त्यस दिन फेरि सम्झनामा आउँछ—सारा जगत् निस्तब्ध थियो । कोभिड व्याप्त अझ मृत्यु व्याप्त समय भित्रभित्रै मान्छे खोक्रिएको थियो । प्राण भएको तर निष्प्राणजस्तै । महाव्याधिको दोस्रो चरण—डेल्टा भेरिएन्ट नरसंहारमा रम्दै थियो । मानिसहरू उसको निर्ममता सहन अभ्यासरत थिए । तत् घडीसम्म आफू जीवित छु भन्ने अस्तित्व कायम राख्न ऊ (मानिस) सामाजिक सञ्जालमा अनेक रूपले टाँसिन्थ्यो ।
साइबर क्रान्ति महामारीले ल्यायो । कार्यक्रम आयोजना हुन थालिसकेका थिए । मानिसको यस्तो आन्तरिक सक्रियतामा कोभिड जिल्लिएको हुनुपर्छ । उसको आकाङ्क्षा थियो—आफ्नो एकाधिकारमा मान्छेको जिजीविषाले शिर नउठाओस् । तर होइन, मानिस त्यति कमजोर प्राणी होइन । अर्नेस्ट हेमिङ्ग्वेको पात्र सान्टियागोले त्यही भनेको छ, “मानिस पराजित हुन जन्मेको होइन, ऊ बरु टुक्रिन्छ तर भाँचिँदैन । नष्ट हुन्छ तर हार्न जान्दैन ।”
कोभिडले मानिस निकै ज्याद्रो हुन्छ भन्ने निश्चय बुझिसकेको थियो । अब सभा, गोष्ठी सेमिनार हुन आवश्यक थिएन । त्यस पूर्वसन्ध्यामा महेशराज खरेलको नाम मैले पहिलोचोटि सुनेकी थिएँ । पहिलोचोटि देखेकी थिएँ डिजिटल स्क्रिनमा । उनी एक कवि रहेछन् । मनको किरण उनको कविता सङ्ग्रह विमोचन हुँदै थियो वेविनारमा ।
कवि खरेल को हुन् ? कहाँ के गर्छन् ? उनका विषयमा म केही जान्दैन्थेँ । त्यस दिन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यमा, नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजना गरिएको, प्रज्ञा पुरस्कार तथा राष्ट्रिय कविता महोत्सव पुरस्कार समर्पण समारोह भएको थियो । खरेलसँगको दोस्रो भेट त्यही कार्यक्रममा हुन्छ । तथापि उनी तिनै कवि हुन् भन्ने हेक्का मैले राखेको रहेनछु । चिनजान गर्दै रहँदा थाहा भयो स्क्रिनमा देखिएका कवि महेशराज खरेल उनै रहेछन् ।
पेशाले उनी बैंकिङ सेवाका एक कर्मचारी । म आश्चर्यमा पर्छु, एउटा भिन्न कार्य क्षेत्रका मानिसले त्यसरी साहित्यिक हृदय बोकी हिँडेको देख्दा । राष्ट्रिय वाणिज्य बैंकमा २९ वर्ष सेवा गरेका, मुख्य प्रबन्धक पदबाट निवृत्त उनी कसरी साहित्यकार बन्न सके भनुँ जस्तो ? अझ भनूँ लामो समय ट्रेड युनियन, ट्रेड युनियन संघको महासचिव, अध्यक्ष जस्तो जिम्मेवार पदमा बसेर, ट्रेड युनियन आन्दोलनको नेतृत्व गरेर हिँडेका उनी कसरी साहित्यिक मार्गमा अभिप्रेरित भए होलान् ? प्रायः हामी यही सोच्ने गर्छौँ । भाषा साहित्यका विद्यार्थीले मात्रै सिर्जनात्मक (साहित्य) कार्य गर्न सक्छ भन्नु ठूलो भ्रम रहेछ ।
हरेक व्यक्ति एउटा कोमल हृदय लिई हिँडेको हुन्छ । हृदयको त्यही कोमलता नै साहित्य हो, कला र गीत, सङ्गीत हो । भलै कति प्रस्फुटित हुन्छन् कति हुँदैनन् । पृथकता त्यही हो । साहित्य नगर्नेहरू पनि अलिखित साहित्यकार नै हुन् । आफैँभित्रका अपरिचित साहित्यकार हुन् । उनीहरूको जीवन भोगाइ त्यस्तै एउटा नलेखिएको विशद ग्रन्थ हो, साहित्यिक ग्रन्थ, ऐतिहासिक ग्रन्थ ।
पछिल्ला दिनमा कवि खरेललाई हेर्ने मेरो दृष्टि फराकिलो हुँदै जान्छ । उनी कवि मात्र होइन रहेछन् । सिमिकोट, पाथिभरा देविस्थानजस्ता रचना पढ्दा थाहा पाएँ उनी यात्रा संस्मरण भनौँ निबन्ध पनि लेख्दा रहेछन् । परिष्कृत खारिएको लेखन शिल्प— उनले यति राम्रो लेख्छन् भन्ने मैले सोचेकै थिइनँ ।
त्यस्तै फेरि अर्को दिन थाहा पाउँछु उनी उपन्यासकार पनि रहेछन् । परिचयको सिलसिला यसरी थपिँदै जाँदा बोध हुन्छ—उनको साहित्यिक योजना कति ठूलो रहेछ । साहित्यिक तृष्णा घनीभूत रहेछ ।
