प्रस्तावना :

आजको मितिमा भारतीय नेपाली साहित्यमा सबैभन्दा धेरै चर्चामा आएका, बहुमुखी प्रतिभाका धनी र नेपाली आख्यान साहित्यमा एक दर्बिलो स्थान ओगट्न सफल भएका लीलबहादुर क्षत्रीलाई असमको नेपाली साहित्य वाटिकाको मूलखाँबो भन्न सकिन्छ । सन् १९३३ मा गुवाहाटीको पुलिस रिजर्भमा जन्मिएका क्षत्री नेपाली पाठकका बिच आख्यानकारका रूपमा अधिक चर्चित भए तापनि उनी बहुआयामिक प्रतिभाका धनी हुन् । क्षत्रीको साहित्य यात्राको थालनी कविता विधाबाट भएको हो । सन् १९४९मा १६ वर्षको उमेरमा उनको पहिलो काव्यकृति ‘शिवस्तुति’ सिलाङबाट प्रकाशित हुन्छ । यसलाई उनले आफ्नो पहिलो प्रकाशित रचना भनेका छन् ।

पछि सन् २००१ मा हाम्रो ध्वनिको कविता विशेषाङ्कमा उनका कविताहरू प्रकाशित भए । सन् २०२१ मा ‘पद्यात्मक रचनाभित्र लीलबहादुर’ शीर्षकमा उनको अर्को काव्यकृति र अहिलेसम्मको अन्तिम पुस्तक प्रकाशित भएको हो । कवितापछि क्षत्रीले बिस्तारै गीत, नाटक, कथा, उपन्यास र निबन्ध आदि साहित्यका सबै विधामा कलम चलाएको देखिन्छ । कुल मिलाएर लीलबहादुरले अहिलेसम्म बाह्रवटा मौलिक पुस्तक प्रकाशित गरिसकेका छन् । यसमा चार उपन्यास, दुई कथा सङ्ग्रह, चार निबन्ध अनि एक नाटक र एक एकाङ्की सङ्ग्रह रहेका छन् ।

पूर्वोत्तर भारतबाट नेपाली साहित्यमा साहित्य अकादमी प्राप्त गर्ने क्षेत्री नै पहिलो स्रष्टा हुन् । भाषा-साहित्यमा उनको आजीवन लगनशीलता र शिक्षा क्षेत्रमा रहेको उल्लेखयोग्य योगदानका निम्ति उनी देशको चौथो सर्वोच्च गैरसैनिक सम्मान ‘पद्मश्री पुरस्कार’ले पनि सम्मानित भइसकेका छन् । यस लेखमा उनका केही नाटक, एकाङ्की र रेडियो रूपकहरू भेला पारेर डा. गोविन्दराज भट्टराईको सम्पादनमा प्रकाशित पुस्तक ‘लीलबहादुर क्षत्री चर्चित नाटकहरु’  (लीलबहादुर क्षत्रीका चर्चित नाटक ?) भित्र गाभिएका नाटकहरूको बारेमा चर्चा गरिनेछ ।

० ० ० ०

विषय प्रवेश :

नाटक दृश्यकाव्य हो । अर्थात् जुन रचनाले श्रवणद्वारा मात्रै नभएर दृष्टिद्वारा दर्शकहरूको हृदयमा रसानुभूति गराउँछ उसलाई नाटक भनिन्छ । अथवा नाटकले लेखन होइन प्रस्तुतिमा पूर्णता पाउँछ । ठिक गीत झैँ । यहाँ उनका नाटकहरूको पठनबाट प्राप्त अनुभव साझा गरिने छ ।

लीलबहादुर क्षत्री चर्चित नाटकहरू

लीलबहादुर क्षत्री चर्चित नाटकहरू

आलोच्य पुस्तकमा लीलबहादुर क्षत्रीका चर्चित दुई नाटक, तिन एकाङ्की र पाँच रेडियो रूपकहरूलाई समावेश गरिएको छ । यस पुस्तकको मूल्य ३५० रुपियाँ रहेको छ भने यसलाई ओरिएन्टल प्रकाशन गृह, काठमाडौँबाट प्रकाशित गरिएको हो ।

यसमा सम्पादक गोविन्दराज भट्टराईले ‘लीलबहादुर क्षत्रीका नाटक सङ्कलनको पृष्ठभूमि र प्रकाशन सन्दर्भ’ शीर्षकमा एउटा लामो सम्पादकीय लेखेका छन् । यसका साथै पुस्तकको सुरुवातमै यस पुस्तकमा गाभिएका नाटकहरूबारे नाटककार क्षत्रीको एउटा जानकारीमूलक लेखकीय पनि रहेको छ । उनका यी पूर्णाङ्क दुई नाटक गुवाहाटीका नाट्यहलहरूमा धेरैपटक मञ्चन भएर पनि अप्रकाशित रहेका थिए । तर, सन् २०२१ मा डा. गोविन्दराज भट्टराईको सम्पादनमा लीलबहादुर क्षत्रीद्वारा लिखित यी दुई नाटक, एकाङ्की र रेडियो रूपकहरू समावेश गरेर ‘लीलबहादुर क्षत्रीका चर्चित नाटक’ शीर्षक पुस्तक प्रकाशित गरेका हुन् ।

यहाँ समावेश भएका दुई नाटक हुन् –

१. लक्ष्य

२. दोबाटो

लक्ष्य र दोबाटो नाटकका कथावस्तु :

