नाम त उसको रणजित खुलाल हो । औपचारिक लेखाइमा पनि रणजित खुलालै लेखिन्छ । उसको नागरिकताको प्रमाणपत्रमा, मतदाता परिचय पत्रमा, नियुक्ति पत्र र अन्य सरकारी कागजपत्रमा यही नाम लिपिवद्ध छ । तर उसको अदेखमा उसको बारेमा कुराकानी चल्दा ‘रने खुलाल’ को नाममा ऊ सम्बोधित हुन्छ । कन्ना पछाडि उसलाई सबैले रने खुलाल नै भन्छन् ।
उसको विषयमा सामाजिक आदरको ग्राफ सदैव ओरालो झरिरहेको छ । सामुन्नेमा रणजितजी भन्ने मान्छे ओल्टोकोल्टो हुने वित्तिकै ‘झ्याँक्ने रने खुलाल’ हरामी रणे खुलालको उच्चारण गरी मनको तितो फाल्छन् । ऊप्रति मानिस किन यतिविघ्न नकारात्मक छन् ?उसले कुनै थाहापत्तो पाइरहेको छैन । ऊ एक किसिमको एकसुरा मान्छे हो, उसलाई आफ्नो निहित स्वार्थ पूरा गर्नु भन्दा पर केही गर्नुछैन ।
रणे खुलाल एक सामुदायिक स्कुलको सरकारी वेतनधारी मास्टर हो । माध्यमिक तहमा पढाउनु उसको मूल काम हो । उसको मूल जिम्मेवारी वापत राज्यकोषबाट पुग नपुग तीस पैँतीस हजार जति उसलाई तनखा मिल्छ । ऊ अंग्रेजी विषय पढाउने भएकोले बिहान, बेलुका र रातिको अतिरिक्त समयमा ट्युसन, कोचिङ र क्याम्पससहितको पार्टटाइम घण्टी गर्न कुदिहिँड्छ ।
सुप्फत कुरा गर्ने हो भने उसले आफ्नो मूल जिम्मेवारीलाई कहिल्यै मूल काम ठानेन । उसको दिमागमा एउटा ठोस विचारले आकार जमाएको छ– आफ्नो थाई जागिर त छदैछ नि, न यसलाई कसैले खोस्न सक्छ, न मेरो तलब घटाउन सक्छ, न कटाउन सक्छ । यो त पढाएपनि पाक्ने हो, नपढाएपनि पाक्ने हो, मैले बरु त्यसबाहेकको अतिरिक्त आयलाई बढी समय दिनुपर्छ; त्यसको लागि बढी खट्नु पर्छ । त्यसप्रति इमानी बन्नुपर्छ ।
उसको यही मूल सिद्धान्तले गर्दा आफ्नो मूल कर्तव्यबाट विचलित बन्छ । र ट्युसन, कोचिङ र क्याम्पसका पार्टटाइम घण्टी लिन दगुरिरहेको हुन्छ स्कुलमा हमेशा गयल पर्छ । कुनै न कुनै वाहनामा विदा लिन्छ । काजमा हिँड्छ तर स्कुल बाहेकको कोचिङ सेन्टरमा ऊ कहिल्यै गयल पर्दैन । स्कुलमा विदा लिई लिई क्याम्पसको पार्टटाइम घण्टी लिन दगुर्छ ।
+++++ +++++ +++++
विचित्र किसिमको द्रव्यमोहले उसलाई यसरी गाँजेको छ, पैसा बाहेकको सबचिज झुटो उसको आन्तरिक आत्मिक दर्शन हो । विहेको बेलामा ससुरालीबाट कबुल गेरजतिको नखत हाताहाती नपाउँदा बाटैमा बेहुलीको हुर्मत लिएथ्यो । बेहुली भित्रयाएपछि उसको टोकेसो र कच्कच् सहन नसकेर उनी घरबाट भागेर माइती पुगेकी छन् । पछि उसका देउता खुशी पारेर फेरि छोरी पठाइदिए । यो घटनाले पनि मान्छेको मनभित्रको रणजित खुलाल स्खलित भएर रने खुलालको रुपमा घटुवा भएको हो । उसका देउता खुशी पार्न एउटा डिस्कोभर मोटर साइकल र दुई कठ्ठा जमिन उसको नाममा ससुराले पास गरिदिनु नै प¥यो । ससुरालीपनि कता हो कता हुने खाने मान्छे होइनन्; पाखो भित्ता र खेत गरिकन जम्मा बाह्र कठ्ठा जमिनको मालिक न हो । फेरि आफ्नै छोरी पाँच कक्षा भन्दा बढी पढेकी थिइनन् । एकचोटि विहे गरेर दिइहालियो । ज्वाईले धेरै सताएपछि कसो गर्दा यो छोरीको घर सप्रिन्छ ? बाबुआमा नै चिन्तित बने ।
