
रक्सी खाएर कहिल्यै नलेख्ने मनु खास गरी बिहान ४ बजेदेखि करिब नौ-दस बजेसम्म लेखिसक्थे रे । र, त्यसपछि यायावर ।
नेपाली कथा तथा गजल साहित्यका शिखर व्यक्तित्व ब्राजाकी याने मनु ब्राजाकी हुन् वा प्रमाणपत्रका चेतमानसिंह भण्डारी, या औरही, महोत्तरीका श्यामबाबु यी सबै मेरा अचिनारु हुन् । अआफन्ती हुन् । गोरु बेचेको साइनोसम्म पनि छैन । देखेको,भेटेको,चिनेको होइन । जुन बेला म कलेजीय वयमा थिएँ, खास गरी गरिमा र मधुपर्कका पातामा ब्राजाकी उदाउँथे । त्यो उदाइ यति जब्बर थियो कि दिमागमा सशक्त मार्करले ब्राजाकी नाम लेखिन्थ्यो । औरही, महोत्तरी लेखिन्थ्यो । सम्झेको कुरा त्यत्ति हो ।
समयका कालखण्डमा मान्छे जन्मे, हुर्के, बढे, पढे, लेखे, नाम कमाए, सुख पाए, दुःख पाए, संसार भोगे—भोगाए र परमयात्राको बाटो तताए । कैयौँ मान्छे यही जीवनको जन्ममृत्युको गोलचक्करमा घुमेर बिताइरहेका छन् । तर मेरा दिमागबाट त्यो सशक्त मार्करले लेखिएको ब्राजाकी नाम मेटिएन । झन् जाज्वल्यमान भएर दिमागका पत्रमा बसेको छ । उनका कथाका पात्रहरूमा मैले नचिनेका ब्राजाकी सजीव बनेर मेरा वरिपरि घुमिरहेका छन् ।
र, सुसंयोग कोलोराडो निवासी विमल अधिकारीको सौजन्यमा ‘मनु ब्राजाकीको श्यामकहानी’ को तात्तातो पिडिएफलाई बिजुलीले कम्प्युटरका भित्तामा हालिदियो । हार्दिक आभार विमल सर । र, यही संयोगका कारणले मैले यो जुनीमा भेट्न नपाएका स्रष्टा ब्राजाकीलाई उनकै ‘श्यामकहानी’भित्र आलेखकाहरूका मानुषी अक्षरका डिकामा अमानुष व्यक्तित्व खोज्दै छु । र, तत्क्षण प्रयुक्त उक्तिहरूबाट वशीभूत हुँदै छु ।
‘मनु ब्राजाकीको श्यामकहानी’ संस्मरणात्मक कृति हो । कृतिको आवरण नीलो पृष्टभूमिमा मनु ब्राजाकीको सौम्य तस्बिरले बनेको छ । आवरणको पश्च भागमा ब्राजाकीका केही उक्ति छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), कोलोराडो शाखा, अमेरिकाले प्रकाशन गरेको यो पुस्तकमा डा. हरिप्रसाद सिलवालको प्रमुख सम्पादकत्व, जीवनपानीको सम्पादकत्व, विमल अधिकारीको संयोजकत्वको सिप परेको छ र २०७९ को कात्तिक महिनामा प्रकाशित भएको छ । राजु सिटौलाको आवरणकला, यदु उपाध्यायको लेआउट, स्व. नकुल सिलवालको परिकल्पनामा कृतिले मूर्त रूप लिएको छ । परमधाम पुगेका साहित्यकार ब्राजाकीका बारेमा कृति निस्कनु नै अभूतपूर्व कार्य हो । यो कार्यका लागि सम्बन्धित सबैलाई बधाई र धन्यवाद ।
पुस्तकले एउटा परिवेश बोकेको छ । मनु ब्राजाकीले नेपाली कथा तथा गजल साहित्यमा भरपुर लेखे । तर उनको जीवनले आफ्नो आत्मवृत्तान्त लेख्ने अन्तिम इच्छा पूरा भएको हेर्न पाएन । भ्याएन । आत्मवृत्तान्त लेखन तथा मृत्युको दौडमा मृत्युले नै जित्यो । तर मृत्युपश्चात नै भए पनि यो अनेसास कोलोराडोको हृदयका स्पन्दनले ‘मनु ब्राजाकीको श्यामकहानी’ नाममा सो आत्मवृत्तान्त पूरा भयो । म धन्यवाद भनूँ अनेसास कोलोराडोलाई । आफन्ती तथा आलेखकारहरूलाई । मनु ब्राजाकीका प्रकाशित-अप्रकाशित संस्मरणहरू, ब्राजाकी पत्नी तथा छोरीका संस्मरणहरू, मनु ब्राजाकीसँग सङ्गत गर्ने विविध महानुभावहरूका ब्राजाकी केन्द्रित संस्मरणहरू समावेश भएर पुस्तक प्रकाशित भएको क्षणमा म गदगदीय पुलकित भएको छु ।
===
अब पुस्तकभित्रका सम्झौटाहरूमा प्रयुक्त ब्राजाकीको उक्तिभित्र ब्राजाकीलाई नै खोजौँ । तर त्योभन्दा पहिले सम्पूर्ण जनहरूमा यो आलेख पुस्तकको सकारात्मक परिचर्चा (पोजिटिभ बुकरिभ्यू) मात्र हो, समालोचना होइन भन्ने कुराको निवेदन टक्र्याऊँ ।
खण्ड (क) मा मनु ब्राजाकीका आफ्नै १५ वटा सम्झौटाहरू छन् । पुष्कर लोहनीलाई लेखेको पत्रदेखि अमेरिकाको आत्मानुशासनसम्म याने कि नेपाल, भारत, अमेरिकाआदिका संस्मरण छन् ।
पुष्कर लोहनीलाई लेखेको पत्रमा ब्राजाकी आफैँले आफ्नो जीवनलाई मूल्याङ्कन गरेका छन्, ‘भूमि छोडेर गगनचुम्बी हुन खोजेका आफन्तको समानान्तर म बाँच्न सकिनँ’ र ‘रक्सीको नशामा बैनीलाई अँगालो मार्ने पुँजीको किरा मलाई नैतिकताबारे उपदेश दिन्छ’ भनिएको छ । यी दुवै वाक्यमा पहिलो वाक्यले सम्भ्रान्त परिवारमा जन्मेको भए पनि उनको जीवनशैलीलाई उजागर गरिएको छ भने अर्को वाक्यले सामन्तवादी, परम्परावादी तथा पुँजीवादी समाजको नैतिकताको ढोङमाथि सशक्त बज्र प्रहार गरिएको छ ।
सुनील पुरीलाई लेखेको पत्रमा ब्राजाकीको पछिल्लो कालखण्डको मनोविज्ञान ‘न ता आफूखुसी अमेरिका आएको थिएँ न ता आफूखुसी नेपाल फर्किने सम्भावना छ’ प्रष्टरूपमा देखिन्छ ।
पुस्तकमा ब्राजाकीका एकदम मिल्ने साथी कुमुद देवकोटाको निधनपछि ब्राजाकीले लेखेको एउटा सम्झना छ । जसमा ब्राजाकीको हृदय पग्लेको छ र स्वाभिमान बोलेको छ, ‘ऊ अशरीर भयो, शरीरभार र सबै थरीका पेट—पीडाजन्य उत्पीडनबाट मुक्त । मायामोह मुक्त’, ‘उसले मेरा रचनाहरू पढ्छ । म आलोचना माग्छु, ऊ प्रशंसा पस्किन्छ । म मौनधारण गर्छु’ । कुमुद देवकोटाको निधनमा ब्राजाकी यति भाव विह्वल हुन पुगे कि ‘तिमी पनि प्रतीक्षा गर कुमुद, जहाँ छौ ! म पनि प्रतीक्षा गर्दै छु, जहाँ छु’ भन्ने वाक्यले श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