कथावस्तु अथवा ‘प्लट’को अर्थ ‘आधार’ या ‘भूमि’ हो । कथावस्तुले नाटकमा वर्णित घटनालाई बुझाउँछ । नाटकको कथावस्तु पौराणिक, ऐतिहासिक, काल्पनिक या सामाजिक जे पनि हुन सक्छ । यस लेखमा चर्चा गरिने पुस्तकमा समावेश भएका क्षत्रीका नाटकहरू मूलतः सामाजिक नाटक हुन्  ।

पुस्तकको पहिलो नाटक हो ‘लक्ष्य’ । यसको शीर्षकले नै एउटा गन्तव्यमा पुग्ने विषयको आभास गराउँछ । प्रथम अङ्क, प्रथम दृश्यबाट थालिएर चतुर्थ अङ्क, तृतीय दृश्यमा टुङ्गिएको यस नाटकले विशेष रूपमा असमको गोर्खा समाजमा व्याप्त समस्याहरूलाई प्रतिबिम्बित गरेको छ र अन्त्यमा समाज परिवर्तनको लक्ष्यलाई अघि बढाउने क्रम चलिरहने वार्ता दिएको छ । यस नाटकको सुरुवातमा लीला र केशवको प्रेम देखिन्छ । लीला १६/१७ वर्षकी युवती हो ।

उसको बाबुको मृत्युपछि आमाछोरी डिब्रुगड गएर बस्न थाल्छन्  । उता लीलाकी सौतेनी आमाले पैसाका लागि उसको बिहे ५० वर्ष उमेर भएको, विवाहित, १५ वर्षको छोरो भएको नन्दे महाजनसँग गरिदिन्छे । केशवसँगको उसको प्रेम अधुरो रहन्छ । यता केशव र उसका साथीहरू समाज सेवामा लागिरहन्छन् । समाज सुधारका कार्यहरू गर्दा उनीहरूले सके राम्रोसँग सम्झाउने प्रयास गर्छन् नभए खुकुरी उठाउनसमेत पछि हट्दैनन् । यसै सिलसिलामा रेशम नामको युवक रक्सी र वेश्याको कुलतमा फसेर घरमा श्रीमती र छोराछोरीको बिजोग भएको कुरा चाल पाएपछि केशव र उसका साथी उसलाई सम्झाउन जान्छन् । तर, रेशमले उल्टै केशवलाई थर्काउँछ । केशवले खुकुरी उठाउने धम्की दिन्छ ।

रेशमले ऊ गरिब भएको हुनाले यस्तो गरेका र नन्दे महाजन जस्तो धनी भए बहुविवाह गरे पनि केही गर्न सक्तैनन् भन्दा केशवले सबै कुरा चाल पाउँछ र नन्दे महाजनलाई सजाय दिने विचारले राति उसको घर पुग्छ । तर, केशवले नन्दे महाजनलाई खुकुरीले हान्दा महाजनको छोरो गोपालले खुकुरीको प्रहार आफूमाथि थाप्छ । उसको मृत्यु हुन्छ । केशवलाई जेलको सजा हुन्छ । महाजनको पनि बल्ल सतबुद्धि पलाउँछ । अन्त्यमा उसले लीलालाई धर्मछोरी बनाउँछ र केशवको खुकुरीको जिम्मा अब उसले लिनुपर्छ भन्छ ।

समग्रमा भन्नुपर्दा ‘लक्ष्य’ नाटकको लक्ष्य नै हो अशिक्षा, रुढीवादको समस्या, नारीहरूले भोगेका समस्या, बहुविवाह प्रथा आदि हटाएर एउटा सुन्दर समाजको स्थापना गर्नु । अर्थात् यस नाटकको कथानक एक सामाजिक सुधारवादी दृष्टिकोण बोकेर अघि बढेको छ । यस नाटकमा विशेषगरी युवावर्गले देश, जाति र समाजमा फैलिएको विकृति हटाउनुपर्छ भन्ने जिम्मेवारीबोधको सन्देश छ । केशव, वीरेजस्ता युवाले एकजुट भएर समाजमा परिवर्तन ल्याउने र वैज्ञानिक दृष्टिकोण भर्ने काम गरेको देखिन्छ । नाटक रोचक र कौतूहलपूर्ण छ ।

यस पुस्तकको दोस्रो नाटक हो ‘दोबाटो’ । यो नाटक प्रथम अङ्क, प्रथम दृश्यबाट प्रारम्भ भएर चतुर्थ अङ्क, द्वितीय दृश्यमा पुगेर अन्त्य भएको छ । यस नाटकमा एउटी महिलाको परिस्थितिले गर्दा एक्लिएपछिको व्यथा, मनस्थिति र ऊप्रतिको सामाजिक दृष्टिकोणले गर्दा उत्पन्न भएको दोधारे अवस्थालाई देखाउने प्रयास गरिएको छ ।

कथावस्तुको रूपमा आफ्नो सैनिक स्वामी मदनको मृत्युको खबर आएपछि विवशता बाँचेकी गीताले परिस्थितिवश समाजको मुख टाल्न भए पनि धनवीरसँग विवाह गर्नुपर्ने हुन्छ । तर, दुई वर्षपछि मदन जिउँदै फर्किन्छ । दोधारमा पेरेकी गीताको मनमा धेरै खलबल भए पनि उसले अन्त्यमा धनवीरलाई नै अपनाउने निर्णय गर्छे । यसले नाटकमा भिन्न स्वाद भरेको छ । साथै सम्बन्धभन्दा कर्तव्य ठुलो भन्ने सन्देश पनि छाडेको छ । नाटक रोचक हुनुका साथै अन्त्यसम्म कौतूहलता कायम रहेको छ ।

