मानिसहरू गतिशील छन् । भ्रमण प्रियता र नयाँ कुरा जान्ने स्वभावका कारण मानिसलाई गतिशील बनाएको हुन्छ । मानिस भ्रमण मात्र गर्दैन, भ्रमणसाथ स्थान र घटनामा आफ्ना अनुभूति पनि राख्छ, दृश्यमाथि दृष्टिकोण दिन्छ र यात्राको विचरण पनि गर्छ । यात्रुहरू व्यक्त–अव्यक्त तहका नियात्राकार हुन् । तर सिर्जना चाख र सामर्थ्य भएकाहरू भने त्यसलाई उतार्छन् र अरूलाई पनि आफ्ना अनुभूति र दृष्टिकोण बाँड्छन् र अरूलाई पनि नपुगेको ठाउँ, नदेखेको दृश्य र थाहा नभएको विषयसँग परिचय गराउँदै लाभान्वित बनाउँछन् । रामप्रसाद पन्त यसै कोटिका नियात्राकार हुन् ।

करीब पचास कृतिका सर्जक वरिष्ठ साहित्यकार रामप्रसाद पन्त साहित्य सेवा र साधनाका धेरै क्षेत्रमा अविश्रान्त यात्रु हुन् । सबै सर्जकहरू यात्रा गर्छन्, कोही मनभित्रको यात्रा त कोही मनभित्र र बाहिर दुवैको यात्रा । भूगोल र भावना दुवैको यात्रा गर्नेहरू नियात्राकार बनेका छन् । सर्जकका यात्रा सामान्य यात्रामा सीमित रहँदैनन्, समाजकै सम्पत्ति बन्छन्, सभ्यता र सुधारका शक्ति बन्दछन् । पन्तको सिर्जना यात्रा पनि यस्तै छ । २०५६ सालमा ‘जापान भ्रमणका केही सम्झनाहरू’ बाट नियात्रा साहित्यमा प्रकाशित भएका पन्त पुनरावृत्ति मार्फत तेइसौं प्रकरणमा प्रकाशित हुन गैरहेका छन् । प्रायजसो नियात्राकारको रचना गर्भ विदेशको भ्रमण बन्ने गरेको छ ।

पन्त पनि यसको अपवाद होइनन् । जापान भ्रमणका केही सम्झना, पेट्रोनास टावरको सेरोफेरो, पारामाटा किनारबाट, सिक्किमदेखि सिमलासम्म, जयपुरदेखि पुरीसम्म, सोनार बांग्ला लगायतका यसका दृष्टान्त हुन् । तर स्वदेशका भ्रमणहरू, जन्मभूमिका यात्राहरू सिर्जनाका अथाह स्रोत हुन् भन्ने पनि उनले देखाएका छन् । ‘मेची मेरो महाकाली मेरो’ नियात्रामूलक उपन्यासबाट राष्ट्रियता, प्रकृतिप्रेम, मानवता र सामाजिकतालाई एकै स्थानमा संयोजन गरेर आफ्नो नियात्रा वैशिष्ट्य सिद्ध गरेका छन् ।

नियात्राकार पन्तको नियात्रा प्रवृत्तिको विश्लेषण अघि ‘पुनरावृत्ति’ भित्र छोटो यात्रा गरौं । ‘पुनरावृत्ति’ दैनिकी शैलीमा देखिएको छ । चौबीस दिने यात्राका ससाना घटनाहरू नियात्रा शीर्षकहरूमा उनिएका छन् र एउटा माला बनेको छ ‘पुनरावृत्ति’ । यस मालमा लालगढ पहिलो थुँगा बनेको छ भने देवघाट अन्तिम थुँगा । ‘पुनरावृत्ति’ वृत्तात्मक भएकाले काठमाडौंबाट काठमाडौंमा आएर टुङ्गिएको छ ।

‘लालगढको बिच्छुक’ यात्रा विवरण शुरू हुन्छ । यस शीर्षकमा काठमाडौंदेखि भारत विहारको हरिपुर प्रवेशसम्मका यात्रा विवरणहरू सँगालिएका छन् । नियात्राकार लगायत यात्राटोलीका साथीहरूको पहिलो बास लालगढको होटेलमा हुन्छ तर होटेल सञ्चालकको व्यवहारबाट यात्रुहरू अपमानित भएको महसूस गर्छन् तर सहनशील देखिन्छन् । होटेलवालाको त्यो व्यवहारबाट नियात्राकारका मनमा दुई कुरा उठेको छन्, पहिलो मानवीय प्रवृत्ति, त्यसमा पनि व्यापार गर्ने मानिसहरूमा विनयशीलता किन घटेको होला ? र दोस्रो चौबीसको यात्रामा यसले छुक बिगार्ने त होइन ।