हालसालै प्रकाशित भएको यात्रा जिन्दगीको संस्मरणात्मक जीवनीपरक आख्यान पढेपछि अझ प्रस्ट हुन्छु खरेलको व्यक्तित्व बारे । लड्दै, उठ्दै, माटोमा विलीन भई, भाँती भाँतीको गोता खाएर, कठोर अवरोधसँग सामना गरेर, ज्यादै सङ्घर्षले उचाइमा पुगेको नाम हो— महेशराज खरेल । राष्ट्रिय वाणिज्य बैंक, आन्तरिक लेखापरीक्षण विभागको विभागीय प्रमुख, लेखापरीक्षण समितिको सदस्य सचिव (२०७३—२०७४) जस्ता पदीय जिम्मेवारी सम्हाल्दै आएका, उनी अहिले सम्पूर्ण रूपले साहित्य साधनारत छन् । “त्यसो त अनेक दायित्व र व्यवस्थाले जहाँ कुदे पनि मेरो मनमा सधैँ साहित्यले बास गरेको हुन्थ्यो” उनी भन्छन्, “म पहिलेदेखि नै साहित्यप्रेमी हुँ ।”
महामारीले, मृत्युले लाचार परिवेश भयभीत थियो । निमेष निमेषको बचाइमा विजय उत्सव मनाउनु परेको समय, अकस्मात् कवि खरेलमाथि अर्को घातक बज्र ठोकिन्छ । बेलुकी सग्लै सुतेका उनी मध्य निद्राबाट ब्यूँझँदा आफूलाई बिग्रिएको पाउँछन् । आधा शरीर नचल्ने मुढो भएको हुन्छ । हृदयाघातको आक्रमण र महाव्याधिको हाहाकारबाट छल्दै, लुक्दै मृत्युलाई छक्याएका खरेललाई अर्को सान्टियागो हुन् भन्न मन लाग्छ ।
उच्च मनोबल र धैर्यले उनी आज यहाँ आइपुगेका छन् । हृदयाघातले अविचलित देह असक्त छ, निर्धो छ । तर उनको सक्रिय मस्तिष्कले उनलाई निर्धो हुन दिँदैन । त्यसै समयमा उनले मनको किरण कविता कृति निकाले । यात्रा जिन्दगीको त्यसपछि रचिएको कृति— जगदीश घिमिरेको अन्तर्मनको यात्रा जस्तै लाग्छ । मृत्यु चिन्तनले घेरेको, वर्तमान समयबाट आतङ्कित भई अतीत स्मृतिमा फर्किएका छन् दुवै स्रष्टा ।
घटना, पात्र, परिवेशजस्ता तत्त्वले कृति (यात्रा जिन्दगीको) लाई आख्यानको छेउमा राख्न जति सुहाउँछ त्यति अझ बढी आत्मवृत्तान्त भन्न सहज लाग्छ । पारिवारिक वृत्तमा रचिएको श्रृङ्खलित, घरी घरी अश्रृङ्खलित घटनाहरू वास्तविक हुँदा हुँदै पनि कहिलेकाहीँ विश्वास गर्न सकिँदैन । भनाइको तात्पर्य त्यो वास्तविकता यति कठोर छ कि साँच्चै काल्पनिक जस्तो लाग्छ ।
आख्यान भनिसकेपछि त्यसमा केही काल्पनिकता निश्चय आउँछ नै यद्यपि त्यसले यथार्थलाई नै बोलिरहेको हुन्छ । आख्यान हरेक किसिमले कल्पित नै किन नहोस्, मिथक, किंवदन्ती नै सही तर त्यो यथार्थकै प्रतिरूप हो, प्रतीकात्मक आशय हो ।
मृत्युको झड्काले प्रहार गर्दैछ, सम्मुखै बसेर ढुक्दैछ । त्यस्तो भयाक्रान्त क्षणमा आफूलाई सहज र सक्रिय राख्न खरेलले निरन्तर कविता, निबन्ध, नियात्रा लेखिरहे । उपन्यासै तयार गरे—दाहिने हातको चोर औँलाले बिस्तारै लेख्दै गए मोबाइलमा । बाँकी औँला निस्क्रिय थिए ।
कोभिड केही मत्थर भएर होला लकडाउन खुकुलो हुँदै गयो । अनेक उपचार विधि र कठिन थेरापीले स्रष्टा खरेलको शरीर पनि सुस्तरी गतिशील हुँदै थियो । त्यस अवस्थामा पनि उनले पदीय जिम्मेवारी छोडेका थिएनन् । आफैँ गाडी चलाएर अफिस जान थाले । अन्त्यमा बरु सान्टियागो जीवनदेखि निराश भएको थियो । खरेलमा त्यो क्षीण निराशा देखिँदैन । पुनर्जीवन पाएकोमा झन् उत्साहित थिए ।
“भरोसा जीवन जिउने आधार हो ।” यही वाक्यबाट सुरु हुन्छ उपन्यासमा जीवनका कथा उपकथाहरू । जब मानिसले चाहेको पूरा हुँदैन, पुनः पुनः असफलता भोग्छ, पराजित हुन्छ त्यतिखेर उसको जीवनको टेको त्यही एउटा अज्ञात आशा हुने गर्छ, भरोसा हुने गर्छ ।
आत्मकथनात्मक आख्यानमा लेखकको पूर्वाध र उत्तरार्ध जीवनको संकटपूर्ण परिस्थितिलाई संयोजन गरिएको छ । महामारीले अस्तित्वमै प्रश्न उठाएको बेला, त्यस घडी प्राणघातक बिमारले थलिएको दोहोरो संकटबाट कवि खरेल अचानक बाल्यकालीन स्मृतिमा पुग्छन् । सम्झना आउन थालेदेखि त्यस्तै चार पाँच वर्ष उमेरका उनी कथामा हुर्कँदै बढ्दै किशोरावस्थामा पुगेका छन् । अनेक घात प्रतिघात, बाधा, अवरोधले कथामा गहिरो दुःखको झनझनाहट पैदा गरेको छ ।
