एउटा चिता भर्खर जलेको छ । खरानी उडिरहेको छ आकाशमा । एउटा कायाको अस्तित्व समाप्त भएको छ ।

कल्पना गरौँ— चिता जलेको होइन । कोही समुद्रमा खसेको छ युगौँअघि, र त्यो समुद्र जमेको छ हिउँ बनेर । युगौँपछि, हिउँको समुद्रभित्रबाट निकालिएको उक्त ‘सुरक्षित’ लाशको परीक्षण भइरहेको छ, मङ्गल ग्रहको कुनै प्रयोगशालामा । थाहा लाग्छ— जलवायु परिवर्तनले, समुद्री अम्लीकरणले, मत्स्य सिकारले उक्त लाश पलपल मर्दै छ, र ‘पर्माफ्रोस्ट’ भित्र सुरक्षित त्यस जीवाश्मबाट निस्किरहेको आगो, चिताको आगोजस्तो साँच्चै तातो छ ।

प्रेम । जीवन । मृत्यु । इतिहास । भूगोल । वर्तमान । भविष्य । विज्ञान । पृथ्वी । मङ्गल । नवरस । एउटै कविता ‘चिताको आगो साँच्चै तातो हुँदोरहछे’ को सवारीमा यी सबै घुम्तीको सयर गराए मलाई भूटानी-नेपाली कवि रमेश गौतमले । फनफनी घुमाए । अभिधामा । लक्षणामा । व्यञ्जनामा । पढिसक्दा चिऽऽऽसो पनि बनाए । ताऽऽऽतो पनि बनाए ।

आगो र पानी सँगसँगै बोकेर हिँड्ने यी प्रतिभावान् कविलाई मैले एक वर्षअघि काठामाडौँमा भेटेको थिए । भेट त्यही पहिलो र, आजसम्मका लागि अन्तिम पनि । एउटा कार्यक्रममा पनि बोलाए, पुग्न सकिनँ । निकै शालीन, धेरै भद्र । दयालु र संवेदनशील । विद्वान मान्छे, नर्वेमा बसेर विद्यावारिधि गरिरहेका एक भूटानी-नेपाली । अनुसन्धानसँगै शिक्षण पनि गरिरहेका । पछिपछि उनले अन्य साथीहरूका पुस्तकमाथि लेख्ने गरेका भूमिका, प्राक्कथन र समीक्षाहरू पनि फेला पारेँ । सोचेँ— मेरैजस्तो रहेछ ‘लत’ ।

उनका कविता पढ्नतिर लागेँ । तत्काल केही बोल्न, लेख्न, भन्न, प्रतिक्रिया दिन सकिनँ, जानिनँ । वास्तवमा, ‘चिताको आगो साँच्चै तातो हुँदो रहेछ’ शीर्षकको उनको पहिलो कवितासङ्ग्रह फेला पारेकै साता मैले पढिसकेको हुँ । तर चुँ बोलिनँ । कारण— उनका कविताले मलाई ट्रमामा पुर्‍याए । अलि झोँक पनि चलाए । सोचेँ— यिनी, निराशाको बाटो हुँदै, निराशाकै घुम्तीभञ्ज्याङ काटेर, फेरि निराशामै वास बस्छन् । पाठकलाई पनि त्यतै तान्छन् । घोर अन्धकारकै बीच पनि उज्यालो कल्पने लत बसेको मजस्तो एउटा ढिट अम्मलीलाई हायलकायल पार्छन् । त्यसैले लेखिनँ ।

एक वर्ष भयो । बीचमा केही भूटानी-नेपालीहरूसँग उठबस गरेँ । अमेरिकातिर बरालिँदा न्युयोर्कको अपस्टेटमा पर्ने रोचेस्टरतिर खूब हिँडेँ भूटानी-नेपालीका घरघर । म वास बसेको एउटा घरमा ‘आमा, हिउँ पर्‍यो नि’ भन्दा बूढी आमा भन्थिन्, ‘धेर् चिसो । उता भूटानतिर त परे पनि न्यानो हुन्थ्यो ।’

भन्थेँ, ‘आमा, यी अमेरिकी सुन्तला त निकै मीठा हुँदारैछन् नि ।’

आमा भन्थिन्, ‘उता भुटानमा झनै मीठा ।’ पानी परेका दिन भन्थिन्, ‘उता पनि परो होला हौ ।’

