
विषय प्रवेश
पात्र कथावस्तुलाई गतिशील बनाउने कर्ता हो । घटनालाई पात्रले बोक्दछ वा पात्रलाई घटनाले बोक्दछ । पात्रको सजीवता, स्वाभाविकता र सामयिकतामा कथावस्तुले जीवन पाउछ । पात्रहरू धेरै हुनसक्छन्, घटनालाई बोक्न यी सबै निरोपित भूमिकामा रहन्छन् । प्रमुख पात्र कथावस्तुको केन्द्रस्थमा रहन्छन्, सहायक पात्रहरू प्रमुख पात्र (प्रधान घटना) लाई ध्येयित परिणामा पुर्याउन सहयोगी हुन्छन् । खलपात्रहरू विपरीत भूमिकामा रहेर मुख्यपात्रलाई उत्कर्षमा पुर्याउन सहयोग गर्दछन् । मुख्य पात्रमार्फत सर्जक आफ्नो विचार र दृष्टिकोण अभिव्यक्त गर्दछ ।
सर्जक लेखन विषय, विधा र प्रवृत्ति अनुरूप चरित्रकार्य निर्धारण गर्दछ । यथार्थवादी, सामाजिक यथार्थवादी, स्वच्छन्दतावादी, मनोविज्ञानवादी, विसङ्गतिवादी, प्रगतिवादी, प्रयोगवादी, तिलस्मीतावादी आदि सिर्जनाधारा अनुरूप पात्रको भूमिकाको प्रभावकारिता प्रस्तुति भिन्न हुन्छ । जस्तो कि गुरुप्रसाद मैनालीका पात्रले सामाजिक यथार्थवादी आदर्शोन्मुखता पछ्याउने गर्दछ, पारिजात (राल्फावादी हुनुअघि) का पात्रले आस्थाहीनता र निरीश्वरतालाई बोक्दछन्, विश्वेश्वरप्रसादका पात्रले मनभित्रको संसारमा रमाउँछन्, पिरोलिन्छन् वा त्यही सङ्घर्ष गर्दछन् । झिना घटनाक्रममा पाहरू स्वययम् विवेचित हुन्छन् । म्याक्सिम गोर्की, निकोलाई आत्रोभ्स्की र याङ्माका पात्रहरू विद्रोहका दाह्रा किट्छन् । होमर र व्यासका पात्रहरू पराक्रम, साहस र आदर्श कार्य गर्दछन् । लेखकीय धाराबाहेक अन्य चरित्रकार्यको भारी बोकाउँदा सिर्जना प्रभावहीन हुन्छ, पात्र बेतुकी । त्यसैले पात्र चयन महत्त्वपूर्ण काम हो ।
प्रयोगका आधारमा पात्रहरू सतही (सपाट), वर्तुलाकार, सापेक्ष, निरपेक्ष्य, गतिशील, स्थिर, सार्वभौमिक वा सनातनी हुन्छन् । कार्ल गुस्ताभ योङ्ग स्वभावका आधारमा पात्रहरूलाई अन्तर्मुखुी वा बहुर्मखी भनी वर्गीकरण गर्दछन् । पात्रहरूको चरित्र उमेर, पुस्ता, समय र परिस्थिति अनुसार भिन्न हुन सक्दछ । जे जसरी वर्गीकरण र व्याख्या गरे पनि पात्र विषय–विधानलाई, घटना र घटनावृत्तिलाई जीवन दिने कर्ता हो ।