ताप्लेजुङ—सिनाम गाउँको एउटा सम्पन्न परिवारबाट अतीत स्मृति आरम्भ हुन्छ, कथानक अघि बढ्छ । कृषि तथा पशु चौपायाबाट आर्थिक लाभ गरेका, ठूलो चलन चाँजो भएका, गाउँ समाजका मान्यगन्य घिवालाको नाति नै वर्तमानका कवि खरेल हुन् ।
सानो उमेरको एउटा नातिले देखेको घर परिवारको त्यो चकचकीमा मलाई आफ्नै वंशको कथा सुनेझैँ लाग्छ । त्यतिखेर मैले आफ्नै परिवारको अतीत संस्मरण गरेँ । टाढा टाढादेखिका मानिसहरू हाम्रा घरमा सरसहयोग माग्न आउँथे, बिहे बटुलोका लागि गरगहना होस् या मर्दापर्दा सरसापट हजुरबुवाले चलाउनु हुन्थ्यो, ढुँडी लागेर मक्किएका पैसा बूढाबाले मान्द्रामा सुकाउनु हुन्थ्यो, घरमा अनाजपात किन्न खच्चडै लिएर आउनेहरूको कुरा अब त कल्पना गर्न पनि सकिँदैन ! बुवाले त्यो अतीत सुनाउँदा हामी बडो चाख मानेर सुन्थ्यौँ । अहिले पनि हामीलाई साहिँला पन्थका नाति नातिना भनेर चिन्छन् कतिले ।
फेरि लेखकको त्यो बाल्यकाल मेरै हो भनूँ लाग्छ । हरेक ऋतु एउटा उत्सव जतिकै रमाइलो, सुखमय हुन्थ्यो । दशैँ तिहारको त्यो उमङ्ग, खेती लगाउँदा र भित्र्याउँदाको अर्को खुसियाली कति तृप्तिकर छ ।
उस समय प्रशस्त जग्गा जमिन भएको, खेतीपाती पशुपालन गरेको परिवारलाई समृद्ध धनीमानी भनिन्थ्यो । कवि खरेलको परिवार एक समय त्यस्तै समृद्ध थियो । ठूलो आलय भएको, परिश्रम गर्न सक्ने परिवार । घिवाला भनेर चिनिने खरेलका बूढाबा पर सिमाना काटेर दार्जीलिङसम्म घ्यूको व्यापार गर्न जान्थे । वरपर उनको प्रभाव बलियो थियो । सरसहयोग गर्ने, दुःख सुखमा सहभागी हुने उनको भलाइमा गाउँ समाज धन्य थियो ।
बूढाबा अब वृद्ध भइसकेका छन्—बाबु बाजेको इज्जत थाम्ने भनूँ न बिँडो उनका छोराले थाम्ने भए । बाबुकै लइन समाएका छोराको चल्ती फिर्ती भरस लाग्दो थियो । पारिवारिक सल्लाहअनुसार उनी मधेसमा केही जग्गा जोहो गर्ने सोचमा थिए । जेठानले मधेसको विषयलाई अस्वीकार गरी, सान्थाक्रामै साझेदारीमा खेत किन्न अनुरोध गर्छन् ।
त्यही खेत किनेको वर्ष लेखकका बाबु रुखबाट लड्छन्, ससुराली गाउँमा । त्यसपछिको कथा सम्पूर्ण विषादले भरिएको छ । कष्ट व्याप्त छ । विरह वेदना अवर्णित छ । घात प्रतिघात असह्य छन् । कारुणिक कथा मन विदीर्ण पार्ने छन् । अभाव र चुनौती बेहिसाब छन् । छिनछिनमा पाठक क्रुद्ध हुन्छ त्यो अविश्वास र प्रतिघातप्रति ।
‘यात्रा जिन्दगी’को पढिसकेपछि मलाई मानिसप्रति विश्वास लाग्न छोड्छ । आफ्ना भन्नेहरू पनि क्षीण स्वार्थमा कति तुच्छ हुँदा रहेछन् । लेखक परिवार मावली तथा आफन्तको विश्वासघातमा ध्वस्त भएको छ । आफ्नै छोरीचेली भान्जा भान्जीको भविष्य बर्बाद गर्ने, लाभको निम्ति हदै गिर्ने ती आफन्तहरूलाई मैले फेरि फेरि धिक्कारेँ ।
उपन्यासमा वर्णित तीन पुस्ते संयुक्त परिवार केही समयमै भताभुङ्ग हुन्छ । त्यो सम्पन्नता भुइँमै विलीन हुन्छ । लेखक सानै थिए बाबु रुखबाट खसेर अशक्त हुँदा । घरको समृद्ध चाँजोपाजो उनले भोग गर्न नपाउँदै उथलपुथल हुन्छ ।
पुस्तकको जति भित्र पस्छु अनि त्यस भेटमा कवि खरेलले भनेको सम्झिन्छु, “असमयमै म परिपक्व भएको थिएँ । एउटा कच्चा एउटा उडन्ते मनको अनुभूति मसँग छैन ।”
त्यो आशय मैले बुझेकी थिएँ । समय अगावै व्यवहारिक भारले उनलाई थिचेको हुनुपर्छ । आफूलाई बोध गर्न सक्ने भएपछिको समयले, उनलाई अनेक कष्ट भोगाएको थियो निश्चय । जगत्लाई भुल्ने अलमस्त उमेरको भोगाइबाट टाढिएका थिए उनी तर कसरी, किन वञ्चित भए ? सायद उनी टुहुरिएका थिए, “के तपाईँले सानै उमेरमा माता पितालाई गुमाउनु भयो ?” मनमा उब्जिएको यस्तो जिज्ञासा सोध्ने आँट आएन । त्यसरी सोझै जिज्ञासु हुन उचित लागेन । त्यो ठाडो प्रश्न गरिनँ । फेरि उत्सुकतावश अर्कै तरिकाले सोधेँ, “किन त्यसो भयो ?”
