प्रवेश

भारतीय गोर्खाली एउटा इतिहासपरक सन्दर्भ हो । जमीन अनि मानिस एकै स्थानमा छन् तथापि राजनैतिक सत्ता अनि समयले यसलाई घरी सिमाना वारि घरी सिमाना पारस पुऱ्याएर एउटा छुट्टै अवस्थाको सिर्जना गर्दै आइरहेको पाइन्छ । यसै अवस्थाभित्र हाम्रो इतिहास अनि हाम्रो राजनैतिक यात्राको इतिहास समेटिएको छ । भारतीय मूल धारमा हाम्रो बग्ने चाहना अनि त्यस भेलमा हाम्रो प्राय: न्यून जनसाङ्ख्यकी उपस्थिति भारतीय गोर्खा इतिहासको साँचो व्यथा अनि सत्यता हो । इतिहासले संसारका सबै राष्ट्र, समुदाय, भाषा, राजनीति, सामाजिक अवस्था अनि घटनाहरूलाई सम्भालेर राखेको हुन्छ । त्यही घटनालाई परवर्ती युगका कुनै पनि इतिहास पुस्तक वा साहित्यका पन्नामा  पाउन सकिन्छ । त्यसको श्रेय उक्त कार्यका सर्जक अथवा अन्वेषकलाई जान्छ ।

सर्जक भानु अधिकारीकृत ‘अतीतदेखि वर्तमानसम्म काव्य पुस्तक, काव्य सिर्जना अनि तथ्यहरूका समानुपातिक समिश्रणबाट उत्पन्न गहिरो अध्ययनको काव्यात्मक अभिव्यक्ति हो । यो कृति छन्दमा आधारित हुँदाहुँदै पनि इतिहासपरक छ । यस काव्य कृतिभित्रका पात्र-पात्रा शताब्दी लामो नेपाली भाषी समुदायको इतिहासका घटनाहरू छन् । काव्यभित्र घटनाहरू लयात्मक ढंगमा राखिएका छन् अनि ती घटनाहरूलाई यस युगदेखि आउने युगसम्मकै लागि सुमधुर लय प्रदान छ जसलाई इतिहासका कुनै पनि अध्यायले काव्यिक लयसँगै बुझ्न सक्नेछ, गाउन सक्नेछ । अत: सर्जक भानु अधिकारीका यस कृति, वर्तमानले पाएको अतीतको एउटा लयात्मक विवरण हो जसले आगतका कुनै पनि स्तरका वैचारिक उच्चता भएका पाठकले आफ्ना इतिहासलाई पाउनेछन् ।

 

सर्जक भानु अधिकारी अनि उनको ‘अतीतदेखि वर्तमानसम्म’ काव्यकृति

भारतीय नेपाली साहित्य जगतमा देखिने विरलै नेपाली छन्द कविहरू मध्ये एकजना सर्जक हुन् भानु अधिकारी । वर्तमानमा छन्द कविता लेख्ने भारतीय नेपाली साहित्यकारका लहरमा चहकिला देख्न सकिने भानु अधिकारी एकजना विचार अनि अध्ययनका समिश्रण हुन् । एम.ए. बि.एड सम्मको औपचारिक अध्ययन अनि दार्जीलिङ जिल्लाकै एक प्रतिष्ठित स्कूल सन्त जर्ज उच्चत्तर माध्यमिक पाठशालाका वरिष्ठ शिक्षक हुन् । उनी पेदोङ वरिपरिका विभिन्न साहित्यिक गतिविधि एवम् साहित्यिक सिर्जनशीलता एवम् समन्वयतासँग सक्रिय रूपमा जोडिएका छन् । उनका विविध रचनाहरू विभिन्न पत्र-पत्रिकातिर आइरहन्छन् भने पुस्तकाकार रूपमा देखिएकाहरू मध्ये- पवित्र हृदय पल्ली, पेदोङ (अनुवाद, सन् २०१९), अंग्रेजीको ललिपप (निबन्धसंग्रह, सन् २०१९), कविता मञ्जरी (छन्दोबद्ध कवितासंग्रह, सन् २०२१), बामपुड्के कविताहरू (हाइकु संग्रह, सन् २०२१) आदि मुख्य छन् ।

उनको यस नयाँ कृति अतीतदेखि वर्तमानसम्म (सन् २०२५) भारतीय नेपाली भाषी समुदायको एउटा लामो यात्रालाई छन्द कविताभित्र अँटाएर एउटा विशेष अध्ययन बनाएर प्रस्तुत गरिएको कृति हो । झन्डै ३९ वटा अध्यायभित्र १०५० भन्दा बेसी श्लोक रहेका यस काव्य पुस्तक पूर्ण झ्याउरे छन्दमा रचिएको छ ।  यस काव्य कृतिको गम्भीर पठन गरी न्यायोचित केही विचार राख्नुपर्ने आशय यस लेखले राख्तछ ।  

