मुक्तिप्रसाद उपाध्यायकृत उपन्यास ‘पदचिन्ह पहिल्याउँदै’ भर्खरै पढ्ने अवसर प्राप्त भयो । असमको उत्तर शरणीया गुवाहाटीमा जनवरी १, १९५५ मा जन्मिएका मुक्तिप्रसाद उपाध्यायको लेखन शैली गजबको लाग्यो । गुहाटीमा हुर्केर पनि उहाँले नेपाली भाषा र साहित्यलाई अगाध श्रद्धा, प्रेम र सम्मान गरेको दसी प्रमाण हो यो कृति । नेपाली समाजमा बोलिने ठेट भाषा, ग्रामीण बोलीचालीका संवाद यथार्थ पात्र र परिवेशलाई बडो सुन्दर तरिकाले जस्ताको त्यस्तै टपक्क टिपेर उपन्यासमा ल्याएका छन् । कथानक निकै रोचक, ज्ञानवर्धक, कौतुकमय र जीवन्त छ । घटनाहरूलाई नाटकीय तवरले उठान र वैठान गरिएको छ । पाठकहरू मोहित हुन्छन् उपन्यासको यो सुन्दर पर्दामा । चलचित्रको रूपमा उपन्यास आएकोले पाठकहरूलाई बाँधेर राख्न सफल भएका छन् स्रष्टा ।

बहुकृतिका सर्जक उपाध्याय सन् २०१५ को बालसाहित्यको अकादमी पुरस्कारबाट पनि आलोकित भएका छन् । मालती नामक सो कृति मलाई पनि पढ्ने उत्कट वाञ्छा  जागृत भएको छ ।

यस उपन्यासमा नेपालीहरूको जीवन पद्धतिको नालीबेली छ । आफू बसेको भूगोलको चिनारी दिंदै नदी, मन्दिर, शहरको नामकरणको इतिहासदेखि उत्पतिसँग सम्बन्धित पौराणिक कथाहरू आएका छन् । समाज विकासको क्रमिक इतिहास, भौतिक विकासको जानकारी, दोस्रो विश्वयुद्धले सिर्जना गरेको आर्थिक, सामाजिक, राजनीतिक परिवेश । पठन अध्ययनको सिलसिला र संघर्षलाई मिहिन तवरले उपन्यासमा उठाइएको छ । नेपाल छोडेर मुगलानतिर लाग्न विवश नेपालीहरूको कथा, व्यथा, चुनौती र संघर्षलाई बडो चित्रात्मक किसिमले यस उपन्यासमा देखाइएकोछ । नेपालीहरूको घुमन्ते जीवन शैलीलाई कथानकको सुन्दर कलेवरमा ढाल्न सक्नु मुक्तिप्रसाद उपाध्यायको साधनाको प्रतिफल हो ।

चरैवेति ! चरैवेति !

चरैवेतिको नाद गोर्खालीहरूको रगतमा सङ्गीत भएर गुञ्जिएको रहेछ । कर्म गर्न सदैव उत्साहित नेपालीहरूको विवशताको गाथालाई समेटिएको छ । यस उपन्यासमा हाम्रो वास्तविक इतिहास छर्लङ्ग देखिन्छ । गतिशील जीवन नै नेपालीहरूको पहिचान हो । एक ठाउँबाट अर्को ठाउँमा बसाईं सर्नु मानवीय प्रवृति नै रहेछ । हिजोदेखि आजलाई नियाल्दा आफ्नो थातथलो छोडेर हामी निरन्तर बगिरहेका छौँप्राप्तिको लागि । हृदयभरि जन्मथलो र आफ्नो प्यारो गाउँलाई समेटेर कुदेका छौं सुनौलो भाग्य रोप्न । यो अन्धकारको यात्रा सदैव अज्ञातर अनिश्चित भूगोल तिरको छ ।

