
अरु कुनै पशुप्राणीले आत्महत्या आजसम्म गरेका छैनन् । पशुले नगरेको आत्मघात पशुभन्दा एक तहमाथि उठेको विवेकशील प्राणीले गर्नु कति उचित छ ? विचारणीय प्रश्न हो ।
मेरा मित्र डा. तारामणि राईले कवि, कलाकार अर्जुन खालिङको फोटोसहित फेसबुक स्टाट्स लेखे– “उनी अब यो संसारमा छैनन्, सधैँका लागि यस लोकबाट महाप्रस्थान गरिसके उनलाई श्रद्धासुमन ! ”
उनको स्टाटसले मलाई केहीक्षण स्तब्ध बनायो । किन कलाचेतले, काव्यचेतले प्रज्ज्वलित प्रतिभाहरु अनयास आत्मघातको तूलिकामा मृत्युको रङ पोत्छन् ? हुन त विश्व वाङ्मयमा पनि थुप्रै स्रष्टाहरुले आफूलाई जानीबुझी समाप्त गरेका छन् । चाहे प्रख्यात उपन्यासकार हेमिङ्ग्वे हुन् । या अनेकौँ जापानी स्रष्टाहरुदेखि भारतीय कवि गोरख पाण्डेका आत्मघातका सन्दर्भहरु पढेको छु । नेपाली साहित्यकै भैरव अर्यालदेखि नकुल सिलवालसम्मका शृङ्खलामा कवि अुर्जन खालिङ पनि भर्खरै उभिन पुगेका छन् ।
चालीस वर्षीय युवा–वयका अर्जुन खालिङ ललितकलामा स्नातकोत्तर थिए । स्नातकका गोल्डामेडालिष्ट उनी गोयाङको गीत काव्यका रचयिता पनि थिए । आफ्नै स्टुडियोमा स्वेच्छाले जीवन विसर्जन गरेका अर्जुन खालिङले शान्त मनको तलाउमा एउटा निकै ठूलो ढुङ्गो खसाएर सारा काव्यप्रेमी मनमुटुलाई तरङ्गित पारिदिएका छन् । उनीसित प्रत्यक्ष चिनारी, भेटघाट र साक्षात्कार भएको त होइन मेरो । तर, उनको काव्य–प्रतिभा र कलाचेतबाट म अस्पर्श थिइनँ । उनको आत्मघातमा पक्कै आन्तरिक कारणहरु थिए होलान् । अनेकन समस्याको भुङ्ग्रोमा उनको आँत हुरहुरी जलिरहेको थियो होला । त्यो तप्त उफानबाट छुटकारा पाउन आत्मघातको शितल पानी छिटे उनले, सायद त्यसभन्दा शितल जीवनदायिनी जल नभेटेर त्यसको शरणमा पुगे होलान् ।
त्यो विन्दुसम्म पुग्न अनेकन मनोयुद्धका शिविरहरुमा लडाई लडे होलान् । त्यसको सानो झलक उनको फेसबुक स्टाटसमा लेखिएको वाक्यले संकेत गर्छ– “मन आजकाल घाम र बादलको लुकामारी भएको छ… कुनै प्रलयको संकेत त हैन । ” उनको स्टाटसले एक अनिष्ट प्रलयको संकेत गरेको छ । भित्र एक भिषण मनोयुद्धको चक्रबाट गुज्रेर आत्मघातको पहिरोबाट खस्न तयार हुँदो हो मान्छे । जीवनको सहज, सजिलो र सह्य अवस्थासम्म त ऊ बाँचिनै रहन्छ । जब असह्य अवस्था आएपछि मानिस जीवनदेखि भागेर आत्महत्यालाई आत्मसात गर्दछ ।
जीवनमा अन्धकार र प्रकाशको उत्तिकै बराबरी उपस्थिति छ । जीवन अन्धकारै अन्धकारको डङ्गुर पनि होइन, जीवन प्रकाशैप्रकाशको पुञ्ज पनि होइन । जीवन अन्धकार र प्रकाशको सम्मिश्रित रुप हो । जसरी प्रकृतिमा इन्द्रधनुष घामैघामको उपस्थितिले पनि कोरिँदैन । पानी नै पानीको मेलबाट पनि यो रचना हुन सक्तैन । घामपानीको सम्मिश्रणबाट यो सिर्जित हुन्छ । तर, मान्छे जीवनमा आउने सुख–दुःख, आरोह–अवरोह, उत्कर्ष–अपकर्ष, सफलता–असफलताको द्वन्द्वात्मक मेललाई बुझ्न नसकेर, त्यो द्वन्द्वलाई आत्मसात गर्न नसकेर मान्छे जीवन विर्सजनको विन्दुमा पुग्दो हो भन्ने मेरो अनुमान छ ।
