सूरज चापागाईं मणिपुरेली माटोले जन्माएका जाँगरिला कवि हुन् । विगत केही वर्ष अघिदेखि पत्र-पत्रिका, कवि गोष्ठी आदिबाट आफ्नो साहित्यिक यात्रा शुरु गरेका कविले छिट्टै नै प्रगतिको पाइलातिर लम्किएर मणिपुरेली नेपाली साहित्यको श्रीवृद्धि गर्नतिर लाग्नु धेरै गौरवको कुरा हो ।

उनको ‘क्यानभासको क्षितिज कृतिले साहित्य एकाडेमी युवा पुरस्कार (२०२४) प्राप्त गर्न सफल भएकाले हामी सबैको गौरव अझ चुलिएको छ । यस काव्य-पुस्तकरूपी क्यानभासमा भावनाका रङ्गहरूको अति सुन्दर संयोजन देख्न पाइन्छ । प्रकृतिको निश्छल सौन्दर्य र जीवन जगतको यथार्थ परिस्थितिहरूको भव्य फ्युजनबाट निस्किएको नवीन चित्रात्मक सौन्दर्यले परिपूर्ण अभिव्यक्ति अद्भुत छ-

ती बादलहरूमा

म कसैलाई

स्वयं म देख्छु

कसैलाई मानिसको अंगमा

कुनै अपरिचित

जनावरको टाउको देख्छु

ती डाँडा-पाखाहरूमा

आधी अंग लुकाएका

पानी, पसिनाका बाफहरूमा

…………………..

पाँच छ वर्षे बालक

पछाडि किताबको झोला बोकी

डल्लो परेर कुनै अन्तहीन

बाटो हिँडेको देख्छु ।

                                                              (क्यानभासको क्षितिज, पृ.५३-५४)

सूरज चापागाईं

सूरज चापागाईं

माथि उल्लेख गरिएका काव्य-पङ्क्तिहरू पुस्तकको नामलाई सार्थक पार्न पर्याप्त छन् । जसरी क्यानभासमा कोरिएको चित्रमा भरिएका रङ्गहरू मूक बोल्ने गर्दछन्, त्यसरी नै यस सङ्कलनमा सङ्कलित ४४ वटा कवितामा कोखिएका विविध भावको रङ्गले धेरै गहिरा कुराको संवाद गरेको देखिन्छ । वैयक्तिक सुख-दुख, राजनैतिक खेल, अस्तित्व चिन्तन, मातृभूमि प्रेम, रूढि विरोध, कुरीतिप्रति आक्रोश, परिवर्तनको आग्रह, भ्रष्टाचारले उब्जाएको समस्या, पौरुषहीनता, जातिभाइ रगतको मूल्यहीनता, शहरीकरणले उब्जाएको विसङ्गति, मानवतामाथि हाबी बजारवाद जस्ता भावहरूले सहजैसँग पाठकको मनसँग भलाकुसारी गर्ने सामर्थ्य यी कविताले बोकेको पाइन्छ ।

समयले उब्जाएका तिक्त क्षणहरूबाट मानिसको मन जब धेरै विचलित हुन्छ, बिस्तारै ऊ समस्या, बाधा, जीवन जगतको जटिलता, विसङ्गतिहरूबाट टाढा प्रकृति आमाको काखमा पलायन गरेर केही पल शान्तिको सास फेर्न चाहन्छ । कवि सूरजको मन पनि जीवनको निरन्तरतालाई आभास गर्दै नदीको स्वच्छन्द वेगसँगै कलकलाउँदै बग्दै केही पल डुब्न चाहन्छ । नदीका छालहरूसँगै बग्दै, जगतको तिर्खा मेटेर सागरसित विलय हुन चाहन्छ । यसरी कविको व्यष्टिको समष्टिमा विलयप्रति प्रबल विश्वास देखिन्छ-

ए खोला

मलाई पनि तसँगै  बग्न दे

तेरो धुनमा बग्न चाहन्छु

तेरो लहरमा डुब्न चाहन्छु

…………………….