एकाङ्कीहरू :

‘लीलबहादुर क्षत्री चर्चित नाटकहरू’ सङ्ग्रहमा समावेश भएका दुई सामाजिक नाटकहरूपछि तिनवटा एकाङ्की नाटक समावेशित छन्  । यी हुन् –

१. शुरूको शुरू

२. माग

३. भाइटीकाभित्रै

नाटकहरू जस्तै यी एकाङ्कीहरूका कथावस्तु पनि सामाजिक यथार्थवादी छन् भने दृष्टिकोण पनि सुधारवादी नै देखिन्छ । माथि पहिल्यै उल्लेख गरे झैँ साहित्यका श्रव्य र दृश्य भेदमध्येमा नाटक दृश्यकाव्यअन्तर्गत पर्दछ भने त्यही नाटकको एक प्रकारको छोटो संरचनालाई एकाङ्की भनिन्छ । एकाङ्की भनेकै एउटा अङ्क भएको नाटक हो जहाँ एकमुखी घटना रहने गर्छ, आयाम छोटो हुन्छ, पात्रमा न्यूनता हुन्छ ।

यस पुस्तकको पहिलो एकाङ्की ‘शुरूको शुरू’लाई असममा बसोबास गर्ने गोर्खा जातीको जातीय अस्तित्व र सामाजिक समस्याहरूको प्रतिबिम्ब भन्न सकिन्छ । पुस्तकका सम्पादक गोविन्दराज भट्टराईका अनुसार ‘शुरूको शुरू’ एकाङ्की सन् १९८६ तिर लेखिएको हो र त्यस समयमा भारतको संविधानमा नेपाली भाषाले मान्यता पाएको थिएन । सङ्कटमय समय थियो । गोर्खा समाज अशिक्षा र रुढीवादले ग्रसित थियो । प्रस्तुत एकाङ्कीले यिनै कुरा छर्लङ्ग पारेको छ ।

उल्लेखित पुस्तकको दोस्रो एकाङ्की हो ‘माग‘ । यसमा निम्नवर्गको भोगाइ प्रष्ट देख्न सकिन्छ । काराखानामा काम गर्ने भारतीय गोर्खा मजदुरहरूको न्यून आर्थिक स्थिति र उनीसँगै उनीहरूका परिवारले भोग्नुपरेका दयनीय स्थितिको ज्युँदो तस्बिर हो ‘माग’ ।

पुस्तकको तेस्रो एकाङ्की ‘भाइटीकाभित्रै’मा भने गोर्खा जातिका चाडपर्वमा पसेका विकृतिहरू देखाइएको छ । यसका साथै जात-पात र भेदभावको विरोध गर्नु पनि यस एकाङ्कीको उद्देश्य रहेको देखिन्छ  ।

रेडियो रूपकहरू :

एकाङ्कीपछि यस पुस्तकमा क्षत्रीका पाँच रेडियो रूपक समवेश गरिएको छ । यी हुन् –

१. प्रतीक्षा

२. अर्द्ध शताब्दीभित्र एक जोर परेबा

३. कन्यार्थी

४. मिलन

५. महिषासुर बध

यस पुस्तकमा दिइएको जानकारीअनुसार आकाशवाणी गुवाहाटीबाट यीलगायत अरू रेडियो रूपकहरू पनि सन् १९६०-६२ तिर प्रसारित भइसकेका छन् ।

रेडियो रूपक शुद्धरूपमा रेडियोजन्य लेखिएका हुन्छन् । नाटक भए तापनि यो श्रव्य विधा हो । यो लेखक र प्रस्तुतकर्ताका लागि आफ्नो रचनाधर्मितालाई उजागर गर्नका लागि एउटा सशक्त उपकरण हो । रेडियो रूपकमा अभिनेता देखा पर्दैन, उसको संवाद प्रक्षेपनको कुशलतामा नाटकको सफलता निर्भर गर्दछ ।

यस लेखमा चर्चा गरिएको पुस्तकको पहिलो रेडियो रूपक हो ‘प्रतिक्षा’ । विवाहपछि एउटा सन्तानकी आमालाई छाडेर विदेशिएका श्रीमान पछि फर्केर घर आउँछन् भन्ने आशामा बाँचेकी स्त्रीको मर्म साथै अन्तर्द्वन्द्वलाई यस रूपकमा सुन्दर तरिकाले उजागर गरिएको छ ।

दोस्रो रेडियो रूपक हो ‘अर्द्ध शताब्दीभित्र एक जोर परेबा’ । यो पनि एक सामाजिक घटनामै आधारित रूपक हो । प्रायः हाम्रो छेउछाउ घटिरहेका, घर- संसार, छोराछोरी भन्दाभन्दै आफ्ना इच्छाहरू पूरा नभई बुढेसकालमा प्रवेश गरिसकेका र आफ्नै सन्तानबाट तिरस्कृत एक दम्पतीको व्यथाको कथा छ यसमा ।

