मानिसहरू प्रकृतिमा रमाउँछन्, भ्रमणप्रिय हुन्छन् । भ्रमणप्रिय हुनुको अर्थ नयाँ ठाउँ नदेखेको दृश्य, नभोगेको व्यवहार र नचिनेको जीवनशैलीसँग परिचित हुने मोह हो । रहस्यमा रमाउने मोह हो । जटिलता र जोखिम मोलेर मानिस अग्ला पहाड उक्लन्छ, पानीमा पौडिन्छ, तैरिन्छ, हावामा हाम फाल्छ, झुण्डिन्छ, घस्रिन्छ । यी सबैले मानिसलाई नयाँ स्वाद र सन्तुष्टि दिन्छ, अद्भुत अनुभव र शान्ति पनि दिन्छ । साहस र सामर्थ्य दिन्छ ।
जीवनलाई रोमाञ्चक बनाउन नै मानिस थाहा नपाएका, नदेखेका, नभोगेका, नबुझेका विषयमा लालायित हुने गरेको हा । उसलाई त्यस खाले आशक्ति नजागेका भए संसार एक भूगोलबाट अर्कोसँग जोडिने थिएन, एकान्तमा रहने थियो । सम्बन्ध र सञ्चारमा पुग्दैन थियो । मानिस मानिसबीच मित्रता र माया फैलिने थिएन । आविष्कार र अन्वेषण पनि हुने थिएन ।
सुन्दरता कहाँ छ ? सबैले भन्लान् मनको कुनामा छ । आँखाको मोहकतामा छ । मस्तिष्कमा छ । शरीरको स्पर्शमा छ । सुन्दरता सापेक्षिक अनुभूति हो । तर कतिपय विषय बस्तु सबैलाई प्रिय लाग्छन्, सबै मोहित हुन्छन् । देखिने बित्तिकै, मनभित्र सजाउने बित्तिकै, स्पर्श गर्नाले मन चङ्गा हुन्छ ।
जटिलताको सुन्दरता झनै सुन्दर, अविस्मरणीय र मोहक । मोहक मात्र होइन, मादक हुन्छ । सबै इन्द्रियहरू लट्ठ पर्छन्, मन पूरा दृश्यमा एकाकार हुन्छ, आँखाहरू टाँसिन्छन् । त्यसैले त्यो मादक रहन्छ । प्राप्तिमा जति जटिलता रहन्छ, सापेक्ष्यमा सुन्दरताको अनुभूति बढ्दै जान्छ । फोक्सुण्डो जटिल भूगोलको माथमा रहेको मादक सुन्दरता हो । त्यो मादकता पवित्र छ, चोखो छ, प्राकृतिक छ । अरूभन्दा भिन्नै आनन्दको पुञ्ज ।
धेरै मनमोहक स्थान पुग्न सजिलो छ, धेरैका पदचाप पर्छ, आँखाहरू विच्छिन्छन्, क्यामेराहरूमा कैद हुन्छन् र दृश्यहरू टाढा टाढासम्म फैलिन्छन् । मनहरू लोभिन्छन् । पुस्ताहरूमा फैलिंदै जान्छन् । यसो गर्न प्रविधिले पनि उकेरा दिँदै आएको छ । तर जटिलता र जोखिममा खास पारखीहरू मात्र पुग्छन्, सजिलोमा सबै पुग्छन् । फोक्सुण्डो जटिलता र दूरताका कारण धेरै लेखिएको, देखिएको, खिचिएको दृश्य होइन । दूरता र जटिलता नै उसको वैशिष्ट्य हो । काञ्जिरोवा हिमालले पुलपुल्याएर काखमा सजाएको, पहाडको थाप्लोमा रहेको मनमोहक जलमय समस्थली हो फोक्सुण्डो । फोक्सो जस्तै संरचनाको फोक्सुण्डो, आकाश जस्तै फैलिएको फोक्सुण्डो, कञ्चन र पवित्र फोक्सुण्डो । तीखा काँडाहरूको बीचमा सुन्दर फूल झैँ अजङ पहाडको पहरेदारीमा उन्मुक्त आनन्दमा फैलिएको छ फोक्सुण्डो ।
