वान् द्वयलाई नमन गरेँ । आज वहाँहरूकै अमूल्य कर्मले आफ्नी माताप्रति मैले गौरव बोध गर्न सकेँ । पुर्खाको अवर्णित कार्यव्यापारलाई पहिचान गर्न पाएँ । उज्यालो छविलाई उद्बोध गर्न समर्थ भएँ । धन्य हो ! हामी भारतवर्षमा जन्मिन पाएछौँ—असम्भव प्राप्तिसँगै निस्किने लामो उच्छवास लिएर म फेरि पुस्तकमा घोप्टिन थाल्छु । त्यसै क्षण एकचोटि आफैँलाई धिक्कारेँ । यस पवित्रभूमिमा बास पाएर पनि, किन हामी आफैँलाई हीन देख्छौँ ? लघुताभासले शिर झुकाउँछौँ ? जुन प्रश्नले मन उदास हुन्छ । उता पश्चिमाहरू भारतवर्षलाई सम्भिँदा मात्रै पनि गौरवान्वित हुन्छन् । ग्रीसका राजा किङ पौलकी पत्नी अझ भनौँ एडभान्स फिजिक्सकी अनुसन्धाता क्विन फे्रड्रिका एक ठाउँमा भन्छिन्, “हे भारतवर्षका मित्रहरू, यस्तो ज्ञान प्राप्त गर्ने तपाईँहरू भाग्याशाली हुनुहुन्छ । तपाईँहरूदेखि मलाई ईर्ष्या लाग्छ । ग्रीस मेरो जन्मभूमि हो भने भारतवर्ष मेरो आत्माको देश हो (पृ–१२२)।”
“पूर्वीय सभ्यता” पढेपछि मैले एक्कैचोटि उज्यालो र अँध्यारोको अनुभूत गर्न पुगेँ— कस्तो आश्चर्य लाग्ने कुरा । यस पुस्तकका अद्भुत वाणीहरूले आज आफैँप्रतिको दृष्टिकोण बदलिएको छ । सङ्कीर्ण चेत अचानक विस्तार भएको आभास हुन्छ । लाग्यो, अब हामी सुस्ताएर हुँदैन । विद्यमान पश्चिमाको, सभ्यताभन्दा कैँयन् गुणा हामी अग्रपङ्क्तिमा रहेछौँ उस समयमै । त्यही सभ्यतामा सिँढी लगाएर अस्तित्व कायम गर्दै अब जानु पर्छ । पुर्खाको छविलाई रक्षा गर्दै त्यो पाइला पछ्याउन सक्नु पर्छ । आफ्नी मातालाई अरूले चिनाएर होइन आफैँ चिन्न समर्थ हुनुपर्छ । महान् अग्रजका नाम बिकाएर होइन कर्मले आफैँ बिक्न सक्नु पर्छ । त्यसो त हामीले कहाँ चिन्न सक्यौँ र हाम्रा अग्रजहरूलाई ? गर्व गर्न त हामीले सकेकै होइन, नाम कसरी बिकाउनु ? आफूसँग भएको माल नै के हो हामीलाई थाहा छैन । हातको फिलिङ्गो सदृश त्यसलाई हुत्याएर हलुङ्गो हुन चाहन्छौँ । अझ भनौँ कौडीमा मिल्काएर रिक्त हुन चाहन्छौँ । हाम्रो यति ठूलो इतिहास हुँदाहुँदै आज हामी अतीत बेगरका बाउन्ने भएका छौँ । यो दुःखको कुरा हो । उता पश्चिामाहरू यहीँको दीपमा उज्यालो सल्काएर हजारौँ लाखौँ माइलको यात्रा सम्पन्न गरिसकेका छन् । त्यो बोध नभएका हामी उतैको महिमा गाएर विपथगामी अझ गतिहीन भएका छौँ । स्वर्ण कचौराको मूल्य बोध नभएका हामी, चौबाटोमा ढुकेर बसेका छौँ कसैको कृपापूर्ण दृष्टि परिहाल्छ कि भनेर । “पूर्वीय सभ्यता” पढेपछि एकचोटि सबैले यही अनुभूत गर्ने छन्, जस्तो मैले गरेँ । त्यसै निमेष मैले प्रतिज्ञा गरेँ, हाम्रो गुमेको इज्जत र प्रतिष्ठा पुनः कायम गर्दै जानु पर्छ, सबैले प्रतिज्ञा गरौँ एक दिन त्यो निश्चय पूरा हुनेछ ।
शदीयौँदेखि हामीले भन्दै आयौँ, पूर्वमा केही छैन । के छ यहाँ ? बस् एउटा थोत्रो संस्कार छ । त्यो पनि समय अनुसार चल्न नजान्ने । उता पश्चिामाले कत्रो फड्को मारिसक्यो । आइन्स्टाइन उतै जन्मिए । पाइथोगोरस उहीँका हुन् । हामीलाई अझै थाहा छैन । जसलाई हामीले ठूलो देख्यौँ तिनीहरू यहीँको दीपमा प्रज्वलित भएका थिए, लामो मार्ग तय गर्न हाम्रै अग्रजबाट उनीहरू दीक्षित भएका थिए । जगत्ले पुजेका हाम्रा पाणिनि, कालिदास, व्यास, पतञ्जलि, बाल्मीकिसँगै कैँयन् पितामहबाट उनीहरूले जे सिके त्यसैले उनीहरूलाई शिखर पुर्यायो । दिव्य दृष्टि र ज्ञानले सम्पन्न ऋषिमनीषी, महाभारतकालीन उच्च सभ्यता, एटम वमभन्दा पनि शक्तिशाली ब्रह्मास्त्र, पाशुपतास्त्र, आग्नेयास्त्र, पर्जन्यास्त्रजस्ता शस्त्रास्त्रहरू, आकाशमा उड्ने पुष्मविमान, रावणजस्तो वैज्ञानिक सबै सबैलाई हामीले भुल्यौँ । भुल्यौ मात्र होइन हाम्रो चेतनले त्यसलाई मिथकदेखि अर्को दृष्टिले हेर्न सकेन । त्यसो त यो हाम्रो