आजको साहित्य अध्ययन अन्तरविषयक अध्ययन हुँदै गइरहेको छ । साहित्यका कुराभित्र काल्पनिक कुरा मात्र नभएर समाजसँग जोडिएका मुद्दा अनि सरोकारहरू पनि मुख्य रूपमा सामुन्ने आइरहेका छन् । यस कृतिको विषयगत संरचना अनि अभिव्यक्तिलाई अध्ययन गर्दा इतिहासपरक चेतना बोकेको एउटा गहन कृतिको रुपमा यसलाई पाइन्छ । यसलाई अध्ययन गरिँदा निम्नलिखित कुराहरूलाई ध्यान राखिएको छ ।

 ‍‍‍० ० ० ०

कृतिभित्र कालक्रम र सन्दर्भ

यस कृतिमा उल्लिखित घटनाहरूको कालक्रम र सन्दर्भले लयात्मक ढंगमा एउटा लामो समयको क्रमिक इतिहास बुझाउने प्रयास गरेको छ । झन्डै आधा दर्जन शताब्दीको कालक्रम अनि सन्दर्भ समेटेको यो कृति आफैमा एउटा विशेष छ । यसमा ती शताब्दी लामो भारतीय गोर्खा समयका पन्नाहरूमा देखिएका महत्त्वपूर्ण घटनाहरूलाई सर्जकले सकुशल वर्णन गरेका पाइन्छन् । कृतिले घटनाहरूको सामाजिक, राजनीतिक, आर्थिक अनि सांस्कृतिक सन्दर्भहरूलाई बुझाउने प्रयास गरेको पाइन्छ भने कुनै पनि घटनाको महत्त्व अनि त्यसबाट बनिएका परिणाम/ परिस्थितिहरूलाई पनि ध्यानमा राखिएको पाइन्छ ।

यस काव्यले स्वतन्त्रतापूर्व अनि स्वातन्त्र्योत्तर कालका महत्त्वपूर्ण घटना अनि परिस्थितिहरूलाई समेटेको हुनाले यसलाई दुई भागमा राखेर हेर्न सकिन्छ । जस्तै- स्वतन्त्रता अघिका सन्दर्भहरू पहिलो अध्याय अंग्रेज-फ्रान्स युद्ध सन् १७०४ देखि लिएर २९ औँ अध्याय नेभोला हुँदै गोर्खालिगको सम्म रहेका छन् भने स्वातन्त्र्योत्तर कालका सन्दर्भहरूमा ३०औँ अध्याय संविधान सभामा गोर्खा देखि सन् २०२४ सम्मको समयकाललाई लिएर ३९ औँ अध्याय जनजातिको मुद्दा र गोर्खा सम्म राखिएको छ । कृतिभित्र सम्बोधन गरिएका विषयहरूमा भारतीय स्वतन्त्रता सङ्ग्राममा गोर्खा, भारतीय परिप्रेक्ष्यमा भानु भक्त र जातीय एकता, स्थापना, पूर्वोत्तर जिल्लाहरूमा गोर्खाहरूका स्थिति, चियाबारी अनि सिन्कोना खेतीको सन्दर्भ, दार्जीलिङमा रेल सेवाको सन्दर्भ,  संविधान सभामा गोर्खा आदि रहेका छन् । त्यसरी नै अंग्रेज फ्रान्स युद्ध, भारतमा ब्रिटिशको आगमन, सिक्किम भूटान युद्ध सन् १७०६, नेपाल सिक्किम युद्ध सन् १७८०, गोर्खा फौजको स्थापना, सन् १८१५ पूर्व पहाडमा जनताको आवादी, सन् १८१५ पूर्व पहाडमा जनताको भाषा, नेपाल कम्पनी युद्ध सन् १८१४-१५, सुगौली सन्धि सन् १८१६, तितलिया सन्धि सन् १८१७, क्याप्टन लायडको सिक्किम भ्रमण सन् १८२७, लर्ड बेन्टिकको उत्सुकता, चिया खेतीको सुरुवात, अंग्रेजी शिक्षा नीति लागु, सिक्किम विद्रोह, कम्पनीलाई दार्जीलिङ समर्पण, चिया खेती र मजदूर, दोन्येर नामग्याल पदच्युत, इसाई धर्म र गोर्खा आदि सन्दर्भहरू समेटिएको पाइन्छ । भारतमा ब्रिटिस कम्पनीको आगमनसँगै यहाँका मानव समाजलाई चाहिने महत्त्वपूर्ण आधारभूत विकास अनि सामाजिक, धार्मिक उन्नतिका लागि मिसनेरीहरू आएका घटना उल्लेख्य छ । तत्कालीन समाज, अभाव अनि बाध्यतामा बाँचेको थियो । सत्ता अनि प्रशासनको हैकमअघि यहाँका समाज बाँचेको भए तापनि हार्दिकताका साथ यहाँ शैक्षिक अनि धार्मिक प्रभाव बढेको बुझ्न सकिन्छ । जस्तै-

