
सम्झिन्छु धेरै समय भएछ मन विचलित गर्ने पुस्तक नपढेको । डा. गोविन्दराज भट्टराईकृत ‘नयाँ मुगलान’ले उदास पारेपछि लाग्यो बरु नपढेको भए हुने थियो । भट्टराईका पात्रले किन कहिल्यै सुखको जीवन भोग्दैनन् ? कष्ट नै तिनीहरूले किन भोग्नुपर्छ ? के जीवनमा अवसाद मात्रै छ ? रात मात्रै किन परिरहन्छ ? दिवा किन उदाउने गर्दैन ? आखिर अमावस्या भोगे पनि सङ्घर्ष त उज्यालोकै निम्ति थियो नि ! तर नभएजस्तो किन हुन्छ ? किन सफल हुँदैन त्यो सङ्घर्ष ?
हुन त आजका लेखकहरू स्वयं अशान्त छन्, अन्योलमा छन् । अनिर्णयको अवस्थामा छन् । देशमा अमनचयन छैन । सुनिश्चितता छैन । राज्यव्यवस्थाको किञ्चित भरोसा छैन । तब भविष्य डगमगाइरहन्छ । अनि तिनका पात्रहरूले कसरी सहज जीवन भोग्न सक्छन् ? यही बुझेर भट्टराईले आफ्नो कृतिलाई डिस्टोपिअन् आख्यान भनी घोषणा गरेका छन् । आमुखमै उनी भन्छन्, ‘… डिस्टोपियामा मानव जीवनका परिस्थितिहरू अत्यन्तै दुष्कर हुन्छन्— अभावले, वञ्चनाले, गरीबीले, आतङ्कले, विभेदले र खास गरी विज्ञानको अति दोषले, साथै सरकारको अति शोषणले (पृ–६) ।’
लागेको थियो अब त्यस्तो कुनै मुगलान लेखिने छैन । देशको सिमाना काटेर जाने, बाटो खन्ने, कोइला खानीमा पस्ने, कुल्ली काम गर्ने परिस्थिति आउने छैन । बेचिनु पर्नेछैन— शोषणमा, दमनमा, हिंसामा लपेटिनु अब पर्नेछैन । तर कहाँ हुनु मुगलानको अन्त्य कहीँ रहेनछ । बरु नवीन संस्करण भएर आएछ— नयाँ युगको मुगलान । झन् डरलाग्दो गरी जटिल भएछ । भयावह रूप लिएछ । आधुनिक हुँदै उत्तरआधुनिक युगका सुतार कान्छाहरू— अझ उनीहरूका सन्तानहरू—झन् गहिरो भासमा डुब्दै रहेछन् ।
पहिलेको निरन्तरतामा रचिएको दोस्रो मुगलान अर्थात् ‘नयाँ मुगालन’ले डिस्टोपिअन् आख्यानमा—निश्चय एउटा माइलस्टोन कायम गर्नेछ । थाहा छैन भोलिको दिनमा अझ कस्तो डिस्टोपिअन् नोबेल लेखिँदै जानेछ । शुरुको मुगलान लेख्दा भट्टराईलाई थाहा थिएन— म फेरि अर्को मुगालन लेख्नेछु भन्ने । फेरि पनि उनलाई थाहा छैन आउँदा दिनमा उनले कस्तो लेख्नु पर्नेछ ।
‘नयाँ मुगलान’ यो कुनै काल्पनिकता होइन । तर काल्पनिकजस्तो लाग्ने नेपाली जीवन कति अवसादयुक्त —विषादमय हुँदै गइरहेको छ । शुरुका मुगलानी पात्रलाई प्रेम केहो—केही थाहा थिएन । उनीहरूले प्यारको विरह भोग्नु परेको थिएन, कसैको प्रतीक्षा गर्नु परेको थिएन । अहँ बिछोड सहनु परेको थिएन । जेहोस उनीहरूले मानसिक विचलन खेप्नु परेन । त्यस हिसाबले बरु तिनको जीवन केही सरल लाग्छ । कम्तीमा मानसिक प्रताडना भोग्नु परेन । उनीहरूको सङ्घर्ष केवल बाँच्नको लागि थियो, जीविकाको लागि थियो । त्यसभन्दा ठूलो लक्ष्य उनीहरूको थिएन ।
पछिल्लो समयका पात्रलाई अब बाँचेर मात्रै पुगेको छैन । अस्तित्व चेत ठूलो कुरा छ । शिक्षा छ, जागिर छ, आधुनिक जीवनपद्धति छ, प्रतिस्पर्धाको सङ्ग्राम छ— सँगै विकृति, विसङ्गतिको मार छ । अनिश्चितता र अन्योलताको भुमरी छ । शुष्कताको पहाड छ । यति हुँदाहुँदै पनि प्रथम मुगलानमा— पाठकलाई रुवाउन सक्ने जुन संवेदना र करुणा थियो— पछिल्लोमा भने त्यस्तो छैन । किन छैन भने ती पात्रहरू आफैँमा सचेत छन् । तिनीहरूको जीवनबारे पाठकले केही सोच्नु परेको छैन । स्वयं आफैँ सोच्न सक्ने जिम्मेवारपूर्ण छन् । आफ्नो निर्णयको जवाफदेही आफैँ हुनुपर्दा— तिनीहरू पाठकलाई रुवाउने गरी करुण हुन सकेका छैनन् । बरु भित्रभित्रै जलेका छन् । मरिचजस्तै भएर आफैँमा चाउरिएको स्थितिमा छन् । आधुनिक जीवन बाँचेका तिनीहरूको निरीहतामा सहानुभूति राख्नुभन्दा पनि बरु केही सोच्न बाध्य छ पाठक ।