बग्दै बग्दै अरु खोलासँग मिल्न चाहन्छु ।

                     (ए खोला, पृ. १५)

कवि मणिपुरका बासिन्दा हुन् । ‘नेपाली’ शब्दले स्थानीय रैथानेहरूका मनमा सोझै नेपालको नागरिक हो भन्ने भान पर्ने र यस संज्ञाले गर्दा देशका विभिन्न प्रान्तमा बसोबास गर्ने भारतीय नेपाली वा गोर्खाहरूले विदेशीको नाममा भोगी रहेको भेदभाव देख्दा कविको मनले हाहाकार गरेको देखिन्छ । देश स्वतन्त्र भएको यतिका दिनसम्म पनि जातिले समान अधिकार र रगतको उचित मूल्य न पाएको स्थितिले  कवि मन आक्रोशित देखिन्छ-

क्यानभासको क्षितिज

क्यानभासको क्षितिज

१. कहिलेकाँहीं 

मेरो निधारमा

 ‘इण्डियन गोर्खा’ भनी

ट्याटु खोप्न मन लाग्छ ।

 (कहिले-काँहीं, पृ.४२)

२. सडक जिउँदै छ

रगत पसिना मरेको छ लावारिस

पृथ्वीको नजरबाट टाढा-टाढा ।

 (सडक, रगत अनि पसिना, पृ.५१)

परिस्थितिसँग लडेर, सामना गरेर मर्नु पुरुषत्व हो भने जटिल परिस्थितिहरूसँग भाग्नु कायरता हो । कापुरुषहरूले आफूलाई बदनाम मात्रै गर्दैन,  परिवार, जाति, समाज, देश साथै सात पुस्ताको भविष्यलाई धमिल्याइदिएका हुन्छन् । यस्ताको भर हुँदैन, विश्वास हुँदैन, उ आफू त बाँच्छ तर अरूको नजरमा भगुआ, मैदान छाडाको पगरी पाउँछ । कवि यस्ता भगुवाहरूको खबर लिँदै भन्छन्-

युद्ध छोडेर भाग्ने योद्धाहरूले

आफ्नै साथी मारे गएका छन्

आफ्नै आमाको पेटमा लात्ती हानी हिँड्ने भगन्ते

आफैं मरिरहेका छन्

काफरे पुरुष, काफरे पुरुष!

……………

उ भागेकै दिन उसको परिचय मारिएको

युद्धमा कसैलाई ध्यान छैन

…………….

आजभोलि आफ्नै घरकालाई दुश्मन देख्छ

काफरे पुरुष, काफरे पुरुष!

(भगन्ते योद्धाहरू, पृ.५६-५७)

दोहोरो नागरिकता लिने जातिभाइहरूको स्वार्थीपनले गर्दा कुनै पनि स्थान विशेषमा बसोबास गर्ने अन्य दाजुभाइहरूले स्थानीय रैथानेहरूका नजरमा आँखाको छारो बन्नु पर्ने परिस्थितिदेखि कविको हृदय विचलित भएको देखिन्छ । आफू जन्मेको माटोलाई माया गरेर त्यसैमा मर्नु-बाँच्नु नै नागरिकताको सबैभन्दा ठूलो प्रमाण हो भन्ने कुरा आजको युवा पिँढीले प्रस्ट बुझेको छ । स्थायित्वबोध गर्दै र दही चिउरेहरूको खबर लिँदै युवा कवि भन्छन्-

कि वार कि पार अब…

सम्झिने छैन तिनीहरूलाई

यहाँ पानी पर्दा त्यहाँ छाता खोल्दा

यहाँ कोही ओतिने होइन अब

यही आफ्नै जन्मभूमिमा मरिन्छ-बाँचिन्छ

ताली पड्काएर पनि गुहार मागे पनि

कुरा एउटै हो, बातै न गरे हुन्छ ।

                (कुरा एउटै हो, पृ.७३)

