किन यस्तो हुन्छ ? सम्हाल्नै नसकिने भीडमा छ मन । २०८१ को शरदकालीन समय बर्सादले अस्वाभाविक भएको छ । बडा दशैं निकट हुँदै अझ निकटतामा आइरहेको छ । घर फर्किने समय हुने लाग्यो । तथापि बाटो अवरुद्ध छ । चाडपर्वको नजिकै कति धेरै मानिसहरू घरबार विहीन भएका छन् । बाढीमा, पहिरोमा, सवारी दुर्घटनामा ठूलो सङ्ख्याले मृत्यु भोग्नु परेको छ । यतिखेर देश शोकमा छ, अप्ठ्यारोमा छ ।

यस्तो दुःखद अवस्थामा अन्योलको तीव्रता छ । दशैँमा घर फर्किन पाइन्छ पाइँदैन निश्चित छैन । गन्तव्य पुग्नुअघि बीच मार्गमै पहिरोले जीवन समाप्त गरिदिने हो कि ? के थाहा ! यतिखेर  हिम्मतको केही अर्थ छैन । बरु कायर हुँदा जीवनको रक्षा हुनसक्ला ! घर फर्किने बाटो थुनिँदा असमञ्जस बढेको छ । यस्तो बेला कथा लेख्न खोज्छु, निबन्ध या त समीक्षा, समालोचना गर्न खोज्छु तर अहँ मन कतै स्थिर छैन । बरु रुमलिएको छ । अनुभूतिको, विचारको, भावनाको, आवेग, संवेगको अनि निश्चित नभएको भविष्यको सुर्तामा ।

यतिखेर अस्थिर मनलाई थामेर नेपाली मूलका अमेरिकी भूटानी जे एन दाहाललाई पढ्दैछु । उनको आख्यान कृति ‘प्रहेलिका’मा विविध अर्थहरू खोज्न लागेको छु । स्रष्टाको लेखन ध्येयलाई बुझ्ने प्रयासमा छु । यसअघि नै उनको प्रथम कृति ‘लेखककी छोरी’ पाठक माझ आइसकेको छ ।

अमेरिका स्थित हेरिस्बर्गमा रही नेपाली भाषा साहित्यको सेवामा निरन्तर लागिरहेका स्रष्टा दाहाल । नवीन विषयमा लेखिएको उनको ‘प्रहेलिका’ उपन्यासले नेपाली साहित्यमा एक नयाँ मार्ग लिएको छ । पारम्परिक धारणादेखि भिन्न विषयवस्तुमा कृति रचिएको छ । जसलाई विभिन्न दृष्टिकोणले अध्ययन गर्न सकिन्छ । उत्तरआधुनिकवाद आउनु भन्दा अघिको समय नेपाली साहित्यमा यस किसिमको सिर्जना आएको थिएन । प्रायः द्विचर विभाजनमा लेखनका धारहरू निर्धारित थिए अर्थात् जगत्को सत्य दुई वर्गमा विभाजित थिए ।  जस्तो नर र नारी, दिन र रात, सुख र दुःख यही दृष्टिकोणले साहित्य सिर्जना हुँदै आएका थिए । अझ भनौँ सस्युरको संरचनावादी अवधारणा अनुसार हाम्रा साहित्य रचिएका थिए । उज्यालो र अँध्यारो, स्वर्ग र नर्क जस्तो दुई ध्रुर्वीय सिद्धान्त भनौँ अर्थात् द्विचर सिद्धान्तमा एउटा पहिलो दर्जाको र अर्को दोस्रो दर्जाको मान्यता स्थापित गरी;  हामीले लेख्दै आयौँ । जस्तो कि पुरुष भन्दा नारी न्यून दर्जाको बनाइयो । त्यस्तै दिन र रातमा दिनलाई विशेष बनाइयो । यस बुझाइलाई बीसौँ शताब्दीमा उत्तरआधुनिक धारणाले भत्काउन थाल्यो । द्विचरका बीचमा अरू सत्य र अर्थहरू खोज्न थाल्यो । (हेर्नु उत्तरआधुनिक विमर्श, २०७१)

प्रहेलिका

प्रहेलिका

उत्तरआधुनिक मान्यताले संरचनावादको भनौँ या द्विचर विभाजनको विरोधसँगै विनिर्माणको धारणा ल्यायो । मार्टिन हाइडेगर हुँदै डेरिडाले विनिर्माणवादी सिद्धान्तलाई गहिराइमा पुर्याए । तब सत्य एउटै रहन्छ भन्ने मान्यता अस्वीकार हुन थाल्यो । अन्तिम सत्यको धारणामा प्रश्नहरू उठ्न थाले । सत्यमा सन्देह हुन थाल्यो । चिन्तकहरू अनिश्चित तथा अनन्त सत्यको पक्षमा बोल्न थाले । त्यसको परिणाम स्वरूप कुनै पनि कुराको अन्तिम निचोड हुन सक्दैन, विचारको कहीँ अन्त्य छैन भन्ने दृष्टिकोण स्थापित हुन थाल्यो । केन्द्र भत्किए । किनारीकृत आवाजहरू उठ्न थाले । ससाना केन्द्रहरू निर्माण भए । छेलिएका, छोपिएका, सम्बोधन नभएका सत्यहरू जागृतिको अवस्थामा आए । विविध सम्भावनाहरू जुर्मुराए, सम्भावित सत्यहरू ब्यूँझिए । हरेक विषयको केन्द्र हुनुपर्छ भन्ने मागहरू उठे ।