यसरी ‘नयाँ मुगलान’ले पाठकलाई चिन्तनको अवस्थामा पुर्याएको हुँदा रुने रुवाउने तत्त्व पार्श्वमा परेको छ । बरु क्रोध उठ्छ गैर–जिम्मेवार सरकारप्रति । यतिखेर म अनुभव गर्दैछु— जहाँ बुद्धिले सोच्नु पर्ने अवस्था आउँछ त्यतिखेर सद्भाव, सहानुभूतिजस्ता कुरा ओझेल पर्दा रहेछन् । पहिलेका सुतार कान्छाहरू अनाथ थिए, प्रत्यक्ष ठगिएका थिए, दैहिक हिंसामा थिए, एक छाकको लागि दिनरात भुटानको जङ्गलभित्र सङ्घर्षरत थिए, असक्त हुँदा पनि काम गर्न बाध्य थिए । उनीहरूको यस्तै उस्तै कठिन विवशताले पाठक द्रवीभूत हुन्छन् । पछिल्लोमा यस्तो द्रवीभूत पार्ने घटना घट्दैन । बरु त्यसको ठाउँमा भर्त्सनापूर्ण राज्यव्यवस्था विरुद्ध आक्रोश उत्पन्न हुन्छ ।
पहिलेका पात्रहरू निकै दीनहीन थिए । उनीहरूले देशको भन्दा पनि आफ्नै जीवनको प्रतिनिधित्व गरेका थिए । सीमित थियो उनीहरूको जगत् । यता पछिल्लो मुगलानले वैशिवमक रूप लिएको छ । विश्वग्रामीकरणको प्रभावले जीवन दुर्बोध्य बनेको छ । यसमा पात्रको मात्र होइन देशकै दयनीय स्थितिको सग्लो दृश्य छ । ‘म यो देशको नागरिक हुँ’ भन्ने प्रत्याभूति दिन नसक्ने—मुलुकको दुरूह अवस्था डरलाग्दो छ । जुन सङ्गिनभन्दा तीक्ष्ण छ । मुटुमाथिको बज्र जतिकै जटिल छ ।
एउटा सिङ्गो विद्यमानता दृश्याङ्कन गरिएको कृति—जसमा अनिश्चितताको चक्रवात उठाई पात्र त्यस भुमरीमा विलुप्त भएका छन् । त्रासदी र वियोग सँगसँगै वैशिवमकताको प्रभावले—तिनीहरूको गन्तव्य अज्ञात बनाइदिएको छ । कहाँ जाने हो ? कहाँ पुगिने हो थाहा छैन । तर कहीँ पुग्न हिँड्नु छ । त्यसरी हिँड्ने क्रममा—उज्ज्वलताको आकाङ्क्षा राखेर मुगलानिएका पात्र—घर फर्किने इच्छा राख्दाराख्दै जीवन उतै बिसाउँछन् अर्थात् निष्प्राण हुन्छन् । युक्रेन तथा रसियाजस्ता रणमैदानमा अवसर देखेका चरित्र— मृत्युको शरण परी पात्रत्वबाट मुक्त हुन्छन् । उनीहरूको सपना कति अभिशप्त छ । सपना देखेर उनीहरूले ठूलो भूल गरेका छन् ।
आजको नेपाली कति धेरै विडम्बनामा—बाँच्नु परेको छ । रङ्ग्याउन खोज्दाखोज्दै रङ्ग उडेको जीवन अतिशयोक्ति भएको छ अर्थात् काल्पनिकजस्तो यथार्थ भोग्नु परेको छ । लेखकको शब्द सापटी लिएर भन्नुपर्दा देश नरलोकमा परिणत भएको छ । सरकार देश रित्याउने अभियानमा छ । अनि निर्विरोध शासन गर्ने योजनामा छ । भट्टराईले त्यही योजनालाई आख्यानीकरण गरेका छन् । त्यस्तै उनले सामाजिक, आर्थिक, राजनैतिक तथा सांस्कृतिक पक्षको समग्रतामा देशको दयनीय अवस्था बोलेका छन् ।
म अहिले ‘नयाँ मुगलान’को कथावस्तु सुनाउने पक्षमा छैन । तर प्रसङ्गमा केही घटना भने आइरहने छ । कथानक पान्थरको एउटा गाउँबाट शुरु भएर मधेस झर्छ—झापा पुग्छ । त्यहाँबाट पनि टाढा रसिया पुग्छ—शब्द मार्फत परन्तु दृश्यमा त्यहाँ घटना घट्दैन ।
गाउँ आधुनिकताको खास्टो ओडेर स्वरूप फेर्दैछ, रित्तिँदैछ, बदलिँदैछ । सिमलडाँडा फेरिएर सेल्फीचोक भएको छ । यसरी गाउँ प्राचीनता र आधुनिकताको सङ्घारमा छ । वास्तवमा नेपालीको जीवनपद्धति बदलिए पनि—सन्तोषको, सुखको जीवन खै हुन सकेको ? बरु विकलता बढ्दै गएको छ । चिया दोकानकी पातली अब लिली भएकी छ । उसको नाम फेरिए पनि भाग्य फेरिन सकेको छैन । बरु बिग्रिन खोज्दैछ ।
