महान् दार्शनिक सुकरात एथेन्स नगरको बाटो बाटोमा टहल्लिएर बटुवालाई प्रश्न गर्थे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुहुन्छ । तपाईं धनसम्पत्ति र मानसम्मान मात्र थुपार्न लाज मान्नु हुन्न ? तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ चिन्तकहरू, सर्जकहरू नागरिक सीप, ज्ञान र स्वभाव कमजोर होला कि भन्ने चिन्ता गर्छन् । त्यसो हुन नदिन विचार र सिर्जनाको अभियान चलाउँछन् । समाज र शासनको स्वभाव बिग्रला कि भन्ने चिन्ताको पिरोलाइमा हुन्छन् । सुकरातका प्रश्नहरू प्रत्येक नगरवासीलाई महान् बनाउन, नागरिक बनाउन, अझ भनौं आत्माको शुद्धताका लागि विद्रोह थिए । ती विचार राज्य व्यवस्था सुधार्नका लागि थिए । सुकरातले सजाय पाए पनि आधुनिक लोकतन्त्र र शासन व्यवस्थाको दार्शनिक आधार उनैका प्रश्नहरूले दिन पुगे ।
हास्यव्यङ्ग्यकार सुकरातको जस्तो प्रत्यक्ष विद्रोह गर्दैनन् । उनीहरूको ठट्यौलो र लाक्षणिक शैली पाठकलाई हँसाएर विकृतिलाई घोच्न निकै तिखा र मथिङ्गल रन्थनाउने खालका हुन्छन् । विचारहरू कलाशिल्पले लेपिएर साहित्य बन्छ, लाक्षणिकता र हँस्यौली–ठट्यौलीले चाहिँ साहित्य हास्यव्यङ्ग्य बन्छ । हास्यव्यङ्ग्यमार्फत सर्जक समाजमाथि काव्यिक आक्रमण गर्दछ । भनौं बेथितिविरुद्ध पोइटिक रिभेन्ज लिन्छ । सङ्घर्षका धेरै तरिकामध्ये सिर्जनाको सङ्घर्ष सबैले जित्ने सङ्घर्ष हो । हास्यव्यङ्ग्यले हँसाई हँसाई सिर्जनात्मक तनाव छोड्छ, जसले दिने उपयोगिताबाट समाज सबै लाभान्वित हुन्छन् ।
‘भ्यागुताको श्वेतपत्र’ समकालीन नेपाली हास्यव्यङ्ग्यका शीर्ष सर्जक नरेन्द्रराज पौडेलको ‘घरभित्रको गाईजात्रा’, ‘बिहेको निम्तो’, ‘मन्कीस्टेट याने बानरराज्य’ पछिको सातौं हास्यव्यङ्ग्य सिर्जना हो । कथा र हास्यव्यङ्ग्य विधाका सिद्धहस्त पौडेल मूलतः सामाजिक यथार्थवादलाई सिर्जना कर्म बनाउँछन् । लामो समय अपनाएको सार्वजनिक वृत्तिले चिनेदेखेको समाज र समय नै उनका सिर्जनाका वरिपरि घुमिरहन्छन् । भ्यागुताको श्वेतपत्र यसको अपवाद होइन । सजिलो भाषा, स्पष्ट अभिव्यक्ति, छोटो संरचना र मीठो प्रस्तुति पौडेलका विशेषता हुन् । यिनै विशेषताले पौडेललाई सर्जकको रूपमा स्थापित गराएको हो ।
‘भ्यागुताको श्वेतपत्र’ भित्र पस्नुअघि हास्यव्यङ्ग्य विधाको छोटो चर्चा गरौं । हास्यव्यङ्ग्यलाई निबन्धविधाको उपविधाका रूपमा लिने गरिन्छ । त्यसैले पौडेलका हास्यव्यङ्ग्य निबन्ध कहलिएका छन् । तर हास्यव्यङ्ग्य एउटा शैली हो, न कि विधा । कथा, नाटक, कविता, गीत, निबन्ध जता पनि भेटिन्छ । नेपाली साहित्यको मात्र कुरा गर्ने हो भने पनि भानुभक्त, भीमनिधि, लक्ष्मीप्रसाद, भूपिका कविताहरूमा व्यङ्ग्य र हास्यका अनगिन्ती प्रयोग भएको छ । कथा, नाटक, गीत पनि यसका अपवाद छैनन् । जहाँ वियोग, विसङ्गति, विषाद, विरोधाभास जस्ता व्यथाले व्यथित जीवनलाई विषय बनाइन्छ त्यहाँ व्यङ्ग्य उपस्थित हुन्छ, परिहास र ठट्यौलीले लेपन गरेपछि त्यो प्रस्तुति हास्यव्यङ्ग्य बनिहाल्छ ।