भूल होइन । अज्ञानता हो । पूर्वीय ज्ञान भण्डार देखेर उताका अवाक् छन् । जुन कुरा उनीहरूले कल्पनासम्म गर्न सकेका थिएनन् । आश्चर्यमा छन् । वशीभूत छन्, आकृष्ट छन् । सम्मोहित छन् । त्यो ज्ञानातीत, अनुभवातीत, कालातीत सौर्य समान सभ्यताले उनीहरूका आँखा तिरमिराएका छन् । यता हामीलाई त्यसो किन हुँदैन त ? किनकि हामी दृष्टिविहीन छौँ । हजारौँ सौर्य प्रकाशले पनि हामीलाई कुनै असर गर्ने छैन, अर्थात् हुनु नहुनुको भेद हामीसँग केही छैन । महान् जर्मन प्राच्यविद् तथा हाइडेल्वर्ग विश्वविद्यालयका संस्कृत प्राध्यापक डा. हेन्रिख जिमरले पनि त्यसै भनेका छैनन्, “हामी पश्चिमेलीहरू एउटा त्यही चौबाटोमा पुग्न लागेका छौँ, जुन स्थानमा भारतीय चिन्तकहरू जेजस क्राइस्ट आउनुभन्दा पनि झण्डै ७०० वर्ष अघि पुगिसकेका थिए । त्यही वास्तविक कारणले गर्दा हामी व्याकुल र उद्विग्न हुन्छौँ, साथै उत्तेजित पनि; पौरस्त्य ज्ञान र विद्वत्ताको अवधारणा र विम्बसमक्ष भेट हुँदा हाम्रो मन अशान्त हुन्छ साथै हामी उत्सुक पनि हुन्छौँ (पृ–१०४)।”
अर्को ठाउँमा क्वान्टमको अनिश्चितता सिद्धान्तका प्रणेता वर्नर हाइजेन्बर्ग भन्छन्— क्वान्टम फिजिक्समा (Quantum Physics) मलाई उन्मादी वा असङ्गत लागेका केही कुरा भारतीय दर्शनका विषयमा छलफल तथा वार्ता गरिसकेपश्चात् अर्थपूर्ण लाग्नथाले ।
समयभन्दा निकै अघि हाम्रो सभ्यता र समृद्धि उत्कर्षमा पुगिसकेको कुरा वेद, पुराण, रामायण, महाभारत, उपनिषद, भगवद्गीतालगायत ग्रन्थबाट विश्वले चाल पाएर भन्यो, जुन समय उता सभ्यताको आरम्भ पनि भएको थिएन । जर्मन दार्शनिक जोहान गटफ्रिड हर्डरले भनेका छन्, “मानव जातिको उत्पत्तिको आद्यरूप खोज्दै जाँदा भारतवर्षमा पुगिन्छ, जहाँ मानव मस्तिष्कले सर्वप्रथम विद्वत्ता र सदाचारको आकार पत्ता लगायो । ती गुणहरू सरलताले र शक्तिले उदात्तता सम्पन्न थिए, जसका तुलनामा कुनै कुरा हामी युरोपेलीहरूका, यो चिसो दार्शनिक जगत्का कसैका मनमा आउँदैनन् (पृ–४४)।”
भारतवर्ष समस्त ज्ञानको उद्गम स्थल भएको त्यो समवेत स्वरले म छिनछिनमा दुःखी भइरहेँ, किनकि हामीले आफ्नै प्रतिष्ठाको अवमूल्यन गर्यौँ । हाम्रा विभूतिहरूले छोडेर गएको अभेद्य, अखण्डित ज्ञानसागरको विश्वले वन्दना गर्दैछ । उदेक लाग्दो कुरा त के भने, हामी त्यसैलाई अपहेलाना गरेर व्यर्थको देख्दै छौँ । पश्चिमाले हाम्रै आँगनबाट धेरै थोक सिके, त्यसैको पृष्ठभूमिमा वैज्ञानिक भए, आविष्कारक भए, दाशर्निक तथा विचारक भए । कलाप्रेमी र विशिष्ट साहित्यकार त्यसैले पोषित भए । हिसाब सिके, व्याकरण पढे । यस सन्दर्भमा फ्रान्सका प्रसिद्ध लेखक तथा साहित्यकार फ्राँस्वा भोल्तेअरका अभिव्यक्ति औचित्यपूर्ण लाग्छ । उनी भन्छन्, “म विश्वस्त छु—हाम्रा सबै कुरा गङ्गाजीको तटबाटै प्राप्त भएका छन्—खगोलशास्त्र, ज्योषितशास्त्र, आध्यात्मिकविद्या सबैसबै । यो विशेष उल्लेख्य कुरा छ—पच्चिससय वर्षअघि ग्रिसको सोमस टापुका पाइथागोरस ज्यामिति सिक्नका लागि गङ्गाजीसम्म पुगेका थिए । आर्य ब्राह्मणहरूका विज्ञानको यश धेरै अघि युरोपमा स्थापित भइनसकेको भए उनले कदापि त्यो लामो यात्राको कष्ट उठाउने थिएनन् होला (पृ–४१)।”
पाश्चात्य भूमिमा आज जेजस्तो उपलब्धि भएको छ त्योभन्दा धेरै धेरै उपलब्धि पौरस्त्य भूमिमा पहिल्यै भइसकेको थियो । विद्यमान विश्वमा भौतिक आविष्कार जुन तरिकाले उत्कर्षमा पुगेको छ त्यो त भारतवर्षकै ज्ञान र विज्ञानको परिष्कृत रूप मात्रै हो, उनीहरू यही भन्छन् । जुन कुरा हामीलाई अझै पनि अनौठो लाग्दैछ । कहाँको पश्चिमा जगत् कहाँको भारतवर्ष ? यही त हाम्रो विडम्वना हो । श्रीखण्डलाई खुर्पाको बिँड देखेपछिको नियति यस्तै हुने गर्छ । सभ्यताको उद्गम भूमि किन आज आफ्नै सन्ततिबाट उपेक्षित हुँदैछ ? हिगेलले भारतवर्षलाई स्वप्नभूमि भनेका थिए । तर हामीले दिवाभूमि पनि बनाउन सकेनौँ । अतीतको गौरवगाथा हामीलाई मिथक लाग्दैछ । मिथक नै भनेका छौँ । त्यसैले त मूल्यबोध गर्न सकेका छैनौँ, पुर्खाको । युरोपेलीहरूको उच्चतम दर्शन समेत वेदान्तको तुलनामा एउटा निस्तेज फिलिङ्गोजस्तो मात्र देखिन्छ, स्लेगल मुक्त कण्ठले भन्छन् ।