उसले बक् फुटाएरै धन माग्यो–
“जुठो खानु मिठाका लोभले । तपाईहरुको निरक्षर औँठा छाप छोरी विहे गरिदिएको छु । मैले चाहिँ त्यसको सट्टा केही नपाउनु । म जस्तो अंग्रेजीमा डिग्री गरेको मान्छेलाई जतिपनि सम्पत्ति दिने मान्छे भेटिन्छ ।” यसरी जिउ छाडेर सम्पत्तिको रस्साकस्सी गरेपछि छोरीको मुख हेरेर चाईचुई नगरी दुई कठ्ठा माटो पास गरिदिए । लाहान बजार गएर नयाँ मोटर साइकल किनी दिए । त्यसपछि खुशी भएर आफ्नी जाहान लिएर घर फक्र्यो ।”
यस घटनापछि ससुराली गाउँमा हरामी रनेको नामले चिन्न थाले । तिलक वार्गेनिङ गर्दापनि स्वयम्वर हुनु अगाडि नै माग राख्छन्; लेनादेनाको विषयमा टुंगो गर्छन् । विहे अगडि नै देहजको कुरा छिनेर विहे हुन्छ । उसले विहे अगाडि त्यस्तो ज्याद्रो पाराले केही माग राखेन । सबैले उसको प्रशंसा गरे –“मान्छे महान् विचारका रहेछन् । साधारण लेखपढकी केटीपनि सहजै स्वीकारेर विहे गरे ।”
हलो अड्काएर गोरु चुट्ने भनेझैँ विहे गरेको छ महिना पछि त श्रीमतीलाई टिकी खानै दिएनन् । यस्तो हरामी स्वभाव देखाएपछि ससुराली गाउँका सारा नातेदारको धारणा उसलाई हेर्ने विषयमा नकारात्मक बन्यो ।
+++++ +++++ +++++
नौ दशमा पढ्ने बच्चाहरु उसको विषयमा हेडसरसित सधैँ गुनासो गर्छन् । “रणजित सरले अंग्रेजीको ग्रामर खण्ड कक्षामा राम्रोसित सिकाउनु हुन्न । मोटामोटी मुलपाठमात्र भटट् अगाडि कुदाउनु हुन्छ । सर ग्रामर सिकाइदिनु न भन्यो भने बेलुका ट्युसन लिन घरमै आओ भन्नुहुन्छ । पैसा तिर्न सक्ने त अहिले पनि पढिराखेका छन् । हामी पैसा तिर्न नसक्नेपनि छौँ । हामीलाई मार्का प¥यो सर । उहाँलाई भनेर स्कुलकै कक्षामा सिकाउने व्यवस्था होस् सर ।”
हेडसरले नानीहरुलाई सम्झाए –“उहाँले कहाँ त्यसो गर्न पाउनु हुन्छ र ? कक्षाकोठामा पढाउनु पर्ने, सिकाउनु पर्ने पाठ नसिकाएर ट्युसन पढ्नको लागि मजवुरीमा पार्न कहाँ पाइन्छ । यो त गरिब सर्वसाधारण विद्यार्थी माथि ठाडै अन्याय भयो । म उहाँसित कुरा गरेर तिमीहरुको समस्या समाधान गर्छु ।”
हेडसरले उसलाई राम्ररी सम्झाए । विद्यार्थीको गुनासो तत्काल सम्बोधन गर्न सुझाव दिए । उसले दशवर्ष देखि नै विद्यार्थीलाई यसै गरी ताडित गर्दै आएको हो । तर यो व्याचका विद्यार्थी अलिक निडर खालका भएकाले हेडसरलाई उजुरी गरे । हेडसरले झपारेपछि लाजैगालै कर लागि ग्रामरका पाठहरुपनि सिकाउन थाल्यो । बाठो बुद्धिको खुलालले उजुरीको अगुवाई गर्ने केटाकेटीको नाम पहिचान गरिहाल्यो । तिनीहरुलाई बक्रदृष्टिले हेर्न थाल्यो । कक्षामै उसले विद्यार्थीहरु कित्ताकाट गरी दुईथरिको व्यवहार गर्छ ।