कस्तो विरोधाभासमा छ नेपालीको जीवन ! आजका हामी विश्वसँग प्रतिस्पर्धा गर्न दौडधुपमा छौँ । परन्तु प्रतिस्पर्धा गर्न नसक्दाको निरीहताले क्लान्त छौँ । निर्धन भए पनि अरूको जस्तै, सम्पन्नशालीको जस्तै जीवन बाँच्नु परेको छ । आफ्नो उत्पादनलाई त्यज्य ठानी—बहुराष्ट्रिय कम्पनीको उत्पादनको—उपभोक्ता हुनु परेको छ । त्यसो हुँदा मात्रै हामी आधुनिक ठहरिन सक्छौँ । लिलीले भन्छे, ‘अब्बुई, दाउरा कल्ले पोल्छ र ऐलेको जमानामा ? उः त्यो खोलापारिको गाउँमा पनि ग्याँसै लान्छन् । गाईबस्तु भए खोले पकाउन र घाटमा मान्छे पोल्न, दुई कामको लागि मात्रै दाउरा … (पृ–१३) ।’
गाउँ शहरजस्तै परनिर्भरतामा रमाउन थालेको छ । दूध, दही पाइन छोडेको छ । शरीर पोस्याउन कोक, फेन्टा, रेडबुल पाइन थालेको छ । बहुराष्ट्रिय कम्पनीले यसरी गाउँको उत्पादनलाई मूल्यहीन गराइदिएको छ । गाउँको अस्तित्व मेटाइदिएको छ । धनी र गरीबबीचको दूरी बढाइदिएको छ । आफ्नो उत्पादनमा जीविका चलाउनेलाई—उपहास गर्ने दृष्टि निर्माण गरिदिएको छ । स्वनिर्भर हुनबाट वञ्चित गर्दैछ । यस्तो परिस्थितिले हामीमाथि मार थप्दै गएको छ । निरीह बनाउँदै लगेको छ ।
हेर्नु त हामी कस्तो जीवन बाँच्दैछौँ ? घरगाउँमा पानीका स्रोत त्यसै खेर गएका छन्—खोलानाला , झरना त्यसै बगिरहेका छन् । हामी चाहिँ मिनरल वाटरले प्यास मेटाउँदैछौँ । हाम्रो तिर्खा व्यापारीले किन्दैछ । थोरै आयस्रोत भएका नेपालीको आम्दानी यसरी अनावश्यक ठाउँमा खर्च हुन थालेको छ । थाहै नपाई हामी ऋणमा बाँच्न थालेका छौँ । आयस्रोत खुम्चिँदैछ, खर्च थेग्न नसक्ने गरी बढ्दैछ । बहुराष्ट्रिय कम्पनीले गरीब मुलुकमाथि आफ्नो व्यापार बढाउन— स्थानीयता सिध्याउँदैछ । पराश्रित बनाउँदैछ । यस्तो कुटनैतिक चाल हामीले बुझेकै छैनौँ । भट्टराईले प्रतीकात्मक रूपमा त्यस चाललाई इङ्गित गरेका छन् । उनको कृतिमा गाउँ र शहरको जीवन एक्कै ठाउँमा मिसिन खोज्दैछ र फेरि आपसमा भिन्न पनि हुँदैछ ।
जेहोस् गाउँ अचेल बेग्लै भएको छ । अस्तित्वबाट टाढिँदैछ । ‘नयाँ मुगलान’को गाउँ उदासिँदै गएको छ । लेखकले यसमा अघिल्लो उपन्यासको चरित्रलाई पुनः पात्रत्व दिएका छन् । लागेको थियो सुतार कान्छा अब छैनन् होला । उनको जीवन सकियो मैले ठान्दै भन्दै थिएँ—उनी त अझै जीवित रहेछन् । पहिलो मुगलानमा प्रायः सबै चरित्र अस्तित्वबाट टुङ्गिसकेका छन् । सुतार भाग्यमानी रहेछन् । उनले बीचैमा पात्रत्वबाट हट्नु परेन । आपत् नै सही विपद् नै सही । कम्तीमा लेखकले उनलाई बचाइराखे । तर अहिले आएर त्यस्तो लाग्दैन । उनले यति लामो आयु किन पाए ? यसरी उनी बाँच्न पाउनुको रहस्य के रहेछ भनेर जान्दा—सुतार बडो अभागी मान्छे रहेछन् थाहा हुन्छ । उनले अझै मृत्युजस्तो कठिन परिस्थिति भोग्न बाँकी नै रहेछ । अकथित नियति भोग्न उनी बाँच्दै रहेछन् । कोभिडको महामारीमा उनले विधुर हुनुपर्यो । बूढेसकालमा पुत्रशोक खप्नुपर्यो । उनी यतिखेर विक्षिप्त छन् । दुरूह परिस्थितिले उनलाई सद्दे हुन दिँदैन । आखिरीमा हिंस्रक जन्तुको आक्रमणमा उनी मर्छन् । घरैमा आएर कफिनमा सुतिरहेका उनलाई चितुवाले निष्प्राण बनाइदिन्छ । उफ् कति निस्सार जीवन !