त्यसपछि जनकपुर यात्राटोली धनुषा पवित्र स्थानका ‘५२ कुटी ७२ कुण्ड’ बाट रमाएको छ । जनकपुर त्यसै पनि धाम हो, कुण्ड र मन्दिरले सबै धर्मभिरूलाई लोभ्याउँछ । भारत प्रवेशपछि यात्राले ससाना झमेला भोगिरहनुपर्यो । नियात्राकार भन्छन् –लालष्ढमा लागेको बसबसाईंको बिच्छुकले हामीलाई हरिहर धाममा पनि छाडेन र आंशिक रूपमा यात्रा भरि नै छाडेन । शुरूको अपशकुनले त्यो कार्यलाई अन्तिम रूप दिने बेलासम्म प्रभाव पार्छ भन्ने नेपाली मनोसंस्कृतिलाई यसले देखाएको छ ।

पुनरावृत्ति’ को दोस्रो नियात्रा ‘गया, बोध गया र बोधिवृक्ष’ मा पनि धर्म, संस्कार, संस्कृति यथावत् छन् तर विकास र राष्ट्रियताका भावना थपिएको छ, यिनै कुरासाथ यात्रा अघि बढेको छ । यस खण्डमा नियात्राकारलाई बिपी कोइरालाको स्मरणले पछ्याएको छ । विहार नेपाल र भारतको स्वतन्त्रता सङ्ग्रामसँग गाँसिएको क्षेत्र, जहाँ बिपी कोइरालालाई अङ्ग्रेज विरोधी आन्दोलनमा लागेकोमा जेल सजाय गरिएको हजारीबाग जेल छ, विहारका तत्कालीन मुख्यमन्त्री लालु यादवले प्रतिष्ठापन गरेको बिपीको प्रतिमा छ, बिपी कोइरालाको नामको राजमार्ग छ र बिपी कोइरालाले उद्घाटन गरेको जयप्रकाश नारायण सङ्ग्रहालय छ । नियात्राकारको मन यिनै कुराको खोजीमा दौडिएको छ । सबैजसो नियात्रु विदेशमा रहँदा सघन राष्ट्रियताको सोचमा हुन्छन् । राष्ट्रियतामार्फत राष्ट्रिय पहिचान विस्तार भएको देख्न चाहन्छन् । पन्त यसका अपपाद होइनन् ।

नियात्राकार यात्राका धेरै कुरामा रमाएका छन् तर खास विषय र स्थानमा विशेष रमाएका छन् । नियात्राकारको यही रमाई पाठकसम्म विस्तार हुने हो । त्यसैले नियात्राकार यस्ता खास घटना र विषयको खोजीमा सधैं निमग्न हुन्छ । ‘नालन्दाको त्यो वैभव अब कहाँ पाउने’ एउटा विशेष विषय बनको छ नियात्राकारलाई । नालन्दा विश्वविद्यालय र तक्षशिलाले पहिल्यैदेखि प्रभावित छन् नियात्राकार । पूर्वीय दर्शनबाट प्रभावित भएकाले होला विक्रमको पाँचौं शताब्दीमा विश्वकै प्राज्ञिक धरोहर बनेको नालन्दा विश्वविद्यालय हेर्न निकै उत्सुक छन् । त्यहाँको यात्रा शुर गर्नु अघि नै नालन्दा र तक्षशिलाका विषयमा नियात्राकारको मनमा थुप्रै उत्सुकता थिए ।

यहाँ एउटा रहस्य खोलिएको छ, नलान्दामा रहेको राजवीरमा जैन धर्मका प्रणेता महावीर जैन, बुद्ध धर्मका प्रतिष्ठाता गौतम बुद्ध, पूर्वीय दार्शनिक चार्वाक र इस्लाम धर्मका प्रणेता हजरत मोहम्मद सबैले यसै स्थानमा साधना गरेका रहेछन् । साधना र बोधत्वलाई धर्मले बाँडेको रहेन छ । सबै धर्मको सार एकै रहेछ । उसो भए धर्ममा मानव समुदाय किन विभाजित हुने भन्ने मौन सन्देश यहाँबाट पाइन्छ । साथै नालन्दालाई धार्मिक र दार्शनिक सद्भावको केन्द्र बनाउन सकिने आधार रहेछ भन्ने देखाइएको छ ।