ऊ कहाँ ट्युसन पढ्नेलाई जति नै भुस्कुल भएपनि नरम व्यवहार गर्छ । ऊसित ट्यूसन नपढ्ने विद्यार्थीले कक्षामा जति नै राम्रो प्रस्तुति गरेपनि केही न केही कमजोरी कोट्याएर पत्ताल भसाउँने गरी वेइज्जत गर्छ । ऊसित धेरै जोरी खोज्यो भने त्यसको प्रतिफल जाँचमा चखाइहाल्छ । प्रयोगात्मक नम्रब हाल्ने विषयमा फेल गरेरै छाड्छ । यस खालका अनेकन सूक्ष्म उत्पीडन नानीहरुले व्यहोर्दै आएका छन् । मन नपरेको विद्यार्थीको कपीमा आएको नम्बर घटाएर मार्कलेजरमा चढाउँछ । यदि ऊसित टयूशन नपढ्ने विद्यार्थी छ भने त्यस्ताको छानीछानी नम्बर घटाइदिन्छ । उसले यसखालका अनेकन घटिया व्यवहार देखाउँदै आएको छ ।
पार्टटाइमको घण्टी लिन नजिकैको कलेज र प्लस टु मा जति बफादारीका साथ पढाउँछ, काम गर्छ; आफू पूर्णकालीन जागिर खाएको स्कुलमा आलेटाले गर्छ । राजाको काम कहिले जाला घाम भने जस्तो टपरट्यूँइयाँ तालले पढाउँछ । यस विषयमा हेडसरलाई राम्ररी नै थाहा छ । उसलाई पटकपटक भन्छन् सुझाव दिन्छन् । सँच्चिनको लागि अनुरोध गर्छन् । सामुन्नेमा आफ्नो गल्ती स्वीकारे जस्तो गर्छ । फेरि दुईचार दिनमा आफ्नो व्यहोरा देखाइहाल्छ ।
उसको अर्काे गुप्त बानी यो पनि छ, उमेर पुगेका केटी विद्यार्थीलाई एक्लै एकान्तमा भेट्यो भने पिठ्यूँमा ढ्याप मार्ने, गाला थप्थपाउने र पाखुरामा समाउने बानी छ । हुन त उसले छात्राहरुलाई माया गरेको जस्तो भान पार्छ । तर हुर्केका नानीहरुलाई सूक्ष्म हिसावले यौन दुव्र्यवहार गर्नपछि पर्दैन । यस विषयमा पनि एकाधचोटि अभिभावकहरुले हेडसरसित गुनासो गरे ।
हेडसरले स्टाफ बैठकमै कुरा लगेर छलफल गर्दा उसलाई नकारात्मक असर पर्छ भनेर एकान्तमै बोलाइ ऊप्रति गरिएका शिकायतहरु सुनाए । सुरुमा त हुँदै होइन, ममाथि झुटो लाञ्छना मात्र हो; मैले यस किसिमको चरित्रहीन काम गर्नु त के कल्पना समेत गरेको छैन भनी प्रतिवाद जनायो ।
हेडसरले पनि स्पष्ट भनिदिए, “हेर्नुस् रणजित सर, हावा नचली पात हँल्लिदैन । अभिभावकलाई पनि विनावित्थामा यस्तो कुरामा उजुरु गर्ने कुनै रहर हुँदैन । यो भनेको मानिसको इज्जत र चरित्रसित गाँसिएको कुरा हो । एक नम्बरमा तपाईले अड्डी लिए झैँ यस्तो खराब काम नगरेकै राम्रो । यदि जान–अञ्जानवश गरिएको भएपनि अव आइन्दा यस्तो काम विलकुल गर्दै नगर्नुस् । विद्यार्थी केटी र अभिभावकहरुले पनि एकचोटि सुध्रिनलाई समय दिएका छन् । फेरि तपाईले यस खालको घटना दोहो¥याउनु भयो भने कसैले पनि तपाईलाई बचाउँन सक्तैन । आफ्नो दुष्कर्मको फल आफैँले भोग्नुपर्छ ।”
