नेपाली साहित्यमा नयाँ युगको सुत्रपात गर्ने रिमालका कुनै पनि सन्तानहरू नेपाली साहित्य आकासमा किन झुल्किएनन् होला ? यसको जवाफ दिएको छ रिमाल पुत्र मदनप्रसाद रिमालको ‘बासँगको सम्झनाका पलहरू’ले ।

रातो र चन्द्रसूर्य जङ्गी निसान हाम्रो

जिउँदो रगतसरी यो, बल्दो यो सान हाम्रो

नारायण गोपालको आवाज अनि गोपालप्रसाद रिमालको शब्द रहेको यो राष्ट्रिय गीत नसुन्ने नेपाली सायदै भेटिएलान् । नयाँ र पुरानो दुवै पुस्तामाझ यो गीत लोकप्रिय रहेको छ । तर यस गीतको रचनाकार गोपालप्रसाद रिमालको जीवनका उतारचढावको पाटो, उनको साहित्यिक अभियानले समाज परिवर्तनमा खेलेको भूमिकाबारे भने हामी कति जानकार हौँला । केशवप्रसाद उपाध्यायले अनुसन्धान गरेर २०३२ सालमा प्रकाशन भएको ‘रिमालः व्यक्ति र कृति’ले रिमालको विविध व्यक्तित्वलाई उजागर गरेको छ । मलाई थाहा छैन हामी कति साहित्यिक पाठकले त्यस कृतिलाई पल्टाउन भ्याएका छौँ ।

एउटा वैयक्तिक प्रयत्नद्वारा सुरु भएको साहित्यिक अभियानले सिङ्गो समाज र राजनीतिमा कसरी प्रभाव पार्न सक्छ ? सचेततापूर्वक तयार पारिएको सिर्जनाले कसरी परिवर्तनकारी भूमिका निर्वाह गर्न सक्छ भन्ने ज्वलन्त उदाहरण हुन् गोपालप्रसाद रिमाल ।

रिमालको आमाको सपना, मसान र यो प्रेम पढेर हामी उनको साहित्यिक पाटोलाई पढिरहेका हुन सक्छौँ तर उनको राजनीतिक र सामाजिक पाटो आज पनि समाज परिवर्तन गर्न चाहने नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्छ ।

वि.सं. १९९३ महावीर संस्थाको स्वयंसेवी बनेर समाज सेवामा प्रवेश गरेका रिमाल २००७ सम्म कुनै न कुनै रुपमा परिवर्तनका लागि सक्रिय बनिरहे । घुम्ती पुस्तकालय र घुम्ती उपचार सेवा प्रदान गर्ने महावीर संस्थामा रिमाल युवाहरूलाई जागरणमूलक पुस्तकहरू पढ्न प्रेरित गर्ने गर्थे ।

वि.सं. १९९८ मा प्रजातन्त्र सङ्घमा आबद्ध भएर होस् वा भाषा परिषद्मा रहँदा कलकत्ता पुगेर सुभाषचन्द्र बोससँग भेटी सामाजिक सुधारको विषयमा छलफल गरेर होस्, वि.स. १९९४ नेपाल नागरिक अधिकार समितिमा रहेर होस् वा शोभाभगवतीमा भजन मण्डली सञ्चालन गरेर, प्रजापञ्चायतमा संलग्न रहेर होस् वा २००३ मा नेपाल नेसनल लिगमार्फत प्रार्थनासभा चलाएर होस्, नेपाल प्रदीप्त पुस्तकालय स्थापनामा सहयोगी भएर होस् वा २००४ मा सत्याग्रहमा सहभागी भएर, कुनै न कुनै रुपमा परिवर्तनका लागि छटपटाइ रहेको तत्कालीन नेपाली समाजको प्रसव पीडामा उनी निरन्तर सक्रिय थिए, सम्लग्न थिए ।