दाहालकृत ‘प्रहेलिका’ यही सिद्धान्तको एउटा दृष्टान्त बनेको छ । यसलाई मार्जिनल तथा जेन्डर स्टडिजका दृष्टिले मूल्याङ्कन गर्न सकिन्छ । महिला र पुरुषदेखि भिन्न चरित्रलाई सम्बोधन गरिएको आख्यान; जसमा यौनिकताको दृष्टिले न महिला न पुरुष हुन सकेका पात्रलाई समाजको बन्धनबाट फुक्का गरिएको छ । शारीरिक रूपले सम्पूर्णतः महिला भए पनि पात्रको मनोविज्ञान भनौँ उसको जैविकता महिला हुन नसकेको अनि पुरुष त झन् हुँदै नभएको; यस्तो वास्तविकतालाई स्रष्टाले देखाउने प्रयास गरेका छन् । महिला या पुरुष या तेस्रो लिङ्गी कसैप्रति पनि आकर्षित नहुने, यौन तृष्णा नभएको (एसेक्सुअल) चरित्र न ऊ ‘गे’ हो न ‘लेज्बिअन’ । यस्तो अनौठो पात्रको परिचय खुलाएर उसको अस्तित्व स्थापित गरेका दाहालले किनारीकृत स्वरलाई एउटा केन्द्रमा ल्याउने चेष्टा गरेका छन् । लैङ्गिकताको अध्ययनमा आधारित यस आख्यानले एउटा रहस्य उद्घाटन गरेको छ ।

वर्तमान समय हरेक मानिस विश्वनागरिक हुँदैछ । भूमण्डलीकरणले विश्वनागरिक बनाउँदैछ । ‘प्रहेलिका’मा यस्तो बोध हुन्छ । अमेरिकी परिवेशमा रचिएको प्रस्तुत कृतिमा एसियन मूलका, आइरिस मूलका अन्य मूलका पात्रपात्रहरू मित्र, आफन्त, श्रीमान् श्रीमतीको सम्बन्धमा रहेका छन् अर्थात् भन्न खोजेको के भने अबको नाता सम्बन्ध आफ्नो जाति, समुदाय र राष्ट्रदेखि पर भिन्न जाति, समुदाय र मुलुकका नागरिकसँग पनि उतिकै निकट हुन थालेको छ । विश्व एउटा समुदाय बन्दै गइरहेको बेला, आजको मान्छे अनेक आनुवंशिक गुण बोकेर बाँच्दैछ । विशुद्ध आनुवंशिकता मेटिँदै गएको अवस्थामा; वर्णसङ्करको युग शुरु भइसकेको छ । सबै कुरा ठिमाह हुँदैछ । अझ बुझिने भाषामा भनौँ जगत् यसरी हाइब्रिड हुँदैछ । विशुद्ध भाषा, जाति, संस्कृति सप्पै सप्पै थोक विलोपन उन्मुख भएको छ । विद्यमान विश्वका सम्बन्धहरू अनेक विमातृसँग नजिक हुँदै गएका छन् । राष्ट्र, राष्ट्रियताको सीमा नाघेर मित्रता धेरै पर दूर दूरसम्म पुगेका छन् ।

एक नेपाली भाषी स्रष्टाले पश्चिमी मूलका पात्र सिर्जना गरी रचिएको कृति । ती पात्र पात्राले आफ्नो भाषा (अङ्ग्रेजी) त बोल्ने नै भए । अनि नेपाली भाषा पनि ती बोल्दैछन् । ‘प्रहेलिका’ पढ्दा यस्तो अनुभूत हुन्छ तिनीहरूले पनि नेपाली भाषा जानेका छन् । लेखकले उपन्यासमा प्रेम, मित्रता र दाम्पत्य जीवनलाई देखाउन एक भन्दा बढी जोडी पात्रहरू सिर्जना गरेका छन् । काठमाडौँमा हुर्किएकी अनुष्का र मायल्यको दाम्पत्य जीवन; त्यस्तै अर्को दाम्पत्य जीवन छ मिसेस शर्मा र मिस्टर ब्राउनको । अनि मियाको भर्खर प्रेम शुरु हुँदैछ । ऊ सम्बन्धलाई प्रगाढ बनाउन डेटिङ गइरहन्छे । अरू पनि केही पात्रहरू रहेका छन् जस्तो ग्रेस, स्टेसिया, राफियल, जुलिया आदि ।

स्रष्टा दाहालले आफ्नो कृतिमा अनुष्का र मायल्य अनि मिसेस शर्मा र मिस्टर ब्राउनको दाम्पत्य जीवनलाई समान महङ्खव दिएका छन् । यी दुई जोडी मध्ये कसलाई प्रमुख पात्र मान्ने अनि सहायक कसलाई मान्ने ? नायकत्व कसलाई दिने ? ‘प्रहेलिका’मा यस्ता केही प्रश्नहरू छन् ।  अन्ततः अनुष्का र मायल्सलाई प्राथमिकता दिइएको हो कि जस्तो लाग्छ । यी दुवै जोडीको सम्बन्धमा निकै खटपट छ । दुवै जोडीको समस्या उस्तै छ । जसले सफल तथा सुखद दाम्पत्य जीवन बाँच्न सकेका छैनन् । जो अतृप्त यौन जीवन बाँच्न विवश छन् ।

