१.समर्पणको राज
पहिले ऊ श्रीमतीलाई आँखाको कसिङ्गर ठान्थ्यो । कुराले ठाकठुक र हातखुट्टाले ठोकाबाजी नभएको दिनै हुन्नथ्यो । सामान्य कुरामा पनि रडाको परिहाल्थ्यो
आँखाको कसिङ्गरतुल्य श्रीमती आजभोलि आँखाकी पुतली बनेकी छिन् । पहिले दुइटै आगो आगो भएपछि आँच ओझिने कुरा पनि भएन । लडाइ गर्नमा कोभन्दा के कम भन्ने स्पर्धाको तीव्र ज्वलनले ग्रस्त बनाएको थियो दुवैलाई ।
श्रीमतीले अलिकति मुख लाग्ने बित्तिकै चुल्ठो पक्रिन पुग्थ्यो । उनी पनि के कम श्रीमानको गर्दन समातेर मुक्का हान्न थालिहाल्थिन् । मारपिटपछि टाउकोमा टुटुल्को, अनुहारमा नीलडाम, शरीरमा केही न केही चोटपटक लागेकै हुन्थ्यो ।
रातदिनको मारपिटबाट वाक्क बनेर पत्नीले हारको नयाँ कला झिकिन् । विवाद हुने बित्तिकै खुट्टा छोएर– “म त निज हजुरकी चरण दासी हुँ, जे गर्नुपर्छ हजुरको मर्जी !”
यसरी आत्मसमर्पण गर्न थालिन् ।
पत्नीको यो व्यवहारले उसको पत्थरजस्तो छाती पग्लिन थाल्यो ।
गर्दन पक्रिने मान्छे खुट्टा छुन थालेपछि भित्रभित्रै मख्ख पर्नथाल्यो । आजभोलि त उनी मालिक्नी भैसकेकी छिन् । श्रीमतीले जे जे भन्यो, खुरुखुर त्यहीत्यही मान्छ । हिजोआज पतिको मर्जीले होइन पत्नीको मर्जीअनुसार घरसंसार चल्न थालेको छ ।
…
२.नाती–नातिना
सुब्बिनी आमैका दुई भाइ छोरा एउटा छोरी । जेठा छोराबुहारी नातिनातिनासहित अमेरिका । कान्छा छोराबुहारी नाति नातिनासहित अष्ट्रेलियामा । छोरीज्वाइँको पनि नाति–नातिनासहित जापानमा । बुढेसकालमा सुब्बा र सुब्बिनी मात्र छन् घरमा ।
अवकाशप्राप्त जीवन बिताइरहेका सुब्बा लामो समय भन्सारमा जागिर खाए । अहिले काठमाडौँको मुटुमै आलिशान घर बनाएर बूढ्यौली जीवन बिताइरहेका छन् । भएका छोराबुहारी नाति–नातिनामा सबै पराइ देशमा छन् । ठूलो घर छ । नियास्रो लाग्छ सुब्बिनी आमैलाई नाति नातिनाको ।
सुब्बाले टमी र पपी नामका दुई कुकुरका छाउरा ल्याएका छन् नातिनातिनाको शून्यता मेट्न । उन्नत जातका यी छाउरा साँच्चै भाग्यमानी छन् । दिनै मासुभात मिल्छ । कोठाचोटा, बार्दली, ओछ्यान, भान्सा जहाँ पनि निर्बाध चलखेल गर्न, लडीबुडी गर्न छुट यिनलाई ।
कहिलेकाहीँ तल्लो तलामा बस्ने डेरावालका नानीहरु कुकुरसँग खेल्न कोठाभित्र पस्छन् । डाकाले निल्दै लखट्छिन् सुब्बिनी ।
नानीहरु सिँढी ओर्लिंदै मसिनो आवाजमा प्रतिक्रिया पोख्छन्– “अलाच्छिनी बूढी ! कसैका नभाका नाती–नातिना । मान्छेलाई चाहिँ कोठामा टेक्न नदिने, कुकुरका छाउरालाई चाहिँ म्वाइँ खाने ?”