पेन्सिभेनियातिर पनि चहारेँ । ओहायो भ्याएँ । न्यु ह्यामसायर गएँ । इलिनोइ पुगेँ । मिनेसोटा पुगेँ । रमेश गौतमलाई निकटबाट चिनेका जेएन दाहाल, भक्त घिमिरे, डेन्जोम साम्पाङ, शिवलाल दाहाल, खेम रिजाल…धेरै साथीहरू भेटेँ । फर्केपछि नेपालमै पनि थप मान्छे भेटेँ— बलारम पौड्याल, गोविन्द रिजाल, हेम गुरागाईँ । सबै सबैबाट सुनेको कथालाई पोको पारेँ दिलमा र एउटा चस्मा बनाएँ । त्यही चस्मा लगाएर फेरि पढेँ रमेश गौतमका कविता । अनि थाहा पाएँ — उनका कवितामा किन त्यति निराशा छ, असन्तुष्टि छ, आक्रोश छ, छटपटी छ, अन्धकार छ, प्रोटेस्ट छ ।

मेरो रिस असीमित प्रेममा रूपान्तरित भयो । अनि उनका ५५ कवितामा खोज्न थालेँ उनलाई ।

१९८३ मा भूटानको चिराङ जिल्लाको लामिडाँडामा जन्मेका गौतम कलिलै उमेरमा घरदेश छोडेर नेपालतिर भाग्ने काफिलामा मिसिए । करिब दुई दशक लामो कहरपूर्ण शरणार्थी जीवनपछि नर्वे हान्निएँ । झट्ट हेर्दा केही पाए, तर त्यसलाई उनी ‘प्राप्त वरदान/नमिठो जीत’ ठान्छन् । सारमा सबथोक गुमाएको अनुभव गर्छन् । यो पाएजस्तो देखिनु, र वास्तवमा सबै थोक गुमाउनुको दोसाँधमा उभिन्छन् उनका कविता ।

यस्तोमा मभित्र फर्फुर् फुर्फुर् गरिरहने एउटा ‘अपस्टार्ट’ समालोचकलाई बलात् थन्क्याएँ एकातिर र एउटा भावक बनेर आएँ यी कविताको उत्सवमा । समालोचकलाई भनेँ— ‘भन्नै पर्ने केही भए अन्त्यतिर भन्नू । अहिले चुप !’

‘क्लेफ्ट’ अर्थात् खण्डित यथार्थ बोकेर उभिएको एउटा मान्छेले सोझो कुरो बोल्दैन । यो कुरो बुझिएन भने, गौतमको पहिलै कविता, ‘सुरुआत’ को पहिलो हरफ नै समस्याग्रस्त लाग्छ । भन्छन्, ‘मान्छेहरू/विदीर्णतामा पिल्सिँदैनन् ।’ उनी आफैँ पनि, म पनि, सायद तपाईं पनि, र अरू धेरै, विदीर्णतामै त पिल्सिइरहेका छौँ । के भनेका गौतमले  ? फेरि भन्छन्, ‘निरीहतामा बिलाउँदैनन्’, ‘विक्षिप्ततामा हराउँदैनन्,’, ‘मान्छे…द्वेषहीन नयनहरूले / स्वार्थहीन हृदयले / संसार हेर्छ ।’ पहिलो पठनमा, मेरो पहिलो प्रतिक्रिया थियो— ‘ह्या, यो होइन । बूढाले उल्टो लेखे ।’

तर, जब मलाई उनको व्यङ्ग्यचेतनाको बोध भयो, र कालो इतिहासले निर्माण गरेको उनको क्लेफ्ट मनोभावको चुरोकुरो खुल्यो, मैले कुरा बुझेँ । एक निमेष, केवल एक निमेष, समयले लिने मान्छेको परीक्षालाई स्थगित गरिदिने हो भने, गौतमले कल्पना गरेको अनुपातमा मान्छे सकारात्मक होइदिन सक्थ्यो । तर, समयसँग त्यो सदासयता कहाँ छ ?