सहजै पुग्न पनि सकिँदैन फोक्सुण्डोमा । दुनै भेरी किनारबाट लगातार डेढ दिन ठाडो उकालोको पदमार्ग पछ्याए पछि भेटिने सुन्दरता । लखतरान थकानलाई सुन्दरताले कता पुर्याइदिन्छ कता । जति धेरै जटिलता त्यति धेरै खुसी । सामान्य मिहेनतबाट प्राप्त सफलतामा मानिस सामान्य खुसी हुन्छ, त्यसले छाड्ने प्रभाव पनि सामान्य हुन्छ । फुक्सुण्डो छेउ पुगेर खुइइय गरेर उभिँदा त्यसले दिएको शीतलता र आनन्दले त्यहाँ पुग्दाको थकान कता हो कता पुर्याइदिन्छ । जटिल चट्टानी मार्ग, थररर काम्दै लागेको लगातारको उकालो, पसिना सबै भुलाइ दिन्छ ।
हो जटिल भूगोलको जटिल पदमार्ग । यसका आफ्नै विशिष्टता । तीखा-धारिला पत्थर बीच बीचमा पाइला अड्याउँदै नाक ठोक्किने भीरमा उक्लिनु साहस र सङ्घर्षको यात्रा । प्रत्येक पाइला प्रकृतिसँग जुझिरहेका छन् भनौँ कि प्रेम गरिरहेका छन् । पिठ्यूँको सानो भारी र बाटो देखाउने लौरोले सङ्घर्षलाई सघाइरहेको छ । शुष्क हावाका धारिला झोक्काको लगातारको प्रहारले मुखबाट छुटेको प्रश्वासलाई मुखतिरै धकेल्न पुग्छ । गालामा बग्दै-बज्रिँदै आएको सिरेटोले नाकका डाँडामा ठक्कर दिइरहेको छ । ओठहरू कोमलता भुलेर प्रकृतिजस्तै कडा भएका छन्, सिरोटेको सुमसुम्याइ ओठलाई धान्न पनि मुस्किल छ ।
अलिक दम्स्याइलो बाटोमा ठिङ्ग उभिँदा पीँधतिर देखिने नीलो भेरी प्रकृतिसँग सङ्घर्षमा खारिँदै अनन्त यात्रामा हानिएको छ । माथितिर अजङ चट्टाने पहाड काटेर बनाएका घोडेटो, ओडारका बासबस्ती, नुन सामल बोक्ने यात्रामा हिँडेका च्याङ्ग्रा र चौरीहरू कसैलाई फुर्सद छैन । चोरी र च्याङ्ग्राका घाँटीमा झुण्डिएका घण्टीले टाङ्टाङ्-टुङ्टुङ् धुन झङ्कारिरहेको छ । सबै आफ्नै प्रकृतिको यात्रामा छन् । मानौँ यो यात्रा नै बाँच्नका लागि सङ्घर्ष सिकाउने जीवन्त पाठशाला ।
प्रकृति जीवन सिकाउँछ, जटिलता सिकाउँछ, याने कि सङ्घर्ष सिकाउँछ । प्रकृतिसम्मत हुनु नै जीवन हो । सङ्घर्षको परिवेश कठोर हुन्छ तर मीठो । जटिलता र जोखिम मात्र भए कसले सङ्घर्ष गर्थे ? फोक्सुण्डोबाट झरेको कञ्चन झरना आनन्द र सङ्घर्षको अर्को उदाहरण । छहराले छरेका जलविन्दु बाफमा मिसिएको कलिलो उषा किरणले रङ्गिन भावचित्र बगाइरहेको छ । छहराले छाडेको अकण्टकको नादले सङ्घर्षले मधुर लय पनि सिर्जना हुन्छ भन्ने बताइरहेको छ । यो नादमा पोखिएको मधुरतामा प्राणी वनस्पति आफ्नै स्वादमा आनन्दिएका छन् ।
प्रकृति आफ्नै सुन्दरमा गुञ्जिएको, मस्किएको र लजाएको छ, प्रथम रजस्वलापछि नुहाएर कलिलो घाममा बसेकी स्निग्ध नारी जस्तै । घुरमुरिएर झरेको झरना, निरन्तरको सिरेटो र अजङ दाह्रा ङिच्याइरहेका पहाडी खण्डहर आआफ्नै प्रकृतिका सुन्दर जटिलता । लाग्छ अरूको सुन्दरताको स्वाद लिन नआएका मानिसप्रति आफै ईर्ष्यालु छ ।