महावीर संस्थाबाट समाजसेवा सुरु गरेका रिमालमा विभिन्न घटनाक्रमले विस्तारै राजनैतिक चेतना विकास गरायो र नेपाल प्रजा पञ्चायत मार्फत देशको भाग्य निर्माण गर्ने सपना देखे । सीमित युवा सर्कल र साहित्यिक जमातले मात्र निरङ्कुशतन्त्रसँग पौठेजोरी खोज्न सहज नदेखेपछि वि.पि.को नेतृत्वमा निर्माण भएको राजनैतिक दलसँग एकताबद्ध भएर नेपाल भूमिभित्रबाट निरङ्कुशता हटाउने सपना देखे ।

नेपाली काङ्ग्रेसले राणाहरूलाई विस्थापन गर्ने लडाइँको आधारभूमि भने भारतीयभूमिलाई बनाउने योजना देखेपछि उनी फेरि पनि एकल रुपमा लड्न थाले । २००७ सालको परिवर्तनपछि उनी नेपाली राजनीतिबाट उपेक्षित रहेर अन्नतः विक्षिप्त मानसिकता लिएर इहलीला समाप्त पारे ।

यिनै विद्रोही कविको बेलीविस्तारलाई समावेश गरिएको छ– गोविन्दप्रसाद दुलालको ‘गोपालप्रसाद रिमाल’ कृतिमा । यो कृति घोष्ट राइटिङ नेपालले २०७६ मा बजारमा ल्याएको हो । १२ पेज रङ्गीन फोटोसहित ३३६ पेजमा विस्तारित यो कृतिमा झण्डै एक तिहाइ भागमा रिमालको व्यक्तित्व खण्ड रहेको छ भने बाँकी कृति र कृतित्व खण्ड रहेका छ ।

विभिन्न २२ उपशीर्षक दिएर लेखकले रिमालको जीवनका विविध पक्ष र पाटोलाई उजागर गर्ने प्रयत्न गरेका छन् । चर्चित ‘कविता र चर्चा’ शीर्षकमा ‘आमाको सपना’ कृतिमा रहेका २८ कविताहरूलाई टिप्पणी सहित समावेश गरिएको छ भने ‘आमाको सपना’ कविता कृतिमा समावेश नभएको कविता ‘सहिदहरूसित’ पनि समावेश गरिएको छ । तर त्यस कविताको स्रोत भने खुलाइएको छैन ।

‘नाटक र समालोचना’, ‘मसान नाटक’, ‘चलचित्रको रूपमा मसान’, ‘यो प्रेम (नाटक)’, ‘फराकिलो दृष्टिमा यो प्रेम’ शीर्षक अन्तर्गत रिमालको मूल कृति र त्यसमाथि लेखकको टिप्पणीलाई प्रस्तुत गरिएको छ । ‘माया’ एकाङ्की एक दृष्टिकोण’ अन्तरगत माया एकाङ्कीमाथि समिक्षात्मक टिप्पणी प्रस्तुत गरिएको छ तर एकाङ्कीलाई भने समावेश गरिएको छैन । रिमालको सबै मूल कृतिहरू सहित लेखकीय टिप्पणी राखिएको ३३६ पृष्ठ आकारको पुस्तकमा केही पेज मात्र ओगट्ने रिमालले लेखेको एक मात्र एकाङ्कीले किन ठाउँ नपाएको होला ? पाठकीय मनमा यही कुरा प्रश्न बनेर खडा हुन्छ । यदि माया एकाङ्की पनि यस कृतिमा समाविष्ट गराइएको भए यो पुस्तक रिमालको व्यक्तित्वको साथ साथै कृतिको समग्र सङ्कलन पनि हुन सक्थ्यो ।

नेपाली साहित्यमा नयाँ युगको सुत्रपात गर्ने रिमालका कुनै पनि सन्तानहरू नेपाली साहित्य आकासमा किन झुल्किएनन् होला ? यसको जवाफ दिएको छ रिमाल पुत्र मदनप्रसाद रिमालको ‘बासँगको सम्झनाका पलहरू’ले । भूमिकाको रुपमा रहेको गोपालप्रसाद रिमालसँग सम्बन्धित यो संस्मरण यस कृतिको महत्त्वपूर्ण ओज हो । यस संस्मरणले गोपालप्रसाद रिमालका कतिपय नखुलेका पाटाहरूलाई उजागर गरेको छ ।

