संरचनावादी सामालोचक

समालोचना अलि कठिन विधा हो । अन्य विधालेखन जस्तो सहजता यस अर्थमा रहँदैन कि यसले सिर्जना, सर्जक, समाज र कलामूल्यमाथि एकसाथ विहङ्गम दृष्टि राख्छ । यो साहित्यका अन्य विधाभन्दा कम पढिने विधा पनि हो । कृतिको विवेचना, विश्लेषण र मूल्याङ्कनको निश्चित आधार र अनुशासनमा रहेर गरिने हुँदा यो आफैमा जटिल कार्य हो । नेपालमा अन्यभन्दा यो विधा कम फस्टाएको, कम पढिएको र सीमित प्रकाशन भएको विधा पनि हो । परम्परागत समालोचना कठोर अनुशासनमा रहेकोले पनि यो विधा जटिल र दुरुह भएको हो । अर्को, सामान्य पाठक प्रतिक्रिया, कृति समीक्षा र कक्षा शोधकार्यलाई पनि समालोचकीय दर्जा दिने प्रवृत्तिका कारण समालोचनाको अर्थ, महत्व र दायरा मिचिएको र खुम्चिएको पनि छ । यस अर्थमा समालोचनाको प्रवृत्ति र प्रयोगलाई सरल बनाउनु र समालोचकीय वृत्तिलाई पुनर्बोध गर्नु आवश्यक छ । प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल यस विधालाई ओज र अस्तित्व वृद्धिका लागि नयाँ प्रयोगमा छन् ।

गोपी मैनाली

प्रश्न उठ्न सक्छ, समालोचनालाई कसरी बुझ्ने ? सामान्य बुझाइमा समालोचनाको अर्थ सिर्जनालाई गहनरूपमा विवेचना, विश्लेषण र मूल्याङ्कन गर्नु हो । यसले सिर्जनाभूमि र सर्जकले राखेका दृष्टिकोण, विचार, देखाएको जीवन दर्शनलाई पाठकसमक्ष राखिदिन्छ । यो सर्जकको कमीकमजोरीको रौंचौचिरा परिगेलन र विधागत सिद्धान्त एवम् मूल्य विशिष्टताको मूल्याङ्कन हो । यसले पाठकलाई विश्लेषण गर्न, बुझ्न र सर्जकलाई सुधारको मार्ग पहिल्याउन  प्रशस्त गर्दछ । त्यसैले समालोचनाकर्ममा सिर्जनाशक्ति मात्र भएर पुग्दैन, परिगेलन क्षमता, दृष्टि-परिदृष्टि सामर्थ्य, विवेचना-विश्लेषण सीप र सबैभन्दा महत्वपूर्ण विधागत मूल्य विवेचना शक्ति चाहिन्छ । यो निष्ठा, समर्पण र अनुशासन चाहिने विधा हो । समालोचनाकर्म सिर्जना र विवेचनाको संयुक्त रूप हो ।

यस विधामा पूर्वीय तथा पाश्चात्य समालोचनाका विविध प्रवृत्तिहरू रहेका छन् । शास्त्रीयता, नवशास्त्रीयता, स्वच्छन्दता, वस्तुपरकता आदि हुँदै संरचनावादसम्म आइपुगेको छ । समालोचनाका जे जस्ता प्रवृत्ति, संरचना र स्वरूप भए पनि समालोचनाका आधारमूल्य यसले छोड्न सक्दैन । यो सिर्जनाको मूल्य निर्धारणको प्रक्रिया हो, यसले विधालेखनमा रहनुपर्ने तत्वहरू, संरचना, शैली, प्रस्तुति, भाषा, कला, जीवनदृष्टि, परिवेश चित्रण, सामयिकचेत लगायतका आयामहरूको मूल्यगत निष्पक्ष सिलसिलाबद्ध विवेचना गर्दछ । समालोचना साहित्यको न्यायकर्म हो र समालोचक चाँहि न्यायमूर्ति । सामर्थ्यसहितको न्यायिक मन नभई समालोचना गर्न सकिँदैन । यो कृति समीक्षा र पाठक प्रतिक्रिया होइन । यसले साहित्यको विधागत मूल्य, मर्म र मान्यताको विहङ्गम विवेचना गर्दछ । यसर्थ समालोचना सिर्जना नै हो, मूल्यविवेचित सिर्जना ।

समालोचनाका धेरै प्रवृत्तिमध्ये संरचनावादी प्रवृत्ति पनि एक हो । भाषा संरचनाका मूल्य मानकलाई महत्व दिई यसैको आधारमा सिर्जनालाई विश्लेषण गर्ने मूल अभिप्रायसाथ विकास भएको यस प्रवृत्तिलाई नेपाली साहित्यमा प्रयोग गर्ने प्रतिष्ठाताको श्रेय डा.लुइटेलमा जान्छ । भाषाशास्त्री फर्डिन्याण्ड डी स्यूरको भाषिक संरचनावादबाट प्रभावित र संरचनावादी मनोविश्लेषक टिकेनेरको कुनै पनि मानसिक अनुभवलाई तथ्यघटनाका रूपमा मूल्याङ्कन गर्नुपर्छ भन्ने मान्यताबाट संरचनावादी समालोचना विकास हुँदै आएको छ । डा.लुइटेलका शब्दमा संरचनावादले साहित्यिक कृति पनि भाषा वा अन्य उत्पादनजस्तै निर्माण वा निर्मित हो र अन्य विज्ञानका वस्तुजस्तै साहित्यिक कृतिमा रचनातन्त्रको पनि वर्गीकरण र विश्लेषण गर्न सकिन्छ भन्ने मान्यता राख्दछ ।