वाराणसीमा खातैखात’ यात्रा घटनाक्रमका ससानो टिपोट साथ बनारसको धार्मिक–ऐतिहासिक विषय चित्रणमा केन्द्रित छ । काशी बस गर्नु, सज्जनसँग संगत गर्नु, गंगास्नान गर्नु र शिवपूजन गर्नु सानो पुण्यले नपाइने कुरा हो, जुन अवसर नियात्राकार र उनको समूहलाई मिलेको छ । यात्रुहरू निकै रमाएका र आनन्दित देखिन्छन् । वाराणसी अलिक पर सारनाथ छ, जहाँ सिद्धार्थ गौतमले ध्यान गरेका थिए, त्यसको पनि शालीन तर सङ्क्षिप्त वर्णन छ । बिपी कोइरालाको बिम्ब पनि छ । बिपी कोइराला लगायत नेपालको लोकतान्त्रिक आन्दोलनका प्रमुखकर्ताहरू कि बनारसबाट शिक्षित थिए वा निर्वासनकाल त्यहाँ बिताए । अर्थात् ‘वाराणसीको खातैखात’ तीनकोणमा उभिएको छ, एउटा कोणमा सनातन हिन्दू संस्कृति, अर्को कोणमा बौद्ध दर्शन र अर्कोमा नेपालको राजनीति ।

देवरियाका दुवे र प्रयागराजका पीडक’ साथी र मानवीय व्यवहारहरूको चित्र हो । यस खण्डमा भारतीय बस्तीसँग नेपालको बस्तीको तुलना छ, मन्दिरुबीच तुलना छ । दुवे र नियात्राकार बीच साथीत्व र विचारको साँटफेर छ । यात्राका दुखपीडाका कुराहरू छन् । ‘जहाँ राम, त्यहाँ अयोध्या’ अयोध्या र फौजावादको साङ्केतिक प्रतिस्पर्धाबाट शुर हुन्छ । एकै ठाउँ हो जसलाई हिन्दू बहुल क्षेत्रमा अयोध्या र मुस्लिमहरू फौजावाद भनेर साइनबोर्ड राखिएका छन् । बटापुरबाट प्रवेश गर्दा नियात्राकारलाई यस्तै भान भएथ्यो ।

फेरि नियात्राकारको मन नेपाल–भारतको सांस्कृतिक सम्बन्ध विचरण गर्न पुग्छ – काठमाडौं–दिल्ली, पशुपतिनाथ–विश्वनाथ, लुम्बिनी–वोधगया, जनकपुर–अयोध्या । उनी यी सबै कुरामा सांस्कृतिक समानता देख्छन् । साथै भौगोलिक रूपमा पनि नारायणी–गंगा, बबई–सरयू नाममा मात्र फेरिएका हुन् । नदी र भूगोलले जीवनको सम्बन्ध जोगेको छ । यी सबैले एउटा सामाजिक सौहार्द्यता र जनस्तरको सम्बन्ध देखाइरहेको छ । शायद यी सन्दर्भले अहिलेको नेपाल–भारत सम्बन्धको मनोविज्ञानलाई द्योतन गरिरहेको छ । फेरि नियात्राकारको मनमा अर्को द्वन्द्व छ त्रेता युगदेखि राम जन्मभूमिका नाममा विख्यात अयोध्यामा सन् ५२८ मा वावरी मस्जिद बनाएर किन धर्मयुद्धको बीज रोपिएको होला ?

