घर एउटा यस्तो ठाउँ हो, जहाँ मन बस्छ । नाङ्गो आँखाले देख्दा घरभित्र मनहरू बस्छन्, तर मनले देख्दा मनहरूभित्र घरहरू बस्दारहेछन् । त्यसैले त होला सायद, विद्यालयमा शिक्षिकाले गाली गर्दा मन दुखाएको अबोध बालकले आँसु खसाएर भन्छ घर जान्छु । र, घर सम्झन्छ । बाटामा बालबालिकाहरू चल्छन् झगडा गर्छन् । रोए, मन दुखाए भने घर सम्झन्छन् । र, घर जान्छु भन्छन् ।

सायद त्यसैले होला, म सानो छँदा हजुरबुवासँग बस्तु चराउन जङ्गल जान्थे । त्यसबखत आकाशमा बिजुली चम्कँदा, मेघ गर्जंदा, अनि चट्याङ पर्न खोज्दा म सधैँ सधैँ घर सम्झन्थेँ । जब मेघ गर्जन थाल्दथ्यो, म सधैँ हजुरबुवालाई ‘घर जौं’ भन्दथे । यदि साँच्चै चट्याङ्ङ नै परे घर गोठले नथाम्ने कुरा मलाई मेरो माक्ला दाजुले राम्रो सम्झाउनु भएको थियो । अझ भनौं चट्याङ् नै परे घरले नछेक्ने कुरो मलाई राम्ररी थाह थियो तै पनि जब मेघ गर्जेर, बिजुली चम्कन थाल्दथ्यो, म हजुरबुवाको चोरी औंला समातेर घरसम्म ल्याएपछि मात्र म ढुक्क हुने गर्थे । साँच्चै घर मेरो मनभित्र भएर न यति छिटो घरको याद आउँथ्यो होला । अनि म जब घरभित्र बस्दथेँ, आफूलाई सबैभन्दा सुरक्षित महसुस गर्दथे । त्यसैले त होला सायद घर हाम्रो मनभित्र बस्नेरहेछ अनि हामी घरभित्र ।

घर छोडेर संसारको कुना कुनामा मानिसहरू धन कमाउन पुग्छन् । ज्ञान, धन, सीप र शिक्षा हासिल गर्न पुग्छन् । तर उनीहरू सञ्चो, बिसन्चो हुँदा पनि घर सम्झन्छन् । अलिकति सपनाले छुँदा पनि घर सम्झन्छन् । बरु मर्नै परे पनि घरैमा मरौं भन्छन् । घर साँचै उनीहरूको मनमा नहुँदाे हो त, उनीहरू घरैमा मर्ने सपना सायदै देख्दैनथे ।

कोसौं तलबाट सुरु भएको पहिरो हरेक बर्खामा अलिअलि गर्दै चार सालमा आँगन चरक्क चर्कायो । घरबारी आधा बग्यो । करेसाबारी एक-एक डिल तल-तल सरिसक्यो । कुनदिन या कुन रात पहिरोले घर तान्छ पत्तो भएन । कुन दिन रेडियो समाचार बन्छौ पत्तो भएन । कुन दिन टेलिभिजनको समाचारको दृश्य बन्छौ पत्तो भएन । त्यसैले त धेरै गाउँलेहरू बसाई सरिसकेका थिए । बुवा र आमाले दुःखले पर गैरीगाउँमा नयाँ घर बनाउनु भयो । त्यही नयाँ घरमा बसाई सरौँ भनेको हजुरबुवा र हजुरआमा मान्नु भएन । हामी मरे पनि यही घरमा मर्छौं भन्नु भयो । यहीबाट थाह हुन्छ हजुरबुवा र हजुरआमाले आफूले बनाएको त्यो घरलाई आफ्नो जिन्दगीभन्दा धेरै माया गर्नुहुन्थ्यो । त्यही घर उनीहरूको मनभित्र थियो र न मरे पनि यही घरभित्र मर्छौ भन्नुहुन्थ्यो ।

