म लेखककी श्रीमती हुँ । लेखककी श्रीमती भएर कहिलेकाहीं लाग्छ, मैले बोल्नु हुँदैन । यस्तो दुबिधा पनि हुन्छ, ‘मैले नबोले, को बोल्छ त ?’

अनि फेरी हिम्मत जाग्छ, एकदुई जनाले लेखे त हो, अरू लेखकका श्रीमतीले पनि आफ्ना समय र परिश्रमको मूल्याङ्कन गर्न सक्लान् । हाम्रो समय त यसैयसै लेखकका लुगाफाटा देखि ओखती मुलो सम्मको कुरामा ध्यान गएकै हुन्छ ।

स्पष्ट पारिहालौँ, मैले लेख्न नजानेर लेखिका नबनेकी होइन । मैले आफूलाई लेखक जत्तिकै समर्पित बनाउन नसकेर लेखिका नबनेकी हुँ । त्यो समर्पण हुन नसक्नुको मुख्य कारण हो – घरायसी पाटो ।  यो एक निहुँ नहुन पनि सक्छ कसैका लागि, तर मेरो लागि यो यथार्थ हो ।

लेखकको हातमा कम्प्युटरको किबोर्ड पर्‍यो भने ऊ संसारै भुल्छ । परिवारलाई समय दिन नचाहेर भुलेको त होइन । चाहेर पनि उसले समय दिन भ्याउँदैन । किनकि ऊ शब्दमा डुबुल्की मार्न गएपछि फर्केर हत्तपत्त आउँदैन र फर्काइदिनु पनि हुँदैन । दुईतीन घण्टा भोकै होस्, छाड्नु पर्छ उसलाई उसैको अवस्थामा ।

साँचो कुरा भन्नुपर्दा, सबै कुरा भुल्न सकेन भने ऊ निखारिएको लेखक बन्नै सक्दैन । लेख भनेको अभ्यास मात्र होइन, त्याग पनि हो । तर लेखक घरायसी जिम्मेवारीमा बाँधियो भने उसको लेखनको प्वाँख काटिन्छ । त्यसैले भन्दै आएकी पनि छु लेखककी श्रीमती हुन रहर गर्नेले यो कुरा बेलैमा बुझ्नुपर्छ र स्वीकार गर्नुपर्छ कि ऊ लगभग लगभग एक्लै संघर्षमा खारिनु पर्छ र राम्रो घर व्यवस्थापिका बन्ने हिम्मत गर्नुपर्छ ।

प्रश्न उठ्छ कति दिनसम्म लेखककी श्रीमतीले ती सबै जिम्मेवारी एक्लै सम्हाल्ने ?  यो त समानताको युग हो, जहाँ हामी घर र समाज दुवै मिलेर अघि बढाउने बाचा गर्छौं । तर जब त्यो सन्तुलन हराउँछ, त्यहीँबाट लेखककी श्रीमतीको गुनासो पनि शुरू हुन्छ । “यो यात्रा कहाँसम्म होला ? कहिलेसम्म होला ?” यही अन्योलमा ऊ दिनरात बाँचिरहेकी हुन्छे ।

मैले यसो भनेको कुनै दुष्ट आत्मालाई हँसाउनका लागि होइन । कुरा काट्नका लागि ठाउँ सिर्जना गरेको पनि होइन । यहाँ लेखकहरूकै संसारको कुरा गर्दै छु जहाँ सिर्जनाको उज्यालोमा एक मौन छाया सधैँ रुमल्लिरहेको हुन्छ ।

वर्षौंसम्म लेखकसँग सङ्गत गरेपछि बुझेँ -लेखन भनेको निरन्तरता हो । दैनिक अभ्यास, नोटबुकको माया, र वरिपरिका दृश्यहरूको सूक्ष्म अवलोकन गर्न नजान्ने मानिस लेखक बन्न सक्दैन । लेखकले बिहान रित्तो दिमाग लिएर निस्कनुपर्छ र बेलुका केही बिम्ब, केही भाव लिएर घर फर्किनुपर्छ । उसले बिर्सन हुन्न “म लेखक हुँ, मैले समाज टिप्नुपर्छ, बुझ्नुपर्छ र अहिलेको समयको आवाज बोक्नुपर्छ ।”