“यात्रा जिन्दगीको पढ्नु सम्पूर्ण कुरा त्यहीँ छ ।” यस्तो जवाफले झन् उत्सुकता थप्यो ।
सङ्घर्षै सङ्घर्ष र अवसादको कथा रहेछ पुस्तकभरि । आज लेखक जुन स्थितिमा छन्—त्यो व्यक्तित्व अतिशय पानीको वेगमा कुँदिएको शालीग्राम लाग्छ ।
मुली अशक्त भएपछि रानु वेगरको मौरी हुन्छ त्यो घर परिवार । खेतीपाती, पशु चौपाया, घर व्यवहार सबै सबै ओइलिन थाल्छ । उत्साह, हाँसो, खुसी निभ्न थाल्छ । त्यो आवास नै झोक्राउँछ । विषादको पहाड खस्न थाल्छ ।
उपन्यास एउटा पारिवारिक विषयमा केन्द्रित हुँदाहुँदै पनि त्यसले समाज मनोदशाको राम्रो चित्रण गरेको छ । ग्रामीण जनजीवन र बालमनोविज्ञानले मलाई लोभ्याइरहन्छ । दुःख र अभावमा पनि रमाउने निर्बोध बालापन कति प्रिय छ । त्यो बालक्रीडामा लेखकसँगै म पनि पुरानो स्मृतिलाई पछ्याउँछु—कन्दमुल खोज्ने, गाईबस्तु चराउने, चाडपर्व आउनु कति अघिदेखि त्यसैको प्रतीक्षामा रम्ने अनि असारको रोपाइँ र मङ्सिरको दाइँमा हुने अनौठो उत्सव खै कसरी व्यक्त गरूँ ? म त्यो प्रकृति वर्णन र बाल उमङ्गमा मोहित हुन्छु । लेखकको उमेर वृद्धिसँगै आउने अनुतप्त परिस्थितिले फेरि निमेष निमेषै निराश हुन्छु ।
त्यो समय कति परम्परित र रूढ थियो । औषधी विज्ञानको चेतना त्यस्तै पहुँच नहुँदा रुखबाट खसेको बिरामीलाई धामी झाँक्री लगाइएको छ । बिरामीलाई हस्पिटल लैजाने समय निकै बितिसकेको थियो । टाढाको बाटो ताप्लेजुङको सिनामबाट बोकाएर कोसी अस्पताल लगिन्छ बल्ल । असमयको उपचारले केही सुधार हुँदैन । पीडामाथि पीडा खप्टिएका छन् । दुःखै दुःखका पत्रहरू छन् । अस्पतालमा बिरामी कुरुवा कोही छैन । एक्लै छोडिएको छ । यस घटनाले त्यस समयको दुर्गम अवस्थालाई प्रस्ट्याएको छ ।
अस्ति अस्तिका दिनसम्म त्यो परिवार कति वैभवशाली थियो । हली गोठाला कामदार लगाउने, दीन दुःखीको भलाइ गर्ने । अरूको उद्धार गर्ने उनीहरूलाई नै अब उद्धारक चाहिएको छ । यद्यपि असहाय भएपछि कोही सहायक भएर आउँदैन । फेरि अर्को प्रहार थपिन्छ— खेतमा पहिरो पसेर सबै बगाउँछ ।
पुरुषवादी परिपाटिमा आइमाई केटाकटीलाई कोही गन्दैन होइन थिचोमिचो नै गरिन्छ । अब बेसाह चाहिएको छ । किन्तु कोही बेसाह दिन तयार हुँदैन । एउटा खेतालो आउन पनि पत्याउँदैनन् । त्यो विडम्बनाले मुटु नै आद्र हुन्छ । दैव पनि कति कठोर हुँदो रहेछ । त्यस विपद्मा स्रष्टा बोल्छन्—अभर परेपछि ओरालो लागेको मृगलाई बाछीले पनि लखेट्छ । आफ्नाले त झन् मौका नै यही हो भन्दा रहेछन् ।