गाउँ गाउँबाट छोराछोरी नाति नातिना सबै सहरबजार छिरे । देश विदेश छिरिसके गाउँहरूमा घरहरू छन् । अनि बुढापाकाहरू छन् । अझै पनि बुढा पाका घर छोड्न सक्दैनन् । गाउँघरबाट युवायुवती सर्लक्क सहर सरे जसरी सहरबजारका देश विदेश सरेका छन् । वास्तवमा भन्ने हो भने यो समय घर छोड्ने समय बनेर आएको छ । हाम्रो देशबाट अन्य देश सरेका ती छोरा छोरीले आफ्ना बुवाआमालाई आफूसँगै लग्न नसक्ने कदापि होइन । तर यी घरहरू छोडेर क्यानडा, अस्ट्रेलिया, युके, युएसएका ती ठुला-ठुला घर अनि कोठाहरूमा कदापि बुवाआमाका मनहरू अटाएनन् ।

गल्ली-गल्ली, छेडी-छेडीमा टेको लगाइएकै भए पनि आफ्नै गाउँ शहरको, आफ्नै देशको घरहरूलाई छोड्न सकेनन् ती आमाबुबाहरूले । यो हेराइबाट हेर्दा शहर भए पनि गाउँ भए पनि एउटै पीडामा छन् । तर सहरका घरहरूमा कुल्ली, ज्यामीदेखि लिएर हाकिम, पिउन, विद्यार्थी अनेकौँ मानिसहरू बस्छन् । तर मानिस-मानिस बिचमा पनि मानिस चिन्दैन ।

सहरका घरहरूमा मानिसहरूको भिडमा एक्लो भइन्छ मानिस आफैँ । त्यसैले त भन्छन् सायद, सहरमा घरहरू नजिक-नजिक भएर पनि मनहरू टाढा-टाढा हुन्छन् । सहरमा मर्दा-पर्दा देख्ने कोही हुँदैनन् । गाउँमा घरहरू टाढा-टाढा भए पनि मनहरू नजिक नजिक हुन्छन् । मर्दा-पर्दा हेर्ने मसिनहरू हुन्छन् । तर आजभोलि लास उठाउने पनि तन्नेरी छैनन् गाउँहरूमा । घरहरू एक्लो-एक्लो छन् गाउँमा । वर्षौ वर्ष पनि एक्लै उभिरहेका छन् घरहरू फक्ताङलुङ (कुम्भकर्ण) जस्तै गरी अनि चम्जङलुङ (सगरमाथा) जस्तै गरी । छोराहरू मुगलान पसेसँगै बुहारीहरूले घर छोडे तर घरहरूले मन कहिले छाडेनन् घर त साँचैकै घरै रहेछ ।

हुरी चल्दा मनले घर सम्झन्छ । वर्षात् हुँदा मनले घर सम्झन्छ । सुनामी आउँदा घरको याद आउँछ । आकाशमा मेघ गर्जंदा, बिजुली चम्कँदा, असिना बर्सिंदा मनहरू घरमा ठोकिन्छन् । लड्दा पर्दा, दुःख बिराम पर्दा मनहरू घरमा ठोकिन्छन् । साथमा कोही नभएर एक्लो-एक्लो हुँदा घरमा पुग्छ मन । अनि हुलमुलहरूमा मानिस मानिसहरूबिच एक्लो-एक्लो महसुस हुँदा घरमा पुग्छ मन । त्यसैले त घरभित्र हामी बसेर पनि हाम्रो मनभित्र बसेको हुँदोरहेछ घर । कहिल्यै उता कुनामा ड्याङ्ग ठोकिन्छ । कहिल्यै यता कुनामा ड्याङ्ग ठोकिन्छ मनभित्र घर । घर साँच्चिकै घर नै रहेछ ।

भनिन्छ, समय बलवान् हुन्छ । वास्तवमा हो रहेछ । हामीले यति धेरै माया गरेको घर । मनभित्र राखेको घरबाट हामी टाढा भाग्नुपर्ने समय पनि आउँदो रहेछ । जसबखत हामी घरसँग डराएर टाढा भाग्ने रहेछौं ।

राजधानीको एउटा प्रमुख ठाउँ ललितपुरको लगनखेलदेखि जावलाखेलसम्मको बजार क्षेत्र कुमारीपाटी । दायाँबायाँ अग्ला-अग्ला घरहरूबिचको चिल्लो बाटो सहितको बजार क्षेत्र । वर्षमा एकपटक ५ दिनसम्म चल्ने कुमारीपाटी जावलाखेल महोत्सव चलिरहेको हुन्छ । महोत्सवको दोस्रो दिन शनिबारसमेत परेकाले बढी भिजिटरको अपेक्षासहित हामी हाम्रो प्रर्दशनी स्थललाई विशेष श्रृङ्गार तथा व्यावसायिक अफरहरूलाई अझ बढाएर तयारीमा जुट्यौं । समयसँगै भिजिटरर्सको सङ्ख्या बढ्दै गयो । घडीमा बाह्र बजेको केही समयमै पृथ्वी पल्टेझैँ गरेर जमिन हल्लिन थाल्यो । मेलामा आएका ती हजारौँ मानिसबिच सडकमा कोही रुने, कोही चिच्याउने क्रम सुरु भयो । कुमारीपाटीजस्तो दुई तिरै घरले घेरिएको बिच सडकमा हामी पनि एक अर्काको हात समातेर घरी दायाँ त घरी बायाँ गरिरहेका थियौं ।

