बुझ्नेका लागि श्रीखण्ड नबुझ्नेका लागि खुर्पाको बिँड भन्ने उखान हामी सबैले सुनेकै छौँ । जुम्रा, उडुस, उपियाँ लगायतका किराहरूको शासन अन्त्य होस् ।
हाम्रो शिरमा सधैँ गिर खेल्न पल्केको झुसे जुम्राले हत्तु हैरान पार्दा पनि हामी त्यसको मिति पुर्याउन जन्म जयन्ती मनाउँदैनौँ । यही कमजोरीले गर्दा हाम्रो शिरमा सधैँ गिर खेल्न पल्केको जुम्राले साम्राज्य जमाउन सफल भएको छ । शिरमा मात्र होइन कतिपयको शरीरमा पनि जुम्राले पूर्ण अधिकार जमाएर हामीलाई नै प्रतिकार गर्न सक्ने क्षमता राख्न थालेको छ । अरूको साम्राज्य स्वीकार नगर्ने हाम्रो संस्कारमाथि आघात पुगेको छ । मानौँ जुम्रा सत्ताको कुर्सीमा लिसो टाँसिए झैँ टाँसिएर बसेको छ । जुम्राको यो प्रवृत्तिका विरुद्ध पनि हामीले जुम्रा जयन्ती मनाएर त्यसको विरोध गर्दै हाम्रो शिरको सत्ताबाट हटाउनु आवश्यक देखिएको छ ।
हाम्रो शिरमा गिर खेलेर रगतको भत्ता खान पल्केको जुम्राले लिखा चम्कनालाई हुर्काएर भविष्यमा सत्ता साझेदार बनाउन लागि परेको रहस्य पनि कतैबाट लुकेको छैन । हामीलाई यो पीडाबाट छुटकारा पाउन कति कठिन भएको छ भने सयौँ पटक सङ्घर्ष गर्दा पनि जुम्रा टसमस गर्न सकेको छैन । लिसो झैँ टाँसिएपछि टसमस गर्ने कुरै भएन । फेरि त्यसरी टाँसिन मलजल त हामीले नै गरेका हौँ । सुरुदेखि नै शिरको सरसफाइ गरेको भए यो समस्या अहिले हामीले भोग्नु पर्ने थिएन । तर हाम्रो कमजोरीले नै यति बेला हामीले दुःख पाएका छौँ ।
जुम्रालाई पहिले अधिकार दिएर हानी नोक्सानी हुन थालेपछि पछुताउने हाम्रो प्रवृत्तिले गर्दा झन् मौलाउने अवसर पाएको छ । आफ्नो शिरको सुरक्षा गर्न नसक्दा र सरसफाइमा ध्यान नदिँदा गन्धे शिर लिएर हामी हिँडिरहेका छौँ । शिर सफा भयो भने जुम्राले साम्राज्य जमाउन सक्दैन । जब हामी शिरकै शोभा खोज्छौ भने तब शिरलाई स्वच्छ सफा राख्नु आवश्यक ठान्छौ । हाम्रो शिरलाई हामीले नै अँध्यारोमा राखेका छौँ भने सुकिलो र उज्यालो शिर खोजेर कहाँ पाइन्छ त ?