यो वक्रोक्तिको खेल, विरोधाभासहरूको मेल, र यो व्यङ्ग्यचेतको रेल — गौतमको सङ्ग्रहभरि नै दौडिन्छ । ‘तिम्रो साथ’ कवितामा जो साथी छ, अथवा सम्भावित प्रेमी छ, एक-आपसभित्र हराइसक्दा पनि उसैले देख्दिन यो मिलन । यसको अर्थका तह विविध होलान्, तर यो विरोधाभासको सुन्दरतम प्रयोग हो । ‘तिम्रो तस्बिर’ शीर्षकको कवितामा कविसँग कहिल्यै दोहोरो बात नगर्ने जो अर्धमुदित ओठहरू छन्, तिनी नबोलेरै कविको अर्धचेतन हृदयसँग संवाद गरिरहन्छन् ‘धाराप्रवाह / हरपल-हरक्षण-निरन्तर !’  ‘तिम्रो अनुपस्थिति’ मा अज्ञात ‘तिमी’ साथमै भएर पनि अनुपस्थित हुनु पनि विरोधाभास हो, तर यसलाई बुझ्न प्रेमलाई भैतिकताको सीमापरि, आध्यात्मिकताको पडाउमा कल्पना गर्नुपर्ने हुन्छ । प्याराडक्सको प्रयोगमार्फत ‘तिमी देश बन्न सक्छौ भने’ शीर्षकको कवितामा भूटानका क्रूर शासकको चित्रण गौतमले यसरी गरेका छन्—

अफ्नो शासकको स्वणर्महोत्सवमा

जिग्मी सिङ्नेहरूले

टेकनाथहरूलाई

सिन्दूर लगाएको देखाइदिन्छु (५४)

‘लामो सलामी दिएर वर्तमानलाई’ शीर्षकको कवितामा उनी लेख्छन्, ‘समय द्रुत गतिमा दगुरिरहेछ / तर यही समयको / गतिहीनताले पिल्सिएर /आज यहुदी बस्ती रोइरहेछ ।’ यानि, अतिशय गतिवान् समयमा पनि यहुदी बस्ती ‘गतिहीनता’ मा पिल्सिएको छ । ‘भाग्य’ शीर्षकको कवितामा एउटा प्रेमीको चित्रण छ जो ‘आफूले असीम श्रद्धा गर्ने आफ्नै छायाजस्ती’ प्रियतामाका लागि एउटा योग्य वर खोजिरहेको छ । उसको ‘भाग्य’ नै विरोधासपूर्ण छ । ‘कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा’ मा प्रयुक्त ‘नपग्लियोस्’ भन्ने शब्दले कविले कल्पना गरेको ‘श्वेतकमल’ हिउँ हो कि भन्ने सङ्केत गर्छ । त्यस हिउँको बारेमा उनी लेख्छन्, ‘म चाहन्छु / श्वेतकमलको यो गुच्छा / कहिल्यै नपग्लियोस् ।’ ‘नमीठो खुसी’ त शीर्षकै आफैँमा ‘ओक्जिमोरोन’ हो — एक विरोधाभास हो ।

नवसमालोचनावादीहरूले त कविताको भाषा नै विरोधाभासी हुन्छ भने । उनको तर्क एक रूपविन्यासवादी तर्क थियो । तर विरोधाभासको एउटा मनोवैज्ञानिक पक्ष पनि हुन्छ । जब कविको यथार्थ असामान्य हुन्छ, र जीवन देखिएजस्तो हुँदैन, उसले विरोधाभासको बाटो अख्तियार गर्नु स्वाभाविक हुन पुग्छ । रमेश गौतमलाई यस नजरियाबाट पनि हेर्न सकिन्छ ।

