राम बिन्दु श्रेष्ठज्यूद्वारा लिखित “मेरा सोभियत सम्झनाहरू”ले मलाई सोचमग्न बनाएको छ । पाना पल्टाउँदै जाँदा लेखकको जिज्ञासा, लेखकको जीवन प्रतिको उत्साह, दुःख सुख प्रकट हुँदै जान्छ । खासमा रामविन्दु श्रेष्ठ नै यसका सचिव पात्र लाग्दै जान्छन् र उपन्यास पढे जस्तै पुस्तक आकर्षक तवरले अघि बढ्दै जान्छ ।
पुस्तक लेखकको बालापनबाट सुरु हुन्छ । उनले आफू जन्मे हुर्केको ठाउँ बिकट पहाडी जिल्ला बागलुङको सेरोफेरो, बाल्यकालीन अवस्थादेखि उच्च शिक्षा अध्ययनको सिलसिलामा छात्रवृत्तिमा छनौट भई सोभियत संघसम्म पुगेको कुरा सुरुमा उल्लेख गरेका छन् । यी कुराहरू पढ्दै जाँदा लेखकमा ठुलो उत्सुकता देखिन्छ । यस खण्डमा उनले भोगेका, अनुभूत गरेका र बेहोरेका हण्डर ठक्कर, सफलताका किस्सालाई समग्रमा”मेरा सोभियत सम्झनाहरू”संस्मरण मार्फत पाठक समक्ष प्रस्तुत गरेका छन् ।
उच्च शिक्षाको पढाइको सिलसिलामा सन १९८५ मा लेखक २१ वर्षको कलिलो उमेरमा सोभियत रुसमा / ६ वर्ष सम्म बस्छन् । एकतिर अध्ययनको चाप अर्कोतिर घरपरिवार, आफन्त र अपनत्वबाट लामो समयसम्म बिछोडिनुको पिरले लेखकलाई लखेट्छ । प्रस्तुत पुस्तक यही दोभानको संस्मरणमा कैद छ ।
सुरुका एक वर्ष उनी रुसी भाषा सिक्छन् । भाषा पढाउने ७० वर्षे शिक्षिका आर्पिक ओमेतोभ्ना खच्यातुर्यानको सक्रिय जीवनले उनलाई प्रभावित पार्छ । तिनै पाकी शिक्षिकाले लेखकलाई राजनीतिदेखि रुसी साहित्यकारहरूका कृतिहरूको परिचय गराउँछिन् ।
गाईको मासुलाई मिठो परिकारका रूपमा लिइने रुसमा उनी भने भान्सामा गौमांस पाकिरहँदा घरको काली बाच्छी र कैली गाईको सम्झनाले सताएको कुरा गज्जबले दर्साएका छन् । कलेजले विदेशी विद्यार्थीहरूलाई न्यानो कपडा किनिदिने चलनमा नेपाली युवाहरूको होचो काँठीका कारण सोभियत किशोर किशोरीहरूको शरीरका लागि बनाइएको कपडा नाप जाँच गर्नुपर्ने अवस्थालाई पनि लेखकले रमाइलो पाराले प्रस्तुत गरेका छन् ।
सोभियत विश्वविद्यालय र इन्स्टिच्युटमा अध्ययनरत विदेशी विद्यार्थीहरूले बिदाको समयलाई सदुपयोग गर्दै युरोपका विभिन्न सहरको यात्रा तय गर्ने र त्यहाँ उत्पादित सस्ता र आकर्षक सामान खरिद गरी रुसमा ल्याइ बिक्री वितरणको प्रबन्ध गरी त्यसबाट भएको आम्दानीले घुमघाम, मिठो मसिनो खाने, मनोरञ्जन गर्नुको साथै घर जाँदा, आउँदाको टिकटको पैसाको जोहो गर्ने परिपाटीको बारेमा पनि चर्चा गरिएको छ ।
नेपाली छात्र सङ्घको सम्मेलनमा प्रतिनिधिका रूपमा लेखक लेनिनग्राडमा पुग्दा प्रतिनिधि छनौटमा विवाद उत्पन्न हुन्छ । विवाद निपटाराको लागि उनले आफ्नो उमेद्वारी फिर्ता लिन्छन् । यहाँ पुगेपछि पुस्तक बिस्तारै वैचारिक द्वन्द्वमा प्रवेश गर्छ र बौद्धिक देखिन थाल्छ ।