हुन पनि सुब्बिनीले एकछिन छोड्दिनन् टमी र पपीलाई ।
…
३. विध्वंस–वृत्ति
दुर्गेशमानको जीवनका तीन खण्डलाई म बडा सूक्ष्म नजरले अवलोकन गरिरहेछु । बाल्यकाल, किशोरकाल र युवाकालको दुर्गेशमान ।
बाल्यकालको दुर्गेसमान_ कहिले फूलको डाली भाँच्थ्यो । कहिले फूल च्यात्थ्यो । कहिल्यै कुखुराका चल्ला माथ्र्यो । कहिले चराका गुँड भत्काउँथ्यो । रुख चढेर पछिका अण्डा फुटाइ हिँड्थ्यो । कहिले पेन्सिल भाँच्थ्यो । कहिले कलम चपाउँथ्यो । कहिले किताब जलाउँथ्यो ।
किशोर कालको दुर्गेशमान_ नयाँ छाता ओढेर स्कुल गएको मान्छे फर्किंदा छाता भाँचेर आउँथ्यो । कहिले घरको घैला फुटाउँथ्यो । कहिले रेडियोको एरिएल भाँच्थ्यो । कहिले बाबुको चश्मा फुटाइदिन्थ्यो । कहिले साइकल भाँच्थ्यो ।
युवा कालको दुर्गेशमान_ नामुद आन्दोलनकारी । तोडफोड आगजनीको एक नम्बर अभियन्ता । विध्वंस मच्चाउनु पर्ने जति पनि काममा उसले नेतृत्वदायी भूमिका निर्वाह गर्छ । यो पालिको महँगी विरुद्धको आन्दोलनमा पनि उसैले नेतृत्व गर्यो । पुलिस बीटमा आगो झोस्यो । एम्बुलेन्समा आगो लगायो । सडक छेउका घरका सिसाहरु फुटायो ।
उसको जीवनका तीन खण्डलाई नजर लाउँदै गर्दा चौथो खण्डको दुर्गेशमानले के भाँच्ला सोचिरहेछु ? अर्थात् वृद्धकालको दुर्गेशमानले के तोड्ला ? एक अज्ञात प्रश्नले सबैको दिमाग रुमलिइदिएको छ ।
…
४.कृतघ्नता
“के तुइनाम्जे छोराछोरी ! हाम्रा देवरबाबुका ! आफ्नो गाउँ छोड्न नसक्ने । आफ्नो घर छोड्न नसक्ने । मेरा नानीहरु अष्ट्रेलिया अमेरिका खाइसके । स्कुलको मास्टर नाथे जागिरमा हल्लेका छन् हल्लेका छन् ।”
आफ्ना देवरका छोराछोरीको बदख्याइँ चलाइरहेकी छिन् जमुनी बजै । आफ्ना दुइटै नानीहरु अष्ट्रेलिया अमेरिका छिरेकोमा उनीहरुको प्रशंसा र बखान गाएर कहिल्यै थाक्तिनन् । देवरका छोराछोरी भने गाउँकै स्कुलमा पढाउँछन् । उनीहरुको खोइरो खन्छिन् । नामर्द, पंगु, हुतिहारा अनेकन विशेषण भिराएकी छन् ।
+++
समयको खेल न हो । सात दिनदेखि जमुनी बजै सिकिस्त बिरामी भएर ओछ्यानमा ढलेकी छिन् । उसले रातोदिन निन्दा गरेकी त्यही देवरकी छोरी सानीमैँया तातोपानी तताएर औषधी खुवाउँछिन् । जाउलो बनाएर पियाउँछिन् । राति पनि ठूलोममीलाई रुङ्ने, हेरचाह गर्ने उही छिन् ।
+++
केही समयपछि पूर्णरुपले तङ्ग्रिन् उनी । फेरि पुरानै बानी दोहोर्याउन थालिन् । कन्ना पछाडि आफ्नै छोराछोरीको तारिफको पुल हाल्छिन् । देवरका छोराछोरी सन्दिप र सानीमैँयाको निन्दा बखान्छिन् । एक दिन त तल्लो घरकी बूढी सासुले प्याच्च भनिदिइन्– “तँ त सारै बैगुनी छेस् । अस्ति विरामीले इन्तु न चिन्तु हुँदा त्यही सानीमैँया नभाकी भा जिब्रो टोकिसक्थिस् । खुब छोराछोरीको बढाइँ चढाइँ गर्छेस् । के नापेका छन्, सात समुन्दर पारी उडेका तेरा छोराछोरीले तँलाई ! कृतघ्न आइमाई !”
