वैज्ञानिक दुनियाँले गुगलमा ज्ञान राखी दिएपछि मान्छेले दिमागमा ज्ञान सञ्चित गर्न छोड्यो । पढेर–रटेर, घोकेर–कण्ठ पारेर मगजलाई ज्ञान–कुण्ड बनाउने पुरानो परिपाटीमा विराम लाग्यो । अब उसले मस्तिष्कमा सूचनाको सञ्जाल खडा गरिराख्न जरूरत देखेन । प्रविधि र उपकरणले मानव मस्तकलाई ज्ञान भण्डारणको परम्परागत बोझाबाट हमेसाका लागि मुक्त गरिदियो । अब ज्ञानको कुनै पनि कुरा रट्नु परेन, कण्ठ पार्नु परेन । याद गरेको कुरा कसैलाई सुनाउनु पनि परेन । हातमा डिजिटल डिभाइस बोकेपछि त्यसैले मगजको काम गर्ने भयो । सर्वसाधारण मानव मगजको सीमितता त्यही डिभाइस चलाउनुमा खम्चिँदै गयो ।
मलाई पूरापूर याद छ– मेरा पिताजीले म सात–आठ वर्षको हुँदै अश्विनी, भरुणी, कृत्तिका, रोहिणी, मृगशिरा, आद्रा, पुनर्वसु…… रेवती मूलसम्म सत्ताइस नक्षत्रका नामहरू मुखाग्र गराउनुभएको थियो । अघोर, अजिता, अदिति, अम्बिका, आग्नेयी, उमा, एन्द्री, करकरी, करकाली, कामायानी, कालरात्री, काली, कौमारी, कौवेरी, गंगा, गान्धारी, घटवरा…… जस्ता चौँसठ्ठी योगिनीका नाम कण्ठ पार्न लाउनुभएको थियो । त्यतिमात्र कहाँ हो र ! बाह्र महीना बाह्र राशिका नाम, अङ्क दुनाई बीस एकानसम्म कण्ठस्थ गराउनुभएको थियो । बिहेमा जगाउने खाँडोदेखि पिनास झार्ने अनिरुद्र पाण्डेको कथासम्म कण्ठ पार्न लाउनुभएको थियो । शायद यो त्यसबेला श्रुति परम्पराको ज्ञान हस्तान्तरण विधि थियो क्यार ! रटन्ते विद्याको दिग्दारीले वाक्क भएर घरिघरि पिताजीलाई प्रश्न गर्थेँ– “यति विघ्न चिज किन कण्ठाग्र पार्नु परेको ? कण्ठ नपार्दा हुँदैन ?”
बा हातको लबटो उज्याउँदै भन्नुहुन्थ्यो– “नाथु ! यो कण्ठ नपारी हुन्छ, मलाई पनि मेरा बाले दश वर्षकै उमेरमा ज्योतिष विद्या र चण्डी कण्ठ गराउनुभएको थियो । तँ पनि त्यस्तै हुनुपर्छ ।” मेरो बालहृदयमा अनौठो उत्प्रेरणा भर्नुहुन्थ्यो ।
अहिलेको सात कक्षाको नानीलाई – लु ! सात एकानको दुनाई किताबकापी नहेरी भन् भन्दा पूरापूर भन्न सक्तैन, अलमलमा पर्छ । बरु झोलाभित्रको क्यालकुलेटर खोतल्न थाल्छ । हो, अहिलेका नानीलाई अङ्क दुनाई कण्ठ गर्नै परेन, क्यालकुलेटरका डिजिट थिचे पुग्छ । हामी हाईस्कूल पढ्दाताकासम्म हिसाबका जस्तासुकै जोडघटाउ, गुना–भागाका समस्या मुखैले हिसाब गरीगरी, औँला भाँचीभाँची या कापीमा खेस्रा कोरीकोरी र त्यसको हल झिक्थ्यौँ । हिसाबको कुरामात्र