तर पौडेलको भ्यागुताको श्वेतपत्र भने निबन्धको ढाँचामा प्रस्तुति छ । हँसाएर होस, चिमोटेर होस, विकृतिलाई उदिन्न हास्यव्यङ्ग्यको सिर्जना गरिन्छ । हास्यव्यङ्ग्यका महारथी भैरव अर्यालले यस प्रकारको प्रस्तुतिलाई टनिक ट्रेङ्कुलाइजर भनेका थिए । किनकि यसले समाजलाई बाटो देखाउन टनिकको काम गर्दछ । सुकरातले बाटो बाटोमा प्रश्नको ऐलान गरेजस्तै समाजलाई उपचार गर्न यसले औषधिको काम गर्छ । नेपाली साहित्यको कुरा गर्दा युगवाणीको प्रकाशनदेखि लक्ष्मीप्रसाद देवकोटाले हास्यव्यङ्ग्यप्रधान अभिव्यक्ति दिन थाले र यसलाई शिखरमा पुर्याउने काम भने भैरव अर्यालले गरे ।
नेपालीको व्यङ्ग्य अङ्ग्रेजीको आइरोनी हो । आइरोनीले भन्न खोजिएको कुरालाई विशेष अभिव्यक्ति दिएर प्रभावकारी बनाउने गर्दछ । ओ हेनरीको गिफ्ट अफ दी म्यागी, शोफोक्लीजको ओडिपस रेक्स, शेक्सपीयरको रोमियो जुलियट, वार्डबुरीको फरेनहाइट ४५१ हास्यव्यङ्ग्यका उदाहरण हुन् । भानुभक्त आचार्यको जेल वर्णनको कविता, लक्ष्मीप्रसादको उनलाई पागल भनेपछि लेखिएको कविताले आफू मार्फत विशेष अभिव्यक्ति दिएका थिए । आधुनिक प्रसारण प्रविधिको विकासपछि सुन्ने कथामार्फत बिबिसीले यस मिनिस्टरको लामो शृङ्खला प्रस्तुति गरेर शासन प्रणालीमाथि व्यङ्ग्य गरेको थियो । यसले व्यङ्ग्य विधालाई विस्तार गर्न धेरै नै बल पुर्याएको थियो ।
भारत लगायतका मुलुकहरूमा चलचित्रमार्फत नीति–राजनीति, प्रशासन–प्रहरीको, अड्डा–अदालतको व्यङ्ग्य विषयको तारो बनाइइदै आएको छ । नेपालका नेताहरू व्यङ्ग्यका शिकार भएका छन्, आफै व्यङ्ग्याभिव्यक्ति दिएर अर्को नेतालाई नङ्ग्याउन ‘सम्भाषण–व्यङ्ग्य’ आविष्कार गरिरहेका छन् । सम्भाषण व्यङ्ग्यमा दर्शक बनेका कार्यकर्ताहरू अर्कालाई मजाक उडाएकोमा हाँस्दै आफै मजाकका विषय बनिरहेका छन् । हुलका हुल युवाहरू प्यारोडी क्यारिकेचर, परिहासका माध्यमबाट नेता र अधिकारीलाई व्यङ्ग्य गरेर समाजलाई हँसाइरहेका छन् । साहित्यकारहरू कलम र अक्षरका माध्यमबाट विधिविकृति र व्यवस्थापन विकृतिलाई नङ्ग्याइरहेका छन् ।
जे जसरी उल्लेख गरे पनि हास्यव्यङ्ग्य अभिव्यक्तिको अतिरिक्त आयाम हो, जसले नराम्रो गर्नेहरू थर्किन्छन्, राम्रो गर्नेहरू प्रोत्साहित हुन्छन् । यस विधा मार्फत समाज, शासन र शासकलाई खिज्याएर, हँसाएर नै तह लगाउन खोजिन्छ । पात्र र प्रवृत्तिलाई लाक्षणिक रूपबाट, बढाइचढाइ, मीठो रूपमा प्रस्तुति गरिन्छ । विषयलाई घटना वृत्तिका रूपमा मात्र होइन, विशिष्ट रूपमा प्रस्तुत गरिन्छ ता कि भन्न खोजिएको कुरा कसैगरी भन्न सकियोस्, भनिएको कुराले समाजलाई बेस्सरी प्रभाव पारोस् । हास्यव्यङ्ग्यको विषयवस्तु त्यसैले राजनीति, शासन, विधि, सामाजिक कुरीतिका वरिपरि रहन्छ । हाँसो र व्यङ्ग्य पीडा र बेथितिको क्षतिपूर्तिका रूपमा रहन्छ । नत्र सर्जकहरू किन हास्यव्यङ्ग्य सिर्जना गर्थे ?
