बुद्धलाई गाली

बुद्ध एउटा गाउँको बाटो हिँडिरहेका थिए । त्यस गाउँका मानिस उनीविरोधी थिए । बुद्धलाई देख्नेबित्तिकै तिनीहरू जम्मा भएर गाली गर्न थाले । उनलाई धेरै नै अपमानजनक शब्दहरू बोले । बुद्ध मुस्कुराउँदै तिनीहरूका सबै कुरा सुने ।अनि बुद्धले तिनलाई सोधे– “तपाईंहरूको कुरा सकिएको हो ? हो भने म जाउँ ? मलाई अर्को गाउँमा छिटो पुग्नु छ ।”
  गाउँका मानिसहरू छक्क परे । उनीहरूले त बुद्धलाई गाली गरेका थिए तर बुद्धमा कुनै असर देखिएन ।
हैरान भएर उनीहरूले बुद्धलाई भने– “हामीले तिमीलाई गाली गरेका हौँ, सामान्य कुरा होइन नि !”
बुद्धले भने– “तपाईंहरूले दिनु भयो तर अचेल मैले लिन बन्द गरिदिएको छु । तपाईंहरूले जतिसुकै दिनुस् यसले मलाई केही फरक पार्दैन । जबसम्म म त्यसलाई लिन्नँ, मलाई के फरक पार्छ र ? दिने तपाईंहरूको हक हो अनि लिने मेरो । अल्लि अघि एउटा गाउँमा केही मानिसहरूले मेरालागि मिठाई लिएर आएका थिए । “अहिले पेट पुरै भरिएको छ” भनेर फर्काइदिएँ ।  उनीहरू यत्तिकै फर्किए । अहिले तपाईंहरूले गाली बोकेर आउनु भयो, म भन्छु – म यसलाई लिन्नँ । अब तपाईं के गर्नुहुन्छ ? यसलाई त फिर्ता लानैपर्छ । यी सबै गाली फिर्ता लिएर जानुस्, किनकि अब म यसलाई लिँदैलिन्नँ ।”
ती मध्येको एक जनाले सोध्यो – “किन लिनु हुन्न ? यो त बडा अनौठो कुरा भयो । हामी जो कसैलाई गाली दिन्छौँ, उसले त्यसलाई तुरुन्तै लिन्छ ।  हामीले दिनेबित्तिकै ऊ तत्काल जवाफ दिन थाल्छ । अब तपाईं चाहिँ लिँदैलिन्नँ भनिरहेको छ ।”
बुद्धले भने – “दश वर्ष पहिले आएको थिएँ भने मैले पनि लिने थिएँ । किनकि अहिले मलाई थाहा भैसक्यो कि लिनुमा दुःख छ । र, लिने कुरा खत्तम पनि भैसक्यो । अहिले मैले देखिरहेको छु कि दिएर तिमीहरू दुःख उठाइरहेका छौ भनेर म यसलाई लिएर किन दुःख उठाऊँ ? यदि केही बाँकी छ भने म फर्किने बेलामा आएर त्यो गाली पूरा गर्नू । अहिले त मलाई अर्को गाउँमा पुग्न हतारो छ ।”
गाउँका मानिस छक्क परेर उभ्भिरहे
(दुःख के पारबाट)