तर देखेका कुरा शब्दमा रूपान्तरण गर्नु सजिलो हुँदैन । सबैले एउटै कुरा देखे पनि, भाव फरक हुन्छ । कसैका लागि रातो गुलाफ कोमल हुन्छ, कसैका लागि मायालु, र कसैका लागि बिछोडको प्रतीक । पहिलो प्रेमीलाई रातो गुलाफ दिएका मानिसले अर्को प्रेमका लागि त्यही फूल प्रयोग गर्न सक्दैन किनकि त्यो फूल ऊभित्रको चोटसँग गाँसिएको हुन्छ । त्यसैले हरेक लेखकका मनमा आउने भाव एकै समय र एकै ठाउँमा पनि फरक फरक हुन्छ ।

लेखन भनेको भावना मात्र होइन, सत्य र तथ्यलाई भावनासँग मिलाउने अनि कल्पना र यथार्थलाई साकार पार्ने हो । एउटा घर बनाउनु जत्तिकै गाह्रो छ शब्दहरूलाई सिलसिलामा ढाल्न । त्यसैले मलाई कहिलेकाहीं के हाँसो उठ्छ कोहीकसैको भनाइ सुनेर । भन्छन्, “तपाईंहरू लेखिरहने मानिस, यति सानो कुरा एकै छिनमा यसो मिलाएर लेखिदिनुस् न है ।”

उनीहरूलाई लाग्छ हाँडीमा मकै भुटेर फूल उठे जस्तै सजिलो छ लेख्न ।

लेखककी श्रीमती स्वयं समाजलाई नियालिरहेकी हुन्छिन् । कहिलेकाहीं लेखकको थाकेको कलममा ऊर्जा भर्छिन्, कहिले उसका विचारलाई फराकिलो पार्ने मौन शक्ति बनेर उभिन्छिन् । कहिलेकाहीं कचकच गरेरै भए पनि लेखकलाई एक झमट सोच्न बाध्य पार्छिन् । जानेर या नजानेर, बुझेर या नबुझेर उनको उपस्थितिले सधैं लेखकलाई अगाडि बढाउँछ ।

तर हामीले देख्ने इतिहासको कुरा भने सधैं एउटै हुन्छ । साहित्यमा लेखकको नाम चम्किन्छ, श्रीमतीको योगदान ओझेलमा पर्छ । नेपालका धेरैजसो नामी लेखक र पत्रकारका कृतिहरू पछाडि उनको मौन उपस्थिति हुन्छ । तर म के देख्छु भने कतिपय कृतिहरूमा त उनीहरूको नामसम्म उल्लेख हुँदैन । नाम उल्लेख भैहालेछ भने पनि उनी नभैदिएको भए या उनले घर नसम्हालिदिएको भए त्यति मात्र कुरा आउँछ । मानौँ, लेखक सीधा आकाशबाट पृथ्वीमा झरेको अमृत हो, जो बिनासहयोग पनि स्वतः सृजनशील हुन्छ ।

मलाई यस्तो अवस्था देख्दा नमज्जा लाग्छ । किनभने थोरै मात्र लेखकले आफू श्रीमतीको ठाउँमा बसेर सोच्ने हिम्मत गर्छन् । पुरुष लेखकका लागि श्रीमती अझै पनि प्रेरणा मात्र ठानिन्छिन् । तर वास्तविकता त्योभन्दा धेरै गहिरो छ । उनीहरू प्रेम, त्याग र सृजनाका साक्षी हुन् । कहिले ती पहिलो समीक्षक, कहिले सल्लाहकार, कहिले गोपनीयताका भण्डार ! उनीहरूले लेखकको लेखनमा निरन्तर प्राण फुकिरहेका हुन्छन् ।