‘भ्यागुताका स्वेतपत्र’मा २५ वटा छोटा–छोटा हास्यव्यङ्ग्यहरू सङ्कलित छन् । आयतनमा छोटा, संरचनामा छोटा भए पनि विषयलाई सामान्य रूपमा उठाइए पनि त्यसको स्वर, सन्देश र घनत्व भने गहकिलो छ । किनकि ती नेपाली समाजका भोगिएका, समाजमा जरा गाडेर बसेका व्यथा विकृतिको तीखा घोचपेच हुन् । विकृति र बेथितिलाई व्यङ्ग्यवाण गरेर समाजलाई सग्लो, शुद्ध र सकारात्मक बनाउन हास्यव्यङ्ग्यकार तल्लीन छन् । कृष्णचन्द्रसिंह प्रधानले भनेझैं छ्याकनछेड घोचपेच साथ परिहास गर्नु हास्यव्यङ्ग्यको धर्म हो ।
संग्रहको पहिलो हास्यव्यङ्ग्य ‘भाँती–भाँतीका कपालभाँती’ले जाने नजानेका कपालभाँतीका भक्तहरूको खिल्ली उडाएको छ । योग साधक रामदेवको कपालभाँतीमाथि व्यङ्ग्य गरिएको होइन, कपालभाँतीलाई ढर्राका रूपमा उपयोग गर्ने ढोँगवादी संस्कारमाथि छेडखान हास्यपूर्ण शैलीमा गरिएको छ । आफ्ना मौलिक संस्कार र साधनालाई पन्छ्याएर भद्दा नक्कल तर्फलक्षित नेपाली समाजको ठूलो हिस्सालाई आक्रमण गरिएको छ । अरूका कुराहरू राम्रा र आफ्नाप्रति बेवास्ता गर्ने संस्कार वृत्तिलाई वल्टाई पल्टाई व्यङ्ग्य गरिएको छ । गृहिणी, डाक्टर, अन्य पेशाकर्मी सबै नक्कलका लहैलहैमा छन्, जहाँ पायो त्यही र जसरी जान्यो त्यसरी नै कपालभाँती गरिरहेका छन् । जसले एकातर्फ आफ्नो पेशागत निष्ठा पालिएको छ, अर्कोतर्फ खोजिएको सीप वा अपनाइएको व्यवहारले पनि पूर्णता पाएको छैन । स्थापित प्रणाली र प्रवृत्ति भत्काएर नयाँ संस्कृति–प्रवृत्ति बसाउन नसक्दा जरसासन्ध संस्कार बनेको समाजको चित्र हो भाँती–भाँतीको कपालभाँती । गहिरिएर हेर्यो भने मयुर संस्कृतिका अरू रूप पनि त्यहाँ भेटिन्छ ।
दोस्रो निबन्ध ‘चड्कन चर्या’ लाई नेपाली समाजको दिनचर्याका रूपमा बडो मार्मिक ढङ्गले उल्लेख गरिएको छ । चड्कन वा थप्पडलाई प्रतीक बनाएर समाजको वृत्ति–प्रवृत्तिलाई नै थप्पड हानिएको छ, प्रशासन, राजनीतिमाथि चड्कन हानिएको छ । समाजले कहिले कसलाई चड्कन हान्छ त्यो बेग्लै कुरा हो तर हौसिए, ईर्ष्यिएर मानिसहरू अर्कोलाई चड्कन हान्न पछि पर्दैनन् । अर्कोलाई चड्कन हान्ने मौका मात्र हेरेर बसेका हुन्छन् । नेपाली समाज चड्कनमय भएको छ तर चिन्ता छैन । आफू चड्कने खानेहरू पनि अरूको चड्कनमा रमाउँछन्, अरूले खाएको चड्कनमा खुसी हुन्छन्, आफै पनि चड्कन हान्न पछि पर्दैनन् । आआफ्नो औकात अनुसार सबैले चड्कन पाएका छन्, सबैले चड्कन दिएका छन् । न यसप्रति चेत छ न चिन्ता नै । चड्कन प्रवृत्ति घरपरिवारमा छ, साथी सङ्गातीमा छ, पेशा वृत्तिमा छ । यो नेपाली समाजको दिनचर्या नै बनेको छ । त्यसैले चड्कन चर्या हाम्रो नियति भनेर सबैलाई एकसाथ चड्कन हानेका छन् हास्यव्यङ्ग्यकार पौडेलले । पौडेलको यो चड्कनले समाजलाई हँसाएको मात्र छैन, घोचेको पनि हुनुपर्छ । चड्कन हान्ने र हानिनेलाई पटकपटक सोच्न बाध्य बनाएको हुनुपर्छ ।