पात्र विधानका आधारमा कथा प्रवाहशील हुन्छ । पात्रले खेल्ने भूमिकाका आधारमा पाठक/दर्शक रोमाञ्चित, आक्रोशित, शान्त, उद्वेलित, स्निग्ध, विरक्त वा अन्य परिवेशमा पुग्दछ । भनौँ, पात्र र पाठक एकाकार हुन पुग्दछन् । पाठक लेखकीय समानुभूतिमा पुर्याएर कथामा अन्तरवोधित बनाउने काम पात्रकार्यले गर्दछ । यस अर्थमा पात्र स्रष्टा र पाठकबीच, समय र पाठकबीच, परिवेश र पाठकबीचको सम्बन्ध सेतु हो । आख्यानात्मक सिर्जनामा पात्रको महत्त्व अधिक हुन्छ । आख्यानका प्रमुख तत्त्वहरू विषय, कथानक, घटना सबै नै पात्रको वरिपरि घुम्ने गर्दछ । पात्रले कथाको जीवनलाई बोक्दछ । पात्र संवाद वा मनोवादमार्फत कथालाई अघि बढाउने गर्दछ । कथामा मानवीय मात्र होइन, मानवेत्तर पात्र पनि उपयोग हुन्छ । कथाका पात्रहरू प्रमुख–सहायक, नायक–खलनायक हुन सक्दछन् । चरित्र मूलतः व्यक्ति हुन्छ । उसले जे बोल्छ, संवाद हुन्छ र जे गर्छ त्यो कार्य हुन्छ ।
सातिनस्ल्याभ्स्कीले पात्र चयनमा चार सवाल उठाएका छन् । पहिलो, ऊ कस्तो चरित्र हो ? वा उसलाई के गर्न खडा गरिँदैछ ? दोस्रो, ऊ कुन परिवेशमा छ ? वा कस्तो अवस्थामा उसले कार्यव्यापार गर्ने हो ? तेस्रो, ऊ त्यहाँ के गर्दैछ ? वा उसको आशय र कार्य के हो ? र चौथो, उसले चरित्र कार्य गर्नु अघिको अवस्था कस्तो थियो ? वा पृष्ठभूमि कस्तो थियो ?
पात्र चयन, नामकरण चरित्र व्यापारमा प्रभाव उत्पादन हुने हुनाले यसमा सावधानी चाहिन्छ । पश्चात्य साहित्य सिद्धान्तका गुरु अरिष्टोटल दुखान्त चरित्रलाई धेरै महत्त्व दिन्छन् । उनका अनुसार यसले व्यक्तिका रुचि अभिरुचिको प्रवर्द्धनमार्फत नैतिक ध्येयलाई व्यक्त गर्दछ ।
कस्तो पात्र जीवन्त हुन्छ ?
प्राचीन साहित्यमा महान् चरित्रलाई आधार मानेर काव्यकथा रचना गरिन्थे । त्यस्ता पात्रले वीरता र साहसिक कार्य गर्दथे, अलौकिक हुन्थे । राष्ट्र प्रेम देखाउँथे । आदर्श व्यवहार र उदाहरणीयतामा रहन्थे । नैतिक आचरण र मानवीय मूल्यमा खरो उत्रन्थे । चुनौतीको काम गर्थे ।
पात्रहरूको चयन र भूमिका विनियोजनमा स्रष्टा सर्जकीय स्वायत्ततताको उपयोग गर्छन् तर घटना र विषयविधान पर रहन स्वतन्त्र हुँदैनन् । चरित्र व्यापारमा पात्रहरू स्वतन्त्र हुँदैनन् । मुख्य पात्र नायक वा स्थूल भूमिकामा हुन्छ । प्राचीन कथा/काव्यहरूमा त्यसले साहसिक यात्रा गर्छ । पूर्वीय आचार्य र पश्चिमी दार्शनिकहरू विशिष्ट व्यक्तित्व र परिवारका व्यक्तिलाई मुख्य चरित्रमा लिन्छन् । आचार्य विश्वनाथ देवता वा धिरोदात्त गुण भएको नायक हुनुपर्ने आग्रह राख्दथे । ठूला व्यक्तिका कथामा आधारित भएर नै महाकाव्य लेखिन्थ्यो, जस्तो कि कालीदासको ‘रघुवंश’ र ‘कुमारसम्भव’, भासको ‘कर्णभारम’, माघको ‘शिुशुपाल वध’, श्रीहर्षको ‘नैषदीय चरित’ आदि । यी पञ्चम महाकाव्यले महाकाव्य आफैँ महकाव्यका मानक थिए । समान रूपमा पश्चिमी आचार्य प्लेटो तथा आरस्तु पनि साहसिक चरित्र भएको पात्र चाहन्थे । महान् व्यक्ति नै कथाकाव्यका प्रधान पात्र हुन्थे ।