जटिल परिस्थिति भोग्न बाध्य भएपछि जस्तै काँतर मानिस पनि साहसिक हुँदोरहेछ । लेखककी आमा कति महान् छिन् । विपद्को सागरमा डुबेकी उनलाई पढ्दै गर्दा उनी अहिले कस्ती होलिन् ? कुन उमेरकी होलिन् ? म बडो उत्सुक हुन्छु, उनलाई देख्ने इच्छा हुन्छ । अपवादको लाग्छ उनको त्यो सचेतना । अस्मेल बाढीजस्तो भयप्रद अन्योलले घर व्यवहार बगाउँदैछ । त्यस्तो कठिन समयमा पनि उनले छोराछोरीलाई पढाएकी छन्, जतिखेर पढ्नु पर्छ भन्ने चेतना समाजमा आइसकेको थिएन । खेती किसानी हुनु नै बाँच्नुको लक्ष्य हुन्थ्यो त्यसताका । छोराछोरी शिक्षित भएको देख्ने एउटी आमाको त्यो इच्छा कति उज्यालो छ, समयभन्दा निकै उज्यालो छ । आफ्ना सन्तानको सज्जन वृत्ति र राम्रो पढाइले उनी धेरै खुसी हुन्छिन्, आश्वस्त हुन्छिन् ।
उपन्यासकी आमा त्यो निरीह घर परिवारकी रक्षक हुन् । अरूको दुखाइ उनले आफैँमा समाहित गरेकी छन् । अवसाद व्याप्त, खरेल परिवारको दुर्घटनायुक्त परिवेश उनी एक्लैको प्रयासले बचेको छ ।
उपन्यासमा केही क्रान्तिकारी अभियानले नव युगको आह्वान गरेको छ । अघिल्लो र पछिल्लो पिँढीबीचको वैचारिक अन्तर ठूलो छ । पुरातन र आधुनिक विचारमा द्वन्द्व सिर्जना भएका छन् । खेमराज खरेलजस्ता शिक्षित युवालाई अभिभावकहरूले समाज भँडुवाका रूपमा लिएका छन् । जातभात, छुवाछुत, कर्मकाण्डको विरोध बाबु बाजेको पुस्तालाई स्वीकार्य छैन । ऐतिहासिक कालदेखिको स्थापित मान्यता र नेतृत्वलाई विस्थापित गरी नवोदित युवा जमातले समाजलाई निर्देशन गर्न चाहेको छ ।
दिदीको बिहेमा, हजुरबुवाको मृत्यु संस्कारमा केही प्रतिनिधि युवा पात्र र लेखकका ठूल्दाजुले बाहुन लगाउने, कर्मकाण्ड पद्धतिको अवज्ञा गरेका छन् । त्यस्तै एक दुई प्रसङ्गमा लेखकले काल्पनिकताको सहारा लिएको आभास हुन्छ । जब कि वास्तविकतामा त्यसो हुन सक्थेन । कथामा वैचारिक युद्ध देखाइएको छ । उपन्यासकारले नवयुगको अपिल गर्नु समयको आदेश हो । त्यो अपिल बलियो छ यद्यपि नारीप्रति उनको अवधारणा किन मौन छ ? नारीलाई हेर्ने उनको दृष्टि भने बदलिएको छैन ।
त्यतिखेर समाजमा नारीलाई हेरिने दृष्टिकोण जति जब्बर थियो, कर्मकाण्ड तथा जातिवादलाई हेर्ने दृष्टि पनि त्यति नै पुरातन थियो । आख्यानमा बाहुनवाद र कर्मकाण्ड पद्धतिको विरोध सम्भव थियो भने नारीहितको पक्षमा बोल्न किन सम्भव भएन ? त्यसको एउटै उत्तर छ—लेखक स्वयं पितृसत्तात्मक समाजका प्रतिनिधि चरित्र थिए ।
छोरीको बिहेमा आमा भन्छिन्, “लौ ज्वाइँराजा छोरीको जात अर्काको सम्पत्ति; पाले पुण्य मारे पाप ।” यस अभिव्यक्तिलाई बदल्ने आँट कवि खरेलमा किन आएन ? समाजलाई परिवर्तित गर्न नसके पनि काल्पनिकतामा त्यसलाई बदल्न सकिन्थेन ?