हिगेलले भारतवर्षलाई स्वप्नभूमि भनेजस्तै मैले “पूर्वीय सभ्यता” लाई स्वप्न उपहारको रूपमा लिएँ । प्रस्तुत ग्रन्थ प्रत्येकको हात हातमा पुगोस् । यही शुभेच्छा छ । थोरै भए पनि त्यो हृदय बलोस्, आफ्नो अतीतको गाथामा श्रद्धाले शिर झुकोस् । अलिकति भए पनि पूर्वजको सम्झनामा प्रतिष्ठा बोध होस् । यसले आफ्नै अतीतको गौरवशाली आँगनमा पुर्याउने छ । अन्धताले भरिएका हामीले एक्कैचोटि अरू ठूलो अपेक्षा राख्नु हुँदैन । अहिलेलाई यति नै पर्याप्त छ । लाग्दैछ हामी कस्तुरी रहेछौँ, आफैँसँगको सुवास थाहा नपाएर अनन्त भड्किरहने जडपथ रोज्दैछौँ । पूजनीय विगतलाई आत्मसात् गर्न, सन्देहबाट दूर हुन अब जरुरी छ । तब मात्र हामीलाई यो आर्य भूमिप्रति आस्था जाग्न थाल्छ । अनि हाम्रा ऋषि तपस्वीप्रति कृतज्ञ हुन सक्छौँ । तब वेद, पुराण, गीता, उपनिषदको ख्याति मनन गर्न समर्थ हुन्छौँ । “पूर्वीय सभ्यता” एउटा यस्तो मणि हो, जसले हामीलाई आफू हुनुको उद्बोध गराउँछ । आफू हुनुको अस्तित्व खोज्न लगाउँछ । हाम्रो गुमेको आदर पुनः कायम गर्न उत्साहित गराउँछ ।
समयको मागलाई परिपूर्ति गर्न “पूर्वीय सभ्यता” स्कूलदेखि विश्वविद्यालयसम्मका पाठ्यक्रममा अनिवार्य रूपमा राखिनु पर्ने बेला आएको छ । तर एउटा कुरा के भने अबको त्यो पढाइ वैज्ञानिक तरिकाको हुनुपर्छ, खोज अनुसन्धानमूलक । त्यसो नहुने हो भने हामीले यसभित्र केही पनि फेला पार्न सक्ने छैनौँ । श्लोक मात्र कण्ठ गर्ने पढाइ अब रोकिनुपर्छ । त्यस्तो शिक्षा नीतिले किमार्थ वैज्ञानिक जन्माउँदैन, आविष्कारक बनाउँदैन । जब हामी कार्मकाण्डमा सीमित भयौँ अनि सबै थोक ओझेल परे । त्यसभित्रको अनन्त ज्ञानपुञ्ज त्यही कर्मकाण्डीले खुइल्याइदियो । अनि गम्भीर अध्ययन नभएर खुम्चियो ।
वास्तवमा हामी कस्ता छौँ भने, हाम्रो परिचय पनि अरूले गराइदिनु पर्छ । तब मात्र हामीलाई आफूप्रति विश्वास लाग्छ— म फलानो हुँ । आमाको काखमा बसेर स्तनपान गरिरहेका छौँ तर हामीलाई थाहा छैन उनी कस्ती छिन् । उनको माया ममता वात्सल्यलाई समेत अरूले नै अर्थ्याइदिनु पर्छ । किनकि हामीमा स्वविवेक छैन । आफूलाई बिल्कुल देख्दैनौँ अरूलाई मात्र देख्ने विमार छ हामीसँग । त्यसैले त आफ्नो इतिहास भुल्दैछौँ, सभ्यता कुल्चँदैछौँ । भारतवर्षको यश कीर्ति फैलाउने अर्थात् निर्माता (पूर्वज) लाई हामीले चिनेनौँ, दूरतामा रहेकाहरूले कति लाभ उठाइसके । प्रसिद्धि आर्जन गरे हाम्रै दीपज्योतिले ओलिकित भए, जहाँ हामी भने अन्धाकारदेखि केही देख्दैनौँ ।
हाम्रा ऋषिहरू ज्ञान र विज्ञानमा मात्र सिमित थिएनन्—प्रेमका, करुणाका, सद्भावनाका, मावनताका पनि उद्गम थिए, प्रतिमूर्ति थिए । मृत्युको अवश्यम्भावितालाई प्रसन्न मनले स्वीकार्ने अद्भुत चेतना थियो । प्रकृतिको अबोध्य भाषा बुझ्ने अन्तर्ज्ञान समेत हाम्रा पुर्खाहरूसँग थियो । जति हामी पूर्वजको सभ्यताबाट टाढिँदै गएका छौँ त्यति क्लिष्ट र शुष्क भएका छौँ । आधुनिकताको नाउँमा आफ्नै सभ्यतालाई उपहास गर्दैछौँ । अझ सभ्य बनिनको लागि विरोध गर्दैछौँ । उदेक लाग्दो कुरा त के भने हामीले आधुनिक र सभ्य देखेकाहरू फेरि यताको ज्ञानले अभिभूत छन् । प्रसिद्ध बेलायती इतिहासकार डा. आर्नोल्ड जोसेफ टोइन्बी भन्छन्, “सर्वाधिक सङ्कटपूर्ण समयमा मुक्तिको उपाय भनेको भारर्तवर्षको प्राचीन सनातन मार्ग रहेको छ । … अब हामी भारत भूमितिर फर्किन्छौँ, जसको आध्यात्मिक उपहारले मानिसलाई मानव बनाउँछ … (पृ–१०२)।”