हेडसरको सुझावलाई उल्टो रुपमा बुझ्यो कि सुल्टो रुपमा बुझ्यो । नाकको पोरा फुलाउँदै रातो मुख लाएर अफिसबाट बाहिरियो ।
+++++ +++++ +++++
रणे खुलालकी आमा पहाडमा दाजुसितै थिइन् । रणेहरु दुई दाजु भाइ हुन् । दाजुले धेरै पढ्न सकेन । बालकैमा बाउ मरेपछि सारा घरायसी बोझ आमा र दाजुको काँधमा आइलाग्यो । पहाडको पाखोबारी खनजोत गरेर मकैको पीठो दुःखम्सुखम् खाएको परिवार हो । आमा र दाजुले खेप्नु दुःख खेपेर रनेलाई पढाए । एस.एल.सी.पछि काठमाण्डौ गयो । पसलमा सानोतिनो काम गरेर इन्टर ग¥यो । इन्टरपछि अंग्रेजीमा राम्रै विद्यार्थी भएकाले वोर्डिङमा पार्टटाइम काम गर्न भेट्यो । त्यही आधारले डिप्लोमा र मास्टर डिग्री गर्न भ्यायो ।
पढाइ सकेपछि मधेशको ठाउँमा जागिर खान भेट्यो । अस्थायी नै भएपनि राम्रै कमाइ छ । आमा र दाजुलाई पहाडमा दुःखैदुःख छ । ऊ कमाउने भएपछि धेरथोर व्यवहारमा सहुलियत होला कि भनेर आशा राखे । तर, एक कन्चो सहयोग गर्दैन । लु दाजुलाई त गरेन गरेन आमालाई त हेर्नुपर्ने हो, आमालाई पनि हेर्दैन ।
अब त आमा बूढीपनि हुँदै गइन् । खाली गानो दुख्छ । कान्छो छोराका घर अलिवार बस्छु पनि, अस्पतालमा गएर जचाउँछु पनि, यति सोची मधेश झरिन् ।
छोराको घरमा दुईचार दिन बसेपछि एकदिन उसको सामुन्नेमा वक फुटाइन्–“नानी ! नानी !! मलाई त बेलुका बेलुका एकदम गानो दुख्छ । एकचोटि डाक्टर काँमा जँचाइ दिन्थिस् कि ? पल्लो छेउका दुईटा बँगरा पनि हल्लेर लिरिक्लिरिक् भएका छन् । दुखेर खप्नु हुँदैन । त्यसको पनि उपचार गर्न पाए हुन्थ्यो ।”
आमाका कुराले निमेष भरमै अनुहार अँध्यारो पा¥यो ।
“खर्च कति ल्याकी छौ नि ? उपचार गर्न ।” उसको सोधनीले बूढीआमा खङ्ग्रङ्ग छाँगाबाट खसेजस्तो भइन् । छोराले यस्तो जवाफ देला भन्ने कुरा सपनामा पनि सोचेकी थिइनन् ।
“खसी बेचेका, घिऊ बेचेका पैसा पठाएन दाजुले ?” फेरि प्रश्नको वाण मुटुमै ताकेर हान्यो ।
“आमुई के पठाउनु ? वरा ! उसका पनि वाक्ला केटाकेटी छन् । खुवाउनै प¥र्यो, लुवाउनै प¥यो । जुगजमाना अनुसार पढाउनै प¥यो । आम्दानी केही छैन खर्च मात्रै छ ।” आमा द्रवित बनिन् ।
“त्यत्रो मेरो अंश खाएको छ एकलौटी रुपमा ।” दाजुप्रति कटाक्ष ग¥यो । आमालाई नमिठो लाग्यो ।
“विधुवा भत्ता बुझेको पैसा ल्याएकी छु । अस्पताल चाहिँ पु¥याइदे ।”
“ल ल ऽऽ शनिवार जाउँला ।” ऊ चर्पीतिर गयो । आमाले तुरुक्क आँशु चुहाइन् । कसैले देख्ला भनेर हतपत गम्छाको छेउले आँशु पुछिन् ।