खरेल सर्जक मात्र होइनन् । उनको आख्यानमा समालोचकीय चेत सिर्जनासँगै मिसिएको छ । बेला बेला पुस्तकको चर्चा गर्दै कथानकलाई अघि बढाउँछन् । कवित्व चेत त उनको प्रमुख अस्तित्व भइहाल्यो । घटनालाई छोडेर घरी घरी कवितात्मक अभिव्यक्तिमा उनी धेरै थोक भन्छन् जति थोक अकविताले भन्न सकेको हुँदैन । कथा, कविता, निबन्ध, समालोचना र जीवनी विधाका अनेक तत्त्वले कृतिलाई पूर्णता दिएको छ । त्यस हिसाबले कृतिलाई विधा मिश्रित आख्यान भन्न सकिन्छ ।
ग्रामीण जीवनका हर्ष, उमङ्ग, स–साना कुरामा हुने द्वेष, मनमुटाउले कृतिलाई अझ बढी याथार्थिक बनाएको छ । त्यतिखेरको जीवन अहिले पनि पात्रले भोगिरहेका छन् जस्तो एउटा भान हुन्छ । शब्द शब्दमा ती पात्रहरूको चित्र विम्ब बनिएको छ । परिष्कृत, परिपक्व छ लेखनशील्प ।
वर्तमानमा सुरु भएको कथा अतीतमा हराउँछ । फेरि कोभिडको डरलाग्दो अवस्था र दुसाध्य बिमारले झस्काउँदा पुनः पुनः वर्तमानमा उत्रिन्छ कथा । महिना दिनसम्म निस्क्रिय रहेको देह, त्यस दिन कप उठाएर आफैँ चिया पिउन समर्थ हुँदा अर्को जन्म पाएको अनुभूति गर्छन् लेखक खरेल । दस्तखत प्राक्टिस थेरापी गर्दा एउटा खाली डायरी पूरै सिध्याएको बताउँछन् ।
अशक्त, कम सक्रिय कायालाई सकारात्मक सूचना दिन झमक घिमिरे, स्टिफेन हकिङ्सको जीवन अध्ययन गर्छन् कवि खरेल । उनी बडो ज्याद्रो छन् । पूर्व स्थितिको आभास लिन, आफूलाई गतिशील बनाउन महामारी र अशक्ततालाई पनि पर्बाह नराखी उनी अफिस जान्छन् ।
भवितव्य घटनाले लेखक परिवारलाई जति सकस भएको छ, त्यसको चौगुणा सकस आफन्तले सिर्जना गरेका छन् । विश्वासघातमा नमज्जाले भुङ्ग्रिएका छन् ती असहायहरू । साथ सहयोगको अपेक्षा उनीहरूले गरेका थिएनन् जति अपेक्षा त्यस दुखद घडीमा घात नगरून् भन्ने थियो, “हिना खेत मामा र बुवाले साझे किन्नु भएको रहेछ । एउटा छुट्टै चैँ खलो नै आमाको नाममा रहेछ । सबै उठ्ती रकम हामीलाई थाहै नदिई मामाले उठाएर मधेसमा जग्गा किनेछन् । आमाको पेवा रकम पनि मामाले गज्याङ्गुजुङ बनाएछन् । अनि यो अभर परेका बेलाको मौका पारेर हिसाब फस्ल्याङफुस्लुङ पार्ने नियत लिएका रहेछन् (पृ–११९)।”
गरिबी र कष्टका दिनमा सहायता माग्न आउनेहरू अहिले त्यो गुन सम्झिन चाहँदैनन् । सानो मद्दत समेत ती गर्दैनन् । बरु निर्धनताको राँकोमा घ्यू थप्छन् । पुस्तौँदेखि बस्दै आएको थातथलोमा त्यो परिवार बस्न सक्दैन । जमिन जग्गा बेचेर नौलो अपरिचित ठाउँमा जाने कार्य योजना तिनै आफन्तले भङ्ग गरिदिन्छन् । ग्राहक भड्काइदिन्छन् । वैरी लाग्छन् । अझ बढी कष्ट थपेर दुःख हेर्न चाहन्छन् ।
मधेस झर्ने सोचमा उनीहरूले खेतीपाती, घाँस दाउरा केहीको जोहो गरेका हुँदैनन् । बर्खा लाग्न आँट्यो । बास बस्ने आधार विखण्डित भएको छ । लथालिङ्ग भएको पारिवारिक अवस्था र अभावको भुमरीबाट बालक मन बोल्छ, “घरको अवस्था जे भए पनि नि हाइस्कूल जाने मेरो हैसियतले मलाई निकै ठूलो भएको बोध गरेको थियो (पृ–१६०)।”
त्यस दिन बिहानै दुःख छल्न, हीनता र असहायपन छल्न लेखक परिवार ताप्लेजुङ्को एउटा गाउँबाट बसाइँ जान्छन्, “मधेस गएपछि हाम्रा दुर्दिनहरू हराउँछन् होला नि ? ” कवि खरेलकी आमा आश्वस्त हुँदै भन्छिन् “बाह्र वर्षमा त खोलो पनि फिर्छ भन्छन् ।”
तर खोलो फिर्दैन झन् टाढा हुन्छ । त्यो बसाइँसराइ सोचेजस्तो सरल थिएन, रित्तोखुकुलो थिएन—बिरामी बाबु बोक्ने, दृष्टिविहीन अशक्त हजुरआमा बोक्ने समेत भरियाको खाँचो थियो । मान्छे बोकाएर बसाइँ जानु निकै कठिन कुरा थियो ।
बसाइँ सरेपछि सब ठीक हुन्छ भन्ने एउटा अज्ञात आशाले नै उनीहरू गतिशील थिए । सानो चोटले, सानो पीडा र हिक्कमतले सिनाम छोडेका थिएनन् । भारी पोकापन्तरा लर्को ठूलो थियो, बस्तुभाउ, कुकुर, भरियाहरू … । उता साना नानीहरूको मनोविज्ञान रमाइलो छ, नयाँ वस्त्र लगाएर हिँड्दा ती हर्षित थिए । ठूलाहरूको मनमा अन्योल भविष्य र कलात्मक सपनाको संयोजन भएको थियो ।
मान्छे भोलि केही दिन फिर्ला, समय स्थिर नभएपछि अरू केही थोक स्थिर हुने छैन, त्यही अभिलाषाले जस्तै जटिल परिस्थति पनि स्वीकारेको हुन्छ, स्वीकार्न बाध्य हुन्छ । “… हो म यही चेतको परको घुर्मैलो आशा नै सही त्यही हेरेर बाँचेको छु र बाँच्ने रहर हुर्काएको छु मनमा (पृ–१८७) ।” उपन्यासका अशक्त बाबु यही भन्छन् त्यस स्थितिमा ।