हुन त सुतार एक प्रतिनिधि चरित्र हुन् । शब्दान्तरमा हामी सबै नेपाली नागरिक सुतार हौँ । हामीले सुतारको जीवन बाँच्नु परेको छ । सुतारको अघिल्लो र पछिल्लो दुवै जीवन बाँच्नु परेको छ । त्यसो हुँदा दोस्रो मुगलान—शुरुको मुगालनजस्तो सहज छैन । यसलाई नेपालको दुर्बोध्य परिस्थितिले मात्र होइन—विश्वकै परिस्थितिले असर पारेको छ । एउटा निर्धन मुलुकको नागरिक वैश्विक द्वन्द्वमा स्वाहा भएको छ । उसलाई वैश्विक राजनीतिको बतास लागेको छ । आख्यानकी प्रमुख पात्र कोपिलालाई त्यसले अनिष्ट गरेको छ । उसको लोग्ने अशेष कार्की गोलाबारुदमा परेको छ । कम्पनीले पठाएको मृत्यु सन्देशमा यस्तो लेखिएको छ, ‘… विगत १२ वर्षदेखि हाम्रो साउदी अरबियन ओइल कम्पनीमा काम गर्दागर्दै सिनियर फोरम्यान पोस्टमा पुग्नुभएकोमा यही अप्रिल २३ तारिकका दिन भएको देशमाथिको भीषण हवाई आक्रमणको क्रममा शत्रुको बमबारीमा परी अन्य दुई हजार निर्दोष कामदार र नागरिकसँगै उहाँको निधन रियाध न्याशनल हस्पिटलमा देहान्त हुन गयो –पृ–१९) ।’
गाउँमा शोक मनाउने कोही छैन । गाउँ निष्प्राण भइसकेको छ । निर्जनता सुसाइरहेको छ । एकोहोरो सन्नाटा छ्या कति दिक्क लाग्दो छ ! मलामी जाने पनि कोही छैन । युवा कोही छैन । तिनीहरू शहरको आकर्षणमा, विदेशको सम्मोहनमा घर छोड्दै हिँडेका छन् । जति छन् ती प्रायः असहाय वृद्ध, वृद्धा छन् । गाउँ बस्ती मात्र होइन सिङ्गो मुलुक वृद्धाश्रम हुँदैछ । भट्टराईको मुगलानमा देशको भविष्य एकदम खतरापूर्ण छ । त्यसो त उनले कुनै काल्पनिकता रचेका होइनन् । अवस्था यस्तै छ । सार्वभौम सत्य दृश्याङ्कन गरिएको छ । बडो उराठ लाग्छ देश कस्तो स्थितिमा छ त्यो सबै यसमा छ । जसले पढ्दा पनि कथा आफ्नै लाग्छ । पाठकले आफ्नै विवशता देख्छ र आफ्नै कठिनता अनुभूत गर्छ । आफ्नै मृत्यु र शोक पनि देख्छ ।
वास्तविक हुँदाहुँदै पनि अवास्तविक लाग्ने—कस्तो परिस्थितिमा छ नेपाली ? कस्तो मर्ममा बाँचेको छ नेपाली ? यसो गर्दा पनि हुँदैन त्यसो गर्दा पनि हुँदैन । सम्भावनाको कहीँ छनोट छैन । अन्ततः जीवन खोज्न देश नछोडी हुँदैन । भट्टराईको मुगलानमा सबै कुरा यस्तै दिग्दार लाग्ने छन् । यस्तै दिग्दारले आफूलाई शान्त हुन नदिएपछि लेखकले पुनः ‘नयाँ मुगलान’ रच्नु परेको छ ।
छोराको कफिनप्रति सुतारको मोहलाई के भनेर बुझ्ने हो ? राष्ट्रलाई यस घटनाले कति ठूलो व्यङ्ग्य गरेको छ । कति धेरै अर्थ छ यस कफिनमा— जसलाई सुतारले जलाउन दिँदैनन् । ‘यस बाक्सालाई म छोराको सम्झनाका लागि घरैमा राख्नेछु’ उनी भन्छन्, ‘यो पोल्नुहुन्न, हुँदैहुन्न । मेरो छोरो अन्तिम समयमा बसेको पवित्र बाक्सा चन्दनको जस्तो छ । … अब उसकी आमा पनि छैन । मैले के हरेर मन बुझाउनु (पृ–२३) ?’
हेर्नु त कति विरक्त लाग्ने परिस्थितिमा छौँ हामी ! छोरो साथमै रहेको भ्रान्ति लिएर सुतार त्यही कफिनमा सुत्न थाल्छन् । स्वयं मुलुक कफिनमा सुतिरहेको छ—मुर्दा बनेर । उपन्यासले देशको सम्पूर्ण मनोविज्ञान र समाजविज्ञानलाई उतारेको छ । विकृति, विसङ्गति तथा बेथितिलाई कति सहज प्रस्तुतिमा छर्लङ्ग पारेको छ ।
समाज यस्तो हुँदै जाने हो भने भोलि कस्तो होला ? सम्भावित भविष्य देख्दा बडो आतेस लागेर आउँछ । नेपालीले वास्तविक जीवन कहिलेदेखि—बाँच्न शुरु गर्ने हो ? देखासिकीमा कहिलेसम्म बाँचिरहने हो ? साँच्चै भन्ने हो भने प्राणतत्व गुमाएर हामी मुर्दा जीवन बाँचिरहेका छौँ । त्यसैले त हामी आवरणमा रमाएका छौँ—भित्र जस्तोसुकै होस् । अलोनिया फुपूको बिहेमा हेर्नु त कति धेरै तमासाहरू छन् । भित्र गुदी केही नभएपछि बोक्राले हामीलाई कतिन्जेल अड्याउला ? यस्तै हो भने भोलिको सम्भावित भविष्य आउनु अगावै—हामी अस्तित्वबाट विलीन भइसक्ने छौँ । त्यसो नहुनकै लागि पनि हामी सचेत हुनुपर्छ ।
प्रतिदिन नेपाली जीवनको मूल्य घट्दै गएको छ । वस्तुकरण हुनुको विडम्बना कति दुःख लाग्दो छ । छोराको मृत्युमा कम्पनीले पठाएको रकम लिन—काइँला बरालका लोग्ने स्वास्नी काठमाडौँ गएका छन् । छोराको मृत्युमा बधाई र शोक दुवै ग्रहण गर्नुपर्ने—कस्तो दुरवस्था भोग्दैछ नेपाली ! पैसामा साँटिनु परेको जीवनलाई खै के भनेर सम्बोधन गरूँ ? निर्धनताकै कारण—उसले निरीहतामा बाँच्नु परेको छ । हामीलाई सबैभन्दा महङ्खवको विषय पैसा भएको छ र त गाउँलेहरू भन्छन्, ‘एकश्चन्द्रस्तमो हन्ति न च तारागणैरपि अर्थात् एउटै चन्द्रमाले सारा अन्धकार नाश गर्छ तर लाखौँ तारागणले सक्तैनन् । तपाईंका चार भाइ छोरा र सातोडी छोरी भएर के गर्नु एकै छोराले बलिदान भएर तेत्रो कमायो । छोरो मरेकोमा धेरै शोक नगर्नोस् आखिर सबैको चोला मरणशील छ, हामी को पो रहन्छौँ र (पृ–३२) ?’