‘आफ्नै अर्जुनदृष्टि’ सङ्ग्रहको तेस्रो चड्कन हो । कवि साहित्यकारमाथि चड्कन दिएर व्यङ्ग्य अघि बढ्छ । ‘लेख्छन्, केर्छन्, अनि आफ्नै अनुहार हेर्छन्, फेरि लेख्छन्, फेरि कोर्छन् बिचरा भूपि शेरचन’ । भूपि शेरचनले आफूमाथि, आफ्नो लेखनीको वास्तविकताप्रति व्यङ्ग्यबाण गरेका छन् । सितिमिति आफैलाई कसैले व्यङ्ग्यको विषय बनाउँदैन । आफूमाथि व्यङ्ग्य गर्ने साहित्यकार कति महान् होला, कल्पना मात्र गरौं । तर भूपिले गरेको व्यङ्ग्य आफूमाथि मात्र लक्षित कहाँ छ र ? आजभोलि लेख्दै नलेखी, अक्षरहरूको डङ्गुरमा फिंजाएर महान् बन्ने आत्मश्लाघा बोकेका सबैप्रतिको प्रहार हो यो । अमेरिकी कवि टी एस एलियटले भने झैँ आफ्ना शब्दहरूमा भाव र विचार बोक्न नसक्दा बिचरा सर्जकहरू आफ्नै सिर्जना शक्तिमाथि सङ्घर्ष गरिरहेका छन् । भूपि त इमानदार भएर आफ्नो कमजोरीलाई आफैले उधिनिदिए । तर दम्भ, ईर्ष्या र कुण्ठाग्रस्त समाजमा दृष्टि नभएकाहरू अर्जुनदृष्टि दिइरहेका छन् । दृष्टि र दर्शन नभए पनि उनीहरू स्वार्थ, द्वेष र ईर्ष्याको सङ्कीणतामा अर्जुनदृष्टि दिइरहेका छन् । सिनोमा दृष्टि गाड्ने गिद्धहरू जस्तै सर्जक, गायक, नायक, लेखक, कविहरू आआफ्ना अर्थमा अर्जुनदृष्टि फिंजाइरहेका छन् । यस व्यङ्ग्यमा भने हास्यव्यङ्ग्यकार पौडेल राजनीति र शासन व्यवस्थाभन्दा पर साहित्य सिर्जनतर्फको विकृति उल्लेख गर्न केन्द्रित छन् ।
‘‘आ–आफ्नै भाँडतन्त्र’ मा भने धेरै उत्साहमा स्थापित भएको गणतन्त्र भाँडतन्त्रमा परिणत भएको परिघटना र प्रसङ्गहरू छन् । लोकतन्त्र भनेपनि लोकमा नपुगेकोमा व्यङ्ग्य छ, गणतन्त्र भनेपनि जनतामा नपुगेकोमा चिन्ता छ । गणतन्त्र सेवा नभै शासन भएको, सुसंस्कृति नभै विकृतिमा पुगेकोमा चिन्ता छ । योग्यता र विधिले चल्नुपर्ने गणतन्त्र भागतन्त्रमा परिणत भएको देखाइएका छ । लोकतन्त्र चलायमान बनाउने संयन्त्रहरू भागमा परिणत भएका छन् । संवैधानिक संरचनाहरू भागबन्डामा असंवैधानिक बनेका छन् । नियन्त्रण र सन्तुलन खुम्चिएको छ । राष्ट्रियता मजबुत बनाउन चाहिएको लोकतन्त्र राष्ट्रियतालाई पातल्याउँदैछ । सामूहिक भावना, साझा मूल्य र सामाजिक सम्मतिहरू स्वार्थ र सङ्कीर्णताका कारण विभाजित छन् । विभिन्न प्रतीकहरूको उपयोग गरेर लोकतन्त्रको उपहास गर्नेमाथि व्यङ्ग्य गरिएको छ । ‘अथ श्री कोशेलीमहात्म्यम्’ लालसा, लोभ र स्वार्थमा प्राप्तिको आशामा अगि बढेको कविमाथि प्रहार छ । सर्जक–साधक त महात्म्य र कोसेलीबाट टाढा हुनुपर्ने नि ।
‘जादूको मिटर’ कमैलाई थाहा छ, तर जादूको छडी सबैले सुनेका छन् । नेपालको राजनीतिमा ‘जादूको मिटर’ को नयाँ शब्दावली विकास भएको छ । यहाँ केही काम नगर्ने तर सपना बाँडेर जनताका भान्सासम्म ग्यासको पाइप जडान गरेर इन्धन सप्लाइ गर्ने हावादारी नेतामाथि परिहास गरिएको छ । जादूको मिटर त्यो अद्भुत मिटरको सपना बाँड्ने नेताका लागि मात्र व्यङ्ग्य होइन, हावादारी कुरा पत्याएर वाहवाहीमा रहने जनतामाथि पनि व्यङ्ग्य हो । जे कुरा पनि पत्याउने निर्दोष मनोविज्ञानले नै जादूको मिटर बाँड्ने, भान्छा भान्छामा मिटर थिच्ने बित्तिकै ग्यास तेल आउने बनाइदिने नेताहरूको भाषण बिक्दै आएको छ । त्यो जादूको मिटरबाट चुल्होसम्म ग्यास नपुगे पनि नेताहरू जनतालाई जन्तू बनाउन भने सफल भएका छन् । लेखक व्यङ्ग्य गरिरहेका छन्–जादूको मिटर जादूको छडीभन्दा पनि शक्तिशाली छ ।