बनिए गिर्जा आरोग्य केन्द्र शैक्षिक संस्थान

धर्मको साथी बनेर यहाँ भित्रियो विज्ञान ।

धर्मको निम्ति मान्दथे धर्म यहाँका निवासी

स्वधर्ममाथि भरोसा गर्थे अद्वेत विश्वासी ।

 

लेखकको उद्देश्य

अतीतदेखि वर्तमानसम्म कृतिको सबल पक्ष नै काव्यमा कृतिकारको महत्त्वपूर्ण उद्देश्य र दृष्टिकोण रहेको छ । कृतिकारले यस काव्यमा भारतीय गोर्खाली इतिहासलाई कसरी अनि किन प्रस्तुत गरेका छन् भन्ने कुरा बुझ्नुपर्दा कृतिको विषयवस्तुले जानकारी दिँदछ । जस्तै-

मानव इच्छा आकाङ्क्षा सधैँ अचेत बस्दैन

हरेक क्षण जागृत हुन्छ चितामा पस्तैन ।

सजक हुन्छन् मनुष्य नित्य निखार्न व्यक्तित्व

कहिल्यै पनि सहन्नन् आफ्नो खस्कँदो अस्तित्व ।

यस श्लोकमा कृतिकारका शब्दहरू मानव इच्छा, अचेत बस्दैन, जागृत हुन्छ, सजक हुन्छन्, सहन्नन्, खस्कँदो अस्तित्व आदि मुख्य छन् ।

 

ऐतिहासिक स्रोतहरूको विश्लेषण

कृतिमा उल्लिखित ऐतिहासिक घटनाहरू, ती घटनाहरूका पात्रहरू, ती स्थलहरूका प्रामाणिकताबारे अध्ययन गर्दा कृतिकारले यति लामो इतिहासलाई अघि ल्याउन शोधका स्रोतहरू प्राथमिक तथा द्वितीयक स्रोतहरूबाट उपयुक्त जानकारी बटुलेका पाइन्छन् । कृतिमा वर्णित सन्दर्भहरूले प्राचीन दस्तावेज, पुस्तकहरू, पत्र-पत्रिका, अन्तर्वार्ताहरू आदिको अध्ययन गर्दै कृतिकारले विभिन्न ऐतिहासिक स्रोतहरूसँग तुलना गर्दै यस कृतिलाई पूर्ण रुप दिएका छन् ।  जस्तै-

उन्नाइस सय पाँचमा केही विचार बदलियो

यो क्षेत्र पुन: राज्साहीबाट बिहार लगियो ।…

अठार दस इश्वीमा युद्ध लडेर सकिन्छ

युद्धको हानी सिक्किम भोग्छ धेरै नै ठगिन्छ ।

खोसिन्छ धेरै सिक्किम क्षेत्र भूचित्र फेरिन्छ

दार्जीलिङ भूमि युद्धको पछि नेपाल बनिन्छ ।

 

आलोचनात्मक सोच

कुनै पनि कृतिमा सर्जकको आलोचनात्मक सोच कस्तो रहेको छ त्यो महत्त्वपूर्ण विषय हो । यति लामो समयभित्र भारतीय नेपाली भाषी समुदायको सामुदायिक, राजनैतिक, सामाजिक, शैक्षिक, सामरिक जस्ता पक्षहरूलाई पूर्ण इतिवृत बनाएर प्रस्तुत गरिँदा सर्जकको आफ्नै एउटा आलोचनात्मक सोच निर्माण भएर अघि आएको पाइन्छ । कृतिलाई आलोचनात्मक दृष्टिकोणबाट अध्ययन गर्दा तथ्य र कल्पनाबीचको भिन्नता सहजै बुझ्न सकिन्छ अनि काव्यमा रहेका ऐतिहासिक तत्त्वलाई पाठकअघि विश्लेषणका निम्ति राख्न सकिन्छ । कृतिभित्रका सामग्रीलाई आलोचनात्मक दृष्टिकोणबाट हेर्ने र मूल्याङ्कन गर्ने अवसर सर्जकले यसरी निम्न श्लोकहरूबाट दिएका छन् । सर्जकले भारत नेपाल मैत्री सन्धिको ऐतिहासिक महत्त्वलाई बताउँदै, यसले भारतीय गोर्खाहरूलाई पुगेको समस्यालाई काव्यिक प्रस्फुटन दिएका छन् । जस्तै-