सम्भावनाको उर्वर भूमि बाँझै छोडेर भौँतारिनु परेको छ आम नेपालीले आज पनि । बहादुरको विशेषण शिरमा सजाएर आँट र हिम्मतको विगुल फुक्दै पुगेका छन् बालुवामा पनि समृद्धि उमार्न । तर मुगलानको हन्डर खाँदै आज पनि सन्तोषको सास फेर्न सकेका छैनन् लाहुरेहरूले । हामी नेपालीहरू परिश्रम र पसिनामा सम्भावनाको मूल फुटाउँछौँ । तर आज पनि चुनौती, चिन्ता र चीत्कारको मैदानमा संघर्षरत छौँ । आफ्नो आँगनमा सन्तोष रशान्तिको आनन्ददायी धून बन्द गरेरलघारेको छ बेथिति, विसङ्गति र विवशताले । सुन्दर, सुरक्षित र समृद्ध भविष्य निर्माण गर्न आखिर कहिलेसम्म नेपालीहरू यसरी नै दगुर्नु पर्ने हो ? मेरो मनमा उपन्यास पढ्दै गर्दा यावत प्रश्नहरू उठिरहे ।

मुख जोर्नका खातिर हिजो हाम्रा पुर्खा मुगलान भासिन्थे । आज पनि परिस्थिति उस्तै छ प्रवृति मात्र फेरिएको हो । ‘पदचिन्ह पहिल्याउँदै’मा पहाडी समाज, यात्रा, बाटो, संस्कृति, धर्म, पुराण, इतिहास, सम्बन्ध र समयलाई १८ वटा शीर्षकमा यहाँ सजाइएको छ ।

शोणितपुरको कथा प्रारम्भमा आएपछि म पाठक निकै उत्साहित भएँ । उषा र अनिरुद्धको रोमाञ्चक कथामा नारीको शक्तिलाई नमन गर्न विवश भएँ । म थानकोट निवासी पाठक शोणितपुरको सौन्दर्यमा एकैछिन कल्पित भएँ । यो शोणितपुर कतै यही थानकोट त होइन ? थानकोटलाई पनि त शोणितपुर भनिन्छ । उषाको प्रेम र निर्णय कति सशक्त छ । चित्रलेखा पात्रले नारीको शक्ति, ज्ञान र क्षमतालाई स्पष्ट देखाएको छ थानकोटको शोणितपुर नभएपनि गुहाटीको इतिहासले मलाई नवीन ज्ञान र ऊर्जा सम्प्रेषित गर्यो । अर्कोतिर ब्रम्हपुत्र नदीको ऐतिहासिक कथाले केहीबेर चिन्तनशील भएँ ।

अनि निकैबेर घोरिएर सोचेँ ‘साहित्यबिना सृष्टिको कथा त बेस्वादिलो हुनेरहेछ । साहित्य त समाजभन्दा जेठो रहेछ । अरूको रूपवती श्रीमतीलाई देख्दा ब्रह्मा जस्ता पात्रको हृदयमा कामवासना जागृत हुनु र आफूलाई नियन्त्रण गर्न नसक्नु कस्तो चरित्रलाई उदाङ्गो पारिएको हो । सोही कथाले आजको विज्ञानको विकसित स्वरूप उही बेला उद्भासित भैसकेको शङ्खघोष गरेको छ ।

क्षमतावान् अमोघा र ऋषि शान्तनुको चेतना कति वैज्ञानिक छ। आजको आधुनिक विज्ञान त आखिर पुरातन नै रहेछ । भुइँमा स्खलित ब्रम्हाको वीर्य पिएर पत्नीलाई गर्भधारण गर भन्ने पतिको चित्रण कस्तो हो ? फेरि त्यो पोखिएको वीर्य टिपेर स्वयम् एउटी स्त्रीले आफ्नो कोख हराभरा पार्न सक्ने सामर्थ्यको कथा पढ्दा अचम्भित भएँ । दाम्पत्य सम्बन्धको सार्थक चरित्र त्यहाँ आएको छ । एक अर्कोको अस्तित्व कति मज्जाले स्वीकारिएको छ । त्रेतायुगको अर्को रेणुका र जमदग्नीको कथाले पुनः म सोचमग्न भएँ । एउटी नारीले कुनै काम्य पुरुषलाई देख्दा कामबासनाले ग्रसित पारेको थाहा पाउने पतिले आफ्नै छोरालाई आमाको शिर छेदन गर्ने आदेश दिएको कथा बडो रोचक र सोचनीय छ । उपन्यासकारले आफ्नो इतिहासलाई सम्मान गर्दै उपन्यासको थालनी गरेको देख्दा स्रष्टाप्रति अनायास सम्मान गर्नपुगें ।