‘चीवेको चुरीफुरी’ हिमालनीति भन्दा तिमालनीति राजनीति बन्दा अनुचरवाद सफल भएको मुलुकको कथा हो । चीवेचरी काम गर्न सक्दैन, तर अनुनय विनयले संसार हाक्न सक्छ । चीवेचरीको गरुडप्रतिको अनुनय विनय, चीवेको हाकधाकप्रति अरु चराले गरेको चकरी राजनीतिक संस्कृति नबसेको समाजको राजनीति देखाइएको चित्र हो । चीवे, बुढो गरुड, गिद्ध र अरू चराहरूलाई प्रतीक बनाएर शक्ति हत्याउने परिपाटी यस निबन्धमा देखाइको छ । बूढो गिद्धबाट शक्ति हत्याउने चीवे प्रवृत्ति हाम्रो समाजमा जरा गाढेर रहेको छ, चीवे प्रवृत्तिका कार्यकर्ताहरू सानोतिनो स्वार्थ पूरा गर्न नेतनाको चाकरी गर्छन् । ‘बुर्लुक्क बाबुको जय होस्’ हावादारी भाषण गर्ने तर कामको सिन्का नभाँच्ने राजनीति प्रतिको व्यङ्ग्य हो । कल्पनाको महल बनाइदिएर जनतालाई लोभ्याउने तर उपलव्धि भने केी नदिने राजनीतिक कार्य व्यवहारको चित्र हो ।
‘घरज्वाइँको धन्दा’ सामाजिक व्यङ्ग्य हो कि जसरी शुरु हुन्छ तर राजनीतितिर नै तेर्सिएको हास्यव्यङ्ग्य हो । आफूलाई के धन्दा घरज्वाइँलाई खानाको धन्दा भन्ने नेपाली कहावतलाई विम्बमा राखेर सिर्जिएको घर ज्वाइँको धन्दा नेपाली शक्ति राजनीतिको आमप्रवृत्ति हो । ज्वाइँहरू मानसम्मान, खानपिन, सुख स्वागतका अपेक्षी हुन्छन् । घरज्वाइँ काम गर्दैन, मान खाएर बस्छ, भए नभएको चिन्ता पनि गर्दैन, घरै सकिए पनि मतलब राख्दैन, किनकि ऊ खान आएको हो । दृष्टि, सोच, कर्म र आचरण नभएका नेपाली राजनीतित्वहरू घरज्वाइँ बनिरहेका छन् । ठूला पुराना ज्वाइँहरूले ससुरालीको घर खाइसके, साना ज्वाइँहरू त्यही बाटोमा अझ सिपालु छन् । छिमेकी पाहुनाहरूले माया गरेर घर बिगारिरहेका छन् । त्यसैले उनीहरूको घरको चिन्ता नभएका हन्तकाली हुन् । निबन्धको लाक्षणिकता सार यही हो ।
‘बडीको गडबडी’ मा बडी, वाइडबडी र बडी ल्याङ्ग्वेजको कुरामार्फत नेपाली रानीतिज्ञहरूको खिल्ली उडाइएको छ । वाइडबडीको चर्चा यत्रतत्र छ, बडीमा गडबडी छ तर देश विदेशमा विदेशीसँगको कुराकानीमा बडी ल्याङ्ग्वेजको बिजोग छ । यहाँ बडी ल्याङ्ग्वेजका धेरै प्रसङ्गहरू छन्, स्वास्थ्य प्रसङ्ग, चाकडी प्रसङ्ग, हीनताबोधको प्रसङ्ग । र, अन्ततः घरको बडी राम्रो नभएकोमा चिन्ता गरिएको छ । ‘डाङडुङे ड’ पनि भाषा, उखान, समाजलाई मिलाएर नेपालीहरूलाई व्यङ्ग्य गरिएको निबन्ध हो ।
‘कार्यतालिका हेरफेर’ मोबाइल फोनका कारण परिवर्तन भएको मानिसको जीवनशैलीको प्रसङ्ग, दैनिकी परिवर्तन भएको प्रसङ्गबाट शुरु हुन्छ र अन्ततः यो पनि राजनीतिमा नै गएर टुङ्गिन्छ । ‘नेताजीको भर्मन’ मा सन्तुराम र नेताको मध्यमबाट राजनीतिक प्रवृत्तिमाथि दूरबिनदृष्टि दिइएको छ । बनमन्त्रीले बनका आखेटहरु घरमा सजाएर उधुम विलासिता देखाएको कुरा देखि ३३ केजी, क्वीन्टल सुन काण्ड, पशुपतिको जलहरि, भान्छाभान्छामा ग्यासका पाइप जोड्ने कुराका सिलसिलाहरू यसमा स्मृतिबिम्ब झैँ सरर्र देखाइएको छ । नेताहरूको वास्तविक जीवनशैली उसको कोठाबाट देखिन्छ, बोलीमा देखिन्छ, व्यवहारमा देखिन्छ । जे पनि बोल्न सक्ने तर गर्न केही नसक्ने प्रवृत्तिमा नेता देखिन्छ । विज्ञता नभए पनि जे पनि बुझेको देखाउने तर बुझ्न चाहिँ केही नबुझ्ने विवेकबाट नेता बुझिन्छ । हो हाम्रा नेतामा वाकपटुता भने मान्नुपर्छ । ‘नेताजीको भर्मन’ यी नै वास्तविकताको स्वरूप हा ।