उन्मुक्तिपछि भारत देश बिस्तारै फैलिन्छ,

पश्चिम पूर्व मित्रता गाँस्दै क्रमैले मौलिन्छ ।

शासन तन्त्र बलियो पर्ने आपसी खेलामा,

छिमेकी मित्र चाहिन्छ त्यहाँ परेको बेलामा ।

यसैले बस्छन् यी दुवै देश पचास सालमा,

उत्सुक बन्छन् मित्रता गास्न आआफ्नो तालमा ।

क्रमाङ्क सात सन्धिको धारा सगुनी भएन,

गोर्खाको निम्ति यो धारा स्वत: उचित रहेन ।

सजिलो भयो यसले गर्दा गोर्खालाई नकार्न,

गोर्खाली तिमी विदेशी भनी सजिलै दुत्कार्न ।

यसैले गर्दा भएन सन्धि भविष्य सङ्गाल्ने,

गोर्खाको निम्ति फिँजाइ हात गर्वले अङ्गाल्ने ।

 

समयको क्रम अनि पात्र-पात्राहरूको विश्लेषण

विभिन्न प्रशासनिक एकाईमा दार्जीलिङको चियाखेती अनि यहाँका जनमानसमा यसको परोक्ष प्रभाव आजका विविध घटनाहरूका आधार हुन् । सर्जकले घटनाहरूको समयको अनुक्रम बुझ्दै अनि ऐतिहासिक घटनाहरूको कालक्रमिक रूपमा अध्ययन गर्दै यहाँको इतिहासलाई यसरी व्यक्त गरेका छन् । जस्तै-

हरेक ठाउँ चियाको बुट्टा खनेर गाडिन्छ

अपुग जग्गा चिह्नित चिन्हित गर्दै जङ्गल फाँडिन्छ ।

चुसिन्छ खुन पसिना सबै श्रमिक जनको

पेलिन्छ मासु घोटिन्छ हड्डी थकित तनको ।…

यस काव्य कृतिका पात्र नै भारतीय गोर्खा जाति हो । इतिहासका विविध समयमा यस पात्रले आफ्नो भूमिका निर्वाह गरेको छ अनि ती भूमिकाहरूका महत्त्वबारे सर्जकले यसरी बुझाएका छन् । जस्तै-

सुगौली अनि सिन्चुला नाम सन्धिले तोकेर

धेरै नै भूमि भारत पस्यो जनता बोकेर ।

भूभागसितै आएका सब गोर्खाली सन्तान

पेटको निम्ति छरिन थाले तोडेर बन्धन ।

 

भाषाशैली

कुनै पनि साहित्यिक कृतिको भाषाशैली महत्त्वपूर्ण पक्ष हो । कृतिभित्रका अनुक्त आशयलाई पाठकसम्म पुऱ्याउने सहज अनि भरपर्दो साधन नै यस कृतिको भाषाशैली हो । यस कृतिमा सर्जकले उपर्युक्त कुराहरूलाई व्यक्त गर्ने सहज माध्यम झ्याउरे छन्द अनि यसको लयात्मकतालाई छानेका छन् । उनको आन्तरिक उद्देश्य भारतीय गोर्खालीहरूका दीर्घकालीन राजनैतिक यात्राको लेखाजोखा गर्नु हो । यस कृतिको भाषाशैली सरल अनि सहज हुँदाहुँदै पनि गम्भीर छ । कविले आफ्ना कवि व्यक्तित्वलाई पूर्ण रूपमा तिखारेर सहज अनि मीठो भाषाशैलीको प्रयोग गर्दै यस काव्य कृतिमा ऐतिहासिक पक्षलाई पाठक समक्ष सहज ढंगमा राखेका छन् । जस्तै-

पहेँलो जुन टिलिक्क टल्क्यो मिर्मिरे उषामा,

नेपाली भाषा थन्किनु पऱ्यो भोलिको आशामा ।…

त्यसरी नै अर्को उदाहरण यस्तो छ-

सन्धिले हाल्यो कालेबुङ डुवर्स अंग्रेजी झोलामा

तत्काल पानी सुके झैँ भयो असारे खोलामा ।..