‘चमत्कारको दुनियाँमा’ भन्ने आलेखमा पनि ज्यादै गतिला दर्शनहरू प्रस्तुत भएका छन् । उनले ‘आफूभन्दा बाहेक कुनै स्थिर वस्तुसित तुलना नगरी आफ्नो गति थाहा पाइँदैन’, ‘म बाल्यावस्थादेखि नै अत्यन्त संवेदनशील र उत्कट जिज्ञासु हुनाले र सप्रमाण ज्ञान प्राप्त गर्ने बहुलट्ठी स्वभावले गर्दा औँला नपोली आगो भन्ने नचिन्ने खालको थिएँ’ भनेका छन् । ‘प्रथम लिखित रचनाको संस्मरण’ नामक आलेखमा ‘बम्बईमा सडकमा सुत्न थालेपछि पो थाहा भयो मजस्ता लाखौँ व्यक्ति बम्बईमा सडकमै सुत्दा रहेछन् (२६), ‘नवभारत टाइम्सको रविबारीय अङ्कमा परिचर्चा स्तम्भअन्तर्गत श्याम कुमारको नाउँमा छापियो (२८)’ भन्ने जानकारी दिइएको छ । ‘सम्झना विश्वनाथ गल्ली र दालमण्डी’ संस्मरणमा ‘अतः धर्मात्माहरूको हुलले घेरिएर पिटाइ खाँदै गरेका हामी दुवै (उनी र उनको अति मिल्ने मुसलमान साथी) निरूपाय र निरीह किशोरहरू रुन थाल्यौँ (३२)’, ‘दालमण्डीको वेश्यालयको मूल्यवान् प्रेम जति स्वार्थमय छ समाजको अवमूल्य प्रेम पनि त्यति नै स्वार्थमय छ (४०)’ ।
संस्मरणमा ब्राजाकी अब्बल इतिहासअन्वेषक तथा सांस्कृतिक चित्र कोर्न सिपालु पाएको छु । पाटलीपुत्र अर्थात् पटना शीर्षकमा पाटलीपुत्रको इतिहास, वर्तमान अवस्था आदिको चर्चा छ । सहरसँग ब्राजाकीको अुनभूति बिछट्टको छ । उनी भन्छन्, ‘यो सहर पनि उस्तै छ जस्तो सबै सहरहरू हुने र्गछन् । सडक घुइँचो छ । ठूलाठूला बिल्डिङहरू छन् । सानासाना झुपडीहरू छन् । पोस एरिया छन् । सबर्बन स्ल्म्स छन् र सेठ छन् (४७) ।’
‘मनु ब्राजाकीको श्याम कहानी’ शीर्षकको निबन्धमा ब्राजाकीप्रति कमलमणि दीक्षितको भनाइ ‘मनु ब्राजाकी श्याम रहेछन् थाहा थिएन, उनी चेतमानसिंह रहेछन् थाहा थिएन । चेतमानसिंहले कति हन्डर खाएछन् थाहा थिएन । तर थाहा थियो मनु ब्राजाकी एउटा अनमोल साहित्यिक रत्न हो’ ले ब्राजाकीको इतिहास तथा महत्त्व दर्शाएकाे छ ।
यद्यपि जन्म सदैव मृत्युको नै हुन्छ तापनि मृत्युबोध सबैलाई एकै समय एकनासले हुँदो रहेनछ । ब्राजाकीको बाल्यकालमा उनीसँग घटेको घटना ‘दुईतीन बर्षे त्यस उमेरमा मलाई रुन्चे लाग्यो भनेर त्यही आँगनमा डोकोले छोपेर डोकोमाथि एक मुठी सिस्नो राखे । पुसमाघको काठमाडौँको जाडोमा गाग्रीको पानी खन्याइयो रे’ बाट नेपाली समाजको अन्धविश्वासका बारेमा ज्ञात हुन्छ । यही निबन्धमा ब्राजाकी भन्छन्, ‘पछि अझै ज्ञान वृद्धि हुँदै जाँदा मलाई सङ्कीर्ण विचार, रूढि—परमपराका सङ्कीर्ण क्रियाकलाप, क्षुद्र र स्वार्थी मानसिकता, वैचारिक छेकवार, ससाना टुक्रामा विभाजित जाति, वर्ण र वर्ग, छद्मबौद्धिकता, परम्परागत मूल्य—मान्यताजन्य फोस्रा आदर्शहरूदेखि पनि विमुख हुँदै उदार विचार र मौलिक चिन्तनको खुला क्षेत्र मन पर्न थाल्यो ।
मलाई नितान्त आदर्शवादी र सैद्धान्तिक चिन्तक तर घोर अव्यावहारिक पनि बनायो । यसैले मलाई आफन्तहरूको सङ्कीर्ण गल्लीबाट निकालेर विश्वबन्धुत्वको राजमार्गमा पुर्यायो । अन्तर्राष्ट्रवादी दृष्टिकोण भएको व्यक्ति बनाइदियो । हजुरबुबा नयाँनयाँ प्रकारका ताल्चा किनेर बाकस र कन्तुरमा लगाउने म नयाँनयाँ टेक्निकद्वारा खोलिछाड्ने बनारसदेखि जम्मुकस्मिरदेखि कन्याकुमारी लगायत पूरै भारत भ्रमण गर्न चाहिँ चलजोगी फट्का छाला, जहाँ जाला उहीँ खाला जस्तो थियो । धार्मिक वातावरणमा हुर्केर पनि म धर्मात्मा हुन सकिनँ । बरु धर्मले नै मलाई यस समाजको धार्मिक पाखण्ड र विभेदमूलक अमानवीय विषय छर्लङ्ग्याइदियो ।’
‘दार्जिलिङमा भानु, मनु र वैरागी, ब्राजाकी’ शीर्षकको आलेखमा ‘समाजको आभ्यान्तरिक अवस्था बुझ्न वेश्यालय र धार्मिक स्थल बडो उपयुक्त स्थान हुन्’ भनिएको छ । ‘कस्तो छ नेपाल ?’ भनी सोधेको प्रश्नमा, ‘कस्तो छ भनूँ नेपाल ? आँसुले रुझिरहने आँखालाई कस्तो छ भनूँ ? कस्तो छ भनूँ सपना मात्र देखिरहेर विपनामा कहालिने हृदयलाई ?’ ‘दार्जिलिङ मे लडकियाँ टके सेर मिलती है’, ‘फुपू स्वदेशमा लुटिनु बेचिनु राम्रो कि विदेशमा लुटिनु बेचिनु ? दिदी घरमा बलात्कृत हुनु असल कि कुनै होटेल अथवा वेश्यालयमा ?’, ‘जहाँ पुगे पनि, जता भौँतारिए पनि, परपीडक र पीडितहरू भेटिइरहन्थे । लाग्थ्यो यो विश्वभरि नै उत्पीडक र उत्पीडितहरूको अनन्त शृङ्खला छ’, ‘जसले जति जोडले चिच्याएर म स्वाभिमानी हुँ भनेर प्रचार गर्न सक्यो त्यो त्यति नै आत्मसम्मानी र महान् ठहरियो, ‘वस्तुतः हामीकहाँ आत्मसम्मान भन्ने कुरा प्रदर्शनका वस्तु हो, प्रचारको वस्तु हो’ जस्ता उक्तिले कृति भरिएको छ ।
‘सारनाथमा खजानाको खोजी’ शीर्षकको निबन्धमा सन् १९५० देखि सन् १९६४ सम्म १४ वर्ष काशीवास गरेको तथ्य छ । ब्राजाकीको अनुभूति, ‘त्यसै बेला मैले थाहा पाएँ भुजङ्ग सर्पभन्दा भयानक भुजङ्गे मनुष्य हुँदो रहेछ’ रहेको छ । ‘यहुदीहरूले फ्याकेको थोत्रो बोरा — डायस्पोरा !’ शीर्षकको निबन्धमा मूल थलोबाट लखेटिएका यहुदीहरू पहिला छिमेकी देश ग्रिसमा गाँस तथा वासविहीन विपन्नावस्थालाई ग्रिकहरूले आफ्नो भाषामा छरिनुको अर्थमा होच्याएर डायस्पोरा भन्ने गरेका थिए’ लेखेर वर्तमानको डायस्पोरा शव्दमाथि प्रहार गरेका छन् । अर्थात् देशविहीन, राष्ट्रविहीन भएर पराई देशमा शरणर्थी भई छरिएका दुःखीहरू डायस्पोरा हुन् ।
‘पश्चिमी गोलाद्र्धको छेउमा’ निबन्धमा ब्राजाकी भन्छन्, ‘हामीसँग शिष्टाचारको ज्ञान त यथेष्ट छ तर प्रयोग गर्ने अभ्यास ठ्याम्मै छैन । किनभने हामी यस्तो समाजमा हुर्कियौँ जहाँ वर्णभेद छ, जातिभेद छ, वर्गभेद छ, ठूलो र सानोका असङ्ख्य भेदहरू छन् । ठूलोले सानोलाई हेप्नु र होच्याउनु अघोषित र अलिखित मर्यादा भएको छ ।’