किन यी पात्र असन्तुष्ट छन् ? श्रीमान् श्रीमतीको सम्बन्ध किन सुमधुर हुन सकेको छैन ? उपन्यासमा यस कुरालाई प्रस्ट्याउन खोजिएको छ । अझ भनौँ कृतिको लेखन ध्येय यही रहेको छ । त्यसो हुँदा यौनिकताको दृष्टिले दुवै जोडीका श्रीमतीलाई निरीह बनाइएको छ । उनीहरूले आफ्ना पुरुषलाई तृप्ति दिन सकेका छैनन् । तब पुरुष पात्र तृषित मन लिएर भड्किन थाल्छन् । अतृप्त चाहना लिएर (मायल्स र मिस्टर ब्राउन)  यौनका लागि श्रीमतीलाई तयार हुन अनेक प्रयास रच्छन् । किन्तु विफल हुन्छन् । अस्वाभाविक कामेच्छाले श्रीमतीको वरिपरि ढुकिरहन्छन् । वैवाहिक जीवनको लक्ष्य भनेकै यौन प्राप्ति हो, दुवै पुरुषको एउटै बुझाइ रहेको छ । पारिवारिक दायित्वमा ध्यान नभएका यी पुरुष हमेसा यौनको अपेक्षा राख्छन् । किन्तु सार्थकता नपाएको उनीहरूको अपेक्षा कुण्ठित हुन पुग्छ । मायल्स अन्नतः अभिलाषी मन लिएर आइरिस बार जान थाल्छ । तर त्यहाँ पनि उसको वाञ्छित मन अधुरै रहन्छ । परन्तु वियरको नसामा कुण्ठित मन भुलाउन त्यहाँ गइरहन्छ ।

ज्यादा व्यक्तिवादी अझ भौतिकवादी खुला संस्कृतिमा; आफ्नी सङ्गिनीबाट असन्तुष्ट मायल्स किन अनुष्कालाई पछ्याइरहन्छ ? अर्को सम्बन्ध फेर्न कति नै जटिल छ र ऊ बाँचेको समाजमा ? सम्बन्ध जोड्न, फुकाल्न सहज परिवेशमा यौनेच्छाले किन ऊ त्यसरी व्याकुल भइरहन्छ ? उसको र अनुष्काबीचको यौनिक जीवनमा; यस्तो प्रश्न उब्जिन्छ पाठक मनमा । हुन त उनीहरूको वैवाहिक जीवन आरम्भ भएको भर्खर चार महीना पुग्दैछ । तत्काल सम्बन्ध विघटन गर्न उनीहरू चाहँदैनन् । मायल्सले अर्की कुनै युवतीलाई मनमा राखेको छैन । कामवासनाको निम्ति ऊ अनुष्कामै निर्भर रहेको छ । परन्तु रतिक्रीडाको आनन्द खै उसले प्राप्त गर्न सकेको ? यसैबीचमा मायल्स भन्छ, ‘म वासनाको प्यासी थिएँ, अहिले पेयको प्यासी बनेको छु । के अपेक्षा गरेँ, समयले कता उछिट्टयाइदियो (पृ–८५) !’

प्रेम विवाह गरेका उनीहरू शुरुमा एकअर्काप्रति आकर्षित भएर नै सम्बन्धमा रहेका थिए । पछि गएर अनुष्का मायल्सप्रति अनुरागी हुन किन सकिनन् ? प्रश्न उठ्छ । उनी अरू कसैको प्रेममा परेर त्यसो भयो भनु पनि कसरी ? उनी कुनै परपुरुषसँग नजिक भएको देखिँदैन । कस्तो स्थिति देखाउन खोजेका हुन् लेखकले ? घरीघरी अनुष्काको स्वभाव अविश्वासिलो लाग्न खोज्छ । जवान युवतीको यौनप्रति किन वितृष्णा ? यस्तो अज्ञात उत्सुकतालाई उपन्यासले लम्ब्याउँदै लगेको छ सामान्य दैनिकीमा । एकदम साधारण घटनाक्रम तन्काउँदै आख्यानले—पुरुष पात्रमा आसक्तिको वेग तीव्र पार्दै लगेको छ । अनि नारी पात्रमा यौनप्रति वितृष्णा अझ थपिँदै गएको छ ।