 

विविध दृष्टिकोण

ऐतिहासिक घटनाहरूलाई विभिन्न दृष्टिकोणबाट हेर्न सकिन्छ । एउटै घटनालाई विभिन्न स्रोतहरूमा कसरी वर्णन गरिएको छ भन्ने कुरा यस कृतिमा धेरै उदाहरण पाउन सकिन्छ । १७०६, सिक्किम भूटान युद्धबारे यस्तो अभिव्यक्ति पाइन्छ । जस्तै-

अमेट छाप छोडेर गयो युद्धले खोपेर

शिथिल भयो सिक्किमे छाती भालाले रोपेर ।

भूभाग धेरै भूटान बन्यो सिक्किम लुटियो

देशको नक्शा बनियो अर्कै सिमाना छुटियो ।

यसरी नै सन् १८१५ पूर्व पहाडमा जनताको आवादीबारे सर्जकले यसरी लेखेका पाइन्छ । जस्तै-

किँरात, खस पहाडे जाति रोज्दथे पहाड

शताब्दीपूर्व आएथे यहाँ फाँडेर भूभाग ।

सिकार खेल्थे, किसानी गर्थे दैनिकी स्याहार्थे

पालन गर्थे घरेलु पशु जीविका गुजार्थे ।

सिमानासित फेरिन्थ्यो देश फेरिन्थे पतका ।

भारतीय गोर्खाली इतिहासमा कहिल्यै समाधान हुन नसकेको राजनैतिक खिचातानी अनि यसमा हाम्रो पक्षका कमजोरीहरूका लेखाजोखा कहिल्यै भएन । फलस्वरूप, हामी जहाँ थियौँ आज पनि त्यहीँ नै छौँ । सिमाना बद्लिन्छ, सत्ता बद्लिन्छ तर जमीनसँगै विभिन्न राजनैतिक सिमाना अनि व्याख्याहरूमा देखापर्दै अनि हराउँदै गरेका यस जातिको निम्ति सर्जकले इतिहासलाई अघि राखेर यसरी बताएका छन् । जस्तै-

कहिले भूमि नेपाल हुन्थ्यो कहिले सिक्किम

कहिले झण्डा भुटान गाड्थ्यो थिएन आराम ।

 

लेखन र दस्तावेजीकरण

आफ्नो अनुसन्धानलाई स्पष्ट र ठोस रूपमा लेख्ने र दस्तावेजीकरण गर्नेक्रममा सर्जकले भरपुर प्रयास गरेका छन् । इतिहास गाह्रो विषय हो । यसलाई अध्ययन गर्न अत्यन्तै आन्तरिक चाहना अनि लगन चाहिन्छ । सर्जक भानु अधिकारीले यस कृतिभित्र इतिहासका थप पाताहरू थपिदिएका छन् । भारतीय इतिहासमा पहिलोपल्ट सिपाही विद्रोह सन् १८५७ मा भएको इतिहास सबैले पढेका हौँ । यद्यपि, उनले ‘कौशाली’ नामक गोर्खाली फौज अनि त्यसमा भीमसिंह गुरुङ अनि उनका भक्त सिपाही भक्त गुरुङ उर्फ हर्कजङ्गलाई चिनाएका छन् । भारतीय गोर्खा फौजको आधिकारिक गठन गर्नअघि ‘नासिरी’ अनि ‘कौशाली’ भन्ने सेना ब्रिटिशको अधीनमा थियो । ब्रिटिशद्वारा सञ्चालित उक्त भारतीय फौजमा गोर्खाली सेनाहरू पनि थिए । उक्त सेना पछि गएर गोर्खा फौज बनिएको इतिहासको साझा सर्जकले गोर्खा फौजको स्थापना शीर्षकभित्र गरेका छन् ।

भारतीय स्वतन्त्रता सङ्ग्रामको थालनी सन् १८५७ को सिपाही विद्रोहबाट शुरू भएको इतिहासले मानेको छ तथापि सर्जकले आफ्ना अध्ययनलाई अघि सार्दै सन् १८५७ भन्दा अघि नै गोर्खाली हर्कजङ्गले ब्रिटिशको अत्याचार अनि दमन विरुद्ध आवाज उठाएर एकजना गोरा जर्नलको गर्दन छिनाएका कुरा उल्लेख गरेका छन् । त्यसपछि उक्त गोर्खाली सेनाको मृत्यु भएको सन्दर्भले सिपाही विद्रोहको पहिलो आवाज कौशाली फौजबाट हर्कजङ्गबाट शुरू भएको थियो भन्ने कुरालाई सर्जकले स्थापित गर्न चाहेका छन् । त्यस बेलासम्म देशमा कुनै सङ्घर्ष अनि मुक्तिको नारा थिएन । त्यसपछि मात्र देशभर क्रान्तिको नारा फैलिएको पाइन्छ भन्ने सर्जकको मनतव्य अनि सावित्री, इन्द्रानी, जङ्गबीर सापकोटा, दुर्गा मल्ल, आदिका नाम हुँदै आजाद हिन्द फौज, सुवासचन्द्र बोस आदिका प्रसङ्गले यस कृतिको लेखनलाई अभिलेखीकरण तर्फ इंगित भएको हामी देख्तछौँ ।