यस्तै प्रकारले तेस्रो रेडियो रूपक ‘कन्याथी’मा भने आफ्नो योग्यताभन्दा अधिक चाह राख्ने एक युवकको अहङ्कार चूर्ण भएको देखाउने प्रयास गरिएको छ । नायक चन्टु आफू सुन्दर र पढेलेखेको नभए पनि पढेलेखेकी र सुन्दरी स्त्री विवाह गर्ने चाहना राख्दथ्यो । तर कन्यार्थी भएर महाजनका घरमा गएको दिन हजुरी र शिक्षिकाको योजना उसले नबुझ्नाले शिक्षिकालाई महाजनकी छोरी र छोरीलाई नोकर्नी सम्झियो । अन्त्यमा जस्तालाई त्यस्तै भन्ने उखान यहाँ खटेको छ ।

‘मिलन’ सङ्ग्रहको अर्को रेडियो रूपक हो । यसको नायक एक सैनिक हो । उसले देशकालागि कलासँग हुनलागेको विवाह पनि छाडेर हिँड्नु र नायिका कला पनि विवाह नगरी बस्नुजस्तो घटनाले यस रूपकमा प्रेम र देशप्रेमको सुन्दर उदाहरण प्रस्तुत गरेको छ । अन्त्यमा दुवैको सुन्दर मिलन भएको पाइन्छ ।

रेडियो रूपकको तथा पुस्तककै अन्तिम नाटक ‘महिषासुर वध’ हो । यो हिन्दू धर्मशास्त्रबाट लिइएको दुर्गामाता र महिषासुरको कथामा आधारित । जसमा महिषासुर राक्षसको दुर्गाले संहार गरेको विवरण पाइन्छ ।

० ० ० ०

क्षत्रीका नाटकका पात्र-पात्रा :

नाटकमा नाटक रचकका आफ्ना विचारहरू, भावहरू आदिको प्रतिपादन पात्रहरूका माध्यमबाट नै गर्नुपर्ने हुन्छ । नाटकको कथानक पात्रहरूको कार्यव्यापारले अघि बढाउँदछ । त्यसैले नाटकमा पात्रहरूको विशेष स्थान हुने गर्छ । पात्रहरूको सजीव र प्रभावशाली चरित्र नै नाटकको मुटु हो । नाटकको प्रमुख पात्र अथवा नायक कलाको अधिकारी होस् तथा समाजलाई उचित दिशातिर लाने खालको होस् भन्ने एक मान्यता पाइन्छ ।

भारतीय परम्पराअनुसार ऊ विनम्र, सुन्दर, शालीनवान, त्यागी, उच्चकुलीन हुनुपर्दछ । तर, आजको समयका नाटकहरूमा किसान, मजदुर आदि कोही पनि पात्र हुन सक्छन् । पात्रहरूका सन्दर्भमा नाटककारले केवल तिनै पात्रहरूको सृष्टि गर्नुपर्छ जो घटनाहरूलाई गतिशील बनाउनमा तथा नाटकका चरित्रमाथि प्रकाश पार्नमा सहायक हुन सक्छन् । लीलबहादुर क्षत्रीका नाटकका पात्र-पात्राहरू हेर्नु हो भने पुरुष पात्रहरू निकै सबल र नारी पात्रहरू अलिक पारम्परिक बन्धनमा बाँधिएका र केही दुर्बल देखिन्छन् ।

पहिलो नाटक ‘लक्ष्य’मा ‘केशव’ निडर, सरल, शक्तिशाली र सामाजिक उन्नति चाहने सकारात्मक विचार भएको सबल नायक हो । तर, नायिका ‘लीला’ दुर्बल देखिन्छे । यस नाटकमा ‘वीरे’ सहयोगी पात्रको रूपमा रहेको छ, ऊ पनि एक सबल पात्र हो । लीलाकी सौतेनी आमाको भूमिकामा रहेकी ‘कलावती’ भने नकारात्मक चरित्रकी पात्र हो । यहाँ ‘नन्दे महाजन’ पहिला नकारात्मक देखिन्छ भने अन्तिममा सकारात्मक बन्छ । अर्थात् ऊ एक अस्थिर पात्र हो । अरू गौण पात्रहरू हुन् जङ्गे, लीलाका बाबु, गोपाल, दले, गोपालकी आमा, पुरोहित बाजे, गङ्गाधर, हरि, कमला, रेशम आदि ।

यस पुस्तकको दोस्रो नाटक ‘दोबाटो ‘ को मुख्य पात्र हो ‘गीता’ । ऊ दुर्बल पात्र देखिन्छे । नाटकमा ‘धनवीर’ सबल पात्र हो । यसमा अरू सहयोगी र गौण पात्र-पात्रा हुन्- मदन, शान्ति, मीना, रमेश, रतन, मने, दार्शनिक, कवि, वैज्ञानिक आदि । यसमा मदन सकारात्मक र शान्ति अनि मिना सबल पात्र हुन् । बाँकी थोरै नकारात्मक देखिन्छन् ।

प्रस्तुत पुस्तकमा स्थान पाएका तिन एकाङ्कीहरूका पात्र पात्राहरू पनि यी एकाङ्कीहरू लेखिएका समयअनुसार पुरुष केही सबल र नारीहरू अलिक दुर्बल, परम्परावादी साथै सामाजिक बाध्यतामा रहेको देखिन्छ । जस्तै ‘शुरूको शुरू’ एकङ्कीकी पात्रा कौशिला दुर्बल पात्र हो । साथै उसका पतिको भूमिकामा रहेको पात्र ‘विर्षबहादुर’ लाई सबल पात्र भन्न सकिन्छ ।