उनको कुराले जमुनी बजै नाजवाफ बनिन् ।
…
५.अविश्वास
एक पब्लिक क्याम्पसको क्यान्टिनमा चिया गफ चलिरहेको छ । एकएक पिरियड पढाएर लिजरमा टाइमपास गरिरहेका अध्यापकहरु आ–आफ्ना मनका औडाह बिसाइरहेका छन् । क्याम्पसमा दिनानुदिन विद्यार्थी घट्दै गएकोले आफ्नो पेसागत जीवन धरापमा पर्न लागेको कुराप्रति उनीहरुलाई चिन्ता छ ।
क’ देखि ‘ङ’ सम्मका अध्यापकहरुले समवेत स्वरमा आफ्ना मनका सुसेलीहरु सुनाए ।
क – “हेर्दा हेर्दै तीनचार वर्षको अन्तरालमा पच्चीस सयबाट घटेर सोह्र सयमा झरिसके विद्यार्थी, यही रफ्तारमा विद्यार्थी संख्या ओरालो झर्ने हो भने अब पाँच वर्षमा आफ्नो जागिर पनि सकिने रहेछ ।”
ख– “शतप्रतिशत सही कुरा गर्नुभयो । जीवनका उर्वर आयुहरु यसै क्याम्पसमा चढाइयो । साला अभिभावकहरु आफ्नो गाउँठाउँको क्याम्पस आफ्ना नानीहरु पढाउनु सट्टा खाली काठमाडौँ विराटनगर ताक्छन् ।”
ग– “ग्वाँचहरुको बुद्धि भए पो । यहीँ घरको भात खाएर पढ्न मिल्ने विषय र फ्याकल्टी पढ्न पनि बाहिरै जाने लहर चल्यो । आफ्नो गाउँठाउँको क्याम्पसप्रति विश्वास भए पो त ?”
घ– “हामीले मात्र यस ठाउँको लागि मरिमेट्नु बेकार छ । यहाँका मान्छेलाई क्याम्पसमा विद्यार्थी घटेर संस्था धरासायी बनेको कुरामा कुनै चासो छैन ।”
ङ– “ल साथी हो, अब गनगन गरेर मात्र केही हुनेवाला छैन । अब आफ्नो भविष्य सुरक्षित गर्न विकल्प सोच्नुभन्दा अर्को उपाय छैन ।”
क्यान्टिन चलाउने चिया पसले चतुरनाथ माझी चुपचाप शिक्षकका कुरा सुनिरहेको छ । उसलाई थाहा छ, ती पाँचैजना लेक्चरका कुनै पनि बच्चा त्यहाँ पढ्दैनन् ।
“ङ” बोल्ने बित्तिकै सोझो चतुरनाथ कड्क्यो–“तपाईँहरु आफ्नो क्याम्पसमा अभिभावकले बच्चा पढाएनन् भनेर के गुनासो गर्नुहुन्छ ? यहाँ पढाउने तपाईँहरु कुनै शिक्षकले आफ्नो बच्चा यहाँ पढाउन ल्याउनु भएको र ? आफ्नै क्याम्पसको पढाइप्रति तपाईँहरुलाई विश्वास छैन । अनि अरुले विश्वास गर्छन् । तपाईँहरुको हिम्मत छ, आफ्ना नानी यहाँ पढाउने ?”
उसको प्रश्नले पाँचैजना अक्क न बक्क बने । त्यही बेला ट्याङ ट्याङ घण्टी बज्यो । सक्पकिँदै क्लास जानु छ भनेर त्यहाँबाट उठे ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।