ल … हेर्नु त हाम्रो संवेदना कसरी मर्दै गएको छ । सन्तानको मृत्युमा शोकभन्दा बरु उत्सव नै ज्यादा हुन लागेको छ । मृतकको नाउँमा आएको बजेटले सौखिन हुन लागेको छ बाँकी परिवार । अभावमा, विवशतामा नेपालीले अनौठो जीवन बाँच्दैछ । हामी एलियनजस्तै हुन लागेका छौँ । यति हुँदाहुँदै पनि जेहोस् हामी प्रविधि मैत्री छौँ । प्रविधिसँग खेल्ने भएका छौँ । गाई गोरु समेत अनलाइनमा सुक्री बिक्री गर्न जान्ने भएका छौँ ।
आजका हामीले आफू कम र अरू बढी भएर बाँच्नु परेको छ । समृद्धशाली मुलुकको औपनिवेशिक नीतिले हामीलाई थला पार्ने गरी घुँडा टेकाउँदैछ । गरीब मुलकका नागरिकलाई आफैँप्रति लघुताभास गराउने रणनीति विष जसरी फैलाएको छ । त्यसैले हामीलाई आफ्नो पहिचानप्रति रुचि घटेको छ । जतिसक्दो हामी अरू जस्तो हुनु परेको छ । शक्तिशाली राष्ट्रहरूले भाषिक, धार्मिक तथा सांस्कृतिक माध्यबाट तेस्रो मुलुकलाई अधीनस्थ गर्दैछन् । आफ्नो अधीनमा राख्ने प्रपञ्च रच्दैछन् । परन्तु हामीलाई पराईको यस्तो कुटनैतिक अभियान थाहै छैन । ‘नयाँ मुगलान’मा नेपालीत्व हराउँदै गएको जीवन देखाउनु पनि एउटा ध्येय रहेको छ । बुद्धरत्न फेरिएर ‘डिस्टप’ भएको छ । धनकुमारी ‘अलोनिया’ भएकी छ । एन्जेला, नोरा, ज्याक्सन अरू पनि यसरी फेरिएका छन् । परन्तु नाम फेरि पनि हाम्रो चेतना उस्तै छ । उठ्न सकेको छैन । हाम्रो दैनिकी प्रत्येक दिन कठिन हुँदैछ, जीवनस्तर उकासिन सकेको छैन । यद्यपि हामी महङ्गो जीवन बाँच्न अभ्यस्त हुँदैछौँ । अनि कसरी जीवनको तालमेल सही हुन सक्छ ? अनि कसरी मान्छे जीवनसँग कृतज्ञ हुन सक्छ ? उसलाई बरु जीवन बोझ हुन थाल्छ । वास्तविकता भुलेर मानिसले पीडादायी अवस्था छनोट गरेको छ । अरूको लागि बाँच्दाबाच्दै आफ्नो लागि बाँच्न भुलेको छ । आफ्नै गाउँठाउँमा हामी पराईजस्तै हुन लागेका छौँ ।
वर्तमान नेपाली जनजीवन हावा–हुन्डरीमा फसेको छ । ‘नयाँ मुगलान’ यही हावा–हुन्डरीको कथा हो । लेखकले बेला बेला पात्र, घटना र परिवेशको दुर्बोध्यता व्यक्त गर्न—कविताको मद्दत लिएका छन् । आख्यानको भाषामा गीत कविता मिसाउनु पनि प्रयोगको एउटा शैली हो । प्रस्तुत कृति अघिल्लोको निरन्तरता भए पनि—यसमा डायास्पोरिक जीवनको चित्रण भने छैन । बरु डरलाग्दो गरी डायास्पोरिक युग विस्तार हुँदै गएको र त्यसले पारेको प्रभावलाई यहाँ देखाइएको छ । देश छोड्ने संस्कार बन्दै गएको छ । विद्यमान अवस्थालाई हेर्दा नेपाली हुनु नै एउटा अभिशापझैँ लाग्न थालेको छ । काल पर्खिएर बस्नु नै बाँच्नुको अभिप्राय हुन लागेकोछ । बीभत्स स्थितिमा जीवन बचाउने अभिनय गर्नु परेकोछ । नागरिकको यस्तो दयनीय अवस्थामा पनि सहानुभूति दर्शाउन नसक्ने सरकार खै कहाँ छ ?
यतिखेर नेपाली जीवन भ्रान्ति नै भ्रान्तिमा छ ।
हामीले उसको मृत्युमा शोक मनाउनु पर्ने होइन ? सन्तप्त हुनुपर्ने होइन ? परन्तु यहाँ उसको मृत्युमा कोही दुःखी हुँदैन । बरु खुशी हुनु परेकोछ । ‘विचरा दुःखबाट मुक्त भयो’ यसरी बुझ्नु परेको छ । हेर्नु त नेपाली कुन अवस्थामा छ ! विस्मृतिको सिकार भएका सुतार । विचेतमै भन्छन् ‘ठूलो र अन्तिम मुगलान त सोर्गे नै हो । अब त्यहीँ जाने रहर छ ।’ बेसुरमै डरलाग्दो दर्शन बोल्न पुग्छन् वृद्ध पात्र । बाँच्नभन्दा मर्न पाए जीवन सार्थक हुन्थ्यो भन्नु पर्ने यो कस्तो विडम्बना हो ?
उफ् ! कति वैराग लाग्ने कुरा ! सुतारको किरिया बस्ने समेत कोही छैन । इष्टमित्र आफन्त कोही छैन—भएका पनि टाढा छन् । सुतारको वंश नै टुङ्गिएको छ । उपन्यासमा पाठकको सहानुभूति अब बुहारीमा खनिएको छ । ससुराको मृत्युमा एक थोपा आँसु कसैको झर्दैन । विचरा कोपिला ! उसको संसार ध्वस्त भइसकेको छ । मन अड्याउने ठाउँ कहीँ छैन । घरमा कोही छैन, गाउँमा कोही छैन, नजिक कोही छैन । अक्करे भीरको ऊ एक्लो रुख भएकी छ । एक्लै सुसाएकी छ । उसले अब केही सोच्नुपर्छ, अर्को बाटो लिनुपर्छ । तर कुन बाटो ? पाठक बडो अन्योलमा छ । अब के हुन्छ ?