दुःखको कुरा अध्यात्मलाई हामी कर्मकाण्डसँग जोडेर हेर्ने गछौँ । धार्मिक दृष्टिलाई त्यसैको नजिक पुर्याउँछौँ । यद्यपि उनले भनेको अध्यात्म अर्कै हो—आत्मज्ञान । तत्त्वज्ञान । भित्री ज्ञान । विश्वकै दिव्यपुञ्ज मानिएको हाम्रो गौरवलाई, दिव्यज्ञानलाई त्यही औपचारिक कर्मकाण्डले निल्दै आएको छ ।
हाम्रा महर्षिहरूले त्यस्ता अद्भुत रहस्य सम्पूर्णतः अन्तर्ज्ञानबाट प्राप्त गरेका थिए । जुन भौतिक विज्ञान र प्रविधिभन्दा धेरै उचाइको छ । पश्चिमाले त्यो कुरा धेरैपछि बुझ्यो । हामीले त अहिले पनि बुझ्न सकेका छैनौँ । भूगर्भविद् आर्थर होल्म्स विस्मित हुँदै भन्छन्, “पृथ्वीको आयुको अनुमान गर्ने विषयमा वैज्ञानिक अभिलाषा हुनुभन्दा धेरै पहिले प्राचीनकालमा ऋषिमुनिहरूले संसारको इतिहास (क्रोनोलोजी) का धेरै विस्तृत प्रणालीहरूको प्रतिपादन गरिसकेका थिए (पृ–१०५)।”
यही कुरा एक अध्यात्मवादीले भनेको हुन्थ्यो भने हामी विश्वस्त हुन सक्ने थिएनौँ । किनकि अध्यात्मले पराभौतिक, अन्तर्बोधको कुरा गर्छ । त्यो उचाइमा पुग्न साधारण मानिसले सक्दैन । त्यसैले हामी त्यसमा विश्वास पनि गर्दैनौँ । तर यहाँ महान् वैज्ञानिक, चिन्तक, दार्शनिकले बोलेका कुरा हुनाले सन्देहदेखि हामी दूर छौँ । ती तथ्यपूर्ण छन् । अर्को ठाउँमा ज्याक सर्फाती भन्छन्, ब्रह्माण्डीय संज्ञान अर्थात् भारतवर्षको साङ्ख्य दर्शन नै सम्पूर्ण सृष्टिको आधार हो ।
“पूर्वीय सभ्यता” पढ्दै गर्दा मलाई एकदम रिँगटा छुट्यो । उफ ! विश्व नै घोप्टिएको छ, पूर्वको ज्ञान सम्पदामा । विज्ञानले अहिले जुन फड्को मारेको छ, यो कुनै नौलो कुरा होइन वैज्ञानिकहरू भन्छन् । आफूलाई उनीहरू सदा अपूर्ण नै देख्छन् । जुन भारतवर्षकै ज्ञान र विज्ञानको सिलसिलामा थोरै परिष्कार मात्र हो । अणु वमका पिता, अमेरिकी प्रमिथिअस, जुलिअस रोबर्ट ओपेन्हाइमरको अभिव्यक्तिले म आत्मविस्मृतिको स्थितिमा पुगेँ । उनी भन्दैछन्, “आधुनिक भौतिकशास्त्रमा हामीले जुन उपलब्धि हासिल गरेका छौँ, त्यो कुरा सबै प्राचीन हिन्दू विद्वत्ताको प्रतिपादन, समर्थन र परिष्करण मात्रै हो ।” अझै उनी रोकिएका छैनन् फेरि बोल्छन्, “भारतवर्षको महान् साहित्यिक निधि भगवद्गीताले हामीलाई प्रदान गरेको रहस्यपूर्ण अनुभूतिको चकित पार्ने वर्णनका सान्निध्यमा राख्ता पाश्चात्य सभ्यताको महान् वैज्ञानिक उपलब्धि पनि अत्यधिक भयप्रद लाग्छ (पृ–११२)।
यतिखेर म रनभुल्लमा परेकी छु । किंकर्तव्यविमूढ छु । जगत् प्रसिद्ध व्यक्तित्वका भनाइहरू जति पढ्दै जान्छु त्यति अवाक् हुन्छ । हाम्रा पूर्वजका कर्म कति अनुपम रहेछन्, जुन कुरा हामीलाई मूल्य नभएजस्तो लाग्छ । व्यर्थको भ्रम लाग्छ । अवैज्ञानिक लाग्छ । तर होइन रहेछ । उताका मानिसहरू भातरवर्षमा कसरी शरणागत भएका छन् । त्यो जान्नको लागि एकचोटि “पूर्वीय सभ्यता” पढ्नू होला । प्रत्येक अभिव्यक्तिहरू कोट गरूँजस्तो हुन्छ । अनि त म आत्तिन थालेँ । जुन कुरा हेरक व्यक्तिलाई सुनाउनु पर्छ भन्ने भयो । यसबारेमा केही लेख्नु पर्छ भन्ने पनि भयो । तर कसरी लेख्ने ? कति कुरा लेख्ने ? सारांशमा लेखेरै नसकिने लाग्यो । म अप्ठ्यारोमा परेँ । मेरो सिकारु कलमले पुर्खा र पुर्खाको अवर्णनीय, महानतम् कर्मलाई देखाउन खोज्दा झन् ओझेलमा पर्ने त होइन ? त्रास उत्पन्न भयो । पृष्ठहरू पल्टाउनको हतार पनि लाग्दैन, किनकि मैले त्यो एकसाथ ग्रहण गर्न सक्ने होइन । बरु लाइन दोहोर्याइ तेहेर्याइ पढ्न लागेँ । फेरि उसै गरी आत्तिन्छु, कसलाई सुनाउने होला यी महावाणीहरू ? पुर्खाको गौरवगान आफैँमा सीमित राख्नु हुँदैन । सडकमा