झगडा हुनलाई कुनै निहुँ चाहिंदैन । साम्य हुनलाई पनि चाहिंदैन । नबोल्न बोल्न… अहँ चाहिंदैन । मनको कुनामा कुन असन्तुष्टि गुजुल्टिन्छ र त्यसै त्यसै निराश बनाउँछ । कुन खुसी उम्रिन्छ र उमङ्ग जगाइदिन्छ । छिनछिनको कुरा हो यो । लेकको मौसम र निख्खर प्रेम उस्तै हुन्छ । घाम लागे प्रेम जस्तो । बादल लागे घृणा जस्तो ।
घृणा गर्छु भन्नेसँगै प्रेमको सागर हुन्छ । प्रेम गर्छु भन्नेसँग कुटिलता । प्रेम गर्नेले प्रेम देखाउन सक्दैन । प्रेम देखाउनेले कला देखाउँछ । प्रेम कला होइन यो त सजीव यथार्थ हो । कलामा लेपनकाे आवश्यकता हुन्छ । यथार्थ नाङ्गै हुन्छ । नाङ्गो चैँ प्रेम हो र ठाँटबाट कौटिल्य । कौटिल्य नीतिमा आधारित हुन्छ । कहाँसम्म ठिक कहाँदेखि बेठिक भन्ने अगाडि नै तय भएको ।
तयवाला ठाँट चैँ तत्काललाई आकर्षक हुन्छ । यसले समय नआउन्जेल चुम्बकले झैं काम गर्छ । यसको निश्चित परिधि हुन्छ । प्रेम नाङ्गो हो कि ठाँट थाहा पाउन परिधि तोड्न खोजे पुग्छ । परिधिभन्दा बाहिर उल्झन देखिए ठाँट हो । सहज स्वीकृत भए नाङ्गो ।
स्वीकृत हुनलाई प्रस्ताव चाहियो नि ! निख्खर प्रेममा प्रस्ताव नै कहाँ हुन्छ र ! त्यहाँ त हक हुन्छ । हक प्रयोग गर्न सोच्नु पर्दैन । सोच समझ त सम्झौतामा चाहिन्छ । प्रेम सम्झौता होइन । यो त बन्धनरहित हुन्छ । स्वतन्त्र घाम जस्तो प्रकाशमय । फरक, घाम प्रकाशित हुन जान्दछ प्रेम जान्दैन । यही अप्रकाशित प्रेम चैँ निख्खर हो । यसमा शब्द कम भावना ज्यादा हुन्छ ।
भावना पनि दुई किसिमका छन् । एउटा अभिनेय अर्को प्राकृतिक । अभिनेय बलशाली हुन्छ । प्राकृतिक कमजोर । यही कमजोर भावना त हो नि प्रेमको सूक्ष्मता । अँ ! प्रेम जाँच्नलाई भावनाको मजबुत पनि आधार हो । कमजोर छिनछिनमै चुँडिएजस्तो हुन्छ । छिनछिनमै चुँडियाे भने तपाईं प्रेममा हुनुहुन्छ । अथवा, चुँडिनु पर्ने कारण पत्ता लागेन भने सूक्ष्मता भेट्नु भयो । यो सूक्ष्मतालाई रिसाउन, साम्य हुन, बोल्न, नबोल्न… कारण चाहिंदैन ।
भावनाको सूक्ष्मता मनाेपाेषित हुन्छ । अजर अमर हुन्छ । यो रिसाउँछ तर रिसाउन सक्दैन । यो तोडिन्छ तर तोडिन सक्दैन । यो त जीवन पश्चात् पनि आत्मामा केन्द्रित हुने चिज हो । कहिल्यै अनुभव गर्नु भएको छ ? अपरिचित मान्छेको छेउमा आनन्दानुभूति ? रमणीय अनुभव ? एक प्रकारको आकर्षण या मोहनी ? छ भने त्यो अघिल्लो जन्मको भावनात्मक सूक्ष्मता हुन सक्छ ।
यो अघिल्लो जन्म भन्ने शब्दले तपाईंलाई पढ्न मन नलागेको हुन सक्छ । विज्ञानको युगमा अघिल्लो जन्मको कुरा स्वैरकल्पना लाग्न सक्छ । लाग्यो भने तपाईं समझदार हुनुहुन्छ । किनभने, विज्ञान आफैँमा स्वैरकल्पनाको उपज हो ।
विज्ञानलाई घटाउँदै ल्याउनुभयो भने त्यसको थालनीमा स्वैरकल्पना जिम्मेवार छ । स्वैरकल्पना भनेको कल्पनाको विकृत रूप हो । कल्पनामा बुद्धि मिसियो भने विकृत हुन्छ । यो विकृति कतिपय फलदायी हुन्छ भने कतिपय विनाशकारी ।
कल्पना ज्ञान हो स्वैरकल्पना बुद्धि । ज्ञान र बुद्धिको संयोग विज्ञान । भावनाको सूक्ष्मतालाई परिष्कार गर्न लाग्नुभयो भने यो विज्ञान जस्तो बन्न सक्छ । त्यसैले तपाईं यसको लम्बाई, चौडाइ, उचाइ नाप्न थाल्नु हुन्छ । यस्तो भयो भने यो विज्ञानको विनाशकारी पाटो बन्न सक्छ । त्यसैले, अपरिष्कृत हुनु यसको सौन्दर्य हो ।