शून्यमा शक्ति 

बुद्धलाई जब ज्ञान प्राप्त भयो, त्यसपछि केही मानिसले बुद्धलाई सोधे –“तपाईंले केमा ज्ञान प्राप्त गर्नुभयो ?”
बुद्धले भने – “ज्ञान प्राप्त भएको होइन, जो सदाकालदेखि थियो त्यसको बोध मात्र भएको हो ।”
बुद्धसित उनीहरूले फेरि सोधे – “के गर्दा त्यो चिज प्राप्त भयो त ?”
बुद्धले भने –“जबसम्म केही न केही गर्दै रहेँ, त्यतिञ्जेल पाइनँ । जब सबैचिज गर्न छोड्दिएँ, अनि बल्ल प्राप्त यो ।”
मानिसहरूले भने – “तपाईं बडो उल्टो कुरा गर्नुहुन्छ ।”
बुद्धले भने –“जबसम्म केही न केही गर्ने कोसिसमा थिएँ, मनमा अशान्ति हुन्थ्यो । किनकि गर्नुमा नै अशान्ति थियो । जब सबै गर्ने चिज छोडिदिए, गर्नु भन्ने नै छोडिदिएँ त्यसपछि मन एकदमै शान्त बनेर गयो र त्यसको बोध भयो, जो भित्र सदाकालदेखि नै अस्तित्ववान थियो ।”
शब्द पनि अशान्ति हो । जबसम्म शब्द भित्र घुम्दछ तबसम्म चित्त अशान्त रहन्छ । जब सबै शब्द शान्त बन्छन्, भित्रै कुनै शब्द घुम्दैन, कुनै गीता बोल्दैन, भित्र कुनै कुरान उठ्दैन, कुनै महावीर र बुद्धका वाणी सुनिदैन । सबै हराएर जान्छ, सबै मौन बन्दछ । त्यस क्षणमा के हुन्छ ? त्यसै क्षणमा त्यो चिजको बोध हुन्छ, जनु भित्र मौजूद छ, जुन सदाकालदेखि थियो, जसलाई हामीले कहिल्यै गुमाएका थिएनौँ, जसलाई हामीले चाहेर पनि गुमाउन सक्तैनौँ । त्यही हो सत्य‑ जो हराउन सक्तैन, न कहिल्यै हराएको छ, जुन वास्तविक रुपमा हामी हुनुमा छ । तर, हामीलाई त्यसको थाहा पत्तो छैन । किनकि शब्दका पत्रहरूले चारैतिरबाट ढाकेर त्यसलाई छोपेका छौँ ।
(सत्यकी खोजबाट)