यथार्थमा तिनीहरू कस्तो जीवन बाँच्दैछन् ? कस्तो विपरीत इच्छाले तिनीहरू निर्देशित छन् ? यौनिकता विहीन अर्थात् रङ्ग रस विहीन दाम्पत्य जीवन । केवल श्रीमान् श्रीमतीको औपचारिक सम्बन्ध छ । त्यति मात्रै । उता मिसेस शर्मा र मिस्टर ब्राउनको सम्बन्ध पनि खासै सुमधुर छैन । यौनप्रति मिमेस शर्माको पनि ठूलो वितृष्णा छ । उनी तातो पानीले भरिएको बाथ टबमा शरीर डुबाइरहन्छिन् । उनको स्वास्थ्य राम्रो छैन ।  यता आधा शताब्दी अझ धेरै बाँचिसकेको मिस्टर ब्राउन भने अझ पनि यौवनको तृष्णाले जलिरहेको छ । उसको तृषित मन स्वाभाविक भन्दा पनि अस्वाभाविक बढी देखिन खोज्छ । ऊ समय कुसमयको हेक्का नराखी हमेसा तृप्तिको आह्वान गर्छ । त्यस्तै प्रेमको आह्वान पनि । परन्तु मिसेस शर्मा तयार हुँदिनन् । यसरी यी दुवै दम्पतिको उस्तै खालको अवस्था देखाउन खोज्नुको अभिप्राय के हो ? मैले अन्त्यसम्म त्यही खोजिरहेँ ।

लेखकले अनुष्का र मिसेस शर्माको दाम्पत्य जीवनबाट फरक फरक तात्पर्य उल्लेख गर्न खोजेका हुन् या एक साझा आशय ? उही आशय देखाउन खोजेका हुन् भने बरु एउटै पात्रलाई विशेष नायकत्व दिएको भए राम्रो हुने थियो । त्यसो गर्दा कथा जुन स्थितिमा छ त्यो भन्दा अझ बलियो स्थितिमा हुने थियो । परन्तु त्यसो नभई दुई दम्पतिको पृथक अभिप्राय देखाउन खोजिएको हो भने फरक फरक लेखन अभिप्रायलाई स्पष्ट पारिएको भए—ती पात्र पात्राको अस्तित्व अझ सबल हुने थियो होला । मिसेस शर्माकी छोरी कलेज पढ्ने भइसकेकी छिन् अर्थात् यहाँ भन्न खोजेको के भने अनुष्का जुन लैङ्गिक चरित्रकी छिन् शर्मा ठीक त्यही चरित्रकी छैनन् । उनी आमा हुन सकेकी छिन् । किन्तु अहिले उनलाई  यु.टी.आई.को समस्या छ ।

यतिखेर अनुष्का मनस्तापमा छिन् । आफूलाई के भइरहेको छ ? यस कुरामा अनभिज्ञ छिन् । स्रष्टाले उनलाई किन आफैँप्रति अञ्जान भएको देखाउन चाहेका छन् ? जिज्ञासा हुन्छ आफ्नै बारेमा थाहा नपाउने चरित्र किन निर्माण गरिएको छ ? उनी आफैँसँग सोध्छिन्, ‘मलाई के भएर यौनप्रति अरुचि बढिरहेको छ ? हर्मन्सको कमी भएकोले यसरी अनिच्छाले घेरेको हो ? शरीरको विकास हेर्दा म पूर्ण आइमाई हुँ । फेरि हर्मन्सको कमी कसरी मान्नु (पृ–६२ ?)’

उता मायल्स यौन तृष्णाले अशान्त छ । बेलाबेलै अतीततर्फ फर्किन्छ । शुरूका दिनमा अनुष्कासँग भेट हुँदाको रमाइलो विगत सम्झिन्छ, ‘बिहे अघि ऊ स्वीट थिई । अहिले किन यस्तो भई ऊ ?’ ऊ निकै सोच्छ, प्रेम चाहन्छ । तर पाउँदैन ।

अनुष्का आफ्नो अनौठो मनस्थितिले चिन्तित छिन् । दैहिक तृष्णाप्रति आफ्नो इच्छा नहुँदा पनि पतिलाई खुशी बनाउनु पर्ने व्यवहारले विचलित छिन् । तब उनी विवाह र सम्बन्धको अर्थ खोज्न लाग्छिन्् । वाइफ भनेको प्यासमा सम्झिने, ओठ जुधाउन चाहिने, शारीरिक आवश्यकता पूरा गर्न खाँचो पर्ने एउटा वस्तु रहेछ । आफू यसरी वस्तुकरण भएकोमा उनी उदासिन्छिन् । कहिलेकाहीँ उनलाई यस्तो झोक चल्छ कि आफ्नो इच्छा विपरीत ताडना दिने मायल्सको लिङ्ग नै काटिदिऊँ । उनको पीडा यति मात्रै छैन । आफूमा नारी सुलभ इच्छा किन सल्बलाउँदैन ? यस कुराले दिग्दार भई उनी आफैँसँग सन्देह गर्न पुग्छिन्, ‘मेरो शरीरको बनावटमा केही त्रुटि छैन । सम्पूर्ण अङ्ग पुष्ट छन् । तर यौनमा रुचि किन कम छ ? के म आम महिलाभन्दा भिन्नै छु (प–७५) ?’