‘माछो माछो भ्यागुतो’ व्यङ्ग्य र वास्तविकता, आशा र प्रत्याशाको निबन्ध हो । यो असन्तोष र आशा पाल्ने अर्नेष्ट होमिङ्वेको ‘बूढो मानिस र समुद्र’ मा बुढो मानिसले आशाको सहारा लिएर बाँचेको जस्तै भएको छाडेर नभएको नभएको पाउन हिँडेको श्रीमानको कथा । यो समाजमा कति यस्ता मानिस छन्, जसले माछा माछा भन्दै भ्यागुता समाउन पुगेका छन्, माछो भनेर भ्यागुता समाएका वा भ्यागुतोलाई नै माछा भन्ने भ्रममा मख्ख परेका छन् । यही भ्रम चिर्न लाक्षणिक अभिव्यक्तिमा छन् हास्यव्यङ्ग्यकार पौडेल ।
‘ऊर्जाको पुर्जा’ जलश्रोतका प्राचुर्यमा अभावको पीडा भोगिरहेको नेपाली समाजको यथार्थलाई देखाइएको छोटो निबन्ध हो । ऊर्जा उत्पादन नगर्ने तर उत्पादनको इजाजत पुर्जा लिएर अँध्यारोमा बस्न बाध्यता ल्याइएको समाजको कथा हो । कस्तुरी मृगले आफ्नै शरीरबाट कस्तुरी हराएको थाहा नपाए झैँ आफैबाट सम्भावना बाहिरिएका हामीलाई थाहा छैन । झोलनमा खोला हाल्ने लाइसेन्स प्रवृत्तिको यस आलेखमा खिल्ली उडाएको छ । व्यवस्थापन, प्रशासन, व्यवसायी, नीति निर्माता सबैलाई थप्पड हानिएको छ । ‘तेलका चलखेल’ मा तेललाई शक्ति, प्रवृत्ति र चरित्रमा उल्लेख गर्दै तेल विक्रान्त व्यवस्थालाई देखाइएको छ । चिल्लो हुनु, चिप्लो हुनु र ज्वलनशील हुनु तेलका नैसर्गिक गुण हुन्, जसका कारण समाजमा यसको महत्त्व छ । यो तेल महात्म्यमा तेलमा चिप्लिने, चिल्ल्याउने, चिप्ल्याउने, जल्ने, जलाउने सामाजिक मनोवृत्तिलाई उल्लेख गरिएको छ । तेल प्रतीक हो, तेल प्रवृत्ति हो, तेल आवश्यकता हो तर तेलका कारण सबै जलिरहेका छन् । तेल प्रवृत्तिबाट सत्य त्रेता कली युग कुनै अछुतो छैन । राजा रामदेखि तेल भण्डार भएका रेजा पहल्वीसम्म कोही तेलवादबाट पर रहन सकेनन् । तर हास्यव्यङ्ग्यकार तेलको यो गुणप्रति असंलग्न छन् । शायद तेललाई तेलकै रूपवृत्तिमा रहन दिनुपर्छ भन्ने उनको आशय हो ।
‘जिस्किनुको आनन्द’ प्रत्येक पार्टी प्रत्येक नेता झ्यालमा बस्ने पाउडर घस्ने डाइभर पल्काउने लफङ्गा भन्दा अर्को विशेष खाले राष्ट्रिय ठट्टा हो । राष्ट्रिय ठट्टाका उत्तरआधुनिक रूप रमाइलो हो तर यो रमाइलो र जिस्क्याइमा देश भने क्षतविक्षत भएको छ, सुशासनको खिल्ली उडेको छ । जिस्कनुको आनन्दमा हामीलाई यही गिज्याइ छ । यो गिज्याई सबैलाई हो ।
‘म–हान साहित्यकार’ ‘म’ साहित्यको बखानमा केन्द्रित छ । बल्ल सर्जक राजनीतिबाट पर पुगेर आफ्नै बखान गर्ने, आफ्नै प्रशंसा गर्ने, अरूलाई शून्य देख्ने आफ्नै वर्गको साहित्यकारहरूको प्रवृत्तिमाथि व्यङ्ग्य विश्लेषण गर्न पुग्छन् । नेपालमा फैलिएको ‘म’ साहित्यले तँ, तिमी, तपाईंका साहित्यलाई निरर्थक अक्षरको गोदाम ठान्छ र आफूलाई सगरमाथाको भ्रममा उचाउँछ । आत्मरतिले ग्रस्त ऊ अरूको सिर्जना कहिल्यै पढ्दैन । त्यसैले उ आफ्नो सिर्जनालाई महान ठान्छ । भ्यागुतोलाई पोखरी बाहिरको संसार र सौन्दर्य के थाहा ? र अरूलाई होच्याउने, वास्ता नगर्ने, उपेक्षा गर्ने संस्कारमा रहन्छ । साहित्यमा आएको ‘म’ वाद, ‘हान’ प्रवृत्ति र ‘सुतुमुर्गी’ शैलीलाई निबन्धकार पौडेलले गहिरिएर नङ्ग्याएका छन् । साहित्य त सबैभन्दा शिष्ट, सरल र सुन्दर हुनुपर्छ । यस्तो सिर्जना गर्ने सर्जक आफैमा सरल, प्रस्ट, शिष्ट, विनयी र सबैलाई मानमर्यादा गर्ने स्वभावमा रहनुपर्ने हो, उसमा दम्भ, स्वार्थ केही नहुनु पर्ने हो । सिर्जनाका अनुहारहरू दम्भका रापमा नहुनु पर्ने हो । त्यसो हुने भए हितम सहितम् साहित्यम् भन्ने नै हुँदैन थियो । सन्सारलाई बाटो देखाउने, समाजलाई बाटो देखाउनेहरू आफै उदाहरणीय बन्नुपर्ने हो । स्वार्थ र सङ्कीर्णता होइन, उदारता र उदात्तता देखिनु पर्ने हो । तर साहित्यमा विकास भएको म वाद र हान प्रवृत्तिले साहित्यलाई समाजबाट अलग्याउँदै छ । व्यङ्ग्यकार पौडेलको यही चिन्ता छ, त्यसकारणले चिथोरेका छन् ।