गएर सबैले सुन्ने गरी चिच्याऊँजस्तो भयो । त्यसो गर्दा यो मन अलिक शान्त हुने सम्भावना थियो । त्यसरी कराउनु पनि भएन । म बलै थामिएँ । बिस्तारै यो कुरा देखाउँदै बुझाउँदै जानु पर्छ । हतार गर्नु हुँदैन । त्यसो गर्दा झन् बुझाउन सकिँदैन । त्यसैले कुनै हतार नगरी म लेख्दैछु । थाहा छैन, मैले जति उद्बोध गरेँ त्यति अरूलाई अभिप्रेरित गर्न सकुँला नसकुँला । त्यसो त मैल कति नै बुझेँ र ? बुझ्न बाँकी प्रशस्त छ । यद्यपि पूवर्जको प्रताप जति बुझ्न सकेँ त्यो मेरो लागि यथेष्ठ थियो ।
अर्का विद्वान डेनिस भौतिकशास्त्री निल्स बोर बोलेको सुनेँ, म आफ्ना जिज्ञासा प्रकट गर्नका निमित्त उपनिषद्मा प्रवेश गर्छु । उनी जिज्ञासा खोज्न यता प्रविष्ट हुन्छन् । उदेक लाग्दो कुरा, हाम्रो त कुनै जिज्ञासै छैन, अनि कहाँ प्रवेश गर्नु ? यसैबीचमा एउटा सत्य के हो भने, वास्तवमा हामीले यो विषद ज्ञानराशीको बेवास्ता किञ्चित गरेको होइन । पितामह ! के तपाईँलाई यो कुरा थाहा छ ? हामी त्यति कठोर छैनौँ, आफ्नै पुर्खालाई भुल्ने । तपार्ईँले त्यसरी भूल नसोच्नु होला । कुरा के भने, हामीलाई केही पनि आउँदैन । ठीक बेठीक पनि थाहा छैन । हामी चकमन्न अँध्यारोमा छौँ । हाम्रो अगाडि दृश्यमान केही छैन । यस्तो घनघोर अज्ञानतामा देख्नु नदेख्नुको केही अर्थ छैन । हामीले नदेखे पनि देख्नेले देखेका छन् । हो, उनीहरूकै दृष्टिलाई सहारा लिएर केही देख्ने प्रयास गरौँला । विलम्बै किन नहोस्, त्यही सही छ । माफ गर्नु होला हाम्रो दृष्टि विहीनतालाई ।
मानिसको स्वप्न सुख अर्थात् परमानन्दभन्दा परको सपना देखाउने, मानवको अन्तिम लक्ष्यमा पुर्याउने ज्ञान विज्ञान यहीँ हाम्रै भूमिमा छ, उनीहरूले भनेको सुन्दा मेरो शरीर ढक्क फुल्यो । अभिमानले भित्रभित्रै छाती फुकेको अनुभूत गरेँ । भारतवर्षमा जन्मिएकै कारण यो जन्म सार्थक भएको, विस्मित कस्तो कस्तो भाव पैदा भयो । जुन कुरालाई ठ्याक्कै शब्दमा बताउन त म जान्दिनँ । कति अनुभूतिहरू यस्ता जटिल हुन्छन् कि त्यसलाई अभिव्यक्ति दिने शब्द नै हुँदैन । त्यस्तो अनुभूति देखाउने होइन आफैँभित्र अन्तर्बोध गर्ने कुरा रहेछ । हो, अहिले मलाई त्यस्तै भएको छ ।
गुफामा ध्यानस्थ ती हाम्रा मुनिहरू एक दृष्टिले अत्यन्तै गतिहीन लाग्छन् । यद्यपि उनीहरूले त्यो अकल्पनीय रहस्य बताएर गए—अनित्यता अर्थात् सत्यहरू अनन्त हुन्छन् । जुन कुरा बोध गर्न पश्चिमालाई शताब्दियौँ लाग्यो । यता हामी भर्खर बुझ्दैछौँ । त्यो पनि सम्पूर्ण त होइन नै । जेहोस् काम चलाउ बुझेका छौँ । त्यो ओडारभित्र बसेर अणु परमाणु, खगोलशास्त्रीय तथा अनन्त ज्ञान विज्ञान कसरी प्राप्त भयो होला ? जुन आजको भौतिक प्रयोगशाला अझै पनि अर्थिसकेको छैन । अर्थिन अझै बाँकी छ । सम्झिँदा विस्मयकारी लाग्छ । अनि त म अर्को दृष्टिले सोच्न बाध्य हुन्छु—त्यो साधारण चोलाबाट सम्भव हुने कुरा होइन । लाग्छ, उनीहरू स्वयं ईश्वरीय वरदान थिए । त्यसैले त हाम्रो सामान्य जन्मले उनीहरूलाई चिन्न सकेन । चिन्ने एउटा प्रयास मात्रै हो । जसले चिन्यो त्यो पनि एउटा असामान्य चोलाको मानिस हुनुपर्छ । यसमा विद्युतीय तरङ्गको ऋणात्क र धनात्मकले काम गर्दैन । अद्भूत रहस्यको उद्बोध प्लस प्लस र माइनस माइनसको हिसाबले मात्रै सही हुन सक्छ । जस्तो कि ईश्वरीय वरदान प्राप्त मानिसलाई बुझ्न त्यस्तै मानिस चाहिन्छ । “पूर्वीय सभ्यता” का हरेक अभिव्यक्तिहरू तिनै अपूर्व जन्म पाएका मानिसहरूका महावाणी हुन् । त्यसै मध्येका बेलायती दाशर्निक तथा गणितज्ञ अल्फ्रेड नर्थ ह्वाइटहेड भन्छन्, “आजको सबैभन्दा महान् ज्ञानले पनि प्राचीन भारतवर्षका ऋषिहरूको बुद्धिलाई जित्न सक्तैन अनि अहिलेको सर्वाधिक उन्नत अवस्थामा देखिएको विज्ञान पनि वेदान्तको थोरै नजिक मात्र पुगको छ (पृ–७७)।”
