लेखक टंक वनेमको संस्मरण ‘सुदूर विस्मृतिका बिम्बहरू’ ४ सय ३२ पेजमा फैलिएको छ । यस मोटो संग्रहलाई म जस्तो व्यस्त पाठकले पढिसक्नु भनेको एक  युग छिचोल्नु जतिकै थियो । तापनि पानापानामा कुँदाएका अक्षरहरूले मेरो औंला समातेर डोर्‍याउँदै भित्र लगे । विभिन्न कार्यक्रमका बाबजुद पनि महिनौं लगाएर पढिभ्याएँ ।

टंक वनेम साहित्य क्षेत्रमा परिचित नाम हुन्, उनी सेवानिवृत्त ब्रिटिश गोरखा सैनिक पनि हुन् । कविताबाट लेखनयात्रा शुरू गर्नुभएका वनेमको  कवितासंग्रह ‘साँघुरी र बूढासुब्बा’ (२०६३), ‘पेञ्जिरि पेन्न्मिक्हा’ (भूल गर्ने जोडी आँखा, २०६३), ‘संगिनको मूर्च्छना’ (२०६९)  र  कथासंगह्र ‘श्लेष्मान्तकको साम्माङ्ग’  प्रकाशित छन् । साथै ‘सिन्धोलुङ्ग फागो वनेम बंशावली इतिहास र मुन्धुम (२०७०) जस्ता महत्त्वपूर्ण कृति पनि बजारमा आइसकेको छ ।

यस ‘सुदूर विस्मृतिका बिम्बहरू’ संस्मरणभित्र भने लेखकले उनन्चालिस ओटा शीर्षकमा आफ्ना भोगाइहरू प्रस्तुत गर्नुभएको छ ।

ताप्लेजुङमा जन्मनुभएका उहाँ हाल वेस्टबर्मिज, बर्मिङ्गघाम, बेलायतमा बसोबास गर्नुहुन्छ । टंक दाइसँग मैले पनि बेलायत रहँदा कतिपय प्रोग्रामहरूमा सहकार्य गरेकी छु । दाजुलाई मैले, म जस्ता साहित्यको विद्यार्थीलाई असाध्यै माया गर्ने, सल्लाह सुझाव दिने एक अभिभावकको रूपमा चिन्दै आइरहेकी छु । मैले यो भन्दा पहिले उहाँका आख्यान भन्दा धेरै कविताहरू पढेकी छु । उहाँका कृतिहरूमा गाउँ र प्रवासका स्मृति, अनुभूति र मुन्धुमका कुराहरू सशक्त रूपले उठेका हुन्छन् । मलाई दाइको त्यो पक्ष पनि खूब मन पर्छ । हामीले आफू लिम्बु हुनुको अनुभूति नगरे अरू कसले गर्छ ? अनि हामीले हाम्रा कुरा नलेखे कसले लेख्छ ?

उहाँको यहीं पुस्तकको पृष्ठ १३ मा अर्जुनबाबु माबुहाङ्ग लेख्नुहुन्छ, “विगतलाई नबुझी वर्तमान बुझाउन सकिन्न ।” उहाँले भने जस्तै यो पुस्तकमार्फत हाम्रा बाउबाजेका विगत नियाल्न सकिन्छ । तत्काल समयमा हाम्रा  बाउबाजेले, तोक्पेगोला, ओलाङ्चुङ्गगोला, याङमा, चेने, घुङ्सा आदि हिमाली गाउँ पुगेर तिब्बतबाट आयात गड्खौले/भोटेनून, आलु आदि कोदोले साटेर ल्याउँथे । जब धरानबाट नून र प्लास्टिक आयात हुन थाल्यो, उताका हिमाली बजारहरू सुक्न थाले । हिले बसन्तपुरतिर गाडी नपुगुन्जेल ती हिमाली बजारहरूबाट उताका व्यापारीहरू लावालस्कर लाएर चौंरीलाई नून, तेल, छुर्पी र हिमाली जडीबुटीको भारी बोकाएर धरानको फुस्रेसम्म पुग्थे ।