‘सम्झिरहे पाप लाग्दा’ राष्ट्र र राष्ट्रियता भुलेको नेपाली राजनीतिक कार्यकर्ताको विगतको रूपको संस्मरण हो । ‘ढ्वाङखाली पार्टी’ मा छुल्याहा, भुल्याहा र हुल्याहा पार्टीका छिर्के, च्याखे र लुटपाटे प्रवृत्तिलाई चरिनङ्गन बनाइएको छ । राजनीति (राज्यनीति) नभएको राजनीतिलाई जनताको मत नभएको ढ्वाङखाली पार्टी भनिएको छ । ‘अथ जस्ता त्रिपाल ग्रहणम’ मा महाविपद्मा पनि अनियमितता गर्न उद्यत हुने मानवीय संवेदना नभएका अधिकारीहरूको चरित्रचित्रण छ । ‘पुरस्कार आतङ्क’ ले भने पुरस्कारले नपुगेर पैसाको उरुङ्, सुनको टेललाई बिम्ब बनाएर बेथितिमाथि आक्रमण गर्ने प्रयास गरेको छ । पुरस्कार पाउन घोष्ट राइटिङ गर्ने, सम्मानका लागि प्रायोजन र सम्मान नै सौदा गर्ने साहित्यकारलाई नङ्ग्याएको छ ।
‘भ्यागुताको श्वेतपत्र’ मा भ्यागुतालाई विम्ब बनाएर भ्यागुते प्रवृत्तिमाथि तिखो व्यङ्ग्यवाण छ । भ्यागुतो प्रवृत्तिले नै नेपाललाई आधुनिक नेपाल बन्न दिएन । अध्ययन, अनुसन्धान, शासन, प्रशासन, विधि विधानलाई भ्यागुताको माध्यमबाट देखाइएको छ र भ्यागुते शैलीमा वृद्धिको छलाङ मार्न कोट, टार, होटेल रिसोर्टका बैठकहरू बनावटी भए । त्यसैले भ्यागुताहरू श्वेतपत्र जारी गर्दै छन् । ‘काँचो नरिवल र कटमरो गणतन्त्र’ शैली र संस्कार नभए गणतन्त्र वानरको हातमा काँचो नरिबल बन्न समय नलाग्ने कुरा उल्लेख गरिएको छ । सम्ममन ठीक ठाउँमा नपरे सम्मानकै अपमान हुनपुग्ने यथार्थ ‘सम्मानको भुक्तमान’ हो ।
यसरी हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले नेपाली समाजका कुरीति, शासनका बेथिति, राजनीतिका अनीति, साहित्यको असाहित्य र प्रायोजनपरक पुरस्कार मानसम्मान सबैलाई चिमोटेका छन् । यो चिमोटाइ पढ्दा कतिपयलाई रमाइलो लाग्छ तर उसैको विरुद्ध पनि यो तेर्सिएको हुनसक्छ । सुधार र संस्कारका लागि लेखिएका हास्यव्यङ्ग्य यस्तै प्रवृत्तिमा हुन्छन् । कतिपय सन्दर्भमा त सर्जकहरू आफैप्रति व्यङ्ग्य गर्न पनि चुक्दैनन् । जसरी भूपीले गरेथे । आलस्यको अन्त्य, बेथितिको नामेट र निर्माणको विनिर्माणका लागि यस्तो आवश्यक छ । अझ यसो भनौं, व्यवस्था, विधि, र व्यवहारको विनिर्माणको वाण बनेका छन् व्यङ्ग्यकार पौडेल ।
थोरै प्रस्तुति संरचनातर्फ हेरौं । हास्यव्यङ्ग्यकारहरू उखान टुक्काहरूलाई विषय प्रस्तुतिमा उपयोग गर्छन् । यसो गर्दा अभिव्यक्तिले ओज पाउँछ, प्रभावोत्पादक हुन्छ । पौडेलले पनि सबै निबन्धमा उखान टुक्का प्रयोग गरेका छन्, जस्तो कि ‘डाँफेचरी हिमालमा तित्रा तिमालमा’, ‘घरज्वाइँलाई खनाको धन्दा’ आदि । सामाजिक कहावतहरू यत्रतत्र भेटिन्छन् । शीर्षकहरू नै मन तान्ने खालका चटक्क मिलेका छन्, जस्तो कि चीवेको चुरीफुरी, डाङडुङे ड, बुर्लुक्क बाबु, बडीको गडबडी आदि । हास्यव्यङ्ग्यमा शीर्षक, उखान, कहावत, स्मृति, श्लोक, भाकाहरूको