शुकदेवको वाणी र वेदव्यासको कलम’ नैमिषारण्यको वर्णन छ । यसले शौनकादि ऋषि, चक्रतीर्थ, पुशपति र कैलाशपति महादेव मन्दिर, विष्णु र महादेवको संयुक्त धरोहर हरिहर, पाण्डव सरोवर आदि महत्त्वपूर्ण धार्मिक अनुष्ठान बताउँछ, घुमाउछ र दर्शन गराउँछ । अठार पुराणको सिर्जना भएको ठाउँ चिनाउँछ । ‘जहाँ कृष्ण जन्मिए, जहाँ कृष्ण पालिए’ कृष्ण जन्मे, खेले, हुर्केको स्थानको उत्कण्ठाबाट शुर भै गोकुल, मथुरा, वृन्दावन अवलोकनमा अन्त हुन्छ ।

त्यसपछि आग्राको प्रमेप्रतीक ताजमहल चिनाउँछ । कृष्ण आफै प्रेम र प्रणयका प्रतीक, ताजमहल पनि प्रेमको प्रतीक । नियात्राकार दुवैलाई एक विषय विपरीत कोणबाट देखाइरहेका छन् । यी स्थान र दुवै स्थानका प्रेम पात्र बीचको दूरी पत्ता लगाउने काम भने नियात्राकार पाठकलाई छाडिदिन्छन् । तर प्रेमको दूरी मेट्न पाए हुने भन्ने मौन सन्देश छ यसभित्र लुकेको छ । ‘मन्दिरै मन्दिरबीच केही मन्दिर’ मा रंगनाथ मन्दिर, निधिबन, बाँके विहार, राधारानी, प्रेममन्दिर र गोवद्र्धनमा पाठकलाई पुर्याएर कृष्णचरित्रका बाँकी स्थानको अवलोकन हुन्छ ।

आगराको अन्तर्कथा’ प्रेम स्मारक ताजमहल र यसको सौन्दर्य गाथाका साथै छुपेका रहस्यहरूको उद्घाटन छ । सहाजहाँ र मुमताजको अलौकिक प्रेमस्मृति ताज महलले यात्रुहरूलाई प्रेम प्रणयको पवित्रता बताउँछ । प्रेममा रहने साहस र सौर्य बताउँछ । तर ताज महल निर्माणमा शिवालय ध्वस्त पारिएको थियो भन्ने रहस्यलाई नियात्राकारले बाहिर ल्याइदिएका छन् । हामीमध्ये धेरैलाई यस विषयमा जानकारी थिएन । प्रेमको धरोहर बनाउन किन अर्को धरोहर ध्वस्त गरिएको होला ? सबै धर्मले त प्रेम र अहिंसा नै सिकाउने हो भन्ने मौन सन्देश यहाँ पनि दिइएको छ ।

 दिल्लीको सरेफोरो’ सांस्कृतिक, धार्मिक र जनजीवनको चित्र हो । तर यहाँ पनि ताज महलमा जस्तै कुताव मिनार जस्ता महत्त्वपूर्ण धरोहरको निर्माणमा मुस्लिम सम्राट्ले वैदिक संरचनाहरू भत्काएका रहेछन् । नियात्राकारलाई धार्मिक आदर्श कायम गर्ने पिरोल्याई छ । साथै पछिल्ला दिनहरूमा महत्त्वपूर्ण धार्मिक सांस्कृतिक क्षेत्र व्यापारीकृत हुँदै गएको चित्र पनि उतारिएको छ । प्रश्न छाडेको छ, पवित्र स्थललाई कतिसम्म व्यापारीकृत गर्ने ? प्रणावानन्द आश्रमको भित्तामा लेखिएका श्लोकहरूलाई नियात्राकार जीवन र यात्राको सन्देश ठान्दछन् ।

त्यहाँ भनिएको थियो–‘महामुक्ति र आत्मोपलब्धि नै हाम्रा लक्ष्य हुन् । त्याग, संयम, सत्य र ब्रह्मचर्य नै हाम्रो धर्म हो । आत्मविस्मृति नै हाम्रो महामृत्यु हो ।’

तर अफसोच यी कुराहरूको चेत भएर पनि मानिस किन आफ्नै चेतनाप्रति संवेदनशील छैन ?