‘माग’ एकाङ्कीमा पुरुष पात्र मानवीर र नारी पात्र टुल्की मुख्य पात्र हुन् । यसमा रहेकी नारी पात्र ‘टुल्की’ नकारात्मक पात्र हो । पुरुषपात्र ‘मानवीर’को क्रियाकलाप अन्त्यसम्म एकैखालको स्थिर छ र उसलाई स्थिर पात्र भन्न सकिन्छ  ।

तेस्रो एकाङ्की ‘भाइटीकाभित्रै’मा फेरि पात्र-पात्राहरूमा पुरुष र नारी दुवैलाई सबलतामा समान देखिन्छ । जस्तै यसमा जेठा, रमा, सुरेश, गणेश, रामु, आदि । यी पात्रहरूमा गणेश नाउँको पात्रमा सकारात्मकता ज्यादा छ ।

पुस्तकको अन्तिमतिर रहेका पाँच रेडियो रूपकका पात्र-पात्राहरू मञ्चमा गर्ने नाटक भन्दा केही फरक छन् । कारण रेडियो नाटकमा पात्रहरू प्रत्यक्ष रूपमा देखा पर्दैनन्, उनीहरूको अभिनय देख्न पाइँदैन र नाटकसँग सम्बन्धित सबै जानकारीहरू संवादका माध्यमबाटै गरिन्छ, प्रष्टिन्छ । पात्रहरूका चारित्रिक विशेषताहरू पनि संवादद्वारा नै उजागर गर्नुपर्ने हुन्छ । यसरी नाटकको सम्पूर्ण कथानक संवादमाथि निर्भर रहन्छ । यसमा संवाद र ध्वनि प्रभावका माध्यमबाट कथालाई श्रोताहरूसमक्ष पुर्‍याइन्छ । रूपकमा उद्घोषकको पनि अहम भूमिका रहन्छ ।

यिनै कुराको ख्याल राख्तै लेखिएका र पुस्तकमा समावेश गरिएका लीलबहादुर क्षत्रीका रेडियो रूपकहरूका पात्र-पात्राहरूमा नारी पात्र ‘प्रभा’, ‘विमला’ र ‘रुकु’लाई दुर्बल देखिन्छ । तर, ‘कला’ भने सबल पात्रका रूपमा देखिन्छे । ‘दुर्गा’ पनि सबल हो । पुरुष पात्र ‘प्रितम’ र ‘रेशम’, अलिक दुर्बल देखिन्छन् भने ‘हजुरीराम’, ‘चन्दु’, ‘सम’, ‘दम ‘महाजन’ आदि सकारात्मक र सबल देखिन्छन्  । यसका साथै पुरुष पात्र ‘मदन ‘मा पनि सबलता नै झल्किन्छ ।

कुल मिलाएर क्षत्रीले उनका नाटकहरूमा धेर सबल पात्रको समावेश गराएर नाटकका घटनालाई सकारात्मक परिणाममा टुङ्ग्याएका छन् ।

० ० ० ०

देश, काल र वातावरण :

देशकाल र वातावरण भन्नाले नाटकको कथानक अघि बढेको परिवेश, समय र अवस्था बुझिन्छ । देशकाल र वातावरणको चित्रणमा नाटककारले समय र मानिसको रुचिअनुरूप विशेष सतर्क रहन आवश्यक हुन्छ । नाटकलाई स्वाभाविक, विश्वासयोग्य, प्रभावकारी, औचित्यपूर्ण तथा सजीव पार्नका लागि देशकाल र वातावरणमा उचित ध्यान राखिन्छ । यसका अतिरिक्त पात्रहरूको वेशभूषा तत्कालिक धार्मिक-राजनीतिक-सामाजिक परिस्थिति, मानिसको रुचि, प्रचलन आदिसँग मिल्दोजुल्दो हुनुपर्छ ।

यसरी नाटकका तत्त्वहरूमा देश, काल, वातावरणको आफ्नै महत्त्व हुन्छ । लीलबहादुर क्षत्रीका नाटकहरू पनि उक्त कुराको ध्यान  राखेर लेखिएका हुन् । उनका नाटकहरू मूलरूपमा असमको पृष्ठभूमिमा लेखिएका छन् । धेरैजसो असमको गुवाहाटी, डिब्रुगड आदि सहर र गाउँहरू नाटकका परिवेशसूचक स्थानको रूपमा रहेका छन् । यति हुँदाहुँदै पनि घटनाहरू सार्वकालिक र सार्वस्थानिक छन्  ।

० ० ० ०

संवाद :

नाटकमा नाटककारले आफ्नो तर्फबाट भन्न चाहेको कुराहरू भन्ने समय र मौका हुँदैन । उसले पात्रहरूको संवाद वा वार्तालापद्वारा नै कथावस्तुको उद्घाटन तथा पात्रहरूका चरित्रको विकास गर्ने गर्छ । त्यसैले नाटकका संवाद सरल, सुबोध, स्वाभाविक तथा पात्रअनुकूल हुनै पर्छ । संवादहरू सटिक र आकर्षक नहुँदा नाटक हेर्न लायक हुँदैन ।

