– ई गुमी

भुन्टेको बेचैनी झन् बढ्यो । घरमा बिहेको कार्यक्रमको सरसल्लाह हुँदै थियो । भुन्टे रुँदै बैठक कोठामा पस्यो र आफ्नो सबै कथा भन्यो । तर नक्कली भुन्टे पनि त्यहीँ थियो । उसले पनि आफू नै सक्कली भुन्टे भएको दाबी गर्यो ।

उहिले कुनै बेला किम देगामको घरमा एउटा मुसा थियो । उसको उमेर हजार वर्ष भइसकेको थियो । धनी किम देगामको घरमा खानेकुराको कुनै कमी थिएन । त्यो मुसाले कहिल्यै भोको बस्न परेन । सुखमा हुर्केको त्यो मुसा मनमा मान्छे बन्ने तीव्र इच्छा थियो । मान्छेले काटेर फ्यालेको नङ धेरै खाएमा मान्छे बनिन्छ भन्ने कुरा उसलाई थाहा थियो ।

किम देगामको भुन्टे नामको एक्लो छोरा थियो । मुसाले उसको  ईर्ष्या गर्थ्यो । बिहेपछि धेरै समयसम्म पनि सन्तान नभएपछि किम देगामले गुम्बामा गएर याचना गरे । र बुद्ध भगवानको कृपाले नाति नातिनी हुने उमेरमा बल्ल एउटा छोरो भएको थियो । भुन्टेलाई पुलपुल्याएर पालिएको थियो । त्यसैले ऊ अरूको कुरा नसुन्ने अटेरी थियो । शील स्वभाव पनि थिएन । त्यसैले बाआमा र कामदारलाई हैरान बनाउँथ्यो । मुसालाई पनि भुन्टे बन्न मन थियो । भुन्टे बन्न पाएमा किम देगमको सेखपछि पनि चैन सँग बस्न सकिन्थ्यो ।

कुनै दिन राति त्यो मुसा भुन्टेको कोठामा लुसुक्क छिर्यो । र भुन्टेलाई विभिन्न जादु देखाउन सुरु गर्यो । हजार वर्ष बाचेको हुनाले उसले धेरै जादु सिकेको थियो । उसको जादु देखेर भुन्टे पनि खुशी भयो । त्यही मौकामा मुसाले भुन्टेलाई भन्यो ।

”भुन्टे, तिमीले मलाई नङ काटेर खुवाएमा तिम्रो मनोकामना सबै पुग्छ ।”

‘…कस्तो अचम्म नङ काटेर दिए पनि मनको कुरा पूरा हुने रे !’

भुन्टे उत्साहित भयो र मुसालाई भन्यो ।

”त्यसो भए तिमीले मेरो सट्टामा पढिदिन्छौ ? ”

भुन्टे जे काम पनि जोसिलो भएर गर्थ्यो । तर पढ्न परेमाचाँहि उसलाई ज्वरो आउँथ्यो । तर किम देगाम भुन्टेलाई धेरै पढाएर सक्षम व्यक्ति बनाउन चाहन्थे । किनभने किम देगामको सम्पत्ति सम्भाल्ने एक मात्र उत्तराधिकारी भुन्टे नै थियो । भुन्टेले चाहेमा सबै कुरा पूरा हुन्थ्यो तर पढाइमा चाँहि धेरै कडाइ थियो । बिहान बिहान घरमा नै गुरु पढाउन आउनुहुन्थ्यो । गृहकार्य पनि धेरै दिनुहुन्थ्यो । तर पढ्ने बेलामा त बदमासी गरेर बस्ने भुन्टेले गृहकार्य गर्ने काम त धेरै परको कुरा थियो ।

अघिल्लो दिन मात्र गुरुले भन्नुभएको थियो ।

”भुन्टे, तिमीले गृहकार्य नगरेर अति गर्यौ । भोली यो किताबको १० पाना कण्ठै गरेर आऊ । कण्ठ नगरेमा कडा सजाय पाउने छौ । नराम्रोसँग पिटाइ खान पनि सक्छौ । तिम्रो बाबाले पनि कडा सजाय दिनू भन्नुभएको छ ।

भुन्टेले आफ्नो समस्या मुसालाई भन्यो ।

मुसाले भुन्टेसँग किताब माग्यो र तुरुन्तै कण्ठ गर्यो । भुन्टेले पनि आफ्नो हात-खुट्टाको नङ काटेर मुसालाई दियो । मुसाले भुन्टेको नङलाई मिठो मानेर कुटुकुटु खायो । नङ खाको केही बेरमै मुसा त ठ्याक्कै भुन्टेजस्तै पो भयो ।