कुरु क्षेत्र जहाँ युद्धभूमि छैन’ महाभारतको युद्धभूमिको घटना, पात्र र स्मृतिहरू पुनरावृत्ति गरेको छ । तर त्यो युद्धभूमि अहिले जड भौतिक संरचनामा शान्त उभिएको छ । युद्ध नभएपनि मानवता खोज्नुपर्ने स्थितिमा छ । ‘त्यो समय र यो समय’ स्मृतिविम्बका पुनरावृत्तिहरू हुन् । लेखक आफ्नै स्मरणमा यात्रा गरिरहेका छन्, अनुभूति मीठा र नमीठा दुवै छन्, जे भएपनि स्मरणीय छन् । ‘केही सफल केही विफल’ सम्पूर्ण यात्राको निष्कर्ष हो । ‘बाधा र व्यवधान छेड्दै काठमाडौं’ यात्राको तुराई हो, यसले यात्रालाई एक आवृत्तिमा पूरा गरेको छ । र सन्देश दिइएको छ देवघाट पवित्र स्थल हो । धेरै मन्दिर दर्शन र स्थान अवलोकन पछि देवघाटमा स्नान गर्नुले महत्तम अर्थ दिएको छ ।

नियात्रा कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा स्वयम् नियात्राकारका आफ्नै दृष्टिकोण छन् । उनी भन्छन् ‘…नियात्रामा गतिशीलता हुनुपर्दछ, आत्मीयता हुनुपर्दछ, कल्पनाप्रवप्णता हुनुपर्दछ र बहुरङ्गी दृश्य र घटनासित साक्षात्कार गर्ने शब्दचित्र अङ्कित हुनुपर्दछ ।’ उनका आग्रहमा उनकै प्रयोगमा उनी प्रगाढतातिर छन्, पूर्णता एकै पटक प्राप्त गर्ने विषय होइन । स्रष्टा सिर्जनामा माझिंदै जान्छ, परिष्कृत र परिपक्व बन्दै जान्छ । सिर्जना पनि यात्रा हो । यो सिर्जना मात्र होइन विकासको नियम पनि हो ।

पुनरावृत्ति’ ले आवृत्ति पूरा गर्दा त्यहाँ सरलता छ । सरल बन्नु रामप्रसाद पन्तको विशेषता हो । सामान्य घटनाको सामान्यीकरण तर सरल र सुबोध शब्दमा हुनु उनका सिर्जनाका विशेषता हुन्, जुन यस कृतिमा पनि पाइन्छ ।

तानाबाना सहितको कपोलकल्पना उनका नियात्रामा पाइँदैन । नियात्रामा कल्पनाभन्दा घटना र स्थानीयता प्रभाव हुनुपर्छ भन्ने उनको प्रयोग मूल्य हो । तर भाषिक, लवज र जीवनशैलीको प्रयोगले स्थानीय रङ्ग आइदिएको भए सुनमा सुगन्ध हुने थियो । घटना र परिवेश चित्रणलाई जीवनत्व दिन स्थानीय रङ्गहरू पृष्ठाधारमा रहन्छन् । नियात्रामा महत्त्वपूर्ण अवयव शब्दले दृश्यलाई चित्रण गरी पाठकलाई सादृश्यतामा पुर्याउनु हो । यसमा उनी पाङ्ग्रा छन् ।

मन्दिरमा होस वा स्मारकमा, यात्रामा होस वा बासमा त्यहाँको परिवेशमा पाठक अक्षरसाथ पुग्छ । भनौं अक्षरका माध्यमबाट नियात्राकारले हामी पाठकलाई यात्रा गराएका छन् । नपुगीकन पुग्नु, नदेखीकन देख्नु, नियात्राकारकै समभावमा आफूलाई पुर्याउनु पाठकको चाहनापूर्ति नियात्राले गरेको छ । नाम थाहा नपाएका देवता, नसुनेको ठाउँ, नदेखेको प्रकृति, नभोगेको मानवीय व्यवहारलाई आफ्नो अनुभूतिबाट हामीसम्म ल्याएका छन् नियात्राकारले । भारतका विभिन्न स्थानको निर्माण, विकास अवस्था, जीवनशैली र संस्कृति संरचनाको परिचय गराएका छन् । प्रमुखतः प्राचीन वैदिक संस्कृति, प्राचीन शासन अनि पूर्वीय दर्शनको परिचय दिलाउन कृति औधी सक्षम छ ।

हो, आफ्नै आग्रह अनुसार पनि नियात्राकार धेरै कल्पनामा छैनन् । विषयवस्तु र यात्राको प्रकृतिले पनि धेरै कल्पनाशील हुनुलाई सम्मति दिंदैन । नियात्राकार प्रकृति हेरेर मात्र रमाएको छैन, संस्कृति र मूर्त–अमूर्त वैभवको कुरा गर्छ । त्यसैले कल्पनाको अंश धेरै छैन । धेरै कल्पनाशीलताले स्वैरकल्पनाको बहाव ल्याउँछ र नियात्रालाई आफ्नो संरचना स्वरूपबाट अलग्याउँछ । नियात्राकार यसमा सावधान छन् । सापेक्षिक तुलनामा कल्पनाको अंश र अमुक आकृतिको सहारा भने छ ।