किन ? अंग्रेजी मिनिङ गोटागन्ती कण्ठ पारेर पाठ बुझाउने कोशिश गथ्र्यौँ । तर, अहिलेको नानी एउटा कठीन शब्दको अर्थ खोज्न गुगलतिर छिर्दछन् । अर्थात प्रविधिको विकासले हामीलाई दिन प्रतिदिन उन्नत भन्दा उन्नत दिशातर्फ अभिमुख गराइरहेको छ । कतिपय कुरामा नराम्रो गरे पनि धेरै कुरामा प्रविधिले राम्रो गरेको छ । यसले हिजोको अप्ठ्यारो समयबाट जीवनलाई सहज, सजिलो र द्रूततातिर तानिरहेछ । समय र श्रमको बचत गराइरहेछ ।
हिजोका दिनमा मानव दिमाग नै ज्ञानको गोदाम थियो । तर, आज एउटै सेल फोनभित्र के छैन ! सबथोक छ । यसभित्र घडी छ, रेडियो छ । क्यासेट छ, क्यालकुलेटर छ । कम्पास छ, क्यामेरा छ । टिभी छ, फोटोस्टुडियो छ । इमेल छ, जिमेल छ । पत्रिका छ, पोर्नो साइट छ । नानाविधि खेल–तमासादेखि फिल्मी दुनियाँ यही भित्र छ । पर्स–डाइरी छ, पात्रो छ । बैंक– बैंकिङ कारोबार यहीभित्र छ, प्लेन टिकट यहीँ छ । क्यालेण्डर छ, किताब छ । टर्चलाइट छ, फोन–फ्याक्स छ । के छैन यहाँ सर्वान्त भोक छ । तर प्रविधिको बढोत्तरीसितै मान्छेको दिमाग सुस्त र अभ्यासहीन बन्दो छ । यी सारा चिज बनाउनेको दिमाग तीक्ष्ण, अति तीक्ष्ण बन्यो होला । तर यसलाई सुतीसुती चलाउनेको दिमाग चैँ आफ्नो मौलिक प्राकृतिक क्षमता गुमाएर केही लोसे–लाटो बन्दो छ । टाढा किन जाऊँ, मेरै दिमाग दिन परदिन लाटिँदै गएको छ । हिजो मोबाइल फोन आउनु अघि ल्याण्डलाइन फोनको युग थियो । त्यतिखेर आफन्त, इष्टमित्र, साथीसङ्गी र कार्यालयका दर्जनौँ फोननम्बर मगजमा कण्ठ रहन्थ्यो । कण्ठ नभएको नम्बर पकेट डायरीमा टिपोट गरिन्थ्यो । तर, जब गोजीफोनको चल्ती आयो, मान्छेलाई फोन नम्बर कण्ठ पारी राख्नुपर्ने लेठै रहेन । त्यही मोबाइलको कन्ट्याक–प्याडले नम्बर सुरक्षित गरिदिएपछि दिमागमा नम्बर राख्नै परेन । यस्तो सजिलो विधि प्रविधि आएपछि किन दिमागलाई दुःख दिइराख्नू ! तर यस परिपाटीले हाम्रो दिमागी कसरत घट्तो छ । अहिले बाउलाई छोराको नम्बर थाहा हुन्न । छोरालाई बाउको थाहा हुन्न । पतिलाई पत्नीको नम्बर थाहा हुन्न । पत्नीलाई पतिको थाहा हुन्न । शरीरलाई जति काम, कसरत र सक्रियताको जरुरत हुन्छ त्यति के कसरत मगजलाई जरुरी छ । अध्ययन–अवलोकन, खोज–अनुसन्धान, चिन्तन–मनन, ध्यान–धारणा–निदिध्यासनबाट मानव–मस्तक अझ धारिलो, अझ सुरिलो र पाइनदार बनाउनुपर्नेमा हाम्रो दिमाग आलसी र भुत्ते त भैरहेको छैन !