यसरी हिमाली भेगका व्यापारीले ल्याएका छुर्पी चामलले साटिखान दौडधुप गर्दा डिल्कानामा लडेको रमाइलो किस्सा पढ्दा मेरो आफ्नै भोगाइ सम्झेर एक्लै हाँसेँ । मैले पनि मावलामा बजैले लुकाई राखेको कोदो झिकेर छुर्पी साटी खान्थें । चोरीको आरोप भाइलाई लगाएर कुटाइ खूब खुवाउँथें बिचरा । घाँटीमा झुन्डिएको घण्टी हल्लौंदै चौंरी र खच्चडहरू बेँसी झर्दा दोबाटोमा निस्केर हेर्ने र चामल र कोदोले छुर्पी साटिखाने कार्य चाहिं दाइ र म दुवैले गरेका रहेछौँ । ती नै बाल्यकालका स्मृतिहरू, त्यो बेला चपाएका छुर्पी भन्दा रसिला र मीठा लाग्छन् ।

पछि धरान मधेस झरेपछि चामलले झालमुरी र चटपटे साटेर खाइन्थ्यो । परिवेश अनुसारको भोगाइहरू पनि फरक हुने रैछन् । गाउँमा आमाले बजार नजा … भन्दा भन्दै साथीहरूको घरमा चामल लुकाएर हुन्छ कि ! जुत्ता, सारी र गरगहनाको पोका इस्कुस झ्याङमा फ्याँकेर आफू पनि हाम्फाल्दै भए पनि गइन्थ्यो । फिरेर आउँदा धुलाई खाइन्छ भनेर साथीकै घरबाट डोको, नाम्लो मागेर पहिले नै घाँसको भारी बोकेर घर पुगिन्थ्यो । पछि धरान मधेस झरेर उसै गरी भागेर सिनेमा गइन्थ्यो । तर, घाँसको भारी चाहिं हुँदैनथ्यो र धुलाइ खाइन्थ्यो । उहिलेका हामी प्राकृतिक र सांस्कृतिक रूपले नै सम्पन्न थिएछौं । सोचेर रमाउने मीठामीठा विगतका धनी पनि रहेछौँ हामी । अहिलेका नानीहरू कृत्रिम युगका भए,  हामी प्राकृतिक र कृत्रिम दुवै युग भ्याउने मान्छे भयौँ ।

‘सम्झना उधिन्नु भनेको बाल्यकालतिर फर्किनु रहेछ’ भन्ने प्रकाशको भनाइमा समेटिएको यो हरफले मन तान्यो । संस्मरणमा सबैभन्दा सुन्दरपक्ष नै बाल्यकालका स्मृतिहरू हुन् । जसलाई उधिन्दा मात्र पनि बडो आनन्द आउँछ । यहाँ पनि लेखकले आफू जन्मेहुर्केको गाउँ ठाउँदेखि भर्ती लागेर गएपछि उनले सैनिक जीवनमा भोगेका हरेक सानासाना कुराहरू याद गरेका छन् । तर, किताबमा आधाभन्दा बढी भाग आफ्नो बाल्यकालका सम्झनाहरूलाई ठाउँ दिएका छन् । त्यहींबाट पनि अनुमान लगाउन सकिन्छ हाम्रा लागि बाल्यकालका यादहरू कति अमूल्य र प्रिय लाग्छन् ?

निक्कै मेहेनत साथै खोज अनुसन्धान गरेर लेखिएकोले यो पुस्तक पढ्नेले लिम्बूहरूको तत्कालीन राजनीतिक इतिहासको बारेमा पनि बुझ्ने अवसर पाउँछन् ।