भारतीय स्वतन्त्रता आन्दोलन अनि सङ्घर्षमा गोर्खाहरूको उपस्थितिबारे शायद यो एउटा अर्को तथ्य अभिप्राप्तिका रूपमा देख्न सकिन्छ । यसरी नै भारतीय गोर्खाली समाजमा मिसनेरीहरूको प्रवेश अनि उनीहरूको लेखाजोखा बिना भारतीय गोर्खा समुदायको इतिहास अपूर्ण रहन्छ । मिसनेरीहरू भारत प्रवेश गरेपछि गोर्खाली समाजमा कसरी आएका थिए ? अनि इतिहासका पन्नामा उक्त आगमन कतिको महत्त्वपूर्ण छ भन्ने कुरा सर्जकले क्याथोलिक धर्मको शुरूवातबारे लेख्दै यसरी राखेका छन् । जस्तै-

अठार सय छयालिस सनको शरद याममा

सिस्टर दुई दार्जीलिङ आए धर्मको काममा ।

यी दुवै थिए लोरेटो पन्थी आइरिस मूलका

उज्ज्वल तारा नमुना प्यारा पश्चिमे फूलका ।…

यसरी नै पेदोङ, वर्तमानमा कालेबुङ जिल्लाको एउटा अंश हो । उक्त स्थानबाट भारत-सिक्किम-तिब्बत सिमाना जोडिन्छ । यस स्थानमा मिसनेरीहरू प्रवेश गर्दै यस स्थानको समुचित विकास अनि शिक्षाको ज्योति कसरी छरियो भन्ने तथ्य पनि सर्जकले उल्लेख गरेका भेटिन्छन् । जस्तै-

छेडेथे एक मिसन नयाँ ‘तिब्बत’ नाममा

डटेथे नित्य दिन र रात पवित्र काममा ।

तिब्बत पस्न चुम्बीको भेल्ली उचित ठानियो

त्यसको निम्ति उचित मार्ग पदोङ मानियो ।…

सजिलो कहाँ थियो र पस्न हिमाल तिब्बत

विकट भीर विषालु तीर पुगेन हिम्मत

यसैले यात्रा रोकियो आफै यही नै थामियो

अबको लक्ष्य उद्देश्य सबै पदोङ बनियो ।

भारतमा नेपाली भाषाको प्रचार प्रसार अनि १९ औँ सालदेखिको भाषा यात्रालाई पादरी गङ्गाप्रसाद प्रधान अनि उनको ‘गोर्खे खबर कागत्ले दिएको योगदानलाई सर्जकले भुलेका छैनन् । भारतमा नेपाली भाषाको संवैधानिक मान्यताका निम्ति तयार भएका पहलहरूमध्ये सर्वप्रथम सन् १९५६ सालको जागृत गोर्खा पत्रिका अनि आनन्दसिंह थापाको सन्दर्भलाई मुख्य राखेका छन् । भारतीय गोर्खाली समुदायको ३६ वर्ष लामो सङ्घर्षको परिणति अनि सफलताका कुरालाई पनि सर्जकले सकुशल राखेका छन् । जस्तै-

नेपाली भाषा सामेल भयो राज्यको भाषामा,

गुन्जियो हाँसो खुसीको नयाँ पहाडी बासमा ।

यो कुरा थियो एक् सठ्ठी साल नवौँ मासको,

पहिलोपल्ट लागेथ्यो अर्थ बङ्गाल बासको ।

यसरी नै भारतीय स्वतन्त्रता आन्दोलन अनि त्यसपछिका भारतीय गोर्खाहरूका अवस्था अर्को महत्त्वपूर्ण पक्ष हो । यसलाई अध्ययन अनि आत्मालोचन गर्ने अवसर सर्जकले सबैलाई दिएका छन् । भारतीय नेपाली भाषी समुदायको इतिहासमा सन् १९४३ मा गठन गरिएको राजनैतिक दल अखिल भारतीय गोर्खालीग आजका दिनसम्म एउटा भरपर्दो दस्तावेज हो । डम्बरसिंह गुरुङ अनि त्यस बेलाका अन्य नेतृत्वहरूका योजनामा नेभोला संगठन बनाउने अनि नेपाली, भोटिया अनि लाप्चेलाई एकै मञ्चमा उभ्याएर सामाजिक, राजनैतिक, अनि बहुआयामिक उन्नतितर्फ अग्रसर गराउने महत् उपाय गरेका घटना ऐतिहासिक घटना मान्न सकिन्छ ।