काव्यिक रचना र पात्रहरूको इतिहास हेर्दा प्राचीन काव्य गिल्गामेसको महाकाव्य (इपिक अफ गिल्गामेस जुन इश्वी संवत शुरु हुनुभन्दा करीब २१०० देखि १२०० वर्ष पहिला रचना भएको र वेवोलियन स्क्राइव र पादरीले सम्पादन गरेका) ले पहिलो रूप दिन्छ । महाकाव्यको प्रमुख पात्र इरिक सम्राट गिल्गामेस थिए र उनको यात्रा वर्णनले काव्यकथाको रूप लिएको छ । गिल्गामेस दृढ, बुद्धिमान र विवेकी थिए । अलौकिक शक्तिका देवतासरि थिए । यात्रामा उनलाई जङ्गली मानिस इन्कीदुले साथ र साथीत्व दिएको छ । यात्रा निकै साहसिक र कठीन थियो । इन्कीदु गिल्गमेसको साहसिक दमनलाई नियन्त्रण गर्न ईश्वरले रचना गरेको पात्र थियो । तर ऊ गिल्गामेसको साथी (प्रेमी ?) बन्यो र उनैसँग सेडार जङ्गलको यात्रा गर्न लाग्यो । गिल्गामेसबाट यात्रामा धेरै राक्षसहरू मारिए । सेडारको अभिभावकका रूपमा रहेको हम्वावा राक्षस मारिएपछि ईश्वर रिसाए । गिल्गामेसको वीरता र साहस देखेर देवीकन्या इस्तारले प्रेम प्रस्ताव राख्छिन् । इस्तार यौन र हिंसाकी देवी थिइन् । उनको अति यौनवासनाको चाहना र मायावी शक्तिका कारण आफ्नो साहसिक कार्य पराजयमा टुङ्गिने संदेहले गिल्गामेसले प्रस्ताव अस्वीकार गरे । त्यसबाट क्रुद्ध इस्तारले आफ्ना पिता आकाशका भगवानलाई बदलाका लागि अनुरोध गर्छिन् । गिल्गामेसलाई मार्न पठाइएको राक्षसलाई इन्कीदुले मारेपछि उसलाई जन्मकैदको सजाय दिइन्छ । त्यसपछि गिल्गामेस गहिरो चिन्तामा पर्छन् र आत्मिक विश्वको खोजी गर्छन् । यही क्रममा अमरत्व प्राप्त गरेका मानिस उत्नापिस्तिमसँग उनको भेट हुन्छ । उनीसँग भएको डुङ्गाबाट गिल्गामेस अर्को महासागरमा जान्छन्, जहाँ एउटा बिरुवा थियो, जसले मानिसलाई फेरि जवान बनाइदिन्थ्यो । त्यो बिरुवा लिएर गिल्गामेस महासागर बाहिर आउँछ तर सर्पले त्यस बिरुवालाई चोरिदिन्छ । साहसिक यात्राको निरास उपलब्धि सहित गिल्गामेस उरुक फर्किन्छ ।
यात्राबाट गिल्गामेसले के बुझ्यो भने जति नै प्रख्यात र शक्तिशाली भए पनि मृत्युबाट उम्किन सकिँदैन । उसले प्राप्त गरेको ज्ञान नै यात्राको उपलब्धि थियो ।