भोगाइहरू समय र भूगोल अनुसार फरक हुने गर्छन् । कथालाई रोचक बनाउनमा हामी हुर्केका माटो, पानी, हावा, परिवेश, र त्यहाँका रहनसहन, संस्कार संस्कृति र वातावरणले ठूलो भूमिका खेलेका हुन्छन् । हाम्रो देश चार जात छत्तिस वर्णको फूलबारी भएकैले पनि फरक-फरक संस्कार, संस्कृति र रहन सहन रहेको छ । लिम्बु संस्कारमा हुर्केबढेका हामीले लेखेका संस्मरण अन्य जातिलाई नयाँ लाग्न सक्छ, त्यसैले हामी संस्मरणमार्फत नेपालका विभिन्न जात जातिबीचका रोचक कथा र भोगाइहरू साझा गर्छौं । त्यो एक सुन्दर पक्ष छँदै छ । अर्को हामीले जे जे भोग्यौं त्यो अबका पुस्ताले कदापि भोग्ने छैनन् । अबका पुस्तालाई त्यो इतिहास सुनाउन पनि हामीले हाम्रो भोगाइ लेख्न जरूरी छ ।

टंक दाइ मभन्दा एक दशकअघि जन्मिनु भएकोले, उहाँ र मेरो भोगाइमै केही भिन्नता आइसकेको देखिन्छ । मेरो अनुभवमा मेरो बाजेको युगलाई ‘भस्मे युग’ भन्न मिल्ने देखेँ । मेरो बाजेले मेरो बाउ काकालाई ‘तेरो बाजे र म मिलेर भस्मे फडानी गरी बारी बनाइदिएका छौं । पानी भएको सिमसार एरिया बिराएर खेत बनाएका छौं । त्यसैमा मोज गरेर खाओ.… ओ’ भनी कराउनु हुन्थ्यो ।

त्यो सम्झँदा बाजेका बाजे बराजुहरूले झन् बिना खेतबारी के खाएर बाँचे होलान् ? कि ढुंगे युगका तरुल भ्याकुर खाएर बाँच्ने मानव उहाँहरू नै थिए ? मनमा एक पुरानो प्रश्न, यो दिमागमा नाच्न थाल्छ । किनकि खेतबारी त मेरो बाजे र बाबाको बाजेले बिराएका रहेछन् । उहिलेका संस्मरणहरू पढ्दा, पुस्ता-पुस्ताबाट हस्तान्तरण हुँदै आएर अहिलेको यो आधुनिक युगको निर्माण भएको देखिन्छ । शायद ! यसैलाई मानव विकासको इतिहास भनिन्छ । ढुंगेयुग झेल्दै माथि उक्लेर यो उत्तराधुनिक युगसम्म आइपुग्दा मानव जीवनले कस्ता कस्ता कालखण्डहरू पार गर्नु पर्दो रहेछ भन्ने एउटा ठूलै उदाहरण यो पुस्तकले प्रस्तुत गरेको छ ।

टंक दाइले बाल्यकालमा देखेका भोटू चौतारोको पीपलको बोटमा बाँधिएको सेतो घोडा, थुक्वा चेरेक्पाको पहिरोमा फुलेको माकखृङ्चोक फूलदेखि यौवनकालमा हङकङस्थित युद्ध अभ्यास गर्ने स्विताउको पाखा, ब्रुनाइको डिस्को थेक, नीलो आकाशको सर्वांग दृश्य, बाबुले पढ्ने गरेको महाभारतको युद्धकथा लगायत केही पनि भुलेका छैनन् । पुसेमेला, लाखे जात्रा, रामदुवाली, माइबेनी मेला र चण्डीपुर्णे पुगेर सोल्टिनीहरूसँग चाम्ब्रे, आलु तरकारी र निघार खाँदै धान नाचेका दिनको सम्झना पनि छुटाएका छैनन् । लेखकले ती बेलाका सोल्टिनी र दौंतरी साथीहरू मात्र सम्झेका छैनन् । त्यहाँका रैथाने चराचुरुंगी, बनस्पति र खनिज पदार्थहरू पनि लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै यो सब हुनमा जलवायु परिवर्तन र उत्तर आधुनिकतालाई दोष दिन्छन् । जलवायु परिवर्तनका कारण पृथ्वीमा ओजन लेयरको विनाश हुँदै गएकाले परिस्थितिको चक्र प्रणाली अनियन्त्रित भै प्लेग र कोरोना जस्ता ठूला महामारीहरू मानव समाजले झेल्नुपरेका दुःख समेत व्यक्त गर्छन् ।