यस्तैमा एकदिन घरमा आगो झोसेर ऊ अर्कै बाटो मोड्छे, मधेस झर्छे । यसरी घरमा आगो लगाउनु यो एउटा घटना मात्र होइन । थातथलोमा डढेलै लगाउनु पर्ने यो कस्तो विवशता ? कोपिलाले घर जलाउनुमा—यहाँ उसको कमजोरीको कुनै अभिप्राय आउँदैन । बरु घरगाउँमा, देशमा बस्ने स्थिति नहुनुको प्रतीकात्मक अर्थ अभिव्यञ्जित भएको छ । विषम परिस्थितिमा जीवन बाँच्ने आधार नभएको सन्देश सिर्जिएको छ । मुलुकको नालायक व्यवस्थाप्रतिको विरोध देखिएको छ । साहसिक विद्रोह बनेकोछ । त्यस्तै सम्भावनाको खोजी रहेकोछ ।
‘नयाँ मुगलान’ जस्तो डिस्टोपिअन् आख्यान लेखिनुको मूल कारण खोज्दै जाँदा—स्वयं सरकार जवाफदेही हुनुपर्ने देखिन्छ । स्वयं राज्यव्यवस्था दोषी ठहरिन्छ । तासको भट्टीमा मुलुकलाई दाउमा राख्ने सरकार तँ कहाँ छस् ? तँ कहीँ अस्तित्वमा छस् भने एकचोटि कफिनमा फर्केको अशेषलाई पढ्, सुतारको बीभत्स मृत्युलाई पढ्, घरमा आगो झोस्ने कोपिलालाई पढ् । तंैले यिनै तीन चरित्रलाई पढिस् भने पनि पुग्नेछ—देश कुन स्थितिमा छ भनेर बुझ्नलाई !
मुगलानकी कोपिला आज आएर—‘सुकरातका पाइला’मा वर्णित अनन्तलाई सम्झिन्छे । किन ऊ सम्झिन्छे ? रहस्यमय लाग्छ उसको अतीत । ऊ भन्छे—अशेषभन्दा पहिले अनन्तलाई मन पराउँथेँ । त्यस्तै अरूलाई पनि मन पराएको उसले बताएकी छ । पूर्व–प्रेमी तथा सँगैका उसका साथीहरू खुशी जीवन बाँच्दैछन् । तथापि कोपिला जँघार तर्दातर्दै बीचैमा—दुर्घटना परी उजाड भएकी छ । तर पनि उसले आफूलाई निराश हुन दिएकी छैन । ऊ त्यति कमजोर नारी होइन, ‘त्यसो त सबै चुँडिएको ता होइन, डोरीकोे एउटा पोयो अझै अडिएको छ । यसैमा पिङ थापेर जिन्दगीको आनन्द मच्चाउँला भन्ने विश्वासमा अडिएको छु अझै (पृ–६९) ।’
मलाई सह्य लाग्दैन । कृति पढ्दै गर्दा लेखकप्रति असहमति राख्न मन हुन्छ । क्रोध उठ्छ । कोपिलालाई किन यति दुरूह स्थिति भोगाइयो ? किन उसको जीवनमा कहालीलाग्दो भुमरी चलाइयो ? उसप्रति किन यति धेरै क्रूर भएका छन् स्रष्टा ? के उसप्रति थोरै पनि सहानुभूति राख्नु पर्दैन ? विचरा कोपिला ! उपन्यास पढ्दै गर्दा उसप्रति मलाई निकै दया लागेर आयो ।
मुगलानमा लेखकले देशको दुरावस्थाबारे बोल्न केही बाँकी राखेका छैनन् । आफ्नै नागरिक बेच्ने धुन्धकारी सरकारको गतिविधिलाई समेत उनले भुलेका छैनन् । भोलि यी भ्रष्ट महोदयहरूलाई ‘नयाँ मुगलान’ले धिक्कार्ने छ । इतिहासले धिक्कार्ने छ । आफ्नै नागरिकलाई शरणार्थी बनाई बेचबिखन गर्ने, कालो धन आर्जन गर्ने ए … महोदयहरू ! भन अझै तिमीहरूलाई कति पुगेको छैन । भन बाँकी नै अब के छ र ? यदि अझै पुगेको छैन भने हामी पनि बेचिन तयार छौँ !
