
अनुवाद– पुण्य कार्की
युनानका एक सम्राटले त्यस समयका एक महान् मनीषी सोलनलाई आफ्नो राजमहलमा बोलाए ।
सोलन सुकरात जस्तै मनिषी थिए । सम्राटले सोलनलाई उनको धेरै ठूलो ख्यातिका कारण दरबारमा डाकेका थिए । उनका एक–एक शब्द बहुमूल्य थिए । तर, उनीसित कुनै ज्ञान लिन भने बोलाएका थिएनन् । कुनै कुरा सिक्न पनि बोलाएका होइनन् ।
सोलनलाई यत्ति एउटा कारणले बोलाएका थिए कि उनले दरबारको भव्यता देखून् । महलको सुन्दरता देखून । साम्राज्य कस्तो हुन्छ, त्यो देखून् । धनसम्पत्ति र चमक–दमक देखून् !
र, स्रमाट चाहन्थे– ती सारा कुरा सोलनले देखेपछि प्रशंसा गरून्‑ महाराज, तपाईंजस्तो सुखी अरु कोही पनि छैन । त्यति ठूला मनीषीको मुखारबिन्दबाट कुनै प्रशंसा निस्किए मात्र पनि, त्यो वचनको ठूलो मूल्य हुनेछ ।
सारा यूनान, यूनान बाहिरका मानिसले पनि याद राख्नेछन् कि यी महाराज सानातिना होइनन्, स्वयं सोलनले समेत प्रशंसा गरेका सम्राट हुन् ।
सोलन आए । उनलाई सम्राट स्वयंले महल घुमाई–घुमाई देखाए ।
सम्राटसँग सम्पदा नै यति धेरै थियो थियो कि आँखै तिर्मिराउँथ्यो । न मालूम, उसले कहाँ कहाँबाट, कति धेरै लुटेको थियो, उसैलाई थाहा थिएन ।
बहुमूल्य पत्थरको थुप्रो थियो । स्वर्णहरूको खजाना थियो । महल यसरी सजाइएको थियो कि कुनै दुलही ल्याउन लागिएको होस् ।
सम्राटले महल देखाउँदै देखाउँदै गएपछि सोलनले केही भनिदिन्छन् कि भनेर प्रतीक्षा गरिरहे तर सोलन चुपचाप रहे । चुप मात्रै रहेनन्, बरु गम्भीर हुँदै गए । गम्भीर मात्रै बनेनन्, उदासीसमेत थपियो । मानौँ, सम्राट मर्नै लागेका होऊन् । मर्न लागेको सम्राटलाई हेर्न आएकाझैँ उनको अनुहार भइसक्यो । त्यस्तो उदासी सोलनको अनुहारमा छायो ।
सम्राट छटपटिए, भने– मैले त तपाईं बडो बुद्धिमान मानिस हो भनी सुनेको थिएँ । यति भव्यता देखेर, मजस्तो सुखी मानिस कुनै देख्नु भएको छ ? यसमाथि केही भन्दिनु पर्यो, सोलन ।
सोलनले गम्भीर हुँदै भने– म चुपै रहनु राम्रो हुन्छ । किनकि क्षणभङ्गुर चिजलाई म सुख भन्न सक्तिनँ । अनि जे चिज शाश्वत छैन, त्यसलाई कसरी सुख भन्ने होला र ? सम्राट ! यी सबै कुरा दुःख हुन् । बडा चमकदार छन् चिजबिजहरू तर यिनमा दुःख छ । तिमीले यसलाई सुख सम्झ्यौ भने तिमी मूर्ख हौ ।
यो सुनेर सम्राटलाई धक्का लाग्यो । सोलन चुपै रहनु पर्थ्यो तर मनमा आएको कुरा सिधासिधा भनिदिए ।
सोलनलाई त्यसै बखत खाँबोमा पाता कस्न लगाइयो । यो देखेर प्रशन्न भएको सम्राटले भने– अझै पनि समय छ, माफी माग । तिमी गलत छौ । सम्राट तपाईं सुखी हुनुहुन्छ भनिदेऊ, तिमी बाँच्न सक्छौ ।
सोलनले भने– झुटो कुरा म बोल्न सक्तिनँ । मृत्युको मलाई पर्वाह छैन किनकि मैले मर्नुपर्छ नै ! केका लागि मर्छु, त्यो गौण कुरा हो । मृत्यु निश्चित छ । झुटो कुरा म बोल्दिनँ । सम्राट, तपाईं गलत हुनुहुन्छ ।
यो सुन्नेबित्तिकै सम्राटले छेउको सैनिकतिर हेरे । उनलाई गोली हानी मारियो ।
यस घटनाको दस वर्षपछि ती सम्राट कुनै शत्रुराज्यबाट पराजित भए । विजेताले उनलाई त्यही महलको, त्यही खाँबोमा बाँधे, जहाँ सोलनलाई बाँधिएको थियो ।
जब खाँबोमा झुण्ड्याएर गोली हान्न लागिएको थियो, अचानक उनलाई सोलनको याद आयो ।
ठीक दसवर्ष अगाडि यसरी नै उनले सोलनलाई खाँबोमा बाँध्ने आदेश दिएका थिए । त्यतिखेर उनलाई ती शब्द याद आए– जे शाश्वत होइन, त्यसमा सुख छैन । जे क्षणभङ्गुर छ, त्यसको कुनै मूल्य छैन । यी चमकदार चिज दुःख हुन् सम्राट !
यिनै चमकदार दुःखलाई सुख मान्ने हुँदा ती सम्राटलाई पनि खाँबोमा पाता कसिएको थियो । यो बुझ्नेबित्तिकै सम्राटका आँखा बन्द भए । उनले आफूलाई भुले र झलझली सोलनलाई देख्न थाले । र, जब सम्राटलाई गोली हान्न लागिएको थियो, उसको ओठमा मुस्कुराहट थियो । मर्नेबेलामा सम्राटको मुखबाट निस्केका अन्तिम शब्द थिए– सोलन ! मलाई माफ गरिदिनुस् ! तपाईं नै सही हुनुहुन्थ्यो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