भूकम्प रोकिन्छ भन्ने आशामा बसेका हामीहरूले धरहरा ढल्यो, यति मानिस मरे, हरिसिद्धिमा पुरै घरहरू ढलेजस्ता समाचारले हामी झन् आतङ्कित बन्न थाल्यौं । भूकम्प नरोकिने तथा ठुलो धनजनको क्षति भइसकेको महसुस गरी तत्काल हामी प्रर्दशनस्थलबाट अघिल्तिर रहेको अग्लो घरको पाँचौं तल्लामा रहेको हाम्रो कम्पनीको कार्यालयमा हाम्रो सामान थन्काउन जुट्यौं ।

हामी हातमा कम्प्युटर प्रिन्टर लिएर घरको तल्ला चढिरहेका हुन्थ्याैं । जोडसँग घर भूकम्पले हल्लाउँथ्यो हामी सामान त्यही छोडेर तल भाग्थ्यौं । कम्पन केही कम भएसँगै हामी पुनः माथि चढ्थ्यौं फेरि हल्लाउने बित्तिकै तल दौडन्थ्यौं । भूकम्पको समय यस्तो समय रहेछ, जुन समय हामी घर भन्ने शब्दसँग पनि भाग्ने रहेछौं । यो समय हामी घर सम्झन त परै जाओस्, घर देख्ने बित्तिकै जुत्ता छोडेर भाग्ने रहेछौं । मानिसलाई घरसँग यति धेरै डर हुने रहेछ । मानिसहरू आयो-आयो भनेर चिच्याउँथे हामी घरभन्दा टाढा-टाढा भाग्थ्यौं ।

हामी घरको चौथो तल्लामा चढिरहेका थियौं । एक्कासि भूकम्पको धक्कासँगै घर हल्लिन सुरु भयो । चिच्याहट सडकमा छताछुल्ल मानिसहरू चिच्याएको सुनिन्थ्यो । हामी हातमा लिएका सामान भुइँमा छोडेर घरको सिँढीबाट बाहिर निस्कन थाल्यौं । अपसोस मानिसहरू यति धेरैको सङ्ख्यामा घरभित्र पसिरहेका थिए । त्यहाँ न त तल झर्न सकिन्थ्यो, न त केही सोध्न सक्ने परिस्थिति नै थियो । भिड घरको सिँढीहरूबाट यसरी माथि उक्लिरहेको थियो कि हामीलाई उचालेरै अझ माथिको तला चढाउनेछन् । म महसुस गरिरहेको थिएँ भूकम्पले हल्लाइरहेको थियो । तर मानिसहरू घरसँग डराइरहेका थिएनन् ।

केही समयअघि मात्र भूकम्पको कम्पनसँगै घरभन्दा टाढा-टाढा भाग्ने त्यो भिड अब जस्तो कम्पन आए पनि घरभित्र बेपरवाह छिरिरहेको थियो । मलाई लाग्यो जमिन फाट्न सुरु भयो त्यसैले मानिस घरभित्र छिरिरहेका छन् । वास्तविकता बुझ्न भिडलाई पन्छाउँदै जब म बाहिर आए बाटोहरू उस्तै थिए । कुनै जमिन त फाटेको थिएन । केही समयपछि बुझ्दा पो परतिर जावलाखेलमा भूकम्पले चिडियाखाना भत्कियो । बाघ निस्केर कुमारीपाटीतिर आएको हल्ला रहेछ । अनि पो मानिसहरू भूकम्पको प्रवाह नगरी घरभित्र दौडिएका रहेछन् । बाघको हल्ला सुन्नुअघि भूकम्पमा घरको छाया पनि देख्न नहुने मानिसहरूलाई बाघको हल्लाले मात्र पनि घरको यति नजिक बनायो । कि सबै मानिस भूकम्प बिर्सिएर घर खोजी-खोजी भित्र छिरिरहेका थिए । घर वास्तवमा हाम्रो मन मस्तिष्कमै हुने रहेछ ।