आखिर प्रेम या वैवाहिक जीवनको तात्पर्य यौनमै गएर टुङ्गिने रहेछ । ‘प्रहेलिका’मा यही आशय देखिन्छ । कुनै युवा युवती प्रेममा वशीभूत भएको देख्दा मायल्स आफ्नो पनि त्यस्तै होस् भन्ने चाहन्छ । तर त्यसो हुन सक्दैन । उसको अतृप्त मन पुनः पुनः दुखेसो गर्छ, ‘आफ्नी श्रीमती त थपना मात्रै भई, माया गर्ने नजान्ने । कामवासना बेगरकी निरस आइमाई ।’

मानिसको मन कति विचित्रको हुने रहेछ । कस्तो विरोधाभासी अनुष्काको मन ! श्रीमान्लाई शारीरिक सुख दिन असमर्थ भएपछि मायल्स सुख खोज्न अन्तै जान्छ । तथापि उसले चाहेको सुख त पाउँदैन नै । परिवारमा हार्दिकतापूर्ण वातावरण नहुँदा जेहोस् ऊ आइरिस बार गइरहन्छ । त्यो कुरा अनुष्कालाई मन पर्दैन । आफूले तृप्ति दिन नसके पनि आफ्नो श्रीमान् आफैँसँग रहोस् भन्ने उनको अपेक्षा हुन्छ । यसरी उनी बेलाबेलै सशङ्कित हुन्छिन्, ‘बार जस्तो ठाउँमा लगातार जानु कुनै अप्रिय सङ्केत त होइन ?’

उपन्यासले कता–कता पाठकलाई अल्मल्याउन खोजेको हो कि ? भन्न खोजेको कुरा भन्न केही विलम्ब गरे जस्तो हुन्छ । त्यस दिन मायल्सको इच्छा पूर्ति भएको प्रहर; अनुष्का एकछिन अघि बितेको आफ्नो समय सम्झिएर खिन्न हुन्छिन् । अघिको परिस्थिति बितिसकेपछि फेरि किन उदास ? ‘आज आफ्नो सम्झौता तोडेँ’ उनी किन भन्छिन् ? उनको त्यो कस्तो सम्झौता हो ? बिहे भएपछि शरीरिक सम्बन्ध राख्नु स्वाभाविक हुँदाहुँदै फेरि किन सम्झौता विघटनको कुरा ? उनलाई सम्बन्धमा रुचि छैन भने सम्झौता गर्नु नगर्नुको के अर्थ ? कस्तो अन्योलतामा, विवशतामा, रहस्यमा बाँचेका छन् यी पात्रहरू ? ‘आफैँले बनाएको एउटा सम्झौता मायल्सको खुशीका लागि भङ्ग गरेँ’ भन्नुको आशय के हो ? त्यसरी भङ्ग भएकोमा उनलाई किन पश्चात्ताप हुन्छ ?

अनुष्का जस्ता चरित्रको कठिन मनोविज्ञान देखाउन खोजेकै कारण कृति शीर्षक भनौँ कृति त्यसैले प्रहेलिका भएको छ । अनुष्का आफूलाई के भइरहेछ थाहा पाउन एम. डब्लु एन्ड सेक्स थेरापी जान्छिन् । हरेक बेड टाइम आफूले यौनिक आनन्द लिन नसकेको उनी बताउँछिन् । डा. निकोल्सन सोध्छन्, ‘तपाईंलाई कुनै फिमेलप्रति अट्रयाक्सन भएको थियो ? या सेम सेक्सुवलप्रति अट्रक्याक्सन थियो ?’ यस्तो प्रश्नले उनी किन झस्किन्छिन् ? कुरा अझ पनि अन्योलमै छ । कतै अनुष्का समलिङ्गी त होइनन् ? पाठक अनुमान गर्छ ।

त्यसो त उनी समलिङ्गी हुन् भने शुरुका दिनमा मायल्सप्रति किन आकृष्ट भइन् ? अनि बिहेपछि किन हुन सकिनन् ? यस्ता अनेक जिज्ञासा हुँदाहुँदै अन्ततः अनुमानहरू विफल हुन्छन् । सोच्दै नसोचेको धारबाट कथा अगाडि बढ्छ । डाक्टरले अनुष्का अलैङ्गिक (एसेक्सुअल) भएको बताउँछन् । हो यहीँनेर फेरि अर्को प्रश्न उठ्छ । यसरी आफू एसेक्सुअल भएको थाहा पाउँदा अनुष्का किन आश्चर्यमा परिन् र फेरि त्यस कुरालाई सहजै स्वीकार्न कसरी सकिन् ? शुरुमा त उनलाई हीनता बोध जस्तो केही भएको हुनुपथ्र्यो । होइन र ? उनी त अझ डाक्टरको भनाइप्रति खुशी पो हुन लागिन् । वास्तविकतामा के यस्तो हुन सक्छ ? बरु उनको मनस्थितिमा यस कुराले उतारचढाव गरेको भए; यथार्थको धेरै नजिक हुने थियो उनको अवस्था ।

डाक्टरको निर्णयले अनुष्का न महिला न पुरुष न समलिङ्गी भइन् । तब अयौनिक चरित्रका रूपमा उनको परिचय स्थापित हुन्छ । लेखकले यही रहस्यात्मक स्थिति खुलाउन तथा परम्परित दृष्टिले बुझ्दै आएको लैङ्गिकतादेखि भिन्न अवस्था देखाउन; अनुष्का जस्तो पात्र निर्माण गरेका छन् । नवीनताको दृष्टिले पनि उनको यो प्रयास स्वागतयोग्य छ । तथापि कथानकमा केही रिक्तताको महसूस हुन्छ । अर्को संस्करणमा रिक्तता भरेर यसलाई सबल बनाउन सकिने छ ।