यद्यपि, ब्रिटिसहरूको ‘फुटाऊ अनि राज गर’ भन्ने युक्तिको अघि नेभोलाबाट ‘भो’ अर्थात् भोटे समुदायका नेतृत्व पछि हटेका इतिहास आज शायदै धेरैलाई थाहा छ । त्यस सभामा ‘नेभोला’ भन्ने संगठन बनिने एउटा ठुलो सङ्कल्प थियो तर उक्त दिन त्यसो नभएर नेभोलाको एकता फुटेको देख्न सकिन्छ । नेभोलाबाट ‘भो’ निस्केपछि पनि ‘ला’ अर्थात् लाप्चे अडिक रहेको हुनाले १५ मई १९४३ का दिन अखिल भारतीय गोर्खालीग स्थापना भएको थियो । नेभोलाको नारा ‘भोटे लाप्चे नेपाली, हामी सबै गोर्खाली !’ भन्ने मुख्य थियो । यस्तो अवस्थामा भारतीय गोर्खाली समुदायलाई नेतृत्व दिन अनि स्वतन्त्र भारतमा यस समुदायको राजनैतिक भविष्य कस्तो बनाउनु पर्ने भन्ने चिन्तामा गोर्खाका अग्रज नेतृत्वहरू मनन चिन्तनमा थिए । संविधान सभामा गोर्खाभित्र प्रसङ्गमा सर्जकले डम्बरसिंह गुरुङको अल्पायुमा मृत्यु भएको कुरा अनि संविधान सभामा अरिबहादुर गुरुङ सदस्य भएर गएका ऐतिहासिक कुरा खूबै मीठो प्रक्रारले व्यक्त गरेका छन् । जस्तै-

दैवको सामु कस्को पो लाग्छ उजुरी गुनासो

भोग्नु नै पर्छ सबैले यहाँ कालको सनासो ।

अल्पायु बिते डम्बरसिंह चालिस आठमा,

जातिको गर्व पहाडी बाघ बिलाए घाटमा ।…

अपूर्व क्षति बेहोर्न पऱ्यो गोर्खाली जातिले,

आँसुले भिजी अन्जली दिए गह्रुङ्गो छातीले ।

चाहियो एक शिक्षित व्यक्ति विधान सङ्घमा,

हृदय बाटै फुलेको फूल गोर्खाली रङ्गमा ।

वकिल थिए गुरुङ अरिबहादुर बढेका,

ब्रिटेन पुगि कानुन पदी शिखर चढेका ।

अरुको जस्तै सुनाम पस्यो वकिल अरिको,

विधानभित्र गोर्खाली छोरा गुरुङ थरिको ।…

योभन्दा ठुलो गर्वको कुरो के हुन्छ जातिको,

सपुत बने गुरुङ अरि विवाद माथिको ।

दार्जीलिङमा तरुण संघको गठन अनि सुवास घिसिङको उदय, एउटा अध्ययनको पाटो हो । यस घटनालाई थोरैले मात्र उल्लेख गरेका भेटिन्छन् । सर्जकले तरुण संघको गठन, त्यसपछि प्रान्त परिषद गठनको चर्चा अनि सन् १९८० सालमा, अस्तित्व सङ्कटको भय मनमा राखेर तत्कालीन नेतृत्व अघि आएका कुरालाई आफ्ना काव्यमा समावेश गरेका छन् ।

गोर्खा राष्ट्रिय मुक्ति मोर्चा गठन भएपश्चात् सम्पूर्ण पहाडमा आगो लागेको अनि यस अवसरमा मौका छोपी बङ्गाल सरकारले गरेको दुर्नितिलाई पनि देखाइएको छ । त्यसपछि आन्दोलनले सम्झौता गरेर दागोपाप थापेको कुरा । सुवास घिसिङपछि बिमल गुरुङको नेतृत्व अनि पहाडमा अप्रत्याशित समर्थनको कुरा, त्यसै बीच पहाडका अर्का दह्रिला नेता मदन तामाङको हत्याको प्रसङ्गलाई पनि देखाइएको छ । यस घटनापछि बिमल गुरुङको नेतृत्वले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन थापेको सन्दर्भ पनि यसभित्र समावेश छ । यसरी नै भाषा अतिक्रमणको कुरा गर्दै थालिएको पछिल्लो चरणको आन्दोलन अनि सरकारको दमन नीतिलाई उदाङ्गो पारेका छन् । जस्तै-