सिनामबाट साइत गरेर पञ्चमी बजार हुँदै काबेली र ईवाँ तरेर थर्पुमा बास बिसाउँदै, अनेक भञ्ज्याङ तरेर चार दिनमा त्यो परिवार इलाम पुग्छ । त्यहाँको त्यो झिलिमिली, मोटर गाडीको आवतजावत, सुकिलामुकिला मानिसहरू, जस्तापाता र सिमेन्टीका घरहरू, बिजुली बत्तीको उज्यालोमा ती साना नानीहरूलाई अर्कै अनौठो जगत्मा गएको, अचम्मको अनुभूति हुन्छ ।
त्यस समय २०२८÷२९ सालतिरै इलाम आधुनिक हुन लागेको थाहा हुन्छ । त्यहाँबाट सवारी साधनमा लेखक परिवार झापाको गरामनी पुग्छन् । तर उत्साह हुँदैन । रमाउन सक्दैनन्, खिन्न हुन्छन् त्यो दारिद्र्य परिवेशले, “हिजो हेर्न नभ्याएको घरको अवस्थिति बाहिर निस्किएर हेर्दा टाउको ठोकिनेजस्तो छानोको छेउ तलसम्म झरेको, भाटामाथि पराल बाँधिएको थियो । पहाडको तीन तल्ले घरमाथि देखिने छानाको भागमुनि, कुँदिएको काठको दाँतीले दिने सौन्दर्य सम्झेर मन अमिलो भयो । झ्यालढोका केही नभएको पराललाई सिटाले बारेको, टाटीको बेरा भएको, एक प्रकारको झुप्रो, वस्तुभाउका लागि पनि अनुचितझैँ लाग्ने हाम्रो मधेसको घर देखेर मन विरक्त भयो (पृ–२३१)।”
त्यतिखेर मधेसमा झापा आन्दोलनले मूर्त रूप लिइसकेको थियो । ठाउँ ठाउँमा विद्रोहीहरूको शव फेला पर्थे । असुरक्षित आवासले लेखक परिवार भयभीत छन् । विकासका हिसाबले सुगम मानिएको ठाउँमा भय पनि ज्यादा हुने रहेछ ।
आख्यानको अन्त्यमा पुग्दा समेत घात प्रतिघातको सिलसिला खण्डित हुँदैन । उपन्यासमा आफन्त शब्द नै यति तुच्छ लाग्छ कि—त्यस शब्दप्रति म सकारात्मक हुनै सकिनँ । अब धोका नपाउलान्, कथाले कुन मोड लेला ? एउटा सुखान्त कल्पना गर्दै थिएँ तर होइन यो त धोकै धोकाको क्रमिकता रहेछ । फेरि अर्को अभिघातले मधेसमा उनीहरू एक किसिमको शरणार्थी जीवन भोग्दै थिए । छलकपट र आघात अझै रोकिने स्थितिको छैन । नाताले लेखकको सानाबा पर्ने एक आफन्तले उनीहरूलाई फेरि अर्को भङ्गालोमा हुत्याइदिन्छन् ।
प्रतिबिगाहा जग्गालाई चलनचल्तीको दामभन्दा बढी लिएर अनुर्वर भूमिमा फसाउँछन् । फेरि नामसारी गरिदिएका पनि हुँदैनन् ।
पहिलेको ऐश्वर्य आज सपना भएर यसरी विपत्ति भोग्नु पर्ला भन्ने कसैलाई थिएन, “बुवाको आँखाका कोषहरू रसाएका थिए । मैले दोस्रोपटक बुवाका आँखामा आँसु देखेँ । जस्तो दुःखमा पनि नआत्तिनु, सुखमा नमात्तिनु भनेर उपदेश दिने मानिस कमजोर भएको मैले देखेँ (पृ–२६५)।”
महामारीको सन्त्रासमा बिरामी (लेखक)लाई साहित्यिक कर्मले ठूलो ऊर्जा सञ्चार गरेको छ । समय व्यतीत मात्रै होइन समय अर्थपूर्ण भएको छ । म्याक्सिम गोर्कीको आमा उपन्यासकी पात्र पावेल र उनलाई आफ्नी आमाको भूमिका उस्तै लाग्छ । पुस्तकप्रेकी, साहित्यप्रेमी, उनी बौद्धिक पाठक पनि हुन् ।
पहाडबाट जस्तो सोच लिएर उनीहरू मधेस झरेका थिए, त्यसको एकांश पनि सोचेको पूरा हुँदैन । शायद उनीहरू अभिघात बेहोर्नकै लागि जन्मिएका थिए । सानाबासँगको पैसा डुबाएर निकासको खोजीमा गरामनीबाट उनीहरू फेरि झापा स्थित दमकमा बसाइँ सर्छन्, “हाम्रो जीवनयात्रा कसरी चल्ने हो ? कस्ता कस्ता ठाउँमा बिसाउनुपर्ने हो ! त्यसो त पहाडमा दुःख पाइने भो भनेर बसाइँ हिँडियो । सुख के हो ? कस्तो हुन्छ ? कहाँ छ ? देख्ने भेट्ने अब त झन् सपनाजस्तो भयो (पृ–२८३)।”
घात गर्नु र धोका पाउनुको पनि एउटा पराकाष्ठा हुन्छ नि ! तर छैन । विगतमा कैयौँचोटि खुट्टा टेक्न गरिएको प्रयत्यनलाई परिस्थितिले घुँडा टेकाइदिन्छ अघि नै प्रस्तावनामा लेखकले भनेका छन्—अब त कसैले घचेट्दा पनि झर्ने ठाउँ नहुँदा त घचेट्न पनि सक्दा रहेनछन्, कसैले पनि ।
विरक्तिएकी आमाको त्यो मन भन्छ, “शान्तिले एक गाँस खान र एक निद्रा निदाउन पाए पनि कस्तो हुन्थ्यो ।” अब त अरू ठूलो आकाङ्क्षा केही छैन । अनेक इच्छा राख्ने मन हारिसकेको छ ।
घरद्वारको निश्चित नभएको, अभर परेका बेला यही निराश्रित क्षणमा फेरि मामाले अर्को दुष्ट्याइँ गर्छन् । अघि पुनः पुनः उनले बेइमान गरेकै थिए । फेरि उनैलाई विश्वास गर्दा त्यो परिवारलाई नै धिक्कार्न मन लाग्छ, अझ पनि मान्छे नचिन्ने ? जसले शुभेच्छुक हुनुको विश्वास कहिले दिएका थिए ?