बुद्ध र अन्धो मानिस 

एउटा गाउँमा बुद्ध पाहुना लागेका थिए । केही मान्छेले एकजना अन्धालाई समातेर ल्याए र भन्न थाले कि यो साथीलाई प्रकाश छ भन्ने कुरा सम्झाइदिनु पर्‍यो । यिनले प्रकाश छ भन्ने कुरा मान्दै मान्दैनन् । यिनी सधैँ भन्छन् – प्रकाश छँदै छैन । अनि यिनी हामीलाई भन्छन् कि, यदि प्रकाश छ भने म छोएर देख्न चाहन्छु । कहाँ छ, लेऊ, म त्यसलाई चाँडोभन्दा चाँडो छोएर हेर्न चाहन्छु ।
प्रकाश छोएर देख्न सकिँदैन । तर, नेत्रहीनले त चिजहरू छोएर नै जान्दछ । उसका लागि जीवनको पहिचान गर्ने बाटो नै स्पर्श हो । कुनै चिज हुनुको अस्तित्वको सबूत स्पर्श हो उसका लागि । ऊ भन्छ– म प्रकाशलाई छोएर देख्न चाहन्छु । उसले गलत कुरा त बोलेको होइन । उसले चिजलाई छोएर नै जान्ने हो । जेलाई छुन्छ, त्यो चिज छ भनेर मान्छ । जेलाई छुन पाउँदैन, त्यो छैन भनेर मान्छ । छुनु नै कुनै चिज हुनुको प्रमाण हो ।
त्यसपछि त्यो नेत्रहीन मानिस हाँस्न थाल्यो र भन्यो– ल्याएनौ त्यो प्रकाशलाई ? अनि फेरि किन व्यर्थ प्रकाशको कुरा गर्छौ ? मेरो विचारमा प्रकाश छँदैछैन ?
ती मित्रहरूलाई बुद्धले भने– तपाईंहरू आउनु भयो, मैले त सोचेको थिएँ सायद यति कुरा तपाईंहरूले नै सम्झाउन सक्नुहुन्छ तर लिएर आउनुभयो । यिनी भन्छन् – म छोएर देख्न सक्तछु, स्वाद लिएर देख्न सक्तछु, बताऊ तिम्रो प्रकाशको आवाज, म त्यसको ध्वनि सुन्न सकूँ । तिम्रो प्रकाशमा सुगन्ध छ भने म त्यसको वासना लिन सकूँ ।
तर जब हामी यिनलाई भन्छौ– प्रकाशलाई छुन सकिँदैन, प्रकाशको सुगन्ध लिन सकिँदैन, वासना थाहा पाउन सकिँदैन, न यसको ध्वनि छ, यसलाई न देख्नै सकिन्छ । त्यसैले त यी अन्धा मानिस भनिरहेका छन् कि यो देख्नु भनेको के हो ? किनकि अन्धा मानिसलाई देख्ने कुरा थाहा हुन्थ्यो भने त यी अन्धा नै हुँदैनथे । र त्यसैले यिनी हाँस्दछन् र भन्दछन् कि अनाहकमा मलाई अन्धो सिद्ध गर्न किन प्रकाशको कुरा गर्दछौ ? तिमीले पनि देख्न सक्तैनौ, कसैले पनि देख्न सक्तैन, जे चिज छँदैछैन, त्यो कसरी देखिन्छ ?
बुद्धले भने – म यिनलाई सम्झाउँदिन । किनकि यसबारे यिनलाई बुझाउनु बेवकुफी हुनेछ । म तिमीहरूलाई भन्छु कि यिनलाई कुनै पनि विचारकको नजिक लिएर जानु जरूरी छैन । यिनलाई कुनै वैद्यकहाँ लैजाऊ । यिनलाई उपदेश होइन, उपचार जरुरी छ । यिनका आँखाको इलाज गराऊ ताकि यिनले देख्न सकून् । जुन दिन भित्रबाट यिनले देख्न सक्लान्, त्यसै दिन यिनले जान्लान् । नत्र त लाख बुद्धले सम्झाए पनि उनलाई फरक पर्दैन ।
त्यसपछि बुद्धका शिष्यले ती नेत्रहीनलाई वैद्यकहाँ पुर्‍याए । तिनको आँखामा जाली लागेको थियो ।  ६ महिनाको औषधिको प्रयोगले जाली काटियो र उसले आँखा देख्न थाल्यो ।
पछि त्यो मानिस नाच्तै बुद्ध नजिक आयो । उनको चरणमा पर्‍यो अनि भन्यो, प्रकाश भन्ने चिज रहेछ ।
तर बुद्धले भने – “छोएर देखाऊ कहाँ छ ? म छोएर देख्न चाहन्छु ।”
त्यो नेत्रहीन मानिस हाँस्न थाल्यो र भन्यो, होइन, यसलाई छोएर जान्न सकिँदैन ।
त्यसपछि बुद्धले फेरि भने –“म त्यसको स्वाद लिन चाहन्छु ।”
त्यस मानिसले भन्यो कि तपाईं ठट्टा नगर्नुस्, त्यसको स्वाद पनि लिन सकिँदैन ।
त्यसपछि पुनः बुद्धले भने –“उसो भए म त्यसको ध्वनि सुनेर जान्न सकूँ ।”
उसले भन्यो, तपाईं पुरानो कुरा छोडिदिनुस् । अब म पनि देख्नसक्ने भएको छु । प्रकाशलाई देख्न सकिन्छ, म देखिरहेको छु, त्यो छ ।
तर बुद्धले भने – पहिले मेरा शिष्यले तिमीलाई यही कुरा बुझाउन खोज्दा तिमीले बुझेनौ नि ?
त्यस मानिसले भन्यो– त्यसमा मेरो कुनै गल्ती थिएन । गल्ती थियो त उनीहरूकै थियो । किनकि नेत्रहीनलाई कसरी सम्झाउन सकिन्छ ? यदि मैले उनीहरूको कुरा मानेको भए म गल्तीमा पर्नेरहेछु । मैले उनीहरूको कुरा मानिनँ । मानिनँ र त उनीहरूले मेरो उपचार गर्नुपर्‍यो ! यदि मैले उनीहरूको कुरा मानिदिएको भए सायद उपचारको कुनै आवश्यक थिएन । मैले मानिदिन्थेँ, कुरो सकिन्थ्यो । म अन्धाको अन्धै रहन्थेँ र मैले कहिल्यै पनि प्रकाशका बारे थाहा पाउँदिन थेँ ।
सत्य जान्न सकिन्छ, सत्यलाई मान्न सकिँदैन । सत्य सिक्न सकिँदैन, सिकाउन पनि सकिँदैन । सत्यको कुनै सिकाइ हुँदैन । त्यसैले सत्यको कुनै स्कुल हुँदैन, जहाँ सिकाउन सकियोस् । मान्छेहरूले सिक्न सकून् तर चिकित्सा हुन सक्छ । आँखाको उपचार हुन सक्छ ।
(सत्य की खोजबाट)