फेरि पनि संवादहरूमा गहन विषयलाई पनि सरल तरिकाले प्रकाश गर्ने कलात्मकता हुनुपर्छ । गम्भीर दार्शनिक विषयहरूसँग जटिल संवादले नाटकको अनुभूतिमा बाधा पार्दछ । त्यही भएर यस्ता संवादको प्रयोग हुनुहुँदैन ।

यी सबै कुरालाई ध्यानमा राखेर नाटकको कथानकको मागअनुसार कोहीबेला स्वागत कथन तथा गीतहरूको योजना पनि आवश्यक मानिन्छ । लीलबहादुरका नाटकमा पनि प्रारम्भ र अन्त्यमा गीतको प्रयोग भएको छ । संवादहरू पनि सरल, सुबोध र स्वाभाविक छन् । धेरै जस्तो लामा संवाद छन् भने केही छोटा र वातावरणअनुसारका छन् । कोहीबेला लामा संवादले दर्शकलाई पट्यार लाग्न सक्ला । नाटकका केही प्रभावकारी संवाद यस्ता छन् –

वीरे (केशवलाई देखेर) : अरे केशव, तिमी ?
केशव : अँ, कताको साइत ?
वीरे : अहिले त हतार छ, तिमीसित समाजको विषय लिएर धेरै कुरा छन् । अस्ति पनि पारिको गाउँमा एउटी विधवा युवतीको विवाह रोक्न पण्डित मण्डलीको पञ्चायत बसेको थियो रे । बडो समस्या छ ।
केशव :  अँ, यो त म पनि बिचार गर्दैछु ।
वीरे :  अच्छा, यो केही दिनमा तिमी अझ विचार गर । फेरि भेटौँला, ऐले गएँ  ।
केशव : अच्छा । (लक्ष्य, पृ. नम्बर ७)

० ० ० ०

द्वन्द्व :

यसै त नाटकमा आन्तरिक द्वन्द्व भन्दा बाह्य द्वन्द्व ज्यादा हुने गर्छ र लीलबहादुरका नाटकहरूमा पनि बाह्य द्वन्द्व नै अधिक छ । यी बाह्य द्वन्द्वमा संस्कार-संस्कृति-मान्यता र परिवर्तन बीचको द्वन्द्व, पुरुष अहम र नारी अस्मिताबिचको द्वन्द्व, व्यक्ति व्यक्तिबिचको आत्मप्रतिष्ठाको द्वन्द्व, विविध राजनैतिक-सामाजिक द्वन्द्व देखिन्छ । जस्तै –

गोपालकी आमा : (नन्देतिर फर्किएर) आफ्नो सोखको लागि बिहा रचाउने धुनमा छोराको पनि माया लागेन तिमीलाई, धिक्कार छ, यस्ता बाउलाई । त्यस्का जगल्टा उखालेर तिम्रो छेउमा थुप्रो लाउन सकिन भने अनि भन्नु ।
नन्दे : हेरौँला जगटा कस्का थुप्रा लाग्छन् तेरा कि उसका । (लक्ष्य, पृ.३१) ।

यो पुरुष सत्तात्मकता र नारी अस्मिताबिचको प्रत्यक्ष द्वन्द्व हो ।

यस्तै प्रकारले लीलबहादुरका नाटकका पात्रहरूमा आन्तरिक द्वन्द्व न्यून भए पनि एक दुई पात्रहरूमा यसको उपस्तिथि पनि छ । जस्तै ‘प्रतीक्षा’ नाटकमा ‘प्रभा’ले लोग्नेको वियोगमा भोगेको मानसिक द्वन्द्व यस्तो छ –

“यो कस्तो स्वप्न ? स्वामीसित भेट भयो अनि उनी मलाई त्यागेर गए अफालेर गए । त्यसो भए के उनले मलाई बिर्से ? मेरो यो दीर्घ प्रतीक्षा वृथा हुनेछ ? के उनी कहिले फर्केर आउँदैनन् ? अहँ, त्यो हुन सक्दैन उनले मलाई बिर्सन सक्तैनन् ।” (पृ. १९३ ‘प्रतिक्षा’)

० ० ० ०

कौतूहल :

नाटकहरू पढ्दै जाँदा अथवा हेर्दै जाँदा ‘अब के हुन्छ !’ भनेर दर्शकलाई अल्मल्याइरहन सक्नु नाटककारको सफलता हो । यसैलाई कौतूहल भनिन्छ । यस पुस्तकमा भएका लीलबहादुरका नाटहरूमा अन्त्य बडा रोचक छन् । पाठकलाई सुरुदेखि कौतूलहका साथ बाँधेर लान सक्ने क्षमता छ । जस्तै पहिलो नाटक ‘लक्ष्य’मा लीला र केशवको प्रेमिल कुराबाट प्रारम्भ भएर यस नाटकले समाजका धेरै समस्याहरूलाई देखाउन र यस्ता समस्याहरूको समाधान गर्दै अघि बढ्दै गर्दा उत्सुकता बढाउने काम गरेको छ ।

० ० ० ०

भाषाशैली :

नाटक सर्वसाधारणको वस्तु हो । अतः उसको भाषाशैली सरल, स्पष्ट र सुबोध हुनुपर्छ । जसले गर्दा नाटकमा प्रभावकारिताको समावेश हुन सकोस् तथा दर्शकलाई क्लिष्ट भाषाका कारण बौद्धिक श्रम गर्नु नपरोस् । अन्यथा रसको अनुभूतिमा बाधा पुग्छ । सोहीअनुरूप लीलबहादुरका नाटकहरूमा भाषा सरल र सुबोध छ । तर, निकै ठाउँमा स्थानीय असमिया र अङ्ग्रेजी भाषाको प्रयोग भने देखिन्छ । हुन त नाटकका पात्रहरूले बोलेको भाषा नै नाटकको भाषा हो । क्षत्रीका नाटकमा कतै कतै काव्यात्मक भाषाको प्रयोगले भाषामा मिठास भर्ने काम गरेको छ । जस्तै –