आज एकातिर हामी जस्तै मान्छेले दिमागमा धार लाएर उन्नतिको अनन्त आकाश उक्लिसके । कृत्रिम बौद्धिकताको युग स्पर्श गरिसके । डेटा विज्ञान, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स युगमा सहजै आफूलाई उतारिसके । इन्टरनेट र एआईको विकासले संसारमा दिनप्रतिदिन चमत्कार देखाउँदो छ । हामीले नसोचेका कुराहरू देख्न पाइरहेका छौँ । कुनै समयमा मानव कल्पनाबाहिर रहेका कुराहरू अहिले झलझल्ती आँखै अगाडि हेर्न पाइरहेका छौँ ।
एउटै हत्केलाभरिको मोबाइलको छाती भित्र हजार प्रकारका डिभाइसहरू छन्, खाँदाखाँद छन् । यसभित्र यति धेरै फङ्सनहरू छन्, एपहरू छन् । तिनलाई उपयोग र प्रयोग गर्ने सीप र बुद्धि भए, कला र ज्ञान भए, कठै ! हामी पनि कहाँदेखि कहाँ पुगिसक्थ्यौँ होला ? तर, हामी धेरैजसो अरुले गरेको फोन उठाउने र कसैलाई कल गर्ने (फोन गर्ने) कुरा भन्दा माथि जान सकेका छैनौँ । मेरै मोबाइलमा करीब पचासवटा एप्स होलान् । त्यसमा मुस्किलले पाँच सातवटा मात्र चलाउन जान्दो हुँ ।
ज्ञान–विज्ञानको क्षेत्रमा आएको यो अपरीमित विकासको विष्फोटनकारी अवस्थाले मलाई चकित–चकित पनि बनाउँछ, थकित–थकित पनि बनाउँछ । चकित यसर्थ कि मानवीय संज्ञानको काम गर्न अब एआई सफल भैसक्यो । यसले विज्ञान, वित्त, बैंक, शिक्षा, स्वास्थ्य, न्याय, प्रशासन, यातायात लगायतका हरक्षेत्रमा असीम चमत्कारपूर्ण प्रभाव देखाउन थालेको छ । अब एआईले कविता रचिदिन्छ, च्याट जिपिटीले मन परेको विषयमा निबन्ध लेखिदिन्छ भन्दा स्रष्टाहरू झस्किनु पर्ने अवस्था पनि आएको छ । कतै कुनै दिन यसले मानवीय सिर्जना शक्तिलाई खर्लप्पै निलिदिने त होइन । मानव मस्तकको रचनात्मक शक्ति एआईले सखाप पारिदियो भने त्यो संसार मान्छेको लागि बाँच्न लायक रहला ?
अब एआईले कारुणिक गीत गजल लेख्न थाल्यो भने मानवीय संवेदनाको हालत के होला ? यस्ता यक्ष–प्रश्नहरू उब्जिन थालेका छन् जसको ठीकठीक जवाफ हामीसित छैन । यो यान्त्रिक बुद्धिको विकासले मान्छेभित्रको मौलिक प्राकृतिक बुद्धि सखाप हुने दिसामा गयो भने त्यो स्थिति कहालीलाग्दो र त्रासदिपूर्ण हुनेछ । जब मेसिन या उपकरणले मानवीय संज्ञानात्मक कार्यको हुबहु अनुकरण या नक्कल उतार्न थाल्छ, त्यसले भोलिका दिनमा भयावह स्थिति निम्त्याउन पनि सक्छ ।
एआई भनेको मान्छेले नै बनाएको मान्छेले जस्तै काम गर्ने कृत्रिम मस्तिष्क न हो । मान्छेकै समतुल्यतामा सोच्ने, विचार गर्ने, काम गर्ने विषयमा त्यो पारङ्गत बनिसक्यो । यसरी कृत्रिम स्नायूजन्य सञ्जाल निर्माण गरी वैज्ञानिक दुनियाँले मानव मस्तकको एक प्रतिकृति (डमी) निर्माण गर्यो । मानव न्यूरोन्स नेटवर्कले जसरी काम गर्छ यसले त्यसरी नै काम गर्दा अब प्राकृतिक मनुवा विस्थापित हुँदो छ, त्यस ठाउँमा कृत्रिम मनुवाको परिव्याप्ति छाउँदो छ । विकसित मुलुकले चालकरहित कार सडकमा निर्वाध रूपमा गुडाउन थालिसके । चालकरहित विमान आकाशमा उडाउन थालिसके । अध्यापक–प्राध्यापकरहित स्कूल कलेज, कामदाररहित उद्योगधन्दा कल–कारखाना, व्यापारीरहित बन्द–व्यापार, होटलरेस्टुराँ परिकल्पना गरिँदैछ अब । असली मानवलाई विस्थापित गर्नेगरी भएको एआई विकासबाट अर्को त्रासद दुनियाँ आँखामा गोचर हुन्छ ।