इपिक अफ गिल्गामेसको पात्र महान् थियो, आलौकिक थियो र साहसिक यात्रा गर्दथ्यो । प्राचीन समयको पहिलो महाकाव्यले चरित्रमा हुनुपर्ने गुण साहस, अलौकिकता, निर्भिकता, दृढता र विवेकशीलतालाई मानेको छ । यसले साहित्यका लागि एउटा सिद्धान्त र आधारको जग दिन पुग्यो ।
यसैगरी पूर्वीय साहित्यमा पौराणिक र वैदिक समयमा रचना गरिएका महाकाव्य रामायण र महाभारतले महान् पात्रहरूको चरित्र र गुणलाई बताएको छ । बाल्मीकिकृत रामायण मर्यादा पुरुषोत्तम रामचन्द्रको नायकत्वमा गतिशील छ । रामचन्द्र महान् चरित्र प्रदर्शन गर्ने पात्र हुन् । उनको नायकत्व शासन, समाज, परिवार, साथीसंगाति, गुरुकूल, युद्ध, प्रेम र मातापिता सेवाका लागि समान आदर्शमा छ । रामचन्द्रको चरित्रले महाकाव्यमा जसरी महान् र जीवन्त भूमिका छ, समाजमा पनि त्यसै अनुरूपको आदर्शलाई मार्गदर्शन गर्दछ । रामको व्यवहारले शदिऔँको मानव सभ्यतालाई मार्गदर्शन गरिरहेको छ । रामचन्द्र जस्तो आदर्श व्यवहारको नायकत्व लिने पात्र अहिलेसम्म नै रचना भएको छैन । त्यसैले उनी मर्यादा पुरुषोत्तम कहलिएका छन् ।
रामायणका अरु पात्रहरू पनि रामकथाको चरमोत्कर्ष निर्माणका विशिष्ट भूमिकामा छन् । सीताको पतिपरायणता, भारतको भातृसम्मान, लक्ष्मणको समर्पण, हनुमानको आज्ञाकारिता, विभिषणको विद्वता, रावण, सुर्पणखाहरूको रावण पक्षीय पात्रको विपरीत चरित्रकार्यले रामायणलाई पूर्णता दिएको छ । रामायणका पात्रहरू महाकाव्यका पात्रहरू काव्यविधानका मानकका बनेर पूर्वीय साहित्यमा स्थापित छन् ।
प्राचीन समयको सबैभन्दा ठूलो महाकाव्य महाभारत हिन्दूहरूको धर्मथ्रन्थ हो । तत्कालीन समाजको दर्शन, राजनीति, कला, संस्कृति, शासन–षड्यन्त्र, युद्ध–शान्ति, कुटनीति, अर्थनीति, समाजशास्त्र र विज्ञान समेटेर शास्त्रीय विधिमा लेखिएको वृहत् काव्यका पात्रहरूले खास खास विषयमा निरोपित भूमिका लिएका छन् । रामायणमा जसरी नै स्वाभाविक र जीवन्त चरित्र व्यापार भएको छ ।
महाभारतमा चन्द्रवंशदेखि कुरुवंशसम्मको इतिहास छ । पात्रहरूले सिलसिलामा रहेर परम्परालाई बोकेका छन् । ऋषि–गुरुहरू, राजा–महाराजा, सैन्य–सेनापति, रानी, अप्सरा, नायक–खलनायकहरू, गज–अश्वहरू शास्त्रीय विधानमा चरित्र छन् । कर्ण, अर्जुन, भीम, भीष्म, द्रोणचार्य, अश्वत्थामा, युधिष्ठिर, दुर्योधन, सकुनी, सञ्जय, बबरुवान, अभिमन्यु, द्रौपदी, कुन्ती, उलुपी, चित्राङ्धा, कृष्ण सबैको भूमिका अर्कोसँग तुलना हुन्न । कर्ण इमान र त्यागको धरोहर हो, युधिष्ठिर सत्यका, भीमसेन बलका, अर्जुन युद्धकौशल र चार्तुयका, भीष्म