रिमालको परिवारको दयनीय अवस्थालाई यस संस्मरणात्मक निबन्धमा मार्मिक रुपमा चित्रण गरिएको छ । उनी लेख्छन्– ‘बालाई २०१९ सालको मदन पुरस्कार प्राप्त भएको थियो । त्यस बेला । माँ (आमा)ले आफ्ना परिवारका सदस्यहरू र नाता गोताहरूबाट ठूलो भनाइ र खप्की खानु परेको थियो । यो कुरा सबैलाई थाहा भएकै विषय हो कि पुरस्कारको घोषणा पहिला हुन्छ र पुरस्कार पछि दिइन्छ । त्यसताका पुरस्कारको घोषणापश्चात् आठ नौ महिनापछि मात्र पुरस्कार प्रदान गरिएको थियो मेरा घरमा माहिला बा (बिष्णुप्रसाद रिमाल) हजुरआमा (हिरण्य कुमारी) फुफूलगायत पुरानो भन्सारका नातेदारहरूले मालाई धरधरी रुआएको तथ्य म अझै पनि सम्झन्छु । उनीहरूको भनाइअनुसार पुरस्कार पाइसके तापनि पुरस्कार रकम माँले गुपचुप आफैँले लिएर बेपत्ता पारिन् भन्ने आरोप थियो । नातेदारहरू घरमा आई माँलाई तथानाम गाली गरेको र माँ भात पकाउँदै भल्भल्ती रूँदै गरेको । पछि त्यो पुरस्कार माँले ग्रहण गर्नु भयो ।’(पृष्ठ १५)

साहित्यमा लागेर आफ्ना पतिले दुःख पाएको देखेपछि रिमालपत्नी निर्मलाकुमारीले आफ्ना सन्तानलाई साहित्यतिरभन्दा कमाइतिर लाग्न प्रेरित गरेकाले आफूहरू गोपालप्रसाद रिमालको वास्तविक उत्तराधिकारी बन्न नसकेको प्रसङ्ग उल्लेख गरिएको छ ।

साहित्य र राजनीतिको माध्यमबाट जनतालाई जागरुक बनाउँदै सुन्दर देश निर्माण गर्ने, जनतालाई अधिकार सम्पन्न गराउने सपना बोकेका एउटा लेखक, एउटा प्रजातन्त्रका सेनानीलाई प्रजातन्त्र स्थापनापछिको सत्ताले उपेक्षा गरेकै कारण गोपालप्रसाद रिमाल विक्षिप्त बनेका हुन् भन्ने आम मान्यता देखिन्छ । यही मान्यतालाई यस कृतिले पनि स्वीकारेको छ । सरल भाषाशैलीमा रोचक प्रसङ्गहरूलाई सुन्दर ढङ्गले उन्दै लेखकले रिमाललाई जनपक्षीय जागरणका कवि र प्रजातन्त्रका सेनानीका रूपमा देखाएका छन् ।

पुस्तक पढ्दै जाँदा यति धेरै सूचनाहरू उनले कहाँबाट सङ्कलन गरे होलान् भन्ने लाग्छ । सन्दर्भ सूची पल्टाउँदा रिमालको बारेमा लेख्दा छुटाउनै नहुने एउटा ग्रन्थ केशवप्रसाद उपाध्यायको कृति ‘रिमाल व्यक्ति र कृति (२०३२)’ को नाम नदेख्दा खल्लो महसुस हुन्छ । किनकि लेखक गोविन्दले यो कृतिलाई पढ्न छुटाए होलान् ? कृतिमा उल्लेख गरिएका सुचनाहरू अधिकांश उपाध्यायका कृतिमा रहेका छन् । के यो कृति लेखकको आँखामा नपरेकै होला त ? के सबै सूचनाहरू पारिवारिक स्रोतबाट मात्र लिएका होलान् ? प्रश्न जन्मन्छ मनमा । जे होस् कृति सङ्ग्रहणीय र पठनीय बनाएका छन् लेखकले ।