यसै मध्ये केही रिक्तता माथि प्रसङ्गमा आइसकेको छ । फेरि पनि त्यस्तै केही भन्नु पर्दा जस्तो कि अनुष्का आफू एसेक्सुअल भएको थाहा पाएपछि; त्यसरी अविलम्ब मायल्सलाई चटक्कै छोडेर जानु अस्वाभाविक लाग्छ । अझ यसो भनौँ कैदी जीवनबाट रिहा भए जस्तो गरी फुत्त घरबाट हिँड्दा यथार्थता गुम्न खोजेको हो कि भान हुन्छ । त्यति लामो सम्बन्ध डाक्टरको रिपोर्टसँगै त्यसरी विच्छेद गर्नको हतार नै के थियो र ? अब एकछिन पनि मायल्ससँग बस्न हुन्न झैँ गरी अनुष्काले त्यसरी हतारमा घर नछोडेको भए राम्रो हुने थियो । एसेक्सुअलको प्रसङ्गलाई लिएर बरु दम्पतिबीच मानसिक विचलन देखाई, बिस्तारमा ती दुईलाई अलग गराएको भए हुने थियो । अघिदेखि ससानो घटनामा अल्मलिएको कथानक यहाँ चाहिँ बडो हतार गरेको लाग्छ । त्यस्तै अर्को प्रसङ्ग अनुष्का एसेक्सुअल भएको कुरा डाक्टरका केही प्रश्नमै कसरी प्रमाणित भयो ? उनी एसेक्सुअल भएको कुरा प्रस्ट्याउन; निष्कर्षमा पुगेको देखाउन केही प्रक्रिया पूरा गरेको भए विश्वसनीयता दर्बिलो हुने थियो ।

उपन्यास पढ्दै गर्दा लाग्छ । उनीहरूले ‘अबदेखि हामी छुट्टछुट्टै बस्ने, बेग्ला बेग्लै अस्तित्वमा रहने’ भनेर सल्लाह गरेको भए मायल्स यसरी क्रुद्ध हुने थिएन कि अनुष्काप्रति ? ऊ अहिले आतङ्कित मूडमा छ । असमहतिको स्थितिमा ऊ भन्छ, ‘एक वर्षदेखिको चिनजान, चार महिनादेखिको वैवाहिक सम्बन्धलाई उसले त्यो जाबो थेरापिस्टको रिपोर्टको आधारमा टुक्र्रयाइदिई (पृ–१५८) ।’

कथाले भन्न खोजेको थिम आइसकेको छ । मायल्सबाट छुट्टिएपछि अनुष्का तनावमुक्त हुन्छिन् । यहाँनेर फेरि अर्को उत्सुकता पैदा हुन्छ । एसेक्सुअल जन्मै हुने हो कि हर्मोनको कारण पछि गएर हुने हो ? अनुष्कालाई आफू अयौनिक रहेछु भन्ने अनुभूति पहिलेका दिनमा किन भएन ? बिहे पश्चात् उनी कसरी एसेक्सुअल भइन् ? अन्त्यमा यस्ता केही जटिल प्रश्नहरू उठ्छन् ।

पश्चिमी परिवेशमा रचित ‘प्रहेलिका’ । यसलाई हेर्ने अरू पनि केही दृष्टिकोणहरू छन् । अनुष्का एसेक्सुअल भएको र आफ्नो परिचयमा खुशी भएको देखाउनु कति स्वतन्त्र समाज छ । हाम्रो पृष्ठभूमिमा पात्रले यस्तो स्वतन्त्रता पाउन सक्दैनन् । अनुष्का जस्ता चरित्रहरूहरूले यहाँ अझै पनि स्वर दबाएर बाँच्नु परेको छ, अस्तित्व लुकाएर छिप्नु परेको छ । उनीहरूले आफ्नो परिचय दिन सक्ने अवस्था छैन । हिम्मत  गरेर परिचय दिए पनि समाजले स्वीकार्दैन ।

उपन्यासको अन्त्यमा आएर अनुष्काले मैत्रीपूर्ण वातावरण प्राप्त गर्न सकेकी छिन् । तेस्रो लिङ्गीको हितमा स्थापित एलजीबीटीक्युमा उनी आबद्ध हुन्छिन् । त्यस संस्थामा कोही लेज्बिअन, कोही गे, कोही बाई–सेक्सुअलहरूको उपस्थिति देखिन्छ । त्यस्तै कोही क्विर, कोही ट्रान्सजेन्डर, कोही इन्टरसेक्सहरू पनि ।