त्यागका, द्रोणचार्य गुरुत्वका, कृष्ण शान्ति र क्रान्तिका, सकुनी षड्यन्त्रका, विदुर विद्वताका, सञ्जय सञ्चारका, धृतराष्ट्र सन्तानमोहका धरोहर थिए । युद्धकार्य, राज्यकौशल, सामाजिक थिति, विद्वता, दर्शन, प्रज्ञाका बहुआयाममा महाभारत प्रवाहशील छ । महाभारत महायुद्ध थियो, बहुआयामिक युद्ध । त्यसैले खास क्षेत्रको भूमिका निर्दिष्टतामा रहेका पात्रहरू त्यस क्षेत्रका मानक बनेका छन् ।
ईशा पूर्व आठौँ शताब्दीतिर रचना गरिएका होमरका इलियड र ओडेसीका पात्रहरू महान् छन् । इलियडमा ट्रोयका राज प्रियामका छोरा पेरिसले स्पार्टाका राजा मेनेलाइसकि पत्नी हेलेनलाई अपहरण गरेको छ । मेनेलाइस र उनका भाइले हेलेनलाई प्राप्त गर्न युनानी राज्यसँग युद्ध गर्छन् । युद्धको अन्त्यमा ट्रोय शहर आगोमा दहन भएको छ र हेलेन घर फर्किएकी छन् । इलियडको नायक अकिलिस कुशल योद्धा र साहसिक पात्र हो ।
रामायण र इलियड एकै समयतिर लेखिएका काव्यकथा हुन्, कथावस्तुमा पनि केही समानता छ । नायिकाको अपहरण, शहरको दहन, युद्ध र समाप्ति कथाका समान आयाम हुन् । दुवै कृतिका पात्र आदर्श, युद्ध कुशल, राज्यकौशल र पराक्रमी छन् । पूर्वीय तथा पश्चिमी साहित्यमा दुवै महाकाव्य मानक हुन् । गेटेले होमरको महाकाव्यलाई आदर्श मानेर नाटक लेखे । भर्जिलले यसैलाई आधार मानी महाकाव्य लेखे । पूर्वीय साहित्यमा रामायण र महाभारतको पदचापमा काव्यकृतिहरू रचना भए । वाल्मीकि र व्यासका पात्रहरू धीरोदत्त, दैवीशक्तिमान, मानवीय, वीर, प्रेमिल, आदर्श र राज्यकौशलका उदाहरण हुन् । यी महाकाव्यहरूलाई आधार मानेर भामह, दण्डी, रुद्रट, विश्वनाथहरूले महाकाव्यको सिद्धान्त, रस, अलङ्कार, छन्द र पात्रविधानहरू स्थापित गरेका छन् । त्यस्तै होमरका इलियड र ओडेसीले पश्चिमी साहित्य परम्परामा मानक भए । जीवन्त र महान् पात्रले आफैँ मानकको स्थान लिन्छ ।
पश्चिमी तथा पूर्वीय परम्परामा प्रेममा आधारित भएर थुप्रै कृतिहरू लेखिए । यस कोटीका काव्यकृतिका पश्चिमी मानक शेक्सपियर थिए । आदर्श र साहसिक पात्रको प्रयोगका कारण शेक्सपियर तत्कालीन समाजमा अति नै प्रिय र सम्मानित व्यक्तित्व थिए भने आज पनि उनी सरहको प्रख्यातिको अर्को स्रष्टा मानिँदैन । उनका नाट्यकाव्यहरू दुखान्त पात्रका मानक हुन् । दुखान्त पात्रले प्रभावोत्पादनमा गर्ने योगदानका कारण प्लेटो पनि दुखान्त पात्रका पक्षमा छन् ।