यसैगरी ‘अमेरिकातिर बरालिँदा’ शीर्षकको निबन्धमा ‘घोर अन्योल, दिशाहीनता, अराजकता र बेथितिको दैनिकी भोगेर अमेरिका आइपुग्दा तीन ओटा सुखद आश्चर्य अनुभव प्रारम्भमै गर्नुपर्यो । अमेरिकालाई अमेरिका बनाउने तीन कारक रहेछन् । भन्न सकिन्छ —अमेरिका ती तीन खुट्टा टेकेर सम्वृद्ध भएको हो । ती तीन हुन् — विधिको शासन, श्रमको सम्मान, विश्वका विभिन्न ठाउँबाट आएका विविध जाति प्रजातिहरूको सद्भावपूर्ण सहअस्तित्व ।’
‘म मनोविज्ञानको लेक्चरर विद्यार्थी’ शीर्षकको निबन्धमा ब्राजाकी आफूलाई सम्झन्छन्, ‘पोखरामा कक्षा १० को टेस्ट फेल, जनकपुरबाट एसएलसी थर्ड डिभिजनमा, जनकपुरमा फस्ट इयरमा भर्ना हुने बेलासम्म प्रमाणपत्र बाँकी थियो । त्यसपछि च्यातिदिएको’ ।
‘अमेरिकाको आत्मानुशासन’ शीर्षकको निबन्धमा जुलाई ४, १७७६ मा ब्रिटिस सत्ताबाट स्वतन्त्र भएको अमेरिकालाई साक्षी राखेर भन्छन्, ‘स्वतन्त्र देशको स्वाधीन नागरिक आत्मनिर्भर मात्र होइन, आत्मानुशासित पनि हुन्छ । हामीकहाँ बल्लबल्ल लोकतन्त्र आएको हुनाले हो कि सबै कुरा पारदर्शी र खुला छ, ऐतिहासिक फाेहरदेखि वर्तमानको फोहरसम्म यत्रतत्र सर्वत्र खुला र उदाङ्गो छ, नाङ्गो छ । बाघ जतिसुकै पशु भए तापनि आफूले आफैँलाई टोक्दैन, तर मान्छे जतिसुकै मान्छे भए पनि आफूले आफैँलाई टोक्न तत्पर रहन्छ’ भन्ने उक्तिहरू समावेश छन् ।
कृतिको खण्ड ‘ख’ मा ब्राजाकीका पारिवारिक सदस्य मनु ब्राजाकीकी श्रीमती ज्ञानुदेवी भण्डारी तथा छोरी अपर्णा बस्नेतको संस्मरण छ । ज्ञानुदेवी भण्डारीका संस्मरणमा, ‘बनारस हुँदैदेखि बसेको उहाँको फिरन्ते स्वभाव जीवनभरि नै रह्यो । घरमा कसैलाई कहाँ जाने, किन जाने, कहिले फर्किने हो ? केही नभनी बेपत्ता भैदिने उहाँजस्तो निष्फिक्री अव्यावहारिक मान्छेसँग घुलमिल हुँदै जीवनको यो मोडसम्म सँगै यात्रामा रहेँ । यस्तो अव्यवस्थित र अव्यावहारिक मान्छेले कसरी साहित्यलाई व्यवस्थित र व्यावहारिक बनाउन सकेको होला ? मेरा पति अब्बल साहित्यकार हुन् भन्ने कुरा पछि मात्र थाहा पायौँ’ ले ब्राजाकीको परिवारभित्रको अवस्थाका बारेमा ज्ञात गराउँछ ।
यसैगरी ब्राजाकीकी छोरी अपर्णा बस्नेत आफ्ना पितालाई मनमौजी व्यक्तिका रूपमा सम्झिछिन् । ‘आफ्ना बुबाले दो फूल चार काँटे हिन्दी चलचित्रमा अभिनय पनि गर्नुभएको कुरा सम्झिन्छिन् । बुवाले आफ्नो त्यस्तो साहित्यिक स्रष्टाको परिचय बनाउँदा पनि परिवारका हामी कसैले उहाँको त्यो साहित्यिक पथको बिँडो समाउन सकेनौँ’ भन्ने संस्मरण छ ।
कृतिको खण्ड ‘ग’ मा कोलोराडोलाई प्रत्यक्ष वा अप्रत्यक्ष मुकाम बनाएका विद्वत् वर्गका विशेष संस्मरणहरू छन् । ब्राजाकीले अमेरिकाको कोलोराडोमा केही वर्ष बिताउँदा सान्निध्य पाएका साहित्यकारहरूका आलेखहरू हृदयबाट प्रष्फुटन भएर प्रस्तुत भएका छन् । आचार्य प्रभा आफूले गजल तथा लघुकथा लेखनबारे ब्राजाकीबाट सिक्ने मौका पाएको संस्मरण गर्छिन् । कृतिभित्र प्रशिद्ध साहित्यकार कृष्ण धरावासी संस्मरण गर्दै ब्राजाकीमा ‘अध्ययन र ज्ञान प्रचुर भए पनि त्यसलाई अनावश्यक रूपमा प्रस्तुत नगर्ने उहाँको विशेषता थियो’ भन्छन् । यसैगरी कृतिभित्र गोविन्द गिरी ‘प्रेरणा’ का संस्मरणमा ब्राजाकीको स्वभाव नै त्यस्तै । आनन्दी । मनमौजी । निर्धक्क । कहिल्यै ढिलो नहुने । कहिल्यै क्यै नबित्ने स्रष्टाका रूपमा चित्रण गर्छन् । देवकपिल भारद्वाज आफूमा ‘पहिलो भेटमै ब्राजाकीको सौम्यता, शालीनता, मृदुषा, सरल मिजास र बडप्पन—अभावको गहिरो छाप पर्यो’ भन्छन् (१६३) ।
साहित्यकार पदम विश्वकर्माले ब्राजाकीसँगको सान्निध्यका बारेमा ‘सुरुका दिनमा लाग्थ्यो — यति लोकप्रिय साहित्यकार कति सरल मिजासको ? कुनै तामझाम छैन, तुजुक छैन, घमन्डको कुने अवशेष छैन । उमेरअनुसारको व्यवहार र बोलीचाली गर्ने । बच्चाहरू सँग पनि उत्तिकै रमाउन सक्ने, युवाहरूसँग, बृद्धबृद्धाहरू सँग पनि उत्तिकै रमाउन सक्ने’ स्रष्टाका रूपमा संस्मरण गर्दछन् (१६८)।
यसैगरी ब्राजाकीको गाउँ औरही नजिकै रहेको मनराकट्टी गाउँलाई जरो बताउने साहित्यकार प्रमिला शर्माको संस्मरणमा ब्राजाकीले भन्नुभएको ‘घर छाडेर हिँड्ने नगरेको भए म साहित्यकार गजलकार हुने थिइनँ । पुस्तकहरुको अध्ययन र घुमेर विभिन्न स्थानहरूको जनजीवनलाई अध्ययन गरेर नै मैले कथा र गजलहरू सिर्जना गर्न सकेको हुँ’ विचार अभिव्यक्त भएको छ (१७४)।
भोला सिवाकोटीको संस्मरणमा, ‘भोला भाइ सुन्नु है । मलाई चेतना नभएको साहित्य र विवेक नभएको राजनीतिको अस्तित्व कदापि स्वीकार्य छैन । म चाहन्छु — मेरो शेषपछि कसैले पनि मेरो विगततिर फर्केर भजन नगाओस्, बरु त्यो समय मेरा लेखनीबाट सिर्जना भएको साहित्यको अध्ययन र साधनामा व्यतीत गरोस् (१७६) ।’ भन्ने कुरा अभिव्यक्त भएको छ । रमेश गुरुङ ‘उहाँप्रतिको आदरभाव, मैले कहिले पनि उहाँसग बोल्नेसम्म आँट गरिनँ (१७८)’ भनेर ब्राजाकीलाई सम्झन्छन् । राजु सिटौलाको संस्मरणमा ब्राजाकी भन्थे, ‘म जीवनभर कुनै संस्थाको सदस्य भइनँ भने अहिले यो उमेरमा आएर किन कुनै संस्थासँग आबद्ध बनौँ ? पछि उहाँले अनेसासको सदस्यता रद्द गरिदिनू भनेर पटकपटक आग्रह गरेपछि उहाँको आजीवन सदस्याता रद्द गरियो (१८३) ।’ विजयराज शर्मा संस्मरणमा लेख्छन्, ‘मनु ब्राजाकी जुन नामको एक मात्र अर्थ लाग्छ मानव । अर्थात्, उनले आफूलाई बिनाकुनै विशेषण र व्याख्या एक मानवको रूपमा मात्र समाजसमक्ष प्रस्तुत गर्न चाहे ।’