स्रष्टा दाहालले आफ्नो सिर्जनामा, तेस्रो लिङ्गीको अस्तित्व पहिचानका लागि जस्तो प्रयास गरेका छन्, त्यो प्रशंसा योग्य छ । हाम्रो समाजमा पनि यस्ता विविध विषयले मर्यादा पाउनु पर्छ । सबै लिङ्गलाई समान रूपले सम्मान गर्नु पर्छ । हामी प्रत्येक व्यक्ति आआफ्नो रूप, स्वभाव र हर्मोन लिएर जन्मिएका छाँै, जुन कि हाम्रो नियन्त्रणमा छैन । यस्तो अनियन्त्रित कुरा हामीले स्वीकार्न सक्नु पर्छ । यस सृष्टिमा जन्मिएका सम्पूर्णले आफ्नो स्वभाव अनुसार सम्मानले बाँच्न पाउनु पर्छ । हामीले बुझ्दै आएका महिला र पुरुष बाहेकका अरूलाई पनि मानव सभ्यताले सम्बोधन गर्नु पर्छ । उपन्यासले त्यही गरेको छ ।

त्यस दिन एलजीबीटीक्युजले एउटा कार्यक्रम राखेको थियो । जसमा एसेक्सुअलको प्रतिनिधि भई अनुष्काले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनी भन्छिन्, ‘कसैको शरीरले सेक्सको इम्पोर्टेन्स राख्दैन या त्यसप्रति कुनै इन्टे«स्ट नै छैन या हुँदैन भने, यु कुड बी एसेक्सुअल । एन्ड, नथिङ् रङ टु बी एस । नट एट अल !’ उनी आफूलाई परिभाषित गर्दै अझ अगाडि भन्छिन्, ‘हामीले सोसाइटीमा देख्दै आएको सेम सेक्स या अपोजिट सेक्स केवल अट्रक्याक्सन हो । तर एसेक्स त्योभन्दा केही फरक हुन्छ । यसको मनोविज्ञान अलग्गै हुन्छ । आफू एसेक्स हुँ भन्न मलाई सरम लाग्दैन । मेल या फिमेल पार्टनरबेगरै म जिउन सक्छु । विदाउट सेक्स (पृ–२१४) !’

अनुष्काको प्रस्तुतिमा कति स्रोतालाई आश्चर्य लाग्छ । के उनको भनाइ सत्य हुन सक्छ ? धेरैको यही जिज्ञासा छ । कति उनको अभिव्यक्तिमा उपेक्षात्मक हाँसो गर्छन् । तर उनलाई त्यसले केही असर गर्दैन । उनी आफूलाई स्पष्टीकरण दिँदै भन्छिन्, ‘… तर मलाई त्यसप्रति, सेक्सप्रति चाहना थिएन । मनको आकर्षण र यौन चाहना फरक रहेछ । विवाह भएको दुई हप्ताभित्रै आफूमा यौनप्रति रुचि र चाहना नभएको अनुभूति गरिसकेकी थिएँ । नो रोमान्टिक फिल मिन्स नो सेक्स (पृ–२१६) ।’

अघिदेखिको जिज्ञासा कृतिले आखिरीमा गएर अन्त्य गरेको छ । अनुष्का तथा मिसेस शर्माको चरित्रबारे स्पष्ट पारेको छ । केही एसेक्सुअल मान्छेहरूमा अपोजिट सेक्सप्रति अट्रक्याक्सन हुन सक्छ, केही सेक्सुअल डिजायर पनि हुन सक्छ अनुष्काको भनाइ छ, ‘तर नियमित रूपमा सेक्सप्रति रुचि नहुन सक्छ । … केही मान्छेले एसेक्सुअलालिटी एग्जिट नै छैन भन्ने सोच्छन् । तर त्यो सही होइन (पृ–२१६) ।’

शुरूमा अस्वाभाविक लागेको अनुष्काको व्यवहार पछि गएर स्वाभाविक लाग्छ । किनकि पछि त्यस अस्वाभाविकताको कारण खुल्छ । एसेक्सुअल चरित्र कस्तो स्वभावको हुन्छ ? सामान्य पाठकलाई थाहा नहुन सक्छ । लेखकको दृष्टिकोण अनुसार एसेक्सुअल पनि फरक–फरक हुने रहेछ । अर्को ठाउँमा अनुष्का आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘ एसेक्सहरूले बिनासेक्स नै कसैलाई प्रेम गर्छन् । मेरो केसमा केही भिन्न घटना भयो । म्यारिजपछि इमोसनल अट्याचमेन्ट हुँदा रोमान्टिक फिल हुँदैनथ्यो । मेरो प्रेम थियो तर बिनासेक्सको प्रेम उसलाई सह्य भएन (पृ–२१७) ।’