पुस्तक पढ्दै जाँदा रुसी कम्युनिस्ट शासकको इतिहास, कम्युनिस्ट सरकारले गरेका सकारात्मक कामहरू खुल्दै जान्छ । सँगै लेनिन, स्टालिन र ख्रुश्चोभ जस्ता शासकहरूको कार्यशैलीहरूको पनि वर्णन छ । यी प्रसङ्गहरूले कम्युनिस्ट पार्टीमा कुनै व्यक्ति शक्तिशाली शासक हुँदा देशमा के कस्तो फरक हुन्छ भन्ने पनि देखाएको छ ।
दोस्रो युद्ध पछि ध्वस्त भएका संरचनाहरू सफा गर्ने क्रममा एक अज्ञात सोभियत सेनाले एउटा भित्तामा “म मर्दै छु तर आत्मसमर्पण गर्दिन, अलबिदा मातृभूमि” लेखेको हस्ताक्षरको प्रसङ्गले पाठक भावुक बन्छन् । त्यसै गरी पूर्वी जर्मनी र पश्चिम जर्मनीबिचका अपमानको पर्खालको प्रसङ्गले पनि लेखकको विश्व दृष्टिकोण प्रस्ट पार्छ ।
पुस्तकमा रेड स्क्वायर स्थित सोभियत नेता लेनिनको पार्थिव शरीरलाई जतनसाथ राखिएको समाधि स्थल, २ सय ५० भन्दा बढी सोभियत युगका दरबार, मण्डप, फोहरा, भोस्टाक रकेट, सोभियत विमानहरू, औद्योगिक, इन्जिनियरिङ, अन्तरिक्ष, आणविक, ऊर्जा जस्ता कुराहरू पनि छन् । त्यसै गरी त्यहाँको शिक्षा, सोभियत संस्कृति र कलाको पनि गम्भीर वर्णन छ । जसले पुस्तकलाई पठनीय बनाएको छ ।
लेखकले पुस्तकलाई पठनीय बनाउन त्यहाँका साहित्य र साहित्यकारलाई दिइएको महत्त्वलाई पनि ठाउँ दिएका छन् ।
पुस्तकमा सन १९१७ देखि १९४५ का विभिन्न कालखण्डमा सोभियत भूमिमा त्यहाँका जनताले बगाएको पसिना, मिहिनेत,हिटलरको नेतृत्वका फांसिष्ट नाजी सैनिकहरूको आततायी बमवारी आक्रमणका विरुद्ध सोभियत नेता स्टालिनको नेतृत्वमा देशभक्तिपूर्ण आन्दोलन,सौर्य, वीरता, बलिदानी, रगत र पसिनाले सिञ्चित एकीकृत, एकमना बलियो र सुदृढ सोभियत गणराज्यको कथा पढ्न पाइन्छ ।
तर यति शक्तिशाली सोभियत संघ विघटन भएर टुक्रा टुक्रा हुन्छ । अमेरिकासँग टक्कर दिइरहेको सोभियत संघ एक दशकमै किन ध्वस्त भयो ? यसको विस्तार वर्णन पनि पुस्तकमा पाइन्छ ।
पुस्तकको अन्त्यतिर भने लेखकले परिवर्तन संसारको नियम हो भन्ने गीता वाणीलाई स्वीकार गर्दै सोभियन रुसको उत्थान र पतनलाई स्वाभाविक प्रक्रिया मान्दै सोभियत रुसबाट सिक्न सकिने राजनीतिक ज्ञान पस्केका छन् । रुसले अङ्गालेको कम्युनिस्ट राज्य पद्धतिमा हामी सहमत वा असहमत हुन सक्छौँ, तर त्यो इतिहासबाट हामीले धेरै पाठ सिक्न सक्छौँ ।
समग्रमा पुस्तक पठनीय र सङ्ग्रहनीय छ। आउँदा दिनहरूमा लेखकको सिर्जनशील मस्तिष्क मन्थनबाट रचनात्मक स्वभावको सुन्दर बच्चा जन्मन सकोस् जसलाई हामी सबैले माया तथा सद्भाव प्रकट गर्न सकौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।