मनु ब्राजाकीलाई आफ्नो शोधनायक बनाएका विमल अधिकारीको ब्राजाकीसँग सङ्गत धेरै अन्तरङ्ग देखिन्छ । उनले आफ्ना संस्मरणमा ‘मनु ब्राजाकीको श्यामकहानी’ प्रकाशनको हन्डरको कैरन ल्याएका छन् । नेप्रप्रले ब्राजाकीको पाण्डुलिपि हराइदिएको ठहर्याएपछि एकेडेमी फर्किएर नगएको सूचना दिएका छन् । ‘उदार, उदात्त र मनकारी व्यवहार भएका बताउँछन् (१९१)। २०७२ साल वैशाखमा गएको शक्तिशाली भूकम्पपछि मनु फर्के नेपाल । र, ‘विमल बाबु, म मनु ब्राजाकी, म त आएँ नि । दुवै आमा (नेपाल आमा र जन्म दिने आमा) बिरामी छन् । कसरी परदेशमा बसिरहूँ (१९३)?’ भनेका थिए ।
मनु भन्थे, ‘पुस्तक त प्रकाशकले निकाल्ने हो । रकम उठाईउठाई ब्राजाकी विशेषङ्क निकाल्ने कुरामा मेरो असहमति छ । आफ्नै बारेको ग्रन्थ आफैँ के निकाल्नु (१९६)?’ यसले उनको स्वाभिमानी व्यक्तित्वलाई उजागर गरेको छ । यो संस्मरणमा पनि ब्राजाकीका केही उक्तिहरू समावेश छन् ।
मनु भन्थे, ‘म हल्ले सम्राट हुँ । साहित्यमा कोही सम्राट हुँदैन’, ‘यही रक्सीले मेरो स्वभिमान बचाएको छ’, ‘मैले पिएर कसको के बिगारेको छु र ?’, जग्गाको कारोबार गर्ने कोटेश्वरतिरका यमुनाप्रसादले सित्तैमा आठआना जग्गा दिन खोज्दा त लिइनँ २०४४ सालतिर, जग्गा लिनुपर्छ भनेर गाउँतिर भागेँ, केको सम्पत्तिमोह र ?’, ‘घरव्यवहार परिवारले ढपक्क ढाकिदिएकाले म निश्चिन्त भएर सिर्जनकर्ममा छु’ ‘सभासेमिनार, गोष्ठीमा जान्नँ, विमोचन कार्यक्रममा झनै जान्नँ । पुरस्कार दिने व्यक्ति पनि असल भए मात्र उसको हातबाट पुरस्कार लिन्छु । मिडियाबाजी गर्दिनँ । पदपुरस्कारका लागि निवेदन हाल्न जान्न’ जस्ता उक्तिले ब्राजाकीको स्वाभिमान दर्शाउँछ ।
कृतिको खण्ड ‘घ’ मा विविध साहित्यकारहरूको ब्राजाकीकेन्द्रित संस्मरण रहेको छ ।
इस्मालीका सम्झनामा ब्राजाकीका रचनामा ‘कथाको व्यङ्ग्ययुक्त वैशिष्ट्य गम्भीर सन्देश हो — बौद्धिकता कथाको अर्को वैशिष्ट्य हो (२०९), गजलको द्वअर्थीपनालाई यिनले आफ्ना गजलहरूमा निर्वाह गरेका छन् (२१०), यिनको ज्ञानभण्डार विस्तृत र सर्वव्यापी झैँ रहेको अुनभूत हुन्छ, नजानेको त कुनै क्षेत्रै छैन जस्तो लाग्छ । यायावरीय जीवन (२१०), चित्रकारी, पेन्सिल स्केच (२११)’ आदि विशेषता औँल्याएका छन् ।
कृष्णप्रसाद पोखरेल आफ्ना शोधनायक मनु ब्राजाकीलाई ‘स्वाभीमानी लेखक, आफ्नो काम त सिर्जना गर्ने पो हो त, त्यपछि जसले जे ठान्छ ठानिरहोस्, कसले कस्तो मूल्याङ्कन गर्छ गरिरहोस्’ भन्ने स्वाभिमानी स्रष्टा (२१६) तथा पूर्वीय र पाश्चात्य दर्शनसम्बन्धी ज्ञाता’ मान्छन् । यसैगरी ब्राजाकीको रचनाको पृष्टभूमि र विषयवस्तु फराकिलो हुने गरेको, आञ्चलिकताबाट माथि उठेको, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेश आत्मसात् गरिएको, मनोद्वन्द्वको उच्च प्रयोग भएको, ग्रामीण परिवेश मात्र होइन; सहरिया परिवेशको विश्लेषमा जोड दिइएको, भाषाशैलीमा अङ्ग्रेजी भाषाको प्रभाव परेको, शैलीगत निखार’ जस्ता प्रवृत्तिहरू औँल्याउँछन् (२१९)।
प्रा.डा. खेम कोइराला बन्धुका ब्राजाकीकेन्द्रित संस्मरणमा ब्राजाकी कथा, गजल, लेखरचना, कविता, यात्रा, समीक्षा, व्यङ्ग्यलेखनमा सुन्दर लेखनी भएका बहुविधाज्ञाता भनिएका छन् । साथै यो संस्मरणमा धेरै उक्तिहरू प्रस्तुत भएका छन् । ‘झुटो बोलेर पागल हुनुभन्दा सत्य बोलेर पागल बन्नु वेश ठान्ने, मनुवा मात्र मानवको व्यक्तित्व, नजात, न छुवाछुत, खुला मुटु खुला मन, स्वार्थी छलकपटविहीन व्यक्तित्व’ जस्ता कुराहरू परेका छन् । मनु ब्राजाकी स्वयं बिक्री हुन चाहेनन् । आफूलाई आफैँले छक्याएनन् । यो देशको नामोनिसान नमेटियोस् भन्ने दृढ आकाङ्क्षा भएका, देशप्रतिको निष्ठा, अगाध आस्था, आत्मनिष्ठा, दृढता, निरन्तरता जस्ता कुराहरू ब्राजाकीको वैशिष्ट्य भएको बताउँछन् ।
लेखन स्वतन्त्रता उनको यात्रा हो, न कसैसँगको असन्तुष्टि न कसैलाई गुनासो न आशा, न कतै तृष्णा, कसैसँग रहेन —निरपेक्ष निर्बन्ध ।’ प्राडा कोइराला अझै सम्झिन्छन्, ‘पर्वत’ नामक सामयिक सङ्कलनमा छापिएको ‘वेश्यावृत्ति र हाम्रो समाज’ शीर्षकको उनको लेखबाट पनि प्रस्ट हुन्छ । यौनदूराचार, धर्मको आडमा गरिने यौनशोषण, वेश्यावृत्ति जस्ता विषय उद्घाटन गरेर लेखिएको उनको सो लेखका कारण पत्रिकासमेत प्रशासनद्वारा केही काल प्रतिबन्धित भएको थियो ।
डा. गणेशराज अधिकारी ‘मैनाली, भिक्षुभन्दा फरक धारमा ब्राजाकीको उपस्थिति भएको ठान्छन् (२३३)। औपचारिक डिग्री लिन आतुर भएनन्, बरु जीवनजगत्, ज्ञानविज्ञान, दर्शन, समाज, साहित्यकला, राजनीति, अर्थनीति, समाजनीतिजस्ता पक्षका अन्तरकुन्तरमा रहेका तथ्य, तर्कको मेसो खुट्याउनतर्फ लागे । ब्राजाकी ‘कथामा हठी (२३४), सम्पन्नता, अभिमान, शोषण, दमन, भ्रष्टाचार दुराचार, अनाचार र हेपाहा प्रवृत्तिका विमुखमा वकालत गर्छन्’ भन्ने कुरा उद्धृत गरिएको छ ।