जीवनमा अन्धकार छ । तर, त्यस अन्धकारलाई नै अँगालेर अथवा त्यस अन्धकारलाई नै घृणा गरेरै बाँच्नुपर्छ भन्ने के छ र ? जीवनमा अन्धकार छ साथै प्रकाशको सत्ता पनि उपस्थित छ । हामीसित प्रकाशलाई हेर्दै नहेर्ने अन्धकार मात्र देख्ने आँखाहरु छन् र तिनै आँखाले हामीलाई विषाद निराशाको सघन कुहिरोभित्र घचेटिरहेको छ । र त मरिरहेका छन् मेरा समवयी मित्रहरु सूर्य दाहाल, देवी दाहाल र अर्जुन खालिङहरु । उनीहरुले अँध्यारो ताकिरहेको आँखाहरुलाई उज्यालोतिर थोरै मोडेका भए युवावयमै संसारबाट अस्ताउनु पर्दैनथ्यो होला । अन्धकारलाई घृणा नगरी प्रकाशलाई प्रेम गर्न सकिन्छ सकिँदैन होला ? यस प्रश्नले मलाई भित्रबाट पुक्कपुक्क हिर्काइरहेको छ । जीवनको अँध्याराे पाटोलाई हेर्दाहेर्दै जीवनको उज्यालो पाटो बिर्सिसकेका आँखाले आत्मघात नरोजी के रोज्छ ? हर्दम अन्धकार मात्र देख्नुले जीवनको लाली फिक्काफिक्का बन्दै जान्छ । आशा र सपनाका मञ्जरीहरु ओइलाउँदै जान्छन् ।
मेरो विचारमा कोही मान्छे तनको समस्याले ग्रस्त भएर आत्मघात गर्छन् । कोही मान्छे मनको समस्याले भित्रभित्रै जलेर आत्मघात गर्छन् । शारीरिक समस्यालाई मैले तनको समस्या भनेका हुँ । शरीरमा असह्य पीडादायी रोग लाग्यो । सञ्चो हुने कुनै सम्भावना रहेन । शरीरमा उसलाई यति जलन छ, यति पीडा छ, यति कष्ट छ, जसलाई वर्णन गर्न सकिन्न, जसलाई सहन सकिन्न । त्यो कष्ट सहन नसकेर ऊ सुटुक्क संसार त्यागिदिन्छ । अरुलाई मर्छु भन्यो भने मर्न दिने होइनन् । बाँचू आफ्नो व्यथा चर्को छ । दुःखाइ पोलाइको औडाहले जीवन त्याग्न ऊ मजबुर बन्छ । महाकवि देवकोटाको विषयमा पढ्दा उनको आखिरी घडी कति पीडादायी थियो । उनलाई हेर्न जानेसँग साइनाइड माग गर्थे । बिष सेवन गरेर आफ्नो तनको पीडाबाट मुक्त हुने आशा राख्थे । तनको पीडा सहन सकुन्जेल मनमा बाँच्ने जिजिविषा जिउँदो रहन्छ । पीडा असह्य बनेपछि बाँच्नु भन्दा मर्नु जाति हुनेरहेछ । त्यही मेसोमा अनेकन मान्छेहरुले शरीररुपी डोको बिसाएको देखेको छु ।
तुलेमान दाइका बाउलाई सम्झिन्छु । पेटको क्यान्सरले बूढालाई यसरी डस्यो । सहन सकुन्जेल सहे । आखिरी समय औषधिले पनि डाहा कम गरेन । अनि आधारातमा निस्के सुटुक्क घरबाट । रज्जुमार्गको फलामे खम्बामाथि चढेर घाँटीमा सुर्कनो कसे । र सधैँको लागि पीडाबाट विमुक्त बने । मेरो जन्मथलोमा गोविन्द भुजेल दाइ शरीरमा असह्य रोग पसेपछि हान्निएर तीन घण्टा तल सुसाइरहेको सुनकोसीको भँगालामा मिसिए । बिरामी दाइ कहाँ गए गए ? खुब खोजी भयो । देख्यौँ भन्ने कोही भएनन् । भेट्यौँ भन्ने कोही भएनन् । तर, केही दिनमा कोसीको छेउमा उनले टेकेका चट्टी, लौरो उनले ओढेको बर्को भेटियो । मानिसहरुले सहजै अनुमान लगाए उनले कोसीमा हेलिएर दुःखै लुकाए ।तनको पीडाले जाने उपर समाजले सहानुभूति पनि पोख्दोरहेछ– “विचराले ठीकै गर्यो । बाँच्न भन्दा मर्नु सजिलो थियो उसलाई ।” यस खालका आवाजहरु सुन्न पाइन्छ । हुन पनि हो, उनीहरुको हरेक पल अथाह कष्टले भरिएका हुन्छन् । जलनले डामिएका हुन्छन् । तड्पनले तड्पाएको हुन्छ ।
तनका पीडाले भन्दा मनका पीडाले स्वैच्छिक डोको बिसाउनेहरुको संख्या उल्लेख्य रुपमा बढी छ । मनको समस्या हल गर्ने बाटो नभेटेर मान्छे आत्महत्या गर्छ । मनका औडाह र उफानहरु समय मै व्यवस्थापन हुने हो भने उसले मृत्युको जर्जर बाटो रोज्नुपर्ने थिएन । जीवनका अनेकन परिधिहरुमा गुजुल्टिएका समस्याहरु जब मनको द्वारबाट भित्र पस्छन् । त्यसले मनलाई नै घायल गर्नथाल्छ । जब मनले ती गुजुल्टा केलाउन र फुकाउन सक्तैन । तब झन गाँठा पर्दै जान्छन् समस्याहरु । समस्या हल गर्ने सूत्र नभेटेपछि मान्छे आत्मघातको सजिलो बाटो रोज्न थाल्छ ।
