
नेपालीय मैथिली साहित्यका सशक्त कवि धर्मेन्द्र विह्वल वैयक्तिक जीवनका प्रतिक्रियास्वरुप भाव-समुद्रका स्पन्दन, समकालीन जीवन, समाजका सुकृती-विकृतिलाई गाम्भीर्यपूर्ण शैलीमा शक्ति सामर्थ्यका साथ अभि रेखाङ्कित गर्ने स्रष्टा हुन् ।
मैथिली साहित्यमा प्रयोगवादी कविको संज्ञा पाएका कवि विह्वलको शहरक भीड़मे एसगर हम (शहरको भीडमा एक्लो म) नामक कवितासंग्रह शहर नामक एउटै शीर्षकमा अनेक अभिनवताको गर्भबाट निसृत भई श्मसानघाटमा जलिरहेको, सभ्यताको भू-कम्पले विस्थापित हुँदै गएको, शोकसभाको तयारी गरिरहेको अवस्थामा चीत्कारसँगै हृदय र मस्तिष्कको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रकाश व्यक्तित्वबाट सिर्जनाको धाराका रूपमा प्रवाहित छ जो मानसिकता, भौतिक परिवेश, सांस्कृतिक शिष्टाचारको सग्लो चित्र बन्न पुगेको छ ।
मानिसका सच्चा रुवाइमा सधैँ कविता हुन्छ, कविताले समयलाई कलात्मक रूपमा प्रस्तुत गर्दछ । घटना, विचार र भावलाई विशिष्टिकृत ढङ्गमा उभ्याउँछ । फरक समय, परिवेश र सोचाइमा फरक बनेर उभिन्छ यद्यपि कविको अन्तिम लक्ष्य सत्यको खोजी हो । जीवन र जगतको रहस्यको कलात्मक प्रस्तुति हो । यही भावभूमिमा कवि विह्वलले के जिजीविषा गन्तव्य बन्न सक्छ ? भन्ने प्रश्नको उत्तर खोज्नु, अमेरिकी कवि रोवर्ट फ्रोस्टको ‘एउटा कविता लेख्न खोजमा तल्लिन हुनु हो’ भन्ने भनाइलाई पुष्टि गर्दछ ।
भीड सधैँ देखिन्छ तर क्रान्ति एउटै व्यक्ति ल्याउँछ । सम्बन्धको शहरमा त्यही मान्छे एक्लो हुन्छ, हुने गर्छ जो दिल र बोलीमा सच्चा हुन्छ । जीवन एउटा कण हो, उपयोग सरल छ । तर त्यसको ज्ञान अनन्त खोज हो, समतल र गहिरो पनि छ । यात्रा गति हो, स्थिति परिवर्तन हो, स्थिति परिवर्तनको निम्ति गरिने सचेत प्रयत्न हो झैँ कवि विह्वलले वि.सं. २०४७ देखि २०६६ सालसम्म विचरण गरेको शहरमा मौलिकता मरेको छ, आडम्बरको लेपन, क्षण-क्षणमै चरित्र र भूमिकामा परिवर्तन, अभिनय र कृत्रिमता जीवनचर्या बनेको देखिन्छ ।
काव्य ऐना हो तर अनुहार देखाउने नभई भित्री भावको एक्सरे गरिएको ५१ वटा शहरको विन्यासमा त्रासका कुहिरा, अनिष्ट सम्भावना, अपनत्वको क्षयीकरण भई अभिशप्त छन् । कविता भावनाको चित्र हो, भावना दुःखको होस् वा सुखको, त्यो तब सम्पन्न हुन्छ जब हामी दुःख, सुख अनुभूति गर्दछौं । त्यो कसैका लागि जीवन एवं परिधान बन्न पुग्छ भने कसैका लागि बदलिंदो मूल्य बोधको समुचित र समीचीन अभिव्यक्ति । यात्राको यो अनुभव वाह्य जगतदेखि अन्तर्जगतसम्म व्याप्त भई चेतनदेखि अचेतनसम्म पुगेको छ । परिणामतः व्यक्तिको जीवन र अस्तित्वको संघर्ष, विडम्बनापूर्ण स्थिति, व्यग्रता, असुरक्षा, अस्थिरता, संवेदन शून्यता र अवसरवादिताको स्वाभाविक अनुभूति हुन्छ :
जेना शहरक
मौलिक मानचित्र
बदलि गेलैक होइक,
मात्र निर्जीव आकारमे
