भारतको जयपुर लिटरेचर फेस्टिभल संसारकै भव्य महोत्सवमध्ये एक मानिन्छ । यो महोत्सवकी सहनिर्देशक नमिता गोखले आउँदो २८ जनवरीदेखि ६ फेब्रुअरीसम्म आयोजना हुने महोत्सवकै अवसर पारी आफ्नो नयाँ उपन्यास बजारमा ल्याउने तयारी गरिरहेकी छन् ।
कोभिड १९ का कारण अघिल्लो महोत्सवदेखि हाइब्रिड (केही अनलाइन र केही प्रत्यक्ष) शैलीमा कार्यक्रम आयोजन भइरहेकामा यस वर्ष पनि त्यस्तै आयोजनलाई निरन्तरता दिइनेछ ।
यद्यपि नमिता स्वयंलाईं भने अनलाइन आयोजन मन नपर्ने मात्र होइन, अल्छीलाग्दो पनि महसुस हुन्छ ।
यही अवसरमा गोखलेले नयाँ उपन्यास बजारमा ल्याउने तयारी गरिरहेकी छन् । उनको ब्लाइन्ड मेट्रियार्क आफूभित्रको उत्तेजना र आशावादको संगम भएको बताएकी छन् ।
यो उपन्यासमा तपाईंले के भन्न खोज्नु भएको छ ?
ब्लाइन्ड मेट्रियार्क महामारी शुरू हुँदाका भावभूमिमा केन्द्रित उपन्यास हो । कोभिड अझै पनि विभिन्न रूप फेरेर हामीलाइ सताइरहेकै छ । यो उपन्यासलाइ परिवर्तनको असाधारण समयलाइ बोकेको छ भन्नु पर्ला ।
तपाईंको अघिल्लो उपन्यास जयपुर जर्नल्स र यसमा के फरक छ ?
धेरै फरक छ । खासमा अघिल्लो उपन्यासमा पात्र र परिवेशको विस्तृति बढी थियो । धेरै कथाहरू गज्याङमज्याङ थिए । यो उपन्यासमा भने कथालाइ सिधा तरिकाले बयान गरिएको छ । यो उपन्यासको फ्रेमवर्क अघिल्लो जति जटिल छैन ।
तपाईंका उपन्यासमा प्रायः परिवार र राष्ट्रले एकअर्काको ठाउँ लिएको देखिन्छ । यी दुवै चिजलाई जोड्ने चिज चाहिँ के रहेछ ?
यी दुईले एकअर्काको ठाउँ लिन सक्दैन । परिवार र राष्ट्रको पीडा, दुःख एकअर्कामा भने देखिन्छ । यो उपन्यासकी मातंगी कहीँनेर मेरा लागि, हाम्रा वरिपरि घुमिरहेका भारत माताहरूमध्ये एक भारत माता देखिन्छे । मुलुक र व्यक्ति जोड्ने कडी चाहिँ करूणा होला जस्तो लाग्छ । प्रगतिशील सोच र पूर्वाभासका माध्यमले मातंगीले आफ्नो परिवारलाई जोडेजस्तै।
उपन्यासमा आशाको एउटा भाव देखिन्छ । एक व्यक्तिका रूपमा तपाईं कति आशावादी हुनुहुन्छ ?
म त मूर्खताको हदसम्म आशावादी छु । तर ज्यादै अस्थिर छु । सधैँ खराब अवस्थाको विचार मनमा आइरहन्छ । मेरा परिचितहरूको भिडमा म सधैँ बेचैन आत्माका रूपमा परिचित छु । तर हैरान चाहिँ कुन बेला हुन्छु भने यत्तिका बेचैनीका बाबजुद पनि मभित्र कहीँ न कहीँ यी सारा समस्यासँग जुझ्न सक्छु भन्ने कडा आत्मविश्वास छ । राम्रोका लागि नै भइरहेको छ भन्ने मलाई लागिरहन्छ ।
जयपुर साहित्य मोत्सवको संस्थापक र सहनिर्देशकका रूपमा तपाईंलाई पछिल्ला दुई वर्ष अनलाइनमा कार्यक्रम गर्दा महोत्सवको भव्यता घट्यो जस्तो लागेको छैन ?
घट्यो भन्दा पनि कम्तीमा यो महोत्सव आयोजन भइरहेकै छ । डिग्गी दरबारमा सुरक्षाका कारणले मुख्य कार्यक्रम गर्न सक्दैनौँ । यो दरबारसँग मेरो सम्बन्ध त घट्ने छैन नै । पहिलेजस्तै हुनेछ । जहाँसम्म स्क्रिन वा अनलाइनको कुरा छ, यो एकरसतापूर्ण हुने हुनाले अल्छीलाग्दो हुनसक्छ । तर आउँदा वर्षहरूमा भर्चुअल रियालिटीका कारण भने अनलाइन बैठक पनि कम रोचक चाहिँ हुँदैन !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।