भोलिपल्ट मात्र थाहा भयो, कि चिडियाखानाका बाहिरको केही इँटाको गाह्रो मात्र भत्किएको रहेछ । र, बाघ निस्किएको पनि होइन रहेछ । थोरै कुरालाई धेरै बनाएर बोल्ने हाम्रो आचरण खराब मात्र रहेछ ।

एक दिन म गाडीबाट कामको लागि निस्किएँ । काम भनेको त्यही न थियो शिक्षक मान्छेको पढाउने काम । गाडी राम्ररी चलाइरहेको थिएँ । मनमा कुराहरू खेल्दै गएँ । गाउँको एक्लो घरहरूमा मनहरू ठोक्किए । मेरो घरको प्वाल प्वालहरूमा गौँथलीले कति राम्रो-राम्रो उसको आफ्नो घरहरू बनाइसक्यो होला । मैले मात्र एक्लै छोडिराखेँ मेरो घरलाई । कसरी ठिङ्ग उभिरहेको होला एक्लो घर । एक छिनमा थाहा पाएँ म त विद्यालय कटेर पनि निकै पर पुगिसकेछु । एक्लै हाँस्ने पागल हो भन्थे । म एक्लै हाँस्दै फर्केर आएर पढाइ राखेर कोठा फर्केँ ।

अहिले पनि सम्झन्छु, सहरमा प्रत्येक कोठाहरूमा अलग-अलग मानिसहरू बस्छन् । एउटा कोठाको भाडा हजारौँ रुपैयाँ तिर्नुपर्छ । यता मैले एउटा सिङ्गो घर भाडामा लिएको छु । एउटा घरको भाडा एक पेटी बुझाउनु पर्छ हरेक महिना । चाहे भएका जायजेथा बेचेर होस्, चाहे साँझ बिहान छाक काटेर होस् समयमा पेटी गन्नुपर्छ । उता गाउँमा मेरो घरमा बसिदेउ म मासिक पैसा दिन्छु भन्दा पनि बसिदिने कोही हुँदैनन् । एक्लो छोडेको घरको याद आउँछ । अब त भित्ताहरू पनि चर्किसकेका होलान् ।

अब त परार साल पनि भइसक्यो क्यार म घर पुगेको थिएँ । त्यो भन्दा यता म घर पुगेको छैन । रातो माटोले लिपेको सबै वर्षातकाे बाछिटाले बगाएर फिक्का-फिक्का बनाइसकेको थियो । पक-पक उक्किएका थिए गोबर र माटोले लिपेका भुइँहरू । ढोकानेर कति सुन्दर बुट्टेदार जाली जालीवाला घर बनाएको रहेछ माकुराले । तर त्यो जालीमा एउटा झिँगा पनि परेको थिएनन् । यो देखेर मन खिन्न भयो, हामीले छोडे पछि त जाबो झिँगाले पनि घर छोड्ने रहेछ ।

आँगनमा फूलहरू भन्दा लामा-लामा झारहरू थिए । पिँढीमा जाँतोको मुखबाट उम्रिएको मकै लामो नभई सुकेर सानोमै खोस्टा भएर बसेको रहेछ । माथि बार्दलीमा घरमाहुरीहरू एउटा-एउटा जाने आउने गरिरहेका रहेछन् । ठुलो रातो अरिङ्गाल घरमाहुरीको गुँडको मुख पनि घुमिरहेको रहेछ । पक्कै छानी-छानी माहुरीहरूलाई समातेर लगिरहेको छ त्यसले । यो सब नहुने हामीले घर रुँगेसम्म मात्र रहेछ । सम्झिंदा मन दुख्छ । देख्दा आँखाहरू दुख्छन् ।

झ्याउँकिरीहरू झ्वाइँ-झ्वाइँ गरी एउटै लयमा गीत गाइरहेको थिए । मानौँ उनीहरूलाई एकदमै वैराग चलेको छ । ओखरबोट मुन्तिरको बाटो हुँदै बाटैबाटो गएँ । शान्त वातावरणमा एकोहोरो घामको किरणहरू गाँउभरि छरिएका थिए ।