शहरको विकासमा लागेका अग्रजहरूको संघर्षको कथाबाट आरम्भ हुन्छ गोपालको कथा । असमको भूमिमा जन्मिएका गोपाल थापा दाइको पछि लागेर पश्चिम नेपालको पहाडतिर घुम्न जान्छ । यात्रामा प्रकृतिको सुन्दर चित्र आएको छ । असमबाट कोसेलीको रूपमा चियापत्ति भत्रिएको छ नेपालको पहाडी गाउँमा । पहाडमा जाँदा भेटिएका दुई नारी पात्रको स्वतन्त्र आवाजले गोपाल मात्र होइन म पाठक पनि विस्मित भएँ । नारीको आवाज दबाइएको छ भन्ने भाष्यलाई ती पात्रले गलत सावित गरिदिएका छन् । कति निर्भीक, कति निर्बन्ध भएर ती नारी पात्रलाई उपन्यासकारले ल्याएका छन् ।

थापा दाइको ग्रामिण परिवेशको जीवन्त चित्र अक्षरमा सजिलै भेटिन्छ । गाउँघरमा प्रगोग गरिने भाँडा कुडाँदैखि जीवन शैली आएको छ । रत्ना र गीतासँग गोपालको भेट बडो रोमाञ्चक छ । खोलामा गएको प्रसङ्ग । किशोर उमेरको आकर्षणलाई उपन्यासकारले निकै सुन्दर तरिकाले उठान गरेका छन् । गोपाल, रत्ना र गीताको मनमा उठेको प्रेमको तरङ्गले उपन्यासलाई निकै प्रेमिल र रोमाञ्चक पारेको छ । गोपाल पुनः असाम फर्किनु, गीता, कान्छी भाउजू र रत्नाको जीवनमा संकट परिआउनु, राणा शासनको सिङ्गो चरित्रलाई घटनाले देखाएको छ ।

चलचित्रको शैलीमा घटनाहरू एकपछि अर्को घट्दै गएको छ – सत्तामा बसेकाहरूले निरीह नारीमाथि बलात्कार गर्न खोज्नु, बलात्कारको विरुद्धमा रत्ना र गीताले प्रतिकार गर्दा राणाका पुलिसको मृत्यु हुनु, बेहुलीकै लुगामा गीतालाई गिरफ्तार गर्नु, नाम सुनेकै आधारमा गीताहरूलाई पक्रनु, चरम यातना दिनु, थुनाभित्र बलात्कार गर्नु, सत्तामा बसेकाहरूले पीडितहरूलाई नै त्यो किसिमको अमानवीय व्यवहार र ज्यादती गर्नु, पीडा र यातनाको पराकाष्टा नाग्दा बिद्रोहमा नारीहरूले नै पुलिसहरूको सामूहिक हत्या गर्नु, उता गोपालको लक्ष्मीसँग बिहे हुनु तर हृदयमा गीता र रत्नालाई सजाएर राख्नु, पुनः गाउँ आउँदा गोपालले गीताको अवस्था थाहा पाउनु, अन्यायको विरुद्धमा आवाज उठाउन ग्रामबासीलाई अभिप्रेरित गर्नु, गीतालाई लिएर आउँदै गर्दा राणाको पुलिसले पत्ता लगाएर झडप हुनु अनि अकल्पनीय तवरले गीताको हत्या हुनुका साथै पुलिस भीरबाट लड्नु, रत्ना पनि लुकीलुकी पछि लागेर असममै आउनु ।

बाहुनको घरमा भोटिनी रत्नालाई हार्दिकताका साथ भित्र्याएको प्रसङ्ग निकै सोचनीय छ, मननीय छ । गोपाल, लक्ष्मी र रत्नाको गृहस्थी आनन्दपूर्ण बितेको र एक सय एक वर्षको गोपाल र  ९९ सय वर्षकी रत्नाले सम्पूर्ण जीवनको आनन्द भोगेर नाती नातिनाहरू देश देशावरभरि फैलिएको कथालाई सरल, सरस र सुबोध्य तरिकाले मुक्तिप्रसाद उपाध्यायले उपन्यासको बिट मारेका छन् ।