झरी पर्ने समय सुरु हुनै लाग्यो, अर्कैको गुवालीमा उनीहरूले आश्रय लिएका थिए । जब एउटा कठिन, निर्णायक स्थितिमा पुग्नु पर्ने हुन्थ्यो, त्यतिखेर बुवाले ‘कि आँटले खान्छ कि त ढाँटले’ भन्ने गर्नु भएको मैले धेरैचोटि सुनेकी थिएँ । त्यस्तै यहाँ पनि आँटले अर्को बासको तयारी गर्ने प्रक्रियामा थिए, उनीहरू । त्यसै घरी मामा भनाउँदाले साझेमा निर्वाह चलाउने भनी विश्वस्त बनाए । दुवै पक्षको लगानीमा आवास बनिन्छ । भरे उनीहरूलाई त्यहाँ बस्नै दिइँदैन ।
त्यसपछि के भयो होला ? उपन्यासको अन्त्य भए पनि कथाको अन्त्य भएको छैन । लेखक परिवार बिलखबन्दमा पर्छ । झन् ठूलो संकटले घेर्न थाल्छ । पाठक अधैर्य हुन्छ, उनीहरूले कहाँ बास लिए होलान्, “अर्काको थोत्रो गुवालीमा यता र त्यता पानी चुहिनथाल्यो । हामी पानी चुहिएका ठाउँमा भाँडा थाप्न थाल्यौँ । आमा रुँदै अँध्यारोमा बाहिर निस्कनुभयो । बुबाले सानो दाइलाई लाइट दिएर आमाका पछाडि जान अराउनु भयो । सानो दाइ लाइट बालेर आमा ! आमा ! भन्दै कराउँदै गुवालीबाट बाहिर निस्नु भयो (पृ–२९८)।”
यति भनेर अन्त्यमा आख्यानकारले कथालाई अधूरै छोडिदिएका छन् । यात्रा जिन्दगीको आत्मकथात्मक कृतिले दोस्रो भागको अपेक्षा राखेको छ ।
आफन्तमा पनि यति धेरै दुष्टता हुन्छ मैले त सोचेकी नै थिइनँ । पुस्तक पढिसक्दा पनि मेरो क्रोध मत्थर भएको थिएन । त्यो छलकपट र धोकाबाजी म आफैँले भोगेको अनुभूत भयो । अब हुन बाँकी नै के थियो र ? भोग्न बाँकी पनि केही थिएन । सहनुको हद पनि कति ? धोकाको सीमा खै ? ठगिन लुटिन पनि केही बाँकी रहेन ।
अवसाद नै अवसादले उपन्यासमा दुखान्तको राँको दनदनाएको छ । एउटा सम्पन्न धनी मेहनती परिवार, आफन्त तथा शुभचिन्तक भनिनेको फेरि फेरिको विश्वासघातले निरीह भएको छ, असहाय अवस्थामा पुगेको छ । अब भन्नु केही छैन ।
यो दुःखको, सङ्घर्षको, चुनौतीको, अभिघातको कथा हो । पुस्तक पठनीय छ । अक्षरको चित्रात्मक आकृति बनाउन सक्ने, वर्तमानको घटना र संवाद जस्तो लाग्ने सजीव छ प्रस्तुति । यति हुँदा हुँदै पनि उपन्यासमा केही खड्किएका कुरा छन् । स–साना, झिना विषयलाई कम्ती गरिएको भए शुरुदेखि अन्त्यसम्म एकै किसिमको प्रभाव पर्ने थियो । केही घटना र मसिना कुरा जसले कृतिलाई खासै प्रभाव पारेको हुँदैन, जुन कुरा हटाउँदा कृतिलाई असर पर्दैन भने त्यस्ता विषय अनावश्यक जस्तै ठहरिन्छन् । जुन कुरालाई ख्याल गरिएको भए कृति अझै पाठक मैत्री हुने थियो ।
त्यसो त अमैत्री छ भनिएको होइन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।