आख्यान अझै केही बाँकी छ । यु.टी. आई. को समस्या भएकी सिसेस शर्मा त्यस दिन अचानक घर छोडेर हिँड्छिन् । त्यसरी उनी कहाँ गइन् ? कसैलाई थाहा हुँदैन । लेखकले किन त्यसरी उनलाई बेपत्ता पारे ? कथानकमा मिसेस शर्मालाई त्यसरी भगाउन आवश्यक लाग्दैन । कृतिमा त्यसको गहन भूमिका देखिँदैन । तर केही दायित्व भने त्यस घटनाले लिएको छ । सन्तानवती भइसकेका आमाहरू पनि पछि गएर अलैङ्गिक चरित्रका हुँदा रहेछन् भन्ने कुरा; यसले देखाउन खाजेको छ । त्यस्तै एसेक्सुअल जीवन बाँचेकी अनुष्कामाथि आक्षेप लगाउन, उनको मानहानि गर्न, अपमान भोगाउन धेरै सहयोग गरेको छ त्यस घटनाले । अनि कुरा दाम्पत्य जीवन भनौँ यौन जीवनमा रुचि नभएपछि मिसेस शर्माको पछिल्लो मानसिक अवस्था देखाउन पनि उनलाई त्यसरी भगाइएको छ । परन्तु त्यो भगाइ उति जरुरी देखिँदैन । रोगले जीर्ण देह तथा प्रौढ उमेरमा आएर यौनप्रतिको वितृष्णा देखाउनु खासै प्रभावकारी लाग्दैन । हुन त उनको उमेर यौनप्रति अनिच्छा राख्ने गरी पूरै ढल्किसकेको पनि छैन । फेरि अर्को कुरा के छ भने मिसेस शर्माको त्यो अरुचि पहिल्यैदेखिको हुन पनि सक्छ । किन्तु यहाँ पछिल्लो समयको दृश्य मात्रै आउँछ ।  एउटा  कठिन जीवन बाँच्दै आएकी, श्रीमान्को अतृप्त कामाग्निले मानसिक तनावमा रहेकी नारी पात्र शर्मा । निश्चय अहिले उनी स्वतन्त्र जीवन बाँच्दैछिन् । आफू खुशीको जीवन बाँच्न पाएकी छन् । कृतिले उनी भागेपछिको पात्रतालाई मञ्चित गरेको छैन । त्यसो हुँदा पाठकले आफैँ यस्तो अनुुमान लगाउँछ ।

समाजले बुझ्दै आएको नरनारीदेखि पृथक चरित्रकी अनुष्का, जसको जीवन हामीलाई कति निरस लाग्छ । अर्थपूर्ण नभएको लाग्छ । तर त्यसो होइन । ती पात्रहरूको जीवन आफैँमा कति सुन्दर छ, जसको वास्तविकता अर्कै छ । परन्तु परम्परादेखि निर्मित विचारले निर्देशित भएका हामीलाई; उनीहरूको बँचाइ शुष्क लाग्नु अस्वाभाविक पनि होइन । तथापि त्यो पनि एउटा भ्रम हो । हामीलाई लाग्छ रतिराग बेगरको जीवन कसरी प्रमोदपूर्ण हुन सक्छ ? जीवनको सार्थकता अनुभव गर्न यौनिकता चाहिन्छ । हामीले जीवनलाई यसरी बुझ्दै आएका छौँ ।

त्यसो त सबैको बुझाइ सबैलाई सत्य कसरी हुन सक्छ ? हरेक मानिसलाई आफ्नो बुझाइ अर्थपूर्ण लाग्छ भने; उसलाई अर्को बुझाइको, अर्को सत्यको आश्वयकता नै किन ? उसलाई अरूको अनुभूति, अरूको जीवन दर्शन सत्य हुनुपर्छ भन्ने छैन ।  जस्तो कि अनुष्कालाई यौनिक जीवन सत्य नलागे जस्तै । उनको जीवन दर्शन यौनिकतामा अडिएको छैन । उनलाई यौनविनाको जीवन नै साँच्चो लाग्छ । सुन्दर लाग्छ । त्यस्तै स्वाभाविक पनि ।

हेर्नु त अनुष्का र हामीबीचको सत्यतामा कति ठूलो अन्तर ! हामी दुवै पक्षलाई आफ्नै सहजता उचित लाग्छ । त्यस्तै आफ्नै आवश्यकता ।  त्यसो हो भने हामीले अरूमाथि प्रश्न गर्ने ठाउँ नै कहाँ रहन्छ ? ‘प्रहेलिका’ले यही कुरा अभिव्यञ्जित गरेको छ । अबको साहित्यले यस्तै उत्खनन नभएको सत्यमा कला भर्नुपर्छ । नवीन दृष्टिको खोजी गर्नुपर्छ । अरूको यथार्थलाई स्वीकार्न सक्नुपर्छ । अरूको अस्तित्वलाई  कदर गर्न जान्नुपर्छ । आफ्नो बाहेक अरूको धारणामा त्रुटि देख्ने; दोषपूर्ण दृष्टि फेर्न सक्नुपर्छ ।

आख्यानकार दाहालले आफ्नो कृतिमा अपरम्परित स्वर भरेका छन्  । कथावस्तु सूक्ष्म भए पनि विषय नवीन छ, यसले व्यक्त गर्न चाहेको अर्थ पृथक छ । अलैङ्गिक (एसेक्सुअल) सन्दर्भ उजागर गर्नु नै कृतिको ध्येय रहेको छ, जसमा मिया र राफिया जस्ता पात्र कथाले माग गरे भन्दा बढी लाग्छ । अन्ततः कृतिको समग्रताले लेखनको नयाँ बाटो रोजेको छ । यस्तो जटिल विषयमा कलम चलाउने स्रष्टा दाहालको प्रयास उल्लेखनीय छ । लेखनको नवपथमा उनको कलम यसरी नै अग्रगामी भइरहोस् । पाठकको हैसियतमा रहेर उनलाई यही शुभकामना छ ।