संरचनावादी समालोचनाले वस्तुपरक विश्लेषणलाई मौलिक सिद्धान्त मान्दछ, भाषालाई सर्वोपरि भन्छ,  कृतिलाई संरचनायुक्त वस्तु ठान्दछ र विश्लेषणमा आगमनात्मक पद्धति अपनाउँछ । कृति वा विधालाई संरचनाको वस्तुवादी दृष्टिकोण राख्नाले नै यो अन्य समालोचकीय प्रवृत्तिभन्दा विशिष्ट भएको हो । यो नवीन प्रवृत्ति विभिन्न आयाममा अहिले पनि विकास र विस्तारको क्रममा छ ।

संरचनावादी समालोचनामा कृतिको संरचनागत पक्ष, रूप र प्रस्तुतिको पक्ष, वस्तुपरक विश्लेषणजस्ता पक्षमा जोड दिइन्छ । वस्तुको जस्तै कृतिको पनि संरचना हुन्छ, त्यसैले भौतिक वस्तु जसरी कृतिको पनि संरचनागत मूल्याङ्कन गर्न सकिन्छ भन्ने यसको आधार सार हो । मनोविज्ञान र दर्शनका ज्ञाता आइ ए चिरडर्सले समालोचनाका सिद्धान्त र व्यावहारिक समालोचनाको व्याख्या गर्दा अनुसन्धनात्मक शिक्षण पद्धति (एक्सपरिमेन्टल पेडागोगी)मार्फत कविताको मनोसंवेज्ञात्मक संरचनाको उल्लेख गरेका थिए । मनोवैज्ञानिक समालोचकहरू साहित्यले मनोद्वेगको उदात्तीकरण गर्छ, मनोवेगको विरेचन गर्छ भन्ने मान्यतालाई टेकानेरहरूले त्यसको पनि मनोतथ्यगत संरचना हुन्छ, वा मनोतथ्यगत घटनाको सिलसिलेवार र संरचनागत विवेचना गर्न सकिन्छ भन्ने आधारमा संरचनावादी समालोचनाले रूपवादी मात्र होइन, मूल्यवादी आधार पनि लिन्छ भन्न सकिन्छ ।

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा.लुइटेल नेपाली साहित्य समालोचनालाई सरल रूप दिएका छन्, वस्तुगत, संरचनावादी, यथार्थमुखी हुनु त उनको मौलिक वैशिष्ट्य नै हो । त्यसैले समालोचक कृष्णचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राईको जस्तो भाषिक जटिलता डा.लुइटेलमा देखिँदैन । संरचनावादी भन्दैमा उनी रूपवादी मात्र होइनन्, सार र मूल्यमाथि विहङ्गम दृष्टिगोचर गर्दछन् । समालोचनाले कृति र कृतिकारको सम्पूणर्ता दिन सक्नुपर्छ भन्ने दृष्टिकोण उनको प्रयोगले देखाएको छ । दृष्टान्तका लागि डा.लुइटेलको एउटा समालोचना लिऔँ-‘भैरव अर्यालको बारेमा भ्रम र सच्चाइ’ मा निबन्धकार अर्यालको व्यक्तिको परिचय, उनको साहित्यिक कर्मको परिचय, निबन्ध यात्रामाथि विस्तृत प्रकाश, निबन्धगत प्रवृत्ति सहितको समग्रतालाई सरल रूपमा प्रस्तुति गरेका छन् । यो सरलता इन्द्रबहादुर राईको समालोचनामा पाउन सकिँदैन ।

‘नेपाली उपन्यासका आधारहरू’ हेर्‍यौँ भने त्यो सर्वसाधारणका लागि हो र भन्ने प्रश्न उठ्छ, परिणामतः राईका पाठकहरू छानिएका व्यक्तिमात्र हुनसक्छन् र आम पाठकमाथि अन्याय हुनसक्छ तर डा.लुइटेलको प्रयोग प्रस्तुति निख्खर स्वादको छ, सरल छ, धेरै पाठकले एकै अर्थमा बुझ्न सक्दछन् । वरिष्ठ समालोचक युवराज मैनालीका अनुसार डा.लुइटेलको ‘समालोचनामा दरो अडान र खरो अभिव्यक्ति’ का कारण छुट्टै स्थान छ । उनी समालोचनामा ‘कुनै आग्रह, पूर्वाग्रह, वाद, धार वा कित्तामा नउभिएर आफ्ना भनाइ र निणर्यलाई निष्पक्ष रूपमा तटस्थताका साथ प्रस्तुत गर्दछन् । नेपाली समालोचनालाई प्रभाववादी कित्ताबाट वस्तुनिष्ठ, यथार्थपरक कित्तामा ल्याउने समालोचनात्मक श्रीवृद्धिका लागि डा.लुइटेलको अतुलनीय योगदान छ’ ।

संक्षेपमा भन्दा डा.लुइटेलको संरचनावादी, यथार्थपरक र सरल प्रयोगले समालोचनालाई परम्परागत रूपमा देखिँदै आएको दुरुह, जटिल र क्लीष्ट प्रवृत्तिलाई चुनौती दिएको छ । सिर्जनाजस्तै समालोचना पनि सम्प्रेष्य, सुगम र छरितो हुनुपर्दछ भन्ने सन्देश दिएको छ । संरचनावादी भन्दैमा उनका समालोचना रूपमा मात्र केन्द्रित छैनन्, मूल्य, परिवेश र प्रस्तुतिलाई पनि सरल संरचनाको आयाममा समेटिएको छ । संरचनापरक समालोचना शुष्क र बेरसिलो हुन्छ भन्ने मान्यता पनि तोडिदिएका छन् ।