म जति “पूर्वीय सभ्यता” भित्र अरू भित्र पस्दै गएँ– तब थोरै भए पनि यो जीवन सार्थक भएको महसुस गरेँ । सलील ज्ञवाली र गोविन्द सरप्रति म चिर ऋणी छु । आज मैले आफ्नै आँगनको झलझलाकारा ज्योति देख्न पाएँ । प्लेटो पाइथागोरसजस्ता व्यक्तित्व पनि यतैको अपूर्व दीपकले आदर्श पुरुष बन्न सकेका थिए । यदि आफूलाई सल्काउने त्यो दीप भारतवर्षबाट प्राप्त हुन्थेन भने उनीहरू लोकोत्तर हुने थिएनन् । सर विलियम जोन्सको यस्तो वाणी सुनेर म न हाँस्न सकेँ न त रुन नै । ग्लानिले शिथिल भएँ । दूर देशका मानिस यसरी प्रज्वलित हुँदा हामी आफ्नै घरको सदस्य कसरी छायामा पर्यौँ ? यस घडी आफ्नो सम्मानित इतिहासमा सुख बोध गर्नुभन्दा पनि दुःख बोधले थकित भएँ । हे अन्तर्ज्ञानकी जननी ! तिमीले किन यति धेरै अज्ञानी बनायौँ हामीलाई ? आफ्नै अग्रजलाई हेर्ने दृष्टि किन हर्यौ ? “पूर्वीय सभ्यता”को अन्तिम पृष्ठ पल्टाउँदासम्म बार बार मैले उनलाई यही प्रश्न गरेँ । कामना गरेँ थोरै भए पनि हामीलाई दृष्टि देऊ भनेर ।
यस पुनित कर्म (पूर्वीय सभ्यताको प्रकाशन) ले भारतवर्षको गुमेको प्रतिष्ठा पुनः स्थापित गर्नेछ, म विश्वस्त छु । ओझेलमा परेको विश्वकै सर्वोच्च सभ्यता पुनः आलोकित हुनेछ । सङ्कलकले एक ठाउँमा भन्नु भएको छ– मैले यो महान् भूमि अत्यन्तै उपेक्षित अवस्थामा रहेको अनुभव गरेँ, आफ्नै सन्ततिले आफ्नै मातालाई हेय ठानेर अवमूल्यन गरेको देखेँ । त्यस कारणले म आकृष्ट हुँदै गएँ, प्राचीन ऋषिमुनिहरूका दिव्यज्ञान र विज्ञानका सूत्रलाई उद्भाषित गराउन ।
ऋग्वेदेखि समस्त वैदिक साहित्य, पूर्वीय दर्शन, पुराण, ज्योतिष, व्याकरण, गणित, भूगर्भशास्त्र, आयुर्विज्ञान, रसायन विज्ञान, परमाणु सिद्धान्त, भौतिकशास्त्र, अध्यात्म विज्ञान, योगशास्त्र अर्थात् समग्रमा प्राचीन वाङ्मयका सम्बन्धमा वैज्ञानिक, दार्शनिक र विचारका दृष्टिमा जे जस्तो देखियो त्यही नै “पूर्वीय सभ्यता” हो । सृष्टिको होस् या जीवनको अन्तिम सत्यको बारेमा भनिएको कुराले म झन् बडी अभिभूत भएँ । अन्तिम सत्य भन्नु नै शब्दातीत हो । कहिल्यै नटुङ्गिने सत्यको बहसलाई मुनिहरूले उहिल्यै टुङ्ग्याइसकेका रहेछन् । गहन त्यो दिव्य दृष्टि विचित्रको लाग्छ । हे भारतवर्षका महामहिम ! हजुरहरूलाई नित्य प्रणाम छ ।
ती दिव्य द्रष्टासामु वर्तमान विश्व नै नतमस्तक छ । विज्ञान प्रविधिले समेत मापन गर्न नसकेको तथ्य मनीषीहरूले कसरी पत्ता लगाए होलान् ? जुन कुराले वैज्ञानिक पनि आश्चर्यमा छन् । जाँ–सिल्भाइन बेली यही आश्चर्यले अभिव्यक्त हुन्छन्, “चारहजार पाँचसय वर्षपूर्व हिन्दूहरूले गणना गरेर निकालेको तारागणहरूको गति आजसम्म क्यासिनी र मेयरले निकालेका आधुनिक तालिकाभन्दा एक पल पनि फरक परेको छैन (पृ–४३)।”
भारतवर्षको प्राचीन सभ्यताको अगाडि पश्चिमाहरू आफूलाई अत्यन्तै सानो देख्छन् । पूर्वको प्रदीप्त जगत्लाई देखेर विस्मित भएका पश्चिमेलीको वाणीले, पूर्वजप्रति म अरू बढी श्रद्धाले झुकेँ । अलौकिक शक्तिकै कारण ऋषि तपस्वीहरूले विलक्षणको ज्ञान प्राप्त गर्न सकेका थिए, फ्रेड्रिक भोन स्लेगलको भनाइ पनि ठीक यस्तै छ, “प्राचीन भारतीयहरूमा साँच्चो ईश्वरको ज्ञान थियो, त्यसैलाई उनीहरूले अति उच्च सुस्पष्ट र भव्य भाषामा प्रस्तुत गरे । पूर्वीय जगत्को प्रचुर प्रकाश र ओजस्विताले युक्त आर्दशवादसँग युरोपेलीहरूको अति भव्य दर्शन पनि अर्थात् ग्रिसेलीहरूले प्रस्तुत गरेको तर्क र विवेकयुक्त आदर्शीकरणसँग दाँजेर हेर्दा त्यो मध्याह्नको झलझलाकार सूर्यका अघिल्तिर एउटा निस्तेज बत्तीजस्तो मात्र देखिन्छ (पृ–५५)।”