हामीले जुम्रा समातेर दुईतिरको चेपुवामा पारेर त्यसको मिति पुग्ने गरी जन्म जयन्ती नमनाएसम्म हामीलाई पिरिरहन्छ भन्ने मलाई लागेको छ । अब हामीले एक भव्य तयारीका साथमा यो जुम्राको जन्म जयन्ती मनाउने व्यवस्था गरेनौँ भने हामी पाताल भासिन सक्छौँ । जुम्राको जय मनाउने पनि होलान् । तर हामी जयभन्दा पनि अजय जन्म जयन्ती मनाएर मिति पुर्याउने तयारीमा जुट्ने काममा अघि सर्दा जुम्राको साम्राज्यवादबाट मुक्त हुन सक्छौँ । हामी आफ्नो अधिकार अर्कालाई हस्तान्तरण गरेर पनि बिग्रेका छौँ । शिरको अधिकार हामीले आफ्नो मताधिकारका माध्यमबाट जुम्रालाई हस्तान्तरण गरेका छौँ । हामीले दिएको अधिकार दुरुपयोग गरेर जुम्राले हाम्रो शिरमा एकाधिकार जमाएर मनपरी गरेको छ ।
अर्को महत्त्वपूर्ण कुरा के हो भने हाम्रो शिरको जुम्रालाई उडुस, उपियाँले नियन्त्रणमा लिएर एकाधिकार अन्त्य गर्ने प्रयास गरेको भए पनि त्यो हामीलाई स्वीकार्य हुँदैन । किनभने उडुस र उपियाँ भनेको दूधको साक्षी बिरालो भने झैँ हो । उडुस र उपियाँ जुम्राकै हित चिन्तक वर्गको भएकोले यी दुवैको भर पर्दा हामी नै गलत ठहरिन सक्छौँ । अहिले यस्तै गरी जुम्रा, उडुस र उपियाँको कब्जा परे पनि हाम्रो शिरमा गिर खेल्न छाडेका छैनन् । यस्तो अवस्थामा हामीले जुम्राको मिति पुर्याउन सकेनौँ भने हामी, हामी हुनुको अर्थ रहँदैन ।
जुम्रा जयन्ती मनाउँदा हामीले काला र सेता दुवै खाले जुम्राको मनाउनु पर्दछ । तर कतिपय जुम्राहरू बाहिर काला भए पनि भित्र हाम्रो रगत चुसेर रातो भएका हुन्छन् । कतिपय सेता जुम्राहरू बाहिर सेतो देखिए पनि भित्र कालो मिसिएको रगतमा हुन्छन् । जे सुकै होस् आखिरीमा यी सबै खाले जुम्राले हामीलाई सदियौँदेखि चुसिरहेका छन् । अझै पनि चुस्ने काममा लागि रहेका छन् । कतिपय जुम्राहरू हाम्रो शिरमा शरणार्थीका रूपमा आश्रित भएर बसेका छन् । ती शरणार्थी जुम्राले पनि उतिकै आसन जमाएर हाम्रो शिरमा शासन गरिरहेका छन् ।
हामीले यी जुम्राहरूलाई उन्मुलन गर्नका लागि दुःखी पारेर होइन खुसी पारेर हाम्रो शिरबाट जसरी हुन्छ भगाउनु पर्ने भएकोले जिउँदै जन्म जयन्ती मनाउनु पर्ने अवस्था आएको हो । जिउँदै दुई नङको चेपुवामा पारेर बाँसको घारोमा हालेर कात्रो ओढाएर मिति पुग्ने गरी जन्म जयन्ती मनाउँदा जुम्रा स्वर्ग पुगे झैँ गरी खुसी हुने भएकोले एउटा महोत्सव कै रूपमा जुम्रा जयन्ती आयोजना गर्न लागिएको हो ।
विश्वमा कहीँ नभएको जात्रा नेपालमा भने झैँ यो जुम्रा जन्म जयन्ती विश्वका लागि नौलो र अनुकरणीय हुनेछ । नेपालले अहिलेसम्म विश्वलाई चकित पार्ने र अन्य मुलुकले गर्न नसकेका कामहरू गरेर देखाउँदै आएको पनि छ । त्यस्तै काम मध्येको एउटा महत्त्वपूर्ण पाटो जुम्रा जन्म जयन्ती हो । यस्ता जन्म जयन्ती मात्र होइन सत्ता दुरुपयोग जयन्ती, सत्तारोहण जयन्ती, सत्ताबर्खास्त जयन्ती लगायतका धेरै खाले महोत्सवको आयोजना विश्व माझमा नेपालले गर्दै आएको छ ।