एउटै मोबाइल फोनले दर्जनौँ चिज निलेजस्तो जस्तै– रिल, क्यामेरा, घडी, रेडियो, क्यालकुलेटर, फोटो स्टुडियो, हुलाक घर, चिठीपत्र, ल्याण्डलाइन फोन, टेलिभिजन; यस्ता अनगिन्ति चिज निल्यो । भोलिको दिनमा एआईले स्कुल कलेजबाट शिक्षक निल्न बेर छैन । कार्यालयबाट कर्मचारी निल्न बेर छैन । न्यायालयबाट वकिल न्यायाधीश निल्न बेर छैन । अस्पतालबाट डाक्टर नर्स निल्न बेर छैन । निर्माणशालाबाट इन्जिनियर ओभरसेर निल्न बेर छैन । भनिन्छ, केही वर्षमा हरेक विशेषज्ञको काम च्याटबटले नै गर्छ । इन्टरनेट र एआईले जे जे चमत्कार गरे पनि यसले मानव समुदायको अस्तित्व र यसको संवेदनालाई निल्नु हुँदैन । मानवीय विवेक र करुणा निल्नु हुँदैन । मानव मनको प्रेम र शान्तिलाई यसले खण्डित गर्नु हुँदैन । मानव मस्तकबाट पैदा हुने सिर्जन–विधा, यसको चैतन्य–सत्ता निल्नु हुँदैन । त्यो मूल निधि यसले निलिदियो भने मान्छे साँच्चै अवसादमुखी हुनेछ । पङ्गु, आलसी र बेरोजगार बन्नेछ । अतिशय रुग्ण र विक्षिप्त बन्नेछ ।
हुन त ज्ञान र सूचनालाई हामीले पृथक् आयाममा वर्गीकरण गरेर हेर्नसक्नुपर्छ । मान्छेको अँध्यारो आत्मालाई जगमग उज्यालो पार्ने चिज ज्ञान हो । मगजमा थुप्रिएका सबै सूचना र जानकारीहरू ज्ञान नहुन सक्छन् । ज्ञान भनेको इन्द्रियजन्य बोध र अनुभूति पनि हो । बाहिरको अँध्यारोलाई भानुदयले हटाउँछ, आगोले हटाउँछ, बिजुली बत्तीले हटाउँछ । तर, मानव हृदयभित्रको अध्यारो नास्न ज्ञानकै आलोक चाहिन्छ । यो अनुभूतिबाट पनि जन्मिन्छ । यो अध्ययन, अवलोकन र गवेषणाबाट पनि आउँछ । यो जाग्रत् चेतना र बोधबाट पनि जन्मिन्छ । मस्तिष्कबाट अज्ञानको कुहिरो हटेको दिन मान्छे ज्ञानी बन्दछ ।
ज्ञानका लागि विषय र शास्त्रको अध्ययन–अनुशीलन एउटा कुरा हो भने मान्छेले आफूभित्र निहित अन्तर्दृष्टिबाट सत्यको गहिराइ छुनु अर्कै कुरा हो । त्यही आत्माबोधबाट सुकरात र बुद्धजस्ता ज्ञानीपुरुष बने होला । किनभने यी पुरुषहरूले आर्जन गरेको ज्ञान कुनै विश्वविद्यालयका पोथा पल्टाएर या प्राध्यापकको लेक्चर सुनेर आर्जन गरेको ज्ञान थिएन । त्यसैले ज्ञान भन्ने चिज ज्ञानका नितान्त औपचारिक स्रोतहरूमा पौडी खेलेरमात्र प्राप्त हुन्न । यी आँखाले ज्ञानका अनौपचारिक स्रोतहरू पनि देख्नसक्नु पर्छ । प्रविधिले हामीलाई खदेड्दै खदेड्दै त्यहाँ लगिसक्यो जहाँ महीना दिनमा अध्यापकले पढाएर पिलाउने ज्ञान च्याट जिपिटी र डिपसिकले पाँच मिनेटमा पिलाउने विधि ल्याइसक्यो । गुगल आउनु अघि ज्ञान देशीय थियो, महादेशीय थियो । भूगोलका सीमा रेखाले ज्ञानलाई एउटा एउटा वृत्तमा सीमित गरेको थियो । एउटा एउटा परिधिमा खुम्च्याइबसेको थियो । तर, गुगलले भूगोल छिचल्यो । अहिले ज्ञान कुनै सीमारेखामा कैदी छैन । यो विश्वजनित पखेटा उचालेर हावामा उडिरहेको छ । गुगल इन्टरनेटको आविष्कारले ज्ञानलाई सीमाहिन बनायो ।
ज्ञान–गरिमालाई संस्कृतका यी आप्तवाणीमा बोध गर्ने चेष्टा गर्दै लेखनीलाई विराम दिन्छु–
न चौरहार्य न च राजहार्य
न भातृभाज्यम् न च भारकारी
व्यये कृते बर्धत एवं नित्यम्
विद्याधनम् सर्वधनम् प्रधानम् ।
(चोरले चोर्न नसक्ने, राज्यले हरण गर्न नसक्ने, दाजुभाइको बीचमा अंशवण्डा नहुने, जति बोके पनि भारी नहुने, जतिजति खर्च गर्यो उतिउति बढ्दै जाने अनौठो धन विद्या हो । त्यसैले सबै धनमध्ये विद्याको धन वा ज्ञानको धन प्रधान धन हो ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१३ कार्तिक २०८२, बिहीबार 