रमेश गौतमको पृष्ठभूमि — भूटान, शरणार्थी प्रकरण, शरणार्थी शिविरको वास, शिविरबाहिर धेरै ठाउँ कामको खोजी, कष्टपूर्ण विद्यार्थी जीवन र अन्ततः तेस्रो मुलुकमा पुनर्वास । यिनलाई मध्यनजर गर्ने हो भने उनका कवितामा कतिपय ‘प्रेडिक्टिबल’ विषयहरू आउँछन् । स्वाभाविक पनि हो । ती उनको कविताका सर्वविदित पक्ष हुन् । चर्चा गरे पनि ती छन्, नगरे पनि छन् । देशको खोजी, न्यायको शङ्ख, परिचयको सन्धान, विसङ्गत जीवनको सङ्गतिपूर्ण व्याख्याको प्रयास, निराशको व्यवस्थापन…आदि । उनले कवितामा पटक पटक व्यक्त गरेका शिविरको जीवनका कष्टकर दिनहरू, जीवनको मूल्यहीनता, निर्णयहीनता, गन्तव्यहीनता, अनुभूति शून्यता, दारुणता, परिचयहीनता…आदि विषय आइरहन्छन् ।  यी उनको कविताका केन्द्रीय विषय हुन् । तर यिनको विवेचना पाठकहरूकै हातमा छोड्दिँदा पनि हुन्छ । कारण, तिनलाई सबैले देखिहाल्छन्, थाहा पाइहाल्छन् । ‘भूटानी-नेपाली’ अधिकांश कविहरूका यी साझा विषय पनि हुन् ।

मलाई अन्यत्र बरालिन मन छ यतिखेर ।

पीडाबाट मुक्तिको एउटा काव्यिक बाटो पत्ता लगाएका छन् कविहरूले । जोन किट्सले यसलाई ‘निगेटिभ क्यापिबिलिटी’ भने । आफ्नो वस्तुस्थितिलाई कल्पनाशक्तिले दबाएर उठ्नु । प्रकृतिका हर्षपूर्ण विम्बहरूसँग एकाकार हुन खोज्नु । ‘आजकल मलाई मान्छे मन पर्दैन / मलाई मान्छेको अस्तित्व पनि मन पर्दैन’ भन्नु, आखिर, मान्छे हुनुको सत्यलाई नकार्नु पनि होइन । यो एक ‘निगेटिभ क्यापिबिलिटी’ को प्रदर्शन हो, र त्यसको प्रमाण चैँ यहाँ छ —

चराहरूको अस्तित्वमा

आफूलाई स्थानान्तरित गरेर

म आफू रित्तिनुभन्दा अगाडिको पल

म आफू सिद्धिनुभन्दा अगाडिको क्षण

पृथक् अनुभूतिले पोत्न चाहन्छु । (‘म चरा भएर उड्न चाहन्छु ।’)

यी कविताको बुनोट, उचाइ र ध्वनि, मलाई कताकता पीबी शेलीको ‘टु अ स्काइलार्क’ र जोन किट्सको ‘ओड टु अ नाइटिङ्गेल’ तुल्य लागे । यस कवितामा कवि गौतमको रोमान्टिक सेल्फ आफ्नो उच्चतम विन्दुमा पुगेको भान हुन्छ ।

तर कवि गौतमसँग रोमान्टिक सेल्फको रोमाञ्चमा जुनी बिताउने सुविधा छैन । यथार्थकै बारेमा भन्न एक जुनी कम पर्छ उनलाई । उनी, त्यसैले, बेलाबेला रोमान्टिकताको गाउँमा विचरण गर्न मन पराउने मान्छे भए पनि वस्तुतः यथार्थवादी कवि हुन् ।

कविताका उपकरणबाट गौतमका कविताको विवेचनमा प्रवेश गरौँ । गौतमले प्रयोग गरेका उपमा, रूपक र प्रतीकहरू र तिनले पाठकको मन-मस्तिष्कमा निर्माण गर्ने विम्बहरूको आकलनले पनि उनको काव्यदृष्टि बुझ्ने एउटा आधार दिन्छ । ‘मेरो हृदयमा जमेका बरफका ढिक्काहरू’ उनको मानसमा बिझाइरहने निकासहीन पीडाको कथा भन्न पर्याप्त छन् ।

‘परावर्तित गरेर मरुद्यानको सुन्दरता / एउटा प्राकृत पोखरी मुस्कुराउँथ्यो’ भनिरहँदा उनी एउटा मृगतृष्णाको विम्ब उतार्छन्, जसलाई उनको हरदम स्थगित भइरहने, अथवा चिप्लिइरहने सपनासँग दाँजेर हेर्न सकिन्छ । बर्सात्, बादल, इन्द्रेणी, जून, नीलिमा, अस्ताउँदो घाम, समुद्रजस्ता प्रतीक सुन्दर भएर पनि अप्राप्य हुन्छन् र साथमा भएर पनि दीर्घकालसम्म रहँदैनन् । यिनलाई एकत्र गर्ने हो भने, यिनले रमेश गौतमको तरल मनोलोक निर्माण गर्दछन् । उष्ण बगर, माछाहरूको क्रीडा, स्थिर पानी, गोमन चालहरू, भ्यागुताहरूको ट्वार्र-ट्वार्र, मरुभूमिको एक घुट्को पानी…यी ज्यादै प्रभावशाली रूपक हुन् ।