‘हस्तलिखित इतिहास’मा – स्व.धनहाँसी फागो वनेम (पक्तिकारको पुर्खा) नेपाल एकीकरण अभियानको समय माइवा-मैवाखोला थुमका शासक श्रीदेव राय (सिर्देउ काजी) फागो वनेमका समकालीनको पालादेखि जम्मा गरिएका पुराना कागजपत्रहरू सँगै भेटिएको यो हस्तलिखित लिम्बुवानको इतिहासलाई जस्ताको तस्तै टिपोट वा लेखौटकै भाषामा उतारिएको पाइन्छ । त्यसकारण ह्रस्वदीर्घ लगायतका हिज्जेहरू वर्तमान खस नेपाली भाषा व्याकरणसँग मेल खाँदैन भनी त्यस हस्तलिखित टुक्रालाई जस्ताको तस्तै पृष्ठ ६९ मा राखिएको छ । उहीं सन्दर्भलाई इतिहासकार अर्जुनबाबु माबोहाङ्गले पनि उल्लेख गरेका छन् । लेखकमा राजनीति र इतिहासको गहिरो चेत छ । लिम्बुवानको ऐतिहासिक कागजपत्रहरूका लेखक आफै स्रोत व्यक्ति पनि हुन् ।

ताप्लेजुङ चाँगेगाउँका ‘बाजहाङ्ग आङ्गबुहाङ्ग’लाई विसं १९५२ चैत्र, रामनवमीका दिन ताप्लेजुङ थानामा धनकुटाका जनरल वमबिक्रम राणाको ठाडो आदेशमा झुन्ड्याइमारेको घटनालाई लेखले उप्काएका छन् । उति बेलाका ताप्लेजुङ फूलबारी सेन्दाङ्ग (छेन्तांग) गाउँका कुतुरे वलीका गाईभैंसीले बाजहाङ्गको खर्क चराइदिएको विषयलाई लिएर उठेको झगडा र किपट अधिकार माथिको हनन् अस्वीकार गर्दाको परिणाम थियो । यो इतिहास पढ्दा राणाकालमा बाहुन र लिम्बुलाई कानूनले गर्ने फरक व्यवहार छर्लंग हुन्छ ।

मैले दाइको यो पुस्तक नपढेसम्म ‘बाजहाङ्ग आङ्ग्बुहाङ्ग’ तत्कालीन राणा शासकहरूबाट मारिएका शहीद हुन् भन्ने थाहा भए पनि, कहाँ र कसरी के कारणले मारियो भन्ने प्रष्ट थाहा थिएन । स्कूल कलेजमा इतिहास विषय लिएर पढेको भए पनि, इतिहासका ती किताबहरूमा आधा सत्य पनि नरहेको महसूस हुन्छ । पूरा सत्य राख्दा विद्यार्थीहरू आन्दोलित बन्छन् र राज्यसत्ता असुरक्षित हुन्छ भन्ने सोचेका हुन् कि ! मैले पछि राजा त्रिभुवनको आत्मकथाको इतिहास पढेपछि त्यो महसूस गरेँ ।

इतिहास हेर्दा, यसरी नै बिस्तारै लिम्बुहरूको जातीय स्वामित्वमा रहेको वनजंगल, खोलानाला, डाँडापाखा र जग्गाजमीन राज्यले खोस्दै लगेको देखिन्छ । इतिहासकार माबुहाङ्ग भन्नुहुन्छ, “शाहहरूले लिम्बूहरूलाई थितिमा राख्न दिएको किपट व्यवस्था वास्तवमा लिम्बुहरू अधिकार नभएर लिम्बुहरूबाट राजश्व उठाउन गरिएको परिपञ्च मात्र थियो ।”