बोकाको स्वर्ग 

बुद्ध एउटा गाउँबाट हुँदै अघि बढ्दै थिए । त्यस गाउँमा बोकोलाई बलि दिन लागिएको थियो । यज्ञ–हवन चलिरहेको थियो ।
धार्मिक देशमा यस्ता यस्ता यज्ञ–हवनहरू हुन्छन् कि बडो हैरानीमा परिन्छ, कसरी धार्मिक भन्ने त्यस्ता कुरालाई ? यहाँ अश्वमेध यज्ञमा घोडा मारिन्थ्यो, गोमेध यज्ञमा गाई काटिन्थ्यो । अनि शास्त्रमा त नरमेध यज्ञको पनि वर्णन छ, जहाँ मानिसलाई मारिन्थ्यो …।
बुद्धले देखे – एउटा बोको काट्न लागिएको छ । ब्राह्मण छुरी लिएर काट्नलाई तयारी अवस्थामा छ ।
तपाईंलाई थाहा छ, ब्राह्मणहरूको एक खास जाति छ – शर्मा । शर्माको मतलब हुन्छ – गर्दन काट्नेवाला, शर्मन गर्नेवाला । यदि यहाँ कोही शर्मा छ भने त्यो थर छोड्देऊ । त्यो नाम राम्रो नाम होइन । त्यो हत्यारो नाम हो ।
बुद्धले भने– “यो के गरिरहेका छौ ?”
ब्राह्मणले भन्यो– “तपाईं चिन्तित नहुनुस्, यो बोको स्वर्ग जानेछ । किनकि यज्ञमा यसलाई बलि चढाइन्छ, त्यो स्वर्ग जान्छ ।”
त्यसपछि बुद्धले भने –“त्यसो भए आफ्नो बाबुलाई किन बलि नदिएको ? स्वर्ग जाने यति सजिलो उपाय रहेछ ! अनि यो बोको त जान चाहिरहेको पनि छैन । यो बोको त कराइरहेको छ । यो भाग्न खोजिरहेको छ । यो जान पनि चाहेको छैन । आफ्नै पिताजीलाई पठाइदेऊ । या आफू स्वयम् जाऊ । जब स्वर्ग जाने त्यस्तो शौख छ भने विचरा बोकालाई किन पठाउने ? मलाई स्वर्ग जानुछ भनेर यसले कहिल्यै भनेको छ ? यो यहीँ मजासित बाँचिरहेको छ । यो बिलकुल मस्त छ । यो स्वर्गमा छ । तिमी नर्कमा छौ ।”
बुद्धका वचनबाट ऊ किंकर्तव्यविमूढ बन्यो ।
(कहे वाजिद पुकारबाट )
                  ००००                 ००००                ००००