सीमित बुझाइत…।
अर्थात् शहरको मौलिक मानचित्र बदलिसकेको, आत्मा मरिसकेको, निर्जीव आकारमा मात्र सीमित भएको अवस्थाले एक सचेतको मनमा वर्तमानले खाडल खन्दै गएको छ । केवल विचार र आदर्शका खेतमा भावनाको कुलो फर्काएर त्यही भावनाको कुलोमा बगिरहने आमजनको शून्य उपलब्धिमा मात्र बाँच्नु परेको छ ।
कविताहरू न फूलजस्ता लाग्छन् न त काँडा जस्ता नै, न त यो संग्रह कुनै सुनौलो द्रव्य झैँ लाग्छ । ५१ ओटे कविता छुट्टै ब्रह्माण्ड लाग्छ ।
भोक, रोग र शोकले थिलथिलो भएको छ, विषमताले घाँटी थिचिएको छ, यस्तोमा कवि विह्वलले मानवीय सत्यको सार्वभौम उद्घाटन गरी समयसापेक्षतामा मानवताको शाश्वत पक्षलाई काव्यभित्र दर्शाएका छन् । जसमा मस्तिष्क र हृदय, भावना र कल्पनाका तारमा अट्ठहास र उपहास किरिङमिरिङ गरेर झल्केको छ । लज्जापूर्ण परिस्थितिमा घृणित बनेर बाँचिरहेको जीवनलाई मृत्युतुल्य सम्झने जीवनदोषको प्रसङ्ग नौलो छ ।
भाषिक चमत्कार र वाग्वैशिष्टयको सफल संयोजन भएको कविताहरूमा दैन्य, जीवन र जगत्का असमानता र व्यक्ति स्वार्थको कटु गन्धले आक्रान्त भई शासकीय चरित्रमाथि गोलावारी गरिएको पाइन्छ । शहर व्यग्र छ, कुण्ठित छ, यान्त्रिक छ । विश्वास टुटेको छ । आत्मविश्वासहीन निराश छ । अस्तित्व शून्यताबीच आत्मा र इज्जतको खरिद-बिक्री, शेष जिन्दगीलाई चोकमा झुण्डयाई लिलामी गर्न बोल-कबोलको क्रमको प्रतीकात्मक व्यङ्ग्य सुस्पष्ट देखिन्छ । कविलाई शहरको रूप र रंगमा विचित्रताको अनुभूतसँगै मान्छे र शहरले नाटक गरिरहेको बोध हुन्छ ः
एहि शहरक
रूप र रंग दूनु
विचित्रसन लगैछ
नाटक करै अछि लोक
नाटक करै अछि शहर
अर्थात् शहरको रूप र रंग विचित्र बोध भइरहेको छ, मान्छे र शहरले नाटक गरिरहेको परिवेशमा काव्य भित्तिमा कलमी कुचोले सजीव चित्राङ्कन गर्न सफल कवि विह्वलको कवितामा प्रख्यात चित्रकार एससी सुमनको भाव चित्रले संग्रहलाई प्रयोग शिल्पको महत्वलाई सिद्ध गरेको छ । अनुभूति र संस्कृतिको महान केन्द्रको संज्ञा काव्यलाई दिइएको छ । यस परिप्रेक्ष्यमा संग्रहका कविताहरू २०४७ देखि २०६६ सालसम्म भएका कारण त्यो अवधि इतिहासको संवेदनशील राजनीतिक कालखण्ड हो ।
२०४६ को जनआन्दोलन पश्चात् लोकतन्त्र स्थापना, बहुदलीय व्यवस्थामा आधारित संविधान जारी, सशस्त्र द्वन्द्व, राजा वीरेन्द्रको परिवारको समूल अन्त्य, संसद् विघटन, ज्ञानेन्द्रद्वारा स्वयं राजा घोषणा, ज्ञानेन्द्रद्वारा सत्ता कब्जा, राजतन्त्रविरुद्ध जनआन्दोलन, माओवादीद्वारा खुल्ला राजनीतिमा प्रवेश, राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा, संविधानसभाको निर्वाचन, विगतकै द्वन्द्वरत एक पक्षद्वारा सरकार गठन लगायतका घटना-परिघटनाको साक्षी पनि हो – शहरक भीड़मे एसगर हम । कवि विह्वललाई हिंसा स्वीकार्य छैन, हिंसालाई मलजल दिने दर्शनप्रति असमति जनाउँदै शहरमा परेवाको वास अर्थात् शान्तिको कामना व्यक्त गरेका छन् :