अँ कुरा बरालियो । हामी पूर्वजन्ममा थियाैं । पूर्वजन्म र प्रेमको, हैन हैन निख्खर प्रेमको, त्यो पनि हैन क्यारे भावनाको सूक्ष्मताको कुरा हुँदै थियो । भावनाको सूक्ष्मता देखिने चिज हैन । महसुस हुने चिज हो । ध्यान गर्नु भएको छ ? ध्यान पढेर वा सुनेर महसुस हुँदैन । ध्यानमै बस्नु पर्छ । हावा पनि त देखिंदैन । नदेख्नुको मतलब हुँदैन भन्ने हाेओइन । भगवान् हुँदैन भने हुँदैन । हुन्छ भने हुन्छ । हरेक चिजको सूक्ष्मता भगवान् हो । सुकरातले यसैलाई शिवत्व भनेका हुन् । देवकोटाले पनि ।
कुनै पनि कुरा जीवन्त हुनलाई शिवत्व चाहिन्छ । मान्छे भित्र आत्मारूपी शिवत्व छ । जीवन चलाउने प्राणवायुरूपी शिवत्व । यस्तै यस्तै हुँदै सर्वव्यापी शिवत्व भनेको प्रेमको सूक्ष्मता हो ।
बुद्धको वाणीदेखि अल्ट्राभाइलेट विपन हुँदै जैविक हतियारसम्म सबैको सुरुवात प्रेमको सूक्ष्मताबाट सम्भव भएको हो । हतियारमा प्रेमको सूक्ष्मता ? मैले अगाडि नै भनेँ नि यसमा बुद्धि मिसिएको हो ।
यो बौलाएछ भन्दै हुनुहुन्छ होला ! खास के भने आज बिजुली मैयाँले पनि आफ्नो सूक्ष्म सौन्दर्यमा विवेक घोलिन् र मदेखि टाढा भइन् । म मोबाइलको नोटमा ट्याम्पास गरिरहेछु । ट्याम्पास भनेको अङ्ग्रेजीलाई नेपालीकरण गरेको हो । कस्तो विरूप है ? आफ्नो समयमा अर्काको ट्याम घुसाएपछि भाषाको सूक्ष्मता या शिवत्व विरूप हुन्छ । जसरी नाप तौलले भावनाको सूक्ष्मता विकृत हुन्छ ।
ए! पूर्वजन्म र पुनर्जन्मको कुरा झन्डै छुटाएको । भावनाको सूक्ष्मताकै सन्दर्भमा आएको कुरा हो । यो पनि प्रमाणित हुँदैन । महसुस गर्ने कुरा हो । केही कुरा मैले अगाडि नै भनेँ । ध्यानदेखि भगवान्सम्मको । धर्मले भगवान् हुन्छ भन्छ । हुन्छ भन्छ हैन बनाउँछ । अध्यात्मले भगवान् महसुस गराउँछ । धर्मको भगवान् साकार छन् अध्यात्मको निराकार । सूक्ष्मता भन्ने शब्द अध्यात्मसँग सम्बन्धित छ । अध्यात्मको सहायताले पूर्वजन्म र पुनर्जन्मको महसुस गर्न सम्भव छ । अध्यात्म पनि भावनाको सूक्ष्मता हो । मतलब यो पनि निख्खर प्रेम हो । परात्माप्रतिको प्रेम । त्यसैले यसमा योग हुन्छ । योगको प्रयोग हुन्छ । मुक्तिको राग हुन्छ र त्यसको अलाप हुन्छ ।
अध्यात्मको रहस्योद्घाटन ध्यानले गर्छ । ध्यान भावनाको सूक्ष्मको पनि सूक्ष्मतम रूप हो । यसको उत्कर्षमा भावना आनन्दमा परिणत हुन्छ । आनन्दमय हुनु ध्यान हो । यो कुनै नौलो कुरा होइन । यसले जीवनकाले हर आयामको अनुभव गराइदिने मात्र हो । दुनियाँको सम्पूर्ण रहस्य मानव शरीरमा निहित छ । ध्यानले त्यसको उजागर गरिदिन्छ । त्यही हो तेस्राेनेत्र खुल्नु भनेको । जब तेस्रा नेत्र खुल्छ सम्पूर्ण जीवन छर्लङ्ग हुन्छ । चाहे पूर्व होस् चाहे उत्तर ।
चाहे जुनसुकै कुराको होस् सूक्ष्मता बुझ्ने मान्छे स्रष्टा हुनुपर्ने हो । तर, ऊ द्रष्टा भैदिन्छ । त्यसैले, सृष्टि त्रुटिपूर्ण भैदिन्छ र दृष्टान्त सर्वगुण सम्पन्न ।
जीवन त्रुटिपूर्ण छ मृत्यु सर्वगुण सम्पन्न । द्रष्टा बन्न बारम्बार पुनर्जन्म लिनुपर्छ स्रष्टा बन्न बारम्बार भूल गर्नुपर्छ । भूलमा प्रेम छ अथवा स्रष्टामा प्रेम छ द्रष्टामा निर्ममता । द्रष्टाले दृष्टि सच्याउन प्रेरित गर्छ । स्रष्टा बारम्बार भ्रमित भैरहन्छ ।
यिनीहरू दुबैको योग जीवन हो । जीवन भनेको कृति । कृति संस्कार हो मर्दैन । जीवनकाले संस्कार पनि आत्मामा अमर रहन्छ । भावनाको सूक्ष्मता आत्मा हो । आत्मा ईश्वर (प्रकृति) को सूक्ष्मतम उपहार हो । ब्रह्माण्डको एउटा सूक्ष्मतम रूप । त्यसैले आत्मज्ञान ब्रह्मज्ञान हो । ब्रह्मज्ञान निख्खर प्रेमको सूक्ष्मता बाेधबाट सम्भव छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।