उनलाई रातभरि निद्रा परेन । यता कोल्टो पर्छिन् । उता कोल्टो पर्छिन् । छोराका तिनै वचनले मुटुलाई चस्सचस्स घोचिराख्यो । मनमै विचारका अनेकन आलोडन विलोडन उठछन्– पाउन त आफूले नै पाएको छोरो हो । बाबु मर्दा बालकै थियो । हजार दुःख खेपेर हुर्काएकी हो । यसलाई पढाउन लेखाउन यत्तिको बनाउन दाजुले पनि कम्ति दुःख गरेको छैन । त्यो दाजु उपर कहिल्यै दयामाया र आदरको भाव जागेन यसमा । दाजु भने भाइ भनेपछि हुरुक्क हुन्छ । भाइको चैँ पेटाँ अलिकति पनि हरि छैन । यसलाई दशधारा दूध पिलाएर यत्तिको बनाएको पनि कुकुरकै पिधाँ गयो । पढेलेखेको मान्छे त ज्ञानी हुन्छ, विवेकी हुन्छ । ऊ भित्र दयामायाको भाव हुन्छ भन्थे, यो सवै झुट्टा रछ ।
यस्ता अनेकन कुरा खेलाउँदा खेलाउँदै आधारात टरेपछि फुस्स निदाइन् आमा । उनलाई छोराको व्यवहारले उपचारपछि एक मिनेट त्यहाँ अडिने मन छैन ।
शनिवारको दिन अटोरिक्सामा अस्पताल लिएर गयो । पेट जचाउँने काम भयो । डाक्टरले एक्सरे ग¥यो ।दिशापिसाव जाँच्यो र तीन महिनाको लागि औषधि लेखिदियो । त्यसपछि डेन्टल क्लिनिकमा गएर हल्लिएका दुईटा बँगरा फुकाल्ने काम भयो । घर फर्किने वेलामा जाँचजुँच, औषधी र अटो रिक्सामा चढेको भाडा समेत हिसाब ग¥यो । एघार हजार दुईसय पैँतीस रुपैयाँ खर्च भएछ । धेरै चाहिँ औषधीलाई परेछ ।
आमासित लिएको नौ हजारले पुगेन । अपुग रकम आफ्नै पर्सबाट निकालेर खर्च ग¥यो । बेलुकी घर आइपुग्ना साथ आमालाई हिसाब सुनायो ।
“बुझ्नु भो आमा !! जम्मा खर्च एघार हजार दुईसय पैँतीस लाग्यो । तपाईले दिएको भन्दा दुई हजार दुई सय पैँतीस बढी लाग्यो ।”
“भैगो नि ! ज्यानलाई जाति भयो भने पैसा त खर्च होस् नि ।” आमाले सहजै जवाफ दिइन् । रने आमाको जवाफले भित्रभित्रै असहज बन्यो ।
“भैगो भनेर हुँदैन त । पहाड गएर त्यो दुई हजार दुई सय पैँतीस पठाइदिनु नि । मेरो गोजीको परेको छ ।”
अब चैँ आमा दोस्रोचोटि खङ्ग्रङ्ग बनेर छाँगाबाट खसिन् । उनको मनमा लाग्यो– ओहो ! यो छोरो होइन रहेछ, मोरो पो रहेछ । यस्तो द्रव्यपिचासलाई कुन दिनमा जन्म दिएछु ? मनमा औडाह छुट्यो ।
“तेरो गोजीको तिरिदिन्छु नानी तिरिदिन्छु । अर्काे महिनाको वृद्धा भत्ताले तिरिदिन्छु ।”
“पैसै नपठाए पनि हुन्छ, त्यो बराबरको घिउ र कालो दाल पठाइदिदाँ हुन्छ ।”
“यी खालास् कालो दाल !” भनेर मुख सोतारिन झ्वाँक उठेको थियो भित्र भित्र । तर, बूढीले भित्री आवेगलाई संयमको लगाम कसेर कावुमा राखिन् । नरम स्वरमै जवाफ दिइन् –“आ ऽऽ पैसै पठाइदिहाल्छु । यतै किन्नु क्या । भन्नु मात्रै पहाड हो यतै झारिहाल्छन् । यीँको भाउ हाल्नु पर्छ । यतै किन्नु क्या ।”
“हुन्छ ! त्यो पनि हुन्छ ।”
+++++ +++++ +++++
सन्ध्याको घुम्टीले धर्तीलाई लपेट्दै आयो । घरदेखि माथिको बाँस झ्याङ्गमा सारौँ चरीका बथानहरु अनौठोसित चिच्याउन थाले । आमाको मनमा उकुसमुकुस भैरहेको छ । कतिवेला उज्यालो हुन्छ र बाटो लाग्नु यही धुनले अठ्याइरहेको छ ।
“रने बज्याको घरमा एकमिनेट बस्न मन छैन !” बूढीको एउटा मन बोल्छ ।
