“मान्छे हराएको सूचना त पढिरहेको हो, यो देश हराएको सूचना त पहिलो चोटि पढ्न पाइयो। कता हराइछ कुन्नि ! हिजो अस्तिसम्म त त्यतै लम्पसार परेर सुतिरहेको देखेको थिएँ।”

पत्रिकामा छापिएको सूचना पढेर आफ्नो प्रतिक्रिया सुनाउँदै थिएँ म श्रीमतीलाई। मेरो कुरा सुनेर केही सोच्न थालिन् उनी। उनको खुम्चिएको निधारले निकै गहिरो सोचको सङ्केत गर्दै थियो। म चुप रहे। केही छिनपछि मौनता भङ्ग गर्दै बोलिन् उनी, “खोज्न जानु पर्यो कि क्या हो ! त्यस्तो हिँड्नै नसक्ने देश अचानक कता पुगिछ ? कुन भिडमा हराउन पुगिछ।  न कतै कसैले उठाएर पो लग्यो कि ? त्यसलाई हेर बिचार गर्ने पनि त कोही भएन नि ? नत्र भने त्यतिकै हराइहाल्ने खालको त थिइन।”

उनको निकै बेरको सोचपछि आएको ‘खोज्न जाने’ सुझाव मलाई पनि सान्दर्भिक लाग्यो। तर कहाँ खोज्न जाने ? प्रश्न आफैँपट्टि तेर्सिंदा उत्तर रहित रनभुल्लमा परेँ म। मेरो जस्तो अवस्था श्रीमतीको पनि रहेछ। हराएको देश खोज्ने प्रसङ्गमा दुवैले आफ्नो सुद्धि बुद्धि हराउन पुगेको हामी स्वयंलाई नै थाहा भएन।

दुवै त्यतिखेर झस्किन पुग्यौँ जुन बेला पुरानो मित्र अगाडि आएर सोध्दै थिए, “हैन ए मित्र, देश त हरायो नि, कतै देख्नु भएको छ कि ? म त खोज्न हिँडेको।”

उनको कुरा सुनेर कौतुहलतापूर्वक सोध्न पुगे म, साथै आफू पनि खोज्न हिँडेको जिकिर गरेँ, “हैन ए मित्र कतातिर खोज्न हिँड्नु भयो त हराएको देश, उत्तरतिर कि दक्षिणतिर ?”

मेरो प्रश्नमा गम्भीर भएर उत्तर दिए उनले, “रेडियोको सूचनामा पछिल्लो चोटि दक्षिणतिर देखिएको भन्ने विवरण छ, त्यसैले मेरो खोजाइ पनि त्यतैबाट सुरु गर्ने निर्णय गरेको छु। अचम्म त के भने, त्यस्तो लम्पसार परेर सुतेको, हिँड्न पनि नसक्ने देश अचानक कसरी दक्षिणको बाटो लागिछ। मलाई त कसैले अपहरण गरी बेच्न पो लागेको हो भन्ने सन्देह भइरहेको छ।”

उनको सन्देहमा मैले पनि समर्थन जनाएँ। अनि दुवै लागियो हराएको देश खोज्न।

हजुरबाले भन्ने गर्नु हुन्थ्यो। उहिले देश तन्नेरी अवस्थामा निकै राम्री थिइन् रे । हराभरा, खोलानाला झरना आदि गहनाबाट सुसज्जित अनि जताततै बाट सुगन्ध आउने उज्याली अनि समृद्धिशाली। पछि उनको रूप र सौन्दर्यले होला निकै किरा पठ्याङ्ग्राहरू आकर्षित भए रे। जसरी धमिराले काठलाई भित्र भित्रैबाट जीर्ण बनाउँछ, त्यसै गरी ती किरा फट्याङ्ग्राहरूले त्यस्ती राम्री देशलाई भताभुङ्ग पारेछन्।

जुकाले जस्तो रगत चुस्न पल्केका ती किरा फट्याङ्ग्राहरूको ज्यादतीले गर्दा लड्न पुगेकी देश अचानक कसरी हराउन पुगिन् भन्ने चासो जनमानसमा परालको आगो सल्के झैँ फैलिसकेको थियो। अनि हराएको देश खोज्न हिँड्नेहरूको लस्कर पनि लामै थियो। कोही उत्तरतिर लाग्दै थिए त कोही दक्षिणतिर। पूर्व र पश्चिम जानेको सङ्ख्या खासै थिएन। एउटा ठुलै जत्था म र मेरो मित्र झैँ अपहरण भएको हो भन्नेमा विश्वस्त देखिन्थ्यो।

कसले गर्यो त अपहरण ? अपराधीलाई के सजाय दिने ? हराएको देश कहाँ गएर खोज्ने ? प्रहरी र सैनिकको प्रयोजन आवश्यक छ ? अपहरणकारी कतै हामी बिचमै त लुकिरहेका छैनन् ? प्रश्नहरूको ओइरो लागिरहेको थियो प्राय सबैको मनमा। तर उत्तर कसैसँग थिएन या शायद उत्तर खोज्ने जमर्को कसैले गरेका थिएनन्। त्यसैले होला हराएको देश भेटाउने भन्दा पनि ती खोज्न हिँडेका लस्करहरू नै कतै हराउने हुन् कि भन्ने डर बढेको थियो।