बिस्तारैसित विमल युग तरुण हुँदछ

सत्ताको शक्ति अजेय बन्छ टाकुरो छुँदछ ।…

आपसी द्वन्द्व सल्किन थाल्छ सुनिन्छ क्रन्दन

सहिद बन्छन् गोर्खाली नेता तामाङ मदन ।…

उदाङ्गो हुन्छ आपसी ऐक्य विभेद निम्तिन्छ

फुटेर जान्छन् एकार्कासित भातृत्व सित्तिन्छ ।…

छोपेर मौका बङ्गाल छेड्छ निर्दयी दमन

भाषाको निहुँ पारेर गर्छ जातिको शोषण ।…

सरकारी स्तरबाट हुने प्रशासनिक चाप अनि त्यसपछि सरकारको रणनीतिक परिणतिले जन्माएको नयाँ समीकरण अनि अर्को अध्यायको सन्दर्भ चर्चा गर्दै अर्का नेता अनित थापाको उल्लेख पनि यहाँ गरेका छन् । त्यसपछि सिक्किमको नयाँ सत्ता प्रेमसिंह गोलेले सम्भालेको अनि अन्त्यमा बीजेपी राष्ट्रिय पार्टीको गोर्खा जनजाति मुद्दा अनि गोर्खा जातिका कुरा गर्दै साँचो अर्थमा यो मुद्दा अब के हुँदैछ ? भन्ने प्रश्न अनि विश्लेषण पनि गरेको भेटिन्छ । तथापि, सर्जकको अभिव्यक्तिमा कुनै राजनैतिक एकपक्षीय धारणा अनि विश्लेषण नभएर केवल घटनाहरूका विवरण सत्य तथ्यका आधारमा राखिएको पाइन्छ ।

 ० ० ० ०

निष्कर्ष

सर्जक भानु अधिकारीका अध्ययनका निष्कर्ष सहज ढंगमा बसेर कुनै भाषिक क्लिष्टताबिना रसस्वादन गर्न सकिन्छ । सामुदायिक जागरणका कुरा, भाषा विकासका कुरा, दलगत दम्भ अनि सत्ताको खेल, राजनीतिले पिसेको अवस्था अनि त्यसबाट बाहिर आएका सामुदायिक हतासा आदिलाई पाठकले यस काव्य कृतिमा पाउन सक्छ । यसरी नै मुद्दा अनि पहिचानका कुरा, सामूहिक सङ्घर्षका निष्कर्ष अनि सकली मुद्दाको परिपूरण साथै आधुनिक चुनौतीहरूका सामना गर्दै जातिको वर्तमान अवस्थालाई सर्जकले देखाएका छन् । आज नेपाली भाषाको अध्ययनको कमी अनि यसको प्रयोगको अभाव छ । यसलाई सर्जक भानुले नयाँ उपाय दिएका छन्, भाषामा रमाउने अनि सरलतामा लच्किने । लयात्मक्तामा इतिहास हेर्ने, खोतल्ने अनि नजानेका कुराहरू पुन: जाँच गर्ने अनि अरुलाई पनि बताउने । भारतीय गोर्खे इतिहासमा धेरै राजनैतिक नेताहरूको अध्ययनहीन, लक्ष्यहीन, तर्कहीन अनि जिम्मेवारीहीन गतिविधिले देखाएको दिशालाई प्रतिकार गर्दै हाम्रो इतिहास रोचक अनि गौरवशाली छ भन्ने कुरामा सर्जक विश्वस्त देखा परेका छन् ।

इतिहास लेख्नु मात्र गाह्रो कार्य होइन तर यसलाई अध्ययन गर्नु पनि उत्तिकै गाह्रो कार्य हो । यति सरल लयात्मक भाषामा सर्जक भानु अधिकारीले भारतीय नेपाली भाषी समुदायको दीर्घकालीन राजनैतिक यात्रा अनि त्यसमा होमिएका हाम्रा सबै ऊर्जा अनि विवेकको एउटा वृत्तान्त लेखिदिएका छन् । आजको Sci-Fi युगमा आफ्नो इतिहास अनि विगतका राजनैतिक सङ्घर्ष बिस्तारै बिर्सँदै गरेको अवस्थामा यस कृतिले सबैलाई पुन: झस्काउने कार्य गरेको छ । साथै अबको इतिहासभित्र हाम्रो इतिहास कस्तो लेखिनु पर्ने हो? भन्ने आशयले वर्तमान नेतृत्व, जनता, बुद्धिजीवि, विद्यार्थी आदि सबैलाई सजग गरेका छन् । भानु अधिकारीकृत यस कृतिलाई छन्द कविताको खडेरीमा एउटा सरल, लयात्मक, गम्भीर वैचारिकता भएको कृतिका रुपमा भारतीय नेपाली साहित्यले पाएको एउटा नवीनतम अभिप्राप्ति मान्न सकिन्छ ।