छुट्टै महत्त्व हुन्छ भन्ने सन्देश ‘भ्यागुताको श्वेतपत्र’ ले दिएको छ । अक्षरहरू ध्वन्यात्मकतामा रहन्छन्, अर्थ र आशय मात्र दिंदैनन्, जसले अर्थको ओज र आशयलाई सम्पुष्टि पनि गर्न पुग्छन् । त्यस्तै शब्दहरू ठेट निखारमा नेपाली छन्, गाउँबेसीका चलनचल्तीबाट टिपिएका छन् । वाक्यविन्यास छोटा छन्, जसले प्रस्तुतिको बहावलाई रोक्दैन, सजिलो बनाउँछ । शब्द र वाक्यांशमा अनुप्रासात्मकता छ । यसले अभिव्यक्तिमा हास्यरस भर्ने सामर्थ्य दिन्छ । यी विषय सामान्यजस्ता लागे पनि हास्यव्यङ्ग्य र सम्प्रेषणीयता दृष्टिमा भने निकै अर्थशील छन् ।
शैली हाँस्ने–हँसाउने, बजाउने–बजार्ने, जिस्क्याउने च्वास्स घोच्ने भए पनि त्यो समाज र शासनभित्र गढेको विकृतिको चिरफार हो । चिरफारले समाधान र शुद्धीकरण खोज्छ । घरभित्रको गाईजात्रा र मन्कीस्टेट याने कि बानरराज्यभन्दा माथि उठेर, याने कि आफ्नै विरासत र स्थानबाट माथि उठेर भ्यागुताको श्वेतपत्र जारी भएको छ । जसले समकालीन नेपाली हास्यव्यङ्ग्यलाई शीर्षस्थता प्रदान गर्दछ । रामकुमार पाँडेले भनेझैँ यसर्थ नरेन्द्रराज पौडेल ‘हास्येन्द्र’ बनेका छन् । भैरव अर्याल, केशवराज पिडालीपछि नेपाली हास्यव्यङ्ग्यलाई यो उचाइमा पुर्याउन पाँडे र पौडेलको योगदान नै शीर्ष छ । त्यसैले हास्येन्द्र–व्यङ्ग्येन्द्र दुवै हुन् । भैरव अर्याल जस्तै वृत्ति र व्यक्तित्व पनि सरल र सौम्य देखिन्छ, न कसैलाई राग राख्छन्, न कसैप्रति विरागमा छन् । वृत्ति जस्तै व्यक्तित्व, व्यक्तित्व जस्तै व्यवहार र साहित्यजस्तै शैली नरेन्द्रराज पौडेलका विशिष्टता हुन्, जुन भ्यागुताको श्वेतपत्रमा पनि देखिन्छ ।
पौडेलेको हास्यव्यङ्ग्यको विषय मूलतः राजनीति र शासन विधानतर्फ केन्द्रित छ । साहित्य, परिवार, समाजका अन्य पक्षमा पनि उनले नलेखेका होइनन्, तर मूलतः राजनीति र शासकीय व्यवस्थातर्फ केन्द्रित छ । यो समकालीन समाजको प्रमुख खाँचो राजनीति र शासन सुधारमा छ । धेरै विकृतिहरू त्यही छन्, त्यसलाई सुधार गर्न सकिए मात्र अरू विकृति विसङ्गति सुधारका लागि नेतृत्व प्राप्त हुन्छ । नेपालमा मात्र होइन भारतीय साहित्य, चलचित्र, कार्टुनचित्र र परिहासका अन्य प्रस्तुतिमा राजनीति नै विषय बन्छ, रजनीतिक पदाधिकारी नै पात्र बन्दछन् । दक्षिण भारतका नामचलेका, रुचाएका चलचित्रहरूमा प्रहरी र नेताहरूलाई खुलेर आलोचना गर्ने, उनीहरूको शैलीलाई क्यारिकेचरमा ल्याउने गरिन्छ । यस अर्थमा हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेलले पनि अभावको विषयलाई पछाइएका रहेछन्, सुधारका विषयलाई सिफारिस गरेका हुन्छन् भन्नुपर्ने हुन्छ ।
सारमा भन्नुपर्दा नरेन्द्रराज पौडेलका हास्यव्यङ्ग्यमा नेपाली समाज र शासनको संरचना र स्वरूप देखिन्छ । यो संरचना स्वरूपलाई अझै गहिरिएर हेर्यौं भने त्यहाँ आर्थिक वैषम्य, सामाजिक तहसोपान, लैङ्गिक सम्बन्ध, पेशा प्रवृत्तिको रूप देखिन्छ । सरल रूपमा प्रस्तुत भएर गहन विषयबोध गराउन भ्याउँछन् । त्यहाँ छयाकनछेड घोचपेच छ, परिहास छ, जिस्क्याइ छ र आक्रमण छ । एउटा सफल हास्यव्यङ्ग्यकार यो प्रवृत्तिबाट पर रहन कहाँ सक्छ र ?
क्षितिज मार्ग, शङ्खमूल ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।