===

सिर्जना र श्यामव्यङ्ग्य

खोज, अनुसन्धान, समालोचना पनि सिर्जनाका विधा हुन्  तर सामान्य बुझाइमा सिर्जनामा विवेचना, खोज, अनुसन्धानलाई लिने गरिँदैन । कथा उपन्यास, नाटक, कविता, निबन्ध, नियात्रा आदिलाई मात्र सिर्जनामा लिइन्छ । कतिपय अविधागत विधाले पनि सिर्जना विधाको दावी गर्दैछन् । यस अर्थमा सिर्जना हुन भावना र निजत्वको प्राधान्यता चाहिन्छ ।  खोज अनुसन्धान, समालोचना, दर्शन पनि यस अर्थमा सिर्जना हुन  यसमा मानसिक वौद्धिकताको प्रयोग हुन्छ । फरक कति मात्र हो भने भनिने गरेको सिर्जना हृदयपक्षको बोलवाला रहन्छ, विधागत अनुशासनभित्र निजत्व फैलिएको हुन्छ, त्यो छुट अन्वेषण, अनुसन्धान, समालोचनामा हुँदैन, कठोर अनुशासनभित्र रहेर सिर्जना गर्नुपर्ने नियम हुन्छ । यस अर्थमा डा.लुइटेलका समालोचना र अनुसन्धान कृतिहरू पनि सिर्जना नै हुन् ।

व्यङ्ग्य र नियात्रालाई निबन्ध विधामा समेट्दा उनका सिर्जना निबन्धमा पर्दछन् । उनका दुई निबन्ध कृति छन्, पहिलो ‘चाउरिएको जिन्दगी’ (२०६७, जुन श्यामव्यङ्ग्यात्मक निबन्धसङ्ग्रह हो) र दोस्रो, ‘बाह्र वर्षमा हनिमून’ (२०६७, नियात्रा हो) ।

पहिला श्यामव्यङ्ग्यतर्फ विवेचना गरौं । साहित्यका सबै विषयहरू विधागत वैशिष्ट्यमा रहन्छन् । व्यङ्ग्य विधा पनि आफैमा विशिष्ट छ र यसका आफ्नै विशेषता छन् । व्यङ्ग्यलाई निबन्धको उपविधामा लिने गरिए तापनि व्यङ्ग्यविशेषताका कविता, नाटक, रूपक, कथा, नक्कल (क्यारिकेचर), कार्टून आदि पाउन सकिन्छ । जहाँ प्रयोग भए पनि वियोग, विसङ्गति, विकृति, विषाद र विरोधाभासजस्ता समाजिक व्यथालाई विषय बनाउने काम व्यङ्ग्यको हो । व्यङ्ग्यको उद्देश्य नै खराब बानी, विकृति र विसङ्गतिलाई उधिन्नु हो । त्यसैले हास्यव्यङ्ग्यकार भैरव अर्याल यसलाई ‘टनिक ट्रेङ्कुलाइजर’ भन्न रुचाउँछन् । मतलब यसले समाज सुधारका लागि टनिकको काम गर्दछ । व्यङ्ग्य विधा निबन्धमा झङ्गिन्छ् । त्यसैले धेरै हाँस्य व्यङ्ग्यहरू निबन्धमा लेखिएका छन् ।

व्यङ्ग्य अङ्ग्रेजी आइरोनीको नेपाली अनुवाद हो । अङ्ग्रेजी साहित्यमा आइरोनीलाई चार वर्गमा विभाजन गरिन्छ । भर्वल आइरोनी (भनिएको एउटा, बुझ्नुपर्ने अर्कै), ड्रामाटिक आइरोनी (चरित्रले एउटा कुरा देखाउँछ, उसले अर्कै अर्थ बताएको हुन्छ), सिचुएशनल आइरोनी (के भैरहेको छ र के हुनुपर्थ्यो बीचको परिस्थिति, पात्र र प्रस्तुतिले बताउँछ) र ट्रेगिक आइरोनी (आकाङ्क्षाहरू पूरा नभएको दुःखद विषय लाक्ष्यणिक प्रस्तुति गरी नयाँ परिस्थितिको माग गरिन्छ) । श्यामव्यङ्ग्य ट्रेगिक आइरोनीमा पर्दछ । जे जस्तो वर्गको व्यङ्ग्य भए पनि यसले अभिव्यक्तिको वेगल आयाम खुलाइदिन्छ, आलोचना गर्छ र परिस्थितिको दुःख र विकृतिलाई कलात्मक रूपमा उधिनिदिन्छ, ताकि अरूले देख्न, बुझ्न सकून् । निबन्ध विधामार्फत श्यामव्यङ्ग्य गर्ने पहिलो प्रतिष्ठाता डा.लुइटेल हुन् । पहिलो मात्र होइनन्, अहिलेसम्म पनि अन्य सर्जक श्यामव्यङ्ग्यमा देखिएका छैनन् ।

श्यामव्यङ्ग्य त्यति प्रचलित विधा होइन । निबन्धमा श्यामव्यङ्ग्य त झनै नौलो विधा हो । फ्रेन्च व्यङ्ग्यकार आन्द्रे ब्रेटोनको ‘एन्थ्रोलोजी डे’ल ह्यूमोर’ सन् १९४० मा प्रकाशित भएपछि यसले विधागत पहिचान पाएको हो । यसले दुःख, पीडा, विकृतिजस्ता सम्वदेनशील विषयलाई व्यङ्ग्यात्मक ढङ्गले प्रस्तुत गर्दछ । त्यसैले यसलाई दुखान्त व्यङ्ग्य (ट्र्यागिक कमेडी) पनि भन्ने गरिन्छ ।