पान्थरमा जीवन नभेटिएपछि कोपिला बाँकी जीवनको खोजीमा हिँड्छे । उसलाई अशेषको गाउँप्रति थोरै पनि मोह छैन, ‘यो जीवन सकिएको ठाउँको के माया । नयाँ जीवन पलाउन नसक्ने ठाउँको के माया । यो ता मरुभूमि हो अर्थात् मसानघाट (पृ–८४) ।’
अहो ! कोपिलाले कस्तो डरलाग्दो कुरा बोली ! उसको भनाइमा देशको सम्भावित भविष्य दृश्य बनेर आएको छ । हुन पनि मुलुकमा जीवन पलाउन नसक्ने वातावरण तयार भइरहेको छ । सम्भावना ओइलिएर लत्रिँदैछ । नेपालीको जीवन उधारोमा चलेको छ । देश प्राणहीन बन्दैछ । सरकार प्राणवान् हुन आतङ्क फैलाउँदैछ ।
कोपिलाले अब कस्तो मार्ग लिने हो ? मधेस झरेपछि कथानकले अनेक सम्भावना देखाउन खोज्छ । घटनाले अर्को मोड लिन्छ । अर्कै जगत् शुरु हुन्छ । भर्खरकी कोपिलालाई धेरैले लोभ्याउन खोज्छन् । आफूप्रति आकृष्ट गराउने उपाय सोच्छन् । ओमशान्ति तथा इस्कोनजस्ता धार्मिक सम्प्रदायले—उसलाई आफ्नो पथमा लैजान चाहन्छन् । आठ क्लास मात्रै पास गरेको माइकल ‘म आफ्नै बोर्डिङको प्रिन्सिपल हुँ’ भनेर अपत्यारिलो गफ दिन्छ । आफ्ना बाबुले गाई पालेको गोठमा—अहिले उसले बोर्डिङ स्कूल खोलेको छ । कोपिलालाई आफ्नो स्कूलमा पढाउन ऊ आह्वान गर्छ ।
उपन्यासमा यस्ता धेरै ससाना तर चोटिला सत्यहरू—चोटिला व्यङ्ग्यहरू आइरहन्छन् । हामीले भोग्दै आएको विकृति, विसङ्गतिमा—वर्तमान समय अत्यन्तै लजाएको छ । हामीलाई आफँैप्रति उपेक्षा पैदा भएको छ, स्वदेशमा बस्दा हीनता थपिएको छ । जसरी हुन्छ नेपालीले मुगलान पस्नु छ । उतै जाने ताँती लागेको छ ।
अझै त आशा सकिएको छैन । जीवनले कहीँ गन्तव्य पाउँछ कि ? नयाँ दिन फेरि उदाउँछ कि ? यस्तै अपेक्षाबीच कोपिलाको जीवनमा शिवम आउँछ । उसलाई पनि क्रूर नियतिले निकै गलाएको छ । खाडीबाट फर्किंदा थाहा पाउँछ—उसको गुँड भत्किसकेको छ । यी दुवै पात्रलाई समयले ननिकोसँग डामेको छ । उनीहरूले बीच बाटोमा आएर साथ दिने साथी भेट्टाएका छन् । कोपिला शिवमको सहयात्री बन्छे । उसलाई भेटेपछि अझै आफू बाँकी रहेको—ऊ अनुभूति गर्छे ।
पाठकलाई कोपिलाप्रति अब केही ढुक्क लागेको छ । परन्तु अन्योलता बाँकी नै छ । यी दुई पात्र कहाँ गएर थिग्रिने हुन् !
युद्धमा, आतङ्कमा अवसर देख्ने नेपालीको प्रारब्ध कति कठोर छ ! जीवनलाई रङ्ग्याउन, सुन्दर बनाउन रणमैदान चुन्नु पर्ने यो कस्तो सपना ? मृत्यु छेउ उभिएर जीवनको उपासना गर्नुको औचित्य कहाँ छ ? यति जान्दाजान्दै पनि नजानेझैं जीवनको पक्षमा मृत्यु स्वीकार्नु—यो कस्तो विरोधाभास ?
अन्ततः सम्बन्धले मात्र जीवन नचल्दो रहेछ । पुनः पुनःको आघातले थलिएका कोपिला र शिवम आकर्षक भविष्यका निम्ति—रसियाको सङ्ग्राम रोज्न तयार हुन्छन् । देशमा थोरै पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो भने—फुटेको भाग्य जोड्न नपाउँदै किन सङ्ग्राम रोज्थे ? कोपिलालाई के थाहा छैन र युक्रेन छिर्नु भनेको मृत्युलाई अँगाल्नु हो भन्ने कुरा ? अस्ति भर्खर होइन र अशेष कफिनमा फर्किएको ?
नेपालीको अन्तिम गन्तव्य त आखिर मुगलान नै रहेछ । नेपालीको जीवन मुगालनमै निर्भर रहेको छ । मानिसहरू युद्धभूमिबाट आफूलाई बचाउन मैदान छोड्ने गर्छन् । परन्तु नेपालीहरू जीवन खोज्न मैदान पस्ने गर्छन् ।
ए … सरकार ! एकचोटि तिमीले मुगलान पढिदेऊ मेरो बिन्ती छ ! हेर त स्रष्टा भट्टराईका पात्रहरू बत्तीका पुतली भएर—युद्धमा होमिन कसरी राजी भएका ! यता तिम्रो बैठक रित्तिँदैछ । खै सभाहलमा कोही देखिँदैन त ? तब कसमाथि शासन गर्छौ ? कसलाई भाषण सुनाउँछौ ? कृपया भो हाम्रो लागि तिमीले केही सोच्नु परेको छैन । तिमीले आफ्नै लागि केही सोचे पुग्छ । भन अब तिमीलाई मतदान कसले दिन्छ ? मुलुकमा नागरिक नथामिएपछि !