घनेन्द्र ओझाको संस्मरणमा ब्राजाकीले निकै समय होटलमा भाँडा माझेर बिताएको (२३८) चर्चा छ । ‘धर्म भनेको मानवतासहित हुन्छ, मानतारहित धर्म धर्म होइन । मलाई न स्वर्गमा विश्वास छ, न नर्क नै हुन्छ भन्ने लाग्छ, अनि के कल्पना गरौँ ?(२३९)’ भन्ने उक्ति समावेश भएको छ । मनु जीवनलाई सङ्घर्ष, सङ्घर्ष र फेरि पनि सङ्घर्ष मात्र ठान्छन् । लेख्नका निम्ति चिन्तन जरुरी छ, चिन्तनका लागि एकाग्रता जरुरी छ (२४०)। लेख्नका लागि रक्सी खाएँ तर रक्सी खाएर कहिल्यै लेखिनँ । रक्सी छाडिहालेँ, बाहिर हिँड्न सक्दिनँ, पैसा केका लागि चाहियो र ? साच्चै भन्दा जीवनप्रति जति मोह राखे पनि जीवनका लागि जीवन केही होइन । मृत्यु नै जीवनको नियति भएकाले मृत्युपश्चात् जीवन महत्त्वहीन हुन्छ (२४२)’ भन्ने उक्तिहरूले ब्राजाकीलाई चिनाएको छ । कृतिलाई सुन्दर बनाएको छ ।
ब्राजाकीका अन्तरङ्ग साथी जगदीश घिमिरे ब्राजाकीलाई ‘दारुको सुर्को र चुरोटको सर्कोसँग राजनीति, द्वन्द्वात्मक भौतिकवाद र साहित्यको चर्चा गरेर नथाक्ने स्रष्टा’ मान्छन् । मनु र जगदीश दरभङ्गामा गएर सिमानापारि बस्ने डुल्ने प्रमुख गुरु नेताहरू पुष्पलाल र तुलसीलाललाई भेटेका र घण्टौँ उनीहरूका विचार बुझे पनि कुनै पनि कम्युनिस्ट पार्टीको सदस्य नभएको चर्चा गर्छन् (२४३—२४८)।
ब्राजाकीसँग नजिकको सम्बन्ध बनाएका जीवनपानीका दुई संस्मरण छन्, जसमा ग्रन्थ प्रकाशनगर्भदेखि ब्राजाकीका जीवनशैली र उक्तिहरूका बारेमा वर्णित छ । ‘यदि लेखकमा जीवन र जगतका बारेमा आफ्नो मौलिक चिन्तन र दृष्टिकोण छैन भने यो स्थिति लेखक र पाठक दुवैको हितमा हुँदैन’, ‘प्रणम्य कविवर मैथिलीशरण गुप्तको कवितांश —‘मनुष्य मात्र बन्धु है यही बडा विवेक है’ यही पङ्तिलाई जबर्जस्त जिब्रोमा राखेर उनले (ब्राजाकीले) भनेका थिए, ‘यही कवितांशले मलाई ईश्वरतिरबाट मनुष्यतिर फर्काइदियो’ जस्ता ब्राजाकीका भनाइ समावेश छन् ।
यसैगरी ‘मान्छे र मान्छेसँग सम्बन्धित विश्व ब्रह्माण्ड छ — अस्ति । अस्तिलाई मान्ने हुँदा म आस्तिक हुँ । ईश्वरको अस्तित्व कहिल्यै पनि थिएन, छैन, हुनेछैन — नास्ति । नभएकोलाई अर्थात् नास्तिलाई मान्ने नास्तिक हुँ’ पनि उनका दर्शन हुन् । प्रकाशको सीमा छ, अन्धकारको सीमा छैन । ज्ञानको सीमा छ, अज्ञानको सीमा छैन । उत्तरको सीमा छ, प्रश्नहरूको सीमा छैन । जीवनको सीमा छ, मृत्यु असीम छ । यी सबै कुरा पदार्थमा निहित गतिको चाक्रिक स्वरूपको परिणाम हो । अक्षेय, अज्ञात, अन्धकार र अज्ञान नै काल्पनिक भगवान् हो । उक्लनु भिरबाट झर्नु पनि हो । शिखर सदैव आकाशमा हुँदैन, आफ्नो गतिलाई प्रगति मान्ने प्रचलन प्राचीन हो’ जस्ता उक्तिले मानिसको मथिङ्गलमाथि मही पार्छ ।
जोतारे धाइबाले ब्राजाकीको अन्तिम दिनतिरको मनोविज्ञान आकलन गरेका छन् । ‘जीवनमा के कुरा सिकेँ ? ज्ञान प्राप्तिका लागि के उपाय गरेँ ? त्यो यात्रामा कति हन्डर खाएँ ? निष्कर्ष के निकालेँ ? यस्तै प्रश्नहरू पौडी खेल्न थालेका छन् मगजमा । एकातिर मानसिक रूपमा रित्तो भएँ । अर्कातिर लेख्न नसक्नुको पीडा सहिनसक्नुको भयो’ भन्ने अभिव्यक्तिले ब्राजाकीको उपल्लो वयको अवस्थाको अन्दाज गर्न सकिन्छ ।
तुलसीहरि कोइराला ब्राजाकीलाई सम्झँदै भन्छन्, ‘मन यतै थियो, रोगी शरीर उता । मेरो मालिक म आफैँ रहिनँ’, ‘दर्ता नं ३६-०५४ (२०५४।११।१३) मा दर्ता भएको चिर्कटो’ बोकेर हराएको पाण्डुलिपिको संस्मरण गरिरहे ।’ दिनेश पौडेल ‘गरिब’ को संस्मरणमा ब्राजाकीले मैनाली पुरस्कार पाएकोमा औरही छक्क पर्यो र भन्यो, को रहेछ यो मनु ब्राजाकी ?’ दीपक सापकोटाले ‘६० सालमा स्ट्रोक भएपछि उति कथा लेखन सकेनन् । त्यसपछि ब्राजाकीको जीवनबाट तीन प्यारा कुरा छुटे —रक्सी, चुरोट र कथा’ भनेर ब्राजाकीलाई सम्झेका छन् ।
डा दुर्गाप्रसाद दाहालका संस्मरणमा ब्राजाकीले ‘तराईको आञ्चलिक परिवेशलाई जीवन्त रूपले उतारेका छन्’ भन्ने कुरा अभिव्यक्त गरेका छन् । ब्राजाकी भन्थे, ‘स्रष्टा जति पाठक पनि चिन्तनशील हुनुपर्छ’ । ब्राजाकी मानव धर्ममा विश्वास गर्थे । त्यसैले भन्ने गर्थे, ‘ईश्वरवादी व्यक्ति मानवतावादी हुन सक्दैन, मानवतावादी ईश्वरवादी हुन सक्दैन ।’
दुर्गा पौडेल गरिमा साहित्यिक पत्रिकाले इन्टरभ्यू दिँदा पारिश्रमिक दिएको र सबै पत्रपत्रिकाले यो संस्कार विकास गर्नुपर्ने कुरा ब्राजाकीको सोच थियो भनी बताउँछन् । २०१९ सालसम्म ब्राजाकी लेख्दै च्यात्दै गर्थे । लेख्न थालेको १९ वर्षपछि मात्र उनको पहिलो कृति प्रकाशनमा आयो । पुरस्कार पाउन कुनै एउटा गुट समाउनु पर्छ भन्ने अहिलेका सर्वव्यापी मान्यता भए पनि उनी कुनै साहित्यिक आन्दोलन र अभियानमा कहिल्यै लागेनन् ।
देवेन्द्र भट्टराईका संस्मरणमा ब्राजाकी त्यहीँ पिउँछन् लोकल रक्सी र सम्झन्छन् शास्त्रका कुरा — सदैव एक्लो चिन्तन गर्नु आफूलाई हितकारी हुन्छ, यसबाट परम श्रेय पनि मिल्छ । तर फिरन्ता बनेरै उच्च वर्गभित्रको खोक्रेपन थाहा पाएँ । पुस्तकालय, रेडलाइट एरिया सबर्बन स्लम्स मेरा अध्ययनका विषय हुन् । यहाँ गल्लीगल्लीमा जाँडपसल छन् । कहिलेकाहीँ मलाई लाग्छ — यहाँका हरिया पर्दा पसल भट्टीका ठाउँमा पुस्तक पसल मात्रै भइदिएको भए म अर्कै मनु ब्राजाकी हुन्थेँ कि । भट्टराईले ब्राजाकीका कथाले नवचेतनावादी धारा, व्यङ्ग्य, शिल्पगत सौन्दर्य र आञ्चलिकतालाई अवलम्बन गरेको कुरा बताउँछन् ।