अर्को ठाउँमा ऋषि वाक्यलाई मन्त्रकै रूपमा लिएका सोपेन्हावरले भनेका छन्, “समस्त विश्वमा उपनिषद बराबरको कल्याणकारी अनि यति उत्थापक कुनै अध्ययन वा ज्ञान कहीँ कतै छैन । यो मेरो जीवनको उपशमन (सान्त्वना) हो र यो मेरो मृत्युको पनि उपशमन हुनेछ । उपनिषदहरू उच्च ज्ञानका निष्पादन हुन् (पृ–५७)।”
प्रविधि सम्पन्न मुलुकका महामानवहरू पूर्वीय ज्ञानले नै आफूलाई सबथोक सिकायो, सबैथोक बनायो र त्यस उचाइमा पुग्न अझ नसकेको बताउछन् जुन स्थानमा उहिल्यै पूर्वीयहरू पुगेका थिए । वैज्ञानिकहरू जन्माउनुको देन आइन्स्टाइनले पूर्वलाई नै दिएका छन् । पूर्वीयप्रति हामी चिरऋणि छौँ उनी भन्छन्, ऋषि महर्षिहरूले नै हामीलाई गणित सिकाए, त्यसका अभावमा कुनै पनि सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सकिने थिएन ।
बीसौँ शताब्दीका अत्यन्तै सम्मानित अमेरिकी विद्वान, दार्शनिक टी.एस.एलिअटको अभिव्यक्तिले त झन् भारतीयहरूको अगाडि उनीहरू भर्खर हिँड्न थालेको बालकजस्तै लाग्छ । पूर्वीय दार्शनिकहरूको विलक्षणताका तुलनामा महान युरोपेली दार्शनिकहरू पनि आभ्यासिक विद्यार्थीजस्ता देखिन्छन् उनले त्यसै भनेका होइनन् । यसरी उनीहरू आफूलाई सिकारु भनिरहँदा यता हामी चाहिँ यस्तो मणिगर्भलाई केही होइन, केही छैन भनिरहेका छौँ । साँच्चै उनीहरू यसभूमिका हुँदा हुन् अझ कहाँ पुग्थे होलान् ? हामीहरूको लागि यो एउटा चुनौतीपूर्ण प्रश्न हो ।
हाम्रो गौरव, हाम्रो प्रतिष्ठा, हाम्रो पहिचान, हाम्रो इतिहास, … मर्यादाबारे सबैले बुझ्न सके, यो राम्रो कुरा हो । आत्मगौरवले मानिसलाई केही गर्ने प्रेरणा दिन्छ । हौसला मिल्छ । प्रतिष्ठित कर्ममा लाग्ने चेतना अनायास पैदा हुन थाल्छ । अहिले मलाई त्यस्तै भएको छ । यद्यपि केही गर्न नसकुँला त्यो अर्कै कुरा हो । सम्मानित इतिहासमा अर्को इतिहास हामीले रच्नु पर्छ, किनकि हामी देवपुत्रका सन्तान हौँ । जसो गर्न पनि हामी सक्ने छौँ । आफूले आफूलाई चिनौँ । आफूलाई चिनेकै कारण पुर्खाहरूले ईश्वरीय शक्ति प्राप्त गर्न सकेका थिए, दैविक ज्ञान पाएका थिए । हो त्यही दैविक ज्ञानलाई विश्वले जान्दैछ । जोन आर्किबोल्ड ह्विलरले पनि जान्दैछन्, “पूर्वीय विद्वानहरूले सबै कुरा जानेका रहेछन्, मनमा यस्तो पनि धारणा आउँछ—हामीले उनीहरूका उत्तरलाई आफ्नो भाषामा अनुवाद गर्न मात्रै सक्ने हो भने पनि सबै प्रश्नका (जिज्ञासा) उत्तर पाउने थियौँ होला (पृ–११९)।”
भारतवर्षमा रहेर केही कुरा सिक्न पाउनुलाई उनीहरूले भाग्यको खेल भनिरहेका समयमा, हामी चाहिँ त्यसरी हेर्न चाहँदैनौँ । यस भूमिमा जन्मनु नै बरु दुर्भाग्य मान्छौँ । “पूर्वीय सभ्यता” पढिसक्दा दुई विपरीत भावनाहरूले मेरो मनमा एकसाथ हुरी चलाउन थाले । भुमरी पर्यो, फुइँकी चल्यो । प्रसन्नता र उदासीनता मिश्रित एउटा यस्तो जटिल अनुभूति गर्न लागेँ । प्रसन्नता यस किसिमले कि, हाम्रो पूर्वीय सभ्यताका सामु आधुनिक विज्ञान र वैज्ञानिक पनि अपूर्ण नै रहेछन् । हाम्रा पिता, पितामह (महर्षि) को स्मरणमा विश्व वशीभूत छ । अलौकिक ज्ञान सागरले ती उज्यालिएका छन् । हामीलाई योभन्दा ठूलो हर्ष अरू के हुन सक्छ ? यति हुँदाहँदै पनि मेरो अर्को मन दुखी थियो, अँध्यारो थियो । मनीषीहरूका दिव्य ज्ञानले जगत् द्रवीभूत हुँदा यो मन प्रसन्न हुन सकेन । बरु चर्को विरक्तिले एकतमासको भयो । हामीले आफ्नै पुर्खालाई जानेनौँ, चिनेनौँ । जान्ने चेष्टा पनि गरेनौँ । उपहासको स्वरमा बरु नाक खुम्च्यायौँ । हेय भावले हेर्यौँ । आफ्ना माता पितालाई हेलाँ गरी अरूकै पछाडि दौडियौँ । संस्कार भुल्यौँ । संस्कृति परित्याग गर्यौँ । इतिहास बेगर, परिचयहीन भएर अस्तित्वका लागि लडाइँ गर्यौँ । सङ्घर्ष गरिरह्यौँ । कृपया ! एकचोटि आफैँलाई फर्किएर हरौँ त ! हामी कुन किसिमको विडम्बनाले सञ्चालित छौँ ?