उहिलेदेखि अहिलेसम्म नै देशमा अन्याय अत्याचार त भै नै रहेको छ । हाम्रा  पुर्खाहरूलाई निरक्षर जिउन बाध्य पार्ने राणाहरूको हविगत त देखी नै हालियो । अधर्मीहरूको समय लामो हुँदैन, अन्त्य त हुन्छ नै, चाहे त्यो महाभारतको धर्म युद्धमा होस् या हिटलरको अहङ्कारी मानव युद्धमा होस् ।

ताप्लेजुङको पापुंग, सिम्बुकमा ड़ेंजोंग ग्याबु भोटे राजा भएको इतिहास पनि उक्त हस्तलिखित कागजमा उल्लेख छ । विसं १९४९ सालमा खुँडेराजालाई ओलाङ्ग्चुङ्ग गोलाबाट पक्रेर धनकुटा लगिएको भनी लेखिएको छ । यसै सन्दर्भमा इतिहासकार माबुहाङ्ग भन्छन्: अदुमा तिब्बतबाट लामाहरू खटाएर सिक्किम र भुटानसम्म राज हुन्थ्यो । लामाहरू आवतजावत गर्ने बास बस्ने ठाउँहरू गोला बजारको रुममा विकास भए । यस्ता बजारका छेउछाउमा खम्पा राजाहरू रहन्थे । खम्पाहरूलाई नै खुँडेराजा भनिन्थे । तिब्बतको खाम क्षेत्रबाट आएकाले खम्पा भनिएको हो ।

इतिहासकार माबुहाङ्गले भने जस्तै यो पुस्तक दाइको अचल सम्पत्ति हो । यहाँ समेटिएका सबै शीर्षकहरू अति नै ज्ञानवर्धक छन् । यस्ता किताबहरू समय निकालेर सबैले पढ्नु जरूरी छ । मैले एक पटक पढिसकेर पनि फेरि पढ्ने सोच गरेकी छु । कारण यहाँ भएका तिथिमिति सहितका इतिहासहरू एक पटक पढ्दा मनमा कैद हुँदैन । त्यसैले रिवाइन गर्नुपर्छ ।

पुस्तकले यस युग भन्दा ५०, ६० दशकअघिको युगलाई मुख्य थिम बनाएर, म पात्रमार्फत हामीलाई बताएको छ । किताब बडो गजबको छ । लिम्बु संस्कार भित्रको पूजाआजा, विवाह संस्कार, मृत्यु संस्कार, धामी झाँक्रीले गर्ने सोघा सुगुप सेम्मा, (नराम्रो बाटोबाट मृत्युवरण गरी आत्मा भड्केकाहरूको, आत्मालाई बाटो लाउने विधि) खोला पूजा, थेगू पूजा, ताप्फेङ्ग गर्ने मुन्धुम, तीन राते तनग्सिङ्ग, एक राते खड्को अनि पञ्चायत कालका इतिहास, त्यस बेलाका रहनसहन, आदि इत्यादि समेटेर ४३२ पेजको पुस्तक तयार गर्न चानचुने कुरो होइन । यो कार्य आफैमा साहसिक र जोखिमयुक्त्त थियो तर, उहाँले यो साहसिक यात्रा पार गर्नुभएको छ, यो आफैमा अत्यन्तै प्रशंसनीय छ ।

पुस्तकमा समेटिएको त्यो हस्तलिखित इतिहासले मलाई अत्यन्तै प्रभावित पारेको छ । कतिपय पुस्तक पढिसकेपछि म अरूलाई पनि पढ्न दिन्छु र ती फिर्कर आउँदैनन् । त्यसैले यो पुस्तक चाहिं कसैलाई नदिने निधो गरेकी छु । म आफै इतिहासको विद्यार्थी भएकोले हो कि मलाई इतिहास समेटिएका पुस्तक आफैसित राख्न मन लाग्छ । ती अमूल्य समयको दस्ताबेज भएर हो कि ? अमूल्य लाग्छन् । किताबभित्र चर्चा गर्नुपर्ने धेरै विषय छन् । मैले भनिहालें नि ४३२ पेजको किताबको समीक्षा यति छोटो हुनै सक्दैन ।