हाम्रो शिरको जुम्राले सत्ता पायो भने हरेक उपद्रव मच्चाउँछ भन्ने कुराको पुष्टि भएको छ । हाम्रै शिरको रगत चुसेर हाम्रै शिरमा दिसा पिसाब गरेर हामीलाई सताउँदै आएको छ । हाम्रै खाएर हामीलाई झुक्क्याएर, ठगेर, ढाँटेर, लुटेर जुम्राहरू किर्ना झैँ ढाडिएर फुलेल भएका छन् । यी फुलेल जुम्राहरू उडुस, उपियाँको कब्जामा परेको भए पनि एउटै वर्गका भएकोले साँठगाँठमा नरहलान् भन्न सकिन्न । आखिरी उडुस र उपियाँ पनि त्यही ड्याङका मुला न हुन् । पालो पर्खनु पर्छ, उडुस र उपियाँको पालो पनि आउँछ जन्म जयन्ती मनाउने ।
जुम्रा, उडुस, उपियाँ सबैलाई हामीले हाम्रो घरबाट जसरी हुन्छ लखेट्नै पर्छ । नत्र हामीले हाम्रो अधिकार उपभोग गर्न पाउँदैनौँ । हामीलाई धेरै सास्ती दिएका छन्, यी तीनै जातका विषालु किराहरूले । सयौँ वर्षदेखि हामी यी किराको चङ्गुलमा फसेका छौँ । उम्कन धेरै प्रयत्नहरू भए तर नयाँ किराहरू अझ विषालु भएर निस्कँदा समस्या झन् बल्झिरहेको छ । कतिपय किराहरू माकुराको जालमा नफसेका होइनन् । फसेकाहरू मरेको बिरालो झैँ भएर बसेका छन् । भर्खरै पनि केही जुम्रा, उडुस, उपियाँ जातका किराहरू कालो माकुराको जालमा फसेका छन् । तर फसाउने माकुरो आफैँ कालो जाल बुन्ने जातको भएकोले भर पर्नु पर्ने अवस्था भने देखिँदैन । त्यसर्थ सबै जातका किराहरूको जिउँदै जन्म जयन्ती मनाएर विश्वमा एक खाले नौलो र अनुकरणीय सन्देश दिनु उचित हुने छ ।
जुम्रा हामी सबैको शिरमा आसन ग्रहण गरेर शासन गरिरहेको सत्य तथ्य कतैबाट पनि लुकेको छैन । कुनै बेला उडुस, उपियाँले पनि हामीमाथि आसन ग्रहण गरेर शासन गर्छन् भन्ने कुरालाई हेक्का राखेर पक्का पक्की रूपमा लिएर यिनीहरूको मिति पुग्ने गरी जन्म जयन्ती मनाउनु उचित होला जस्तो लाग्छ । राज्यले नै पालन पोषण गरेर राखेका यी रैतीका लागि निकै हानिकारक विषालु किराहरूको उन्मुलन अति आवश्यक ठानिएको छ । उन्मुलन गर्न सकिएन भने यी किराहरूले रैतीलाई रेती लाएर सक्ने कुरामा विश्वस्त हुन कुनै आइतबार पर्खनु पर्दैन ।
जुम्राको जन्म जयन्तीका बारेमा अब बढी कुरा लेख्नु उचित नहोला । जुम्राको जन्म जयन्ती मनाउँदा सोही वर्गका अन्य किराहरूले पनि आफ्नो हविगत यस्तै होला भनेर सोच्न सक्छन् ।
बुझ्नेका लागि श्रीखण्ड नबुझ्नेका लागि खुर्पाको बिँड भन्ने उखान हामी सबैले सुनेकै छौँ । जुम्रा, उडुस, उपियाँ लगायतका किराहरूको शासन अन्त्य होस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।