एउटा दुइटा होइन धेरै घरहरू एक्लो एक्लो थिए । कति घरहरूमा ढोकाहरू लगाइएका थिए त कति घरहरूमा ढोकाहरू खुल्ला खुलै छोडिएका देखिन्थे । यसरी नै हेर्दै गाउँ छेउको घरनिर पुगेथेँ । खरले छाएको घर । यताउति एक दुई ओटा फूलहरू फुलेका । तर ती फूलका बोटहरू भन्दा लामा-लामा झारहरू कुरोका बोटहरू । परतिर बाबरी फूलको बोट घरको भित्ता चर्काएर ठुलो झ्याङ बनाइसकेको रहेछ ।

घरको आँगननिर टिमुरको ठूलो बोट माथि-माथि टुप्पोमा राता-राता टिमुरका पाकेका दानाहरू । भेटिने जतिका उचाइसम्मका हाँगाहरू शुद्ध भाँचेर टिपेर लगाएको । भाँचिएका हाँगाहरूमा सुकेको पातहरूले बताइरहेका थिए । घरछेउमा भएको घरधनी बिनाको बिरुवाको दुःख यो भन्दा धेरै के हुनु । टिमुरको बोटमुनि गाईको गोठ आदि छानो भत्किसकेको रहेछ । गोबरको मलमा हरियो झाँगिएका उदासे झारहरू, पुलुङ्घे झारहरू रहेछन् । वर्षौं पुरानो गोबरको डल्लो सुकेर कक्रक्क डल्लो परेर बसेको रहेछ ।

यी सबै कुराहरू ले बताइरहेका थिए यी घरका धनीहरूले घर माया मारेको । तर पनि ढोकामाथि ठुलो भोटे ताल्चा तेस्रो पारेर झुण्डिरहेको रहेछ । सिकुवामा लिपेको गोबरमाटो सबै उक्किसकेको रहेछ । चुहिएको छानोबाट आएको पानीका लामा-लामा रेखाहरू, भित्ताहरू । घरको भित्तामा लगाइएको कमेरो माटोको रङ् पक-पक उक्किएर झरिरहेको रहेछ ।

यी सबै हेरिसके पछि यो भन्दा परको गाउँ जान मानेनन् मेरा पाइतालाहरू । पिआरहरू, ग्रिन कार्डहरू मनमा ठोकिन आए । त्यही घरको माथिल्लो डिलको बाटो हुँदै म फर्किएँ । घरमाथिको बाटो पुग्दा त्यही घरको छानो आँखाअगाडि देखेँ । खरले छाएको छानो, त्यही खर पुरानो भएर कुहिएको मक्किएको ठाउँहरूमा झारहरू कुरोका बोटहरू उम्रिएका रहेछन् । कुरोको बोट उम्रिएर पनि फुलेको रहेछ ।

सम्झिएँ यो घरको धनीहरू टोरोन्टो कि सिड्नी, कि त क्यालिफोर्निया कि त लण्डनतिर यही कुरोको बोट छानोमा फुलेझैँ ढकमक्क फुलेका होलान् । यो कुरोको बोट छानोमाथि मक्किएको खरको छानोमा कहिलेसम्म फुल्ने होला ? भोलि नभए पर्सि, पर्सि नभए निकोर्सि त यो कुरोको बोटले थाहा पाउने नै छ । यो ऊ फुलेको ठाउँभन्दा धेरै तल जमिन छ । त्यहाँ मात्र ऊ राम्रोसँग उम्रन सक्छ । हुर्कन सक्छ । राम्रोसँग फुल्न र बढ्न सक्नेछ ।

त्यसयता ती घरहरू हेर्न पुगेको छैन । तर ती घरहरू समय समयमा मानसपटलमा ठोकिन्छन् । अनि पुग्नुपर्ने गन्तव्य बिर्सिन्छु, त्यो भन्दा पर-परसम्म गाडी दौडाइरहेको हुन्छु एक्लै-एक्लै ।

००००

(घर निबन्ध लिम्बू भाषाको निबन्ध सङ्ग्रह ‘थिक् निसेन’ (एक दृष्टान्त) आधुनिक लिम्बू निबन्धबाट नेपालीमा अनुवादित हो । निबन्धसङ्ग्रह थिक निसेन लिम्बूहरूको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङद्वारा हरेक दुई वर्षमा प्रदान गरिने इमानसिंह चेम्जोङ पुरस्कार २०७९ बाट पुरस्कृत सङ्ग्रह हो ।)