उपन्यास पढ्दै गर्दा मैले पनि आफ्नै पुर्खाको पदचिन्ह पहिल्याउँदै मुक्तिप्रसाद उपाध्यायसँ गसँगै अछामतिर लागेँ मेरै हजुरबालाई खोज्न । गोपालका पिता श्रीकृष्णको रूपमा त मैले मैरे हजुरबालाई पो देख्दै गएँ । काटीकुटी उही आनीबानी, उही सेवाभाव । सानैमा सुन्दै आएकी थिएँ, ‘तेरा हजुरबा राणाको अत्याचार खप्न नसकेर, स्वाभिमान गुमाउन नसकेर मुगलान पसेका हुन् । कसैले त भनेपनि हामीले आछाममा भेटेरै आएका हौँ तेरा हजुरबालाई । तेरा हजुरबा नचिन्ने रूप धारण गरेर आछाममा अर्को घरजम गरेर आन्नदले बसेका छन् रे ।’ कहिले नभेटिएका हजुरबालाई कल्पनामा भेटेर रमाउँदै मैले उपन्यासको अक्षर अक्षरमा हजुरबालाई नै समेट्न खोजेँ । मलाई पनि मेरै पदचिन्हले बोलाइरह्यो । मेरा हजुरबा पनि राणा शासनको दमन सहन गर्न नसकेर सांसारिक जीवन त्यागेर बेपत्ता भएका थिए ।

उपन्यासको भूगोलमा आछाम र पश्चिम नेपालको पहाड मुजुङको बागेडाँडाको वरिपरि कथा र पात्रहरू हिँडेको देख्दा मेरो मनमा अन्तिम सम्म आशा पलाइरह्यो । कथामा राणाकालको समय आएको छ । त्यो कालो दिनमा नारीहरू माथि शासकहरूले गरेको त्यो घृणित कार्य के आज समाप्त भएको छ ? हामी कुन समयमा छौँ ? गीताहरूले के आज न्याय पाएका छन् ? आजका गीताहरूको अवस्था त्यो समयको भन्दा पनि अझ जटिल छ ।

बलात्कारको केसमा आज पनि किन मौन छ समाज ? कमजोर ठानिएका नारीहरूबाट कान्छी भाउजूमाथि घोप्टिएका राणा शासकहरूका भरौटेहरूलाई कुटेर मारेका छन् । यो कस्तो विद्रोहको संकेत हो ? के आज रत्ना र गीताहरू यो देशमा छैनन् ? गोपाल र थापा दाइ जस्ता पात्र छैनन् ? यो कथाले हामीलाई के भन्न खोज्दै छ ? त्यो कालो युगमा पनि नारी अस्मितामाथि उठेको निरङ्कुश सत्तालाई प्रतिकार गरिएको छ । सत्यको पक्षमा जब बोल्नु पर्ने हुन्छ तब आवाजविहीनहरूको पनि आवाज फुट्छ तर आजको समाजमा सत्यमाथि बोल्नु पर्दा आवाज भएकाहरू पनि वाक्यहार हुँदैछन् । अत्याचारले सीमा नाघेपछि विद्रोह त जसरी पनि उठ्दो रहेछ । के हामी अत्याचारको सीमा कुरेर मात्र बसिरहने ?

बडो गम्भीर छ अवस्था । स्रष्टाले यहाँ नारी पात्रहरूलाई नाटकीय तरिकाले बडो हिम्मतिलो बनाएर पक्कै पनि हामीलाई गहिरो सन्देश दिँदैछन् ! मलाई यस्तो लाग्यो हिंसा, हत्या, बलात्कार, अन्याय, अत्याचारको शृङ्खलालाई हामी सचेत मानिसले कसरी लिने कसरी यस्ता घटनाहरूलाई निराकरण गर्ने ? हामी त राणा शासनको त्यो कालो समयभन्दा पनि अझ निकै अन्धकारमा छौँ कि भन्ने लागेर मननै अत्तासियो ।

राणाकाल के साँच्चै सक्किएको हो ? कि मस्तिष्कमा अझ पनि त्यो कालो युग जीवित छ ? बडो दुःखको साथ भन्नु परेको छ आजका निर्मलाहरूको आवाज पनि बन्द गरिएको अवस्थामा हामी छौँ । गीताहरूको प्रतिकारले यस्तो चित्र प्रस्तुत गरेको छ साँच्चै नारीले कुन हदसम्म सहने ?

उपन्यासको अन्तिम भागमा पुग्दा मलाई यस्तो लाग्यो – ‘यो अन्तिम भाग चाहिँ सुरुमा भएर गोपाल र रत्नाले सम्पूर्ण घटनाक्रमलाई सम्झिएर स्मृतिरमण बाट प्रस्तुत गरिएको भए अझ उपन्यास सुन्दर हुनेथियो ।’

अनिता कोइराला