भोलीपल्ट सक्कली भुन्टेको सट्टामा नक्कली भुन्टे पढ्न बस्यो । सक्कली भुन्टेचाँहि कतै खेल्न गयो । नक्कली भुन्टेले कण्ठ गरेको कुरा पनि गुरुलाई सुनायो र अनुशासित भएर गुरुले पढाएको कुरा पनि राम्रोसँग पढ्यो । भुन्टे एक्कासि असल विधार्थी भएकोमा गुरु असाध्यै खुशी हुनुभयो । यो कुरा सुनेर किम देगम पनि खुशी भए ।

अरूले थाहा पाउछन् भनेर दुर्इवटा भुन्टे कहिले पनि सँगै देखा पर्दैनथे । नक्कली भुन्टे घरको  पनि असल छोरो , अनि गुरुको पनि असल विधार्थी भएर बसेको थियो । ऊ बिहान उठ्नासाथ आफ्ना बाआमालाई अभिवादन गर्थ्यो । छोरो यसरी असल भएकोमा बाआमाचाँहि खुशीको आँशु बगाउँथे । सक्कली भुन्टेचाँहि खेलेर मात्र हिँड्थ्यो । उसको एकमात्र काम भनेको मुसा भुन्टेलाई नङ खुवाउनु थियो ।

समय बित्दै गयो । र भुन्टेको बिहे गर्ने उमेर पनि भयो । बिहे गर्ने केटीको पनि छिनोफानो भयो । र अन्तिम निर्णय गर्न भुन्टेलाई लिएर केटीको घरमा जाने मिति तोकियो । अब भने सक्कली भुन्टेलाई छटपटी भयो । ऊ आफ्नो हरेक काम नक्कली भुन्टेले गरिदेओस् भन्ने चाहन्थ्यो । तर आफ्नो सट्टामा नक्कली भुन्टे बेहुलो बन्ने कामचाँहि उसलाई मन परेन । केटीको घरमा जाँदा ऊ पनि लुसुक्क लुकेर साथमै गयो । केटी देख्नासाथ ऊ त लट्ठै भयो । तर उसकै अगाडि नक्कली भुन्टे बेहुलो बन्दै थियो ।

घरमा आएपछि उसले मुसालाई भन्यो ।

”साथी, तिमीले मेरो रूप लिएर हामीले अहिलेसम्म धेरै रमाइलो गर्यौ । तिमीले पनि मेरो काम गरिदियौ र मैले पनि तिम्रो इच्छा पूरा गरिदिएँ । तर अब म आ-आफ्नै रूपमा फर्किऔँ । ”

”के रे ? अहिलेसम्म तिम्रो हरेक काम मैले गरिदिनुपर्ने, बिहे गर्ने कामचाँहि तिमी आफैँ गर्ने ? तिमीलाई पढ्न नपर्ने, घुमेर खेल्न पाए मात्र पुग्ने । खेलेरै मात्र बस न । बिहे त म नै गर्छु । ”

मुसाले नाक बङ्ग्याउँदै भन्यो ।

भुन्टेको बेचैनी झन् बढ्यो । घरमा बिहेको कार्यक्रमको सरसल्लाह हुँदै थियो । भुन्टे रुँदै बैठक कोठामा पस्यो र आफ्नो सबै कथा भन्यो । तर नक्कली भुन्टे पनि त्यहीँ थियो । उसले पनि आफू नै सक्कली भुन्टे भएको दाबी गर्यो ।

सबै जना अचम्ममा परे । को सक्कली भन्ने कसरी छुट्याउने ?

समाधानका लागि गुरुले परीक्षा लिनुभयो । दुबैलाई विभिन्न प्रश्नहरू सोधियो ।

हजुरबाको सराद्दे कुन दिन गरिन्छ ?

मामाघरमा कति जना हुनुहुन्छ ?

आमाको जन्मदिन कहिले हो ?

गुरुले कहिलेदेखि पढाउन सुरु गर्नुभएको हो ?

आदि, आदि ।

सक्कली भुन्टेलाई यस्ता कुराको केही मतलब थिएन । र केही थाहा पनि थिएन । तर भुन्टे बनेको मुसाले सबै प्रश्नको जवाफ दियो ।

परेन त फसाद ! भुन्टे बनेको मुसालाई नै सबैले वास्तविक भुन्टे भनेर स्वीकार गरे । तर सक्कली भुन्टेलाई चाहिँ बदमास भनेर घरबाट लखेटे ।

मुसाचाहिँ मिहिनेती भएको र पढ्न मन गर्ने हुनाले मान्छे बनेर सुखीसँग बाँच्यो र भुन्टेचाहिँ अल्छी र पढ्न मन नगर्ने भएकाले जीवनभर पछुतो गरेर बाँच्यो रे ।

ल है, भाइबहिनी पनि आफ्नो समय जथाभाबी खेर नफाल्नुहोस् र भुन्टे जसरी पढ्ने काममा अल्छी पनि नगर्नुहोस् है । नत्र …… ।

(मोहन कार्की र ई गिजु (मुना) को अनुवाद रहेको ‘कथाका भूतप्रेतहरू’बाट)