यात्रा वर्णनमा दृष्टिकोण राख्ने चलन छ पनि, छैन पनि । कतिपय नियात्राकार वर्णन कम दृष्टिकोण बढी राख्छन् भने कतिपय ठीक विपरीत वर्णन बढी दृष्टिकोण कम । रामप्रसाद पन्त दोस्रो वर्गमा छन् । ‘पुनरावृत्ति’ मा नियात्राकारका दृष्टिकोणहरू छैनन् । शायद दृष्टिकोणले पाठकीय निजत्वलाई बाहिर्याउला भन्ने दृष्टिकोण हुनुसक्छ । दृष्टिकोण दिनुपर्ने स्थानमा मौन जिज्ञासा राखेर त्यो काम पाठकलाई छाडिदिएका छन् र पाठक आफ्नो चेतना र चाहना सामर्थ्यमा दृष्टिकोण बनाउला भन्ने स्थान देखिएको छ ।

घटना र परिवेश चित्रण एकदमै सन्तुलित छन् । जसले नियात्रालाई कथा, निजात्मक निबन्ध वा घटना विवरण बन्नबाट जोगाएको छ । चौबीस दिने यात्रा खोजको यात्रा कम, धर्म संस्कृतिको यात्रा बढी हो । नियात्राकार धर्म संस्कृतिमा रमाएका छन् । नियात्रा योजना नै धर्म संस्कृतिको यात्रामा रहेकोले पनि यसो भएको हो । नियात्राको वर्णनले नियात्राकारको अनुभूति भन्दा पर पुगेर अनुभूति बटुल्न पाठकलाई आधार भने दिएको छ ।

नियात्राको पहिलो गुण नै म पात्रको विषय गवेषण र उसैको माध्यमबाट प्रस्तुति हो । म पात्रले अन्तरबोध नगरेका कुराहरूमा नियात्रा स्वामित्व रहँदैन । तर कतिपय नियात्राकार आफू पात्रलाई यति फराकिलो बनाउँछन् कि अन्य पक्ष र पात्रहरू झण्डै हराउन पुग्छन् । यसले भूगोल, परिवेश र घटनालाई अन्यत्र मोडिदिन्छ । नियात्राकार यसमा सावधान छन् ।

नियात्राले साहस दिनुपर्छ भन्ने आग्रह शुरूशुरूका नियात्रा लेखनमा पाइन्छ । विश्वका नामी नियात्राहरूले यसको पुष्टि गरेका छन् । चार हजार बर्ष अघिको ‘दी इपिक अफ गिल्गामेस’ को यात्रामा गिल्गामेस जङ्गली साथी इन्किदुसँग सासहपूर्ण यात्रा गर्छ । मार्क ट्वीनको ‘हकलवेरी फिन’, जोहन ब्यूनानको ‘पिल्ग्रिम्स प्रोग्रेस’, एरिक न्यूबीको ‘दी सट वाक अफ दी हिन्दकुश’, ब्यारी लोपेजको ‘आर्कटिक ड्रिम्स’, एलिजावेथ गिल्वर्टले ‘इट, प्रेलभ  ः वन ओमन्स सर्च फर एभ्रिथिङ’ यसखाले साहसिक यात्राका नियात्रा हुन् । तर नियात्रा सर्वसासाधारणको जीवनमा प्रवेश गरेपछि सधैं साहसिक यात्रा मात्र गर्दैन । ‘नियात्रामा साहसपूर्ण यात्रा (हिरोइक जर्नी), सङ्घर्ष, सफलताका संस्मरण, संवेदनशीलता र दुख, साथीत्व र माया, मनोरञ्जन र आनन्द, ज्ञान र तथ्यहरू उजागर गरिएको हुन्छ । धर्म र आचरणको सन्देश त यात्रा वृत्तान्तका आदि आशय नै भए । त्यसैले नियात्रा जता पनि छरिन सक्छ, जसरी जीवन जता पनि पुग्न सक्छ । रामप्रसाद पन्तको नियात्राले शायद यही बताइरहेको छ ।