लोकवार्ता परिषद्, नेपालका महासचिव डा. भक्त राईका शब्दमा मानिसले प्राचीन समयदेखि परम्परागत रूपमा सिक्दै, भोग्दै र निर्माण गर्दै ल्याएको जनजीवनको समग्रताको नाम नै लोकवार्ता हो । उनका अनुसार मानिसहरूले आफ्ना पुर्खाहरूबाट विरासतको रूपमा प्राप्त खानपान, भाषा साहित्य, धर्मकर्म, अस्था-अनुष्ठान्, चिन्तन मनन्, सामाजिक मूल्य मान्यताको समष्टि रूप नै लोकवार्ता हो । परिषद्कै अध्यक्ष प्रा. डा. प्रेमकुमार खत्रीका अनुसार लोकवार्ताको प्रचलित अर्थ परम्परादेखि चलिआएका ज्ञान, सिप, प्रविधि, साहित्य, संस्कार, इतिहास, गीत-सङ्गीत, प्रकृति सम्बन्धी बिचार, दर्शन, विश्वास आदि हुन्छ । यस अर्थमा लोकवार्ता परम्परादेखि चल्दै आएका धर्म, संस्कार, साहित्य, दर्शन, सिप, संस्कृति, चाडपर्व , चलन आदिको फेहरिस्त हो भन्दा अत्युक्ति नहोला ।

लोकवार्ता परिषद्, नेपालले प्रकाशन गरेको मनोहर लामिछानेकृत “सल्यानी लोकवार्ता” शीर्षकको पुस्तकबारे चर्चा गर्ने उद्देश्यले लोकवार्ताको उल्लिखित परिभाषा र परिचयको खोजी गरिएको हो ।

सल्यान जिल्लाको सुइकोट (हालको कुमाख गाउँपालिका वडा नं १) मा जन्मिएका र जीवनयापनको सहजता अनि आवश्यकताले जाजरकोट, नेपालगञ्ज हुँदै हाल भक्तपुरका बासिन्दा बनेका मनोहर लामिछानेको सातौं कृतिका रूपमा प्रकाशित “सल्यानी लोकवार्ता” उनको जन्मस्थल प्रतिको प्रेम र सम्मानको दृष्टान्त हो । लामिछाने कवि, स्तम्भकार, संस्कृतिविद् र सफल अधिवक्ता हुन् नै, लोकसाहित्य र लोकवार्ताका क्षेत्रमा उनको रुचि अझ बढी देखिन्छ । लोकसाहित्य र लोकवार्ताको सन्दर्भमा यसअघि नै लामिछानेका तीन कृति प्रकाशित छन् ।

“सल्यानी लोकवार्ता” सल्यान जिल्लाको इतिहास, संस्कृति एवं परम्पराबारे मिहिन चर्चा गरिएको कृति हो । पुस्तकलाई इतिहास र संस्कृति एवं लोकवार्ता गरी दुई खण्डमा विभाजन गरिएको छ । लेखक लामिछानेले जन्मभूमिको अपनत्वले पटक पटक घचघच्याएपछि “सल्यानी लोकवार्ता” प्रकाशनको मेलेमेसो मिलेको बताएका छन् ।

इतिहास खण्डमा सल्यान जिल्लाको ऐतिहासिक पृष्ठभूमि, मानव बस्तीको विकास, मगर राज्यहरूको उदय र पतन, खस राज्यको स्थापना, बम्म शासकहरूको उदय आदि विषयहरूको खोजी गरिएको छ । सल्यान कहिलेदेखि प्रामाणिक अस्तित्वमा आयो भन्ने विषयमा लेखकले मिथकीय कथन, समाजशात्रीय चिन्तन, पौराणिक मान्यता, वंशावली आदिको सहारा लिएका छन् । यसको अर्थ सल्यानको सर्वस्वीकार्य र एकरूपको प्रमाणिक इतिहास भेटिँदैन वा छैन भन्ने हो । राज्यका रूपमा भने वि.सं. १४७५ मा सल्यान अस्तित्वमा आएको उल्लेख छ ।