शहर अपना आङनमे
देखऽ चाहैत अछि
पड़बा उड़बाक दृश्य
सतहबाट सही मूल्याङ्कन हुँदैन, गहिराइ भने देखिन सक्तछ, डुबुल्की मार्न फेरि निकै धौ धो नै पर्दछ । हामीलाई के लाग्छ भने साहित्य विधा नै कला हो, सार्वभौम नियम होइन, व्यक्तिगत अनुभूति हो, सामाजिक व्याप्ति र धरातलको सापेक्षतामा मूल्याङ्कन यथार्थ, नभए आदर्श । वर्तमानबाट पीडित वर्ग छ्यासछासती छरिएको छ – गल्लीभरि, नङ्ग्याएको आफूलाई आफैभरि, देखेको छ- उसले अशाश्वत पक्ष जीवनको, सिकेको छ- क्षणिकता, शून्यता, नश्वरता, निरर्थकता, निरीहता, निराशा, अपर्याप्ति, अतृप्ति, विसंगति ।
विद्यमान अवस्थामा पनि कवि विह्वल प्रेम, प्रकृति, रहस्य, छद्म कालखण्डप्रति प्रतीकात्मक निर्भीक रूप, चड्कँदो स्वरशैली र ज्वलनमुखी शिल्प उम्दा देखिन्छन् । प्रयोगकारिता उठेको छ, अन्तर्मनको राँकोले बलिरहेको प्रदीप्त फिलिङ्गोका रूपमा उपस्थिति छ ।
जीवनको क्रम नियमित परम्परा भए पनि स्खलन हुँदै दीर्घ परम्पराको अवमूल्यन भई जिउनुको अर्थ, मर्म, मान्यता भङ्ग भएको छ । मृत्यु परम्परा स्थापित हुँदै गएकोमा कवि विह्वलको काव्य चैतन्यले प्रयोग सिद्धिको नव्य रेखा कोरेका छन् । हास्य, रोदन, सपना, क्रूरता, अन्याय, अत्याचार, आक्रमण, प्रतिरोध, हृदयस्पर्शी, संवेदनशीलता र सृजनात्मकताले भरिभराउ कविताहरूले व्याप्त निस्तब्धता, निस्पट्ट शब्द, अवरुद्ध जीवनधार, स्वरहीन र लयहीन ताण्डवप्रति विद्रोह गरेको छ । सिद्धान्तको हत्या, विचारको हत्या, स्वभाव र संस्कारको हत्या, मानवीय इच्छा र आकाङ्क्षाको बलिविरुद्ध सङ्गठित युगबोधिता र प्रतीकात्मक अभिव्यञ्जनालाई पोखेका छन् :
बड़ प्रताडित बुझाइत छल शहर
मुदा आई जखनि
हेँजक हेँज लोक
हेँजक हेँज हात
हेँजक हेँजक आवाजसब
अचानक बहरायल तऽ
बुझेलेक जे
ठीके शहर एखनहुँ
जीविते अछि
अर्थात् असङ्ख्य हात, असङ्ख्य मान्छे, असङ्ख्य आवाजले शहर अहिले पनि जीवित रहेको अनुभूतिले कवि विह्वलले मनोवृत्तिहरूको कुनाकाप्चामा चहार्दे भावगत तत्त्वलाई छामेर कालजयी अर्थ प्रवाहित गरेका छन् । अस्तित्व शून्यता र आत्माको स्वीकारोक्तिसँगै यथार्थवाद र रहस्यवाद, अदृश्य र अलौकिक शक्तिमा विश्वास र निसृत दर्शन निहित छ । अतः कवि विह्वलले सुजनामा आफ्नो आकृति खोज्दै मनोवृत्तिका सफल चित्रकार बन्न पुगेका छन् ।
यस क्रममा भावको मौलिकता, कल्पनाको सशक्तता, विचारको तीक्ष्णता, जागरूकता पर्याप्त भेटिन्छ । शैलीगत नवीनता, चित्रात्मकता, व्यङ्ग्यात्मकता, युगबोधिता, बिम्ब-प्रतिबिम्बको प्रयोगशीलता, प्रस्तुतीकरणका नव्यताले कवि विह्वलले आफ्नो कालखण्डको काव्य प्रतिमान उभ्याएर काव्यमा नयाँ जीवन अर्पेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