नेपालमा श्यामव्यङ्ग्य निबन्धका प्रतिष्ठाता प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलका अनुसार श्यामव्यङ्ग्य युगीन जनजीवनमा व्याप्त विसङ्गति र विकृतिप्रति कलात्मक ढङ्गले भित्तै पुर्‍याएर छेदन गर्ने शक्तिशाली साहित्यिक हतियार हो । उनकै मान्यतामा उनको पहिलो श्यामव्यङ्ग्य ‘चाउरिएको जिन्दगी’ निथ्रुक्क भिजेको छ । जस्तो कि ‘नेपाली शब्दसागर प्रकाशनको खुसीयालीमा…’ नेपाली शब्दसागर कृतिमा रहेको विकृति, सतहीपन, अपुग पक्ष र यसमाथि सतही प्रशंसा गर्नेहरूप्रति सानदार व्यङ्ग्य छ ।

निबन्धसङ्ग्रहमा सङ्कलित ‘कति भ्रष्टाचारी कति सदाचारी’, ‘न्यायका नौ सिङ र राष्ट्रिय स्वाभिमान’, ‘राष्ट्रिय चिन्ता उन्मूलन आयोग’ ‘सम्मान-अभिनन्दन संस्कृति राष्ट्रिय अभियान’, ‘मैले समाचार सुन्न छोडिदिएँ’, ‘सङ्घ खोल्ने तरखरमा’, ‘विज्ञापनिक विश्राम’, ‘प्रतिद्धता पुराण’, ‘नेपाल बन्द जिन्दाबाद’, ‘चाउरिएको जिन्दगी’ लगायत सङ्ग्रहमा समेटिएका सबै निबन्धले निबन्धकार बाँचेको नेपाली समाजको पात्र र प्रवृत्तिमाथि व्यग्र श्यामव्यङ्ग्य गरेको छ, व्यङ्ग्यित पात्रहरूलाई भित्तामा नै पुर्‍याइएको छ  तर व्यक्ति र समाजका विकृतिहरूलाई वैमनस्य हुनेगरी गाली गलौजका रूपमा प्रस्तुत गरिएका छैनन् । श्यामव्यङ्ग्यमा परिहास र कुतकुत्याई होइन, छ्याकन्छेड घोचपेचको घनत्व रहेको छ । यसर्थ २००४ मा युगवाणी प्रकाशनमार्फत आधुनिक व्यङ्ग्यको सुरुवात लक्ष्मीप्रसाद देवकोटाले गरे, भैरव अर्यालले त्यसलाई शीर्षस्थानमा पुर्‍याए भने डा.लुइटेलले श्यामव्यङ्ग्यनिबन्धको नवीन विधा प्रवेश गराए । यसले श्यामव्यङ्ग्यनिबन्धलाई विस्तृत बनाउने मार्ग प्रशस्त गरेको छ ।

बाह्र वर्षमा हनिमून नियात्रानिबन्ध हो तर बहुधा नियात्रा लेखकमा रहने कोरा यात्रा वणर्न मात्र यसले दिएको छैन, अक्षरका साथ अनुभूति टिपिएका छन्, भावना र यात्रा एकैसाथ दृश्य र अनुभूतिमा समटिएका छन् । यस अर्थमा उनका नियात्रानिबन्ध पनि उच्च कोटिका सिर्जना हुन् ।

===

भाषिक आन्दोलन

डा.लुइटेल साहित्यको साथसाथै भाषा संवर्द्धन अभियान र भाषा मानक आन्दोलन र सञ्जालीकरणमा पनि लागेका छन् । नेपाली भाषाको मौलिकता बचाएर नै नेपाली साहित्य र नेपाली पहिचानलाई युगौँसम्म बचाइराख्न सकिन्छ भन्ने उनको विश्वास हो । भाषा कुनै पनि जाति, संस्कृति र राष्ट्रियताको अस्तित्वसँग गाँसिएको हुन्छ । भाषामार्फत नै कुनै पनि समाज आफ्नो पहिचान र अस्तित्व विस्तार गर्न सक्दछन् । भाषा आफैमा राष्ट्रिय एकत्वको सूत्र पनि हो, राष्ट्रियता मजबुतीकरणको सेतु पनि हो तर सरकारी तथा प्राज्ञिक निकायको उदासीनता र विश्वव्यापीकरणका कारण भाषा तथा संस्कृतिमाथि भएको प्रभाव/अतिक्रमणले भाषाहरू आफ्नो मौलिकपन र पहिचानबाट स्खलित हुँदै गएका छन् । नेपाली भाषामा पनि बेस्सरी देखिएको छ ।

केही अघिदेखि नेपाली भाषाको लेखाइमा वणर्विन्यासमा देखिन थालेको विचलनले सुधारको अपरिहार्यता महसुस भएको थियो । लेखाइमा ह्रस्व, दीर्घ, श, स, ष, चन्द्रविन्दु, सिरविन्दु, पदयोग, वियोग लगायतलाई ठीक ढङ्गबाट अभ्यासमा ल्याएर भाषाको विशिष्ट मौलिक संरचना बचाइराख्न पनि भाषिक जागरण निकै जरुरी भइसकेको थियो । सरकारी साइनवोर्ड, पत्राचार, लिखतहरूले नेपाली भाषाको मौलिकता गुमाइरहेका थिए । विद्यालय तथा विश्वविद्यालयहरूमा पठनपाठन हुने पाठ्यक्रममा भाषिक वणर्विन्यासमा एकरूपता गुम्दै छ । सजिलो गरी लेख्ने प्रचलन मात्र बढेको होइन, भाषालाई आधिकारिक निकायबाट पनि संवेदनशीलता नदेखाई अन्यौल सिर्जना भएको छ ।