इतिहास खण्डमा उल्लेखित राज्यहरूको स्थापना र घटनाक्रमहरूको समय रेखा (टाइमलाइन) यताउता पर्दा पाठकहरूमा अलमलको स्थिति सिर्जना हुन्छ । खस राज्यपूर्व मगर राज्यबाट सल्यान जिल्ला शासित थिएन भन्न सकिंदैन (पृष्ठ ३०) , मगर राज्यले सल्यानमा शासन गरेको आधार “पश्चिममा गण्डकी प्रदेशदेखि राप्तीसम्म मगर गणराज्यहरू थिए” भन्ने सन्दर्भ सामाग्रीलाई मानिएको छ । निचोड भने भेटिँदैन यद्यपि यसबारे थप अनुसन्धान हुनुपर्ने विषय लेखकले नै उठान गरेका छन् ।

मगरहरु आदिवासी हुन् कि आगन्तुक (पृष्ठ २९)? तिब्बतको काम्पायन उपत्यका र भारतको मगध राज्यमध्ये कुनै एक स्थानबाट आएका हुन् कि दुबै ठाउँबाट अथवा यहीँका रैथाने हुन् ? यसको चित्तबुझ्दो जवाफ पुस्तकले दिंदैन । सल्यान जिल्लाका प्रारम्भिक बासिन्दाको खोजी गर्ने क्रममा “यायावरी कविलाइ समूह” उल्लेख छ (पृष्ठ २७) तर यिनीहरू कहाँबाट आए भन्ने जिज्ञासा मेटिंदैन । यहाँ पनि लेखकले थप अध्ययन अनुसन्धान हुनुपर्ने औंल्याएका छन् ।

सल्यानको ऐतिहासिक बयान रोचक लाग्छ तर सन्दर्भ सामाग्रीहरूको भीडमा इतिहास वर्णनको सरल रेखाले कहीँ कहीँ वक्र आकार लिएको भने प्रस्ट देखिन्छ ।  लेखकले पुस्तक तयार गर्ने क्रममा त्रिपन्न वटा सन्दर्भ सामाग्रीहरूको अध्ययन गरेका छन् । यसर्थ अनुसन्धनात्मक लेखनका लागि लेखकको प्रयत्न र मेहनत पुस्तकमा मज्जाले झल्किन्छ ।

पुस्तकको दोस्रो खण्डले सल्यानको संस्कृति र लोकवार्ताको विषय समेटेको छ । यस खण्डमा सल्यानी लोकजीवन, प्रचलन, प्रकृति पूजा, मेला, जात्रा, लोकबाजा, हाट संस्कृति, झाँक्री संस्कृति, मस्टा, चाडपर्व, भजनकीर्तन, लोकसंगीत, प्रथा आदिको व्याख्यान गरिएको छ । पुस्तकको शीर्षक अनुसार यो खण्डले लोकवार्ताको अर्थ र मर्मलाई आत्मसाथ गरेको छ ।

लुतो फाल्ने चलन नेपालका लगभग सबै पहाडी भूभागहरूमा प्रचलित चलन हो । सल्यानमा लुतो फाल्ने चलनसँगै साउने सङ्क्रान्तिका दिन भोस्सो खेल्ने चलन पनि रहेको पुस्तकमा उल्लेख छ । यस्तै सिङ्गे महिना (श्रावण १ देखि भाद्र १२ सम्म) मा आर्थिक कारोबार नगर्ने चलनको प्रसङ्ग रोचक छ । भोकमरी लाग्ने समय भएकोले कम खर्च होस् भन्ने हेतुले यस्तो चलन चलाइएको हुनसक्ने लेखकको अनुमान छ । हरलो, डोर्या चतुर्दशी , छेलो, झोल पाटी, पुत्याग्रो, भुरुङ, थारो हान्ने, चोर पत्ता लगाउने लोकपद्धती जस्ता सल्यानी प्रचलनहरूको रोचक व्याख्या पुस्तकमा छ ।