नकुल सिलवाल ब्राजाकीलाई पूर्णकालीन लेखक, असामान्य मानिस, चार दशकदेखि निरन्तर सिर्जनामा तल्लीन भएको अनुभव सुनाउँछन् । नवराज वर्तमान जीवनलाई सक्दो रूपमा स्वतन्त्र र निर्भीक बनाउँदै आडम्बरविहीन जीवन जिउँदा चाहिने हाम्रा योजनाहरू हुन्थे । म मनु दाजुको तर्कमा पनि आफ्नो मत नराखी सुनी मात्र राख्थेँ । सम्वेदना, बौद्धिकता, पटकथा, कल्पनाशीलता, कलाशिल्प जस्ता ऊर्जाको आवश्यकता पर्छ, त्यति नै मात्रामा चिन्तनमननको आवश्यकता पर्छ भन्ने मेरो राय छ । बिनाचिन्तनका रचनाहरू बर्बादी मात्र हुन् । वास्तवमा रक्सी पिएर, भाङधतुरो सेवनले होइन, लोभमोह भोगले मानिसलाई अचेतन बनाएको छ । निरूपा प्रसूनको ‘तिम्रो लोग्ने र म’ कथासङ्ग्रहमा लेखेको भूमिका ‘जस्तो सुकै प्रबुद्ध व्यक्तिको पनि दृष्टिकोण एकाङ्गी हुन्छ, यदि उसले अर्कोतिर हेर्न भ्याएन भने । मैले भ्याएको थिइनँ निरूपा प्रसूनले भ्याइन्, धन्यवाद । डा पुष्करराज भट्ट ‘संसारमा हरेक प्रतिभा सर्वगुण सम्पन्न हुँदैनन्, मनु सर्वगुण सम्पन्न हुनुहुन्नथ्यो’ भन्छन् ।
ब्राजाकीका अग्रज मित्र पुष्कर लोहनीले आफ्नो संस्मरणमा ब्राजाकीको सुरुका दिनको चर्चा गरेका छन् । उनकाअनुसार ‘आफूभित्रको कमजोरीले काठमाडौँले विश्वास गर्ला कि नगर्ला भन्ने कुराले सताइहन्थ्यो मनु ब्राजाकीलाई’, लेख्न थालेपछि पानाको पाना लेख्ने । ब्राजाकीले प्रेमिकालाई पठाएको चिठी पनि देखाउँथे र प्रेमिकाले पठाएको चिठी पनि मलाई पढ्न दिन्थे । प्रेम सफल भयो भएन थाहा पाइनँ मैले’ भन्ने विचार व्यक्त गरेका छन् ।
पेशल आचार्यको संस्मरणमा ‘देशान्तरमा त्यतिखेर मनु दाइले एउटा स्तम्भ चलाउनुभएको थियो— दार्जिलिङको पासिङ सो र चारमिनारको भेटघाट । प्रोल्लास सिन्धुलीयको संस्मरणमा उनी ब्राजाकीप्रति अति सम्वेदनशील देखिएका छन् । ब्राजाकीलाई मदिरासेवक भनेर हियाउने जनलाई सिन्धुलीय भन्छन्, ‘त्यति राम्राराम्रा बानीबेहोरा भएकाहरू ब्राजाकीको लेखन छेउछाउ पुग्न किन नसकेका ? ब्राजाकीले केके खाए ? केके खाएनन् ? खानुपर्ने खाएनन् कि नखानपर्ने खाए कि ? त्यसको फेहरिस्त बटुलेर उनलाई आफूसित दाँजेर होच्याएकै भरमा को कहाँ पुग्दो हो ?’ भनेर समाजलाई एउटा प्रश्न उठाएका छन् । सिन्धुलीय अझै थप्छन्, ‘रक्सी नखाँदैमा कुनै मान्छे असल हुन्छ, यो सिर्फ बकवास हो । तर रक्सी खानेलाई समाजले हेप्छ, हेप्नुपर्छ भन्ने बुझेको छ । यो चाहि यथार्थ हो । रक्सी खानेलाई झैँ फूर्ति नगर्नेलाई पनि यो समाजले दिनदहाडै हेप्छ ।’
महेशविक्रम शाहले आफ्नो कथासङ्ग्रहमा ब्राजाकीलाई भूमिका लेखाए वापत् ब्राजकीले ‘जति छ दिए हुन्थ्यो महेशजी । पसलमा तिर्न बाँकी छ ।’ भनेकाले पारिश्रमिक दिएको कुरा संस्मरण गरेका छन् राजकुमार बानियाँ, ‘जात थर मान्दै नमान्ने । धार्मिक वितृष्णमा उनले आफूलाई छोट्याए, मनुको रूपमा । तर, ती दुई अक्षरलाई साथी चाहियो थपिदिए ब्राजाकी । एकपाखे समालोचकहले ‘तिम्री स्वास्नी र म’ लाई यौनकथामा राखिदिएपछि उनलाई भाउन्न भयो । सोध्छन् : पुरुषले बाटो बिराउँदा समाजलाई मान्य हुने, नारीले बाटो बिराउँदा अमान्य हुने भन्ने सामाजिक प्रश्न उठाएको हुँ । त्यो कसरी यौनकथा भयो ? जवानीमा ब्राजाकीलाई फोटो खिचाउने सोख भएन । लुगा लगाउने सोख पनि थिएन । बरु पूरै जीवन फकिरका रूपमा बित्यो । अल इन्डिया टुर गरेका छन् उनले । त्यो पनि गन्जी र लुङ्गीका भरमा । जीवनमा उनले सुन्दरीको कामना गरेनन् उनको प्रेम भयो पुस्तक, पुस्तकालय जनजीवनसँग । भन्छन् — जनजीवन र पुस्तकीय अध्ययन मेरा लेखनका स्रोत हुन् । पुस्तकले जनजीवनतिर लग्यो, जनजीवनले पुस्तकतिर’ भनेजस्ता उक्तिहरूबाट ब्राजाकीलाई सम्झन्छन् ।
रामप्रसाद पन्तका संस्मरणमा ‘ती मन्त्री उहाँका भतिजा नै थिए — शरदसिंह भण्डारी । तर मनुदाइ भण्डारीको कार्यकक्षमा प्रवेश पनि गर्नुहुन्नथ्यो, भन्नु हुन्थ्यो — मैले मन्त्रीसँग केही लिनु छैन, म त्यस्तो सुविधाको आकाङ्क्षी पनि छैन । म त तपाईंलाई भेट्न आएको हो । एउटा साहित्यसेवीसँग भलाकुसारी गर्न आएको हो’ भन्ने कुरा आएको छ । साथै ‘रक्सी खाए पनि चेहरामा चमक, बोलीमा स्पष्टता, अनर्गल प्रलाप वा हास परिहासमा अशोभनीयता एवं गतिमा असन्तुलन भने पटक्कै हुँदैनथ्यो’, ‘मैले मेरो मनलाई पूर्ण सन्तुष्टि दिनुपर्छ, अनि मात्र मेरो मथिङ्गलमा विचारहरू आउन थाल्छन् र यथेष्ट रूपमा पाक्न थाल्छन्’ ब्राजाकीका स्वभावहरू प्रष्ट भएर आएका छन् ।
रोचक घिमिरेको संस्मरणमा ब्राजाकी आफ्ना रचनाको पेश्की पारिश्रमिक लिने सशक्त स्रष्टाका रूपमा चित्रण गर्छन् । रोचकका संस्मरणमा ‘पेस्की फछ्यौँट गर्ने रमाइलो र स्वच्छ व्यवहार हुन्थ्यो मनुसँग । ब्राजाकी रोचकलाई ‘दाइ बाटो खर्च केही पाउँ’ भन्थे । उनले २० दरका तीन नोट मात्र झिके । त्यहाँ सय, पचासका नोट पनि थिए ।
मनुको उत्तर थियो —त्यहाँबाट घर पुगुञ्जेल म रोकिनुपर्ने तीन ओटा स्टेसन छन् त्यत्ति भए पुगिहाल्छ । रचनालाई पछि दिने सामग्रीको पारिश्रमिककै पेस्की लिको हुँ है दाइ यो रकम’ कसैसँग नदब्ने, ननिहुरिने स्वाभीमानी स्वभाव छ मनुको । तर चटपटे मनोरञ्जक यौन आफ्नो कथामा पस्कने प्रयत्न मनुले कहिल्यै गरेनन् । अश्लीलता नअँगाली पनि यौनकेन्द्रित कथा लेख्न सकिन्छ भन्ने उदाहरण मनुले आफ्ना कथामा देखाएका छन् ।