भाषिक मानकको परीक्षण/नियमन भएको छैन, स्पष्ट जिम्मेवारी पनि किटिएको छैन । इतिहासलाई आधिकारिक बनाउन इतिहास संशोधन मण्डल भएजस्तै भाषिक मौलिकता बचाउन न भाषा आयोग, न नेपाल सरकार, न नेपाल प्रज्ञा प्रतिष्ठान, वा विश्वविद्यालयहरू संवेदनशील छन् । यसखाले अवस्थाले छुट्टै प्रयास र भाषिक मानकीकरण जागरणको माग गरेको थियो । स्वतस्फूर्त रूपमा डा.लुइटेलको नेतृत्वमा मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल सञ्चालनमा छ ।

अभियानले नेपाल प्रज्ञा प्रतिष्ठानको नेपाली भाषा सङ्गोष्ठी (२०६७) को आधारमा गरिएका निणर्य, बृहत् नेपाली शब्द कोश (२०७२) मा प्रयुक्त वणर्विन्यास र लिपि, शिक्षा मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको शिक्षण निर्देशिका लगायत पाठ्यपुस्तकमा प्रयुक्त वणर्विन्यास तथा लिपि, त्रिभुवन विश्वविद्यालय अनिवार्य नेपाली विषय समितिका नाममा साझा प्रकाशनबाट प्रकाशित अनिवार्य शिक्षण निर्देशिकामा प्रयुक्त वणर्विन्यास र लेख्य रूप, चन्द्रगढी घोषणापत्रमा आधारित भई नेपाली वणर्विन्यास र लिपिचिह्नप्रति असहमतिको अडान राख्दै संशोधन परिमार्जनको आवाज उठायो ।

साथै ह्रस्व दीर्घ र वणर्का कारण अर्थमा फरक आउने श्रुतिसमभिन्नार्थक शब्दलाई र्‍हस्वमात्र लेख्ने र अनेकार्थी शब्दमा प्रयोग गर्ने, वर्ण, अक्षर, लिपिचिह्न गणना गरी पदयोग र वियोग गर्ने, एकात्मक अर्थबोधक र रुढ शब्दलाई पदवियोग गर्ने लगायतका निणर्य र त्यसका प्रयोगबाट नेपाली भाषा र लिपिमा देखिएको बेथिति र गुम्दै गएको मौलिकतामा असहमति जनाउँदै अभियानले सुधारको बाटो देखाएको छ । यसले आधिकारिक निकायलाई जिम्मेवार बन्न र भाषा प्रयोगकर्तालाई मानक शिक्षा दिएको छ । त्यस्तै नेपाल सरकारले सवारी साधनको इम्वोस्ड नम्बरमा अङ्ग्रेजी अक्षर र अङ्क प्रयोग गर्ने विषयमा गम्भीर असहमतिको औपचारिक आवाज उठाएको छ ।

यसले नेपाली भाषाको मनकीकरणमा यति ठूलो योगदान गर्ने अभियान र अन्तरक्रियाको सञ्जाल न विगतमा थियो, न तत्कालमा देखिने सम्भावना नै छ । अभियानको नेतृत्वकर्ता डा.लुइटेल आफैँले ‘नेपाली वणर्विन्यास : नियम, समस्या र समाधान’ प्रकाशनमा ल्याएका छन् ।

डा.लुइटेलले नेपाली भाषाको संवर्द्धन, प्रवर्र्द्धनका लागि भाषा साहित्य सिद्धान्त (२०५७), कोश विज्ञान (२०५७), नेपाली भाषा, व्याकरण र नाटक (२०६०), प्रयोजनपरक विशेष नेपाली (२०६२), नेपाली वणर्विन्यास (२०६९), नेपाली वणर्विन्यास (२०७४), मानक नेपाली वणर्विन्यास (२०७५) लगायतका लेखन/प्रकाशन मार्फत अमूल्य योगदान गरेका छन् ।

===  

अन्वेशषण र अनुसन्धान

समालोचना, इतिहास आफै पनि कुनै न कुनै रूपमा अनुसन्धान र अन्वेषणको हो, यी विषयले अनुसन्धानका चरित्र र तत्वलाई वरण गरेका हुन्छन्  तर वाङ्गमयको श्रीवृद्धिका लागि डा.लुइटेलले खोज/अन्वेषणपरक सिर्जना पनि दिएका छन् । यस्तो खोज विधापरक, विषयपरक र समष्टिगत रूपमा रहेका छन् ।