विमला : एउटा (एउटी ?) छोरी सहार्नु त कस्तो धौ धौ छ, फेरि छोराको चौ चौ । (अर्द्ध शताब्दीभित्र एक जोर परेबा, पृ.२००)

पात्रा-पात्राका थेगो (खुबै मनासिब ‘कन्यार्थी’की पात्र उजुरीको थेगो), ठेट नेपाली शब्दको प्रयोग, उखान र तुक्काको व्यवहार आदिले पूर्ण छन् क्षत्रीका नाटकहरू । कुनै नाटकका शीर्षक नै प्रतीकात्मक छन् । जस्तै – ‘अर्द्ध शताब्दीभित्र एक जोर परेबा’ ।

क्षत्रीको भाषामा हिज्जेगत त्रुटीहरू पनि पाइन्छन् जसले दर्शकमा कुनै प्रभाव नपारे पनि पाठकलाई अल्मल्याउँछ । जस्तै – रेडियो रूपक ‘महिषासुर वध’मा यही देखिन्छ । पुस्तकको सूचीमा यहाँ उल्लेख गरे जस्तो हिज्जे छ भने रूपको शीर्षकमा ‘महिसासुर’ अनि पाठमा फेरि ‘महिषासुर’ लेखिएको छ । उसैगरी ‘परेवा’लाई बोलचालको भाषाअनुरूप ‘परेबा’ लेखिएको छ । यो सम्पादनकै कमजोरी पक्ष पनि हुन सक्छ ।

यति हुँदाहुँदै पनि संवादहरू ठिक्कका हुनु, भाषा पात्रानुकूल हुनु, भाषामा सरलता र मिठास हुनुले नाटकलाई थप उर्जा प्रदान गरेको छ ।

० ० ० ०

परिणाम :

दर्शकका हृदयमा रसको संचार गर्नु नै नाटकको उद्देश्य हो । भारतीय दृष्टिकोण सधैँ आशावादी रहेको छ । त्यही भएर संस्कृतका प्रायः सबै नाटक सुखान्त रहेका थिए । पश्चिमी नाटककारहरूको मत के छ भने नाटककारले पौराणिक या ऐतिहासिक घटनाहरूको वर्णन गर्नका उद्देश्यले नाटक लेख्तैनन् । तर, उसका मध्यमबाट उनीहरू केही मूल्यहरू एवं आदर्शहरूलाई प्रस्तुत गर्ने गर्छन् ।

साथै पाश्चात्य साहित्यकारहरूले साहित्यलाई जीवनको व्याख्या मान्दै साहित्यप्रति यथार्थ दृष्टिकोण अपनाएका छन् । जसका प्रभावले यता भारत साथै असममा पनि कति नाटक दुखान्तमा टुङ्गिएका छन् । तर, सत्य यो नै हो कि उदास पात्रहरूका दुखान्त अन्त्यले दर्शकको मन खिन्न हुन्छ । लीलबहादुरका नाटकहरूमा भने सुखान्त र दुखान्त दुवै प्रकारको परिणाम देखिन्छ । अनि परिणाम दुखान्तै भए पनि चित्तबुझ्दो खालको छ ।

० ० ० ०

अभिनय :

अभिनय नाटकको त्यो गुण हो जसले दर्शकलाई आकर्षित पार्छ । यस सन्दर्भमा नाटककारले नाटकहरूको रूप, आकार, दृश्यहरूको सजावट अनि उसको उचित सन्तुलन, परिधान, व्यवस्था, प्रकाश व्यवस्था आदिको पूरा ध्यान राख्नुपर्ने हुन्छ ।

अर्को तरिकाले भन्नु हो भने लेखकको दृष्टि रङ्गशालाको विधि-विधानतिर विशेष रूपमा हुनुपर्दछ । यसैमा नाटकको सफलता निहित छ । यी कुराहरूमा ध्यान राखेर लीलबहादुरका नाटक मञ्चमा प्रस्तुत गर्नु हो भने धेरै सुन्दर हुन्छन् । किनभने अभिनय नाटकको प्रमुख तत्त्व हो । नाटकको श्रेष्ठता पात्रहरूको वाकचातुर्य र अभिनय कलामाथि निर्भर रहन्छ ।

० ० ० ०

लीलबहादुरका नाटकहरूको विशेषता :