‘आत्मसमर्पण गरेको गुरिल्लाजस्तै निन्याउरो अनुहार’ अथवा ‘सडकजस्तै पीडा’ जस्ता उपमाले उनको कवितामा गाम्भीर्य थपेको देखिन्छ । उनका कविताभरि न्याउलीहरू कर्कश आवाज निकालेर रुन्छन् । समय पत्थरजस्तो छ । वरिपरि बिच्छी र अजिङ्गरहरू फैलिएका भेटिन्छन् । यी सबैका अर्थ यिनका शब्दार्थभन्दा धेरै पर, र धेरै धेरै भित्र छन् । यिनले कवि गौतमले अतीतबाट विरासतमा पाएका, र दिलमा खिल बनाएर राखेका ऐतिहासिक घाउहरूको कथा बोल्छन् ।

अतीत बारम्बार आवृत्त हुन्छ कवि गौतमका कवितामा । त्यस अतीतको ठूलो हिस्सामा भूटानका ती आदिम दिनहरू छन्, जब उनी साना थिए, र उनका पाइलामा पनि र आँखामा पनि मनोरम रहरहरू कुँदिएका थिए । यो अतीतमोह आप्रवासीहरूको लेखनको एउटा साझा प्रवृत्ति पनि हो ।

उनको बाल्यकालीन सम्झनामा एउटा निर्दोष, आह्लादपूर्ण र रहरलाग्दो भूटान छ । गाउँको विद्यालय, घरछेउको नास्पातीको रुख, नागबेली सडक, फूलजस्तै सुन्दर बालबालिकाहरू आदि त्यस निर्दोष अतीतका विम्ब हुन् । अलि पछि, यानि, उनी करिब करिब किशोरावस्थामा प्रवेश गरिसकेको भूटानको चित्र भने हिंसक, रक्तरञ्जित र अन्यायकारी छ । यस समयका चित्रणमा महासुर क्षेत्रीको हत्या, आकाशमा गर्जने ड्रागन, काल्पनिकै सही एक्लै लिखापानी आइपुगेकी जयमायाको दारुण कथा, धमिलो सुनकोश, चाम्लिमिथाङमाको युद्ध, उग्येन वाङ्चुकको सत्तारोहणजस्ता काला पक्ष उल्लेखित छन् ।

माथि उल्लेखित दारुण र दर्दनाक कथानकका बीचबीचतिर प्रेम पनि एउटा अविछिन्न नालिका बनेर बगिरहेको भेटिन्छ गौतमका कवितामा । मेरो अनुमान छ— यी उनका प्रारम्भिक दिनका कविता हुन् । प्रेम उनका लागि पृथक् अस्तित्वकारहरूको विलय हो । प्रेम, प्रेमीहरूको भौतिक अस्तित्वको पनि विलय हे । ‘मेरो हृदय मेरो हृदय मात्र होइन, त्यो तिमी बस्ने सिंहासन पनि हो’, हामी ‘एक-आपसमा हराएको तिमीले पनि देखिनौ’, तिमीलाई देख्दा ‘बिलाउन थाल्थे /मेरो हृदयमा जमेका / बरफका ढिक्काहरू’, ‘तिम्रो पङ्खा हल्लाइले / शीतल हुन्थ्यो सडक / अझ शीतल हुन्थ्यो मेरो हृदय’ जस्ता हरफहरूमा उनको प्रेमदर्शन लुकेको भेटिन्छ । तर, उनका अलिपछिका कविता भने बढीभन्दा बढी आस्तित्विक मुद्दातिर ढल्किएका भेटिन्छन्, र त्यो स्वाभाविक पनि हो ।