शेक्सपियरको दुखान्त नाटक रोमियो जुलियटको नायिका जुलियट प्रेमका महान् पात्र हुन् । चार सय वर्षअघिको प्रेमकथाको समाजमा यति प्रभाव परेको छ कि आदर्श प्रेममा अहिले पनि रोमियो जुलियट उदाहरणमा लिइन्छ । केही अघि नेपालको संसदले पनि विवाहको उमेर संशोधनको समयमा ‘रोमियो जुलियट ल’ को प्रसंग उठाए । किशोरकिशोरीको प्रेम अपराधको अदालती व्याख्यामा पनि ‘रोमियो जुलियट सिद्धान्त’ चर्चामा ल्याइन्छ । उनीहरूको प्रेमले समाज र शासनमा समेत सिद्धान्त र मानकको काम गर्नु पात्रीय सफलताको जीवन्त प्रमाण हो ।
रोमियो जुलियटको कथा मान्टेग र कापुलेट दुई खानदानबीचको दुस्मनीबाट शुरु हुन्छ, र यही दुष्मनीका कारण प्रेम तहसनहस हुन्छ । जो प्रेमकथा सकिए पनि समाजमा सधैँ ताजा र प्रेम उत्सर्गको आत्मिक उदाहरण बनिरहेको छ । रोमियो जुलियट अनन्त समयका लागि सच्चा प्रेमको मानक हो । रोमियो मान्टेग छोरो र जुलियट कापुलेट छोरीबीचको प्रेम भौतिक रूपमा सकिए पनि प्रेम चाहिँ कहिल्यै नसकिने गरी छाडेर गएका छन् । शेक्सपियरका पात्रहरू यसरी महानताको सिद्ध गर्छन् । लक्ष्मीप्रसाद देवकोटाको मुनामदनले त्यही उदाहरण दिन्छ । मुनामदनको दुखान्त प्रेम परिस्थिति वा स्थितिविपर्ययको परिणाम हो, रोमियो जुलियटको संघर्ष र साहसमा छ । कथा सकिएपछि पनि प्रेम बाँच्नु पात्रको जीवन्तता हो । रोमियो जुलियट र मुनामदन सामान्य जीवनमा ओर्लिएका पात्र हुन् । जीवन्त प्रेमले उनीहरूलाई मानक बनायो ।
जीवन्त पात्रका रूपमा जोर्बा : नयाँ मनुष्यको आधार
अध्येयता तथा दार्शनिक ओशोको नयाँ मनुष्य बनेको ‘जोर्बा द बुद्ध’ (जोर्बा द ग्रकीकको पात्र जोर्बालाई ओशोले दिएको नाम) जीवन्त चरित्र व्यापार गर्ने महान् पात्र हो । ओशोले उसलाई महान् पात्रका रूपमा लिएका छन् । निकोस काजान्जाकिसको जोर्बा द ग्रीक उपन्यासमा बृटिश लेखक बासिल आफ्नो पिताको निधनपछि बन्द रहेको व्यवसाय सञ्चालनका लागि ग्रीसको क्रेट जाँदैछ । बाटोमा उन्मुक्त र रमाइलो मानिस जोर्बा भेट्छ । जोर्बा गरीब भएकाले कुराकानीका क्रममा उसको व्यवसायमा कामका लागि अनुरोध गर्छ । जोर्बा जुन काम पनि तल्लीन भएर मज्जाले गर्छ । बासिल र उसको चरित्रबीच आनका तान फरक छ । बासिल धनी छ, जोर्बा गरीब । जोर्बा जस्तो परिस्थितिमा पनि रमाउन सक्छ । ऊ सङ्गीत बजाउँछ, गीत गाउँछ, नाच्छ, खान्छ, पिउँछ, प्रेम गर्छ । जुन परिस्थितिमा पनि जीवनको पूर्ण स्वाद लिन्छ, हरेक उपलब्धिको पूरापूर उपयोग गर्छ, संतृप्त अवस्थमा रमाउन जान्दछ । उसको जिउने कला निकै मज्जाको छ । जीवनका हरेक अवस्थामा मस्ती गर्छ । धनी भएर पनि बासिलले जिउने कला जानेको छैन, जीवनको अर्थ भेटेको छैन ।