कोपिला अशेषको मृत्युमा प्राप्त रकमले आफ्नो मृत्यु किन्न धपेडी गर्छे । मृत्युबाट उपलब्ध बजेटले पुनः अर्को मृत्यु खरिद गर्छे अर्थात् मृत्युमा लगानी गर्छे ।
आशाको झिनो दीपशिखा अझै निभेको त छैन । कोपिला फक्रिन अझै बाँकी छ । एकदिन निश्चय फक्रिनेछ भन्ने अभिलाषा राख्दाराख्दै—अहँ कोपिला कहिल्यै फुल्न पाएन । फूल नबनीकन कोपिला पात्रत्वबाट मुक्त भई । त्यसो त लेखकले उसको मृत्यु घोषणा गरेका छैनन् । आखिर नगरेर के भयो ? जब कि यस जगत्मा अब ऊ छैन । उसले हारी ! ऊ मरेर गई ! सँगै शिवम पनि मरेर गयो ! जेहोस् उनीहरूले मृत्यु भोगे पनि आपसमा साथ छुटेन । शायद उनीहरूको जीवनमा सन्तोष भन्नु यति नै रहेछ ।
कहीँ त भाग्य बाँकी नै होला भन्ने थियो । अज्ञात भाग्यको पर्खाइमा रहँदारहँदै अन्ततः समयले सबै लुटिदियो । जीवन खोसिदियो । तब केही रहेन । केवल शून्यता, केवल सन्नाटा ! अहिले स्वयं अक्षरहरू निराश छन् । सुस्केरामा छन् ।
यतिखेर मन एकदम खिन्न भएको छ । जीविका चलाउनु बाहेक नेपालीले अर्को लक्ष्य कहिले देख्न सक्ला ? कोपिला, शिवम, अशेष, सुतार कान्छा यी सबै हाम्रै प्रतिरूप हुन् । ‘नयाँ मुगालन’मा हामी सम्पूर्ण नेपालीहरू अटाएका छौँ । सत् असत् चरित्र सबै अटाएका छौँ ।
दुःखको कुरा कति गर्ने ? अब त नगरौँजस्तो लाग्छ । फेरि प्रसङ्ग दुःखकै आइरहन्छ । वास्तवमा हामी नेपालीहरू भरपर्दो हुन छोडेका छौँ । धेरै खराब हुन थालेका छौँ । हामी आफ्नै जातिमाथि घात गर्ने भएका छौँ । जीवनको अन्तिम घडीमा समेत एउटा नेपालीले अर्को नेपालीलाई किन आघात दिइरहन्छ ? यही चरित्रका कारण नेपाली जाति कहिल्यै उठ्न सकेन । आफ्नै साथी भाइ, मित्र, आफन्त तथा नागरिक समेत बेच्न थालेपछि अब के हुन्छ ? शिवम र कोपिला गएको दुई महीनापछि समाचार आउँछ ‘नेपाली दलालको फन्दामा परी चोरबाटो भाग्दै र लुक्तै गरेर रसिया पुगेका तीस जना नेपाली नरनारीलाई यहाँका दलालले युक्रेनतिर पठाएका थिए (पृ–१२५) ।’
उपन्यासका प्रमुख पात्र युद्धमा होमिए पनि दृश्यमा युद्ध कहीँ छैन । परन्तु युद्धका तरङ्गले त्रास उत्पन्न गरेका छन् । स्वयं अक्षरहरू युद्ध गर्न तत्पर छन्—
हे मित्र ! यो पीडाको तीव्र ऐंठनमा
आफ्ना साथी–भाइ नगुहार–त्यो व्यर्थ छ
बरु मेरा हत्केलालाई तिम्रो
चिसिँदै गरेको रतगमा तताउन देऊ
नकराऊ, एउटा रुन्चे बालकझैं व्यर्थै
तिमी घाइते भएनौ तिमी सिधै मारियौ
बरु मलाई तिम्रो बुट खोल्न देऊ
मेरो सामुन्ने ता सम्पूर्ण युद्ध बाँकी नै छ (पृ–१२६) ।
हामी प्रतिदिन बिक्रीमा छौँ, प्रतिदिन बेचिने सिलसिलामा छौँ । हामी उत्तरआधुनिक युगका—सुधारिएका दासदासी हौँ । उपन्यासको आखिरी थिम यही रहेको छ ।
अन्त्यमा मृत्युभन्दा पनि भयानक कुरा अर्कै छ । कोपिला र शिवमको अघोषित मृत्युलीला टुङ्गिँदै गर्दा रङ्गमञ्च अर्को दृश्य शुरु हुँदैछ । पोडियममा मन्त्री मन्त्राणी भाषण गर्दैछन्— कोही दश वर्षमा देशलाई सिङ्गापुर बनाउने वचन दिँदैछन्, कोही स्वीट्जरल्याण्ड बनाउने भन्दैछन् । फेरि अर्को भन्दैछ—हाम्रो पार्टीले जित्यो भने प्रत्येक भोटर—महिलालाई सुनको सिक्री दिनेछौँ । यतिसम्म त बरु ठीकै थियो । अर्कीले झन् उदेकलाग्दो घोषणापत्र सुनाइन्—हाम्रो पार्टीले जितेछ भने आउँदो इलेक्शनदेखि बाह्र कक्षा पास गरेका प्रत्येक विद्यार्थीलाई फिरी भिस्सा दिनेछौँ । तब कर्तल ध्वनिको उत्सव चल्छ । त्यही जोसमा मन्त्राणी थप कुरा बोल्न लाग्छिन् । उता पार्श्वमा विरक्तिको कविता गुञ्जिरहेको छ—
भाग्य खोटी हो कि हाम्रो कर्मको हो दोष
किन आज वृद्धाश्रमझैं भयो हाम्रो देश ? (पृ–१२८)
हेर्दाहेर्दै रङ्गमञ्च सुनसान हुन्छ । एउटै स्रोता हुँदैन । अन्त्यमा देश विराट सन्नाटा भएर सुसाउँछ । हरे प्रभु ! अझ पनि हामी किन यस्ता उपन्यास पढ्न विवश छौं ? अब यस्तो मुगलान कसैले लेख्न नपरोस् ।
केही दिनसम्म मलाई कोपिलाको मृत्युले खेदिरह्यो । उदासीनताले लखेटिरह्यो । कति सारहीन जीवन उसले भोगेर गई । अब भन्न बाँकी केही छैन । सबै कुरा माथि भनिसकेँ । तब मौनता लिन खोज्दै थिएँ । आखिरीमा एक दुई कुरा अझै छुटेछ । प्रथमतः लेखकलाई कृति सफलताको कामना छ । सँगै आउँदो संस्करणमा छुटपुट रहेका मुद्राराक्षस र केही प्राविधिक त्रुटिहरू नामेट होऊन् भन्ने अपेक्षा गर्दै कलम यहीँ बिसाउँछु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