विज्ञान र गणितका कतिपय पाटाहरूको सटीक प्रयोग कवि गौतमको अतिरिक्त क्षमता हो । उनले ठाउँठाउँमा ‘टोटल इन्टरनल रेफ्लेक्सन’ को कुरा, प्रकाश वर्षको अवधारणा, साइबर क्राइमका कुरा, आइन्स्टाइन र उनको सापेक्षताको सिद्धान्त, पर्माफ्रोस्ट र गणितको ‘अचल गुणाङ्क’ यानि ‘कन्स्टेन्ट’ को कुरा गरेका छन् । यिनको मेसो नपाएका पाठकहरूले यहाँनिर कवि गौतमलाई ‘क्लिष्ट’ भन्न पनि सक्छन् । थोरै पाण्डित्य छाँटेको आरोप लाइदिन पनि सक्छन् ।

सूक्तिमयता कवि गौतमका कविताको विलक्षण सामर्थ्य हो । उनका धेरै कवितामा लामो समयसम्म झनझनाइरहने अभिव्यञ्जनापूर्ण हरफहरू भेटिन्छन्, जहाँ भन्न मन लाग्छ, ‘वाह !’  । ‘कहिलेकाहीँ एउटा हृदयदेखि / अर्को हृदयसम्म पुग्न / कैयन् प्रकाश वर्षको दूरी / पार गर्नुपर्दो रहेछ’ जस्ता हरफ साँच्चै सूक्तिमय छन् । अथवा, हेरौँ यी हरफहरू —

हिउँको कुनै देश हुँदैन

यो जमेको छहराले

कुनै भूगोललाई आफ्नो भन्दैन

यी स्वच्छन्द उड्ने चराहरूको

सभ्यतालाई विभाजित गर्ने

कुनै संस्कृति हुँदैन (‘तिमी, म र त्यो नीरव साँझ’)

यहाँसम्म प्रशंसापर्व चलाएँ । प्रेमले चलाएँ । दिलबाटै चलाएँ । रमेश गौतमको काव्यिक परिचय ‘भूटानी-नेपाली’ को कोष्ठकभित्र सीमित हुने खालको छैन । उनी सम्पूर्ण नेपाली वाङ्मयका एक शक्तिशाली समकालीन कविप्रतिभा हुन् ।

अब मभित्रको चुर्के समालोचकलाई थोरै बोल्न अनुरोध गर्दछु । कतिबेर थुनेर राख्नु र ? आलोचनापर्व सुरु गर्छु ।

रमेश गौतम कुरा दोहोर्‍याइरहन्छन् । निरीहता, अनिर्णय, विक्षिप्तता, गन्तव्यहीनता, पहिचानहीनता…घुम्दै आइरहन्छन् । एकदुईचोटि बलियोसँग भनेपछि त कुरो बुझिन्छ नि ! उनको यथार्थ उनको यथार्थ हो, तर, उनको कविता सुन्न त उनी होइन, पाठक आएका हुन्छन् । ती पाठक उही ध्वनि, उही विषय, उही विस्मय, उही विषमता, उही पृष्ठभूमि, उही प्रसङ्गबाट आहत भए पनि उल्टो पर्न जान्छ दाउ । यो कविको स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

अर्को कुरा, पाठकले बुझिदिँदैन भन्ने डर लाग्छ सायद, उनी विम्बहरूको व्याख्या आफैँ गरिदिन्छन्, र सुरुमा सुन्दर, प्रतीकात्मक, शब्दका हिसाबले मितव्ययी र घनत्त्वपूर्ण बनेर उठेको कविता भाषणमा टुङ्गिइदिन्छ । उदाहरण: ‘मरुभूमि र क्याक्टस’ । ‘धमिलो आकाश’ कवितामा भूटानले ‘ग्रस हेप्पिनेस इन्डेक्स’ को फर्जी आँकडा दिएर सब ठिक छ भन्ने सन्देश फैलाउने दुष्प्रयास गरेको विषय छ, तर प्रकोपहरू भने आइसल्याण्ड, पोल्याण्ड र हाइटी आदि देशबाट टिपिएका छन् । भूटानभित्रै कहरको कमी पक्कै थिएन भन्ठान्छु । कताकति उनका कुरा बाझिन्छन् पनि ।

‘आखिर जीत मेरै भयो’ मा कुनै काल्पनिक तर हिंसक ‘तिमी’लाई सम्बोधन गर्दै उनी भन्छन्, ‘म कहिल्यै पलायनतर्फ गइनँ /तिमी हार्यौ / आखिर जीत मेरै भयो ।’