अपहरणकारीहरूको बाहुल्यता भएको भन्ने कुरा सुनिनुमा आएको धेरै भइसकेको अवस्थामा कतै खोज्न जाने समूह पनि तिनै अपहरणकारीको लहै लहैमा लागेर देश खोज्न भन्दा बेच्नमा नै फाइदा भन्न तिर लाग्ने हुन् कि भन्ने डरले म लगायत मेरो मित्र पनि भयभीत देखिन्थे।

अपहरणकारीसँग सम्झौता पो गर्नु पर्ने हो कि ? केही दिएर देश फिर्ता लिनु पर्ने हो कि ? के छ र देशसँग साट्न मिल्ने ? अनेक अनुत्तरित प्रश्नहरूको बाढी नै आइरहेको थियो मनमा।

“यत्रा विधि देशहरूको बिचमा हाम्रै देशलाई अपहरण गर्नु पर्ने यी अपराधीहरूलाई पनि”, मेरो मुखबाट निस्केको दिक्दारी सुनेछन् मित्रले अनि बोल्न थाले, “यी अपराधीहरू तिम्रो हाम्रो माझमा लुकेर बसेका थिए, यही जन्मे, यही हुर्के अनि यही मौका छोपेर बसे। गल्ती हाम्रो पनि यो यिनीहरूलाई चिन्न नसक्नु, त्यसैले हेर अहिले देश हराई अनि तिमी र म जस्तै यत्रा विधि लस्कर खोज्न हिँड्दै छौ। कहिले भेटिने हो वा कति कुरा दिएर देश फिर्ता लेराउनु पर्ने हो, केही पत्तो छैन।”

मित्रको कुरामा आशाभन्दा निराशा झल्किएको थियो। उनको निराशाले ममा भएको शक्ति पनि सेलाउँदै गएको महसुस गर्न थालेँ मैले। नकारात्मक कुराहरूले मन मस्तिष्क भरिन थालेको थियो। कतैबाट पनि सकारात्मक कुरा आएका थिएनन्।

आओस् पनि कसरी ! नदी, झरना, पहाड गर्दै मठ, मन्दिर र देवता समेत अपहरण भइसकेको इतिहास बोकेको देश अहिले स्वयम् अपहरण हुन् पुग्दा आश्चर्य लाग्नु पर्ने त थिएन। तर म जस्ता थुप्रै रहेछन् अझै देशलाई माया गर्ने त्यसैले होला देश हराउँदा चैन भने एक रत्ती थिएन। खोज्नु जरुरी थियो वा भनौँ अपहरण भएको अवस्थामा जसरी भए पनि फर्काउनु थियो देशलाई आफ्नै पुरानै रूपमा अनि त्यही ठाउँमा जहाँ उनको त्यो सौन्दर्य थियो, त्यो सुवास थियो, त्यो शान्ति थियो अनि त्यो समृद्धि थियो।

हराएको देश खोज्ने पहल त हामीले गरिसकेका थियौँ तर भेटिने कहिले हो त्यो टुङ्गो भने थिएन। वरिपरिका भिडमा मानिसहरू आ-आफ्नै अड्कलबाजीमा व्यस्त देखिन्थे।

“जबसम्म अपहरणकारीहरू हामी माझमै बस्न सक्छन् तब सम्म हराएको देश भेटिँदैन ।”

“यी धूर्त अपहरणकारीहरू आपस आपसमा मिलिमतो गर्दै हामीलाई झुक्याई रहन्छन्। देश हराएको हराई छ। हामी खोज्न दौडँदा दौडिँदै थाकिसक्यौँ। के गर्ने अब !”

“पूजा पाठ, होम, यज्ञ जे जे गर्न पर्छ गरौँ। भगवानको आराधना गरौँ, उनको कृपाले हराएको देश भेटिन्छ कि !”

“देश हराएको छँदै छैन। जहाँको त्यही छ, खाली हामीले देख्न सकेनौँ। यसको कारण देशको रूप परिवर्तन हो। हामीले पहिले जस्तै देश खोज्यौँ तर ख्याल राखेनौँ देश पहिले जस्तो छैन भनेर, त्यसैले हराएको जस्तो लागेको।”

मानिसका अड्कलबाजी कति स्वाभाविक थिए त कति अस्वाभाविक। यसै क्रममा अघिदेखि शान्त रहेकी श्रीमती बोलिन्, “देश कति पीडित होलिन् हराउन पुग्दा  कति रोइरहेकी होलिन् ? ती अपहरणकारीको कति ज्यादती सहनु परिरहेको होला ? दिनको उज्यालो पनि औँसीको रात जस्तो महसुस भइरहेको होला। कठै मेरो देश ! दैवले पनि कहिले सुन्ने होलान् हाम्रो पुकार ?”

उनले दैव सँग गुनासो गरिन तर म भने देशको सम्भावित अवस्था कल्पेर मन मनै रुन थालेँ।

उता मेरो मित्र “देश खोज्नै पर्छ, देश खोज्नै पर्छ” भनेर नाराबाजी गर्दै थिए।