ध्वनि विज्ञान र वर्ण विज्ञान (२०५३), आधुनिक नेपाली समालोचना (२०५७), भाषा साहित्यको सिद्धान्त (२०५७), नेपाली भाषा, व्याकरण र नाटक (२०६०), नेपाली काव्य सिद्धान्त (२०६०), पूर्वीय र पश्चात्य साहित्य सिद्धान्त (२०६१), कविताको संरचनात्मक विश्लेषण (२०६२), नेपाली काव्य समालोचना (२०६७), आधुनिक नेपाली साहित्यको इतिहास (सन् २०१०), देवकोटा पूर्वका नेपाली कविता (सन् २०१०), देवकोटा उत्तरका नेपाली कविता (सन् २०१०), सम पूर्वका नेपाल नाटक (सन् २०१०), सम उत्तरका नेपाली नाटक (सन् २०१०), देवकोटा पूर्वका नेपाली आख्यानोचर काव्य (सन् २०११), पूर्वीय साहित्य सिद्धान्त (सन् २०११), पश्चात्य साहित्य र समालोचना सिद्धान्त (सन् २०११), संरचनावादी समालोचना (२०६७), पाश्चात्य साहित्य सिद्धान्त (२०६८), आप्रवासी नेपाली साहित्यको इतिहास, डायस्पोराको सैद्धान्तिक स्वरूप (२०७९) लगायत दर्जनौं कृति सिर्जना र अन्वेषणका सङ्गम हुन् । त्यस्तै पहरी भाषा र संस्कृति (२०५९), लोकवार्ता विज्ञान र लोक साहित्य (२०६३), लोक साहित्य (सन् २०११), लोक साहित्य परिचय (२०६८) इतिहास र खोजमूलक सिर्जना हुन् ।

===

डायस्पोरिक आन्दोलन

समाज विश्वव्यापीकृत भएको छ । राष्ट्रिय मूल्य मानकहरू बाह्य समाजसम्म विस्तार हुने क्रममा छन् भने अन्तर्राष्ट्रिय मूल्य मानक स्थानीयकरण गर्नुपर्ने अवस्थामा आजको समाज विकास अघिबढेको छ । यस प्रवृत्तिबाट दुईथरी चुनौती राष्ट्रले सामना गर्नु परेको छ । पहिलो नेपाली पहिचानको अन्तराष्ट्रिय समाजमा कसरी विस्तार गर्ने, अर्को अन्तराष्ट्रिय समाजमा रहेका नेपालीहरूको भावना, पिरमर्कालाई कसरी सम्बोधन गर्ने ? नेपाल मात्र होइन, सबैजसो मुलुक यसखाले चुनौतीमा छन् र चुनौती सम्बोधनको रणनीति निर्माणमा छन् ।

यी समस्या सम्बोधन गर्न डाइसपोरासम्बन्धी विस्तृत अध्ययन र ज्ञानको आधार चाहिन्छ । डायस्पोरा कसरी विकास भयो, डायस्पोराको विस्तार कसरी भइरहेको छ, डायस्पोरिक भावनालाई राष्ट्रिय भावना र राष्ट्रिय विकाससँग कसरी आबद्ध गर्ने ? अन्तर्राष्ट्रिय बसाइँ सराइ सङ्गठनको समष्टिगत प्रतिवेदन र केही विद्वानहरूको लेखहरू बाहेक नेपाली डायस्पोराका विषयमा विस्तृत अध्यययन, अनुसन्धान भएको छैन । डा.लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूप (२०७९) ले डायस्पोराको अवधारणागत विषय, विकास क्रम, डायस्पोरा साहित्य, पहिचान र पीडाका विषयमा खोजमूलक प्रकाश पारेको छ ।

एउटा असजिलो पक्ष डायस्पोराको मातृभूमि र कर्मभूमि फरक हुन्छ । मन र कर्मको विभाजनले भौतिक सुख र समृद्धि देखिए पनि मन पीडा र पहिचानमा आन्दोलित रहन्छ । नेपाली मन भएका ७१ लाख नेपालीहरूलाई कसरी आशा र उत्साहसाथ नेपाली पहिचानमा एकत्वीकरण गर्ने भन्ने आधार डा.लुइटेलको डायस्पोराको सैद्धान्तिक स्वरूपले दिन्छ । उनी साहित्य सर्जक र भाषा अभियन्ता भएकाले हुनसक्छ, डायस्पोराको सबै आयाम भने अध्ययनले समेट्न सकेको छैन ।

जस्तो कि अन्तर्राष्ट्रिय सहयोग र भाइचारा विकास, सांस्कृतिक र सामाजिक समायोजनको प्रक्रियालाई सजिलो पार्ने काम, एक स्थानमा अभाव भएको पुँजी, प्रविधि , सीप र अर्को स्थानमा अभाव भएको श्रम, साधन र स्रोतसँग स्वचालित समायोजन गर्ने प्रक्रियामा डायस्पोरालाई परिचालन गर्ने र विश्वभातृत्व निर्माण (ग्लोवल सिटिजन वा बसुधैव कुटुम्बकम्) मा कसरी गतिशील बनाउने भन्ने विषयमा कृतिले प्रकाश पारेको भए यसको अर्थवत्ता अरू बढ्ने थियो । किनकि डायस्पोरा त्यस्तो वर्ग (अवस्था) हो, जो जन्मभूमि (होमल्याण्ड) छाडेर अर्कै मुलुक (होस्टल्याण्ड)लाई कर्मभूमि बनाएको हुन्छ तर ऊ त्यहाँ मातृभूमि (वा आफ्ना पुर्खाको जन्मभूमि) प्रतिको मानसिक लगावमा ताजै रहेको हुन्छ । त्यसैले यो नरम शक्ति (सफ्ट पावर)ले व्यक्तिको उद्भव मुलुकको पहिचान, आर्थिक वृद्धि र सम्बन्ध विस्तारलाई उल्लेख्य योगदान गर्नसक्छ ।

===

 