भर्खरै मेरा मित्र सूर्य दाहाल बिते । उनको आत्मघातले हामीलाई फेरि एकचोटि सोचमग्न बनायो । उदयपुरमा डोरी किनेर झुण्डिनको लागि आफ्नै जन्मभूमी झापा पुगे । कति आश्चर्य लाग्दो छ मानिसको मनोविज्ञान । अघिल्लो दिन हाँसीखुसी माया मलकाजले बोलेको मान्छे भोलिपल्ट झापा पुगेर आफूलाई विसर्जन गर्छन् भन्ने कुरा कसरी सोच्नु ? हामीले हेर्दा स्वस्थ थिए, सुन्दर थिए, सुखी, खुसी, प्रफुल्लित थिए । पद, ऐश्वर्य र पत्नीसुखले मखलेल नै थिए । कहाँबाट ओइरियो आत्मघातको बलशाली विचार ? तर, उनको सौम्य मुहारभित्र विकराल मानसिक पीडाको बादल मडारिरहेको रहेछ । क्याम्पस अध्यापनका दसौँ वर्ष उनीसित गुजारियो । तर, उनीभित्रको कुनै वह हामीले थाहा पाउन सकेनौँ । पछिल्लो समय पनि रातसाँझ बाक्लै भेटघाट कुराकानी हुन्थ्यो । तर, एकदिन पनि आफ्ना औडाहा र छटपटीहरु हामीसित बिसाएनन् ।
लाग्छ उनका मानसिक समस्याहरु हल हुनै नसक्ने खालका थिएनन् । हामीलाई अलिकति सुँइको दिएका भए, उनले भित्रभित्रै खप्नु परेका वेदनाहरु अलिकित मित्रमण्डलीमा अंश लाएका भए जीवनले बाँच्ने बाटो भेट्थ्यो कि मेरो अनुमान हो यो । तर, कहिल्यै पनि आफ्ना पीडा चुहाएनन् हामीबिच । त्यही अन्तर्मुखीपनले हामीबाट चुँडेर लग्यो उनलाई । मनका पीडा मनमै गुम्स्याएर हामीबाट विदा भए ।
एक विद्यार्थीले मलाई सुनायो । केहीदिन अघि एक जना अठ्ठाइस तीसवर्ष उमेरका प्रहरी हल्दारले वीष खाएर आफूलाई समाप्त गरेको थिए । सूर्य गुरुको डेरा नजिकै त्यो घटना घटेको थियो ।
भोलिपल्टको कक्षामा उनले विद्यार्थी सामु भनेछन् – “त्यो हल्दार ठकुरी कायर हो बुझ्यौ ? कायर मान्छेले मात्र गर्छ आत्महत्या ! त्यस्तो कायर तिमीहरु कदापि नहुनू !” पाँचदिन अघि यस्ता कुरा गर्ने गुरु आफैँ पासो लागेर मरे । आत्मघात गर्नेलाई कायर ठान्ने मानिस आफैँ त्यो बाटोमा कसरी अग्रसर भए ? यसलाई के भन्ने ? बुझी नसक्नु छ मानिसको मनो–दैहिक रचना । गुरुप्रसाद मैनालीले भनेझैँ पाण्डित्य भन्ने चिज अरुलाई अर्ती उपदेश गर्न औधी काम लाग्छ । तर, आफूलाई परी आउँदा त्यसले रत्तिभर काम दिँदैन ।
सोचीसम्झी ल्याउँदा आत्मघात मानिसले मात्र सम्पन्न गर्नसक्ने कुरा रहेछ । अरु कुनै पशुप्राणीले आत्महत्या आजसम्म गरेका छैनन् । पशुले नगरेको आत्मघात पशुभन्दा एक तहमाथि उठेको विवेकशील प्राणीले गर्नु कति उचित छ ? विचारणीय प्रश्न हो । जीवन एकचोटि पाइने एक अपूर्व अवसर हो । यसलाई सदुपयोग गरेर बाँच्ने कि दुरुपयोग गरेर सिध्याउने हो, त्यो आफ्नै हातमा छ । जीवनरुपी सुन्दर उपहारलाई नष्ट पार्नु, समाप्त पार्नु किमार्थ शोभनीय हुन्न । तर, पनि स्रष्टा अर्जुन खालिङ र मेरा मित्र सूर्य दाहालले आत्मघातको मृत्युको रङ पोतिसके । कहिल्यै नफर्किने बाटोमा गएका यी आत्महन्ताप्रति श्रद्धा सुमन !

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