गरिमा पत्रिकासँग सम्बन्धित रहेर रोसन थापा ‘निरव’ का संस्मरण आएका छन् । मनु ब्राजाकीले ‘हामीलाई जुन कथा दिने भनेका थिए त्यस कथाको समापन नआएर आफ्नो कोठाको ढोकाको धारिलो चौकसमा निधार ड्याङड्याङ ठोकाए र कथाको समापन प्राप्त गरे’ भनेका थिए । निरवले ब्राजाकीलाई सोधेको प्रश्न ‘दाइ, अमेरिका र नेपालको बसाइमा यहाँको के अनुभूति छ ?’ मा ब्राजाकीको उत्तर ‘अमेरिकामा मर्न गाह्रो छ, नेपालमा बाँच्न’ ले दुवै देशका जीवनका बारेमा प्रष्ट हुन्छ । निरव लेख्छन्, ‘मैले अन्तरवार्ता गर्ने भनेर तयार गरेको ३० प्रश्नको उत्तर पाउने आशा गर्दागर्दै समयले कहाँ पर्खियो र ? जीवनपर्यन्त थकथकी रहिरहने छ मलाई ।’
अग्निचक्र मासिकका प्रधान सम्पादक लक्ष्मीनारायण भट्टराईका संस्मरणमा ब्राजाकीले भनेका केही कालजयी उक्तिहरू समावेश छन् । ‘अन्धकार र अज्ञान नै काल्पनिक भगवान् हो, भाग्य भन्ने कुन चरो हो, न ता सुखमा देखेँ न ता दुःखमा देखेँ’, ‘मैले त दुई चुस्की लाउनेबित्तिकै तिरिमिरी आँखाले भगवान् भेटिहाल्छु र आनन्दमा रमाउँछु । यसो हुँदा मेरो चित्त शुद्ध भएको महसुस हुन्छ र शुद्ध चित्तमा ज्ञानोदय हुन्छ । अनि ज्ञानबाट मोक्ष प्राप्त हुन्छ’ जस्ता उक्तिले जीवनदर्शन बोध हुन्छ ।
सर्लाहीका लीलाराज दाहाल ब्राजाकीलाई यसरी सम्झन्छन्, ‘कथाहरू चमत्कारी, गहन र प्रभावकारी लाग्थे मलाई । मेरो काँधमा मार्नुभएको धाप म कहिल्यै बिर्सन्नँ । असाध्यै न्यानो र स्नेही थियो त्यो धाप । म गजलतिर मोडिन मनु कै हात थियो । मनुको शालीन थियो व्यक्तित्व । मनु दाइ घमन्डको रथमा चढ्नुभएको मैले कहिल्यै देखिनँ । आफूसँग रकम भएसम्म अरूको नखाने, अनुज एवं नवोदितहरूसँग पनि आत्मादेखि नै खुल्न सक्ने अनि असाध्यै माया गर्ने मनु दाइका बिर्सनै नसकिने गुणहरू हुन् ।’
विमल आचार्यका सम्झनामा ‘ब्राजककीका कथामा मानवीय संवेदना यसरी प्रकट भएको हुन्छ कि पढ्दापढ्दै पाठकहरू रुनु कि हाँस्नु अवस्थामा पुग्छन् । एकेडेमी विरुद्ध मुद्दा जित्ने पक्का भए पनि पाण्डुलिपि नफर्किने हुँदा उनी चुप बसेको बताउँछन् । स्वान्तः सुखाय लेख्नेले छाप्नु हुँदैन । युद्धको मूल ईश्वरवादी धर्म हो र वेश्यावृत्तिको मूल विवाह संस्था हो । मौलिक विचारले कलात्मक उच्चता प्राप्त गर्नु नै उच्चकोटिको साहित्य हो’ भन्ने स्रष्टा हुन् ।
शरद चिरागका संस्मरणमा ब्राजाकीले भनेका शब्दहरू, ‘म स्कुलमा धेरै कुटाइ खान्थेँ किनभने म सधैँ शिक्षकलाई प्रश्न सोधिराख्थेँ’ ‘त्यो केटो जाडोले कामिरहेको थियो । मैले आफूले लगाइरहेको स्वेटर फुकालेँ र त्यो केटोलाई लगाइदिएँ । म खुरुखुरु घर गएँ । स्वेटर नभेटेपछि हजुरबुबाले मलाई हुक्काको नलीले हिर्काउनुभयो‘, ‘दुर्गा वात्सायन मेरा साथी थिए । उनीभन्दा राम्रो चित्र बनाउन नसकेपछि मैले चित्रकला छोडिदिएँ’ समेटिएका छन् ।
विविध आलेखकारहरूले ब्राजाकीले पोखरामा टेस्ट परीक्षामा लेखनाथ पौडेलको पिँजडाको सुगाको एउटै श्लोकमा १८ पेज लेखेको चर्चा गरेका छन् । श्लोक थियो —
गुणको बैरी मानुषजाति
शुष्क गराई गुणिको छाति
प्राण पखेरु नलिएसम्म
खुस किन हुन्थ्यो, हाय अचम्म ।
टेस्ट परीक्षामा नेपालीको कापी जाँच्ने भोलानाथ पराजुलीले प्राधानाध्यापकसँग यो विद्यार्थीलाई मैले के गर्ने ? यसले वेदपुराणदेखि लिएर दर्शनशास्त्रको उदाहरण दिई कविताको श्लोकको सप्रसङ् व्याख्या गरेको छ’ भनेर सोधेका थिए । ब्राजाकी फेल भए पनि उनको यो कपी पुस्तकालयमा राखिएको थियो भनिएको छ ।
शैलेन्द्र साकारका संस्मरणमा ब्राजाकी ‘सम्भ्रान्त परिवारमा जन्मिएका भए पनि मनुमा एउटा अत्यन्त सुन्दर र परिष्कृत मन थियो । यस्तो सहृदयी व्यक्ति मैले आजसम्म एकदम कम देखेको छु’ भन्ने रहेको छ ।
श्रीओम श्रेष्ठ ‘रोदन’ ब्राजाकीलाई सम्झँदा दार्शनिक प्रश्न उठाउँछन्, ‘आफूलाई जे लाग्छ त्यस्तै गर्नु ठिक कि बेठिक ? कसैलाई उनको अनुहार मन पराोस् कि नपरोस्, त्यसको कुनै अर्थ हुँदैन । मनुको शारीरिक उचाइले कतै नाप्ने काम हुँदैन । मनुको वर्ण कालो छ कि गोरो छ त्यसले कुनै अर्थ राख्दैन । मनुको दाँत छ कि छैन । मनु खोच्याएर हिँड्छ कि हिँड्दैन, मनुको हात काम्छ कि काम्दैन । मनुले चस्मा लगाउँछ कि लगाउँदैन भन्ने जस्ता तर्कले तुक राख्दैन’ त्यसैले रोदन भन्छन्, ‘मनु नेपाली साहित्यको एउटा कालखण्ड हो । नभत्किने इतिहास हो । एउटा मानक हो । बलियो विगत हो, वर्तमान हो । पूर्ण सुरक्षित भविष्य हो । जे देखियो त्यही मात्र सत्य होइन । जे देखिँदैन त्यसभित्र झन् विशाल सत्य हुन सक्छ । त्यसैले म भन्छु मनु एउटा सत्य हो । मनु एउटा समाज हो, एउटा बिम्ब हो र प्रतिष्ठा हो ।’
सुनिल पुरीका संस्मरणमा ‘आफूभन्दा सानालाई पनि तपाईं भन्ने बानी थियो ब्राजाकीको । पुलचौकको एउटा रक्सी भट्टी जहाँ चेतन कार्की प्रायः मनुसँग भेटिन्थे, सो गल्लीको नाम नै चेतनगल्ली राखिदिए मनुले । मनु भन्थे, ‘पिएको बेलामा म लेख्न सक्दिनँ । नशाले छोडेपछि मात्र लेख्छु । सामन्ती आर्थिक हैसियत राम्रो भएकाहरूले बिस्तारी बोले पनि सबैले सुन्ने वा सुन्नुपर्ने तर गरिब निमुखाले चिच्याउँदा पनि कसैले नसुन्ने, उल्टै प्रताडित हुनुपर्ने प्रचलन मलाई मन परेन ।’ पुरीका विचारमा, ‘नेपाली साहित्यमा यसरी आफ्नो रचनाको अग्रिम पारिश्रमिक माग्ने, नदिए रचना नै नदिने हिम्मतिलो लेखक अर्को होला नहोला भन्न सकिन्न ।’