इतिहासले यसका उदाहरणहरू पनि छाडेको छ । जस्तै, सोफी टल्स्टोय जसले जीवनभर आफ्ना श्रीमान् लियो टल्स्टोयका कृति टाइप, सम्पादन र प्रकाशन सम्मको काम गरिन्, तर उनको नाम इतिहासले लगभग बिर्सियो ।

नेपालमा पनि यस्तै मौन नारीहरू धेरै छन् । ‘गौरी घिमिरे’को असामयिक निधनपछि महाकवि माधव घिमिरेका रचनाहरूमा नारीमय भावनाको बाढी आइरह्यो । उनी प्रेरणाकी श्रोत बनिन् ।

त्यस्तै, महाकवि लक्ष्मीप्रसाद देवकोटाकी श्रीमती ‘कान्ता देवी’ जसले गरीबी, अस्थिरता र कठिनाइको बीचमा परिवार सम्हाल्दै देवकोटालाई सृजनामा डुब्न दिइन् । देवकोटाका कवितामा बारम्बार देखा पर्ने देवी, माता र त्यागी नारी शायद कान्तदेवीकै छाया हुन् । विभिन्न रूपमा देखिएकी । हरदम माफ गरिरहेकी । कहिले सरस्वती त कहिले दुर्गाको स्वरूपमा देखिएकी ।

तर अब समय बदलिएको छ। ‘लेखककी श्रीमती’ अब केवल पर्दा पछाडिको पात्र होइन, उनीहरू स्वतन्त्र लेखक पनि हुन् । उदाहरणका लागि, नरेन्द्र प्रसाईँ र इन्दिरा प्रसाईँ । जहाँ नरेन्द्र कवि, निबन्धकार र समालोचक हुन्, र इन्दिरा संवेदनशील कथाकार र नारी चेतनाको आवाज ! त्यस्तै, नयराज पाण्डे र मोनिका पाण्डे, विमल निभा र विमला कुमारी निभा, ध्रुव सापकोटा र शान्त सापकोटा, र बेलायतमा बसेर नेपाली भाषामा लेख्ने गोपी सापकोटा र निर्मला प्रसाईँ लगायतका जोडीहरू पनि सह–सृजना या एक अर्काका परिपूरकका उदाहरण हुन् ।

नयाँ पुस्तामा त ब्लगर, पत्रकार, कवि र लेखिका दम्पतीहरू संयुक्त रूपमा लेखन र विचारको जग सुदृढ पार्दैछन् । यी जोडीहरूमा साहित्यिक सहकार्य, साझा प्रकाशन, र एक–अर्काप्रतिको सम्मान स्पष्ट देखिन्छ ।

‘लेखककी श्रीमती’को कथा प्रेम र स्वतन्त्रता, सम्मान र अदृश्यताको द्वन्द्व हो । तर यो द्वन्द्व अब बिस्तारै बिस्तारै साझा पहिचान या आफूले पनि केही गर्नुपर्छ भन्ने भावनाबाट ओतप्रोत बन्दै छ । प्रविधिको विकास र महिला स्वयम्मा एक चाहनाको विकासले पनि नारी हस्ताक्षर अब बढ्दो क्रममा देखिन्छ । यसैले भन्न सकिन्छ- नारी अब पुरुषको प्रतिबिम्ब मात्र होइन उनी सृजना र स्वतन्त्रता अनि आफ्नै विचारको प्रेरणाको स्रोत पनि हुन् ।

लेखककी श्रीमती अब मौन दर्शक होइन, कलम समात्ने आवाज भएकी छन् । साहित्यले अब ती मौन नामहरूलाई खोज्नुपर्छ जस्तो लाग्छ मलाई, जसले कहिल्यै लेखकको कलम रोक्न दिइनन्, बरु आफ्ना इच्छा मारिन्, सृजनाको आगो निभ्न दिइनन् । त्यसैले मलाई लाग्छ उनीहरू इतिहासको छायामा होइनन्, कलमको अग्रभागमा छन् ।

(यो लेखकी रचनाकार लेखक ‘ददिराम सापकोटा’की पत्नी हुनुहुन्छ । हाल उहाँहरू फ्रान्सको राजधानी पेरिसमा बस्नुहुन्छ ।)