पुस्तकमा सल्यानमा प्रचलित गाली र सत्तोसरापको पनि खोजी गरिएको छ । स्थानीय लोकगीतमा प्रयोग हुने गाली र सरापको प्रसङ्ग उदाहरणसहित प्रस्तुत गरिएको छ । झाँक्री (झाँङ्ग्री) को उपचार विधिको बारेमा चर्चा गरिएको पुस्तकमा थरी, डङ्का, पतुर्ने, खड्गो, अग्नि बाँध्ने, दुवा जस्ता पद्धतिबाट जनविश्वासमा आधारित झारफुकले अझैसम्म कहीँ कहीँ निरन्तरता पाइरहेको लेखकको निष्कर्ष छ । स्थानीय झाँक्रीहरूसँग प्रत्यक्ष सम्पर्क गरी झारफुकका मन्त्रहरूसमेत सङ्कलन गरेका लेखकले यहाँ निकै मेहनत गरेको देखिन्छ । मस्टो संस्कृति उधिन्ने क्रममा लेखकले मस्टाका धामीहरूसँग पनि संवाद गरेको देखिन्छ ।

सल्यानमा मनाइने चाडपर्वले पनि पुस्तकमा स्थान पाएको छ जुन देशका अन्य भूभागमा मनाइने चाडपर्वहरूसँग मिल्दाजुल्दा छन् । सल्यानमा खेलिने देउसी भैलोमा केही पृथकता रहेछ । तिहारमै खेलिने सैरली भेरी नदीका आसपास मात्र प्रचलनमा रहेको लेखकको निष्कर्ष छ । सल्यानमा प्रचलनमा रहेका भजनकीर्तन, सिँगारू (लोकनृत्य), सोरठी, टप्पा, लहरे, बन्कारी, झाप्रे, सरङ्ग्या, साइलैजी, ठाडी, दोहोरी, रत्यौली आदिका बारे उदाहरण सहित उल्लेख गरिएको छ । कटवाल र खलो प्रथाको संक्षिप्त जानकारी पुस्तकमा छ ।

लेखक लामिछानेले आफ्नो प्रयत्न र क्षमताले भ्याएसम्म सल्यानको लोकजीवनलाई पुस्तकमा उतार्ने इमानदार प्रयास गरेका छन् । सल्यानका परम्परागत भेषभुषा, विवाह पद्धति, मृत्युसंस्कार , शस्त्रअस्त्र, धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको सपाट जानकारी भने पुस्तकमा छैन ।

सल्यानमा बोलिने स्थानीय भाषा आम नेपालीले बोल्ने भाषाभन्दा केही फरक हुनु स्वाभाविक हो । पुस्तकमा उल्लेखित केही शब्दावली सामान्य पाठकले एकैपटकमा बुझ्न कठिन हुनसक्छ । यस्ता शब्दावलीहरू फुटनोटमा राखिदिएको भए निकै सजिलो हुने थियो । लेखकले सङ्कलन गरेका भजन, गीत र मन्त्रहरू पुस्तकका प्राण हुन् । तिनलाई  साङ्गीतिक रूप दिन सके ऐतिहासिक जिल्ला सल्यानको सांस्कृतिक वैभवमा श्रीवृद्धि हुने निश्चित छ । स्वयं लामिछाने र लोकवार्ता परिषद्ले यसतर्फ पहल गरे त्यो सुखद नै हुनेछ ।

समग्रमा “सल्यानी लोकवार्ता” साहित्य र संस्कृतिका क्षेत्रमा एउटा महत्त्वपूर्ण कृतिको रूपमा ग्रहण गर्न सकिन्छ । सल्यानका युवा र वयस्क पुस्तालाई आफ्नो थातथलोको रहनसहन र कतिपय लोप हुन लागिसकेका प्रचलनहरूको बारेमा बुझ्न यो पुस्तकले निकै सहयोग गर्नेछ ।लोक संस्कृति र परम्पराका अध्येता र जिज्ञासुहरूलाई यो पुस्तक गतिलो खुराक हुनसक्छ । सल्यानको इतिहासका बारेमा धेरै पुस्तकहरू प्रकाशित छन् तर सल्यानको समग्र जनजीवनको परम्परागत र सांस्कृतिक पाटो समेटिएको “सल्यानी लोकवार्ता” भने सम्भवतः पहिलो हो । यसका लागि सर्जक मनोहर लामिछानेलाई धन्यवाद र बधाई पनि ।