साहित्यकार सुविद गुरागाईं ब्राजाकीसँग सन्निकट हुन् । उनका संस्मरणमा ब्राजाकीको जीवनको पाटो देखिन्छ । ‘एक प्रकारले म त मरिसक्या छु । साहित्यिक क्षेत्रका लागि म मृत भइसकेँ । यो जुन अहिले बाँच्या छु भन्ने हो, यो त एउटा व्यर्थको ढाडस मात्र हो । आफ्नो परिवारका लागि यो मान्छे हिँड्दैछ, डुल्दै छ भन्ने मात्र हो । मेरो सम्पूर्ण जीवन घटिया स्तरको नाटकजस्तो भए पनि मेरो मृत्यु मनु ब्राजाकीले लेखेका कथाजस्तै यथार्थवादी भइदिओस् । र, कुनै प्रकारको पाखण्डपूर्ण धार्मिक कर्मकाण्ड नगरी चेतमानसिंहको लास डढाएर खरानी पारियोस्’ जस्ता भनाइले ब्राजाकीको जीवनदर्शन बुझाउँछ ।
गुरागाईं भन्छन्, ‘२०७४ साल मङ्सिर २३ गते शनिबार दिउँसो उनले अन्तिम पटक टन्न रक्सी खाए । माघ १९ मा बिते । ब्राजाकीको मृत्युको फेसबुकभरि जताततै हल्ला थियो, तर आर्यघाटमा कोही थिएन । जसले साहित्यका लागि घर भनेन, थर भनेन, उसलाई सम्झेर आर्यघाट पुग्ने नामहरू औँलामा गन्न सकिने थिए । श्रद्धाञ्जलिका लागि प्रज्ञाप्रतिष्ठानमा ठाउँ थिएन । मनु ब्राजाकीको जल्दै गरेको चिता पत्रिकाको समाचार भएन । फोटो राखिएन । मनु आफ्नो जीवन जिउने शैली एबनर्मल मान्थे ।
उनी भन्थे, ‘जीवनमा साहित्यकार बनेर ठुलो पछुतो लागेको छ, तर साहित्यकार नबनेको भए अझै ठूलो पुछुतो लाग्ने थियो । हुन त पहिले पनि आफ्नो परिवारका लागि मैले केही पनि गर्न सक्या होइन । र, परिवारले भोग्नुपर्ने दुःखपीडा उनीहरूले चुपचाप भोगेका छन्, त्यही नै मेरा लागि ठूलो श्रद्धाञ्जलि भाको छ ।’
सम्पादकको कलम समातेका डा. हरिप्रसाद सिलवाल ब्राजाकीलाई स्वतन्त्रता, स्वाभिमान, स्वच्छन्दता र सशक्त लेखन प्रतिभाका धनी तथा गरिबीमा परेका, ठगिएका, उत्पीडित समुदायप्रति डुबेर लेख्ने आँटिला सिर्जनाकार ठान्छन् । यथार्थवादी विषयवस्तु र प्रगतिशील चिन्तनलाई अघि सार्ने तथा मानसम्मानको पछि नलाग्ने स्रष्टा, गाउँले जीवनका यथार्थता र सरल व्यवहारलाई हँसिलो तरिकाले प्रस्तुत गरी गरिबीको समस्यालाई प्रस्तुत गर्ने शैलीकार ठान्छन् । उनका प्रत्येक जबाफ, शब्द र वाक्यमा जीवन बोलेको महसुस हुन्थ्यो मलाई । उनले सन्दर्भअनुसार जीवनदर्शनको रमणीय अभव्यिक्तिबाट आफ्नो दार्शनिक व्यक्तित्व प्रस्तुत गरे र उनको तर्कशक्ति, तार्किक विश्लेषण र समीक्षा गर्ने शैली असाध्यै चाखलाग्दो बन्न पुग्यो ।
सल्लाहकार रवीन्द्र भट्टराई ब्राजाकीका कलममा विश्वबोध, युगबोध जीवनबोधसँग अन्तरघुलन देख्छन् । विविध ठाउँका ऐतिहासिक, पौराणिक र दार्शनिक अध्ययन र बोधका परिष्कारहरू ठम्याउँछन् । बौद्धिक चेतनालाई वाङ्मयको बनोट र बुनोटमा खिपेर सजाइएका अलौकिक र अद्वितीय ज्ञानसम्पदा देख्छन् ।
खण्ड ‘ङ’ परिशिष्ट हो । जसमा वैरागी जेठाले तयार पारेको मनु ब्राजाकीको व्यक्तिगत विवरण, ज्यो.पं. हरि देवकोटाको चिनामा चेतमान तथा ब्राजाकीसँग सम्बन्धित केही तस्बिरहरू समावेश छन् ।
अब पुछारमा छु । वि.सं. १९९९ साउन १९ सोमबार, बिहान ६ बजे औरही, महोत्तरीमा जन्मेर ७५ वर्षको उमेर भएपछि २०७४ माघ १९ गते इहलीला त्यागका हुन् ब्राजाकीले । मृत्युका लागि बहाना चाहिन्छ । बहाना नहुने पनि मरेका छन् । त्यसैले जीवन र मृत्यु दुवै शाश्वत हुन् । यहीसन्दर्भमा यो कृतिमा मनु ब्राजाकीलाई पढ्न मान्छे हुनुपर्छ । हृदयका स्पन्दन सम्हालेर बस्नुपर्छ । आँसुका सागर बोकेर बस्नु पर्छ । नत्र उनका वाक्य वाक्य तथा पदले नै रुवाउँछन् । जीवनबोध गराउँछन् । कतै तपाईंलाई रिस उठाउँछन् । कतै तपाईंको न्याय खोज्छन् । विद्रोह गर्छन् । मलाई त लाग्छ कि मनुलाई जति पढ्यो उति गहिरो, कहिल्यै नसकिने अनन्त सागर जस्तो गहिरो । एक युगले एउटा मान्छे जन्माउँछ, र, ती मान्छे ब्राजाकी थिए भन्ने लाग्छ मलाई ।
पुस्तक पढेर मेरो ऐनामा ब्राजाकीको चेहरा देख्दै छु । सोचिरहेको छु, यो बेला म । र, मलाई अपसोच छ कि मैले यही जुनीमा मनु ब्राजाकीसँग बसेर एक पेग पनि लगाउन पाइनँ । पाएको भए मेरो जुनी सफल भएको ठान्थेँ म । आम मान्छेको जस्तो मदिरासेवन होइन मनुको । मनुको मदिरा सेवनको लक्ष भनेको ज्ञान प्राप्ति को जिज्ञासा हो । मदिरासेवन नगर्ने वा मदिरासेवनलाई घृणा गर्ने वा कम्मल ओढेर घिउ खाने संस्कारका मान्छेले यो कुरा बुझ्दैनन् । तपाईं पाठकहरू मनुले के लेख्यो ? कस्तो लेख्यो ? किन लेख्यो ? केका लागि लेख्यो ? समाजमा यसको के उपयोगिता छ कि छैन ? मनुले उठाएका विषयहरू जायज हुन् होइनन् भन्ने बारेमा मौन बस्नुभयो र मनुलाई एउटा मदिराप्रेमी कथाकार मात्र भन्नुभयो भने त्योभन्दा अनर्थ सायद मान्छेको जीवनमा केही हुनेछैन ।
उनका सँगी भन्छन्, ‘मनुले वेश्याहरूसँग सङ्गत गरे, तर वेशयागमन गरेनन् ।’ यसको प्रमाण उनका कथामा हल्कातबरका यौनरमाइलाहरू छैनन् । जीवन छ । जगत् छ । रक्सी खाएर कहिल्यै नलेख्ने मनु खास गरी बिहान ४ बजेदेखि करिब नौदस बजेसम्म लेखिसक्थे रे । र, त्यसपछि यायावर ।
र, अन्त्यमा आखिर हामी सबैको जीवन पनि त यायावर हो । मान्छे रक्सी खाए पनि यायावर, नखाए पनि यायावर । विविध लोकको यायावर । कर्कलाको पानीजस्तो यायावर । तर मनुको अकाट्य ढुङ्गाको अक्षरमा पदचिन्ह छोडेको यायावर हो । त्यसैले उनी आम होइनन् । अमर यायावर हुन् ।
सलाम यायावर मनु ब्राजाकी !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