श्रीमती मेरिया क्रिस्टिना बेजारको आलेख आफ्नै घरमा अपमानित टाढा टाढा सम्मानित पूर्वीय ज्ञान पढ्दा झन् बढी धिक्कार्न मन लाग्यो ऋषिमुनिका सन्ततिलाई । हाम्रो स्थानमा पश्चिमाहरू हुन्थे भने भारतवर्षको यो विपुल ज्ञानपुञ्जको कत्रो सम्मान हुन्थ्यो होला ? कति औचित्यपूर्ण हुन्थ्यो ? कहिल्यै ननिभ्ने यस्तो विचित्रको दीप सल्काइएको भूमि आज किन अन्धकारमय छ ? उनीहरू टाढै बसेर पनि यताको उज्यालोको सहारामा पर पुगिसकेका छन् । हामी चाहिँ घरको बत्ती निभाएर पराई घरको चिसो छिँडी हेरेर समय गुजार्दैछौँ । अब हामीले यो बुझ्न जरुरी छ— गुफामा, नदी किनारामा, ठूला ठूला अरण्य क्षेत्रमा योग साधना गरी दिव्य दृष्टि प्राप्त ऋषि मनीषी नै हाम्रा अनन्त सम्पदा हुन् । उनीहरूले आर्जिएको ज्ञान नै हाम्रो सम्पत्ति हो ।
“ग्रेट माइन्ड्स अन् इण्डिया” प्रकाशित भएपछि नासाका वैज्ञानिक प्रा.ए.भी.मुरली स्वयंले सलील ज्ञवालीलाई फोन गरेर बोलाएका छन् र भेटमा उनले भनेका कुरा पनि उतिकै महत्त्पूर्ण छन्— यो सङ्कलन विशिष्ट छ । मलाई यस्तो पनि सङ्कलन होला भन्ने कहिल्यै लागेको थिएन; हामी साराले यस सङ्ग्रहका अन्वेषकप्रति कृतज्ञ हुनुपर्छ । यी महान् उक्तिहरू ठूलाठूला फलेकमा आकर्षक अक्षरमा लेखी हाम्रा पार्लियामेन्ट भवनका भित्तामा, स्टेट एसेम्ली हलमा र सम्पूर्ण शैक्षिक अनुष्ठानमा टाङ्नु पर्दछ । त्योभन्दा महत्त्वपूर्ण कुरा ता यस सामग्रीलाई हाम्रा सम्पूर्ण विद्यालयका विद्यार्थीका निम्ति अनिवार्य पाठ्यसामग्री बनाउनु पर्दछ । यसमा अझ यी चिरस्थायी यशकीर्तिका धनी, विशिष्ट बौद्धिकबारे सामान्य ज्ञानमा पनि पाठहरू दिनु पर्दछ, (प्रा.ए.भी.मुरली, पीएच.डी. नासाका पूर्व वैज्ञानिक, ह्यूस्टन, टेक्सास) (पृ–१५) ।
आज आएर मलाई यस्तो लाग्दैछ— मृत्यु नै आए पनि अब कुनै भय छैन । “पूर्वीय सभ्यता” (पश्चिमाले चिनाइदिएका हाम्रा माता पिता) मार्फत आफ्ना पूर्वजका सम्बन्धमा जब केही थाहा पाएँ अनि त यो चोला नै सार्थक भएको अनुभूत गरेँ । अज्ञानमै रहेर यात्रा गर्नुभन्दा उज्योलोमा हिँडिएको छोटो गन्तव्य हजारौँ गुणा उपलब्धिपूर्ण हुनेछ । अज्ञानतामा बाँचिरहनु भन्दा ज्ञान प्राप्तिको, त्यसै पलको समाप्ति नै जीवनको सार्थकता हो । अब समाप्तिको क्षण आएछ भने पनि ममा गुनासो रहने छैन, … ।
पुनश्चः “ग्रेट माइण्डस् अन् इण्डिया” धेरै भाषामा अनुवाद भइसकेको छ—संस्कृत, उर्दू, अरबी, हिन्दी, बङ्गाली, पञ्जाबी, गुजराती, मराठी, तेल्गू, तामिल, मनिपुरी, आसामिज, जर्मनी, कन्नडलगायत अन्य भाषामा । अस्ति भर्खरको कुरा हो सलील ज्ञवाली दाजुले एउटा मेसेज गर्नु भयो, अनिता ! बहिनी !! अर्को खुशीको सन्देश आएको छ— हल्याण्डका एक विद्वानले यसलाई डच भाषामा पनि अनुवाद गर्न चाहेका छन् ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