फेरि ‘पराजय’ शीर्षकको कवितामा, उस्तै ‘तिमी’लाई सम्बोधन गर्दै लेख्छन्, ‘जीत तिम्रो भएको छ / म पराजित भएको छु ।’

के बुझूँ ? ‘तिमी नेपाली अरे !’ शीर्षकको कविता आवश्यकताभन्दा धेरै बढी नकारात्मक छ । यसले नेपालीलाई विश्वपरिवेशमा केवल एक शोषित, पीडित, निरीह र ठगिएको जातको रूपमा चित्रण गरेको छ । तर, सत्य के हो भने यस्ता दर्जनौँ क्षेत्र छन्, जहाँ नेपाली सगौरव उभिएको छ र आफूलाई चिनाएको छ ।

अर्को कुरा, कविताको अभूतपूर्व कौशल हातमा भएर पनि कवि गौतम धेरैजसो कवितामा अभिधात्मक अभिव्यक्ति र स्व-व्याख्यामा उत्रिएका छन् । ‘शोविङ’ कम, र ‘टेलिङ’ बढी छ । यस्तो शैलीले पाठकलाई स्वतन्त्र चिन्तन गर्ने, आफ्ना हिसाबले अर्थको निरूपण गर्ने मौकै दिँदैन । मेरो यो टिप्पणीलाई अस्वीकार गर्ने छुट कविलाई छ, तर पनि, उनको प्रतिभाको उच्चता आफैँ घटाउँछ विस्तारित व्याख्याहरूले ।

अन्तिम टिप्पणी — रमेश गौतमका कविताका पाना पानामा फैलिएको उनको आख्याता ज्यादै नै निराशावादी, लाचार र ऊर्जाहीन छ । म ठान्छु, विगत जति कहरपूर्ण भए पनि, र छुटेको अतीतको अभाव सधैँ आत्मामा खड्किने भए पनि उनले, त्यसै खरानीबाट फिनिक्स बन्नुपर्छ, र सिर्जनामा त्यो अभिव्यक्ति दिन थाल्नुपर्छ । उनका कविताले मजस्ता हजारौँ हजार निराश र लाचार मान्छेलाई केही हरफमा प्रेरणा देओस्, ऊर्जा देओस्, उज्यालो देओस् । प्लिज ! उनका कविताले उनकै भाइपुस्तालाई अबको बाटो उज्यालैतर्फ हो भन्ने देखाओस्, प्लिज !

अब म उपसंहारतिर फर्कन्छ । ‘चिताको आगो साँच्चै तातो हुँदो रहेछ’ मा, अनेक घुम्ती र मोड हुँदै रमेश गौतम केही त खोजिरहेछन् । त्यो के हो ? हामी अनुमान नगरौँ । अनुमान फेल खान सक्छ । उनको साधना र सन्धानको वस्तु, उनकै भाषामा बुझौँ । उनले नै भनेका छन्, ‘मान्छे हुनुको शाश्वतता /म चाहन्छु’ । ‘पर्दाभित्रको संसार बाहिरसँग तुलनायोग्य बनोस्’ तथा ‘यो अर्थहीन, निरस एकालाप टुङ्गियोस्’ भन्ने पने उनको अपेक्षा छ । भन्छन् —

जीवनको खोजीमा

जीवनको अर्थको खोजीमा !

म कतै जान चाहन्छु —

दूरस्थान ! (म कतै जान चाहन्छु – दूरस्थान)

जीवनको खोजीमा उनको यस यात्रामा हामी कसरी सहयात्री बन्न सक्छौँ, त्यो सोचौँ न । उनले जहाँ जीवन भेट्टाउँछन्, जीवनको अर्थ भेट्टाउँछन्, हामीले पनि त्यहाँ उज्यालो भेट्टाउने छौँ । आनन्द भेट्टाउने छौँ । इतिहासले डामेको एउटा पुरानो घाउ निको पार्ने मल्हम भेट्टाउने छौँ । यसमा हामी विश्वस्त हुन सक्छौँ ।

कृतिः   चितोको आगो साँच्चै तातो हुँदोरहछ (कविता-सङ्ग्रह)

कृतिकारः रमेश गौतम (भूटान, हाल नर्वे)

प्रकाशकः   साहित्य परिषद् भूटान

प्रकाशन वर्षः सन् २०२२