तुलनात्मक दृष्टिकोण

हुन त बहुआयामिक व्यक्तित्व, बहुप्रतिभाशाली व्यक्तित्वको प्रयोग सजिलोसँग हुँदा यो शब्दावलीको महत्वमा नै कमी आएको छ । यसको अन्तर्यमा, अर्थवत्तामा ध्यान नदिई प्रशंसा र प्रशस्तिका लागि बहुआयामिक व्यक्तित्वको प्रयोग गर्दा विशेषणको मात्र ओज घटेको होइन, व्यक्तिको व्यक्तित्व पनि स्फितिमा पुुग्छ  तर केही साधकहरू धेरै कार्यक्षेत्रको साधनाबाट साँच्चै नै बहुआयामिक देखिएका छन् । कति विधामा साधना कर्म गरेको व्यक्ति बहुआयामिक व्यक्तित्व हो भन्ने विषयमा मत्यैक्यता पाइँदैन ।  धेरै विधामा समर्पित, विस्तृत वाङ्गमय दृष्टि भएको व्यक्ति बहुमुखी हो ।

प्रायः साहित्यकारहरू सिर्जनामा रमाएका हुन्छन्, सिर्जनामाथि आफ्नो दृष्टिकोण राख्ने फुर्सदमा हुन्नन् वा चाहना सामर्थ्यमा हुँदैनन् । सिर्जनामा रमाएका धेरैजसो प्रतिभाहरूको पहिचानको एउटा विधा हुन्छ । कविहरू कवितामा रमाउँछन्, आख्यानकारहरू कथा, उपन्यासमा रमाउँछन्, समालोचकहरू सिर्जना त्यति गर्दैनन् । अन्य विधामा हात चलाए पनि एउटा विधामा प्राधान्यता रहन्छ, प्रतिभाको पहिचान त्यही कायम भएको छ ।

नेपाली वाङ्गमयमा थोरै साधकहरू बहुमुखी छन्, बहुमुखी साधकहरूबीचको समान विशेषता भएका व्यक्तिहरू अझै थोरै देखिन्छ । नेपाली वाङ्मयका केही व्यक्तित्व विधाको परिधिमा बाँधिएका छैनन् । धेरै विधा क्षेत्रमा विस्तृत भएर पनि विशिष्ट छन् । प्रा.डा खगेन्द्रप्रसाद लुइटलको प्रतिभावृत्ति मोतीराम भट्ट, पारसमणि प्रधान र डा तारानाथ शर्माको प्रवृत्तिगत विशेषतासँग तुलना गर्न उपयुक्त हुन्छ ।

नेपाली साहित्यको माध्यमिककालका प्रवर्तक मोतीराम भट्ट सार्वजनिक बौद्धिकता, साहित्य सङ्गठक, समालोचक, प्रकाशक, जीवनीकार, अन्वेषक/अनुसन्धानकर्ता थिए । मोतीराम र डा. लुइटेलबीच थुप्रै विषयमा समानता भेटिन्छ । मोतीराम नाटककार थिए, नाटक निर्देशक थिए, जीवनी लेखक र पत्रकार थिए । डा.लुइटेल एकसाथ सर्जक, सङ्गठक, आन्दोलक, समालोचक र अन्वेषकका रूपमा रहेका छन् । मोतीराम नेपालीबाहेक अङ्ग्रेजी, संस्कृत र फारसी भाषाका ज्ञाता थिए । डा.लुइटेल पनि नेपाली सहित अङ्ग्रेजी, संस्कृत भाषाका ज्ञाता हुन् । मोतीराम श्रृङ्गारधारका सर्जक थिए, डा.लुइटेल संरचनावादी समालोचनाका प्रतिष्ठाता हुन् ।

मोतीराम गजलमा रमाउँथे, डा.लुइटेल व्यङ्ग्यनिबन्ध, अनुसन्धान, नियात्रा, समालोचना, भाषा, व्याकरण, खोज सबैतिर रमाएका छन् । मोतीरामले जीवनीलेखनमार्फत भानुभक्तलाई चिनाए, डा.लुइटेलको खोज अनुसन्धानले धेरै प्रतिभा र प्रवृत्तिहरू प्रकाशमा आएका छन् । परिवेश, पाठक, प्रविधि र प्रवृत्तिले डा.लुइटेललाई मोतीरामभन्दा विस्तृत बन्न सहयोग पुर्‍याएको छ । भनौं, मोतीरामको विस्तृत व्यक्तित्व डा.लुइटेलमा देखिन्छ । त्यसो भन्ने आधार उनका सिर्जना कर्म, अभियान र आन्दोलनले दिएको छ ।

प्रवासमा रहेर पनि नेपाली वाङ्गमयको श्रीवृद्धिमा अहोरात्र लागिपर्ने पारसमणि प्रधान बहुआयामिक व्यक्तित्व थिए । प्रधानले अगिल्लो शताब्दीमा, जुन समय हरेक दृष्टिकोणमा सहज थिएन, निबन्ध, कविता, नाटक, बालसाहित्य जस्ता सिर्जना मात्र होइन, समालोचना, भाषा, व्याकरण र पाठ्युस्तक लेखनका माध्यमबाट नेपाली वाङ्गमयमा उल्लेख्य योगदान पुर्याएका थिए । यस शताब्दीमा त्यो बिँडो डा.लुइटेलले थामेका छन् । व्याकरण, भाषा, साहित्य  र पाठ्यपुस्तक लेखनमा दुवैको योगदान उस्तै छ ।