तालका छेउमा ससाना काँडे पोथ्राहरूमा फुलेका फूलले फोक्सुण्डोको सुरक्षा र सौन्दर्य दिइरहेका छन् । चिसो सिरेटोको हल्का झोक्कासँग पहेँला फूलहरू हल्लिरहेका छन् । मानौँ उनीहरू प्रकृतिका नृत्याङ्गना हुन्, सिरेटोको नादसँग नृत्य गरिरहेका छन् । लाग्छ यो नवागन्तुकका लागि स्वागत र चेतावनी दुवै हो । तालको सुन्दरताको स्वाद लेउ भन्ने स्वागत, पवित्र ताललाई प्रदूषित नबनाऊ भन्ने चेतावनी । प्रकृति आफैमा पूर्ण छ । एकसाथ दुई भाषा, दुई सन्देश । तालको स्वच्छ पानीले बिरुवालाई र बिरुवाले तालको सुन्दरतालाई सघाइरहेका छन् । पारस्परिकताको सन्देश पनि हो यो । सुन्दरता एक अवयवले अर्कोलाई सहयोग गरेर नै बचाउन, बढाउन सकिन्छ ।
ताल उदात्त छ, कञ्चन छ । सबैले नीलो छ भन्छन् । म भने ताल कञ्चन छ मात्र भन्छु । कञ्चन पानीको आफ्नै रङ्गरूप हुँदैन । प्रकृतिको आफ्नै आकार हुँदैन, यो निराकार छ । हेर्ने आँखाहरूले दृश्य बनाउँछन्, मनले अनुभूति लिन्छ । आकार नीलो छ त ताल पनि नीलो छ, आकाशमा बादल मडारिँदा बादलका मडारिएका ध्वाँसे धर्साहरू, धब्बाहरू तालका गर्भसम्म गहिरिन्छन् र ताल रिसाएको भान हुन्छ । तालका मुखाकृतिमा थेग्लाहरू देखिन्छन् ।
बिहानीको कलिला उषा किरणसँग कञ्चन पानीका तरङ्गहरू मिसिएर पत्रैपत्र लहराउँदै किनारातिर चुप्पा दिन हामी भएतिर भेट्टाउन आइपुग्छ । अर्को तरङ्गका लहरहरू लघार्दै आइपुग्छ र विलीन हुन्छ । लगातारको लहर लुकीछिपी । तरङ्गहरू एक आपसमा भेटिँदैनन् । तर तालका तरङ्गहरू तरङ्गिने क्रम अनवरत छ । फैलिँदै विलीन हुने क्रमले जीवन बताइरहेका छ । तरङ्गहरू तरङ्गिए पनि ताल सौम्य, शालीन र भद्रतामा विस्तारित छ । जीवन यसरी नै रमाउनु, खुम्चिनु, फैलिनु तर स्वच्छ रहनु पर्छ । प्राकृतिक पवित्रताको कञ्चन ताल न कहीँ हिलो न मैलो । माथितिर काञ्जिरोवाले अँगालोमा गर्लम्म गाँजेर अभिभावकत्व यस्तो हुनुपर्छ भन्ने देखाइरहेकाे छ ।
रिग्म गाउँमा मानव पदचापहरू त्यति छैनन् । त्यसैले फोक्सुण्डो झनै पवित्र छ । रक्तसञ्चार बन्द गर्न सक्ने हिमतालको शक्तिले तिमी मलाई हेर, मनमा सजाऊ तर ममाथि डुबुल्किन नआऊ भनिरहेका छ । आँखालाई दृश्यस्वाद, मनलाई मादकता र मस्तिष्कलाई ऊर्जा दिन म सक्षम छु तर भर्जिन छाड भनिरहेको छ । ताल किनारको थासुङ छोलिङ् गुम्बा, गुम्बा तीर्थयात्रीको ओ मा ट्रि मु ये सा ले दु को भाकामा बचाइएको बोन्पो संस्कृतिले तालसँगै तालको प्राचीन संस्कृति र इतिहासलाई गुञ्जाइरहेको छ । ताल छेउछाउका एकाध कोणधारी धुपीसल्लाले तालको रखवारी गरिरहेको छ ।
जटिलताको सौन्दर्य र स्वच्छताले मानिसलाई प्राकृतिक हुनुपर्छ, लक्ष्य प्राप्तिमा सहजता खोज्नु हुँदैन पनि भनिरहेको छ । जटिल भूगोलको फोक्सुण्डोले भनिरहेको छ जीवन जटिल छ तर उदात्त र उदार वन । प्रकृतिको यो सुन्दरतालाई देख्नेहरू कसले पो भुल्न सक्छ र ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।