१. क्षत्रीका नाटकहरूमा असमका गोर्खाहरूका समस्या देखाइएको छ ।
२. नाटकहरू सबै सामाजिक नाटक हुन् ।
३. नाटकहरू पढ्दा साँचो घटनामा आधारित जस्तो लाग्छ ।
४.नाटकहरू सरल र सुबोध छन्  ।
५. भाषामा स्थानीय भाषाको छाप छ ।
६. संवादहरू पात्र-पात्राहरूअनुरूप छन् । तर, एक-दुई नाटकमा संवाद अलिक धेरै लामा पनि छन् ।
७. प्रायः नाटकमा जातीय अस्मिता र देशप्रेमको भावना देखिन्छ ।
८. समाजमा व्याप्त कुप्रथा र रुढीवादको विरोध छ ।
९. नाटकहरूले विचार परिवर्तनको चाहनाको सन्देश बोकेका छन् । तर, थोरै परम्परागत मान्यतालाई पनि आत्मसात गरेका छन् ।
१०. कुनै कुनै नाटकमा गोर्खाली मजदुरहरूको मार्मिक स्थिति पनि दर्शाइएको छ । निम्नवर्गको भोगाइलाई प्रतिबिम्बित गरिएको छ ।
११. आधुनिक सन्तानको उनीहरूका आमा-बुबाप्रतिको दुर्व्यवहार झल्किएको छ ।
१२. क्षत्रीका नाटकहरू कौतूहलपूर्ण, द्वन्द्वले भरिएका र पाठक दर्शकलाई आकर्षण गर्ने खालका छन् ।
१३. नाटकहरूमा हास्यरस कम छ । तर, गीतको समाहार छ । कतै कतै ईश्वरको वन्दना पनि समावेश गरिएको छ ।
१४. प्रायः नाटक सपाट छन्, प्रतीकात्मक छैनन् ।
१५. उनले सुखान्त र दुखान्त दुवैखाले नाटक लेखेका छन् ।

० ० ० ०

उपसंहार :

अन्यान्य भाषाका नाटकहरू झैँ नेपाली नाटक पनि पठनका लागि लेखिएका र मञ्चनका लागि लेखिएका गरी दुई प्रकारका पाइन्छन् भने क्षत्रीका नाटकहरू मञ्चनको दृष्टिकोणले लेखिएका नाटक हुन् । नाटक पुस्तकमा पढ्नु भन्दा मञ्चमा खेलिँदा त्यसको प्रकृत रूप देख्न सकिन्छ । त्यही भएर होला लीलबहादुरका नाटकहरू पनि यस पुस्तकमा छापिनुभन्दा पहिल्यै धेरै चर्चित भएका थिए ।

अन्त्यमा भन्नुपर्दा लीलबहादुर क्षत्रीका नाटक, एकाङ्की र रेडियो रूपकहरूले समाजका धेरै पाटाहरूलाई समेटेका छन्  । अतीत र वर्तमान दुवै समयका कथ्य र शिल्प समेटेका छन् । उनले यस सङ्ग्रहका नाटकद्वारा जातीय अस्मिताको चेतना, रुढीवादको विरोध, शान्ति, एकता र समन्वयको जुन सन्देश दिने प्रयास गरेका छन् त्यो सराहनीय छ । उनले यी नाटकमा समकालीन समाजको प्रतिबिम्ब देखाएका छन्  ।

गोविन्दराज भट्टराईद्वारा सम्पादित प्रस्तुत सङ्ग्रह सबैखाले पाठकका लागि उपयुक्त देखिन्छ । यति हुँदाहुँदै पनि प्रस्तुत सङ्कलनको सम्पादनमा केही त्रुटिहरू अवश्य रहेका छन् । पुस्तकको आवरण र अन्तर्भागमा पुस्तकको नाममा फरक देखिन्छ ।

जस्तै पुस्तकको आवरणमा ‘लीलबहादुर छत्री चर्चित नाटकहरू’ भनेर शीर्षक राखिएको छ भने अन्तर्भागमा ‘लीलबहादुर छत्रीका चर्चित नाटक’ भनेर राखिएको छ । यो एउटा ठुलै गल्ती हो । अब पाठकले कुन शीर्षकलाई मान्यता दिनु ? टङ्कन र हिज्जेका केही गल्ती सुधार्नु आवश्यक थियो । जेहोस् क्षत्रीका छरपस्ट नाटकहरू एकत्र पारेर एउटा सिङ्गो सङ्कलन निकाल्ने गोविन्दराज भट्टराईको प्रयास सराहनीय छ ।

नाटककार क्षत्रीको यस पुस्तकमा रहेको आफ्नै भनाइले यो लेख यहाँ समाप्त गर्न चाहेँ- “मेरा आरम्भ कालमा प्रकाशित उपन्यासमा बसाइँ (सन् १९५७) र अतृप्त (सन् १९६७) मा पाइने प्रभाव जस्तो नाटक लक्ष्य र दोबाटोमा परिलक्षित हुन्छन् ।” (लेखकका केही शब्दहरू, पृ. दुई)  ।

० ० ० ०

सन्दर्भ ग्रन्थसूची :

१. लीलबहादुर क्षत्री चर्चित नाटकहरु, सन् २०२१, सम्पादक: गोविन्दराज भट्टराई, ओरिएन्टल प्रकाशन गृह, काठमाडौँ ।

२. इन्द्र सम्पूर्ण, ग्रन्थ २, सन् २००४, सम्पादक विजयकुमार राई, निर्माण प्रकाशन नाम्ची, सिक्किम ।

३.लीलबहादुर क्षत्री : शिवस्तुतिदेखि पद्मश्रीसम्म, रुद्र बराल, स्रष्टा, वर्ष ४३, अङ्क ८४, नवेम्बर/दिसम्बर २०२२  ।

४.असमेली नेपाली समालोचना, खण्ड-१, खण्ड-२, सम्पा : रुद्र बराल, कृष्णनील कार्की ।

५. नाटक – विकिपीडिया https://hi.m.wikipedia.org