बहुक्षेत्रीय साहित्यिक योगदानमा डा.लुइटेललाई डा.तारानाथ शर्मासँग तुलना गर्न सकिन्छ । डा.तारानाथ र डा. लुइटेल दुवै मेधावी विद्यार्थी थिए, दुवै नेपाली र अग्रेजीका विद्वान् हुन्, डा.शर्माले झर्रोवादी आन्दोलन चलाउनु भयो, डा.लुइटेलले मानक भाषा आन्दोलन, दुवैको सामालोचकीय पहिचान झर्रो र खरो भईकन सरल र वस्तुपरकतामा छ । डा.शर्मा नियात्रा विधाका प्रथम प्रतिष्ठाता थिए, डा.लुइटेल संरचनावादी समालोचना र श्यामव्यङ्ग्यका प्रतिष्ठाता । दुवैका नियात्रामा यात्रा वणर्ननका अक्षरमात्र होइन, अनुभूति पनि समेटिएको हुन्छ । डा.शर्माले कथा सम्पादनमार्फत गुरुप्रसाद मैनालीलाई प्रकाशमा ल्याए, डा.लुइटेलले डायस्पोरिक अनुसन्धानमार्फत विस्तृत रूपमा डायस्पोरिकचेत, प्रवृत्ति, पहिचान र पीडालाई प्रकाशमा ल्याएका छन् ।

विश्व साहित्यमा बहुविधामार्फत वाङ्गमय सेवा गर्ने प्रतिभाहरू निकै कम छन् । नोवेल पुरस्कार विजेता रविन्द्रनाथ टैगोर कविता, उपन्यास, नाटक, निबन्ध, छोटा कथा र अनुवाद साहित्यमा सिद्धहस्त थिए । जोसेफ रुडयाक किपलिङ् कथा, उपन्यास, कविता, बालसाहित्य र पत्रिकारितामा अब्बल मानिन्छन् । बोरिस पस्तरनाक विविध विधाका लेखक र उपन्यासकार थिए । सुल्ली प्रधोम निबन्ध र कवितामा मात्र रमाएका थिए । आन्द्रे गिदे उपन्यास, निबन्ध, नाटक र संस्मरण लेख्थे । जाँ पाल सार्त्र दर्शन, उपन्यास, नाटक, निबन्ध, छोटा कथा र पटकथा (स्क्रीनप्ले) लेख्थे । ओर्थान पामुक पटकथा, उपन्यास, जीवनी र निबन्ध लेख्थे ।

डोरिस लेसिङ उपन्यास, कथा, संस्मरण/आत्मवृत्तान्त नाटक, कविता र निबन्ध लेख्थिन् । अर्का नोवेल विजेता पिटर हाल्डेक उपन्यास, कथा, नाटक, निबन्ध, अनुवाद र पटकथा लेख्थे  तर प्रायजसो साहित्यकारहरू भाषा-व्याकरण, समालोचना, अनुसन्धानलाई त्यति ध्यान दिँदैनन्, दर्शन र सिद्धान्त खार्न लाग्दैनन्, केवल सिर्जना गर्छन् (हुन त दर्शन, सिद्धान्त, समालोचना पनि सिर्जना हुन्, तर बहुधा बुझाइ त्यस्तो छैन) । सिर्जना रहने स्वच्छन्दता, निजत्वको अभिव्यञ्जन अवसरका कारण सिर्जनामा सर्जक रमाउँछ । अनुसन्धान, खोज, सिद्धान्त र समालोचना विशेष अनुशासनको क्षेत्र पनि हो । अर्को कुरा, बहुविधाभन्दा थोरै विधा विशिष्टता प्राप्त गर्न सहज हुन्छ । डा.लुइटेल बहुविधामा सिर्जना, खोज, अन्वेषण र भाषिक-साहित्यिक अभियानमा एकसाथ उत्तिकै सिद्धहस्तता प्राप्त गरेका छन् । वाङ्मय संवर्द्धन-प्रवर्रद्धनमा आन्दोलनको नेतृत्व त निकै थोरैले मात्र लिएका छन् ।

===

निष्कर्ष

बहुआयामिक व्यक्ति धेरै विषय, विधा र क्षेत्रमा विस्तारिईकन पनि विशिष्टता सिद्ध गर्नसक्छ । बहुप्रतिभायुक्त सीप सामर्थ्यका कारण कोही बहुआयामिक व्यक्तित्वमा पुग्न सक्छ । डव्लू एच हड्सनका अनुसार साहित्य व्यक्तित्वको प्रकाशन (अभिव्यक्ति) हो । मेथ्यू आर्नोल्ड साहित्य सिर्जनालाई जीवन जगतको समालोचना भन्न रुचाउँछन् । धेरै व्यक्तिहरू एउटा वा केही व्यक्तित्वमा प्रकाशित हुन्छन्, धेरै व्यक्तित्व उही रूपमा प्रकाशन गर्न सक्दैनन् । एउटा विषयविधाको व्यक्तित्वले अर्को विषयविधाको व्यक्तित्वमाथ अधीनस्थता कायम गर्छ । तर बहुप्रतिभावान् वा भर्साटाइल व्यक्तित्व आफ्ना धेरै व्यक्तित्वमा निख्खर सिद्ध हुन्छ । डा.लुइटेल सिर्जना, समालोचना, शोध, अन्वेषण, अनुसन्धान, आन्दोलनमा उत्तिकै जाज्वल्य छन् । वाङ्मयका अन्य क्षेत्रहरू भाषा, व्याकरण, सम्पादन र अनुवादमा पनि उत्तिकै प्रखर छन् । त्यसैले उनलाई मोतीराम, पारसमणि प्रधान र तारानाथ शर्माको व्यक्तित्व झल्किने एकै व्यक्तिका रूपमा चित्रण गर्दा अतिशयोक्ति नहोला ।