“नबसेर के गर्छेस् त यत्ति राति !” अर्काे मनले जवाफ दिन्छ ।
“भोलि त उज्यालो मात्र होस् न !” फेरि पहिलो मन चुनौती दिन्छ ।
दोस्रो मन पछिलो मनसितै सहमति जनाउँछ ।
रने ओछ्यानबाट नउठ्तै आमाले आफ्नो कुम्लो कुटुरो बाँधेर तयार भइन् ।खोकिलाबाट बिँडी निकालिन् । उनको बिहानै दुईसर्काे बिँडी तान्ने बानी छ । सलाई कोरेर फ्वाँस बिँडीको धुवाँ उडाइन् । धुवाँसँगै मनपनि एकतमासले उडिरहेको छ ।
दुई दिनको बाटो कुम्लो बोकेर उकालो चढ्नु छ । ओरालो झर्नुछ । अनेकन पहाडी भन्ज्याङ्ग चौतारीहरु छिचोल्नु छ । घरबाट झर्दा महिना दुइएक छोराको घरमा बस्ने इच्छाले झरेकी हुन् । बिचमै आमाको मन भाँच्चियो । छोरो दिन परदिन निर्दयी बन्दै गएको अनुभूत गरिन् ।
थाप्लोमा कुम्लोको नाम्लो भिरिन् । लौरो टेकिन् ।
“म त हिँडे बस है नानी हो ! राम्रोसित बस ।”
छोराले पिलिक्क हे¥यो । ओछ्यानबाटै भन्यो– “जानू ! जानू ! राम्रोसित जानू !”
सत्तरी पुगेकी बूढी आमा पहाडको बाटो एक्लै बाटो लगिन् । कसरी जानु हुन्छ; के खानु हुन्छ ?एकबचन सोधेन । बूढी घर पछाडिको काब्राको रुख कटेपछि उसलाई पैसाको सम्झना आयो । कुदेर गयो ।
“आमा ! त्यो वाइस सय पैँतीस पुग्ने वित्तिकै पठाइदिनु है । ”
आमाले सुनेरपनि मुन्टो नफर्काइ सरासरी बाटो लागिन् । आँखाबाट बलिन्द्र आँशु चुहे । गम्छीले आँशु पुछ्दै बाटो लागिन् ।
बाटामा एकरात बास बसेर डेढ दिनका दिन गाउँ पुगिन् । आमा आएको देखेर जेठो छोरो मेलाबाट कुद्दै घर आयो । आमाका खुट्टा ढोग्यो ।
“आमा !! छिट्टै फर्किनु भो त ? कान्छाले बसूँ भनेन ।”
“भो ! त्यस हरामीमा कुरै नगर नानी ।” आमाले गहभरि आँशु पारेर भनिन् । जेठाले बुझिहाल्यो । भाइले बूढी आमाको मन निकै दुखायो क्यारे ।
पत्नीलाई अरायो –“आमालाई तातो भात बनाइदे, भोकाएर आउनु भयो ।” ऊ जोत्दा जोत्दैको मेलो गोरु अड्याएर घरमा निस्केको थियो ।
“खाना खाएर आराम गर्नू ।दुईचार दिन सुतीराख्नू केही गर्नुपर्दैन ।” छोरोको स्वरमा आमाप्रतिको गहन श्रद्धा, आदेश बनेर पोखिएको थियो । मनमनै हर्षित बनिन् र सोचिन् नपढेको छोरो यस्तो मलकाजी छ, पढेको छोरो त्यस्तो हरामी छ । छोरो मेलामा फर्किन लाग्दा नजिकै बोलाएर छोरालाई कानमा सुटुक्क भनिन् –“नानी ! नानी !! म मरेँ भने रने हरामीलार्य मेरो लाशपनि छुनु नदिनु है ।” जेठा छोराले कुराको केही भेउ पाउन सकेन ।
“किन आमा ? किन त्यसो भन्नु भएको ?”
“म अगति पर्छु क्या ! त्यस्ता द्रव्यपिचासले छोयो भने अगति पर्छु !”
जेठाले जडी कुरा बुझ्न भने बाँकी नै थियो ।मधेशबाट थाकेर आएकी आमालाई थप कुरा सोधेर हैरानी दिनु उचित ठानेन । बरु मेलो सक्न बारीतिर लाग्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।