जोर्बा र बासिलले गर्न लागेको काम बिग्रिन्छ । बासिलले अब जोर्बाको संगतले जीवनलाई हेर्ने, बुझ्ने, भोग गर्ने नयाँ शैली सिकेको छ । बेग्लै स्वभावको बासिल जोर्बालाई नृत्य सिकाउन अनुरोध गर्छ । जोर्बाले सिकाएको नृत्यमा बासिल जोर्बासँगै खुला आकाशमुनि, शान्त समुद्र किनाराको एकान्त भूमिमा उन्मुक्त नाच्छ । यो नाँचसँगै जोर्बा र बासिलको प्रेममय जीवनको दुखद अन्त्य हुन्छ ।
जोर्बाले नाचेको नाच आज पनि जोर्बा नाचको नामले प्रख्यात । यो पनि जीवन्त पात्रको विशेषता हो । जसरी रोमियो जुलियट सिद्धान्त, रोमियो जुलियट कानून प्रचलनमा आएको छ ।
ओशो जोर्बालाई नयाँ मनुष्यका रूपमा लिएका छन् । जोर्बाको प्रवृत्तिलाई सिद्धार्थ गौतमसँग जोडेर हेर्छन् । जोर्बा र सिद्धार्थको चरित्र मिलाउँदा एक पूर्ण मानव बन्ने उनको दाबी छ । २९ वर्ष अति सुख भोग गरेका सिद्धार्थले ६ वर्षसम्म पीपलको रुखमुनि कष्टपूर्ण साधनामा महासंबोधी प्राप्त गरी तथागत बुद्ध बने ।
यस युगका रहस्यदर्शी आशोले दुई महान् पुरुषको सम्बद्धतामा नयाँ मनुष्यको कल्पना गरेका छन्, ‘जोर्बा बुद्ध’ । आशोले भनेका छन्– नयाँ मनुष्यको बाहिरी रूप जोर्बाजस्तो होस् र आन्तरिक रूप बुद्धको जस्तो । जोर्बा पनि अधुरो छ । किनकि उससँग भौतिकी भोगमात्र छ । बुद्ध पनि अधुरा छन् किनकि जीवनको रस र रङ्ग छैन । दुवैको समन्वय हुँदा मात्र मानिस पूर्ण हुन्छ । जोर्बा नयाँ मनुष्यको जग बन्नुपर्छ भने बुद्धको जगमा फैलिनु पर्छ ।
वास्तवमा निकोस काजान्जाकिसको परिकल्पनाको पात्र हामीलाई शिक्षा, सीप, साहस, शक्ति, सौर्य, खुशी सबै दिन्छ । जब आत्मा र शरीर एकै साथ चल्न थाल्छन्, हर अवस्था हर प्राप्तिबाट आनन्द लिन सकिन्छ । जोर्बा-बुद्धको सार यही हो ।
पात्रमार्फत नै सर्जक आफ्ना कुरा अभिव्यक्त गर्दछ । त्यसैले प्रधान पात्र सर्जकको सच्चा प्रतिनिधि हुने गर्दछ । उसैको माध्यमबाट सजक आफ्ना विषयलाई फूलबुट्टा, कलाशिल्प, अन्य भावभङ्गी र दृश्यविम्ब मिसाएर सिर्जनालाई प्रभावकारी पार्दछ । पात्रको सही चारित्रीकरणले सर्जकको कला सामर्थ्य र अभिव्यञ्जना शक्तिको द्योतन त गर्छन् नै, त्यसको अतिरिक्त त्यसो गर्ने ऊर्जा र चाहचेतको स्वाभाविकतालाई पनि देखाउँछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