संस्मरण लेखनले हाम्रो जीवनको अर्थ खोज्न अथवा आफूलाई बुझ्न सहयोग गर्छ, आफ्ना काम कर्तव्यहरूको मूल्याङ्कन गर्न र व्यक्तिगत विकास गर्न मद्दत गर्छ । चिकित्सा शास्त्रीहरू भन्छन्, संस्मरण लेखन एक भावनात्मक उपचार पनि हो । राजनीतिज्ञहरूले आफ्नो जीवनका राजनीतिक संघर्ष र निर्णयहरूको बारेमा संस्मरण लेखेर आफूलाई सन्तुष्टि दिलाउँछन् । समाजशास्त्रीहरूको सोचाइमा, लेखकका अनुभवहरूबाट पछिका पुस्ताले शिक्षा लिन्छन् । यसरी पनि संस्मरणलाई एक महत्त्वपूर्ण कृति मानिन्छ । र संस्मरण लेख्न स्वास्थ्य दिमाग चाहिन्छ त्यसैले यो विषय कठिन पनि छ । टंक दाइ यस विषयमा सफल भैसक्नु भएको छ, दाइलाई हार्दिक बधाई ।

किताबभित्र देखिएका त्रुटि ‌औंल्याउनु धर्म भन्छन् तर सत्य, सत्य भन्नु पर्दा त्यस्ता कुनै त्रुटि या कमीकमजोरी भेटिनँ । धामी झाँक्री, भूत प्रेत, आदि इत्यादि भ्रम जस्तो लागे पनि, बाल्यकालमा भूत प्रेतका कथा नहुनु हो भने हामीलाई नियन्त्रण गर्न गाह्रो हुन्थ्यो होला बाबा आमालाई । भूतप्रेत थिए र त हामी डरायौं र सही बाटो हिंड्यौं । त्यसैले यसलाई पनि गलत मान्न सकिनँ मैले ।

तर, गोठ बस्ता होस्, पण्डित लिन जाँदा होस्, या स्कूल र बिजुवा बाको घर जाँदा होस्, दाइले निक्कै ठूल्ठूला भूतप्रेतहरूसँग जम्का भेट गर्नु परेछ । अझ यसो भनौं मेरो गाउँमा भन्दा, दाइको गाउँमा भूतप्रेतहरूको जमात ठूलो थिएछ ।

किताब पढ्दै लाँदा आफूलाई कुन विषयले छुन्छ त्यै मात्र मनमा आइरहने हुँदा समीक्षामा पनि तिनैलाई जोड दिइँदो रहेछ । मैले पनि आफैलाई मन परेका कुराको मात्र बढी चर्चा गरेकी छु । दाजुले पल्टनमा बिताएको लामो कालखण्डलाई भित्री मनले महसूस गरे पनि यहाँ प्रस्तुत गरिनँ । किनकि ! भर्खर मात्र मैले दुई ओटा युद्ध साहित्यका किताब विजय हितान द्वारा लिखित उपन्यास ‘लाहुरेको रेलिमाई’ र राज कुमार राईद्वारा लिखित ‘किवाहाङ्ग’ पढिसकेर समीक्षा गरेकी छु । त्यसैले एकै खाले कुराहरू उठाएर पाठकलाई वाक्क बनाउन चाहिनँ । अन्त्यमा फेरि पनि यो ऐतिहसिक संस्मरणसंग्रह ‘सुदूर विस्मृतिका बिम्बहरू’ एक पटक सबैलाई पढ्न अनुरोध गर्दै बिदा चाहन्छु । सेवारो ! नमस्ते !

पुस्तक: सुदूर विस्मृतिका बिम्बहरू

प्रकाशक: प्रतिभा प्रकाशन,

संस्करण: पहिलो, विसं. २०७९, सन् २०२३

आवरण: शुक्र धिमाल, बसन्तराज अज्ञात

मूल्य: ५५० रुपियाँ