खुकुरीको धार र शौर्यको रापले पाएको बहादुर संज्ञाको अर्थ वर्तमानमा हाइजैक भएर अर्दली, दरबान, घरेलु नोकर भन्ने अर्थमा रुढ़ हुँदै गएको देखिन्छ । युद्ध मैदानमा अदम्य साहस देखाउँदै शत्रुपक्षमाथि हाहाकार मचाएर हासिल गरेको शौर्य प्रतीकको दुरुपयोग भएको छ । आज भारतका विविध ठाउँहरूमा, कारखाना, आफिस, अड्डा, शपिङमल, अपार्टमेन्टहरूमा दरबान, घरेलु सहायक या अन्य कार्यमा नियुक्त जम्मै नेपाली भाषीहरूको साझा नाम बहादुर बनेको देखिन्छ । यस सम्मानजनक शब्दको अपमानजनक शब्दमा अपहरण भएको छ । गोर्खाको पसिना, इमानदार, प्राण दिने तत्परता, कर्तव्यपरायणता, बहादुरी जस्ता गुणहरूको अवमूल्यन भएको देख्दा कवि उसको सही परिचय जगतलाई दिँदै भन्छन् –

बहादुर, बहादुर हो

ऊ तूफान हो

ऊ प्रकाश हो

ऊ सत्यको प्रतीक हो

………………………..

बहादुर, बहादुर हो

उसको वीरता

कुनै शब्दले दिन सकिँदैन

वीर वीर वीर

गोर्खे सपूत बहादुर

ऊ कुनै तिम्रो तासको पत्तामा

फ्री आउने

फाल्टु कागजको जोकर होइन ।

(बहादुर को? पृ.८१-८२)

रूढि भइसकेका सोच परिवर्तनमा बाधा हुने गर्छन् । विकासका निम्ति कतिपय पुराना र आधारहीन सोचहरूमा समय सान्दर्भिक परिवर्तन ल्याउनु पर्ने हुन्छ तब मात्रै आफ्नो समाजको भविष्य सुरक्षित हुन्छ । समय अनुसार विचारमा परिवर्तन न ल्याए त्यसको फल भविष्यले भोग्नु पर्ने हुन्छ ।

कविको कलमले हाम्रो समाजमा प्रचलित सोच- ‘‘पढे लेखे के काम, हलो जोतो खायो माम, छोरी चेलीले जति पढे पनि आखिर थाङ्ना चौका न सम्हाली हुन्न’’- जस्ता रूढ मानसिकताले सामाजिक विकासको बाटोलाई अवरुद्ध पारेको हुन्छ । यस कुराप्रति युवा कवि सचेत छन् । यस पक्षमा परिवर्तनका आग्रही कवि सूरज चापागाईं प्रगतिशील कविको पङ्क्तिमा खडा हुन सफल भएका छन् । यस सङ्ग्रहमा सङ्कलित कविताहरूले स्थानीय परिवेश, राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक परिवेश प्रशस्त बोकेका छन् । मणिपुरको सुरम्य र नैसर्गिक प्रकृतिको छाप यत्रतत्र कवितामा विभिन्न रङ्ग बनेर पोखिन साथै काव्य भावमा निखार ल्याउन सफल भएको देखिन्छ ।

‘क्यानभासको क्षितिज’ सङ्कलित कविताहरूको शैली पक्ष भन्नु पर्दा जम्मै कविताहरू छन्दमुक्त शैलीमा रचिएका छन् । काव्यिक प्रतीक, बिम्ब, अलङ्कार प्रयोग  लाक्षणिकता, व्यञ्जना जस्ता काव्य तत्त्वहरूको संयोजन कवितामा थोरै मात्रामा देख्न पाइन्छ । सूरज आफ्ना भावहरू सहज र सपाट भाषा-शैलीमा पस्किने कवि हुन् यसैले उनका कवितामा अभिधा अर्थको प्रधानता देख्न पाइन्छ । काव्यिक दुरूहता  नभएकाले जम्मै कविताहरू हर वर्गका पाठकहरूका निम्ति ग्राह्य बनेका छन् । कवि सूरज चापागाईंबाट यस्ता कविता सङ्कलनहरूको थप अपेक्षा गरिन्छ । यो सङ्कलन युवा साहित्य एकाडेमी पुरस्कारमा छनोट हुन सफल भएकोमा कविलाई हार्दिक बधाई छ ।

पुस्तकको नाम – ‘क्यानभासको क्षितिज

कवि  – सूरज चापागाईं

प्रकाशक  –  गोर्खाज्योति प्रकाशन, मणिपुर

प्रकाशन काल  – २०१७